ब्लगले एक वर्ष कटाएपछि एउटा सानो 'समस्या' थपिँदोरहेछ, हरेक वर्ष दोहोरिइरहने कुराहरुको बारेमा हरेक वर्ष लेख्ने कि नलेख्ने भन्ने। समस्या नभनेर 'दोधार' भन्नु ठीक होला। जन्मदिनहरु, पुण्यतिथिहरु वा चाडबाडहरु पनि दोहोरिन्छन, तर ती अलग र विशेष कुरा हुँदा-हुँदै पनि 'यसपाली के लेख्ने' भन्ने प्रश्नचाहिँ उठ्दो रहेछ मनमा। हुनत दुई-चार हरफका शुभकामना वा श्रद्धाञ्जली आदि लेखेरै पनि काम नचल्ने हैन, तर मनले मान्दैन।
शैक्षिक वा पेशागत जीवनमापनि दोहोरिने दिनहरु धेरै हुन्छन्। एउटा त्यस्तै 'दहोरिएको' दिनको प्रसंग हो यो। शनिबार अड्डाको एउटा महत्वपूर्ण वार्षिक कार्यक्रम थियो। पोहरको यो दिनको बारेमा यहाँ लेखेको छु। विगत केहि दिन यता यो दिनको बारेमा लेखौं कि नलेखौं भनेर दोधारमा थिएँ, लेख्न शुरु गर्दा र अहिले यति लेखुञ्जेलसम्म पनि दोधारमै छु। यो दिन पूर्ण रुपमा पोहरको त्यै दिनको पुनरावृत्ति हुने पक्का थियो। घटनाक्रमहरु पूरै लेख्दा पोहरकै टाँसो फेरि सारेजस्तो हुनसक्थ्यो।
दिनभरिका घटनाक्रमहरु पोहरजस्तै भए। मचाहिँ पोहरभन्दा पनि उदास र एक्लै भएँ। भित्र भाषण आदिका बेलामा त आफू एक्लो भएको बोध त्यति भएन तर बेला-बेलाका 'ब्रेक'मा भने गफ गर्ने मान्छेसमेत नभेटेर धुम्धुम्ती बसिरहनुप-यो। म चुरोट नखाने भएर पनि हुनसक्छ यसरी गफ्फिने मौका नपाएको। तथ्यांक हेरेको छैन, तर धूम्रपान गर्ने जापानीको प्रतिशत एकदमै माथि हुनुपर्छ। बाहिर गएर बुङ्बुङ्ती धूवाँ उडाउन जाने गफ्फिन साथी सजिलै पाईन्थ्यो होला।
पोहर एकजना कोरीयाली साथी थिए। ती एक नम्बरका 'चुरौटे' भए पनि बेला-बेला गफ गर्न आईपुग्थे। ति जागिर छोडेर कोरीया फर्किसकेछन्। यसपालि आफ्ना हाकिम पनि देखिएनन्। 'नामासुते---' भन्दै ताकाहाशी बूढा पनि आईपुगेनन्। बेलुकाको 'भोज'मा पनि एउटै कुनामा अड्डा जमाएँ मैले।
अर्को एउटा कारण पनि छ, यो स्थिति उत्पन्न हुनुमा। यस्ता जमघटहरुमा कसैसंग कुराकानी अगाडि बढाउन उमेर र अड्डाभित्रको आफ्नो 'position' पनि अलि नजिक-नजिक हुनुपर्दो रहेछ। संगै यो अड्डा पसेकाहरु आफूभन्दा धेरै कम उमेरका छन्, आफ्नो उमेरकाहरु केहि वर्ष पहिल्यै अड्डा छिरेका हुन् र 'कर्पोरेट भ-याङ्ग' को अलिक माथि पुगिसककेका छन्। यो स्थितिमा आफू 'अप्ठेरोमा फलेको फर्सी' जस्तो भईँदोरहेछ।
जापानी भाषाको आफ्नो सीमित ज्ञानलाई दोष दिएर पनि उम्कन सक्छु म, तर धुम्धुम्ती एक्लै बस्नैपर्ने गरी कमजोर पनि छैन मेरो जापानी। जापानी भाषा 'मठ्ठै' भएका मानिसहरु त यस्ता कार्यक्रमहरुमा अलिअलि अंग्रेजी र अलिअलि हाऊभाऊका साथमा 'हिरो' बन्छन् भने अलिक खुल्ने हो भने मेरा लागि समस्या नहुनुपर्ने हो। दोष मेरो स्वभावको हो।
नयाँ मान्छेसंग खुल्न, नयाँ ठाऊँ/परिवेशमा घूलमिल हुन मलाई बहुत समय लाग्छ (यहि स्वभावको बिस्तार हुनुपर्छ कुनै ठाऊँ-विशेषतिर जाने बाटो सम्झिन पनि मलाई धेरै समय लाग्छ)। मान्छेमा पर्ने मेरो शुरुवाती प्रभाव 'अत्यन्त अन्तर्मुखी' हुन्छ। तर म अन्तर्मुखी मान्छे हैन, मेरा साथीहरु मात्रै हैन, सामान्य चिनजानको जोसुकै साक्षी बसिदिनसक्छ यो कुराको। मेरो समस्या (समस्या नहुन पनि सक्छ यो) 'आइस-ब्रेक' को हो। नयाँ मान्छेसंग वा नयाँ परिवेशमा 'आइस ब्रेक' गर्न मलाई असाध्यै गाह्रो हुन्छ। केहि साथीहरु 'आइस ब्रेक' गर्नेमात्रै हैन, तुरुन्तै पूरै 'आइस मेल्ट' गरेर दूध-चिनी-चियापत्ती मिसाएर चियानै पकाएर खाइदिन सक्छन्, तिनीहरुलाई देख्दा डाह लागेर आऊँछ:)
कार्यक्रममा जानुअगाडि एक राउण्ड विचार गरेको थिएँ, 'आजचैं अलिक खुल्छु, गफ्फिन्छु र प्रशस्त हाँस्छु' भनेर तर फेरि पनि असफल भईयो:)
----------------------
यो टाँसो लेख्नु अगाडि पोहरको टाँसो पढ्ने क्रममा पोहर यहि ताकाको एउटा अर्को टाँसोमा पनि आँखा प-यो। पोहर चार-पाँच दिनजति इन्फ्लुएञ्जाले लडाएको थियो। अस्ति शुक्रबार सूई लगाएर आएकोले यसपाला त्यो भने दोहोरिनेछैन होला:)
तपाईँ पनि यो जाडोमा शरीरको ख्याल गर्न भने नबिर्सिनुहोला।
यो आईस ब्रेकको सवालमा चैं म पनि त्यस्तै छु जस्तो लाग्छ , शुरुमा मान्छेहरुसँग खुल्न ज्यादै गाह्रो हुन्छ , खुलिसकेपछि फेरी भुल्न गाह्रो ! अनि केहि नलेखेरै पनि धेरै लेख्नुभएको छ यो टाँसोमा । रमाएर पढें - पुरानो समेत , मैले पढेकै रहेनछु नि ।
ReplyDeleteशुरु शुरु मा नयाँ मान्छे हरु सँग खुलेर कुरा गर्न गर्है हुन्छ बसनत जी
ReplyDeletemalai yo line kya hasutdo lagyo :) केहि साथीहरु 'आइस ब्रेक' गर्नेमात्रै हैन, तुरुन्तै पूरै 'आइस मेल्ट' गरेर दूध-चिनी-चियापत्ती मिसाएर चियानै पकाएर खाइदिन सक्छन्, तिनीहरुलाई देख्दा डाह लागेर आऊँछ.
ReplyDeletemalai pani ice break garna nikai hamme parcha. tesaile chiya khane haru ko kei bujhdina. Ghari ghari mood create garna khojchu..tara kina ho 'networking' garnu parne awasthama ma sodiyeko kura bahek kei vanna sakdina..kura 'aaan' . 'ye' bahek badhdai badhdaina! relate garna sakekale entry ekdum ramailo lagyo :)
tapai ko lekh ramailo cha malai paddha dharai ramailo la go aru pani naya janakari ra sip mulak kura pani rakdai janu hola bhanne asa garchu .
ReplyDelete"प्रसंगवश थोरै गफ-गाफ " भन्ने ले त यत्रो गफ गरे पछि - मलाई त पत्याउन पनि ग्राह्रो भो ! केही समय यता देखि म सधै तपाईको गफहरु पढिरहेको छु, तर त्यहा तपाइले निकै मज्जाले सिलसिलेवार तरिकाले गफ गरेको पाउछु । अनि त्यस्तो मान्छे लाइ पनि एस्तो समस्या ?
ReplyDeleteतर तपाईको यो कुरा -"एउटा सानो 'समस्या' थपिँदोरहेछ, हरेक वर्ष दोहोरिइरहने कुराहरुको बारेमा हरेक वर्ष लेख्ने कि नलेख्ने भन्ने। " कुरा चाहि ठीक लाग्यो । हेरौ आफ्नो त भखरै शुरुवात न हो परेपछि हेरौला नि ! हूँ त पहीला नै तयारी हुनु राम्रो भन्छन ।
Yestai ho dai..........
ReplyDeletewe are normally the slave of our swabhav..anyways..but u can open up nicely in ur blogs..and yes...purano blogsko hyperlink diyera...ustai kura duplicate nagareko chai malai nikai wise lagyo
भइरहेको तर ख्याल नगरिएको कुरालाई गजबले उठाउनुभएको छ । आफ्नै भावदशासँग मिल्दोजुल्दो सङ्कट तपाईँको लेखनीबाट पढ्न पाउँदा दङ्ग परेँ । हामीलाई मान्छेहरूसँग घुलमिल हुन अलिकति आफ्नै स्वभाव, अलिकति बाहृय परिवेशले छेक्ने हो । तपाईँ जस्तै 'आज चाहिँ पक्कै अलि खुल्छु' भनेर पूर्वयोजना बनायो भने त झन् मन-मगजमा त्यही कुराको दबाव र ध्याउन्नले 'होपलेस'को स्थिति हुन्छ होला । 'आइस ब्रेक'को सवाल त परकै कुरा, कहिलेकाहीँ त त्यो 'आइस'को छेउछाउसम्म पुग्नु पनि महाभारत भइदिन्छ । थप कुरा, जडितजीलाई जस्तै हो, सुरुमा मात्र खुल्न गाह्रो र खुलेपछि भुल्न ।
ReplyDeleteसमयको उही फन्कोमा लेख्ने कुरा दोहोरिन्छ भन्ने सर्न्दर्भमा के भनूँ भने, वर्षैपिच्छेको घुमिफिरि नियमित अवसरमा घटित कुरा उही हुने भए पनि हाम्रो अनुभूतिको कोणले भने प्रत्येक पाली नयाँ खालको सिकार देला कि - वर्षौपिच्छे केही न केही फरक अनुभूति त मनमा अवश्य हुन्छ नै, त्यही नै हो नौल्याइँ । त्यसैलाई पक्रिनु वेश । तर दोहोरिन्छ भन्दैमा महत्वपूर्ण अवसरलाई नटिपी बस्ने हो भने त चौपट भैहाल्छ । पूरै 'माइनस' बस्नु भन्दा, थोरै नौल्याइँ नै प्रस्तुत गर्नुपर्ला । यति सानो कुरा तपाईँको दिमागले नभ्याउने कुरा थिएन, र पनि मेरो सानो अक्कलले यही सुझायो है ! अन्यथा नसोच्नुहोला ।
यस्तै हो वसन्तजी,
ReplyDeleteमान्छेसँग कुरागर्न पनि बहाना चाहिन्छ भन्छन नी? धुम्रपान गर्नेहरुलाई कुरा गर्न मिल्ने कारण मध्य एक प्रमूख कारण यसको नकारात्मक छवि पनि हो। चुरौटेहरुलाई मन नपराउनेहरुका सँख्या जापानमा पनि वर्षेनी बढडो छ। कार्यालयमा त आजकल धुम्रपानको वानीलाई कार्यसम्पादन दक्षतासँगै जोडेर हेर्न थालेको छ। त्यसैले, यस लतमा फसेकाहरु एकआपसमा घुलमिल हुन्छन-असुरक्षाको कारणले र केही मानसिक दवावका कारणले। अर्को कारण हुन सक्छ, आफुसँग नभएको बेलामा परिचित मित्रकै ब्रान्डले काम चलाऊँ भन्ने। केही कोहाईहरु त एउटै ब्रान्ड तन्काऊने सेँपाईसँग चाँडै नजीक हुन्छन।
अनुभवका हिसाबले एकचोटी प्रोफेसरले आफ्नो रामकहानी सुनाउँदै थियो। भन्दै थिए, तीसवर्षसम्म म पनि खुब चुरोट खान्थेँ, एकदिन मेरो डाक्टर बाऊले "हेर छोरा! चुरोट खराव छ, नखा:, बरु रमाईलो गर्नु छ भने साके, सोचू , तन्न तन्काऊ भने," त्यसैले तिमीहरु पनि वियर, वाईन, साके, सोचु जति खानसक्छौँ खाऊ, तर चुरोट चाँही छोड।
ल्यावका चुरौटेहरु निक्कै परेशान भए। मलाई सोध्दै थियो, प्रोफेसरले भनेको कुरा कस्तो लाग्यो? मैले भने "एउटाले फोक्सो जान्छ, अर्कोले कलेजो, खै केलाई ठिक भन्ने? बरु दुईटै नखा भनेको भए केही लजिक हुन्थ्यो की?" मेरो कुराले खुव हाँस्दै थिए मित्र।
सबैलाई धन्यबाद!
ReplyDeleteदीपकजी, नयाँ कुरा लेख्न नसक्दा पाठकलाई पुराना कुरातिर धकेल्दिनपनि रमाईलै हुँदो रहेछ:) यो टाँसो एउटा बहाना हो धकेल्ने।
बद्रीजी, हो गाह्रै हुन्छ तर केहि साथिहरु भने अत्यन्त सहजताका साथ तुरुन्तै घूलमिल हुनसक्छन्।
Zadexpressजी, यो टाँसो यहाँको अनुभवसंगपनि relate हुन सकेकोमा खुशी लाग्यो।
wosti nuwakoteजी, आऊँदै गर्नुहोला, नियमित रुपमा केहि न केहि नयाँ लेख्ने कोशिश हुने छ। यहाँका अमूल्य सुझाबको अपेक्षा छ।
बेदनाथजी, ब्लगमा खुल्न त सजिलो छ नि, मनिटर एउटासंगमात्रै आँखा जुधाए पुग्छ:) फरि सप्पै आफैं एक्लै भट्भटाउने भएर पनि होला।
तपाईँको ब्लगले एक वर्ष कटाएपछि पनि दोहोरिने कुराका बारेमा भने लेख्न नछाड्नुहोला, माथि धाइबाजीले भनेजस्तै हरेक वर्ष ती कुराहरुलाई नयाँ संवेदनाले हेर्न सकिन्छ।
अविनाशी (दाइ भनेको भएर 'जी'हटाइदिएको, I hope you will not mind), यो जानी-नजानी स्वभावको दासता प्रिय हुँदै जाँदो रहेछ कि कुन्नि, छुटकारा पाउन साह्रै गाह्रो हुँदो रहेछ।
पुराना कुराको सूत्र दिनकै लागि भनेर अलि-अलि काइते भूमिका बाँधिएको हो, मेरो खास उद्देश्य त सबैलाई पुराना कुरा पढाउनेनै हो:)
धाइबाजी, दोहोरिने कुरालाई नयाँ दृष्टिकोण र नयाँ संवेदनाका साथ हेर्नुपर्छ भन्ने यहाँको सुझाव शिरोपर छ र त्यसै अनुसार आफ्नो चिन्तन शैली बनाउने कोशिश गर्नेछु।
सुरेशजी, चुरोट खानेहरु र नखानेहरुको कार्यदक्षतामा कत्तिको अन्तर हुन्छ त्यति थाहा भएन तर चुरोट खानेहरुले काम ठग्न वा ब्यस्तताको बीचमा अलिक आराम गर्नको लागि सजिलो बहाना पाएका छन् 'चुरोट खाने'। 'एकछिन है, म एउटा चुरोट खाएर आऊँछु' भन्दा खासै विरोध आऊँदैन। चुरोट नखानेहरुका लागि भने यस्तो सुविधा छैन, 'एकछिन है,म एउटा चकलेट खाएर आऊँछु' भन्यो भने हाँसोको पात्र बनिन्छ।