December 18, 2008

रमेश विकलज्यूमा हार्दिक श्रध्दाञ्जली!!!


नेपाली साहित्यका एक अथक सेवक महान कथा-शिल्पी रमेश विकलज्यूको निधनको खबरले अत्यन्त दु:खी बनाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु।
-------------------------------------------------------------------------------------
रमेश विकलज्यू केहि समय यताबाट थलिनु भएको छ भन्ने कुरा अस्तिमात्रै नरेन्द्र रौलेजीले उहाँसंग गर्नुभएको कुराकानी पढेर पनि थाहा भएको थियो तर यति चाँडै यो दुखद खबर सुनिएला जस्तो लागेको थिएन। नेपाली भाषा-साहित्य र समग्र नेपालले एक मूर्धन्य प्रतिभा र एउटा सपूत गुमाएको छ।

रमेश विकलज्यूका कथाहरु धेरै पढियो। तीमध्ये म सबैभन्दा बढी प्रभावित भएको कथा (र सम्भवत: मैले सबैभन्दा पहिला पढेको उहाँको कथापनि यहिनै हुनुपर्छ) 'मेरी सानी भतिजी प्रतिमा' हो। वि. सं. २०३९ सालतिरको कुरा हो, त्यतिखेरको १० कक्षाको 'महेन्द्रमाला'मा यो कथा थियो, दाइहरुका नेपाली किताबहरु पढ्ने क्रममा यो कथा पनि पढेको थिएँ। यो कथा, चिन्तनमा कहिल्यै आधुनिक हुन नसकेको कथित 'आधुनिक' नेपाली समाजको भयंकर शल्यकृया हो। छोरो जन्मेपछि छोरीलाई कसरी दुर्ब्यबहार गर्न थाल्छन् 'आधुनिक', 'शिक्षित' बाबु-आमाहरुले र आफूपनि एउटी नारीनै भएको बोधलाई गुमाएर, अबोध र निर्दोष छोरीलाई शारीरिक-मानसिक यातना दिन कसरी आमा स्वयं झन एक कदम अघि हुन्छिन् भन्ने कुराको सशक्त र यथार्थ चित्रण गर्नुभएको छ विकलज्यूले। कुनैपनि समस्याको 'दार्शनिक' समाधान दिनसक्ने तर ब्याबहारिक समाधानको दिशामा एउटा खुट्टो पनि उचाल्न नसक्ने/नचाहने हामीजस्ता 'नेपाली बुद्धिजीवी'हरुको प्रतिनिधिको रुपमा प्रतिमाको 'अंकल'को चित्रण पनि उत्तिकै सशक्त छ।

हाम्रो नेपाली समाजमा आजसम्म प्रतिमाका 'बाबु-आमा', 'भाइ' र 'अंकल'नै प्रचण्ड बहुमतमा छन् र अरु कुनै पात्रको सशक्त उदय हुनसकेकै छैन। त्यसैले अझैपनि 'बाबु-आमा'हरु 'भाइ'हरुलाई पुल्पुल्याईरहेका छन् र उद्दण्ड, घमण्डी र जिम्मेवारीवोधवीहिन 'पुरुष' मान्छेहरुको 'खेती' गरिरहेका छन्, दुई-चार 'दार्शनिक' 'महावाणी'हरुको वर्षा गराएर 'अंकल'हरु पलायन हुन्छन्, यो संसारका अन्यायका विरुद्ध लड्न 'प्रतिमा'हरुलाई एक्लै छाडेर, यो थाहा हुँदा-हुँदैपनि कि आफ्नो रक्षाको लागि निर्दोष-अबोध 'प्रतिमा'हरुसंग रुनुबाहेक अरु कुनै उपाय छैन। यो समस्याको अझ भयंकर पक्ष के हो भने ताडना पाऊँदा-पाऊँदै 'प्रतिमा'हरु यसैमा अभ्यस्त हुन्छन् र यसैलाई जिन्दगीको सत्यको रुपमा स्विकार गर्छन्। अनि भविष्यमा आफूले जन्माउने 'प्रतिमाहरु'माथि पनि त्यस्तै ब्यबहार गर्छन् र यो दुष्चक्रलाई निरन्तरता दिन्छन्।

यो मेरो मनगढन्ते मनोवाद होईन। छोरा र छोरीमा भेद र छोरीहरुमाथि माथि दुर्ब्यबहार गरिएका घटनाहरु मैले सैयौं देखेको छु, कति नजिकका नातेदारहरुमै। नेपाली समाजको सबै तहमा यो प्रवृत्ति कायमै छ अझै। मात्रामा घटबढ होला तर चूरो कत्ति फरक छैन। देशमा त देखियो-देखियो, विदेश आएपछि पनि वर्षौंदेखि यहीं बसिरहेका मान्छेहरुले पनि छोरा र छोरीलाई उस्तै भेदपूर्बक ब्यबहार गरेको देखेको छु। खैर, अहिलेलाई यी कुराहरु नकोट्याऊँ, यी सबैको बारेमा कुनै दिन एउटा छुट्टै लेख लेखौंला।

त्यसपछि मैले पढेको "नयाँ सडकको गीत" भन्ने कथा संग्रह हो। यो पनि एउटा सशक्त कृति हो। यसभित्रका केहि कथाहरु शहरको परिवेशमा पनि लेखिएका छन् तर समग्रमा यसलाई पहाडी ग्रामीण जीवनको एउटा जीवन्त चित्र भन्नुमा कुनै अत्युक्ति हुँदैन। त्यसपछि बिभिन्न तहका नेपाली पाठ्यक्रममा राखिएका र बिभिन्न साहित्यिक पत्रिकाहरुमा छापिएका उहाँका केहि कथाहरु पढियो। "अविरल बग्दछ ईन्द्रावती" नामक टेलि-सिरियलको केहि भागहरु हेरपनि कृतिनै भने पढेको छैन।

काठमाण्डौंको शहरी परिवेशमा लेखिएका उहाँका कथाहरुको अर्को संग्रह "शव, सालिक र सहस्र बुद्ध" (रचनाको हिसाबले "नयाँ सडकको गीत" कै समसामयिक हुनुपर्छ यो) पनि पढेको थिएँ केहि वर्ष पहिला। उहाँका विगत केहि वर्ष यताका कथा वा अरु कुनै पनि रचना भने पढ्न पाएको छैन।

रमेश विकलको नामसंग वामपन्थी राजनीति र यदाकदा एउटा निश्चित राजनीतिक दलको नामपनि जोडिएर आऊँछ। एउटा सचेत र संवेदनशील साहित्यकार/कलाकार समाजका अँध्यारा पक्षहरुलाई नदेखेको अभिनय गर्न सक्दैन, त्यसैले उसको रचना/कलामा समाजको सहि चित्रण र निमुखाहरुका पक्षमा आवाज हुनु अस्वाभाविक होईन। रमेश विकलज्यूले नेपाली समाजका निमुखाहरुका पक्षमा आफूलाई उभ्याउनुभएको छ, यसमा कुनै विवाद छैन। प्रगतिवादी साहित्यको नाममा साम्यवादी दलहरुका कोरा नाराहरुको विस्तारको 'खेती' गर्ने अरु धेरै 'प्रगतिवादी' साहित्यकारहरुभन्दा उहाँ धेरै फरक हुनुहुन्छ र उहाँका रचनाहरुले उच्च कलाचेत र सौन्दर्यबोधलाई कतै पनि मर्न दिएका छैनन्। तर उहाँले आफूलाई कुनै निश्चित राजनीतिक दर्शनसंग नजोडिदिएको भए अझ राम्रो हुन्थ्यो भन्नेचाहिँ लागिरहन्छ मलाई।

उहाँलाई एकपटक भेट्ने सौभाग्य मिलेको थियो। सन् १९९५ तिर होला, मदनमणि दिक्षितज्यूको नेतृत्वमा प्राज्ञहरुको एउटा टोली चीन भ्रमणमा गएको थियो, त्यतिखेर प्रज्ञा-प्रतिष्ठानको उप-कूलपति दिक्षितज्यूनै हुनुहुन्थ्यो शायद। उहाँहरु हामी बसिरहेको शहरमा पनि आउनुभएको थियो। त्यो शहरको स्थानीय संचार-माध्यमले उहाँहरुको भ्रमणलाई निकै महत्व दिएका थिए। हामी एकदिन साँझ उहाँहरुलाई भेट्न उहाँहरु बसिरहनुभएको होटेलमा पुगेका थियौं। दिक्षितज्यू, विकलज्यू, धुस्वाँ सायमीज्यू र ज्ञानमणि नेपालज्यूसंग तीन घण्टाजति कुरा गरेर बसेका थियौं हामी। उहाँहरुबाट नेपाली साहित्यका थुप्रै नवप्रकाशित किताबहरु पनि मिलेको थियो। भ्रमणदलमा कथाकार पद्मावती सिंह पनि हुनुहुन्थ्यो, तर चाँडै सुतिसक्नुभएकोले उहाँसंग भने भेट हुन पाएन।

हाम्रो नेपाली साहित्यमा कविता लेख्नेहरुको भिड छ, साहित्यका अरु विधाहरुमा बाँझो जमीन अझै धेरै बाँकी छ। कथाको एउटा पाटोलाई खनजोत गरेर नेपाली साहित्यको लागि धेरै बाली भित्र्याईदिएर रमेश विकलज्यू बिदा हुनुभएको छ। हामीले त्यो पाटोलाई जोगाऊँदै अरु पाटाहरु थप्दै जानसक्नुनै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

11 comments:

  1. विकलज्यूमा हार्दिक हार्दिक श्रद्धाञ्जली।

    ReplyDelete
  2. रमेश विकलज्यू ko dibangat aatmaale santi pawos bhaner हार्दिक श्रद्धाञ्जली byat garda 6u.

    ReplyDelete
  3. रमेश विकल्ज्यूले आफ्नो नश्वर शरीर छाडनु भयो - सम्पूर्ण नेपालीको लागि यो दुःखद घडी बन्न पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना सहित उहाँको परिवारलाई दैवले आफुलाई सम्हाल्ने शक्ति देउन । उहाँका रचनाहरु मार्फत हामी उहाँलाई सदा सम्झिरहने छौ ।
    -Sushama

    ReplyDelete
  4. भावपूर्ण श्रद्धाञ्जली रमेश विकललाई ।

    ReplyDelete
  5. विकलजीले केही वर्षअघि काठमाडौँको एउटा कार्यक्रममा इच्छा राख्नु भएथ्यो- 'जीवनको अन्तिम पलसम्म लेख्न पाउँ ।'उहाँको इच्छा पुरा भयो । स्रष्टा गुमाउनुको पीडा त छँदैछ, अझ त्यो भन्दा चुनौती हो स्रष्टालाई यादमा सँगालीरहनु र उसको कृतिको महत्ता बुझ्नु । त्यस मनेमा विकल सदा हामीमाझ जिउँदो जग्दो रहनेछन् ।

    ReplyDelete
  6. उसै पनि गरिव देश, अब झनै साहित्यका अथक श्रष्टा समेत गुमाएर झन गरिव हुने भयो ।

    उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु ।

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. Hridaya dekhinai sradanjali Rames Bikallai.

    ReplyDelete
  9. रमेश विकलज्यू मा हार्दिक श्रद्धाञ्जली।

    ReplyDelete
  10. अरु त के नै गर्न सकिन्छ र? तिनै समबेदनाका शब्दहरु सहित दिबंगत आत्माको चिर-शान्तिको कामाना गर्न चाहन्छु । उहा अब हामिबिच नरहेपनि उहाका सृजना र साहित्यको संरक्षणमा चाहि हामिले बिषेश ध्यान दिनु पर्ल जस्तो मलाइ लाग्दछ ।

    ReplyDelete
  11. धन्यबाद सबैलाई!

    विकलज्यूले हामीलाई छोडेर जानुभएको निधिको संरक्षण गर्दै नेपाली भाषा-साहित्यलाई अझ अगाडि लान कोशिश गरौं हामी सबै मिली।

    ReplyDelete