July 15, 2007

नेताहरु अझै जनतालाई मूर्ख सम्झँदैछन्!

हाम्रा नेताहरुको मनमा जनताप्रति अलिकति पनि सम्मानभाव छैन भन्ने कुरा यो बजेट भाषणपछिका दिनहरुले छर्लङ्ग पारेका छन्। पहिला दरबारलाई हामीले केहि पनि देका छैनौं भनेर निकै क्रान्तिकारी खोकी निकाले। तर राजेश के सी ले आफ्नो कार्टूनमा देखाएझैं ‘टेबुलमुनिबाट’ भने दिएकै रहेछन्। कुरो किन लुक्थ्यो!?

महतले आठ दलको सहमतिमा आएको बजेट भनेपछि गल्तीको भागीदार पनि आठै दल हुन्। हाम्रा नेताहरुले एकै पटक दुईटा अक्षम्य गल्ती गरेका छन्। पहिलो, महान अप्रिल आन्दोलनको जनादेशलाई धोती लगाईदिएका छन् र जनताको त्याग र बलिदानको खुल्लमखुल्ला अपमान गरेका छन्। शहीदहरुको आलो रगतमाथि टेकेर बनेको अन्तरिम संविधानले दरबार र राजतन्त्रको अस्तित्व स्विकारेको छैन, वास्तवमा देश एक किसिमको गणतान्त्रिक राजनीतिक अवश्थामा छ। यो स्थितिमा पनि हाम्रा नेताहरु मानसिक रुपमा अझै दरबारकै दास छन् भन्ने कुरा उनीहरुले फेरि देखाएका छन्। आठ दलका नेता भनाउँदा यी मु----हरु कुनैपनि गणतन्त्रवादी हैनन्! जनतालाई धोका दिन र ढाँट्न बाहेक यीनीहरुको खुबी अन्त कतै पनि छैन। जनताले जति टाउकामा चढाएपनि यिनले पटक-पटक जनतालाई धोका दिन छाडेका छैनन्। दरबार संगसंगै यिनीहरु सप्पैलाई पनि बढार्ने गरी आन्दोलन नउठेसम्म यिनीहरु चेत्नेछैनन्!

फेरि यीनलाई ज्ञानेन्द्रको परिवारले भोकै मर्नुपर्ला भन्ने चिन्ता लाग्यो र दिए भनेर भनौं भनेपनि, देशले बजेट नदिदैंमा भोकै पर्ने स्थिति छ ज्ञानेन्द्र शाहको? भर्खरै महत भन्नेले पेश गरेको हाम्रो देशको बजेटको कति सय गुना सम्पत्ति ओगटेर बसेको छ दरबार! खोस्नुपर्ने बेलामा उल्टो बुझाउँदैछन्! थुक्क---!

दोश्रो गल्ती, जनतासंग झुट बोलेर गरेका छन्। जब दिनु नै थियो र दिइसकेपछि यो कारणले दिइएको भनेर जनतालाई सहि कुरा बुझाएको भए के जान्थ्यो यिनको? जनतासंग ढाँट्नुको तात्पर्य के हो? यसको मतलब यिनीहरु जनतालाई मूर्ख सम्झन्छन् र आफूले जे भनेपनि जनताले पत्याउँछन् भन्ने ठान्छन्। यो यिनका मति ओरालो लागेको कुराको प्रमाण हो र जनताले यिनीहरुलाई पनि नबढारी यीनका चेत खुल्ने छैनन्!

लालबुझक्कड माकुनेको बोली सुनौं न फेरि! ‘सिदा’ दिएको रे! बाहुनले 'सिदा’ पनि घरमा आएर २-३ घण्टा घोक्रो सुकाएपछि मात्र पाउँछ, त्यसै पाउँदैन। कुनै भूमिका, कुनै काम नभएको राजाका लागि करोडौं रुपियाँ छुट्ट्याउनु छ, तैपनि ‘सिदा’ रे! हैन, यो माकुनेको लाज कता गयो? हुनत प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन हाल्नेको मति यहाँ भन्दा बढी यत्रो हुन्थ्यो?!
(१७ जुलाइ अपडेट: माकुनेले कैदीलाई दिएको 'सिदा' भनेको रहेछ। मैले बाहुनलाई दिएको 'सिदा'को अर्थमा बुझेर गल्ती गरेछु, क्षमाप्रार्थी छु मेरा पाठकहरुसंग।
कैदीलाई 'सिदा' दिएको भन्ने माकुनेको यो कुरापनि हावादारी कुरा हो! के ज्ञानेन्द्र शाहलाई कैदमा हालेका छन् यीनीहरुले? जनताको सामु अण्ट-सण्ट बोलेर मूतको न्यानो लिन बाहेक के गर्न सकेका छन् र यीनीहरुले? के नारायणहिटी भनेको कैद हो? के हाम्रा चारखाल,भद्रगोल, नख्खु अदि जेलहरु पनि नारायणहिटीकै स्तरमा सुविधासम्पन्न छन्?---)

कतै जनता कुहिएको चामल खाँदैछन्, कतै बाढी-पहिरोमा परिवारका परिवार बिलाउँदैछन्, कतै भवन नभएर बच्चाहरु खुल्ला चउरमा पढिरहेछन, कतै एउटै कोठामा दुई-तीन्टा कक्षाहरु चलिरहेका छन्, देशका धेरै ठाऊँमा सामान्य औषधिसमेत नपाएर जनता अकालमा मरिरहेका छन्--------; देशमा अभाव र गरिबीको यति ठूलो लाम छ, तैपनि दरबारलाई करोडौंको ‘सिदा’!

यी नेताहरुलाईनै ‘बिदा’ नगरुञ्जेल यिनीहरुले आफ्ना मालिकलाई 'सिदा' दिन छाड्नेछैनन्!


अनि फेरि '२३७ वर्षदेखि पाईरहेको दरबारले अर्को ३-४ महिना पाउँदा के हुन्छ’ रे! गज्जब छ माकुनेको तर्कशक्ति! यो माकुने राजतन्त्रवादी भएको प्रमाण हो। भोलि ‘२३७ वर्षदेखिको राजतन्त्र अरु २०-३० वर्ष रहेर के हुन्छ र?! त्यसपछि फालौंला, अहिलेलाई भईहाल्यो’ भन्न बेर छैन! एमाले किन झन-झन पंगु भएर गएको छ भन्ने कुराको प्रमाण खोज्न अब अन्त जानुपर्ला र?

अब यो बजेटलाई संसदले कसरी पास गर्छ हेर्नु छ र दरबारलाई दिइएको 'सिदा’ को पक्ष-विपक्षमा क-कस्ले टेबुल ठोक्छन् हेर्नु छ! उसो त ‘सुत्केरीको औषधि’ समेत हजम गर्नेहरुको बहुमत भएको ठाऊँबाट त्यति नौलो र क्रान्तिकारी कदमको के आशा गर्न सकिन्छ र?! अनि कसै‍-कसैले माओवादी सांसदबाट केहि आशा गरेका हुनसक्छन्। तर मेरो विचारमा माओवादीहरु पनि ‘मूलधार’मा आईसकेका छन्,, उहि ‘सुत्केरीको औषधि’ समेत नछाड्ने मूलधार!

2 comments:

  1. बार्‌ह वर्ष पुच्छर ढुङ्ग्रामा राख्यो पुच्छर बाङ्‍गा बाङ्गै भनेको यहि हो! त्यो ज्ञानेले दर्होसित गोडेर अँध्यारा खोरमा जाँक्नु पर्ने अझ भनौ त्यो भैरबनाथ गणमा लगेर होस ठेगान नहुने गरि चेतबाबा काशि बनाउनु पर्ने अनि बल्ल होश आऊँथ्यो बज्जेहरुको।
    बडा मज्जा लागो के रे हउरको गफ सुन्न। :)

    ReplyDelete
  2. मलाई त सबै भन्दा रिस न्यायको धज्जी उदेकोमा लागि रहेछ; म ज्ञानेको Supporter हैन, तर न्याय - Law and order नभैकन अरु कुराको कल्पना गर्नु बेकार हो जस्तो लाग्छ, - गुण्डाहरुको जगजगी, प्रधान न्यायाधीस अँफै बिभिन्न भ्रस्टाचारको मुद्दामा मुछिनु अनी सबै भ्रस्टाचारिहरुले सफाई पाउनु; criminals हरु लाई नै संरक्षण दिनु

    पत्रिका पढ्नु नै दिक्क लाग्छ तर के गर्ने पढ्न छोड्न सक्दिन

    ReplyDelete