हिजो 'समुद्रपारी’मा पढें, नेपालका चार ठूला दलका ठूला नेताहरु, तीन दलका ‘एक नम्बरी’ आफैं र काँग्रेसका ‘का. वा. एक नम्बरी’(अब ‘दुई नम्बरी’भन्दियो भने अर्कै अर्थ लाग्ला भनेर!) आउँदैछन रे जापानमा। टोकियोको शान्ति तथा लोकतान्त्रिक मञ्च, नेपालको आयोजनामा हुने जस्तो छ कार्यक्रम। जे होस्, कार्यक्रम भब्यनै हुने होला, यस्ता ‘दिग्गज’ नेताहरु ‘पाल्नुहुने’ भएपछि।
यो मञ्च जनआन्दोलन-२ र त्यसपछि पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै सकृय भएर लागिरहेको छ। पहिला यो क्षेत्रको प्रतिनिधिको रुपमा (निष्कृय) सहभागिता थियो मेरो पनि एक ताका, तर सबै कार्यक्रमहरु टोक्यो केन्द्रित हुने र टोक्योसम्म जान गाह्रै पर्ने हुँदा त्यो निष्कृय सहभागिता पनि सकियो। यसको गुगल ग्रुप मेलबाट पनि निस्किएं म। मेरो त्यस्तो कुनै गुनासो भने छैन, किनभने नेपालीहरुको ठूलो संख्या टोक्योमै रहेकोले बढी गतिबिधि त्यतै हुनु स्वाभाविकै हो। यो क्षेत्रमा पनि नेपालीहरुको संख्या बढ्दैछ, चहलपहल पनि बढ्ला बिस्तारै।
कहिलेकाहीँ के लाग्छ भने, विदेशमा बसेपछि त्यो देशको राजधानीमानै बस्नु पर्ने रहेछ। बाहिर बस्दा ‘मूलधार’ बाट अलग भएजस्तो लाग्दो रहेछ। तर यो कुरा जापानमा मात्रै लागू होला जस्तो छ फेरि, किनभने अमेरिकामा वाशिंगटनतिर भन्दा बोष्टोन र न्यूयोर्कतिर बढी नेपाली चहलपहल भएको देखिन्छ (यहाँबाट हेर्दा है, त्यहाँकै यथार्थ के हो रामजाने!)। कुरो संख्याकै होला आखिर!
अँ, कुरो हाम्रा ‘नेता’हरु ‘यता’ आउनेबाट शुरु भएको हो। दिन-रात जनतालाई संविधानसभाका बारेमा सूचित गर्न र गणतन्त्रप्रति अझ बढी जनमत सृजना गर्न देश दौडाहामा हुनुपर्ने चारै प्रमुख नेताहरु एउटै कार्यक्रममा संगै उपश्थित हुनुपर्ने कारण भने बुझ्न गाह्रो भयो मलाई। (अरु कुनै कार्यक्रम छ कि कुन्नि जापानी सरकारसंग, थाहा भएन।) यस्ता कार्यक्रममा त शिर्ष नेताहरु नभएर अरु कुनै केन्द्रीय नेतानै भएपनि हुन्थ्यो होला। मैले मुख छुचो पारेकोमा ‘ल्याउने’ र ‘आउने’ संग सम्बन्धित धेरैलाई रिस उठ्ला, तर म आफ्नो सोचाइमा आत्मविश्वस्त छु।
पहिला एक-दुई पटक नेपालबाट आएका नेताहरुसंगको अन्तरकृया कार्यक्रममा जाने अवसर मिलेको थियो। त्यो बेलाका अनुभवहरुपनि लेख्दै गरम्ला मौका मिल्दा हुँदी। अहिले चाहिँ सुतम् अब!
No comments:
Post a Comment