विगत दश वर्ष यता मलाई जहिलेपनि नेपाल भासिनुपर्ने जति भासिइसक्यो, तल जानुपर्नेजति गईसक्यो, अब ओरालो लाग्ने ठाऊँनै बाँकीनै छैन र अब बाँकी भनेको उकालो लाग्नुमात्रै हो जस्तो लागिरहन्छ। तर के हुन्छ भने हरेक दिन बिहान ब्युँझिएपछि म मेरो नेपाल अघिल्लो बेलुका भन्दा धेरै भासिइसकेको भेट्छु र छक्क पर्छु। ओरालो लाग्नुको कुनै सीमानै हुँदैन शायद!
यो ओरालो लाग्नु बिभिन्न प्रतीकहरु बनेर अगाडि आउँछ र नेपाली हुनुको मेरो अस्तित्वबोधलाई नराम्रो चोट दिएर जान्छ। यस्तै घटना दैलेखमा घट्यो भर्खरै, जहाँ चार वर्षसम्म भोका जनताको नामको चामललाई गोदाममा कुहाइयो र पाखामा फ्याँकियो। जनताको भोक त जस्ताको तस्तै थियो, यसैले जनताले त्यै सडेको चामलको पनि 'सदुपयोग' गरे। यो जत्तिको घोर अपमानपूर्ण परिस्थिति के हुनसक्छ हामी नेपालीको लागि?! यो घटनाले पनि हामी सबैलाई ब्युँझाएन भने हामी नेपालीको संवेदना मरेको भन्ने ठानिदिए हुन्छ।
आमजनतालाई यो घटनाले वास्तवमै दुखित तुल्याएको छ तर राज्यको डाडु-पन्यू खल्तीमा राखेर बसेकाहरुको कानमा धेरै तेल छ शायद। सरकारले यो घटनालाई संवेदनशील भएर हेरेको भान दिनसकेको छैन। तदारुकताका साथ यस्तो घटनाको जिम्मेवार निकायमाथि कडा कारवाही हुनुपर्थ्यो र भविष्यमा यस्तो नहुने कुराको प्रत्याभूति गर्न सक्नुपर्थ्यो, तर 'लोकतान्त्रिक' भनाउँदो सरकार पनि नराम्रोसंग चुकेको छ। सरकार-मन्त्री आदिबाट एउटा बक्तब्य धरी आएको छैन। हुनसक्छ एक-दुई हप्तापछिको मन्त्रीमण्डलको बैठकमा कुरा उठ्ला, हुनसक्छ गिरिजाबाबु आफैं दैलेख जानसक्ने गरी तङ्ग्रिएपछि कुरा उठ्ला अथवा हुनसक्छ 'बजेट' बनिसकेपछि उठ्ला-----! पूरै 'देश' को बजेट बनाउने बेलामा नाथे दैलेखमात्रै कसले सोचेर बस्ने?! यै हुनसक्छ हाम्रा नेताहरुको मनष्थिति।
आज कतै पढेको थिएँ केहि वर्ष पहिले जुम्लामा पनि यसैगरि कुहाएर चामल फालिएको थियो। भनेपछि दुई-चार पटक अन्यत्र पनि भईसकेका छन् भनेर माने हुन्छ किनभने यस्ता घटना थोरैमात्रै बाहिर आउँछन्। यसको मतलब हाम्रो राज्य-संयन्त्रका लागि यो नौलो काम होइन, उ 'दक्ष' भईसकेको छ, चामल कुहाएर फाल्न!
हाम्रो सरकार र प्रशाशन पत्रु र पंगु छन् भन्ने कुरा त हामीलाई थाहा थियो र तत्कालै ठूलो चमत्कार नभए स्थिति खासै बदलिँदैन भन्ने पनि थाहा थियो तर यो घटनाले नेपालमा काम गरिरहेका राष्ट्रसंघीय निकायहरुको प्रभावकारितामाथि पनि प्रश्नचिन्ह उठेको छ। नेपालमा मात्र नभएर तेश्रो विश्वका अन्य देशहरुमा पनि यस्ता घटनाहरु नघटेका छैनन् होला। संयुक्त राष्ट्र संघ र यसका निकायहरु कतै भिमकाय जिउडालका लोसे हात्तीमात्रै त बनेका छैनन्? के यीनको पनि काम गर्ने शैली भनेको नेपाली सरकार-प्रशाशनकै जस्तो हो? लक्षित समूहसम्म सहयोग नपुगेको चार-चार वर्षसम्म विश्व खाद्य कार्यक्रम के हेरेर बसेको थियो? अप्ठेराहरु थिए भने हटाउनको लागि सरकारलाई र प्रशाशनलाई किन दवाव दिएन? आखिर नेपाली राज्ययन्त्रले सुन्ने भनेको त तिनै 'विदेशी'हरुको कुरा त हो!
मूल समस्या त हेलिकप्टरबाट चामल ओराल्ने संस्कृतिनै हो। जबसम्म सिँचाई र अन्य सुविधाहरु दिएर दैलेख र जुम्लाजस्ता ठाउँलाई स्थानीय कृषि उत्पादनले सकेसम्म आत्मनिर्भर बनाउन सकिन्न तबसम्म समस्या जहाँको तहिँ रहिरहनेछ। यो चर्चा चलेको यति धेरै समय बितिसक्यो तैपनि किन आजसम्म कुनैपनि कालखण्डको कुनैपनि सरकारले चासो नदिएको होला?!
**********
यता काठमाण्डौँमा पनि भोज चलिरहेकै छ, कुहिएको हैन मग्मगाऊँदो वास्ना आउने एकदम महंगो चामलको! भोज कहिले सीतारामले देलान् कहिले गीतारामले, यो कुन ठूलो कुरो भयो र? ठूलो कुरो त सीताराम र गीतारामको भोज खाइदिएर हाम्रा नेताहरुले 'देश'को लागि साह्रै ठूलो 'योगदान' दिईरहेका छन्! अब केहि दिनमै ज्ञानेन्द्र शाहले 'भोज' दिँदैछन्। के थाहा, यहाँपनि माधब नेपाल र रामचन्द्र पौडेल जानेछन् र डकार्नेछन्। अनि केहि दिनपछि मोदनाथ प्रश्रितले लेख लेखेर यो 'भोज आयोजन' र 'भोज ग्रहण'लाई नैतिकताको पूरै सेतो खोल हाल्दिनेछन्। किनभने यो नेपाल हो र यहाँ नयाँ घटना घट्दैनन्, केवल नयाँ खोल ओढेर पूरानै घटनाहरुको पुनरावृत्ति भईरहन्छ।
हाम्रो इतिहास आजसम्म कुनै एउटा गोलचक्करमा छ। यसले गोलचक्कर छोडेर अगाडि जाने बाटो कहिले समात्छ?!
Basanta Jee,
ReplyDeleteI liked your writing very much. You are hundred percent right. Our country is completely failured. To stay in this country is to destroy our valuable lives. We should not talk like this way as being a responsible citizen but we have no choice. We can do nothing coz there is no any oppertunity and place for us and how much we make our voice loud that much the leaders become deaf. If such situation remains for next 20 years than our country may limited in the pages of history.
Anyway, your blog is nice. Keep on writing. Writing is the best way to express our inner feelings and make the soul light.
Thank you Utshabjee for visiting my blog!
ReplyDelete