अमेरिका घुमेर आएको निहुँमा भक्तपुरकी ‘कुमारी’ सजनी शाक्यलाई हटाएर नयाँ ‘कुमारी’ को नियुक्ति गर्ने नेपाली कर्मचारीतन्त्रको योजना असफल भएछ। निर्णय गराईको पक्का नेपाली ‘नेपाली पारा’ को उदाहरण हो यो, पहिला कसैको प्रभावमा आएर सोच-विचारै नगरी ‘ल—यसो गर्ने---!’ भनेर फ्याट्ट बोल्दियो, पछि विरोध हुन थालेपछि ‘मैले/हामीले त्यसो भनेकै हैन!’ भनेर पन्छियो। ‘कुमारी’लाई हटाउने बारेको समाचारलाई संचार-माध्यमले महत्व दिएर यति चर्चामा नल्याएको भए शायद उनी सजिलै हटाईसकिने थिईन्। देवी भनेर मान्छेहरुबाट पुजिनु एकातिर छ, फेरि तिनै मान्छेहरुको कठोर नियन्त्रणमा पनि रहनु छ। गज्जब छ!
जहाँसम्म ‘कुमारी’ प्रथा स्वयंकै कुरा छ, यो आफैं पनि बहसको घेरामा आईसकेको छ। मेरो ब्यक्तिगत विचारमा पनि यो प्रथाको अन्त्य अनिवार्य भईसकेको छ। ब्यक्तित्व विकासको सबैभन्दा महत्वपूर्ण चरणका केहि वर्षहरुमा कथित 'देवी’को नाममा कुँजिएर बस्नुको महिमा गाउने दिन गए अब। सुन वा हिरा-मोती जे को भएपनि पिँजडा पिँजडानै हो। कुनै पनि बालक-बालिकाले असामान्य स्थितिमा बाल्यकाल बिताउन बाध्य हुनुहुँदैन, चाहे देवीकै रुपमा किन नहोस्। धर्म-संस्कृति र चालचलनको दुहाई दिएर यस्तो प्रथालाई सधैं टिकाईराख्नुपर्छ भन्नेहरु पनि छन्। तर संस्कृति र चालचलन भनेका निश्चित समयका उपज हुने हुनाले समय बदलिँदै गएपछि केहि अलिकति फेरिन्छन्, केहि हराएर जान्छन् र तीनको ठाऊँ सामयिक संस्कृतिले लिन्छन्। देशका अरु भागका ‘कुमारी’ प्रथाका बारेका किंवदन्तीहरु थाहा छैन, तर काठमाडौंको कुमारी प्रथा बारेको कथा पूरै सामन्ती पाराको छ र राजालाई महिमामण्डित पार्न र देउताहरुकै समकक्षी देखाउनमात्रै रचिएको हो भन्ने कुरा सजिलै थाहा हुन्छ। राजासंग देवी पासा खेल्न आउने कथा त्यो जमानाले शायद सजिलै पचाउँथ्यो, यो जमानाले भने पचाउने कुरो होईन।
I agree with your thought on this matter. Kumari tradition has to get to an end.
ReplyDelete