सात साल देखि पकाउने सूर कसिएको र अझै आगै बाल्नसमेत नसकिएको "संविधान सभा" नामको अजीब खिचडी यस पाला पनि पाक्ने छाँट देखिएको छैन। राम्रोसंग छड्केर पाक्न पायो भने यो खिचडीले धेरै ठूला-ठूला काम गर्न सक्छ र हामीलाई उज्यालोतिर डो-याउन सक्छ भन्ने आश हो हामी सबैको। तर यहाँ त खिचडी बसाल्नै नदिने र बसालीहालेपनि राम्ररी पाक्न नदिने खेल चलिरहेको छ। खिचडी पाक्नै पाएन (चुनावै हुनपाएन) भने देश हिंसा-द्वन्द र बेथितिको अझ गहिरो खाडलमा धकेलिने निश्चित छ। राम्ररी नपाकी काँचै खिचडी खानुप-यो देशले भनेपनि स्थिति उहि हुनेछ।
संविधान सभाको सबैभन्दा ठूलो शत्रुको रुपमा दरबारीया शक्तिलाई लिइएको छ। राम्ररी चुनाव हुनपाएर जनताको आकांक्षाअनुरुपको संविधान सभा बन्यो भने सबैभन्दा पहिले ओरालो लाग्ने पालो दरबारीयाकै हुनाले, स्वाभाविक हो, आफ्नो अस्तित्वरक्षाको लागि जे गर्न पनि तयार हुन्छ दरबार र गराइरहेको पनि छ होला। दरबारको कुनैपनि षडयन्त्रलाई नाकाम गर्नका लागि देशका राजनीतिक शक्तिहरुमा इमान्दारिता, सजगता, अनुशाशन र एकता चाहिन्छ। दु:खको कुरो, यतिखेर हाम्रा राजनीतिक दलहरुसंग केहि पनि छैन।
सबैभन्दा चरम अनुशाशनहीनता देखाइरहेका छन् माओवादीहरुले। हिजो प्रजिअमाथि भएको हातपात त पछिल्लो कडीमात्रै हो। उनीहरु सारमा शाही मण्डलेभन्दा कत्तिपनि फरक छैनन् भन्ने कुराको अर्को प्रमाण थपिएको छ। मूढे शक्तिको भरमा जे गरेपनि हुन्छ भन्ने भूत सवार भएको छ माओवादीहरुमा र उनीहरु शायद यहि सोच्दा हुन् कि माओवादीको नाममा जे गरेपनि जनताले स्विकार्छन्। गम्भिर मूर्खतापूर्ण भूल गर्दैछन् माओवादीहरु र आफ्नै विनाशको बाटोमा गईरहेका छन्। अति भएपछि जनता कसरी उठ्छन् र क-कस्को के गति गराईदिन्छन् भन्ने कुरा पतनको संघारमा पुगेको राजतन्त्रलाई हेरेर बुझ्नुपर्ने हो यिनीहरुले, तर यिनीहरुको दिमागमा बिर्को लागेको छ। डेढ शताब्दी पुराना मन्त्रहरु र प्रचण्डको ब्यक्तिपूजामात्रैले दिक्षित भाँडहरुको भीडले सोच्नसक्ने कल्पना गर्नु पनि बेकारै हो।
जसले जे सुकै भनुन्, तर साँचो कुरा के हो भने संविधान सभाको अर्को शत्रु माओवादी हो र यो दरबारकै स्तरको शत्रु हो। पोहर बैशाख-जेठतिर जंगलबाट शहर पस्दा यिनलाई लागेको थियो कि 'पूरै देश हाम्रो जय-जयकारमा छ र संविधान सभाको चुनावमा दुई-तिहाई बहुमत त हाम्रै आऊँछ, नभए बहुमतमात्रै त कतै नजा!' तर मनगढन्ते विश्लेषणले सजिलै हावा खाने छाँट देखे यिनले केहि समयमै। त्रासरहित निस्पक्ष चुनाव हुने हो भने माओवादी र राप्रपाको बराबरीसम्म होला, त्यहाँ भन्दा माथि त त्यस्तै हो! माओवादीहरुको अचाक्ली बर्बरता जनताले बिर्सेका छैनन् (शाही बर्बरतामात्रै सम्झेर माओवादीलाई चाहिँ माफ गर्नुपर्छ भन्ने पनि छैन!) र त्यसको बदला जनताले चुनावमा लिने छन्। जनताले लिने त्यो बदलाको पूर्वाभाष भईसकेको छ माओवादीलाई र उ संविधान सभाको चुनाव चाहँदैन। कथंकदाचित चाहन्छ भनेपनि, बिस्तारै आफ्नो स्थिति मजबूत बनिसकेपछि मात्रै चाहन्छ। त्यसैले माओवादीहरु यो देशमा अराजकता फैलाउने कुनैपनि मौका छाड्दैनन्। नेताहरु माथि बसेर आदर्शका भाषण ठोक्छन्, उपनेताहरु र कार्यकर्ताहरु तल अराजकताको ताण्डव-नृत्य नाच्छन्। भोलि सरकारले कारवाही गर्न खोज्छ, अनि फेरि जंगल पस्ने घुर्की देखाएर कारवाही रोक्छन्। वाह क्या गज्जबको क्रान्तिकारी काइदा!
उता केन्द्रीय नेताहरु बैठकमा 'जनविद्रोहको आवश्यकता' देख्छन् र संविधानसभा चुनाव अगाडि वा पछाडि कहिले 'गर्ने' भन्ने बारेमा 'बहस' गर्छन्! चुनाव अगाडिनै कथित 'जनविद्रोह' गर्नुको अर्थ हो चुनाव हुन नदिनु र भईसकेपछि गर्नुको अर्थ हो चुनावको नतिजालाई अस्विकार गर्नु। यो माओवादीहरुको पराजित मानसिकताको लक्षण हो। नेपाली जनताको माझमा आफ्नो असली हैसियत देखेपछि उनीहरु आत्तिईसकेका छन्। तर उनीहरु आफूलाई सुधार्न र जनताको मन जित्न चाहँदैनन्। मूढे बल र हिंसाको भरमा आफ्नो अधिनायकवादी सत्ताको स्थापना गर्न चाहन्छन्।
यो उनीहरु विनाशको बाटोमा हिँडेको लक्षण हो। उनीहरुमात्रै विनाश भए त मलाई दु:ख लाग्ने थिएन, बरु खुशीनै हुने थिएँ। तर उनीहरुको कारणले देशले अझ बढी रक्तपात देख्नुपर्ने र जनताले अझ कष्टकर जिन्दगी भोग्नुपर्ने छ। भविष्को यो कल्पनामात्रैले पनि मलाई असाध्यै दु:खी बनाउँछ।
चीनको 'सुधारिएको माओवाद' पाँच वर्ष अनुभव गरेको र उक्त क्रममा उत्तर कोरियाको जारी 'राजतन्त्रात्मक सक्कली माओवाद'मा जनताको पशुभन्दा पनि गएगुज्रेको हालत पनि देखेको हुनाले माओवादीहरुप्रति ब्यक्तिगत रुपमा मेरो विश्वाश कहिल्यै थिएन, अलिकति पनि थिएन र कहिल्यै पनि हुनेछैन। अनगिन्ती कमजोरीहरुका बाबजूद लोकतन्त्र निर्विकल्प राजनीतिक ब्यबश्था हो। कुनैपनि अधिनायकवाद, पहेंलो वा रातो, शाही वा माओवादी, स्विकार्य हुनसक्दैन। अधिनायकवाद मूर्दाबाद! लोकतन्त्र जिन्दाबाद!!
No comments:
Post a Comment