July 09, 2007

कान्तिपुरमा पाठक पत्र


आजको कान्तिपुरको 'पाठक मञ्च'मा मेरो एउटा सानो पत्र छापिएको रहेछ, जुन मैले हालसालै प्रकाशित एउटा लेखको प्रसंगमा पठाएको थिएँ। माओवादीहरु शाही सत्ताका अपराधहरुलाई मात्रै उचालेर आफ्ना अपराधहरुमाथि भने पर्दा हाल्न खोजिरहेका छन् भन्ने आशयको लेख थियो उषाकिरणजीको।
थोरै मात्र काँटछाँट गरेछ कान्तिपुरले यो पटक भने। कान्तिपुरले नामको तल 'काठमाडौं' हाल्दिएछ, मैले भने इ-मेल ठेगाना लेखेको थिएँ।
यस्तो थियो पठाएकै ब्यहोरा भने।

राजेन्द्र ज्वालाका सतही कुरा

उषाकिरण तिम्सेनाको ‘प्रचण्डको भावुकता’ (२१ असार) माथिको राजेन्द्र ज्वालाको प्रतिकृया ‘उषाको आँसु’ (२२ असार) एकदम सतही र बच्काना लाग्यो। तिम्सेनाजीले शाही सत्ताको कर्तूतमाथि पर्दा हाल्न खोज्नु भएको होइन, खाली माओवादीको दोहरो चरित्रमात्र देखाउन खोज्नुभएको हो भन्ने कुरा नेपाली अलि-अलि मात्रै बुझ्नेले पनि उहाँको लेखबाट बुझ्नसक्छ। कुरो के हो भने, शाही ज्यादतीका मतियारहरुलाई कारवाही हुनुपर्छ भने माओवादी ज्यादतीका मतियारहरुमाथि भने कारवाही हुनुपर्छ कि पर्दैन? भैरवनाथ गणका हत्याराहरुलाई कारवाही हुनुपर्छ भने बाँदरमूढेका हत्याराहरुलाई कारवाही हुनुपर्छ कि पर्दैन? मैना सुनुवारको परिवारले न्याय पाउनुपर्छ भने मुक्तिनाथ अधिकारी अथवा पण्डित पोखरेलका परिवारहरुले न्याय पाउनु पर्छ कि पर्दैन? के माओवादीका सम्पूर्ण अपराधलाईचाहिँ जनताले सहिदिनु र बिर्सिदिनु पर्ने हो? माओवादी (तपाईँको भाषामा ‘आफ्नो चाकोमा चूप लागेर बसेको अरिंगाल’) फेरि जंगल पस्छन् भन्ने हाउगुजीका भरमा उनीहरुलाई जनताले टाउकोमा टेकाएरै राखिरहनु पर्ने हो?

माओवादीले मारेका भन्दा शाही सत्ताले मारेका बढी छन् भनेर संख्या गनेर माओवादीलाई राम्रो देखाउनुभन्दा बच्काना कुरा केहि पनि हुन सक्दैन। हत्या हत्यानै हो, थोरै हत्या गर्ने पनि हत्यारानै हो, धेरै गर्ने पनि हत्यारानै हो। माओवादीको बुद्धिमानी यसैमा हुनेछ कि उ आफैंले दोषीहरुलाई कारवाही गरोस् र जनतालाई जानकारी देओस्। अहिलेको राज्यसत्ताले त्यो हिसाब नमागेपनि जनताले एक दिन माग्ने छन् र इतिहासले माओवादीको मूल्यांकन शाही सत्ताभन्दा फरक गर्नेछैन।

-वसन्त गौतम
basantakg@yahoo.com

3 comments:

  1. That is great friends me too in more then 5 daily newspaper mainly in nayapatrika. rajdhani. samacharpatra.
    also thanks for comment in gossipnepal. that is my nepali blog but. i write more here in blogmandu. if u liked to exchange url then send me massage la.

    ReplyDelete
  2. By the way, Harijee, what is your mail address?

    ReplyDelete