(यो मेरो लगभग डेढ वर्ष पूरानो रचना हो र आफैंलाई पनि मन परेको रचनामध्येको एक हो। ब्यस्तताको बीचमा यो ब्लगलाई अगाडि बढाउन यसको सहारा लिएको हुँ।)
"दौरा सुरुवाल कोट"
पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,
शहरले श्वाश फेरेको मनपराऊँदैन
र ‘दौरा सुरुवाल कोट’को सभामा
अक्सिजनमा कोटा लगाउने भाषण गर्छ,
रिसाएको छ समयसंग
त्यसैले समयलाई पक्राउ गर्ने प्रस्तावमा
दशै औँलाको छाप ठोक्छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट;
रगतरंगको रक्सीले धर्मराऊँदै
जेठी,माइली, साइलीहरुलाई सराप्दै
(पालै पालो धोका दिएको उसैले हो!)
नम्बर नखुलेकी कान्छीको ढोका ताक्छ,
नसकेपछि सामना गर्न
कान्छीको बैँशको चुनौती
वर्तमानको नाममा
एक आमाचकारी गाली छादेर
मूर्दाझैं लम्पसारिन्छ-
इतिहासले पाखा लगाईसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट।
*****************************************
No comments:
Post a Comment