Showing posts with label छलफल. Show all posts
Showing posts with label छलफल. Show all posts

January 22, 2010

पूराना कुरामा केहि थपथाप

यो टाँसो "'माधवी' का कुरा" कै समकालीन टिपोटमा आधारित छ। कुरा अरु दुई किताबको हो, त्यहि बेला पढेको।

कुनै पनि किताब पढिसकेपछि टिपोट लेख्ने बानी होईन मेरो, त्यो बेला भने के भएर लेखिएछ। त्यो वर्षको दशैं-तिहार बिदाको बेला थियो जस्तो छ टिपोटहरुको मिति हेर्दा। त्यो बेला पढेका दुई भिन्दै खाले किताबहरुको बारेको यो टिपोट जस्ताको तस्तै राख्दैछु पहिला।

 

दुई भिन्न विचारका पुस्तकहरु
२०५५/६/२२
बिहान ७:५० बजे
(नैकाप)


हालसालै मात्र दुइटा कथासंग्रहहरु पढ्ने मौका पाइयो, दुइ बिल्कुलै भिन्दै पाराका संग्रहहरु। (यो विदामा मैले अलि धेरैनै पढें जस्तो लाग्दैछ।)

एउटा कथासंग्रह भाऊपन्थीद्वारा लिखित "एउटा आकारको बारेमा" (०४१-४२ सालतिर प्रकाशित) र अर्को घनश्याम ढकालद्वारा लिखित र हालसालै प्रकाशित "आजको महाभारत" थियो। पछिल्लो कथासंग्रह माओवादीद्वारा संचालित जनयुद्धको बारेमा रहेछ, लेखकले पूर्ण रुपमा माओवादी जनयुद्धको समर्थनमा आवाज उठाएका छन्।

भाऊपन्थीका कथाहरुमा यथेष्ट साहित्यिक कलात्मकता छ, सामाजिक विसंगति र गरीबिको राम्रो चित्रण छ, तर उनीसंग यी समस्याहरुको समाधान छैन (उनलाई समाधानको त्यति चासो पनि छैन जस्तो छ।)। घनश्याम ढकालका कथाहरु भने केहिलाई छोडेर साहित्यिक कलात्मकतावीहिन छन, समस्याको स्पष्ट चित्रणभन्दा पनि माओवादी जनयुद्धलाई एउटै "कल्पवृक्ष समाधान" को रुपमा ब्याख्या गर्न तल्लीन छन्। आधीभन्दा बढी पढ्न सकिँन मैले। धेरैजसो नारा र वामपन्थीहरुले दोहोर्याउँदै आएका शब्दजालहरु बढी छन्।
-------------------------------------------------------------------------
अहिले आएर विचार गर्दैछु, साहित्यलाई हेर्ने मेरो दृष्टिकोणमा भने कुनै परीवर्तन भएको रहेनछ त्यो बेलादेखि अहिलेसम्म। साहित्य साहित्य हुन त्यसमा यथेष्ट कलात्मकता हुनैपर्छ भन्ने मेरो मान्यता जस्ताको तस्तै (सके अझ जब्बर भईसकेको) छ। जे नाम दिएर जसका लागि लेखेको भनेपनि नारा वा ठाडो राजनीतिक 'प्रेष्कृप्सन' साहित्य हुनसक्दैन। नेपालमा 'प्रगतिवाद' को नाम दिएर लेखिएका धेरैजसो रचनाहरु मलाई यस्तै नारा वा दलीय दस्तावेजजस्ता लाग्छन्, तिनको आयु क्षणिक हुन्छ। राजनैतिक सन्देश दिन चाहनेले त्यो सन्देशलाई यथेष्ट कलात्मकताले सिंगार्न सकेन भने त्यो कुनै राजनैतिक दस्तावेजभन्दा फरक हुन सक्दैन। यथार्थमा जति कलात्मक/साहित्यिक ढंगले राजनैतिक सन्देश पस्किन सक्यो, प्रस्तुति त्यत्तिकै बलियो हुन्छ।

माथि उल्लेख गरिएको घनश्याम पौडेलढकालजीको जस्तै अर्को एउटा कृति पढेको थिएँ मैले डेढ वर्ष पहिला। माओवादीका केन्द्रीय नेता सीपी गजुरेल जापान आएका थिए र तिनको स्वागतार्थ गरिएको एउटा कार्यक्रममा पुगेको थिएँ म (कार्यक्रम बारेको टाँसो पढ्न यहाँ क्लिक गर्नुहोस्)। गजुरेलजीले लेखेको "प्रतिरोध" नामक कथा-संग्रह किन्नेमा परियो। गजुरेलजीको बक्तव्य, उनीसंगको कुराकानी आदिबाट प्रभावितै भएको थिएँ म। तर कथा-संग्रहले भने मलाई घोर निराश बनायो। पौडेलढकालजीको उपन्यासमा जस्तै माओवादी जनयुद्धलाई महिमामण्डित गरिएको 'प्रतिरोध' का कथाहरु कतिपयमा त पृष्ठका पृष्ठ माओवादी दस्तावेज घुसेजस्ता लाग्छन्। उनले कथा लेख्ने दु:ख नगरेकै भए हुन्थ्यो जस्तो लाग्यो मलाई। उनका अरु कृतिहरु पढ्ने मौका पाएको छैन मैले, यो एउटाले दिएको प्रभाव भने यहि हो।

साहित्यले, विशेष गरी यथार्थवादी साहित्यले समाजको बिश्लेषण गर्ने हो कि सामाजिक समस्याहरुको समाधान दिने हो? अथवा दुबै काम गर्ने हो?

साहित्य समाजको एक भाग हो, तर यो सम्पूर्ण समाज भने होईन। साहित्यले समाजको बिश्लेषण गर्नसक्छ, सामजिक रोगहरु सबैले छर्लङ्ग देख्न सक्ने बनाउन सक्छ तर यसले समग्र समाधान दिन सक्दैन। सामाजिक र राष्ट्रिय समस्याको समाधान बहुपक्षीय हुन्छ। साहित्यले कुनै दल वा वादकै सीमामा आफूलाई कैदी बनाएर दिएको समाधान त झनै काम नलाग्ने हुन्छ। यसरी कैदी बनेको साहित्यले दिने बिश्लेषण शुरुदेखिनै दूषित हुन्छ।

मेरो विचारमा साहित्य र साहित्यकारको सबैभन्दा महत्वपूर्ण काम इमान्दारीपूर्बक समाजको बिश्लेषण गर्ने हो र यो बिश्लेषणमा कलापक्ष अलिकति पनि कमजोर हुनुहुँदैन। साहित्यको मूल दायित्व यहिँ समाप्त हुन्छ।  यसपछि समाधानको दिशातिर औंल्याउन सम्म सक्छ साहित्यले, त्यो पनि साहित्यकारको लेखन शैलीमा भर पर्ने कुरो हो।

"एउटा आकारको बारेमा" संग्रहका कतिपय कथाहरुमा बर्णित घटनाक्रमहरु अहिले पनि झल्झली छन् मेरो मनमा।  टिपोटमा मैले भाऊपन्थीजीलाई समस्याहरुको "----समाधानको त्यति चासो पनि छैन जस्तो छ!---" भनेर लेखेको रहेछु। मेरो त्यो सोच भने गल्ती लाग्छ अहिले मलाई। समाधान नचाहने मान्छेले समस्याहरुको त्यति जीवन्त चित्रण गर्नै सक्दैन। समस्याहरुले आफूलाई रुवाएपछि, आफ्नो मन लाई तरंगित बनाएपछि साहित्यकारले ती समस्याहरुको चित्रण गर्न र बिश्लेषण गर्न थाल्छ। उसको लेखाईमा समस्याहरुको समाधानको तिब्र लालसा भएमात्र उसको बिश्लेषण सार्थक हुन्छ। भाऊपन्थीजीका कथाहरुको महत्व यसैकारणले छ।

त्यो संग्रहबाहेक 'मधुपर्क', 'गरिमा' आदिमा पनि भाऊपन्थीजीका केहि कथाहरु पढेको छु। त्यो पनि एक दशक पहिलाकै कुरा भईसक्यो। ढुक्कले नेपाली पुस्तक-पत्रिकाहरु पढ्न नपाएको धेरै भयो। अब त कहाली लाग्न थालेको छ मलाई।

पूरानो टिपोटको प्रसंगमा यति कुराहरु भए। हात पर्दा तिनवटै किताबहरु पढ्न र आफैंले बिश्लेषण गर्न  नभुल्नुहोला। कथा लेखनमा रुचि छ भने भाऊपन्थीजीका कथाहरु लेखन शैली सिक्ने राम्रा सन्दर्भ स्रोत समेत बन्न सक्छन् भन्ने लाग्छ मलाई।

January 10, 2010

"माधवी" का कुरा

मेरो एक वर्ष पहिलाको टाँसो नेपाली भाषाबारे केहि कुरा लाई फेसबुकमा नोटको रुपमा पनि राखेको छु मैले ( http://www.facebook.com/note.php?note_id=60028820333 )। त्यहाँको छलफलमा भाषाको सरलीकरण, मानकीकरण आदिका बारेमा आफ्ना प्रष्ट धारणाहरु दिने क्रममा साथी बिश्व पौडेलले "----भाषाको दीर्घजीवनको लागी यसको सरलीकरण खतरा नभै सहायक हो बरु चिन्तन रहित , हल्काफुल्का रचनाहरु र तिनका रचनाकारहरु (अझ मुख्य गरेर नेपालका नारावादी लेखकहरु जसले समाजको निरपेक्ष चित्रण गर्नु भन्दा दुराग्रही र गलत चित्रण गर्छन् ) खतरा हुन भन्दै कुनै दिन 'वार एंड पिस' जस्ता रचना नेपालीमै लेखियोस भन्ने---" कामना गर्नुभएको छ। त्यहि छलफलको अर्को एक ठाऊँमा उहाँले "--मैले नेपाली भाषाको अधोगती कहाँ पाएको छु भन्दा नयाँ रचनाहरुमा। किताबहरु छोटा र निरस छन। बसेर मेहनत गरेर, वर्षौ समय लगाएर लेखिएको किताब , माधवी जस्तो, पाइन्न।--" भनेर सबैलाई झक्झक्याउने, मननीय र अति सान्दर्भिक विचार पनि राख्नुभएको छ। उहाँको कुरा सुनेपछि आफूले धेरै वर्ष पहिला एक पटक पढेको, मदनमणी दिक्षितज्यूको अमर कृति "माधवी" को बारेमा ब्लगमा केहि कुरा लेख्न मन लाग्यो। सम्झाइदिनुभएकोमा बिश्वजीलाई धन्यबाद!

आजभन्दा तीन हजार वर्ष पहिलाको उत्तर भारतीय समाजका घटनाक्रमहरुलाई आधार बनाएर लेखिएको उपन्यास "माधवी" ले वि. सं. २०३९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।


तस्बिर साभार: Spiny Babler Museum 

'माधवी' संगको मेरो सानो ब्यक्तिगत 'चिनजान' बारे कुरा गर्नुभन्दा पहिला टोल्स्टोयको 'वार एण्ड पिस' को कुरा। यो किताब मैले अझै पढेको छैन। पढ्छु (र आफैसंग राख्छु) भनेर किनेपछि त्यसको भिमकाय आकार देखेर (र किताबको महत्वका कारण अलिक गम्भिरताका साथ पढ्नुपर्ला भन्ने सोचेर) कुनै लामो बिदा कुर्न थालें। किताब (अंग्रेजी अनुवाद) किनेको १६ वर्ष भयो होला, त्यो 'लामो बिदा' भने अझै जुरेको छैन:) टोल्सटोयकै अर्को अमर कृति 'आन्ना कारेनिना' भने कलेज जीवनको कुनै बिदामा एकचोटि पढेको थिएँ।

'माधवी' मैले वि. सं. २०५५ मा पढेको रहेछु। मलाई त्यो किताब पढ्दाको मेरो तन्मयताको अझै सम्झना छ, मेरो त्यस्तो तन्मयता अरु कमै किताबमा मात्र दोहोरिएको छ।

वैदिक कालका घटनाक्रमहरु र दर्शनको विषयमा जानकारी हुनेका लागि 'माधवी' बुझ्न अरुलाई भन्दा सहज हुने कुरामा कुनै सन्देह छैन। साहित्यका सबै पाठकहरुमा यस्तो जानकारी हुन्छ भन्ने चाहिँ छैन, यथार्थमा ज्यादै कममा मात्रै हुन्छ। तर 'माधवी' मेरो विचारमा सबैले पढ्नसक्ने र पढ्नैपर्ने कृति हो। वैदिक घटनाक्रमहरु र त्यो युगको दर्शनलाई दिक्षितज्यूले कत्तिको न्याय गर्नुभएको छ, त्यो अरु विज्ञ विद्वानहरुको चर्चा र समालोचनाको विषय हुनसक्छ तर एउटा आम पाठकले पनि यसमा वर्णित घटनाक्रमहरुको कथात्मकता, पात्रहरु र घटनाहरुको अन्तर्सम्बन्धले जन्माउने कौतूहलता र सबैभन्दा बढी त दिक्षितज्यूको कुशल शब्दशिल्पको आनन्द लिएर यो उपन्यास पढ्न सक्छ। वैदिक विषयमा कुनै ज्ञान नभएको मजस्तो स्वाँठको अनुभव यहि हो। मैले यसलाई अरु काल्पनिक उपन्यासजस्तै गरी पढेको हुँ। मजस्तो साधारण पाठकका लागि यो भन्दा अरु बाटो पनि छैन।

आजभन्दा डेढ-दुई वर्ष पहिला कुनै साहित्यिक पत्रिका ('अभिब्यक्ति' वा 'रचना' मध्ये एउटा हो जस्तो लाग्छ) मा मदनमणि दिक्षितज्यू स्वयंले लेख्नुभएको 'माधवी' सम्बन्धी एउटा चर्चा पढेको थिएँ। त्यसमा उहाँले 'माधवी' माथि उहाँले आशा गरेभन्दा ज्यादै कम चर्चा, समालोचना आदि भए भनेर लेख्नुभएको छ। किन यस्तो भएको होला? नेपालमा गम्भिर साहित्यिक कृतिहरु पढ्ने, चर्चा गर्ने काम कम भएको हो कि? अथवा दिक्षितज्यूको विद्वतासंग दाँजिन सक्ने समालोचकहरु हुँदै नभएका हुन् कि? कारण जे र जति भएपनि हाम्रो भाषा र साहित्यको लागि त्यो राम्रो लक्षण भने होईन।

'माधवी' पढ्दाताकाका दिनहरुमा पढ्ने कुरामा थोर-बहुत जाँगर चलाएपनि लेख्ने कुरामा भने म महाअल्छी थिएँ। 'माधवी' पढेपछि त्यसबारेमा भने केहि हरफहरु लेखेको रहेछु। मेरो गञ्जागोल मनस्थिति झल्काउने हस्ताक्षरमै पढ्नुहोस् पहिला:)




केरमेट रहित गर्न सकेको भए यस्तो हुन्थ्यो होला:)

 "माधवी"

मदनमणि दिक्षितद्वारा रचित "माधवी" दुइ दिन लगाएर पढें। उत्तरवैदिक कालीन कथामा आधारित यो उपन्यास रोचक छ।

समीक्षा, आलोचना केहि गर्ने मन छैन मेरो यतिखेर। त्यतिखेरको जीवनचर्याका घटनाहरु धेरैजसो मेरो मनले स्विकार गर्न सक्ने पनि भएन।

"माधवी" भन्ने नारीप्रति भने म मा ज्यादै करुणा छ। एउटी नारीले आफूलाई घोडाको निम्ति साट्नुपर्ने बाध्यताको त्यो युगलाई धिक्कार छ।

म गालबलाई स्वयंवरमा उसले माधवीलाई लज्जित पारेको घटनालाई लिएर घृणा गर्छु। आफूप्रति त्यति धेरै त्याग गरेकी र त्यति धेरै ममतामयी नारीप्रति उसले अत्यन्तै अनादर गरेको हो। अत्याचारप्रति माधवीको विद्रोह शायद त्यै वनगमन होला।

र दार्शनिक पक्ष, माधवीमा त्यो युगको दर्शनका ब्याख्याहरु छन् ठाऊँ-ठाऊँमा। तर दार्शनिकतालाई कलात्मकताले जितेको हुनाले उपन्यास निरस हुनबाट जोगिएको छ।

जे होस् , उपन्यास हाम्रो नेपाली साहित्यको एउटा अमूल्य निधिनै बनेको छ।


२०५५/६/२८
(रात्री १०:०० बजे 
घर)


यो टाँसो लेख्ने क्रममा आफ्नो पूरानो टिप्पणी पढ्दा मलाई आफ्नो चिन्तनशैलीमा आएको परीवर्तन र आफ्नो फेरिएको मनोदशाको प्रष्ट अनुभूति पनि भयो। यतिखेर आएर मैले पहिलोपटक 'माधवी' पढेको भए माथि लेखिइने कुराहरु अवश्यपनि केहि फरक हुने थिए होलान्।

फेरि एकपटक माधवी पढ्छु र पहिलाभन्दा बढी समय लगाएर पढ्छु, यो निश्चय गरेको छु मनमा।

November 07, 2009

संभावित ब्लगरहरुसंग


केहि दिन पहिला झापाका ओजोन सन्दीप भाइको मेल पाएँ। भाइ ब्लग-जगतमा प्रवेश गर्न उत्सुक र आतुर रहेछन् र सल्लाह/सुझावको लागि मलाई मेल गरेका रहेछन्। यसरी उत्सुक मान्छेहरुको मेल पाउनुले मलाई एकदमै खुशी बनाऊँछ। आफूसंगको जानकारी र अनुभव बाँड्न पाऊँदाको आनन्द र आत्मसन्तुष्टि बेग्लै हुन्छ। ब्लग-जगतमा पनि एकापसमा सिक्ने-सिकाउने कृया निरन्तर चलिरहेको हुन्छ, यथार्थमा ब्लग-जगतलाई जीवन्त बनाउने एउटा प्रमुख पक्ष हो यो।

सन्दीप भाइसंगको सम्पर्कले अर्को खुशीपनि थप्यो मेरो मनमा। आफूभन्दा २० वर्ष कान्छो नेपाली पुस्ताको सोचाई र आकांक्षाका बारेमा अलि-अलि जान्ने मौका मिल्यो। हुनत एउटा ब्यक्तिलाई हेरेर समग्र समूहको समग्र मूल्यांकन गर्न सकिँदैन तर सीमितनै भएपनि जान्न पाउनु राम्रै अवसर हो।

हामी बीच सात-आठ ईमेलहरु आदानप्रदान भए। सन्दीप भाइको जिज्ञासामा ब्लगमा के विषयमा कसरी लेख्दा राम्रो हुन्छ, डोमेन नेम किन लिने, कसरी लिने देखि 'ब्लग लेखेर कत्तिको शत्रु कमाउनुभएको छ?' भन्नेसम्मका जिज्ञासा थिए। 'शत्रु' वाला प्रसंग बाहेक अरु विषयमा सन्दीप भाइसंग भएका कुराकानीलाई संक्षेपमा लेख्न चाहन्छु आज। यो टाँसो मूलत: सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरहरुलाई लक्षित गरेर लेखिएको हो। नियमित ब्लग गरिरहेका साथीहरुलाई निरस लाग्न सक्छ, फेरि अरु ब्लगर साथीहरुले पनि यहि विषयमा लेखिसक्नुभएको छ। त्यसका लागि क्षमा चाहन्छु। नेपाली ब्लग-जगतमा सदस्यहरु बढाउनका लागि बेला-बखत यस्ता टाँसोहरु लेखिनु जरुरी छ भन्ने मेरो मान्यता हो।

सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरलाई मेरो सल्लाह हो यो।

१)ब्लग किन गर्ने? ब्लगमा के पस्किने?
ब्लग शुरु गर्नुभन्दा पहिले आफू किन ब्लग गर्न लाग्दैछु भन्ने कुरामा यथेष्ट चिन्तन हुनु जरुरी छ। लहडमा वा अरुले ब्लग गरेको देखेर शुरु भएका ब्लगहरु त्यति लामो समय टिक्दैनन्। यात्रा कि थाल्दै-नथाल्नु, थालिसकेपछि निरन्तरता दिनुनै राम्रो हो। त्यसकारण ब्लगको एउटा उद्देश्य, एउटा मिसन हुनैपर्छ। आफ्नैलागि मात्र लेख्ने हो भने बेग्लै कुरो।

ब्लग शुरु गरिसकेपछि निरन्तरता दिन गाह्रो छ। केहि टाँसोसम्म बास्तवमा त्यति आत्मविश्वाश पनि आऊँदैन। त्यसैले आफूले कुन विषयलाई ब्लगको प्रमुख स्रोत बनाउने हो भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। ब्लग धेरै विषयमा लेखिने संकलनजस्तो पनि हुनसक्छ अथवा कुनै एउटा निश्चित विषयवस्तुमा मात्रै केन्द्रित पनि हुनसक्छ। जसरी जाँदा निरन्तर हुन सकिन्छ, त्यहि बाटो रोज्नुपर्छ। आफूले लक्ष गर्न चाहेका पाठकहरुको रुचि कस्तो हुनसक्छ भन्ने विषयमा पनि चिन्तन आवश्यक छ।

समसामयिक घटनामाथिको टिप्पणी, आफ्नो रुचिका कुरा-साहित्य, संगीत, यात्रा आदिको चर्चा, प्राविधिक विषय, साहित्य, बालसाहित्य, फोटोग्राफी, अडियो ब्लग, भिडियो ब्लग, पारिवारिक अनुभव, पाक-कला, ---विषय अनगिन्ती छन्। नेपाली ब्लग जगत एक हिसाबले 'साहित्य रोग'ले ग्रसित छ र यसमा अझै चाहिँदो विवधता आउन सकेको छैन।

२) ब्लगको भाषा
नेपाली, अंग्रेजी वा जुन भाषामा लेखेपनि पाठक सजिलै भेटिन्छन, मुख्य कुरा ब्लगको विषयवस्तुको स्तरीयताको हो। एउटै ब्लगमा कहिले नेपाली, कहिले अंग्रेजी नगर्ने सल्लाह दिन्छु म। यसले पाठकहरुलाई झिँजो लगाएको अनुभव छ मेरो (मेरो नितान्त ब्यक्तिगत अनुभव हो यो, अरु ब्लगर साथीहरुको अनुभव फरक हुनसक्छ)। दुबैमा लेख्ने मन छ भने बरु दुईटा ब्लग बनाए हुन्छ।

३) ब्लगर, वर्डप्रेस वा अरु
सबैमा आ-आफ्ना सबल र निर्बल पक्ष छन्। जुनबाट शुरु गरेपनि हुन्छ।

४)निरन्तरता
ब्लगको नाममा समाचार पस्किने ब्लगहरु बाहेक अरु ब्लगहरु, त्यसमा पनि ब्यक्तिगत रुपले चलाईएका ब्लगहरु, दैनिक अपडेट गर्न गाह्रो हुन्छ। दिनदिनै पस्किन सक्नेगरी खुराक जम्मा पार्न सकिन्छ भने धेरै राम्रो। ब्लगका दुई टाँसोहरुको बीचको अन्तराल सकेसम्म सधैं उत्तिकै राख्नु राम्रो हुन्छ। कहिले दिनदिनै नयाँ टाँसो राख्ने, कहिले भने १५-२० दिन हराउने गर्नुभन्दा हप्ताको एउटा टाँसो राख्ने तर नियमित रुपमा राख्ने गर्नु आवश्यक छ। त्यतिले पनि भ्याईन्न भने दुई हप्ता वा तीन हप्ताको अन्तराल पनि बनाउन सकिन्छ।

आफूसंग उपलब्ध समय र ब्लगको विषय हेरेर अन्तराल तय गरेपछि ब्लगको मूलमन्त्र "निरन्तरता, निरन्तरता र निरन्तरता"नै हो। ब्लगको स्तरीयताका लागि धेरै काम गर्नुपर्छ तर निरन्तरतामात्रैले पनि धेरै सपार्छ ब्लगलाई।

५)ब्लगको प्रचार-प्रसार
- 'प्रचार-प्रसार' ले राजनीतिक गन्ध दिनसक्छ तर मेरो ध्येय त्यो होईन। एउटा नियमित ब्लगरले आफ्नो ब्लगको सकेसम्म धेरै प्रचार गरेको राम्रो। पूराना पाठकलाई अड्याईराख्न पस्किने सामग्री स्तरीय हुनु त अनिवार्य छँदैछ, नयाँ पाठकहरु थप्न प्रचार-प्रसार जरुरी छ। झन् नयाँ ब्लगरले त युद्ध स्तरमा प्रचार-प्रसार गरेको राम्रो। आफ्नो मेलिङ्ग लिष्टमा भएका सबैलाई कम्तिमा एकचोटि "मैले ब्लग शुरु गरेको छु, फुर्सद हुँदा पढेर प्रतिकृया दिनुहोला" भनेर ब्लगको ठेगाना सहित मेल गर्ने, फेसबुक वा आफू संलग्न कुनैपनि  सामजिक संजालमा उपलब्ध सबै तरिका प्रयोग गर्ने, चिनजानका मान्छेसंग टेलिफोनमा कुराकानी हुँदा वा भेटमै पनि आफ्नो ब्लगको कुरा गर्ने-----कुनैपनि तरिका अपनाए हुन्छ। नितान्त नीजि मनोवाद बाहेक कुनै पनि विषयमा लेख्नु भनेको आफूबाहेक अरुले पनि पढुन् भनेरनै हो। हो, मान्छेलाई झर्को लाग्ने सीमासम्म  भने पुग्नु हुँदैन, त्यसमा सचेत हुनै पर्छ। 

- ब्लग लिष्टहरु ब्लगको प्रचार-प्रसारको अर्का महत्वपूर्ण माध्यम हुन्। Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। ईण्टरनेटमा अरु सैयौं ब्लग लिष्टहरु, डाईरेक्ट्रीहरु छन् जहाँ आफ्नो ब्लग सूचिकृत गर्न सकिन्छ।

नेपाली ब्लगरहरुको एकापसी सम्पर्कलाई संगठित रुप दिनका लागि Nepali Bloggers भन्ने गुगल-ग्रुप पनि सकृय छ।

- ब्लगलाई परिचित र लोकप्रिय बनाउने अर्को महत्वपूर्ण माध्यम ब्लग आफैं हो, त्यसभित्रको अन्तर्कृया हो। अरुको ब्लग 'फलो' गर्ने, अरुको ब्लग पढेर प्रतिकृया दिने र लिंकहरु आदानप्रदान गर्ने काम साह्रै महत्वपूर्ण हुन्छ ब्लगलाई अगाडि बढाउन। अरुले आफ्नो ब्लग पढिदिउन् भन्ने चाहनेले आफूले पनि अरुको ब्लग पढ्नुपर्छ।

६)टेम्प्लेट
एउटा राम्रो टेम्प्लेटले निश्चयपनि ब्लगको सौन्दर्य बढाऊँछ तर टेम्प्लेटको झिलिमिलीका भरमै पाठकहरु बटुल्न र बाँधेर राख्न सकिन्न। ब्लगले पस्किने विषयवस्तुको स्तरीयतानै ब्लगको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो, टेम्प्लेटको साज-सज्जा त्यसपछिको कुरा हो।

बनिबनाऊ टेम्पलेटहरु पनि जतिपनि भेटिन्छन्, रुचि छ भने कुनै आधारभूत टेम्प्लेटबाट शुरु गरेर आफैं सिक्दै-त्यसलाई परिमार्जन गर्दै गएपनि हुन्छ।

७) डोमेन नेम
आफ्नै डोमेन नेममा ब्लग चलाऊँदा निश्चय पनि आनन्द आऊँछ। सबैभन्दा सजिलो बाटो भनेको Yahoo! Small Business वा Google बाट डोमेन नेम किनेर Blogger को Custom Domain Publishing सुविधा प्रयोग  गर्नु हो (Wordpress मा पनि यस्तै सुविधा छ होला पक्का पनि।)
-------------------------------------------------------

"हजारौं माईलको यात्रा एक पाईलोबाट शुरु हुन्छ।" भनेजस्तै शुरुवात आफैं महत्वपूर्ण कुरा हो, र निरन्तरता दिएका खण्डमा सिक्दै र सप्रिईँदै जानेमा कुनै शंका छैन।

आफ्नो ब्लग अनुभवका बारेमा अरु टाँसोहरुमा पनि केहि कुरा गरेको छु;
संगठन कि ई-मेल समूह
'कतै नजाने बाटो'को मेरो यात्रा
नेपाली ब्लगको वर्तमान र भविष्य
दोश्रो खोला तरेपछि
केहि कुरा, ब्लगकै
Some points from my-----
जन्मदिन

यस विषयमा दिलिपजीले "के तपाईँ पनि ब्लग चलाउन चाहनुहुन्छ?" भन्ने शिर्षकमा एउटा बिस्तृत टाँसो लेख्नुभएको छ र अरु सहयात्री ब्लगर साथीहरुले पनि धेरै कुरा लेख्नुभएको छ बेला-बेलामा। यहाँ प्राप्त हुने प्रतिकृयाहरुमा पनि अरु नयाँ जानकारी आउनेनै छ।
----------------------------------------------
सन्दीप भाइको ब्लग वर्षात बीचको सूर्योदय को सफलताको शुभकामना!

र अन्त्यमा, नेपाली ब्लग जगतमा नयाँ पुस्ताको उपस्थिति अझ सशक्त हुँदै जानेछ भन्ने आशा र शुभकामनाका साथ यो टाँसोको बिट मार्न चाहन्छु

तपाईँको सप्ताहान्त सुखद् रहोस्।

August 17, 2009

'संगठन' कि 'ई-मेल समूह'?

(यो टाँसोमा 'नेपाली ब्लगरहरु' भनेर नेपाल अथवा विदेशमा रहेर नेपाली वा अरु कुनै पनि भाषामा ब्लग चलाऊँदै आएका नेपालीहरुलाई जनाउन खोजिएको हो।)

नेपाली ब्लगरहरुको कुनै प्रतिनिधि समूह/संगठन बनाउने अथवा अरु कुनै हिसाबले संगठित हुने भन्ने बारेमा विगत केहि समयबाट हामीबीच छलफल चल्दै आएको छ। यस प्रसंगमा, केहि वर्ष पहिलानै एउटा Bloggers Association of Nepal (BLOGAN) नाम गरेको समूह बनिसकेको पनि देखिन्छ। तर BLOGAN यसको निर्माणको केहि समय पछिबाट हालसम्म पूर्ण रुपमा निष्कृय देखिन्छ। ब्लग शुरु गरिसकेपछि सम्पर्क गर्न खोज्दा BLOGAN बाट कुनै उत्तर/प्रतिकृया नआएको कुरा हामी सबैको अनुभव हो। यो अवश्थामा, देश-विदेश सबैतिर बढिरहेका नेपाली ब्लगरहरुको एकापसी सम्पर्क र ब्लगिङ्ग सम्बन्धी ज्ञान आदानप्रदानका लागि एउटा साझा सम्पर्क सूत्रको आवश्यकता निश्चय पनि छ। त्यो सम्पर्क सूत्रको संरचना कुन रुपको हुने भन्ने बारेमा भने सबैको एउटै विचार नहुन सक्छ।

Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। नेपाली ब्लग जगतका लागि गर्नुभएको योगदानका लागि उहाँहरु सबैलाई हार्दिक धन्यबाद!

नेपाली ब्लगरहरुको एउटा अन्तर्कृयात्मक मञ्च बन्न भने बाँकी थियो। हुनत, फेसबुकमा Nepali Bloggers नामको एउटा समूह पनि छ तर त्यो त्यति अन्तर्कृयात्मक हुन सकेको छैन। फेरि धेरै ब्लगर साथीहरुमा फेसबुकप्रति त्यति लगाव नहुन पनि सक्छ।

केहि समय पहिला 'दौंतरी'को पहलमा भएको नेपाली ब्लगरहरुको प्रथम अन्तर्राष्ट्रिय (अनलाईन) नेपाली ब्लगर भेलामा पनि यस विषयमा धेरै छलफल भयो। त्यतिखेर ब्यक्त विचारहरुलाई मूलत: तीन समूहमा राखेर हेर्न सकिन्छ;

१) नेपाली ब्लगरहरुको ई-मेल समूहलाई सम्पर्क सूत्रको रुपमा विकास गर्ने।
२) कुनै औपचारिक सांगठनिक संरचनाको शुरुवात गर्ने।
३) BLOGAN लाई नै पुन: सकृय गराउने।

दोश्रो र तेश्रो विचार सारमा उस्तै हुन्, सबै नेपाली ब्लगरहरुको एउटा प्रतिनिधि संगठन बनाउने। यस बारेमा केहि कुरा गरौं पहिला।

सामान्यतया प्रतिनिधि संगठन दुई अवश्थामा खडा हुन सक्छन्; पहिलो, उहि वा उस्तै पेशा हुनेहरु पेशागत हकहितको सुरक्षा आदिका लागि प्रतिनिधि संगठनमा आबद्ध हुन चाहन्छन्। दोश्रो, समान विचार र उद्देश्य हुनेहरु कुनै प्रतिनिधि संगठनका माध्यमले संगठित हुन्छन्। ब्लगरहरु यी दुबै स्थितिभन्दा बाहिर छन्। विकसित समाजमा ब्लग गरेकै भरमा बाँच्न सक्नेहरु होलान् केहि, तर अझै पनि ब्लगिङ्ग पेशा बनिसकेको छैन। ब्लगलाई नै पेशा बनाएका नेपाली ब्लगरहरु, जहाँसम्म लाग्छ, छैनन्। ब्लगिङ्गको चरित्रनै यस्तो छ कि भविष्यसम्म पनि यो एउटा औपचारिक पेशा बन्ने सम्भावना अत्यन्त न्यून छ। अर्कोतिर ब्लगरहरु, नेपाली ब्लगरहरु, न एउटै विचारका हुन्छन् न त एउटै साझा उद्देश्य बोकेका हुन्छन्। आफ्नो नीजि जिन्दगीका घटनाहरुका बारेमा लेख्नेहरु, राजनीतिको बारेमा लेख्नेहरु, साहित्य लेख्नेहरु, प्राविधिक विषयमा लेख्नेहरु, तस्बीर ब्लग संचालन गरिरहेकाहरु,स्वास्थ्य सम्बन्धी लेख्नेहरु, अर्थतन्त्र बारे लेख्नेहरु, नेपालीमा लेख्नेहरु, अंग्रेजी र अरु भाषामा लेख्नेहरु---------- ब्लगिङ्गको विविधताको कुनै सीमा छैन र सबै ब्लगरहरुका आ-आफ्नै उद्देश्य छन्। यो अवश्थामा एउटा संगठनले कसरी सबैलाई समेट्न सक्छ? र त्यो कसरी प्रतिनिधि हुनसक्छ? नेपाली ब्लगरहरुको कति संख्यासम्मलाई समेटे 'सबै'लाई समेटेको मान्ने? अझ, नेपाली ब्लगरहरुको यकीन संख्या कति छ भन्ने कसलाई थाहा छ?

यदि त्यस्तो संगठन खडानै भयो भनेपनि संरचनाको कुरा गर्दा-गर्दै त्यसै अल्मलिनेछ र कुनै सानो भूगोलमा सीमित हुनेछ। संसारभरि छरिएर रहेका नेपाली ब्लगरहरुको एउटा सानो अंशलाई पनि समेट्न सक्ने छैन त्यसले। देखाउनका लागि फलानो ठाऊँको प्रतिनिधि फलानो भनेर राख्न सकिन्छ, तर उसलाई सम्बन्धित ठाऊँका अरु नेपाली ब्लगरहरुले प्रतिनिधि मान्नैपर्छ भन्ने के कर छ?

केहि मित्रहरु त्यस्तो संगठन बनाएपछि त्यसले नीति-नियम बनाउने र नेपाली ब्लग जगतलाई अनुशाशित बनाउने खुस्केट कुरा समेत गर्छन्। त्यस्तो संगठनले बनाएको नीति-नियम सबैले मान्नुपर्छ भन्ने के छ? संगठनमा बसेकाहरुले त मान्लान् रे लौ (त्यो पनि के भर छ र!), नबस्नेले किन मान्ने?

हाम्रो नेपाली चरित्रको खोईरो खन्न पनि मन लाग्यो यहि प्रसंगमा। हामी नेपालीहरु जुट्न जति छिटो छौं, जुटेपछि फुट्न त्यसको तीन गुना छिटो छौं। यो कथित प्रतिनिधि संगठनको शुरुवात फुटको शुरुवात पनि हुनेछ। नेपालको काईते दलीय राजनिति यसमा पसेर यसलाई टुक्रा-टुक्रा बनाईदिनेछ।

तर ब्लगिङ्गसम्बन्धी अनुभव र ज्ञान एकापसमा बाँड्न र प्राविधिक कुराहरुका बारेमा छलफल गर्न एउटा अन्तर्कृयात्मक मञ्च भने अत्यन्त जरुरी छ भनेर माथि पनि लेखिसकेको छु मैले।

यिनै कुराहरुको पृष्ठभूमिमानै कथित प्रतिनिधि संगठनको सट्टा एउटा खुकुलो सामूहिक संरचनाको पक्षमा धेरै साथीहरु पुगेका हुन्। ई-मेल समूह (e-mail group) त्यस्तै एउटा संरचना हो र अहिलेका लागि सबैभन्दा भरपर्दो पनि। यो अन्तर्कृयात्मक छ, अन्तर्कृयामा कतिसम्म भाग लिने भन्ने कुराको निर्णय गर्न सदस्यहरु स्वतन्त्र छन् र यसमा कुनै सांगठनिक झमेला र दाउपेच पनि छैन।

Nepali Bloggers नामको त्यो गुगल ग्रुप सकृय गराईसकिएको छ र ब्लगर साथीहरु यसमा सम्मिलित हुने क्रम जारी छ।

अनलाईन भेलामा नेपाली ब्लगरका नामबाट नेपाल भित्र कुनै सामाजिक काम आदि गर्न संगठनको आवश्यकता छ भन्ने आवाज पनि उठेको थियो। त्यस्तो कामको लागि छुट्टै संगठननै चाहिन्छ भन्ने छैन। समाजसेवाको पसल खोलेर बसेका अनगिन्ती संस्थाहरु छन् जसमध्ये केहिले अलि-अलि समाजसेवा पनि गर्छन् (र थोरैले साँच्चै समाजसेवा र समाजसेवामात्रै गर्छन्)। तिनै असल संस्थाहरुमध्ये कुनै एकलाई माध्यम बनाउन सकिन्छ। यथेष्ट आर्थिक क्षमता छ भने ब्यक्तिगत हिसाबबाटै पनि गर्न सकिन्छ। 'नेपाली ब्लगर'कै रुपमा गर्ने मन छ भने भौगोलिक रुपमा नजिक नेपाली ब्लगरहरुको एउटा अस्थायी संरचना बनाउन सकिन्छ। नेपालभित्र भरपर्दो र ईमान्दार सम्पर्क सूत्र भएको खण्डमा भविष्यमा यहि ई-मेल ग्रुपको माध्यमबाट अर्थ संकलन गर्न र पठाउन पनि सकिन्छ।

माथि ब्यक्त गरिएका कुराहरुलाई गलत अर्थमा नलिईयोस् भन्ने आशयले केहि कुरा अब। नेपाली ब्लगरहरुको संगठन हुनु निरपेक्ष रुपले गलत हो भन्ने मेरो विचार होईन। भौगोलिक रुपमा नजिक हुनेहरु अथवा समान विचार हुनेहरुले संगठन बनाउन सक्छन्, त्यो सबैको अधिकारको कुरा हो। मेरो भनाई कुनै पनि यस्तो संगठन सबै नेपाली ब्लगरहरुको प्रतिनिधि संगठन भने हुन सक्दैन भन्ने हो।

छलफलको निरन्तरताको लागि यो टाँसोले केहि योगदान दिनेछ भन्ने मेरो आशा छ। सबै साथीहरुबाट प्रतिकृया र नयाँ विचारहरुको आशा गरेको छु।

May 24, 2009

नेपाली ब्लगको वर्तमान र भविष्य

मूलत: नेपाली भाषामा लेखिने ब्लगहरुको वर्तमान र भविष्यको बारेमा कुराकानी गर्ने जमर्को गर्दैछु आज।

हुनत म मेरो ब्लगिङ यात्रा लामो भईसकेको छैन। आफैं ढिलो गरी शुरु भएको नेपाली ब्लग दुनियाँमा पनि केहि ढिलै आईपुगेको हुँ म। फेरि जीबनका अरु सबै पक्षहरुजस्तै ब्लगिङको संसारसंगको सम्बन्धका पनि सीमितता हुन्छन्। मलाई थाहा छ, म नेपाली ब्लग जगतको एउटा अंशसंगै मात्रै परिचित छु। त्यसैले मैले जति कुरा गर्छु तीनले सबै पक्षलाई समेट्न नसक्नु स्वाभाविक हो। तैपनि, यो विषय छलफल शुरु गर्नै पर्ने विषय जस्तो लागेर एउटा दुस्साहस गरेको हुँ।

आफैंले ब्लग शुरु गर्नुभन्दा पहिले मैले चिनेको नेपाली ब्लग 'माईसंसार' मात्रै थियो। ब्लग शुरु गरे यता बितेका दुई वर्षमा सैयौं ब्लगहरुमा पुगियो। यस बीचमा नेपाली भाषामा ब्लगहरुको बाढीनै आयो भने पनि हुन्छ। यो निश्चय पनि अत्यन्त सकारात्मक कुरा हो, नेपाली ब्लगजगत र समग्र नेपाली भाषाकै लागि। धेरै ब्लगमा भाषिक वा सृजनात्मक गुणस्तरका कुरा पनि उठाउन नसकिने होईन तर मलाई के लाग्छ भने 'गुणस्तर'को समस्या भएका केहि ब्लगहरु सम्बन्धित ब्लगरले निरन्तरता दिएका खण्डमा र अरु ब्लगरहरुबाट सुझावमिश्रित आलोचनाहरु पाईरहेमा सुध्रिँदै जानेछन्, केहि भने बिस्तारै निष्कृय हुँदै जानेछन्। तत्कालका लागि बढिरहेको ब्लग संख्यानै नेपाली ब्लगजगतको ठूलो पूँजी हो।

धेरै संख्यामा ब्लगहरु हुनुको एउटा सकारात्मक पक्ष यसले ब्लगरहरुका बीचमा उब्जाउने प्रतिष्पर्धात्मक भावना पनि हो। आफ्ना पाठक बढाउन कोहि अलि बिस्तारै लाग्ला, कोहि अलि कस्सिएर लाग्ला, त्यो बेग्लै कुरो हो, तर मूल सत्य के हो भने प्रायश: सबै ब्लगरहरुले धेरै पाठकहरु खोजिरहेका हुन्छन्। (लेख्ने कुरामा आत्मसन्तुष्टिको उद्देश्य अलिकति त हुन्छ नै, तर खुल्ला ब्लग चलाउनु भनेको अरुले पनि पढिदिउन् भनेर नै हो। यदि यो उद्देश्य नहुने हो भने मान्छेले कि त लेख्दै-लेख्दैन कि त कसैलाई पनि थाहा नदिई लेख्छ।) जब नेपाली 'ब्लग-बजार'मा ब्लगहरुको संख्या बढ्छ, पाठकहरुले छानी-छानी पढ्नेछन् र हामीलाई 'डार्बिन बूढाको जय!' भन्न बाध्य पार्नेछन्। प्रतिष्पर्धाबाट आफना लागि पाठकको ठूलो हिस्सा तान्ने सबैभन्दा ठूलो उपाय भनेको ब्लगको गुणस्तर र विविधतालाई माथि लानुनै हो। प्रचारबाजी र अरु बिभिन्न 'बजारमुखी' उपायले एक हदसम्म त सघाऊँछन, कम्तिमा कुनै पाठकलाई पहिलो पटक ब्लगसम्म ल्याउँछन् तर गुणस्तर र विविधता देखेन भने त्यो पाठक फेरि फर्केर ब्लगमा आउने सम्भावना ज्यादै कम हुन्छ।

मेरो ब्यक्तिगत बुझाईमा (गलत पनि हुनसक्छु म), नेपाल र विदेश दुबै ठाऊँबाट बाट सञ्चालित नेपाली भाषाका ब्लगहरुमा साहित्यिक अंश बढी देखिन्छ। धेरैजसो ब्लगहरु पूर्णतया साहित्यमा समर्पित छन् र बाँकीले पनि साहित्यलाई प्रमुख ठाऊँ दिएका छन्। राजनीतिक टिप्पणी/विश्लेषण नेपालबाट सञ्चालित ब्लगमा भन्दा विदेशबाट सञ्चालित ब्लगमा बढी देखिन्छन्। देशभित्र मूलधारका मिडियालेनै यस्ता राजनीतिक टिप्पणी/विश्लेषणहरु प्रशस्त गर्ने भएकोले ब्लगहरुमा त्यति नदेखिएको हुनसक्छ। हो, राजनीति बढी पस्कने केहि ब्लग पनि छन्, तर तीन लाई ब्लग भन्दा बढी 'न्यूज-पोर्टल' को रुपमा लिँदा अन्यथा नहोला।

खेलकूद, प्रविधि, फोटोग्राफी, स्वास्थ्य, रंगमञ्च/चलचित्र जस्ता 'भिन्दै' विषयमा समर्पित नेपाली ब्लगहरुको संख्या एकदम कम छ। साहित्यकै सवालमा पनि कविता र गजलले धेरै ठाऊँ ओगटेका छन। मूलधारको प्रकाशन क्षेत्रमा जस्तै निबन्ध वा कथाहरुको स्थिति नेपाली ब्लगजगतमा पनि राम्रो छैन। त्यस्तै बाल-साहित्यमा समर्पित ब्लगहरुको लागि पनि ठूलो ठाऊँ खाली छ। यो कुरा उप्काउनुको मेरो उद्देश्य नयाँ ब्लग शुरु गर्न लागेका साथीहरुलाई अलिक फराकिलो आयाममा सोच्न सल्लाह दिनु पनि हो। सबैले उस्तै ब्लग चलाउनुपर्छ भन्ने छैन; आफ्नो रुचि र ज्ञानको संयोजन जुन विषयमा राम्रो देखिन्छ त्यतै लाग्नु ठीक हो।

नेपाली ब्लग पढ्ने नेपालीहरुको संख्या बढ्दै गएको छ तर अझै पनि नेपाली ब्लग जगतले नेपालभित्रै भने यथेष्ट पाठकहरु पाईसकेको छैन। एकजना ब्लगरले लेखेको पढेको थिएँ केहि समय पहिला (कता हो याद भएन), "----नेपाली ब्लग भनेको मूलत: विदेशमा बसेका नेपालीलाई लक्षित गरेर लेख्ने हो।" यो कुरा मलाई पनि धेरै हदसम्म चित्त बुझ्छ। नेपालमा ब्लग पढ्ने मान्छे छैनन् भन्न खोजेको होईन, धेरै छन् र बढ्दै पनि छन् तर नेपालको जनसंख्याको ठूलो भाग अझै सूचना-प्रविधिको पहुँचबाट बाहिरै छ र पहुँच हुनेहरुको पनि एउटा हिस्साले मात्रै ब्लग पढ्ने हो। त्यसकारण कम्प्युटर/इण्टरनेटको प्रयोग नेपाली समाजमा बढ्दै जाँदा हामी ब्लगरहरुले पाउने 'हिस्सा' पनि बढ्दै जाला भन्ने आशा गर्नुभन्दा बढी केहि गर्न सकिँदैन तत्काललाई। नेपालबाटै सञ्चालित हुने ब्लगहरुको संख्या बढ्न पनि नेपाली समाजमा सूचना-क्रान्तिलाई पर्खनुको विकल्प छैन।

अर्कोतिर, 'ब्लग' भनेको कि त पत्रकारले कि त काम नभएका 'बूढाखाडा' ले मात्रै गर्ने चिज हो भन्ने धारणा पनि नेपाली समाजमा ब्लगले ब्यापकता लिन नसक्नुमा जिम्मेवार छ। हामीले परिवार, समाज र अध्ययनस्थल/कार्यस्थल सबैतिर यो धारणाको सशक्त वैचारिक प्रतिकार गर्नु अति आवश्यक छ।

नेपालीहरु विश्वब्यापी रुपमा छरिँदै जाँदा नेपाली ब्लगले 'भूगोल'को नेपाललाई नाघिसकेको छ र नेपाली राष्ट्रियताको विश्वब्यापी भावनात्मक संवाहकहरुमध्येको एकका रुपमा आफूलाई स्थापित गर्ने क्रममा छ। अब नेपाली ब्लगले नेपाली राष्ट्रियता बाहेकको बिशुद्ध नेपाली भाषिक पक्षलाई पनि समेट्नुपर्ने आवश्यकता छ। नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा पनि थुप्रै नेपालीभाषीहरु बसोबासरत छन्। राष्ट्रियता फरक भएपनि सांस्कृतिक र भाषिक रुपमा एक हुन हामीलाई कसैले छेक्न सक्दैन। ब्लग पनि यो अभियानका लागि एउटा सशक्त माध्यम हुनसक्छ। दार्जलिङ, आसाम, देहरादून वा कुनै पनि नेपालीभाषी क्षेत्रबाट सञ्चालित नेपाली ब्लगसंग गाँसिएर आफ्नो सञ्जाल फैलाउनु र ती ब्लगहरुलाई नेपाल र विदेशमा रहेका नेपालीहरुको माझमा फैलिन सहयोग पु-याउनु हाम्रो अर्को काम हुनसक्छ। नेपाली भाषाको श्रीवृद्धि गर्न र नेपालीहरुमाझ सांस्कृतिक एकता कायम राख्न त यो महत्वपूर्ण हुनेनै छ, पाठकहरुको कमीको समस्यालाई समाधान गर्न पनि यो कार्यले हामीलाई सघाउनेछ।

मैले देखेको नेपाली ब्लगको एउटा अर्को समस्या भनेको पाठकहरुको निष्कृय सहभागिता हो। हाम्रा पाठकहरुले ब्लगमा प्रतिकृया दिँदैनन्। विगत दुई वर्षदेखि मैले देख्दै आएको छु, ब्लगमा प्रतिकृया लेख्नेहरु ९५ प्रतिशत अरु ब्लगरहरुनै हुन्छन्। मेरो आफ्नो ब्यक्तिगत चिनजानका मान्छेहरु धेरै छन् जो मसंग भेट्दा वा फोनमा कुराकानी हुँदा 'तैंले फलानो दिनको पोष्टमा लेखेको फलानो कुरो चित्त बुझेन!' वा '---साह्रै ठीक लाग्यो!' भन्छन् तर ब्लगमै भने कहिल्यै प्रतिकृया दिँदैनन्। कति अपरिचितहरु बरु इ-मेल पठाऊँछन् तर ब्लगमा प्रतिकृया लेख्दैनन्। ती पाठकहरुले ब्लगमै प्रतिकृया लेखिदिए अरु पाठकहरुले पनि पढ्न पाऊँथे र ब्लगमा निहित अन्तर्कृया अझ बढी जीबन्त हुन्थ्यो। अरु भाषाका ब्लगहरुमा यो समस्या छ कि छैन थाहा छैन तर 'विशुद्ध' पाठकहरुका प्रतिकृया नबढुञ्जेल हामी एक हिसाबले असफलनै छौं भनेपनि हुन्छ। यस्ता 'निष्कृय पाठक' लाई कसरी 'सकृय पाठक' बनाउन सकिएला?
----------------------------------
हतारमा लेखिएको एउटा छोटो टाँसोले सबै कुरा समेट्न निश्चय पनि सक्दैन। अपूर्णनै भएपनि यो टाँसोलाई आज यहाँहरु समक्ष राख्नुको मेरो उद्देश्य नेपाली ब्लग जगतलाई अझ सशक्त बनाउन हामी बीचको छलफल र वादविवादको शुरुवात गर्नु हो।

May 19, 2009

दोश्रो खोला तरेपछि

Image Source:Trek for life--

आज यो ब्लगको जन्मदिन हो, यसले दुई वर्ष पुरा गरेको छ।

यो अवसरमा, सबैभन्दा पहिला, निरन्तरको माया र हौसलाका लागि सम्पूर्ण पाठकहरु, सहयात्री ब्लगरहरु र शुभचिन्तकहरुमा मुटुदेखिनै हार्दिक धन्यबाद दिन चाहन्छु। मेरो लेखन यात्राको उर्जा भनेकै यहाँहरुकै निरन्तरको साथ र सद्बाव हो।

पोहरको यहि दिन, एक वर्ष पूरा हुँदा, मैले ब्लग शुरु गर्नु अघिको आफ्नो लेखन यात्राका बारेमा केहि कुरा राखेको थिएँ यहाँहरु समक्ष। लेखाई बारेको मेरा मान्यताहरुका बारेमा पनि अलि-अलि कुरा गरेको छु मैले। त्यो टाँसो यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। केहि कुरा 'दौंतरी' संगको भलाकुसारीमा पनि राखेको छु। आज, बितेको एक वर्षलाई नै आधार मानेर कुरा गर्ने जमर्कोमा छु।

यो वर्षले धेरै नयाँ पाठकहरु र सहयात्री ब्लगर साथीहरुसंग चिनजान गरायो। ब्लगको अस्तित्व जिन्दगीको एउटा महत्वपूर्ण पाटोको रुपमा झन्-झन् गाढा भयो, रुचि र सौखहरुको सबैभन्दा माथि ब्लगनै आएर बस्यो। जिन्दगीनै 'ब्लगपूर्व' र 'ब्लगपश्चात' का रुपमा दुई भाग भएजस्तो लाग्छ अचेल।

पोहरको जन्मदिनको टाँसो १००औँ टाँसो थियो भने यसपटक १९२औं हुँदैछ। यो हिसाबले हेर्दा पहिलो वर्ष भन्दा दोश्रो वर्ष केहि सुस्ताएको जस्तो पनि लाग्छ तर पहिलो वर्षमा अरु साइटका कुरा हू-बहू 'कपेर पेष्टिने' पनि गरिएको थियो दुई-चार पटक, यो पाली त्यो गरिएन वा असाध्यै कम, सन्दर्भको रुपमा मात्रै गरियो होला; जस्तो लाग्छ। त्यसैले मौलिक रचनाको संख्या दुबै वर्षमा उस्तै-उस्तै होला। रचनाको लम्बाईका हिसाबले पछिल्लो वर्षका रचनाहरु बढी लामा होलान्। दुबै वर्षमा 'ईतिहासको ब्याज' पनि मनग्गे 'खाईएको' छ:)

ब्लग लेखन(र समग्र लेखन) लाई आफूले सोचेजति समय दिन अझै सकेको छैन। अरु ब्लगहरु चाहार्ने समय पनि झन्-झन् कम हुँदैछ। पारिवारिक, पेशागत दायित्वका माझबाट लेखनलाई डो-याउनु असाध्यै गाह्रो काम रहेछ। (भ्याए त दिनदिनै लेखिँदो हो) कम्तिमा पनि तीन दिनको एउटा टाँसोको योजना थियो पहिला। त्यो योजनामा अडिने त कुरै छोडौं, हप्तामा एउटा टाँसो पनि मुश्किलले भ्याईयो एक-दुई पटक। केहि समय यता आएर बल्ल 'पाँच दिने' बनेको छ मेरो ब्लग। यसमा भने अडिने कोशिश हुनेछ अब। अर्कोतिर अलिक लामा विश्लेषणात्मक टाँसोहरु पाँच दिनमा एउटाका दरले लेखेपनि बीचमा राजनीतिक घटनाक्रमहरुमाथिका 'अचार स्वाद' का छोटा टिप्पणी भने एक-दुईवटा लेख्ने हो कि जस्तो पनि लाग्छ। हेरौं, कस्तो स्वरुपमा लान सकिन्छ अबको वर्ष।

बितेको वर्षमा सबैभन्दा बढी पढिएका टाँसोहरु तल छन्;

क्या बात नेपाल प्रहरी!!! थुक्क ऋषि धमला!!!
ओशोसंगको मेरो नाता
जीवनको मूल्य बुझ्दैनन् माओवादीहरु!
माओवादी-अराजकता र दण्डहीनताको स्रोत
पढन्ते जापानीहरु
जय शम्भो!!!!!
'तिम्रो ठेगाना'- एउटा अधूरो गजल दुई रुपमा

पहिलो स्थान ओगट्न सफल ऋषि धमला काण्डसम्बन्धी टाँसो दोश्रो स्थानमा रहेका दुई टाँसोहरुभन्दा झण्डै तीन गुना हेरिएको छ। यो टाँसो इ-मेलका माध्यमबाट धेरैतिर घुमिरहेको देखिन्थ्यो FEEDJIT को Live Traffic Feed मा। एक दिन कुनै एउटा सम्बन्धित लिंकलाई पछ्याऊँदै म पश्चिम अफ्रिकी मुलुकहरुमा कार्यरत नेपाल प्रहरीका अधिकृतहरुको याहू ग्रुपमा पुगेको थिएँ। त्यो प्रहरी-प्रहरीहरुको बीचमा बढी घुमिरहेको हुनुपर्छ शायद। प्रहरी दाजुभाइ/दिदीबहिनीहरुले कसरी लिए यो टाँसोलाई थाहा भएन तर बिडम्बनापूर्ण रुपमा अहिले नेपालमा ऋषि धमलाको जगजगी फेरि शुरु भएको छ।

सोझै यो ब्लगमा आउने वा अरु ब्लगमा राखिएका लिंक हुँदै आउनेहरुको संख्याको दाँजोमा सर्च इञ्जिनमा खोजेर आउनेहरुको संख्या एकदम कम छ; त्यसमा पनि blog basanta, blogging basanta, basanta gautam, gautambasanta आदिनै बढी खोजिएको देखिन्छ।

यस पछिका दुई वा तीन टाँसोहरु पनि ब्लग र ब्लगिङ्ग सम्बन्धीनै हुनेछन्। ती टाँसोहरुलाई पाँच दिनभन्दा छोटै अन्तरालमा पेश गर्ने कोशिश गर्नेछु।

फेरि एकपटक यहाँहरुलाई हार्दिक धन्यबाद दिँदै प्रतिकृया र सुझावहरुको निरन्तरताको अपेक्षा गर्दछु।

Image Source:Funny Times

March 13, 2009

केहि कुरा, ब्लगकै

१)ब्लगको पूर्ण नेपालीकरण तिर:
यो ब्लग शुरु गर्दा यसको स्वरुप नेपाङ्रेजी हुने कल्पना गरेको थिएँ मैले। केहि समय त्यस्तै पनि भयो, कहिले नेपालीमा-कहिले अंग्रेजीमा लेखियो। यस्तो नेपाङ्रेजी ब्लग चलाउन आफैंलाई अप्ठेरो लाग्न थाल्यो। फेरि मेरो उद्देश्य नेपाली राजनीति र नेपालमा घटेका बिभिन्न घटनाहरुको बारेमा आफ्नो आफ्नो विचार राख्नुपनि थियो। नेपालको बारेमा, नेपालीलाईनै लक्ष्य गरेर लेख्ने तर अंग्रेजीमा लेख्ने- यो अलि सुहाऊँदो लागेन र म पूरै नेपालीतिर मोडिएँ। भविष्यमा समय मिल्यो भने नेपालको राजनीति, दक्षिण एशियाको राजनीति (विशेष गरी नेपाल-भारत सम्बन्ध) आदि विषयमा केन्द्रीत हुनेगरी ब्यक्तिगत वा समूहगत रुपमा अंग्रेजीमा ब्लग चलाउने योजना छ। योजना कहिले साकार हुन्छ, टुंगो छैन।

अर्को कुरो, यो ब्लगमा मैले आफ्ना साहित्यिक रचनाहरुलाई पनि राख्दै आएको छु। अंग्रेजीमा साहित्य रचना गर्ने मन छैन; त्यसो त हुती पनि छैन:)

२)ब्लगको नाप-नक्शा:
साधारण टेम्प्लेटबाट शुरु भएर कहिले यता केहि जोडिएर, कहिले त्यता भाँचिएर, कहिले उता तन्किएर अहिलेको यो स्वरुपमा आइपुगेको छ यो ब्लग। कोडहरुको सिपालु खेलाडी हैन म र समय पनि धेरै दिन सकेको छैन यसमा, तर यताउताबाट खोजेर भएपनि यसरी चल्न रमाईलै हुँदो रहेछ। हिजो एकछिन घच्याकघुचुक चलाएको थिएँ, अलि अडबांगे बनेको छ। यो 'बाँदर खेलाइ'ले गर्दा ब्लगै ऊँट बनेको हो कि जस्तो पनि लाग्छ बेला-बेलामा:)

यो ब्लग खुल्दा समस्या देखिएका छन् भने खबर पाए आभारी हुनेथिएँ।

३)ब्लगको शिर्षक:
भनेजस्तो ब्लगको शिर्षक अझै जुटाउन सकेको छैन। एउटा त्यस्तो शिर्षकको खोजीमा छु, जो ब्याबहारिक पनि होस् र आध्यात्मिक पनि होस्; जो साधारण पनि होस् तर आफूभित्र गहन रहस्य लुकाएको पनि होस्। दिमागमा केही कथाहरु, बिम्बहरु छन्; म चाहन्छु ब्लगको शिर्षकले ती बिम्बहरुलाई, कथाहरुलाई सटीक आकार देओस्। अहिलेको शिर्षक The Road to Nowhere Goes Everywhere---ले धेरै अर्थसम्म न्याय गर्छ ती कथाहरुलाई, बिम्बहरुलाई; तर यो लामो र भद्दा लागेको छ। केहि समयभित्रै एउटा टाँसो यसकै बारेमा लेखेर यो शिर्षकलाई सेलाउने बिचारमा पुगेको छु।

४)अर्को ब्लग:
माथि अर्को ब्लग पछि चलाऊँला भनेको थिएँ, यहाँचाहीँ अहिलेनै चलाउने कुरा गर्दैछु:) कुरो के हो भने, छोरीको दोश्रो जन्मदिन पारेर एउटा ब्लग शुरु गरेको थिएँ। दुई लुरे टाँसोपछि त्यसै रह्यो त्यो। केहि समय यता फेरि गति दिन थालेको छु त्यसलाई। शुरुमा त्यसलाई पनि नेपालीमा चलाउने विचार थियो, अहिले आएर अंग्रेजीमा लेख्ने निर्णयमा पुगेको छु। विषयवस्तु केहि छोरीका दैनिकी/गतिबिधिहरुबाट, केहि उसलाई हुर्काऊँदाका आफ्नै अनुभवहरुबाट लिइनेछ। Parenting Tips को रुपमा यताउताका जानकारीहरु पनि संकलन गर्ने सूर छ।

के-कति लेख्न भ्याईन्छ कुन्नि, आफैँलाई अर्को एउटा बोझ थपेको थाहा छ, तर थाहा हुँदा-हुँदै पनि थपियो। पिउन बस्दा पनि यस्तै हुन्छ; लागिसक्यो, यहाँभन्दा बढी पिउनुहुन्न अब भन्ने थाहा हुन्छ तर थाहा हुँदा-हुँदै पनि नयाँ बोतल खोलिहालिन्छ:)

समय हुँदा यस्सो चियाउन नबिर्सनुहोला; HER WORLD, OUR WORDS, अड्डाको ठेगाना (http://babyaryaa.blogspot.com/) हो। यहि ब्लगको टाउकामा राखिएको PARENTING भन्ने सूत्रले पनि त्यतै पु-याउनेछ यहाँलाई।

January 23, 2009

नेपाली भाषाबारे केहि कुरा


(Image courtesy:Trekking World)
अर्कोचोटि ब्लगमा लेख्छु भनेर पहिल्यै तय गरेका विषयले लेखिने मौका कमै पाऊँछन्। एउटा टाँसोपछिको केहि दिनको अवधिमा केहि न केहि नयाँ घटना घटिरहन्छन् र मन त्यतैतिर मोडिन्छ। कहिलेकाहीँ कुनै विशेष घटना नघटेपनि बीचैमा अरु कुरा लेख्ने धून चल्छ। आज (जनवरी २०) मा लेख्न थालेको यो विषयलाई पनि बीचैबाट अरु कुनैले उछिन्ने हो कि थाहा छैन।

यो टाँसोमा कुरा गर्न लागेको नेपाली भाषाको बारेमा हो। आफ्नो मातृभाषा भएकोले, यसमै तोतेबोली बोल्न, सुस्केरा काढ्न, सपना देख्न र हाँस्न-रुन सिकेकोले मलाई नेपाली भाषाको असाध्यै माया लाग्छ। मलाईमात्रै किन, धेरैलाई आफ्नो मातृभाषा प्यारो लाग्छ। यहाँ 'सबै' नराखेर 'धेरै' राख्नुको कारणचाहिँ हाम्रो समाजमा, देशमा; आफनो मातृभाषालाई माया नगर्ने मान्छेहरुको संख्यापनि बढ्दै जानु हो । दैनिक ब्यबहारमा टाकन-टुकन बोल्दैमा माया गरेको मानिन्न भाषालाई, यसलाई इज्जत दिन पनि जान्नुपर्छ। नेपाली भाषा-साहित्यलाई हेय ठान्ने मान्छेहरुको जमात बढ्दैछ। हाम्रो समाजको तलदेखि माथिसम्म आफनो मातृभाषालाई कस्ता-कस्ता ब्यबहार गर्ने मान्छे छन् भन्ने हामी सबैलाई थाहै छ, त्यसकारण त्यतातिर धेरै नजाऔं। एउटा छुट्टै लेख बनाउनुपर्छ त्यसका लागि। नेपालमै हुर्केका र नेपालमै पढेका फररर-- अंग्रेजी पड्काउन सक्ने धेरै मान्छेहरु एक अनुच्छेद नेपाली लेख्नुप-यो वा दुई मिनेट नेपालीमा मन्तब्य दिनुप-यो भने पसिना छुटाऊँछन्। जापान बस्दा मैले देखेको एउटा राम्रो कुरा के हो भने सानैबाट मान्छेलाई जापानीमा पोख्त बनाईँदो रहेछ। अब जापानीनै भएपछि त्यो कुन ठूलो कुरा भयो र भन्ने कुरा पनि आउन सक्छ तर आफ्नो भाषामा पोख्त हुनु ठूलै कुरा हो। सानै उमेरबाट बच्चाहरुलाई आफ्नो भाषामा धाराप्रवाह बोल्न र लेख्न सिकाईन्छ। हामीकहाँ त्यस्तो खाले शिक्षाको अझै शुरुवात भएको छैन। शिक्षाको पहिलो खुड्किलोको रुपमा सृजनशील रुपमा सोच्न र उत्तिकै सृजनशील रुपमा बोलाई र लेखाईमा त्यसलाई उतार्न सिकाईनुपर्छ। मेरो विचारमा आफ्नो मातृभाषामा दक्ष मान्छेलाई अर्को नयाँ भाषा सिक्न झन् सजिलो हुन्छ।

एकचोटि यस्तै प्रसंगमा 'जापानमा बसेका शिक्षित नेपालीहरुमध्ये, कुनै विदेशीलाई सामान्य नेपाली भाषा सिकाउन सक्षम कति होलान्?' भन्ने कुरा निक्लेको थियो। उत्तर सहज छ, धेरैजसोले सक्दैनन्। यसो भनिरहँदा घमण्ड गन्हाएको लाग्न सक्छ कसैलाई, तर यो मेरो घमण्ड हैन, बिल्कूल यथार्थ कुरा हो। मेरो नेपाली भाषाको ज्ञान पनि एकदम अधूरो छ भन्ने मलाई थाहा छ। हामी नेपाली भाषामा, सामान्य नेपाली सिकाउन सक्नेगरी पनि दिक्षित छैनौं। यति हुँदा-हुँदैपनि आफ्नो भाषाको बारेमा चासो राख्नु कुनै नराम्रो कुरा होईन भन्ने सोचेर यो चर्चा गर्न खोजिएको हो।

नेपाली भाषाले आधुनिक रुप ग्रहण गरेको धेरै भएको छैन। भानुभक्तभन्दा अलि पहिल्यैबाट गनेर ल्याउने हो भनेपनि लगभग दुई-सवा दुई शताब्दीमात्रै भयो यसमा गम्भिर साहित्य लेखिन थालेको (मेरो बुझाई गलत पनि हुनसक्छ)। सरकारी ब्यबहारको कुरा गर्ने हो भने राणाकालसम्म यसलाई उर्दू, फारसी, हिन्दी आदिको दाँजोमा हीन ठानिन्थ्यो। एउटा भाषाको जीबनमा यो खासै लामो समय होईन, झन राणकालपछिको छ दशक त नगण्यनै हो। तर यहि छोटो अवधिमा पनि नेपाली भाषाले जुन प्रगति गरेको छ, त्यसलाई निश्चयपनि कम आँक्न सकिँदैन। यतिमै सन्तोष मानेर बस्ने अवश्था पनि छैन, यो भाषाले आफूलाई विकास गर्ने ठाऊँ अझै प्रशस्त छ, यसमा अझै प्रशस्त कालजयी कृतिहरु लेखिन बाँकी छन्।

नेपाली भाषाको सुधार, परिमार्जन र मानकीकरणका लागि बेला-बेला कुरा उठीरहन्छन। दश-बाह्र वर्ष पहिला 'नेपाली भाषा सुधार सुझाव कार्यदल' थियो, सिंहदरवारभित्रै अड्डा जमाएर बसेको थियो त्यो। बिभिन्न पत्र-पत्रिकाहरुमार्फत जनताबाट पनि सुझाव मागेको थियो त्यसले। मैले पनि केहि सुझावहरु हुलाकमार्फत पठाएको थिएँ। त्यो कार्यदल कहिलेसम्म रह्यो, त्यसले कस्ता-कस्ता सुझावहरु सरकार वा अन्य सम्बन्धित निकायहरु र ब्यक्तिहरुलाई दियो आदि थाहा छैन मलाई। त्यो कार्यदलले आफ्नो सुझाव सञ्चार-माध्यमहरुबाट पनि सार्वजनिक ग-यो होला, पढ्न पाईएन।

त्यतिखेर आफ्नो सुझाव पठाउनुअघि तयार पारेको खेस्रा भएको कापी कुनै पुरानो झोलाको पिँधमा ओसिएर बसेको छ होला। बुँदाहरु पाँच-सात कति थिए कुन्नि, सारमा भने मानकीकरण (Standardization) मै जोड दिएको थिएँ। नेपाली भाषाको सर्वसम्मत ब्याकरण समेत अझै छैन जस्तो लाग्छ (यी केहि वर्षमा भएका गतिबिधिबाट बेखवर रहेको हुनपनि सक्छु म)। ब्याकरणका पुस्तकपिच्छे फरक-फरक ब्याख्या देखिन्छन्। नेपाली भाषा नेपाल, भारत, भुटान, बर्मा हुँदै अब त विश्वब्यापी भईसकेको छ। पश्चिमी मुलुकहरुमा पनि उल्लेख्य संख्यामा नेपालीहरु पुगिसकेका छन। सबैतिरका नेपालीहरु साहित्यिक रुपमा सकृय पनि छन्। यसैले, भद्रगोलको स्थिति आउनुभन्दा पहिलेनै मानकीकरण र सर्वसम्मत ब्याकरणको आवश्यकता छ, विशेष गरी लेख्य भाषाको लागि।

हाम्रो आफ्नै लेखाईभित्रका केहि कुरालाई आधार मानेर हेर्दा पनि के स्पष्ट हुन्छ भने अहिले नेपाली मनपरी लेखिन थालेको छ। ह्रस्व-दीर्घका कुरा धेरै मान्छेलाई थाहा नहुनु सामान्य मानिन थालेको छ। सबैलाई ह्रस्व गर्दिए हुन्छ भन्नेहरु पनि धेरै छन्। गाह्रो लाग्यो भन्दैमा भाषालाई ताछेर दुब्लो बनाउने नियत मात्रै हो यो। बोलीचालीमा उस्तै गरी प्रयोग हुन थाले पनि ह्रस्व-दीर्घले लेख्य भाषाको सौन्दर्य बढाऊँछन् जस्तो लाग्छ मलाई। त्यस्तै गरी 'व' र 'ब', 'श', 'स' र 'ष' आदिमा भेद राखिन छोडेको छ। लेखाईमा त यस्तो भेदको आवश्यक छ नै, बोलाईमा पनि यी ध्वनिहरुको वास्तविक प्रयोग गर्न फेरि सिकाउन थालिनु पर्छ। त्यस्तै, 'ऋ' जस्ता अक्षरहरुको प्रयोग एकदम कम हुन थालेको छ। धेरैले 'रि' वा ' री' प्रयोग गर्छन् 'ऋ' लेखिनुपर्ने ठाऊँमा। छोरीलाई नेपाली सिकाउन सजिलो हुन्छ भनेर घरबाट पठाइदिएको दुईटा बाह्रखरीका पुस्तकमध्ये एउटामा 'ऋ' छँदैछैन।

नेपाली भाषामा संस्कृतबाट आएका शब्दहरु प्रशस्त छन्। तिनको प्रयोगका बारेमा पनि एउटा नियमको आवश्यकता छ। विज्ञान-प्रविधिसंग सम्बन्धित शब्दभण्डारमा भने विदेशी शब्दहरुकै रजाईँ चल्ला अब लामो समय। संस्कृतको सहारामा मौलिक शब्द खोज्न नसकिने होइन, भलै ब्यापक प्रयोग नहोस्। प्रयोग नभएपनि शब्द-भण्डारलाई समृद्ध राखिरहे केहि हानी हुँदैन।

अर्कोतिर ब्यक्तिका (र ठाऊँहरुका) नाम रोमनमा लेख्ने कुरामा पनि त्यत्तिकै भद्रगोल छ। मेरो नाम म 'वसन्त' लेख्छु तर रोमनमा 'Basanta' लेख्छु। बोलाईँदा 'बसन्त' हुने पुगेकाले मलाई 'Basanta' लेख्न सिकाईयो होला। 'सीता', 'गीता' का लागि Seeta, Geeta नलेखेर Sita, Gita लेखिन्छ। बोलीचालीलाई पछ्याएको हिसाबमा सामान्य लाग्न सक्छन् यस्ता कुराहरु, तर भाषाको शुद्धताको चासोभन्दा बाहिरै बसेर हेर्दा पनि यस्ता कुराले अन्यौल जन्माउने दिन आऊँदैछन्।

(प्रसंगवश, यस्ता कुराहरुका बारेमा सल्लाह गर्न भनेर साझा डट कममा एउटा धागो पनि शुरु भएको थियो अलिक पहिला। अहिले त्यति चल्तीमा छैन।)

अब आईपुग्दैछु म यो टाँसो जन्माउने प्रसंगमा। जनवरी २० को 'दैनिकी' को 'तर्क वितर्क' मा एमाले नेता प्रदिप नेपालको एउटा भनाइ (अघिल्लो दिनको 'नयाँ पत्रिका'मा छापिएको लेखको अंश) देखें, घतलाग्दो पनि लाग्यो;

"यो सरकार ढलेर भन्दा रहेरै मुलुकको अस्तित्व खतरामा परेको देख्छु म पशुपतिनाथका पुजारीको सन्दर्भ अध्ययन गर्दा। नेपालीको विरोधलाई वाईसीएल र प्रहरीको मारपिटबाट दबाउने, गरेको निर्णय बदर हुँदैन भन्दै नेपाली सर्वोच्च अदालतको तिरस्कार गर्ने कामरेड प्रचण्ड र महिनामा एक दिन मात्रै नुहाउने उहाँका मन्त्रीको भाषणलाई भारतीय जनता पार्टीको एउटा फोनले पर्लक्कै उल्ट्याइदियो।"

(एमाले नेता प्रदीप नेपाल नयाँ प्रत्रिकामा सोमबार ६ माघको लेखमार्फत् ।)


लेख पूरै पढ्न खोज्दा त्यो दिन किन हो कुन्नि, 'नयाँ पत्रिका' को गृहपृष्ठ खुलेन (भोलिपल्ट पढें)। पत्रिकाको पृष्ठ नखुलेपछि देवनागरीमै लेखेर खोज्दा प्रदिप नेपालको बारेमा गुगलले के देखाऊँदो रहेछ भनेर हेर्ने लहड चल्यो।

हिन्दी नै हिन्दी पो दिन्छ त गुगलले! अलि-अलिमात्रै नेपाली साईट देखिए! एकछिन छक्क परें म, त्यस्तो त नहुनुपर्ने। समाचारमूलक नेपाली साइटहरु पनि अब त धेरैनै भईसके। यस्सो ध्यान दिएर हेरेको, मैले 'प्रदिप' को सट्टा 'प्रदीप' लेखेको रहेछु। 'प्रदिप नेपाल' राखेर हेर्दा सबैजसो नेपाली साईट भएको सूचि हात लाग्यो। यो हाम्रो भाषाको मानकीकरण गर्ने सवालमा ध्यान दिनुपर्ने अर्को कुरा हो। अब भाषालाई मानकीकरण गर्दा यो भाषाको अरु भाषासंगको समानता र गुगलजस्ता सर्च इञ्जिनहरुको बारेमा पनि गम्भिर ध्यान दिनुपर्ने आवश्यकता भईसकेको रहेछ।

नेपाली र हिन्दी दुबै मूल रुपमा संस्कृतबाट विकसित भएकाले यिनमा धेरै समानता छन्, लिपि एउटै छ र धेरै शब्दहरु उहि छन्। अब नेपाली भाषाको मानकीकरण गर्दा नेपालीहरुमाझको प्रयोगलाई मात्रै हेरेर मात्रै नहुने रहेछ, दुई भाषाबीचको मानकीकरण पनि अनिवार्य भईसकेको रहेछ। लेखाईमा सानातिना भिन्नता हुँदा गुगलपूर्वको जमानामा खासै फरक पर्दैनथ्यो होला, तर गुगलको जमानामा भने धेरै फरक पर्दो रहेछ। यो माथिको 'प्रदीप' र 'प्रदिप' को प्रसंगबाट पनि स्पष्ट भयो। दुईटा भाषाका ज्ञान-भण्डारबाट एकापसले लाभ उठाउने हो भने दुबै भाषामा प्रयोग हुने शब्दहरुको लेख्य रुपमा एकरुपता ल्याउनु अत्यन्त जरुरी छ। हिन्दी मात्रै होईन, देवनागरी लिपि प्रयोग हुने र उस्तै शब्दहरु धेरै भएका देशभित्रैका र दक्षिण एशियाका अरु भाषाहरुसंग पनि समन्वयको आवश्यकता छ। संस्कृतबाट आएका शब्दहरु प्रयोग गर्ने सवालमा हिन्दी-भाषीहरु हामीभन्दा धेरै सचेत छन् (माथीकै उदाहरणमा पनि संस्कृतको 'दीप' शब्दमा प्रत्यय थपिएर बनेको हुँदा 'प्रदीप'नै सही हो मेरो विचारमा)। दुबै शब्दलाई एकै तरिकाले लेखियो भने खोज धेरै सजिलो हुन्छ, नत्र धेरै भद्रगोल हुने प्रष्ट छ। मानौं कि 'आयुर्वेद' लाई नेपालमा 'आयुर्बेद' लेखियो र त्यसबारेका धेरै जानकारी/साहित्यलाई ईण्टरनेटमा राखियो, हिन्दीमा 'आयुर्वेद' नै प्रयोगमा आयो र उनीहरुले पनि यससम्बन्धी धेरै जानकारी ईण्टरनेटमा राखे। अब गुगलमा खोज्दा के भनेर खोज्ने? कम्तिमा पनि खोज्ने समय दोब्बर हुन जान्छ, अरु झमेलाहरु पनि थपिने त छँदैछ। (यो लेख्दा-लेख्दै भर्खरै हेरें मैले, समस्या शुरु भईसकेको रहेछ। 'आयुर्वेद' खोज्यो भने हिन्दी साईटहरु बढी देखिन्छ, 'आयुर्बेद' खोज्यो भने नेपाली साईटहरु बढी देखिन्छ। यदाकदा 'आयुर्बेद' लेखिएका हिन्दी साईटहरु पनि नदेखिने हैनन्, तर ती अत्यन्त कम छन्। गलत लेखाई हाम्रो हो, उनीहरुको होइन।)

ईण्टरनेटमा हाम्रो उपस्थिति बढ्दै जाँदा भाषिक शुद्धतामा झन ध्यान दिनुपर्ने आवश्यकता छ। यसैले फेरि एकचोटि आधारभूत संस्कृतको उपस्थितिलाई विद्यालयमा अझ दह्रिलो बनाउनु नितान्त जरुरी छ। ब्यक्तिगत रुपमा मलाई कुनै दिन फेरि संस्कृतको अध्ययन शुरु गर्ने मन छ, त्यस्तो गम्भिर अध्ययन गर्ने समय नमिल्ला अब तर आफ्नो नेपाली भाषामा अलिकति निखार ल्याउनका लागि अलिअलि भएपनि नपढी भएको छैन। कक्षा ६ र ७ मा जाँच भ्याउने उद्देश्यलेमात्रै संस्कृत पढियो, त्यसपछि संस्कृतसंगको सम्बन्ध टुटेको छ।

अर्कोतिर सञ्चारकर्मी र पत्रकारहरुलाई त नेपाली संगसंगै संस्कृतमा पनि एउटा निश्चित तह पार गरेकै हुनुपर्ने गराउनु अति अनिवार्य छ।

'संस्कृति र संस्कृत' विरोधी 'भिल्ल'हरुको राज चलेको बेलामा यस्ता कुरामा राज्य आफैं पनि तत्कालै तात्ला भनेर सोच्नु बेकार छ। जे सकिन्छ, नेपाली भाषालाई माया गर्ने हामी सबैले आ-आफ्नै ठाऊँबाट गरौं।

August 05, 2008

साहित्यको नेतृत्व कसले गर्ने?

२००८, अगष्ट ११मा अद्यावधिक:
भूपि शेरचनको एउटा प्रसिद्ध कविता छ, "यो हल्लैहल्लाको देश हो" भन्ने। त्यो कविताको शुरुका केहि हरफहरु यी हुन्,

कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको संगीन थमाइन्छ------


पूरै कविता यहाँ गएर पढ्न सक्नुहुन्छ।


साहित्यको नेतृत्व कसले गर्ने?

मेरो लागि प्रश्नको एउटै उत्तर छ, सटीक र सोझो, "साहित्यकारले!"

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भन्ने संस्थासंग सम्बन्धित थिएँ म दुइ-अढाइ वर्ष। त्यसभन्दा पहिले यो संस्थाको बारेमा बिल्कूलै जानकारी थिएन मलाई। साझाको कारणबाट चिनिएका, जापानमै बसिरहेका केहि साथीहरुको अनूरोध अनुसार म यो संस्थाको जापान शाखाको उपाध्यक्षको रुपमा रहें, एउटा कार्यकारी समितिको पूरै कार्यकालभरि र त्यसपछिको वर्तमान कार्यकारि समितिमा केहि महिना। संस्थाका कार्यक्रमहरु टोकियो केन्द्रित हुनाले प्रत्यक्ष सहभागिता जनाउने मौका मिलेन कुनै पनि कार्यक्रमहरुमा। तैपनि विद्युतिय माध्यमहरुबाट भएपनि केहि कुराकानी र छलफलहरुमा भने भाग नलिईएको हैन र साहित्यिक जमघटहरुका लागि रचनाहरु पनि नपठाइएको भने हैन।

अनेसासको अहिलेको केन्द्रीय अध्यक्षको रुपमा बिल्कूलै गैर-साहित्यिक ब्यक्ति चुनिएपछि मलाई त्यसभित्र बसिरहनु नैतिक रुपमा ठिक लागेन र राजीनामा दिएँ।

कुरो अघि बढाउनु भन्दा पहिले एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने म आफूलाई 'घघडान' साहित्यकार त ठान्दिन तर कतिपय यस्ता संस्थाहरुका 'लाउके' भएर विभिन्न पदहरुमा टाँसिइरहेका मान्छेहरुको दाँजोमा भने 'गतिलै' साहित्यिक क्षमता भएको ठान्दछु। यसलाई कसैले मेरो अहं ठान्छ भने मेरो भन्नु केहि छैन।

अनेसासको नयाँ केन्द्रीय 'नेता' देखेपछि अनेसास बाहिरका मान्छेहरु पनि 'छक्क' र 'पक्क' परेका हुन्!। यो 'एनआरएन' हो कि 'अनेसास' हो भन्ने छुट्याउन नसकिने भएपछि मान्छेहरु छक्क पर्नु नौलो कुरो भएन पनि।

यो प्रकरणका कारण अनेसास भित्र केहि विवाद उठेको पक्कै हो। अनेसासभित्रको ती विवाद र असन्तुष्टिलाई भने कसरी थामथुम पारिएको छ, त्यहाँका हस्तीहरुनै जानुन्। तर उम्मेदवारीमै समाधान गरिईनुपर्ने यो प्रकरण यहाँसम्म आईपुगेको देख्दा भने त्यहाँका हस्तीहरुप्रति पनि टीठ लागेर आउँछ!

अब मूल कुरोतिर। कुनैपनि विषयगत संस्थाको नेतृत्व संबन्धित विषयकै हुनुपर्छ, झन नेतृत्व भन्नेबित्तिकै त्यो क्षेत्रमा अलिक स्थापित पहिचान भएकै ब्यक्ति हुनैपर्छ। डाक्टरहरुको संस्थाको नेतृत्वमा डाक्टरहरुनै हुन्छन्, ईञ्जिनीयरहरुको संस्थामा ईञ्जिनीयरहरुनै हुन्छन्, कर्मचारीहरुले आफ्नो नेता कर्मचारीनै छान्छन्----। हो, साहित्यका हकमा को साहित्यकार हो र को होइन भन्ने छुट्याउन खल्तीबाट झिकेर देखाउन सकिने एक पाने प्रमाणपत्र अथवा 'जागिरे' परिचयपत्र हुँदैन, तर साहित्यकारको प्रमाणपत्र भनेकै उसका रचनाहरु र उसको साहित्यिक ब्यक्तित्व होइन र? त्यसकारण को कति साहित्यिक हो भनेर तौलनु कुनै गाह्रो काम होईन। साहित्य रचनाको नाममा जिन्दगीमा एउटा मुक्तक समेत नलेखेपनि आफ्नो बायो-डाटामा 'गोरखापत्र र कान्तिपुरमा धेरै रचनाहरु प्रकाशित' भनेर लेखेकै भरमा साहित्यिक ब्यक्तित्वमा दरिईन्छ भन्यो भने अन्त खिसीट्युरीको पात्र बनिन्छ, तर अनेसासमा यसलाई सामान्य रुपमा लिईँदो रहेछ। के अनेसासको आम सोचाई यहि हो?

(केहि अनलाईन मिडियाहरुमा प्रकाशित लेखहरु र कुराकानीका आधारमा) मैले बुझेसम्म असन्तुष्टिलाई थामथुम पार्न अनेसासको 'माथि'बाट अनौठो तर्क दिइने गरिएको छ। 'नैतिक रुपमा त्यति ठिक त हैन तर वैध रुपमा छानिएको नेतृत्व भएकोले ठिकै छ।' भन्ने तर्क। यसको अर्थ, अनेसासभित्र 'नैतिक' आधारमा काम हुँदैन र कथित 'वैधानिकता'को कोरा तर्कलाईनै सर्वोपरी ठानिन्छ। नेपालको प्रज्ञा-प्रतिष्ठानमा कमल थापालाइ उप-कूलपति किन बनाईँदैन (कमल थापाकै नाम जोडेको चित्त बुझ्दैन भने वामदेव अथवा अर्जुन नरसिं वा अरु कसैको नाम राखे हुन्छ)? कानूनी रुपमा त त्यहाँ पनि समस्या नहोला। त्यसकारण, यो 'वैधानिकता'को तर्कमा कुनै दम छैन र यस्तो काइते तर्कले अनेसासको खोलबाट बाहिर चियाएको लाज छोपिनु त कता हो कता झन ह्वाङ्गै हुन्छ।

केहि साथीहरु 'शायद ब्यबश्थापकीय कामको जिम्मा दिन राखिएको होला' भन्छन्। तर कथित 'ब्यबस्थापकीय' क्षमता पनि भएका साहित्यकारहरु नहुने हैनन्। अनेसास चलाउन चाहिने 'ब्यबस्थापकीय' क्षमता अनेसासका कुनै साहित्यिक मित्रमा पनि छैन भनेर म पत्याउँदिन। दोश्रो कुरो, गैर-साहित्यिक ब्यक्ति कार्यसमितिका लागि कुनै 'विशेष' कारणवश 'अपरिहार्य' भए अध्यक्ष बाहेकका पदमा ल्याए भैहाल्थ्यो। अर्कोतिर, सम्बन्धित ब्यक्तिको पनि रोजाई त्यहि हुनुपर्थ्यो, त्यसैमा विनम्रता झल्किने थियो। अनेसासभित्र धेरै स्थापित साहित्यकारहरु छन्, अहिलेका अध्यक्षले तिनको नेतृत्व गर्न खोज्नुमा चरम अहं र पदलिप्सा बाहेक केहि पनि देखिन्न।

जापानमै रहेका केहि 'साहित्यकार'हरु भने प्रकाशकलाई पनि अध्यक्ष बनाउन सकिन्छ भन्छन्। पहिलो कुरो त, गैर-साहित्यिक 'विशुद्द ब्यापारी' प्रकाशक साहित्यकारहरुको संस्थाको अध्यक्ष भएको कतै पनि सुनिएको छैन। दोश्रो कुरो, प्रकाशक अध्यक्ष हुन पाउँछ भने वितरक पनि हुन पाउने भयो, किताब पसले पनि हुन पाउने भयो। अझ 'लोकतान्त्रिक' बनाएर कुनै आम पाठकलाईनै अध्यक्ष बनाए पनि भयो!
****************************************************
यो ब्लगका पाठक मित्रहरु, शिर्षकको प्रश्नको जवाफ दिने पालो अब तपाईँको।

June 21, 2008

"BORDER NEPAL"- A blog for Nepal

[विक्षिप्त मन्त्रीको जंगली शैली, माओवादी सरकारबाट बाहिरिएपछि बढेको राजनीतिक अन्यौल, नरोकिएको अराजकता--------! कति धेरै काला बादलहरु! सधैं काला बादलहरुको बारेमा मात्रै कति लेख्ने? कहिलेकाहीं त ती काला बादलहरुमा यदाकदा देखिने चाँदीका घेराहरुका बारेमा पनि त लेख्नुप-यो। आजको 'टाँसो' यस्तै एउटा चाँदीका घेराको बारेमा समर्पित छ।]

नेपाल सानो छ र भूपरिवेष्ठित छ र नेपाल गरीब पनि छ, त्यसैले कमजोर पनि छ। यद्यपि सानो र भूपरिवेष्ठित हुँदैमा यो गरीब भएको भने हैन। देशभित्रैका अथाह सम्पदालाई सदुपयोग गर्न सक्ने राज्यसत्ता अहिलेसम्म नपाउनुनै नेपालको गरीबीको प्रमुख कारण हो।

गरीब र कमजोर भएका कारण अरु कुनै पनि देशसंगको सम्बन्धमा हाम्रो हात जहिले पनि तल परेको छ। एक हिसाबले हामी भारतपरिवेष्ठित छौं र भारतसंगको हाम्रो सम्बन्ध जहिले पनि असन्तुलित र हाम्रा लागि अपमानजनक छ। यसका लागि भारत र भारतीयहरुको उच्चताबोध (superiority complex) जति जिम्मेवार छ, त्यसको दश गुना बढी हाम्रो आफ्नै हीनताबोध(inferiority complex) जिम्मेवार छ। कुनै निर्णय गर्नु अगाडि दिल्लीको मुख नसुँघी नहुने नेताहरुमात्रै हैन, भारतीय विशेषज्ञलाई लाखौं तिर्न तयार हुने तर उत्तिकै अथवा अझ क्षमतायुक्त नेपालीलाई दास सरह ब्यबहार गर्ने नेपालका कथित औद्यौगिक घरानामात्रै हैन, भारतीय गायक-कलाकारलाई लाखौंको पारिश्रमिक पहिल्यै दिने तर नेपाली कलाकारलाई केहि हजार पारिश्रमिक पनि झुलाई-झुलाई खटाई-खटाई दिने र मौका परे पूरा पनि नदिने चलचित्र निर्माता देखि लिएर मौका पर्दा आफूलाई भारतीय भनेर चिनाउने विदेशवासी हामी नेपालीहरु सबै जिम्मेवार छौं। कुरा धेरै छन् गर्नुपर्ने तर आज नेपाल-भारत सीमाका विषयमै सीमित बन्दैछु।

बेईज्जतीपूर्ण सुगौली सन्धिपछि नेपाल खुम्चिएर झण्डै आजको आकारमा आईपुगेको त हामी सबैलाई थाहै होला। बेलायती साम्राज्यको 'चाकडी' गरेबापत बाँके, बर्दीया, कैलाली र कञ्चनपुर राणाकालमा फिर्ता आएपछि हाम्रो आजको सीमा निर्धारित भएको हो। नेपाल बलियो भए अंग्रेजहरुले भारत छोड्दा सुगौली सन्धिमा गुमेको आफ्नो भाग फिर्ता पाउन पनि सक्थ्यो होला किनभने सुगौली सन्धि ब्रटिश-इण्डियासंग भएको थियो। पाउने त परै जाओस्, यसको चर्चासम्म पनि गरेनन् तत्कालीन नेपाली शाशकहरुले। त्यसपछि चर्चा गर्नु र नगर्नुमा खासै फरक भएन।

तर मेची र महाकालीले बाँधिएको हाम्रो सीमानाले त्यसपछि पनि सुख पाएको छैन। हाम्रो सीमाना धेरै ठाउँमा लगातार भारतद्वारा अतिक्रमित छ। सन्धि-सम्झौताहरु पूर्णत: भारतीय स्वार्थले भरिएका छन् र हामी धेरै ठगिएका छौं। सीमाक्षेत्रका नेपालीहरु भारतीयहरु र भारतीय सीमासुरक्षा बलद्वारा निर्मम ढंगले सताइएका छन्। तर अहिलेसम्मका हाम्रा सबै राजनीतिक दल र नेताहरुले सीमा-समस्यालाई जूलूश उचाल्ने र भाषण गर्ने 'मसला'को रुपमा मात्रै प्रयोग गरिरहेका छन्। सत्ता प्राप्तिका लागि जनताको भन्दा दिल्लीको मुख ताक्ने नेताहरुबाट आशा गर्नु पनि बेकार लाग्छ अब त। अर्कोतिर माओवादी छ, जो एक जमानामा जनतालाई भारत विरुध्द सुरुङ युध्द गर्ने हावादारी गफ दिन्थ्यो। भारतीय चरित्र अझै उस्तै छ, तर माओवादी दिल्लीको शरणमा पूरै लम्पसार परिसकेको आभाष हुन्छ, सुरुङ युध्दको गफ दन्त्यकथा बनिसक्यो। हिजो १९५० को सन्धि 'खारेज' गर्नुपर्छ भन्नेहरु सत्ता पाउने बेलामा 'पुनरावलोकन' गर्नुपर्छ भन्न थालेका छन्। के थाहा, अब केहि दिनमै कांग्रेस-एमालेजस्तै बन्ने होलान् माओवादी पनि, १९५० भन्ने साललाईनै बिर्सिएर!

उग्र र दुस्साहसी कुरा गर्ने मन छैन मलाई। भारतसंग सामरिक रुपमा हाम्रो केहि जोर चल्दैन, त्यो मलाई राम्ररी थाहा छ। भविष्यको पुस्तालाई पनि सुगौली सन्धिको वास्तविकता बुझाउनु जरुरी छ तर अहिले सुगौलीमा गुमेको नेपाली भूभाग खोज्नु झन ठूलो मूर्खता हो भन्ने पनि थाहा छ। हाम्रो चुनौती अहिलेको सीमालाई जोगाउनु र १९५० पछि भारतले हडपेका-मिचेका-ओगटेका भूभागहरु फिर्ता पाउनु हो र त्यसका लागि हाम्रो हतियार भनेको 'विनम्र' तर 'चतुर' कूटनीतिमात्रै हो। यस्तो कूटनीति दलहरु र नेताहरुका 'हनुमान'हरुको वशको कुरो हैन। हामीलाई अध्ययनशील र पेशेवर कूटनीतिज्ञ र विशेषज्ञहरुको खाँचो छ ता कि वार्ताका टेबुलमा बस्दा भारतीयहरुसंग सहजै बौद्धिक, ब्यक्तित्वगत र तर्कयुक्त प्रतिस्पर्धा हुन सकोस्। मैले कतै पढेको थिएँ; नेपाल-भारत वार्ताहरुमा भारतीय पक्ष एकदम अध्ययन र गृहकार्य गरेर आएको हुन्छ, नेपाली पक्ष भने विना तयारी के को लागि वार्ता हुँदैछ भन्ने पनि राम्रोसंग नबुझी गएको हुन्छ। त्यो अवश्थामा भारतीयले जे भने त्यसमै सही थाप्नुको विकल्प हुन सक्दैन किनभने अध्ययन र तयारी गरे पो विकल्प दिन सकिन्छ। अनि हाम्रा पदाधिकारीहरु आफ्ना सन्तान अथवा आसेपासेलाई दुई-चार छात्रवृत्ति मागेर फर्कन्छन् रे! हाम्रो कूटनीतिको अहिलेसम्मको उपलब्धि यस्तै 'छात्रवृत्ति'मात्रै हुन्! राजदूत र अन्य पदहरुमा 'राजनीतिक' भागबण्डाको संस्कारको अन्त्य नहुञ्जेल हामीले अरु के नै आशा गर्न सक्छौं।



सीमा समस्यामा नेपाललाई बौद्धिक र कूटनीतिक नेतृत्व दिनसक्ने एक ब्यक्तित्व बुद्धिनारायण श्रेष्ठज्यू हुनहुन्छ।

बुद्धिनारायण श्रेष्ठज्यू नेपालका एक प्रतिष्ठित सीमा विशेषज्ञ हुनुहुन्छ। आफ्नो लामो सरकारी सेवा अवधिमा उहाँले नापी विभागको महानिर्देशकको रुपमा पनि नेपालको सेवा गर्नुभएको छ। सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि उहाँ अझ जोश र सकृयताका साथ नेपालको सीमा समस्याको सार्वजनिकरण र समाधानका लागि तल्लीन हुनुहुन्छ। उहाँसंग मेरो ब्यक्तिगत परिचय छैन। मैले उहाँको बारेमा पहिलोपल्ट सुनेको-पढेको 'नेपालको सीमाना' भन्ने उहाँको पुस्तकले मदन पुरस्कार प्राप्त गर्दा हो। त्यसपछि नेपालका बिभिन्न पत्र-‍पत्रिकाहरुमा उहाँका लेख-रचनाहरु पढ्दै आएको छु। गत साल आफुले ब्लग शुरु गरेपछि अरु नेपाली ब्लगरहरुका ब्लगहरु पढ्ने सिलसिलामा उहाँको ब्लगपनि देखें र लगातार त्यो ब्लगको पनि पाठक बनेको छु। उहाँको ब्लगको नाम 'BORDER NEPAL' हो र ठेगाना http://bordernepal.wordpress.com हो।

यसबीचमा म थुप्रै नेपाली ब्लगरहरुको नियमित पाठक बनेको छु, थुप्रै ब्लगरहरुसंग मित्रता गाँसेको छु। तर मैले Blogroll हरुमा विरलै BORDER NEPAL लाई देखेको छु। हामी ब्लगरहरुनै यो ब्लगको बारेमा सचेत छैनौं भने सामान्य पाठकहरु झन सचेत छैनन् होला। मलाई के लाग्छ भने यो ब्लग हामी नेपालीहरुको लागि अत्यन्त महत्वपूर्ण ब्लग हो। नेपालको सीमा समस्याको बारेमा हामीले पूरा जानकारी राख्नैपर्छ र समाधानका लागि आफ्नो ठाउँबाट गर्न सकिने प्रयासहरु गर्नैपर्छ। हामीले तुरुन्त गर्न सक्ने भनेको नेपालको सीमा समस्याको सार्वजनिकरण र वहसका लागि बुद्धिनारायण सरको प्रयासलाई साथ दिने हो। त्यसैले ब्लगर साथीहरुलाई म 'BORDER NEPAL' को नियमित पाठक बन्न, यसलाई आफ्नो Blogroll मा राख्न र आफ्ना स्वदेशी-विदेशी मित्रहरुलाई यो ब्लग 'रिफर' गर्न अनुरोध गर्छु।

यो 'टाँसो'(posting) मेरो आत्माको आवाज हो। बुद्धिनारायण सरसंग पनि अनुमति नलिई लेखेको हुँ।
**************************************************************************

Other similar posts:
Celebrating a 'rare' bright spot in the Nepalese sky

माओवादीहरु 'मूलधार'मा आउँदै? तर कस्तो मूलधारमा?

May 19, 2008

जन्मदिन

सत्ते-सत्ते! धरोधर्म! 'जन्मदिन' मै ब्लगको १००औं 'टाँसो' (पोष्टिङ) पार्ने मेरो नियत थिएन। कम्तिमा मे ११ को अघिल्लो टाँसोपछि अस्ति शुक्रवारसम्म थिएन। नयाँ केहि लेख्ने फुर्सद र मानसिकता दुबै थिएन, तर एउटा पूरानै कविता भएपनि घुसार्दिने सूर भने चलेको थियो। शुक्रवारदेखि भने नियतै राखेको हुँ। दुई दिन कुरेपछि 'जन्मदिन'मै ठ्याक्क १००औं टाँसो पर्छ भने किन नकुर्ने भन्ने लाग्न थाल्यो। खैर, छोडौं यो कुरा अहिलेलाई।

उसो त म जन्मदिन मनाउने कुरामा खासै चासो राख्दिन। मेरो आफ्नै जन्मदिन त झन नआइदिए हुन्थ्यो जस्तो लाग्छ:) जन्मेको दिन हुँदैमा महत्वपूर्ण हुन्छ भनेर कता लेखेको छ र? कुनै ब्यक्ति नमरी उ जन्मेको दिनको मूल्यांकन हुन सक्दैन। यो निरस र नरमाइलो कुरालाई पनि छोडिदिउँ यतै।

काठमाडौंको पश्चिमी भेगको काँठमा हुर्किने क्रममा खासै साहित्यिक वातावरण थिएन वरिपरि। गाउँमा केहि मान्छेहरु 'मधुपर्क' र पछि 'गरिमा' पढ्थे। कति किनेर ल्याए पनि वा कतैबाट पाएपनि नपढी राख्ने खालका थिए। पढेको विद्यालयमा पनि खासै थिएन त्यो वातावरण। सामान्यतया वर्षको एकपटक भानुजयन्तीको दिन कविता प्रतियोगिता हुन्थ्यो।

थाहा छैन कसरी साहित्य पढ्ने बानी लाग्यो। हाजिरजवाफहरुमा कहिलेकाहीँ जित्दा पाएका 'बालकोसेली'का केहि अंकहरुले हुनसक्छ अथवा रेडियो नेपालको 'बाल कार्यक्रम'ले पनि हुनसक्छ मलाई शुरुमा त्यतातिर डो-याएको। यी बाहेक प्रेमा शाह आदिले लेखेका बालकथाका पुस्तकहरु पनि हात पर्न थाले। अलि ठूलो भएपछि पढेको 'हमजाएगाको डायरी' को पनि ठूलो प्रभाव हुनसक्छ। गाउँमा पुस्तकालय नभएपनि हामी बालसखाहरुका बीचमा किताब आदान-प्रदान निकै चल्थ्यो र पुस्तकालयको अभावको अलिकति भएपनि पूर्ति गर्थ्यो यसले। पछि विस्तारै साथीहरुका घरमा भएका मधुपर्क र अरु पत्रिकाहरु पनि पढ्न थालियो। घरमै पनि थिए अलि-अलि, तर बढी धार्मिक पुस्तकहरु र त्यो पनि हिन्दीमा। गाउँका कुनै-कुनै घरका बुईंगलमा भेटेर पढेका कति किताबहरुले मनमा पारेको प्रभाव अझै ताजै छ। 'रत्नश्री' भन्ने पत्रिकाको 'दार्जलिङ् कथा विशेषांक' सबैभन्दा बढी सम्झनामा छ। २०३०को दशकका मधुपर्कका बिभिन्न अंकहरुका कथा-कविताहरु, शिकार कथाहरु सबै सम्झना नभएपनि तीनले मनमा पारेको प्रभाव भने अझै महशूश गर्न सक्छु म। गोरखापत्रको 'शनिवासरीय परिशिष्टांक' (अहिले 'शनिवारीय' भनिन्छ क्यारे!) पनि टूपीदेखि पैतालासम्म पूरै पढिन्थ्यो। त्यो जमानामा र त्यो पनि गाउँमा पढ्ने कुरा कमै थिए, भएकाको हामीले 'अधिकतम उपयोग' गरेका थियौं।
-२-
लेख्ने बानी पनि लाग्दै गयो। एक‍-दुई पटक भानुजयन्तीमा पुरस्कार हात परेपछि र बाल कार्यक्रमको 'को भन्दा को कम' मा एउटा कविता र एउटा निवन्ध प्रसारण भएपछि हौसला पनि बढ्यो। विद्यालय पढ्दै एकताका 'झण्डै-झण्डै साहित्यिक' दैनिकि पनि चलेको थियो केहि समय। तर रचनाहरु प्रकाशन गर्ने आत्मविश्वाश आईसकेको थिएन, चाहना भने विस्तारै बढ्दै थियो।

विद्यार्थी जीवनका भित्ते पत्रिका वा वार्षिक स्मारिका आदिबाहेक प्रकाशनकै लागि भनेर पठाउन थालेको भने बी.ई. सकेर नेपाल फर्केपछिमात्रै हो। 'कान्तिपुर साप्ताहिक' ले एउटा लघुकथा छापिदिएको थियो। पोखरा बस्दा त्यहाँका स्थानीय पत्रिकाहरुले केहि कविता र लेखहरु छापिदिएका थिए। तर लोभ भने राष्ट्रिय पत्रिकामै छपाउने थियो। मधुपर्क, गरिमा, तन्नेरी, गोरखापत्र, कान्तिपुर आदिले छाप्दै छापेनन्। म आफूलाई त्यस्तो 'खतरा' लेखक-कवि त ठान्दिनँ तर मेराभन्दा धेरै स्तरहीन रचनाहरु भने छापिएको देखिन्थ्यो यदाकदा। मेरो घमण्ड पनि हुनसक्थ्यो यो अथवा अरुका रचनालाई मैले नबुझेको पनि हुनसक्थ्यो तर यसपछि पत्रिकहरुमा छपाउने मन मर्दै गयो। सकिएछ भने पछि किताबै छपाउँला भन्ने विचार थियो।

मैले जानेको अर्को कुरो के हो भने नेपालमा लेख-रचना छपाउन पनि 'चिनजान-नातागोता' आदि सबैभन्दा भरपर्दा माध्यम हुन्। हाम्रो 'गज्जब' नेपालमा लेखन र प्रकाशनले अझै पेशेवर रुप नलिईसकेको स्थिति हो यो। विगतका केहि वर्षमा निश्चयपनि केहि परीवर्तन आयो होला यसमा।

एकचोटि नेपाल टेलिभिजनको 'अभिव्यक्ति' भन्ने कार्यक्रममा कविता वाचन गर्न भनेर पनि पुगेको थिएँ त्यसका संचालकलाई भेट्न। तीनले के-के कुरा गरेर अल्मलाए धेरै बेर; र पछि बोलाउँला भनेर फर्काए मलाई। त्यो 'पछि' आएन!

नछपाउने भनेर मन बनाएपछि लेखनको गति कम हुने रहेछ, रोकिनै त रोकिन्न। मान्छेले अरुले पढुन भनेरनै लेख्छ। अरुले नपढुन् भन्ने चाहना लेख्नेमा हुँदै-हुँदैन, ठोकेर भन्दिन्छु म यो। जीवनभरि लुकाएर दैनिकी लेख्नेहरुमा पनि आफू मरेपछि अरुले पढिदिउन् भन्ने चाहना हुन्छ। वस्तवमा अरुले नपढुन् भनेर आफ्नै लागि लेख्ने हो भने लेख्ने आवश्यकतै छैन।

त्यो अवधिमा मैले थोरै लेखें, त्यो पनि छोटा कविताहरु, लेख्न भनेर बसेर हैन कि भावनालाई आफैंभित्र धान्न नसक्ने भएपछि मात्रै। तर ती छोटा कविताहरुले असाध्यै सन्तुष्टि दिएका छन् मलाई।
-३-
जापान आएपछि पनि ताल त्यस्तै थियो। तर विघ्नै नराम्रा कुराहरुले पनि केहि राम्रो शुरुवात गरिदिँदा रहेछन्। अढाइ वर्ष जतिपछिको ज्ञानेन्द्र शाहको कथित 'रचनात्मक प्रजातन्त्र' मेरो लेखनीका लागि सानोतिनो 'वरदान'जस्तै हुनपुग्यो। नेपालसंग फोन र इण्टरनेट सम्बन्ध विच्छेद भएको बेला थियो। अमेरिका बस्ने एउटा साथीसंग च्याटमा कुरा हुँदा उसले मलाई साझाको बारेमा बताएको थियो। त्यसमा हुने केहि राजनीतिक कुराकानीहरुमा त सहभागी भईयोनै तर साझाभित्रको साहित्यले मलाई झन बढी आकर्षित ग-यो। एक-से-एक कवि, कथाकार र लेखकहरु छन् त्यहाँ। त्यतिबेलै नेपाली यूनिकोड पनि 'हात' प-यो र मेरो जीवनको सानोतिनो 'क्रान्ति'को शुरुवात भयो। मेरो मतलब, मैले 'फेरि' लेख्न थालें। यूनिकोडले 'कागजमा लेख्दै-केर्दै-अर्कोमा सार्दै---' को झञ्झटलाई मेटिदियो र साझाले तुरुन्तै प्रतिकृया दिने 'पाठक' पनि मिलाइदियो। 'गोतामेको गनगन' नाममा 'राजनीतिक हाइकू' लेख्थें शुरुमा। पछि 'कविताको देश' भन्ने धागो शुरु भयो। यसले धेरै नयाँ साथीहरु र प्रशंशकहरु दियो मलाई, मैलेपनि धेरै राम्रा कविहरुको संगत पाएँ। केहि कथाहरु पनि लेखें मैले यो ताका। साझा पसेबाटैको 'चौतारी'को सहभागिताले पनि धेरै लेखायो। गाउँले पाराको छेडखान, गफगाफ आदि खुब पढियो-लेखियो। त्यो बेलाको 'चौतारी'को हरेक अंक एकदमै रमाईलो नाटकजस्तो हुन्थ्यो। गजल लेख्ने कुराको आधारभूत जानकारी पाएको पनि साझाबाटै हो मैले, केहि लेखियो पनि। समयाभावले अचेल साझा 'पस्ने' समय एकदम कम भएको छ, नरमाईलो लाग्छ।

त्यो ताका एउटा ब्लग पनि शुरु गरेको थिएँ मैले, ब्लगस्पटमै हो। तीन-चार पोष्टिङसम्म लेखियो, 'राजनीतिक गाली' मात्रै र थन्कियो त्यो ब्लग। त्यसको पाठक पनि मैमात्र थिएँ होला। त्यसको पासवर्ड याद छैन अहिले।

विस्तारै इण्टरनेटमा 'आफनै' घर 'बसाउने' सूर चल्यो। लाग्यो किन फेरि ब्लगबाटै शुरु नगर्ने?! केहि महिनाको मन्थनपछि गत सालको मे १९मा यो ब्लग शुरु गरें मैले। शुरुका दुई पोष्टिङलाई धेरै परीवर्तन गरीरहें केहि समय। वास्तवमा शुरुवातमा के राख्दा राम्रो हुन्छ अथवा पहिलो पोष्टिङमा के लेख्ने भन्ने कुराले धेरै समय खाँदो रहेछ, बरु पछि-पछिका लामा-लामा पोष्टिङहरु सजिलै तयार हुन्थे।

अब बुझ्नुभयो होला, म मेरो यो ब्लगको 'जन्मदिन'को बारेमा कुरा गर्दैछु, मेरो आफ्नो हैन। आज यो एक वर्ष पूरा भयो। एक वर्षसम्म तन्काउन सकेकोमा म आफैंलाई पनि बधाई दिन्छु, किनभने कतिचोटि 'बेकारको बोझ थपिएछ जिन्दगीलाई----'  भन्ने लागेको थियो। यो ब्लग मेटेर आनन्दले बस्छु र झुक्केर पनि अर्को ब्लग शुरु गर्दिन भन्ने विचार धेरै चोटि आएको थियो। ब्लगमा लेख्न थालेपछि एक किसिमको दायित्वबोधजस्तो अनुभव हुँदो रहेछ। केहि दिन लेख्ने समय नमिलेपछि छटपटी बढ्दै जाँदो रहेछ, आफैंलाई र अरु केहि मानिसलाई पनि धोका दिएजस्तो लाग्दो रहेछ।
-४-
ब्लगले धेरै नयाँ साथीहरु र पाठकहरु त दिएकै छ, 'केहि न केहि त लेखिएकै छ' भन्ने आत्मसन्तुष्टि पनि दिएको छ। पेशाको हिसाबले बिल्कूल फरक बाटोमा हिँडेको हुनाले 'लेख्ने' कुरालाई आफूले चाहेजति समय दिन सकेको छैन, लेख्न चाहेका धेरै कुराहरु मनमै छन्, कति मनमै बिलाईसके। वर्षौंदेखि दशौं कथा र निवन्धहरुको 'प्लट' मनमा बोकेर हिँडिरहेको छु। कुनैदिन 'पूर्णकालीन' लेखक बन्ने धोको छ मनमा।

सामन्यतया नेपालीमै लेख्ने मेरो शुरुदेखिकै विचार हुनाले मेरो सम्पर्क पनि प्राय: नेपाली ब्लगरहरुसंग मात्रै छ। मैले यो ब्लगमा सूत्र राखेका ब्लगहरु (FRIENDS) म नियमित रुपमा पढ्छु। अरु नेपाली ब्लगहरु पनि पढ्छु धेरैनै। एककिसिमले मेरो अध्ययन अहिले बिभिन्न ब्लगहरु (प्रायश: नेपालीका) र कान्तिपुरमा सीमित भएको छ।

यो ब्लग शुरु गरुञ्जेलसम्म पनि मलाई ब्लगस्पटको बारेमा मात्रै जानकारी थियो। अहिले बुझ्दा लाग्छ, वर्डप्रेस धेरै राम्रो र प्रणालीबध्द' छ यो भन्दा। अब वर्डप्रेसमै लेखौंकि भन्ने पनि लाग्दैछ, तर यसमा यति लामो बाटो हिँडिसकियो, एक किसिमको 'आत्मीयता' बनिसकेको छ यो संग भनेर ब्लगस्पट छोड्न सकेको छैन अझै।

मैले माथि पनि भनें म आफ्नोलागि मात्रै नभएर अरुले पनि पढिदिउन् भन्ने चाहनाले लेख्छु। त्यसैले 'अमूर्त मनोवाद' लेख्ने रहर कहिल्यै पलाएन ममा। निश्चित रुपमा आफ्नो मान्यता र विचारमा सम्झौता कहिल्यै गरेको छैन, लेखनमा पनि। तर त्यहि आफ्नो मान्यता र विचारलाई अरुका सामुपनि राख्ने मेरो प्रयास हो। यसो गर्दा साथी पनि बन्छन्, शत्रु पनि बन्छन्। तर यो राम्रो हो, 'तिल' र 'चामल' छुट्टिएकै राम्रो।

अलिक ढिलै भएपनि ब्लगको दुनियाँमा प्रवेश गरेकोमा म खुशी छु, अरु कारणले पनि। ब्लग यो दुनियाँको वैकल्पिक सञ्चार माध्यमको रुपमा छ। ब्यक्तिगत रुपमा मेरो लागि यो आफूलाई अगाडि लाने सबैभन्दा भरपर्दो माध्यम बनेको छ र मैले धेरै सम्भावनाहरु देखिसकेको छु यसमा। मलाई लाग्छ ब्लग र सामाजिक सञ्जाल (Social Networking Sites) को राम्रोसंग संयोजन गर्न सक्ने हो भने धेरैजसो मूलधारका सञ्चारमाध्यमविनानै काम चलाउन सकिन्छ। दोश्रो, भर्खरै बामे सर्दै गरेको नेपाली ब्लग दुनियाँको एउटा सहयात्री बन्न पाउँदाको गर्व झन् अनमोल छ मेरा लागि।

मैले आफ्नो गफ राखें माथि। अब मलाई तौलिने काम तपाईँहरुको।

र अन्त्यमा तपाईँहरु सबैलाई मुटुदेखिको धन्यबाद!

April 02, 2008

One small announcement

Friends, I got my own domain and will be publishing through it for the time being. I may switch back to blogspot too.

I am thinking hard for a new name(theme)of my blog. Actually I have been thinking for it since the day I started this blog!

And I wish I could give some 'quality time' to my blog, on regular basis!