January 22, 2010

पूराना कुरामा केहि थपथाप

यो टाँसो "'माधवी' का कुरा" कै समकालीन टिपोटमा आधारित छ। कुरा अरु दुई किताबको हो, त्यहि बेला पढेको।

कुनै पनि किताब पढिसकेपछि टिपोट लेख्ने बानी होईन मेरो, त्यो बेला भने के भएर लेखिएछ। त्यो वर्षको दशैं-तिहार बिदाको बेला थियो जस्तो छ टिपोटहरुको मिति हेर्दा। त्यो बेला पढेका दुई भिन्दै खाले किताबहरुको बारेको यो टिपोट जस्ताको तस्तै राख्दैछु पहिला।

 

दुई भिन्न विचारका पुस्तकहरु
२०५५/६/२२
बिहान ७:५० बजे
(नैकाप)


हालसालै मात्र दुइटा कथासंग्रहहरु पढ्ने मौका पाइयो, दुइ बिल्कुलै भिन्दै पाराका संग्रहहरु। (यो विदामा मैले अलि धेरैनै पढें जस्तो लाग्दैछ।)

एउटा कथासंग्रह भाऊपन्थीद्वारा लिखित "एउटा आकारको बारेमा" (०४१-४२ सालतिर प्रकाशित) र अर्को घनश्याम ढकालद्वारा लिखित र हालसालै प्रकाशित "आजको महाभारत" थियो। पछिल्लो कथासंग्रह माओवादीद्वारा संचालित जनयुद्धको बारेमा रहेछ, लेखकले पूर्ण रुपमा माओवादी जनयुद्धको समर्थनमा आवाज उठाएका छन्।

भाऊपन्थीका कथाहरुमा यथेष्ट साहित्यिक कलात्मकता छ, सामाजिक विसंगति र गरीबिको राम्रो चित्रण छ, तर उनीसंग यी समस्याहरुको समाधान छैन (उनलाई समाधानको त्यति चासो पनि छैन जस्तो छ।)। घनश्याम ढकालका कथाहरु भने केहिलाई छोडेर साहित्यिक कलात्मकतावीहिन छन, समस्याको स्पष्ट चित्रणभन्दा पनि माओवादी जनयुद्धलाई एउटै "कल्पवृक्ष समाधान" को रुपमा ब्याख्या गर्न तल्लीन छन्। आधीभन्दा बढी पढ्न सकिँन मैले। धेरैजसो नारा र वामपन्थीहरुले दोहोर्याउँदै आएका शब्दजालहरु बढी छन्।
-------------------------------------------------------------------------
अहिले आएर विचार गर्दैछु, साहित्यलाई हेर्ने मेरो दृष्टिकोणमा भने कुनै परीवर्तन भएको रहेनछ त्यो बेलादेखि अहिलेसम्म। साहित्य साहित्य हुन त्यसमा यथेष्ट कलात्मकता हुनैपर्छ भन्ने मेरो मान्यता जस्ताको तस्तै (सके अझ जब्बर भईसकेको) छ। जे नाम दिएर जसका लागि लेखेको भनेपनि नारा वा ठाडो राजनीतिक 'प्रेष्कृप्सन' साहित्य हुनसक्दैन। नेपालमा 'प्रगतिवाद' को नाम दिएर लेखिएका धेरैजसो रचनाहरु मलाई यस्तै नारा वा दलीय दस्तावेजजस्ता लाग्छन्, तिनको आयु क्षणिक हुन्छ। राजनैतिक सन्देश दिन चाहनेले त्यो सन्देशलाई यथेष्ट कलात्मकताले सिंगार्न सकेन भने त्यो कुनै राजनैतिक दस्तावेजभन्दा फरक हुन सक्दैन। यथार्थमा जति कलात्मक/साहित्यिक ढंगले राजनैतिक सन्देश पस्किन सक्यो, प्रस्तुति त्यत्तिकै बलियो हुन्छ।

माथि उल्लेख गरिएको घनश्याम पौडेलढकालजीको जस्तै अर्को एउटा कृति पढेको थिएँ मैले डेढ वर्ष पहिला। माओवादीका केन्द्रीय नेता सीपी गजुरेल जापान आएका थिए र तिनको स्वागतार्थ गरिएको एउटा कार्यक्रममा पुगेको थिएँ म (कार्यक्रम बारेको टाँसो पढ्न यहाँ क्लिक गर्नुहोस्)। गजुरेलजीले लेखेको "प्रतिरोध" नामक कथा-संग्रह किन्नेमा परियो। गजुरेलजीको बक्तव्य, उनीसंगको कुराकानी आदिबाट प्रभावितै भएको थिएँ म। तर कथा-संग्रहले भने मलाई घोर निराश बनायो। पौडेलढकालजीको उपन्यासमा जस्तै माओवादी जनयुद्धलाई महिमामण्डित गरिएको 'प्रतिरोध' का कथाहरु कतिपयमा त पृष्ठका पृष्ठ माओवादी दस्तावेज घुसेजस्ता लाग्छन्। उनले कथा लेख्ने दु:ख नगरेकै भए हुन्थ्यो जस्तो लाग्यो मलाई। उनका अरु कृतिहरु पढ्ने मौका पाएको छैन मैले, यो एउटाले दिएको प्रभाव भने यहि हो।

साहित्यले, विशेष गरी यथार्थवादी साहित्यले समाजको बिश्लेषण गर्ने हो कि सामाजिक समस्याहरुको समाधान दिने हो? अथवा दुबै काम गर्ने हो?

साहित्य समाजको एक भाग हो, तर यो सम्पूर्ण समाज भने होईन। साहित्यले समाजको बिश्लेषण गर्नसक्छ, सामजिक रोगहरु सबैले छर्लङ्ग देख्न सक्ने बनाउन सक्छ तर यसले समग्र समाधान दिन सक्दैन। सामाजिक र राष्ट्रिय समस्याको समाधान बहुपक्षीय हुन्छ। साहित्यले कुनै दल वा वादकै सीमामा आफूलाई कैदी बनाएर दिएको समाधान त झनै काम नलाग्ने हुन्छ। यसरी कैदी बनेको साहित्यले दिने बिश्लेषण शुरुदेखिनै दूषित हुन्छ।

मेरो विचारमा साहित्य र साहित्यकारको सबैभन्दा महत्वपूर्ण काम इमान्दारीपूर्बक समाजको बिश्लेषण गर्ने हो र यो बिश्लेषणमा कलापक्ष अलिकति पनि कमजोर हुनुहुँदैन। साहित्यको मूल दायित्व यहिँ समाप्त हुन्छ।  यसपछि समाधानको दिशातिर औंल्याउन सम्म सक्छ साहित्यले, त्यो पनि साहित्यकारको लेखन शैलीमा भर पर्ने कुरो हो।

"एउटा आकारको बारेमा" संग्रहका कतिपय कथाहरुमा बर्णित घटनाक्रमहरु अहिले पनि झल्झली छन् मेरो मनमा।  टिपोटमा मैले भाऊपन्थीजीलाई समस्याहरुको "----समाधानको त्यति चासो पनि छैन जस्तो छ!---" भनेर लेखेको रहेछु। मेरो त्यो सोच भने गल्ती लाग्छ अहिले मलाई। समाधान नचाहने मान्छेले समस्याहरुको त्यति जीवन्त चित्रण गर्नै सक्दैन। समस्याहरुले आफूलाई रुवाएपछि, आफ्नो मन लाई तरंगित बनाएपछि साहित्यकारले ती समस्याहरुको चित्रण गर्न र बिश्लेषण गर्न थाल्छ। उसको लेखाईमा समस्याहरुको समाधानको तिब्र लालसा भएमात्र उसको बिश्लेषण सार्थक हुन्छ। भाऊपन्थीजीका कथाहरुको महत्व यसैकारणले छ।

त्यो संग्रहबाहेक 'मधुपर्क', 'गरिमा' आदिमा पनि भाऊपन्थीजीका केहि कथाहरु पढेको छु। त्यो पनि एक दशक पहिलाकै कुरा भईसक्यो। ढुक्कले नेपाली पुस्तक-पत्रिकाहरु पढ्न नपाएको धेरै भयो। अब त कहाली लाग्न थालेको छ मलाई।

पूरानो टिपोटको प्रसंगमा यति कुराहरु भए। हात पर्दा तिनवटै किताबहरु पढ्न र आफैंले बिश्लेषण गर्न  नभुल्नुहोला। कथा लेखनमा रुचि छ भने भाऊपन्थीजीका कथाहरु लेखन शैली सिक्ने राम्रा सन्दर्भ स्रोत समेत बन्न सक्छन् भन्ने लाग्छ मलाई।

9 comments:

  1. निकै मनासिब कुरो । मलाई पनि प्रगतिशील र प्रगतिवादको नाममा कोरा लेखन र गुटको नाराबाजीले निकै तनावमा पार्छ बेलाबेला ।
    पुस्तकाकार र फुटकर लेखनबाट त आफ्नो पाठकीय अध्ययन 'यातनामय' हुन्छ नै, अझ खास गरी त साहित्य सन्ध्या जस्ता मासिक साहित्य भेलामा वाचन हुने निरस र गर्जनपूर्ण 'साहित्य' ले ज्वरो नै फुटाउँछ, गोटागोटीबाहेक ।
    गुटगत लाहाछाप लगाएर साहित्य लेख्ने र पत्रकारिता गर्नेहरूले कलाको पाटोलाई समाउने कसरत गर्ने 'झन्झट' गरिदिने हो भने साहित्यिक खेमामा निकै कमी आउने थियो होला । तर नारालाई पनि साहित्यिक जामा लगाएर 'जनप्रतिनिधित्व' गर्नेहरू बढेका छन्-छन् ।
    हामी बुझ्नेहरूले भने यो पङ्क्तिबाट हटेर कला प्लस विचारलाई अघि बढाऔँ ।

    ReplyDelete
  2. निकै मननीय बहस उठाउनुभयो, बसंतजी | राम्रै साहित्यकार पनि नजानी नजानी कहिलेकाहीं नाराबादी लेखनमा फँसेका छन् भने राजनीतिको नशामा चुर्लुम्म डुबेर पार्टीको लाइन प्रचार गर्न यो वा उ भनेर लेखेको साहित्य बेइमानी मात्रै हो, साहित्यको नाममा | लेख्दैमा मात्र साहित्य हुने भए अदालतका चांगका चांग फैसलाहरु पनि बिशाल उपन्यास मानिन्थे होलान नि, होइन र ?

    (लेखमा थर लेख्दा एकरुपता नभएको भएको कि?)

    ReplyDelete
  3. वास्तविक कुरो बसन्त जी ! हुन त हामी जस्ता ब्लगर हरुले अरुको कुरा गर्दै हिड्नु पनि नराम्रो लाग्ला कसैलाई तर यो व्यक्ति भन्दा अक्षरीय भावको कुरा भएको हुनाले खासै फरक नपर्ने हो ।
    साहित्यमा पक्ष-विपक्ष लाई बिषय केन्द्रित गरेर लेखेको भन्दा स्वच्छ, सामाजिक चिन्तन र कलात्मक सिर्जनाले भरिएको साहित्यले नै प्राथमिकता पाउछ जस्तो मलाई पनि लाग्दछ।

    कुनै पनि कुरा पढेपछि कलम समात्ने तपाइको शैली मलाई अति मन पर्यो ।

    ReplyDelete
  4. बसन्त जी ! यो पोस्ट बाट तपाइँ एउटा समृद्ध समालोचक हुनु हुदो रहेछ भन्ने थाह भो !
    त्यसमा धाइबा जी ले अझ थप कुरा गर्नु भएको रहेछ - तर साहित्य कलात्मक र प्रगतिशील दुवै पर्छ , नाराबाद मा लेखिने सबै साहित्य होइनन भन्न मिल्दैन तर साहित्य कुनै एउटै वादमा सिमित हुनु हुदैन जस्तो लाग्छ ! हुन् त साहित्य र राजनैतिक एक अर्का मा सम्बन्धित कुरा हुन् !
    तपाइले भाउपन्थीको र घनश्याम ढकाल जी को कुरा उठाउनु भएको रहेछ - मैले उक्त पुस्तकहरु पढ्ने मौका पाएको छुइन -अब - सायद भेटे भने पढ्ने नै छु !

    ReplyDelete
  5. यसपल्ट यत्ति भन्छु कि माधवीका कुरा र यो टाँसोले निक्कै प्रभाव पार्यो मलाई । पढौं त कम्तिमा यसरी पढौं भन्ने भावना जगायो ।

    ReplyDelete
  6. एकदमै राम्रो कुरो गर्नुभो सर । साहित्यलाई राजनिति गर्ने अथवा कुनै निहित स्वार्थ पुर्ति गर्ने थलो बनाईनु हुँदैन । 'कला'विनाको साहित्य फगत सेता पानामा वगेका अक्षरमात्र हुन् जसको न कुनै अर्थ हुन्छ न केही भाव....

    ReplyDelete
  7. वसन्त सरको कुरामा सम्मति। कोरा राजनीतिक नारा वा कलात्मकताका नाममा फगत शाब्दिक आडम्बर दुवै पठनीय साहित्य हुन सक्दैनन्, मेरो अहिलेसम्मको बुझाइ यही नै हो।

    ReplyDelete
  8. Here is wishing you a very Happy republic day!

    ReplyDelete
  9. सुझबुझपूर्ण प्रतिकृयाका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    (टाँसोमा थर लेख्ने क्रममा एकरुपता नभएको रहेछ। औंल्याईदिनुभएकोमा चैतन्यजीलाई धन्यबाद!)

    ReplyDelete