२००८, अगष्ट ११मा अद्यावधिक:
भूपि शेरचनको एउटा प्रसिद्ध कविता छ, "यो हल्लैहल्लाको देश हो" भन्ने। त्यो कविताको शुरुका केहि हरफहरु यी हुन्,
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको संगीन थमाइन्छ------
पूरै कविता यहाँ गएर पढ्न सक्नुहुन्छ।
साहित्यको नेतृत्व कसले गर्ने?
मेरो लागि प्रश्नको एउटै उत्तर छ, सटीक र सोझो, "साहित्यकारले!"
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भन्ने संस्थासंग सम्बन्धित थिएँ म दुइ-अढाइ वर्ष। त्यसभन्दा पहिले यो संस्थाको बारेमा बिल्कूलै जानकारी थिएन मलाई। साझाको कारणबाट चिनिएका, जापानमै बसिरहेका केहि साथीहरुको अनूरोध अनुसार म यो संस्थाको जापान शाखाको उपाध्यक्षको रुपमा रहें, एउटा कार्यकारी समितिको पूरै कार्यकालभरि र त्यसपछिको वर्तमान कार्यकारि समितिमा केहि महिना। संस्थाका कार्यक्रमहरु टोकियो केन्द्रित हुनाले प्रत्यक्ष सहभागिता जनाउने मौका मिलेन कुनै पनि कार्यक्रमहरुमा। तैपनि विद्युतिय माध्यमहरुबाट भएपनि केहि कुराकानी र छलफलहरुमा भने भाग नलिईएको हैन र साहित्यिक जमघटहरुका लागि रचनाहरु पनि नपठाइएको भने हैन।
अनेसासको अहिलेको केन्द्रीय अध्यक्षको रुपमा बिल्कूलै गैर-साहित्यिक ब्यक्ति चुनिएपछि मलाई त्यसभित्र बसिरहनु नैतिक रुपमा ठिक लागेन र राजीनामा दिएँ।
कुरो अघि बढाउनु भन्दा पहिले एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने म आफूलाई 'घघडान' साहित्यकार त ठान्दिन तर कतिपय यस्ता संस्थाहरुका 'लाउके' भएर विभिन्न पदहरुमा टाँसिइरहेका मान्छेहरुको दाँजोमा भने 'गतिलै' साहित्यिक क्षमता भएको ठान्दछु। यसलाई कसैले मेरो अहं ठान्छ भने मेरो भन्नु केहि छैन।
अनेसासको नयाँ केन्द्रीय 'नेता' देखेपछि अनेसास बाहिरका मान्छेहरु पनि 'छक्क' र 'पक्क' परेका हुन्!। यो 'एनआरएन' हो कि 'अनेसास' हो भन्ने छुट्याउन नसकिने भएपछि मान्छेहरु छक्क पर्नु नौलो कुरो भएन पनि।
यो प्रकरणका कारण अनेसास भित्र केहि विवाद उठेको पक्कै हो। अनेसासभित्रको ती विवाद र असन्तुष्टिलाई भने कसरी थामथुम पारिएको छ, त्यहाँका हस्तीहरुनै जानुन्। तर उम्मेदवारीमै समाधान गरिईनुपर्ने यो प्रकरण यहाँसम्म आईपुगेको देख्दा भने त्यहाँका हस्तीहरुप्रति पनि टीठ लागेर आउँछ!
अब मूल कुरोतिर। कुनैपनि विषयगत संस्थाको नेतृत्व संबन्धित विषयकै हुनुपर्छ, झन नेतृत्व भन्नेबित्तिकै त्यो क्षेत्रमा अलिक स्थापित पहिचान भएकै ब्यक्ति हुनैपर्छ। डाक्टरहरुको संस्थाको नेतृत्वमा डाक्टरहरुनै हुन्छन्, ईञ्जिनीयरहरुको संस्थामा ईञ्जिनीयरहरुनै हुन्छन्, कर्मचारीहरुले आफ्नो नेता कर्मचारीनै छान्छन्----। हो, साहित्यका हकमा को साहित्यकार हो र को होइन भन्ने छुट्याउन खल्तीबाट झिकेर देखाउन सकिने एक पाने प्रमाणपत्र अथवा 'जागिरे' परिचयपत्र हुँदैन, तर साहित्यकारको प्रमाणपत्र भनेकै उसका रचनाहरु र उसको साहित्यिक ब्यक्तित्व होइन र? त्यसकारण को कति साहित्यिक हो भनेर तौलनु कुनै गाह्रो काम होईन। साहित्य रचनाको नाममा जिन्दगीमा एउटा मुक्तक समेत नलेखेपनि आफ्नो बायो-डाटामा 'गोरखापत्र र कान्तिपुरमा धेरै रचनाहरु प्रकाशित' भनेर लेखेकै भरमा साहित्यिक ब्यक्तित्वमा दरिईन्छ भन्यो भने अन्त खिसीट्युरीको पात्र बनिन्छ, तर अनेसासमा यसलाई सामान्य रुपमा लिईँदो रहेछ। के अनेसासको आम सोचाई यहि हो?
(केहि अनलाईन मिडियाहरुमा प्रकाशित लेखहरु र कुराकानीका आधारमा) मैले बुझेसम्म असन्तुष्टिलाई थामथुम पार्न अनेसासको 'माथि'बाट अनौठो तर्क दिइने गरिएको छ। 'नैतिक रुपमा त्यति ठिक त हैन तर वैध रुपमा छानिएको नेतृत्व भएकोले ठिकै छ।' भन्ने तर्क। यसको अर्थ, अनेसासभित्र 'नैतिक' आधारमा काम हुँदैन र कथित 'वैधानिकता'को कोरा तर्कलाईनै सर्वोपरी ठानिन्छ। नेपालको प्रज्ञा-प्रतिष्ठानमा कमल थापालाइ उप-कूलपति किन बनाईँदैन (कमल थापाकै नाम जोडेको चित्त बुझ्दैन भने वामदेव अथवा अर्जुन नरसिं वा अरु कसैको नाम राखे हुन्छ)? कानूनी रुपमा त त्यहाँ पनि समस्या नहोला। त्यसकारण, यो 'वैधानिकता'को तर्कमा कुनै दम छैन र यस्तो काइते तर्कले अनेसासको खोलबाट बाहिर चियाएको लाज छोपिनु त कता हो कता झन ह्वाङ्गै हुन्छ।
केहि साथीहरु 'शायद ब्यबश्थापकीय कामको जिम्मा दिन राखिएको होला' भन्छन्। तर कथित 'ब्यबस्थापकीय' क्षमता पनि भएका साहित्यकारहरु नहुने हैनन्। अनेसास चलाउन चाहिने 'ब्यबस्थापकीय' क्षमता अनेसासका कुनै साहित्यिक मित्रमा पनि छैन भनेर म पत्याउँदिन। दोश्रो कुरो, गैर-साहित्यिक ब्यक्ति कार्यसमितिका लागि कुनै 'विशेष' कारणवश 'अपरिहार्य' भए अध्यक्ष बाहेकका पदमा ल्याए भैहाल्थ्यो। अर्कोतिर, सम्बन्धित ब्यक्तिको पनि रोजाई त्यहि हुनुपर्थ्यो, त्यसैमा विनम्रता झल्किने थियो। अनेसासभित्र धेरै स्थापित साहित्यकारहरु छन्, अहिलेका अध्यक्षले तिनको नेतृत्व गर्न खोज्नुमा चरम अहं र पदलिप्सा बाहेक केहि पनि देखिन्न।
जापानमै रहेका केहि 'साहित्यकार'हरु भने प्रकाशकलाई पनि अध्यक्ष बनाउन सकिन्छ भन्छन्। पहिलो कुरो त, गैर-साहित्यिक 'विशुद्द ब्यापारी' प्रकाशक साहित्यकारहरुको संस्थाको अध्यक्ष भएको कतै पनि सुनिएको छैन। दोश्रो कुरो, प्रकाशक अध्यक्ष हुन पाउँछ भने वितरक पनि हुन पाउने भयो, किताब पसले पनि हुन पाउने भयो। अझ 'लोकतान्त्रिक' बनाएर कुनै आम पाठकलाईनै अध्यक्ष बनाए पनि भयो!
****************************************************
यो ब्लगका पाठक मित्रहरु, शिर्षकको प्रश्नको जवाफ दिने पालो अब तपाईँको।
जवाफ त आफैंले लेख्नु भएकै छ नि वसन्त जी , बलियो तर्क सहित सशक्त ( झन बलियो ) प्रहार पनि गर्नुभएको छ , साँच्चै काईते चाला हो यो । साहित्यमा अलिकति नाम सुनिएको अथवा गुमनामनै भएपनि खोज्दा साहित्यमा थोरै भएपनि योगदान दिएको ब्याक्ति भए सुन्दा पनि अलि मज्जा हुने भन्या । हैन तिन्को रंगरुप , जिउडाल त हेरेनन संस्थाका मित्रहरुले ?
ReplyDeleteसुनेर बडो दुख लाग्यो है ।
Basanta Ji,
ReplyDeleteI'm being naive here again but I don't get it. Why would someone be interested in leading such an organization if he/she isn't related to it or has no interest in the activities?
Are there any advantage of being president of that organization?
Basant ji,
ReplyDeleteIt reflects the typical Nepalese 'tradition' of 'appointing/selecting' 'officials/representatives' for any 'organization'. Isn't it? If you 'neglect' few exceptions, this is the general trend inside/outside Nepal. The difinition of a 'deserving' candidate is 'sadly' different in 'our' context! That's what I feel.
खै! अहिले समावेसी भन्ने तत्व फैल्या' छ केरे!
ReplyDeleteगैर-साहित्यकर्मीको तर्फबाट प्रतिनिधित्व गरा' नि हुन सक्छ!
:) :)
--Gaalab
दिपक जी ले भन्नु भएजस्तै यो प्रश्नको जबाफ त प्रश्न भीत्रै छ । तर के गर्ने हामिकहा घुम्ने मेच माथि अन्धो मान्छे मात्रै टिक्छन् ।
ReplyDeleteप्रतिकृयाका लागि सबैलाई धन्यबाद! जवाफ दिन ढिलो भएकोमा क्षमाप्रार्थी छु।
ReplyDeleteभूपि शेरचनको एउटा प्रसिद्ध कविता छ, "यो हल्लैहल्लाको देश हो" भन्ने। त्यो कविताको शुरुका केहि हरफहरु यी हुन्,
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगित प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको संगीन थमाइन्छ------
भूपिको यी हरफहरु चरितार्थ भएका छन् यो प्रकरणमा।(यी हरफहरुलाई मूल टाँसोमै पनि राख्दिनुपर्छ जस्तो छ।)
अन्त्यमा प्रज्वलजीको जिज्ञासामा केहि कुरा। साहित्यिक योगदानका नाममा 'स'पनि नभएका ब्यक्ति किन एउटा साहित्यिक संस्थाको नेतृत्व गर्न तम्सिए त्यो अचम्मको कुरो त छँदैछ, 'सहर्ष स्विकार' गर्ने अनेसासका जिम्मेवारहरु झन अचम्मका निक्लिए। नेपालमा गिरिजा अथवा माकुने प्रज्ञा-प्रतिष्ठानको उप-कूलपति हुन खोज्दैनन् (भलै आफुले चाहेको ब्यक्ति ल्याउन खोज्लान् त्यो बेग्लै कुरो हो)। वर्तमान प्रकरणमा, 'यी मू--- साहित्यकार भनेका के हुन् र? यीनलाई तह लगाउन जस्ले पनि सक्छ।' भन्ने सोचाइ स्पष्ट देखिन्छ। अनेसासभित्रका सबै साथीहरु पनि आफूलाई 'मू--' बनाउन तयार भए। यो घटनाले नेपाली भाषा-साहित्यको घोर अपमान गरेको छ। र यसभित्र अरु धेरै खेल भएका पनि हुनसक्छन्, त्यो थाहा पाउनु मेरो वशको कुरो भएन।
भोलि कुनै गम्भिर साहित्यिक विषयमा चार शब्द बोल्नुपर्दा तिनको दाँतबाट कति पसिना निक्लने छ, त्यो हेर्न म आतुर छ।
साहित्य र साहित्यिक संस्थाप्रतिको तपाईँको चोखो दृष्टिकोण जान्न पाउँदा असाध्यै तृप्ति मिल्यो । तिनमा आफ्नै विचारको समरुप पाएकाले पनि म बढी छोइएको हुँ सायद । साहित्यको नेतृत्व साहित्यमै खाइखेली गरेर पाकेका साहित्यकारहरूले नै गर्नुपर्छ भन्नेमा अवश्य पनि कुनै दुबिधा हुन सक्दैन । तपाईँको "आफूलाई 'घघडान' साहित्यकार त ठान्दिनँ तर कतिपय यस्ता संस्थाहरुका 'लाउके' भएर विभिन्न पदहरुमा टाँसिइरहेका मान्छेहरुको दाँजोमा भने 'गतिलै' साहित्यिक क्षमता भएको ठान्दछु।" गर्वबोध पनि मनासिब लाग्यो । समाजका गन्यमान्य र विशुद्ध व्यक्तित्व भए पनि साहित्यइतरका साथै पुस्तकप्रकाशक, वितरक एवम् समाजसेवीहरू साहित्यिक संस्थाको टाउकोमा पुग्नु विडम्बना मात्र होइन, हाँसोउठ्दो जात्रा नै हुन्छ । साहित्यका बारेमा तिनका गिदीमा गुदी खोज्ने दु:ख दु:खैमात्र हुन्छ ।
ReplyDeleteयस सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यसमितिको हालको नेतृत्वलाई कुनै पनि हालतमा उपयुक्त भन्न सकिँदैन । त्यसलाई साहित्यमा तोतेबोली बोल्दै गरेका हामीजस्ता कलिलाहरूसम्मले स्वीकार्न सक्दैनौँ । झन् अझै उमेरसँगै पचासौँ भोटो फटाइसकेका कलमकर्मीहरूले त्यस्तो अनैतिक पदीय चेहरालाई अनुमोदन गर्ने कुरै छैन ।
समावेशी व्यवस्थाका नाममा सडकमा मकै भुटिरहेका बूढा बाजेलाई टपक्क टिपेर प्रधानमन्त्री-मन्त्रीको कुर्सी बसाल्नुमा कुनै तुक नभएजस्तै व्यवस्थापकीय खुबी भएको नाममा गैरसाहित्यिक 'ठेकेदार'हरूलाई साहित्यिक संस्थाको नेता बनाउनु शत: प्रतिशत हानिकारक हुन्छ । साहित्यको गतिधारा, साहित्यिकहरूको चुनौती र आवश्यक्ताका साथै साहित्यिक बजारको अवस्था एवम् सम्भावनाबारे रत्तिभर अनुभव-अध्ययन नभएको व्यक्तिले व्यवस्थापकीय तहबाट कागजी पाप्रोमा निर्णयसूचक हस्ताक्षर कोरलेर हुनेवाला केही छैन ।
साहित्यिकहरूमा संस्थाको नेतृत्व र व्यवस्थापन गर्ने क्षमता हुन्न भन्नु पनि सक्रियताको नाममा लुरे लेखकहरूले फलाक्ने 'रिक्तस्थान पूरयेत' बोली मात्रै हो । (केहीलाई छाडेर भन्ने हो भने) हाम्रा साहित्यिकहरू लेख्नकै लागि मात्र लेखिरहेका छैनन् । जिम्मेवारि पाएमा र परेमा केही गरेर देखाउने सामर्थ्य पनि राख्छन् ।
धन्यबाद धाइबाजी!क्या काइदाले आफ्नो प्रतिकृया रखिदिनुभयो!
ReplyDeleteअनेसासको नाममा कतै 'साहित्य' राखिएको भएपनि यसभित्र साहित्यको इज्जत कत्ति पनि हुँदैन भन्ने कुरा छर्लङ्ग पारेको छ यो घटनाले।
बाँकी रह्यो, साहित्यकारहरु कुशल ब्यबश्थापक हुन्नन् भन्ने। साहित्य सृजना एउटा कलात्मक क्षमता हो भने ब्यबश्थापन अर्को खाले क्षमता हो। एकले अर्कोलाई निषेधै गर्छ भन्ने सोचाइ पक्कै 'काइते' हो।
र अन्तमा, अन्तका 'लाउके'हरुले जेसुकै गरुन्, हामी भने भाषा-साहित्य साधनामा क्षमताले भ्याएसम्म लागीरहौं र भाषा-साहित्यको सम्मान गरिरहौं।