Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

April 08, 2016

गलबन्दी

कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

भीरपाखामा खनीखोस्री बाँचिरहेका थिए गाऊँलेहरु। दु:खमा जन्मनु, दु:ख गर्नु र दु:खमै मर्नु- यहि नियति थियो गाऊँलेको।

कुनै-कुनै छाप्राले आफ्ना छोराछोरीहरुलाई शहरमा काम गर्न पठाएका थिए। तिनले अलि-अलि पैसा पठाऊँथे यदाकदा। अरुबेला हत्तपत्त नदेखिने सरकार त्यहि बेला देखिन्थ्यो-शहरबाट आएको रगत-पसिना लतपतिएको पैसामा कर काटेर लिन्थ्यो र हराऊँथ्यो।

हुनपनि कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

आधा गाऊँलाई एउटा विशाल भूकम्पले भूईँमा मिलाईदियो। त्यसपछि दिन तीन रात घनघोर झरी बर्षियो। गाऊँमा बाढी पस्यो। भूकम्पबाट बचेका धेरैजसो छाप्रालाई बाढीले बगाएर लग्यो, बचेका एक-दुई छाप्रामा पानी जमेर बस्न नसकिने भयो। गाऊँलेहरुले भोकभोकै रुखका हाँगामा दिनरात बिताए। झरी थामिएपछि तल झरेका गाऊँलेले एक-दुई रित्ता छाप्राबाहेक केहि देखेनन्। उनीहरुको आफ्नो शरीर बाहेक आफ्नो भन्नु जे थियो, सबै बाढीले लगेछ।

त्यसपछि हुरी चल्यो। भूकम्प र झरी-बाढीबाट बचे-खुचेको गाऊँलाई पनि हुरीले उडायो।

गाऊँलेका झुत्रा लुगा झरी र हुरीले गलाएर झन् झुत्रा भएछन्। तिनै झुत्रा लुगाले स-साना बच्चाहरुलाई छोपछाप पारेर न्यानो दिने कोशिश गरियो। 

यसरी गाऊँका मान्छे अब पूरै नांगै भए, अाधी नांगै त उनीहरु सधैं थिए नै। र उनीहरु नजिकैको गुफातिर बसाईँ सरे।

गाऊँलेलाई त थाहा भएन तर त्यो गाऊँको चर्चा संसारभरि भयो रे!

'यो गाऊँले गर्दा देशकै बेईज्जत भयो!' भनेर सरकारलाई पीर पर्यो रे!

सरकारले जनतालाई लुगा बाँड्ने योजना ल्यायो रे !

सरकारले गाऊँको नाममा विदेशी गुहार्यो रे! 

विदेशीले गाऊँले सबैलाई एक-एक जोर पुग्नेगरी लुगा सहायता दिए रे!

त्यहि सहायताबाट 'जोगाएर' सरकारले सबैलाई एक-एकवटा गलबन्दी बाँड्दै छ रे!

(महाभूकम्पपछिको एक वर्षलाई फर्किएर हेर्दा मेरो मनमा उब्जेको चित्र यहि हो।)

September 14, 2009

"महान नेता"- एक लघुकथा

[लेख्न मन त समसामयिक घटनाहरुका बारेमा थियो तर यसपटक पनि 'इतिहासको ब्याज' मै अड्काउनुपर्ने भयो ब्लगलाई।
आज एउटा लघुकथा। २०५६-५७ सालतिर कान्तिपुरको 'साप्ताहिक'मा छापिएको थियो यो। पत्रिकाको टुक्रो पनि साथमा छैन, खेस्रा पनि छैन; स्मृतिको भर लिँदैछु। अलिकति समसामयिक बनाउने कोशिश पनि गरेको छु। कथाको चुरो भने उहि हो।
नेताहरु देखेर त्यतिखेरै पनि दिक्क लाग्थ्यो, अहिले त झन् ठूल्ठूला छलाङ्ग मारिसकेका छन् उनीहरुले; 'नयाँ जोगी' पनि धेरै निस्किसकेका छन्। ]
महान नेता
एक दिन 'क' शहरमा विशाल आमसभा थियो। देशका 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो र भन्नुभयो, "काग सेतो हुन्छ भन्ने अकाट्य तथ्य घामजत्तिकै छर्लङ्ग छ। यसलाई हाम्रा विपक्षीहरुले अस्विकार गर्न खोज्दै छन् तर म जोड् दिएर के दोहो-याउन चाहन्छु भने काग सेतो थियो, सेतो हुन्छ र सेतोनै रहनेछ र यो नै हाम्रो पार्टीको सिद्धान्त हो।"

भोलिपल्ट 'ख' शहरमा पनि उस्तै आमसभा भयो र 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले फेरि लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो। उहाँले छाती ठोक्दै भन्नुभयो, "बकुल्ला कालो हुन्छ, यो स्वयँसिद्ध तथ्य हो। यसलाई कसैले छोप्ने षडयन्त्र गर्छ भने हामी सशक्त प्रतिकार गर्नेछौं। बकुल्ला कालो थियो, कालो हुन्छ र कालोनै रहनेछ। यो नै हाम्रो महान पार्टीको सिद्धान्त हो।"

नेताज्यूले बोलेका कुरालाई लिएर गाऊँ-शहर, देश-विदेशमा धेरै हल्लाखल्ला भयो। हल्लाखल्लालाई साम्य पार्न दुई दिनपछि 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले एउटा पत्रकार सम्मेलन गर्नुभयो र भन्नुभयो; "ती कुराहरु मैले बोलेकै होईनन्। मलाई र हाम्रो पार्टीलाई बद्नाम गराउन विपक्षी र मिडियाले झूटो कुरा फैलाएर षडयन्त्र गरेका हुन्। हाम्रो पार्टीको सिद्धान्त अनुसार न काग सेतो हुन्छ, न त बकुल्लानै कालो हुन्छ; वास्तवमा ती दुबै राता हुन्छन्। यहिनै हाम्रो पार्टीको वास्तविक सिद्धान्त हो।"


September 08, 2009

कथा- "आगो लागेको बेलामा"

[यो कथा मैले केहि समय पहिला लेखेका तीन कथाहरुमध्येको अन्तिम हो। कथाको विषयवस्तु मेरो मनमा तीन-चार वर्ष पहिलेबाटै डुलिरहेको थियो। कथा लेख्ने समय जुर्दै-जुरेन। अहिले समय जुर्दा पनि विषयवस्तुलाई पेश गर्ने शैलीको निर्णय गर्न ज्यादै गाह्रो भयो। अहिलेलाई यो रुपमा यहाँहरु समक्ष प्रस्तुत छ। मैले यसलाई लेखनकै क्रममा रहेको मानेको छु र केहि दिनका बीचमा यसमा केहि साना वा ठूलानै पनि परीबर्तन हुन सक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु।
नेपालको राजनीतिको बारेमा नलेखेको धेरै भयो। ब्लग अचेल साहित्यको बाटोमा एकोहोरिएको छ। यो कथा भने साहित्यिक रचना हुँदा-हुँदै पनि नेपालको राजनीतिको बारेको मेरो बुझाई र प्रतिकृया पनि हो।
यहाँहरुका सुझावको अपेक्षा छ।]

आगो लागेको बेलामा

“हरिरह सर हुनुहुन्न?” हातमा हेल्मेट झुण्डाएको २५-३० को एउटा मान्छे कोठामा पसेर सोध्यो।
“हुनुहुन्न!” कोठामा भएका 'हरिहर सर’बाहेकका कर्मचारीहरुमध्ये एउटाले टाउको नउठाई जवाफ दियो।
“आज आउनुहुन्छ होला नि है! कतिखेर---?”
“खोई, हामीलाई थाहा भएन।" अर्को एउटा कर्मचारी बोल्यो, अत्यन्त अनिच्छापूर्वक, बोल्दा पैसा तिर्नुपर्ला जस्तो गरेर।
हेल्मेटवाला बाहिर निक्लियो। त्यहाँको वातावरणको मौनतामा अलिअलि तनाव देखिन्थ्यो। शायद एक घण्टा अगाडिबाट यस्तै वार्तालाप धेरै पटक दोहोरिईसकेको थियो।

बाहिर ढोकाको छेऊमै एउटा त्यस्तै उमेरको अर्को मान्छे पनि थियो, हेर्दा हेल्मेटवालाभन्दा अलिक दुब्लो-पातलो र उदास देखिन्थ्यो। हेल्मेटवाला पनि त्यतै अल्मलियो।
“तपाईँ हिजो पनि आउनुभ'थ्यो होईन?” हेल्मेटवालाले सोध्यो।
“हो। चार दिन भयो धाएको, हाकिम आउने होईन।“
“यस्तै हुन् सा--लाहरु! चोरहरु! म पनि अस्तिदेखि कुरिरख्या' छु। यस्तो बेलामा पनि बिदामा बस्ने हो? कि अरुलाई अधिकार दिनुपर्छ---!“
“आज त आऊँछ कि दिऊँसोसम्म। नत्र त चेक साट्नै भ्याईँदैन। पर्सि घटस्थापना आईसक्यो।“
“त्यै त!----आजचाहिँ दिनभरि कुर्नैपर्ला। ----- । बरु एउटा काम भ्याएर एक छिनपछि आउनुपर्ला।“ हेल्मेटवाला निक्लियो। अर्को मान्छे त्यतै बसिरह्यो।

"अझै आएको छैन है----!" एकघण्टा जति पछि फर्केर आएपछि हेल्मेटवालाले सोध्यो।
"छैन।“ दिक्क मान्दै अर्को ब्यक्ति बोल्यो, ऊ कतै नगई यतै अल्मलिईरहेको हुनुपर्छ।
"एउटा 'साइन’को कारणले यति धेरै मान्छेले दु:ख पाउनुपर्नी---! साला चोर हाकिम---!”
--------------------
“ल हिँड्नुस् चिया खान जाऊँ।“ हेल्मेट वालाले भन्यो।
“हो, जाऊँ। बिहान हतारमा आईयो, राम्रोसंग खाना पनि खा’ छैन।" दुईजना कार्यालय पछाडिको क्यान्टीनमा पसे।

“मेरो नाम शेखर है, तपाईँको--?” चिया-तरकारी माग गरेर बसेपछि हेल्मेटवालाले औपचारिक परिचयको लागि हात बढायो।
“हजुर म---राजेन्द्र।“ अर्को ब्यक्ति हात मिलाउन अलि हच्किएजस्तो लाग्थ्यो।
“कहाँबाट आउनुभएको नि?!”
“सुर्खेत। ---- होष्टेलमा भात पकाऊँछु।“
“घरै सुर्खेत हो कि राजेन्द्रजीको?
“होईन सर, घर त रुकुम हो। सरको घर कता हो नि?”
"मेरो घर त काठमाण्डुनै हो। अहिले पोखरामा पढाऊँछु।“
"काठमाण्डुको मान्छे पोखरा जानुभएछ त सर, किन? अन्तका मान्छे यता आउन खोज्छन्।“
"अँ, यस्सो नेपाल घुमौं भनेर उता गएको, पाँच वर्ष भयो उताको उतै भईएको छ।" शेखरको बोलीमा फूर्ती देखिन्थ्यो।
"पोखरा बसेर के नेपाल घुमिन्छ सर?! साँच्चिकै नेपाल घुम्ने भए आउनुस् न हाम्रो रुकुम-रोल्पा, नभए सुर्खेतसम्म भएपनि।"
“हो त्यो त----!” शेखरको अनुहारको अघिको फूर्ती देखिएन अहिले। उसको अनुहारले ऊ राजेन्द्रको कुराले अलि-अलि झर्केको देखाऊँथ्यो।
--------
“अनि राजेन्द्रजीको कलेज बिदा भईसक्या' हो र?”
“छैन सर। मिलाएर आएको। हिजो-अस्तिनै फर्किने विचार थियो। हाकिम नआइदिनाले-- । सरको नि?”
“बिदा भा’छैन मेरो पनि। दशैंको मुखमा माओवादी चन्दा माग्न आऊँछन्, त्यसैले म सधैं एक-दुई हप्ता पहिलेनै हिँड्छु। यसपाली त नआउलान् भनेको तर हाम्रा दुई-चार जना सरहरुलाई चिठ्ठी काटिसकेछन्। अनि यसपाली पनि चाँडै हिँडेको। मेरो नाममा पनि आईपुग्या होला अब त। तिहारपछि गईन्छ अब।"
“सरहरुलाई दशैंमा मात्रै दु:ख दिँदा रहेछन्। हाम्लाई त सधैं यस्तै हो। कतिचोटि त तलबबाटै काटेर लगेका छन्। वार्ता भएकोले यसपालीबाट त ठिक होला कि भनेको, खै के हो, के हो!"
"त्यहि त, शान्ति वार्ता भएपछि त ठिक हुनुपर्ने हो।"
-----------------------------
"फेरि यसपाली यो 'लोन’ निकाल्नु पनि थियो। बहिनीको बिहेको रिण नतिरी नहुनी भ’छ।" छोटो मौनतापछि शेखरले आफ्नो कुरा शुरु ग-यो फेरि।
"ए---!”
"राम्रो घर खोज्दा रिणमा परियो हेर्नुस्। बहिनीको बिहेले गर्दा--। मिल्ने साथीसंग लिएकोले कचकच त गरेको छैन तर तिर्नैपर्ने भएपछि। ---- समरजंग कर्नेलको छोरो हो।“
"ए---!”
"त्यस्तासंग हाम्रो संगत हुने होईन हतपति। यो कर्नेलको कान्छो छोरो, खुब बिग्रेको थियो पहिला। अरु कुनै स्कूलले लिन नमानेपछि हाम्रो स्कूलमा भर्ना गरेका थिए, बाऊ संचालक समितिमा थियो। एसएलसी पनि पास भएन। दाजुहरु सबै सेना-पुलिसमा छन्, यो किरणजंग चाहिँ जग्गाको कारोबार गर्छ।" आफ्नो कुरा ओकल्न निकै उत्साहित देखिन्थ्यो शेखर।
"ए---!"
"तपाईँको पनि त्यस्तै बिहे-सिहेले गर्दा हो कि अहिले पैसा निकाल्नु परेको?” एकछिनपछि शेखरले सोध्यो।
"कहाँ त्यस्तरी रिन लिई-लिई बिहे गर्न सक्नु सर हाम्ले? घर बना’को पैसा तिर्न---“
"ए हो र? घर उतै गाऊँमा बनाउनुभा’कि--?”
"होईन सर, सुर्खेतमै हो। गाऊँमा त बसिनसक्नु छ। ---- अब शान्ति भईदिए हुन्थ्यो छिट्टै!“
-------
"अनि राजेन्द्रजीको दाजुभाई---?”
"एउटा भाइ छ सर, ईण्डियामा छ अहिले।“
"ईण्डियामा? किन नि?”
"खै किन भन्ने सर--- “ कुरा गर्न राजेन्द्र त्यति उत्साहित देखिँदैनथ्यो। “भाइलाई लालसेनामा जानैपर्छ भनेर माओवादीले भनेका रहेछन्। आमासंग पनि भनेका रहेछन्। भाइ नौ मा पढ्दै थियो। एक दिन राती त लिनै भनेर आएछन्। भाइ रातारात भागेर सुर्खेत आयो। भाइलाई भगाएको भनेर आमालाई पिटपाट, लछारपछार गरेछन्। हामीलाई सुराकी भनेर पूर्जी समेत काटेछन्। पछि आमा पनि सुर्खेत आउनुभयो। भाइ नेपालमै बस्न पनि डराएर ईण्डिया पस्यो। अहिले दिल्लीमा एक ठाऊँमा चौकीदारी गर्छ रे।" राजेन्द्रको बोलीमा, अनुहारमा गहन पिडा देखिन्थ्यो। “राम्रो पढ्थ्यो, फष्ट डिभिजनै नसकेपनि सेकेण्ड डिभिजन त पक्का ल्याऊँथ्यो होला एसएलसीमा।“
"ए----!"
"एउटा एनजीओले विश्थापितलाई भनेर केहि घरहरु बनाईदिएको छ सुर्खेतमा। आधी खर्च आफैंले हाल्नुपर्ने थियो, रिन गरेर हालियो। त्यै रिन तिर्न भनेर अहिले अफिसबाट सञ्चय-कोष सापटी लिन खोज्या।"
"यस्तो अप्ठेरो छ तपाईँलाई! त्यसमाथि हाकिम नआईदिएर है---!”
"हो सर, फर्किन बस पनि नपाईएला जस्तो भईसक्यो अब त। काम भ्याउन पाए आज बेल्कै हिँड्थे। चेक बनिसक्या' छ, हाकिमको सही नभएर मात्रै अड्क्या’ छ।"

“ऊ हाकिम आयोजस्तो छ!” अफिसभित्र भिडभाड बढेको देखियो। चिया-खाजाको पैसा तिरेर उनीहरु पनि हतार-हतार त्यतै लागे।

पैसा लिएपछि राजेन्द्र बसपार्कतिर लाग्यो होला, शेखरले देखेन।
----------------------------
मोटरसाइकललाई कम्पाऊण्डको ढोकाको छेऊमा रोकेर शेखरले घण्टी बजायो। एउटा कुकुर भुक्दै आयो। कुकुरको पछि-पछि एउटा मान्छे आएर ढोका खोल्यो। शेखर भित्र पस्यो।
“किरण राजालाई खोज्नु भा' होईन? किरण राजा घरै होईसिन्छ।” । यो घरमा काम गर्ने सबैले शेखरलाई चिनिसकेका थिए।

किरणजंग टिभी हेरेर बसिरहेको थियो। टेबुलमा ह्विस्कीको बोतल र गिलास देखिन्थ्यो, कोठामा डुङ्डुङ्ती चुरोटको गन्ध पनि थियो।

“ए-- शेखर! कहिले आ’को यार पोखराबाट?”
"तीन-चार दिन भयो यार। पहिला यो पैसा लिईहाल त। आधी मात्रै छ अहिले। बाँकी एक-दुई महिना जति लाग्ला।“
"ठिक छ, ठिक छ। यति हतार नग-या भएपनि हुन्थ्यो। अलिकति पिऊने होईन त!” शेखरको लागि पनि ह्विस्की खनायो किरणजंगले।
"म नलिऊँ होला यार आज। अचेल बाऊले बेल्काको आरतीको जिम्मा दिएका छन्। मुख गन्हायो भने थाहा पाऊँछन् यार।" शेखर पन्छिन खोज्यो।
"अलि-अलिले केहि हुन्न। आइस कति रख्दिऊँ?”

शेखर पनि पिऊन थाल्यो।

"अनि तिम्रो हालखबर के छ त? कस्तो चल्दै छ त बिजिनेस?" शेखरले सोध्यो।
"खत्तम छ यार! प्लटिङ्ग बिक्नै गाह्रो भईराख्या’छ। पैसा टन्नै हालियो जग्गामा। अब शान्ति हुने हल्लाले गर्दा भाऊ पनि ल्वात्तै घट्यो! के को शान्ति, मा---हरु!” किरणजंगले एक आमाचकारी गाली ओकल्यो। “मदिशेहेर्ले आन्दोलन गर्लान् जस्तो छ रे, पहाडियाहरुलाई लखेट्न पनि थालिसके रे। त्यता हा-हू बढ्यो भने भाऊ बढ्छ फेरि। त्यो चाँडै भईदिए हुन्थ्यो।"
------------------------------------------------------------
"अब म लागें यार। आज धेरै नबसौं।" दुई प्याक तन्काएपछि शेखर उठ्यो।

नजिकैको एउटा किराना पसलमा शेखरले दश वटा भिक्स चक्लेट किन्यो। घर पुगुञ्जेलसम्म ऊ मकै चपाएजस्तै भिक्स चकलेट चपाऊँदै थियो।
जुन १४, २००९ (साँझ ६:५०)
नागोया, जापान

July 27, 2009

कथा-"एउटा प्रेमकथा"

[हालसालै लेखिएका तीन वटा कथाहरु यहाँहरु समक्ष पस्किने क्रममा यो दोश्रो हो। कथामा सुधार गर्न सकिने ठाऊँहरु अझै प्रशस्त छन्, तैपनि राख्दैछु किनभने लेखेको लामो समयसम्म पनि कतै राखेन भने रचनाको शक्ति निख्रिँदै गएजस्तो लाग्छ मलाई। तपाईँहरुका पारखी आँखाको परख पर्खिरहेछु। यसपछि पनि केहि सानातिना, विशेष गरी भाषिक परीवर्तनहरु हुनसक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु। मूल भाव र शैलीमा भने अब परीवर्तन हुनेछैन।]

एउटा प्रेमकथा

प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ।

तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु।

अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया गर्थे। तर मेरी सौतेनी आमाले मसंग एक वचन पनि राम्रोसंग बोलेको याद छैन मलाई। ती मलाई टोकस्न र उमेरले सक्नेभन्दा बढी काम गर्न लगाउन बाहेक केहि जान्दिनथिन्। मेरा बा पनि कथामा हुने बाजस्तै सौतेनी आमाको वशमा परेका थिए। सौतेनी आमाले मलाई विना कारण गाली गर्दा,कुट्दा-लुछ्दा पनि तिनले कहिल्यै रोकेनन्, ‘किन?’ भनेर सोध्दा समेत सोधेनन्। तिनी मसंग कहिल्यै राम्रो बोल्दा पनि बोलेनन्।

विकट ठाऊँ भएपनि हाम्रो गाऊँ नजिकै त्यतिखेरै एउटा स्कूल खुलिसकेको थियो। त्यहाँ पढ्न जाँदा खाजा खान पाईन्थ्यो। गाऊँका धेरैले छोराछोरीलाई भर्ना गरेका थिए। आमा हुञ्जेल म पनि जान्थें। सौतेनी आमा घरमा भित्रेको महिनादिनमै मलाई स्कूलबाट निकालिएको थियो, घरको काम सघाउन भनेर। घरको काम सघाउने मात्रै होईन, मैले आफूलाई पाल्न मेलापात समेत गर्नुपर्ने भयो। दश-एघार वर्षकी पनि नहुँदाबाटै म मेलापात हिँडेकी हुँ भनेर पछि मैले तिमीलाई सुनाऊँदा तिमी कस्तरी रोएका थियौ!

ठूली हुँदै जाँदा ममा पनि आँट आउन थाल्यो र सौतेनी आमाको टोकसोको जवाफ फर्काऊन थालें। शुरु-शुरुमा तिनले हात पनि हाल्थिन् मलाई तर तिनको डाँको भन्दा मेरो डाँको ठूलो हुन थालेपछि हच्किन थालिन्। बालाई कुरा लगाऊँथिन् ती त्यसपछि। सौतेनी आमासंग के भन्थे कुन्नि बाले तर मलाई भने आँखा तरेर हेर्थेमात्रै, केहि भन्दैनथे।

मेलापात नभएको बेलामा पनि मलाई घरमा बस्नै मन लाग्दैनथ्यो। म धेरैजस्तो आफ्ना साथीहरुसंग हुन्थें। 'टुहुरी विचरी!' भनेर तिनका आमाहरुले मलाई माया गर्थे। धेरैजसो म सुत्न मात्रै घर जान्थें। कति रात त साथीहरुकै घरमा पनि सुत्थें।

पन्ध्र-सोह्रको उमेर बाट मसंग अलि बढी मिल्ने साथी थिई एउटी, माया भन्ने। गरीबनै भएपनि ऊ नाम अनुसारनै माया पाएर हुर्केकी थिई। तर त्यो असाध्यै पात्तेकी र छाडा थिई। केटाहरुसंग छिल्लेर कुरा गर्न लाजै मान्दिनथी। मेलापात, जात्रा आदिमा उसका वरिपरि केटाहरु झुम्मिन्थे। गाऊँमा जन्त आएका केटाहरुलाई समेत जिस्काउन जान्थी त्यो। म असाध्यै लजालु थिएँ यस्ता कुरामा, तैपनि ऊ मेरो नजिककी साथी थिई। कसरी, कहिले बाट ऊ मेरी मिल्ने साथी बनी, मलाई थाहै भएन। म मेरो मनको कुरो उसैसंग मात्रै खोल्थें। मलाई जे पर्दा पनि ज्यान दिएर सघाऊँथी ऊ। मान्छेहरु छक्क पर्थे हामी दुई मिलेको देखेर, हाम्रो विपरीत स्वभावलाई लिएर उनीहरु “पानी र तेल मिलेको!”भन्थे।

एकचोटि ऊ र म उस्को मामाघर गएका थियौं। भोलिपल्टको ठूलो एकादशीको मेला हेर्न जाने भनेर हामी त्यहाँ पुगेका थियौं। उस्को मामाघरबाट एक घण्टाको बाटोमा मेला लाग्थ्यो। अरुलाई नभनेपनि, ऊ खासमा त्यहाँ एउटा केटो भेट्न भनेर आएकी थिई र मलाई साथी ल्याएकी थिई। दुई महिना पहिला गाऊँको एउटा बिहेमा जन्त आएको केटो थियो त्यो।

मेलामा त्यो केटोसंगै तिमीपनि आएका थियौ। त्यो केटो मायाजस्तै बढी बोल्ने रहेछ, तिमीभने एकदम गम्भिर अनुहार बनाएर त्यो केटोभन्दा अलिक पछाडिनै उभिएका थियौ। एकछिनपछि हामी दुबैलाई त्यहीँ छोडेर माया र त्यो केटो अलि पर गएर कुरा गर्न थाले। हामी दुईमात्रै हुँदा मलाई पनि अलि-अलि अप्ठेरो लागेको थियो तर तिमीलाई त असाध्यैनै भएको थाहा पाएकी थिएँ मैले। तिमी मभन्दा पनि लजालु रहेछौ! म तिमीलाई हेरिरहेथें, तिमीभने भुईँतिर हेरेर बसिरहेका थियौ, तिम्रो अनुहार-कान रातो हुँदै आएको थियो। एकछिन त्यत्तिकै उभ्भिएपछि म आफैं तिमीसंग बोल्न र कुराकानी शुरु गर्न आँटेकी थिएँ, माया र त्यो केटो फर्किए।

“तिम्रो साथी त कस्तो बोल्दै-नबोल्नी हो! केटीजस्तो----!" एकछिन पछि मायाले तिमीतिर हेर्दै भनी।
“मेरा भान्दाई हुन्। सोझा छन्। अहिलेसम्म केटी छो’का छैनन् यिनले---“ त्यो केटो तिमीलाई जिस्काऊँदै बोल्यो र हाँस्न थाल्यो।
“यो चाहिँ बिन्दे, यस्लाई पनि अहिलेसम्म कसैले सुता' छैन।" माया छिल्लिई। उनीहरु दुईजना हाँस्न थाले। मायाको यस्ता कुराको बानी लागिसकेको थियो मलाई। तिम्रो अनुहार-कान झन-झन् रातो हुँदै थियो।
“घर कहाँ हो नि भान्दाइको? तिम्रो नजिकै हो?” मायाले सोधी।
“होईन, यिनको घर देऊभञ्ज्याङ्ग हो।“
“देऊभञ्ज्याङ्ग भन्या' कता हो नि?” मैले त्यो केटोसंग सोधें।
“धेरै टाढा छैन। तल रोडबाट गाडीमा एक घण्टा जति लाग्ला। देऊभञ्ज्याङ्ग बजारमा झरेर यामबहादुरको पसल कुन हो भनेर सोधे जल्ले’पनि देखाईदिन्छ।" तिम्रो साथीले जवाफ दियो। तिमीभने अझै चूपचाप थियौ।

“तँ त्योसंग हिँड्नै आँटिस् कि क्या हो--?” छुट्टिएर हामी मायाको मामाघरतिर लागेपछि मैले सोधें।
“अँ----!” मायाले सजिलै जवाफ दिई।
“अरुलाई नि थाहा छ? तेरो घरमा--?”
“कसैलाई नि थाहा छैन। 'पोईल जान्छु!’भनेर घरमा भन्दै हिँड्छ कोई?” माया हाँस्न थाली।
“कहिले नि---?”
“अब १५-२० दिनमा। जानु अगाडि तँलाई भनिहाल्छु नि।“

मायाले १५-२० दिन पनि कुरिन, एक हप्तामै हिँडी। म त्यो दिन अलिक टाढा कतै पुगेकी थिएँ। उसले धेरै बेर मलाई खोजेकी थिई रे।

पछि तिमीले भनेपछि थाहा भयो त्यो केटो तिम्रो नातेदार पनि होईन रहेछ। तिम्रो बाको पसलमा सामान ल्याईदिने साहुको गाडीको खलासी रहेछ ऊ। ती दुबैसंग हाम्रो भेट भएन त्यसपछि।

माया हिँडेपछि मलाई गाऊँमा बस्न झन गाह्रो हुनथाल्यो। माया नभएपछि मायाको घरको बाटो बन्द भयो मेरा लागि, उसका बाऊ-आमा त मसंग बोल्नै पनि छोडे। पहिला मसंग राम्रै ब्यबहार गर्ने मान्छेहरुको पनि मप्रतिको दृष्टि नराम्रो हुँदै गएको थियो अब। 'एउटी गई, अब अर्की पनि जान्छे!’ भनेर गाऊँमा हल्ला हुन थाल्यो। माया नभएपछि बल्ल मलाई आफ्नो जवानी र त्यसमा तीरझैं गाडिन आउने आँखाहरुको अनुभूति हुन थालेको थियो। मसंग छेडखान गर्नेहरु अचम्मसंग बढ्न थालेका थिए। मलाई अब आफू असुरक्षित भएजस्तो लाग्न थाल्यो। माया साथमा हुञ्जेल जवानी ताकेर आउने तीरहरु ऊतिरै सोझिन्थे र म जोगिएकी थिएँ शायद।

कहिल्यै फर्किन नपरे हुन्थ्यो जस्तो लाग्ने घर मेरो बाध्यता बन्यो फेरि। यो बाध्यताबाट उम्किने बाटो खोज्न थालें म। तर कुनै कुनै बाटो देखिएको थिएन। यता गएपनि असुरक्षा र उता गएपनि असुरक्षा थियो मेरा लागि।

मेलामा तिमीलाई देखेदेखिनै मेरो मनमा तिम्रो लागि एउटा ठाऊँ बनिसकेछ। म आफैंलाई पनि पत्यार लागेन कति समयसम्म त! हरदम मेरो स्मृतिमा तिम्रा ती निर्दोष आँखाहरु चम्किरहन्थे ।

मैले तिम्रा ती निर्दोष आँखाहरुलाईनै आफ्नो बाटो र लक्ष्य बनाउने निधो गरें।

र एकदिन म एउटा ट्रक चढेर हिँडे।

देऊभञ्ज्याङ्ग बजार पुगेर म ट्रकबाट झर्दा दिऊँसोको तीन जति भएको थियो। सानो बजार थियो त्यो, दश-बाह्र पसलहरु हुँदा हुन्। 'यामबहादुरको पसल कुन हो?' भनेर सोधखोज गर्दा तिमी बजार छोडेर गाऊँमै फर्केको जवाफ पाएँ मैले। त्यहाँबाट बीस-पच्चीस मिनेटको उकालो बाटो रहेछ। एक्लै जाने मेसो नपाएर म एकछिन त्यतै अल्मलिएँ। तिम्रो र मेरो नाता सोध्ने एक-दुईजनालाई ‘म यामबहादुरकी मामाकी छोरी’भनेर ढाँटिदिएँ मैले।

पछि जजमानी गरेर फर्किएका एकजना बूढा बाजेको साथ लागेर म तिम्रो घर पुगें। ती बाजेलाई पनि पहिला मैले म तिम्री मामाकी छोरी भनेर ढाँटेकी थिएँ तर तिनले पत्याएनन्। म तिमीसंगै 'पोईल' आएकी हुँ भन्ने तिनले भेऊ पाईसकेका थिए कुराकानीबाट। तिनलाई हामी दुईको राम्रो चिनजान र लामो हिमचिम भएजस्तो लागेको रहेछ। 'यामे मान्छे हेर्दा सोझो देखिन्छ तर बज्जे कम्ताको चाहिँ होईन रहेछ!' भनेर हाँस्दै थिए। मैले पनि मौन हाँसेर सहमति जनाईदिएँ, त्यहि नै सुरक्षित लागेर।

"ए यामे, ल हेर्, तेरी दुलही आ’की छे!” तिम्रो आँगनमा पुगेपछि ती बाजे कराए। घरको ढोका खुलै थियो, तर तिमी निक्लिएनौ।
"दैलो खुल्लै छ। एकछिनमा आऊँछ होला। मेरो घर अलिक टाढा छ। साँझको बाटो---“ भनेर बाजे हिँडे।

एकछिन पछि तिमी आयौ।

र तिमी मलाई हेरेको हे-यै भयौ। अनि म पनि तिमीलाई हेरेको हे-यै भएँ। हामी धरै बेर नजानिँदो, मन्द मुस्कान साटिरह्यौँ।

"---अँध्यारो भयो----", धेरै बेरपछि तिमी लाज मानी-मानी बिस्तारै बोल्यौ। हामी भित्र पस्यौं, तिमीले टुकी बाल्यौ।

र मेरो जीवनमा उज्यालो छायो।

त्यसपछिको कथा, मेरो जीवन उज्यालिएपछिको कथा, तिमीसंगको मेरो प्रेमकथा, हाम्रो जीवनकथा; खुल्ला पुस्तकझैं देखेको छ यो दुनियाँले।

'यामेले स्वास्नी ल्यायो रे!' भन्दै मलाई हेर्न आउनेहरुको भिड र गाऊँमा हुने हामी बारेका सत्य-असत्य अनेक कुराहरु पातलिन थाल्दा बल्ल तिमी राम्ररी बोल्न र खुल्न थालेका थियौ। पाँच वर्ष पहिले तिम्री आमा बितिछन्। अनि एक वर्ष पहिले तिम्रा बा बितेछन्। बा बितेपछि पनि बजारको त्यो सानो चिया पसल चलाएछौ तिमीले केहि समय, तर पछि बजारमा बस्न मन नलागेर पसल बेचेछौ। बजार जँड्याहाहरुको अखाडा भएको तिमीलाई मन नपरेको कुरा गरीरहन्थ्यौ तिमी। पछि हामीले गाऊँमै सानो चिया पसल चलायौं।

म, भएर पनि हुन नसकेको मेरो माइतीतिर कहिल्यै फर्किईँन।

अझै पनि कहिलेकाहीँ लाग्छ; 'त्यो बेला तिमी नभेटिएको भए!----’ अथवा ‘त्यो केटाले देऊभञ्ज्याङ्ग यस्सै भन्दिएको भए र तिम्रो घर अन्तै भैदिएको भए----!' अथवा “तिमीले मलाई नस्विकारेको भए!----' अथवा '----!'। म एकपछि अर्को सैयौं डरलाग्दा सपना देखेझैं झस्किन्छु, आङ्ग जिरिङ्ग हुन्छ।

चारवटा छोराछोरी हुर्काऊँदा ३० वर्ष बितेको पत्तै भएन। अब त छोराछोरी सबैको घर बसिसक्यो, कोहि संगै छन्, कोहि अलिक पर पुगेका छन्। काखमा नाती-नातीनाहरु पनि खेल्न थालिसके। अरुले हेर्दा जिन्दगीमा सबैथोक छ।

तर तिमी छैनौ।

तिमी मलाई छोडेर यति चाँडै किन गयौ???

तिमीमा कुनै रोग थिएन। पचास-एकाउन्नको उमेरमा पनि तिम्रो फूर्ति देखेर मान्छे छक्क पर्थे। त्यो दिन पनि दिऊँसो तिमी र म तरकारी बारीमा काम गर्दै थियौं। तिमीले मुटु दुख्यो भन्यौ र गएर पिँढीको गुन्द्रीमा सुत्यौ। म पनि पछि-पछि गएँ र तिमीलाई दिन भनेर भित्रबाट एक गिलास पानी लिएर आएँ।

म पानी लिएर आईपुग्दा तिमी छटपटाउन थालिसकेका थियौ। मैले तिम्रो टाउको उठाएर मेरो काखमा राखें। के गरौं, कसलाई बोलाऊँ भनेर म आत्तिदैं थिएँ, तिम्रो मुखबाट फिँज आयो अलिकति। त्यसपछि तिमीले एकपटक मलाई हे-यौ र मलाई छाडेर गयौ!

यसरी हाम्रो प्रेमकथामा म एक्लै भएँ! र म जिन्दगीमा फेरि एक्लै भएँ!

कहिलेकाहीँ दु:ख लाग्छ मैले तिम्रो काखमा मर्ने सौभाग्य पाईँन। फेरि कहिले अलिक सन्तोष पनि लाग्छ, तिम्रो अन्तिम घडीमा तिमीलाई मैले मेरो काख दिन पाएँ।

म काँतर होईन र यो मेरो आत्महत्या पनि होईन, शायद मेरो चाहनाको बलले खिँचिएर मृत्यु मेरो नजिकै आईपुगेको हो। छोरा-बुहारीबाट अपहेलित पनि छैन म। नाती-नातीना खेलाएर अर्को पन्ध्र-बीस वर्ष सजिलै काट्न सकिन्थ्यो होला, तर तिमी गएपछि किन-किन यस्सै बाँच्ने मन मर्दै आएको छ। मलाई तिमीविना एक्लै बस्न मन छैन। मेरो अस्तित्वको ठूलो अंश तिमीसंगै गईसकेको छ र बाँकीलाई पनि म तिमीमै मिलाउन चाहन्छु।

मलाई बिस्तारै निद्राले छोप्दैछ। मलाई थाहा छ, भोलि बिहान म यो संसारमा ब्युँझने छैन।

मान्छेहरु जम्मा हुनेछन् र भन्नेछन्, "बिचरी! उमेरै नभई गई!", त्यसरीनै जसरी तिमी जाँदा "बिचरो! उमरै नभई गयो!" भनेका थिए। उनीहरु "तीन महिना पहिला लोग्ने बितेको तोडले ओईलाऊँदै गएकी थिई बिचरी!" पनि भन्लान्। हाम्रो प्रेमकथाको चर्चा होला फेरि एक पटक र केहि समयपछि धेरैले हामीलाई बिर्सेलान्। कसैले बिर्सेलान्, कसैले सम्झेलान् तर हाम्रो प्रेमकथा, तिम्रा-मेरा सुस्केराहरु, तिम्रा-मेरा हाँसोहरु अनन्तसम्म यो धर्तीको कुनै कुनामा गुञ्जिरहेनछन्।

म तिमीलाई देखिरहेछु प्रियतम! तिमी आहिलेपनि एक्लै एउटा घरमा मलाई कुरेर बसिरहेछौ। म आउनेछु र हामी फेरि मुखामुख गरेर मन्द-मन्द मुस्काउँनेछौं। अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ।

र मेरो जीवन फेरि उज्यालो हुनेछ।

(००:३२ बजे, जुन २१, २००९; नागोया, जापान)

July 08, 2009

कथाजस्तै सत्यकथा


यो मेरो मौलिक रचना हैन, समयको रचना हो। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, बाध्य भएर लेखिएको कथा हो।

एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। ऊ लखतरान छ दिनभरिको कामपछि। अक्सर ऊ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले ऊ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ, जसरी भएपनि।

तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। ऊ डराई-डराई हिँडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले ऊ त्यसै पनि अधमरो भईसकेको छ।

एक छिनमा उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ ऊ र देख्छ दुईटा बल्डेंग्रा आँखाहरु उसलाई ताकिरहेछन्! विशाल बाघ उसको बाटो छेकेर उभिएको छ।

अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? ऊ आफैंलाई बिर्सेर कुद्न थाल्छ। ऊ यसरी कुद्छ कि (अचम्म छ, आपत परेपछि मान्छेमा कस्तो शक्ति आउँदो रहेछ!) गर्जिँदै दौडिरहेको बाघले पनि उस्लाई भेट्न सक्दैन।

यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग भेट्छ उस्ले। जंगलको बीचमा एउटा सानो झुप्रो रहेछ! कतै केहि नसोची ऊ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर आफू बाँचेकोमा ढुक्क भइसकेको छ ऊ अब!

यस्तै झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर ऊ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ।

तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा ऊ देख्छ, उसको अगाडि एउटा गोमन फुलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा!

बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ!

मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?!

तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा?

किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?


(जुन ५, २००७ मा साझामा राखिएको रचना, केहि परिमार्जन सहित)

June 28, 2009

कथा- "बाँचेको मान्छे"

[विगत केहि समय यता लगभग राजनीतिक विषयमा मात्रै लेखें मैले। अब केहि समय ब्लगमा अलि-अलि साहित्य पनि घोल्ने छु। यस बीचमा लेखिएका केहि कथाहरु र पुराना एक-दुई कविताहरु राख्दै जानेछु बीच-बीचमा।]


बाँचेको मान्छे

आज पनि बाऊले गाली गरे।

सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

'भुत्राको जागिर---!‘ ऊ मनमा धेरै कुरा खेलाएर हिँडिरहेको थियो। उसलाई यान्त्रिक जागिरे जीवनले कहिल्यै आकर्षण गर्न सकेन। एउटा उमेरबाट उसमा अनौठो ‘भूत’ चढ्यो, ऊ ‘लेखेर बाँच्न’ चाहन्थ्यो। धेरै विदेशी लेखकहरुको सफल जीवनशैलीका बारेमा पढेपछि ऊ एकदम प्रभावित भएको थियो किशोरवयमा। ऊ लेख्ने कुरामा सानैबाट प्रतिभाशालीमा गनिन्थ्यो पनि। विद्यालय र त्यो भेगका लगभग सबैजसो कार्यक्रमहरुमा पुरस्कार पनि हात पार्थ्यो।

पछि अलिक उमेर खाएपछि उसलाई आफ्नो सपना र यथार्थबीचको खाडलको बोध भयो। लेखेर कमाएर बाँच्ने कुरा त परै जाओस् अलि गतिलो पत्रिकामा सित्तैमा रचना छपाउन समेत सजिलो हुँदो रहेनछ। उसको भन्दा धेरै तल्लै स्तरका, साह्रै गएगुज्रेका रचनाहरु प्रकाशित हुन्थे, जति पठाए पनि उसका भने कहिल्यै देखिँदैनथे। तीन-चार पटक काठमाडौं पुगेको बेला उसले केहि पत्रिकाहरुको अफिसमै पुगेर पनि रचना छाड्यो र केहि महिना कु-यो तर उसका रचनाहरु देखिएनन्। आफैं किताब छपाओस् भने पनि उसको परिवार त्यसरी पैसा निकाल्न सक्ने परिवार होईन, सक्नेनै भएपनि बाऊले के दिँदा हुन! अचेल ऊ पूरै साहित्यिक प्रकाशन फाँटलाई एउटा फोहरी ‘सिण्डिकेट’ को रुपमा मात्रै लिन्छ जहाँभित्र पस्न कि त गतिलो चिनजानको जालो चाहिन्छ कि आफैं दाम लगाउन सक्नुपर्छ।

आफ्नो सपना खाल्डामा परिसकेपछि पनि उसले कुनै एउटा निश्चित निर्णय गर्न भने सकेन। केहि समय विरक्तिएर केहि पनि लेख्दै-नलेखी बस्यो। नलेखी बस्दा झन् उकुसमुकुस बढेकोले फेरि लेख्न थाल्यो तर छपाउने कुरामा चासो राख्न छोड्यो। कहिलेकाहीँ जिल्लाका स्थानीय पत्रिकाहरुका लागि वा सङ्घ-संस्थाका स्मारिकाका लागि रचना माग्न आऊँथे। तिनबाट उसले एक प्रति स्मारिका वा पत्रिका पाऊँथ्यो, कतिले त त्यहि पनि दिँदैनथे। त्यसबाहेक, जिल्लामा हुने साहित्यिक कार्यक्रमहरुमध्ये केहिमा सहभागिता जनाऊँथ्यो।

पैसो नभई जिन्दगीको गाडी नचल्ने बोध पलाईसकेको थियो उसलाई केहि वर्ष पहिलानै तर उसलाई कुनै पनि खाले बन्धन भने सैह्य थिएन। लेख्न छोडेनैपनि ऊ एउटा जागिरे बन्न सक्दैनथ्यो होला शायद, किनभने उसको मुख्य सीप र रुचि दुबै भनेकै साहित्य-लेखन मात्रै थियो। त्यसैले जिन्दगी धान्ने तात्कालिक उपायका रुपमा ऊ गाऊँकै एउटा ‘बोर्डिङ्ग स्कूल’ को शिक्षक बन्यो। शिक्षकको जीवन उसलाई ठिकै लागेको थियो र ऊ आफनो स्थायी पेशा पनि यसैलाई बनाउने विचार गर्दै थियो। तलब धेरै थिएन तर उसको आवश्यकता टरेको थियो। तर बाऊको गाली अलिक फरक मात्रै भएको थियो त्यतिबेला पनि। ‘त्यो मु— माष्टरको जागिर पनि काहीँ जागिर हो---?!---- कल्ले दिन्छ छोरी यस्ता मु— माष्टरलाई--?!’ यस्तो हुन्थ्यो बाऊको गाली त्यो ताका। उता छोराको जागिर गतिलो नहुँदा बुहारी बनेर गतिलो घरकी छोरी नआउली भन्ने पीर आमाले पनि देखाऊँथिन्।

चारमहिना पहिला ‘बुर्जुवा र दलाल शिक्षा’ पढाएको भन्दै माओवादीले स्कूल बन्द गराईदिए। बजारका ठूल्ठूला ‘बोर्डिङ्ग’ जिऊँदै थिए, मर्नेमा किन हो कुन्नि उसले काम गर्ने, गाऊँको फुच्चे ‘बोर्डिङ्ग’नै प-यो। यता घरमा बिस्तारै बाऊको गाली पनि पूरानै ठाऊँमा फर्कियो।

“ओहो--- ‘विवश’ कविज्यू! आज कसरी हाम्रो पसलमा---!?” पैसा बुझ्ने ठाऊँबाटै साहु करायो, उसको साहित्यिक नामलाई अलिक जोड दिएर बोल्दै। मनमा कुरा खेलाऊँदा-खेलाऊँदै पत्तै नपाई कसरी ऊ यो मोतीमान साहुको पसलमा पसेछ। मोतीमान साहुका ताई न तुईका कुरा उस्लाई त्यति मन पर्दैनथ्यो, त्यसैले ऊ सकेसम्म पस्दैनथ्यो यहाँ।
“ल आऊनुस्,कविज्यू! बस्नोस्।“ साहुले अघिल्तिरको कुर्सी देखायो र ‘दुईटा चिया ल्याउन’ पसलमा काम गर्नेलाई अह्रायो।

“होईन साहुजी, म चिया नलिऊँ होला, भर्खर खाना खाएर आएको।“ आफ्नो अघिल्तिर चिया देख्यो उसले।
“लिऊँ, लिऊँ! केहि हुन्न, चिया खानेनै खाना खाएपछि हो---- “
-----
“अस्ति त निकै कविता पढिँदै थियो नि हँ त्यता चोकमा!” यो कुरो ननिक्लेहुन्थ्यो भन्दा-भन्दै साहुले कुरो निकालिहाल्यो। अस्ति पसल नजिकैको भूपि चोकमा एउटा साहित्यिक कार्यक्रम भएको थियो र ऊ र हिरामान साहुका कविताहरु साह्रै चर्चित भएका थिए। कार्यक्रम सकिने बेलामा पनि उनीहरु दुईलाई उनीहरुका केहि थप कविताहरु पालैपालो वाचन गराईएको थियो।

मोतीमान साहुले कुरा उप्काएको पनि हिरामान साहुकै कारणले हो। हिरामान, मोतीमानको साख्खै दाजु हो। पुर्ख्यौली सम्पत्तिलाई लिएर दुई भाइमा धेरै वर्ष पहिला बाट बोलचाल बन्द छ र बेला-बेला झगडा परिरहन्छ। उनीहरुको वैमनस्य जिल्लैभरि चर्चित छ।

“कविज्यू, यस्सो यो कविता-सविता लेख्ने कुरा हाम्लाई पनि सिकाउनुस् न---!” ऊ पसलबाट हिँड्ने बेलामा मोतीमान साहुले भन्यो।

‘कविता लेख्न सिकाएर सिकिन्छ---?’ बाहिर निस्केपछि गम्यो ‘विवश’ ले। मोतीमानमा रहेको हिरामान प्रतिको ईर्ष्याकै एउटा विस्तार थियो यो पनि भन्ने उसलाई थाहा थियो। आफू कुनै पनि कुरामा हिरामानभन्दा कम नभएको देखाउन चाहन्थ्यो मोतीमान। अरु कुरामा त थियो पनि तर साहित्यिक कुरामा भने मोतीमानले आँट्न सक्दैनथ्यो। हिरामान एउटा प्रतिभाशाली कवि थियो र स्थानीय साहित्यिक वातावरणमा राम्रै नाम कमाएको थियो। ऊ जिल्लाको एउटा सफल ब्यापारी, समाजसेवी र साहित्यसेवी मानिन्थ्यो। ब्यापारी र समाजसेवी त मोतीमान पनि कहलाईन्थ्यो, ऊ अब साहित्यसेवी पनि बन्न चाहन्थ्यो। तर लेख्न त जान्नु-सक्नु प-यो नि!

विना उद्देश्य बजारमा बरालिईरहँदा अचानक ‘विवश’को मनमा एउटा झिल्का उठ्यो र ऊ घरतिर लाग्यो। सधैं रात परेपछि घर फर्कने छोरो आज दुई नबज्दै फर्केको देखेर बाऊ-आमा छक्क परेको थाहा हुन्थ्यो, तर भन्नचाहिँ केहि पनि भनेनन् उनीहरुले। ऊ कोठामा पस्यो र चुकुल लगायो।

चार बजेतिर, आमाको ‘खाजा खाएर जाने’ आग्रहलाई पनि टारेर ऊ फेरि बजारतिर लाग्यो।

“साहुजी, एउटा जरुरी कुरा गर्नु थियो---।“ ग्राहक नभएको मौका पारेर ऊ मोतीमान साहुको अघिल्तिर उभियो।
“हुन्छ कविज्यू! भन्नुस् के सेवा गर्नुप-यो।“
“अलि गोप्य कुरा हो। भित्र गएर कुरा गर्न पाए हुन्थ्यो।“
“कविज्यूले के त्यस्तो गोप्य कुरा ल्याउनुभो' त?” मोतीमान साहुले उसको कुरालाई अझै खासै महत्व नदिएको थाहा हुन्थ्यो। एक छिन् पछि पसल काम गर्नेको जिम्मा लगाएर ‘विवश’ कविज्यूलाई लिएर साहु भित्र पस्यो।

“---------------------------------------“
“---------------------------------------“
“---------------------------------------“
“खोई हरौं त!"
"यी, ल हेर्नुस्।"
“ल ठीक छ, तर डेढ लाख त साह्रै बढी भन्यौ कविज्यू--- “
“कसरी बढी भयो साहुजी? तपाईँले यस्सो कोटयाए पनि निक्लिन्छ त्यति त! अब तपाईँलाई नाम चाहिएको, मलाई दाम चाहिएको। कविता भन्ने चीज पनि त्यस्सै बर्सिने होईन, दिमाग लगाउन परिहाल्छ, समय लागिहाल्छ लेख्न।“
“ल ल, धेरै कुरा किन? म एक लाख दिने भएँ यसका लागि।“ एकछिन विचार गरेर मोतीमान साहु बोल्यो। ‘विवश’ कविज्यूको मौनताले स्विकृतिको सूचना दियो।
“कविता सबै राम्रा छन् हैन त? अस्ति त्यो भातेले पढेभन्दा पनि राम्रा—“ हिरामान साहुसंगको रिस पोखिन आईपुग्यो यहाँ पनि।
“धेरै जसो राम्रै छन्, कुनै-कुनै चाहिँ ठिकै खाले पनि छन्। एकैचोटि वाह! वाह!! पायो भने मान्छेले शंका गर्छन् क्या!” साहुलाई फुल्यायो ‘विवश’ कविज्यूले। खास कुरा चाहिँ के हो भने उसले धेरैजसो आफूलाई एकदमै मन नपरेका र केहि ठिकैमात्र लागेका आफ्ना कविताहरु सारेर ल्याएको थियो। राम्रालाई त उसले जोगाएर राख्नेछ अझै केहि वर्ष!
------
“तर एउटा कुरो कविज्यू, कविता त बीस वटा मात्रै छन् नि!” साहुले गन्न भ्याईसकेछ। "यति थोरैले कविता संग्रह निक्लिन्छ?”
“काँ’ अहिल्यै कविता संग्रह निकाल्ने कुरा ग-या साहुजी? मान्छेले पत्याऊँछन्? यस्तो हतार गर्दा चोरेर छापेको भनेर पत्रिकाले लेख्दैनन्? पहिला, महिनाको एक-दुईटाको दरले यिनलाई ठाऊँ-ठाऊँमा पाठ गर्ने, पत्रिका-सत्रिकामा छपाउने र बिस्तारै चिनिँदै जाने। संग्रह त एक-दुई वर्षपछि निकाले हुन्छ। मैले एउटा ‘प्लान’ बना’को छु। त्यहि ‘प्लान’ अनुसार अघि बढ्यो भने कसैले पनि शंका गर्दैन। बरु त्यो ‘प्लान’ बापत डेराभाडाको पैसा पाए म यतै बजारतिरै बस्थें तपाईँलाई सघाउन।“
“हुन्छ कविज्यू। एउटा सस्तो खाले कोठाको भाडा मैले तिर्दिनें भएँ, तर संग्रह निकाल्ने बेलासम्म चाहिँ पचासवटा पुग्नुपर्छ है। बाँकी पनि लेख्दिनुपर्छ नि कविज्यू!”
“अलि बढी दाम पाए त्यो ‘काम’ पनि गरिन्छ साहुजी!” ‘विवश’ कविज्यूको अनुहारमा अलिक धूर्त चमक देखिन्थ्यो। “तर अलि-अलि चाहिँ आफैंले पनि लेख्ने कोशिश गर्नुहोला।“
“साह्रै बाठो पो रैछो कविज्यू तिमी त! हेर्दा यस्तो सोझो देखिन्छौ!“
“खोई के सोझो - के बांगो साहुजी!”
-----------------------------------------------------------------
भोलिपल्ट 'बजारको एउटा स्कूलमा जागिर मिल्ला जस्तो छ!’ भनेर आमालाई ढाँट्यो र सिरक-डसना, आफ्ना कापी किताब र एउटा पुरानो स्टोभ बोकेर ‘विवश’ले घर छोड्यो। बजारमा बस्न थालेपछि कुनै स्कूलमा ‘अल्झिने’ योजना भने थियो उसको।

दुई हप्ताजति पछि बजारको एउटा ‘साहित्यिक भेला’ मा मोतीमान साहुले “म लेख्न जान्ने मान्छे त होईन तर पनि एउटा सानो कोशिश गरेको---“ भन्दै एउटा छोटो कविता पाठ ग-यो र अलि-अलि वाह! वाह!! पनि बटुल्यो। कोहि-कोहिले त ‘रगतमै साहित्यिक प्रतिभा भएको परिवार यहाँको त !’ भनेर पनि फुर्क्याए उसलाई। ‘विवश’ भने त्यो कार्यक्रममा देखिएको थिएन।

दुई दिन पछिको शुक्रवारको साँझ, ‘विवश’ कविज्यू कुनै भट्टीमा बिजुली पानी र सुकुटीसंग आफ्ना विचार चपाऊँदै थियो र आफ्नो लेखेर बाँच्ने अधमरो सपनालाई बोकेर कतिञ्जेल ‘महादेव’ भईरहने हो, सोच्दै थियो।
“तपाईँका अरु लक्ष, अरु सपना के छन् त?” स्थानीय एफ.एम को कार्यक्रम संचालक कसैको अन्तर्वार्ता लिँदै थियो।
“हेर्नुस् भाइ, यो जिन्दगीमा मलाई अरु सबै पुग्या’ छ। अब अलि-अलि साहित्यसेवा गर्ने मन छ। लेख्न सिक्दैछु।-------“ यो त हाम्रो ब्यापारी-समाजसेवी मोतीमान साहु थियो र कार्यक्रम हाम्रो ‘विवश’ कविज्यूकै ‘प्लान’ को अर्को चरण थियो!
“साह्रै महान विचार! हजुरको प्रतिभा त अस्तिको एउटा कवितालेनै देखाईसक्या’ छ। शुभकामना छ हजुरलाई अझ धेरै सफलताको! हजुरको आगमन नेपाली साहित्यको लागि एउटा ठूलो शुभ-घटना बन्ने निश्चित छ।----- ।“
“---------“

अन्तर्वार्ता सकिँदासम्म ‘विवश’को मन पनि बिजुली पानीले तातेर रसिक हुँदै आईसकेको थियो। ‘खासमा म लेखेरै त बाँचेको छु नि! आफ्नै नाममा लेखेपनि, अरुकै नाममा लेखेपनि- त्यै लेखेकै भरमा त बाँचेको हुँ म। अझ त्यो मोतीमान साहु पनि अचेल मेरै लेखाईले बाँच्न थालेको छ। म लेख्छु र म बाँच्छु; म लेख्छु र मोतीमान साहु बाँच्छ।'


-समाप्त-

वसन्त गौतम
जुन ७ (दिउँसो १२:५४)
नागोया, जापान

March 02, 2009

बाँसको पैसा

"नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।
“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।

बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।
चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।
“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।
मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

"हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए।
“सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि।
“सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले।
“बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो।
बूढालाई झनक्क रिस उठ्यो।
“बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो।
“के भयो? यो बूढो को नि?”
“यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“
“बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो।
“मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे।
“दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------।“

बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन।
भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्।
आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले।
आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्!

चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्।
“क्या’र्न तँ याँ?”
“तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“
बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले।
“हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“
“के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो।
“हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“
“ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो।
“हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“
“खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो।
“के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले।
“नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले।

“यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले।
“हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।”
“हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?”
“छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“
“के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“
बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे।

अगष्ट २१, २००६
खासुगाई, जापान


******************************************************************************

अब यो कथाकै कथा एकछिन। लेख्नासाथ साझामा टाँसेको थिएँ। त्यसको एक हप्ता पछि WNSO चौतारीमा राखियो यो। अनेसास-जापानले प्रकाशित गर्ने भनिएको "छहारी" कथा-संग्रहका लागि पनि पेश गरिएको थियो, त्यो कथा-संग्रह प्रकाशित भएको छैन अझै। केहि समय पहिला मझेरीपनि गफ दिन पुग्यो यो। अस्तिमात्रै, जापानमा बस्ने नेपाली विद्यार्थीहरुको संगठन नेसाजको नियमित प्रकाशन "नेसाजपत्र" को नयाँ अंकमा पनि संग्रहित छ यो। यो ब्लगमा आज 'इतिहासको ब्याज'को रुपमा झुल्किएको छ यो। शुरु गरिएका विषयहरु अगाडि बढ्नै नसकेपछि यसले काम चलाउँदै छु यसपटकलाई।

कुनै पनि कुरा लेखिसकेपछि तु. टाँस्ने र पछि सच्याउन अल्छी गर्ने मेरो बानी छ। यो कथालाई पनि अझ धेरै राम्रो गर्न सकिन्थ्यो जस्तो लाग्छ अहिले। धेरै अगाडि बढिसक्यो यो, भाषिक त्रुटिबाहेक अरु सच्याउने संभावना छैन अब। यसपछिका रचनाहरु भने टाँस्न हतार नगर्ने र तिनीहरुसंग यथेष्ट 'खेल्ने' प्रण गरेको छु। हेरौं के हुन्छ।

August 03, 2008

"एक धर्को घाम"

-लघुकथा-
एक धर्को घाम
“किन? के भयो? छोरीले झगडा गरी कि क्या हो?” छ बज्दा नबज्दै ब्यूँझन्छु म पनि। उनी छोरीलाई फुल्याइरहेकी छिन्।
“अघि भर्खर एउटा एम्बुलेन्स गयो अगाडिबाट, त्यसकै आवाजले ब्युँझेकी हो। अलिअलि झर्केकी छे निद्रा बिग्रेकोले, अरु केहि पनि भ’ छैन।”
छोरीले दूध खान पनि मानीरहेकी छैन र झर्कँदै-रुँदै गरीरहेकी छे।
“काखमा राखेर हल्लाए निदाऊँछे कि---” म काखमा लिन्छु, तर छोरी मेरो काखमा आएपछि झन झर्किन्छे। र यतिखेरसम्म ऊ पूरै ब्यूंझिसकेकी छे। म छोरीलाई उनको काखमा राख्दिन्छु, तर छोरीले काखमा बस्न अझै मन नगरेपछि उनी उसलाई कार्पेटमा छोडिदिन्छिन्।
छोरीको रुवाई बन्द हुन्छ अब। ऊ चार हात-खुट्टा टेकेर अडिन्छे, एकछिन हामीलाई हेर्छे, मुसुक्क हाँस्छे र बामे सर्न थाल्छे।
“ल हेर त! कल्ले पत्याऊँछ साढे पाँच महिनाकी मात्रै भई भन्दा---?! ” बामे सरेर कोठा नापीरहेकी छोरीलाई हेरेर उनी मुस्कुराऊँछिन्।
“हो त! हिजो फोनमा भन्दा आमाले त पत्याउनु भएन !”
“छोरी कता तिमी? यता आऊ!” हामीले आँखा झिम्क्याउन नपाऊँदै छोरी झ्यालनिर पुगिसकिछे। ऊ त्यहाँ केहि समात्न खोज्दै थिई। अचेल बामे सर्नुसंगै उसले भेटेका कुरालाई समात्न र सकेजतिलाई मुखमा लान सिकेकी छे। जतिखेर पनि एकजना पछि नलागी सुखै छैन।
झ्यालको पर्दा अलिक होड परेर भर्खर उदाएको घाम छिरेको रहेछ र त्यहाँ एउटा मसिनो उज्यालो धर्को बनेको रहेछ घामको। छोरी त्यै सुनौलो धर्कोलाई समात्न र तान्न खोज्दै थिई।
हामी बूढाबूढी मुखामुख गरेर असमञ्जस भरिएको हाँसो साट्छौँ। अरु त के नै गर्न सक्छौँ र ?!
धेरै बेर कोशिश गरेर पनि घामको धर्कोलाई तान्न नसकेपछि छोरी झर्किन्छे, अनि हामीतिर हेरेर च्याँठ्ठिएर रुन थाल्छे।
“ओहो बाबा, छानु---, नलोऊ---नलोऊ, मेलो बाबा------” उनी छोरीलाई उठाएर छातीमा लगाऊँछिन् र फुल्याउन थाल्छिन्।
छोरी एकैछिनमा फुलिन्छे र उनी फेरि उसलाई तलै राखिदिन्छिन्। छोरी खेल्दाखेल्दै फेरि घामको धर्कोमा पुग्छे तर यस पटक ऊ त्यो धर्कोलाई तान्न खोज्दिन, त्यसलाई नियाल्छे, आफ्ना कोमल हातहरु एकैछिन त्यसमाथि राख्छे अनि त्यसलाई छोडेर कोठाको अरु भागतिर दौडिन्छे। एकछिन खेलेपछि थाक्छे र कार्पेटमै निदाएर आफ्नो टुटेको निद्रा र टुक्रिएको सपनालाई पूरा गर्न थाल्छे।
“खै छोरीको विछ्यौना लेऊ त।” म छोरीको विछ्यौना त्यो धर्कोनिर लगेर मिलाऊँछु अनि त्यो सुनौलो घामको धर्कोको एक भाग उसको निधारमा पर्ने गरी छोरीलाई विछ्यौनामा राखिदिन्छु।
जीवनका सबै सौन्दर्य र सत्यहरुको प्रतीक बनेर घामको सुनौलो धर्को छोरीको निधारमा चम्किरहन्छ।
------------------------------********************------------------------------
(यो पनि पूरानै रचना हो मेरो। यो सप्ताहान्त पनि नयाँ केहि लेख्न नसकी बित्यो र त्यसैले फेरि 'इतिहासको ब्याज' खर्च गरेर काम चलाउँदैछु।)

February 28, 2008

कथा- "एक जोर सूट"

(आज एउटा कथा राख्नुप-यो। डेढ वर्ष जति भयो होला यो लेखेको, 'साझा'मा राखिसकिएको हो पहिला।)

"एक जोर सूट"

साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

"के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।
"चन्द्र कुमारजी, भोलि योकोहामामा हुने 'निप्पोन बायोटेक'को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई पठाएको छ।

चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो।

उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो।

खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्!

‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो---!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्लो भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो।

भोलिपल्ट बिहानको नित्यकर्म सकेर आइरन लिएर मच्चिन थाल्यो। तीन पटक मच्चिएर छोडिदियो ,जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन।

“अँ--- भन्।“ फोन उठायो चन्द्र कुमारले।
“जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट।
“पाईण्टले टेन्सन दि’राछ यार!”
“के भ’ र?”
“हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“
“अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?”
“अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“
“अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो?
“नकरा मु--, किन फोन गरिस् भन्।“
“तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले।

चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो।

रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।

“त्यो जाँ---लाई किन हेर्नु प-या होला नि!” भुत्भुतायो चन्द्रकुमार, गाडीमा बसेकी एउटी केटीले उस्को पाइण्ट हेरेजस्तो लागेर। अरु दिन भए केटीले हेर्दा ‘मजस्तो ह्याण्डसमलाई नहेरेर कल्लाई हेर्छन् त?’ भन्ने सोचेर छाती फुलाउँथ्यो उ, तर आज भने कसैले पनि नहेर्दे हुन्थ्यो! केटीले त झन हेर्दै नहेर्दे हुन्थ्यो!

तै खासुगाई स्टेशनबाट रेलमा बसेपछि उस्को समस्या हल भयो एक छिनको लागि। रेलभित्रको भिडमा चन्द्र कुमारको खुम्चेको पाइण्टको त के, चन्द्र कुमार आफैं हरायो।

नागोया पुगेर हतार हतार शिन-कान-शेनको प्लेटफार्मतिर दौडियो, तर पनि दश मिनेट जति कुर्नुपर्ने भयो त्यहाँ। सधैंजस्तो स्टेशनमा आफ्ना एक्सरे आँखा दौडाएन आज चन्द्र कुमारले, प्रतीक्षा कक्षको एउटा कुनामा गएर बस्यो।

शिन-कान-शेनमा छिरेपछि ‘बेन्तो’ किन्यो र खान थाल्यो। खुम्चेको पाइण्टले गर्दा उस्लाई खानाको स्वाद पनि याद भएन। तीन घण्टासम्म एक चोटि पनि सिटबाट उठेन उ।

शिन-कान-शेन योकोहामा पुगेको जानकारी बज्यो।

“थुक्क---! आज पनि फुजी राम्ररी हेरिएन!” अहिले त चन्द्र कुमार करायो नै। “आज त दिन राम्रो थियो नि!”

हरेक पटक यो बाटोबाट यात्रा गर्दा फुजी पर्वत हेर्न खोज्छ उ, तर अहिलेसम्म राम्रोसंग देखेको छैन। कहिले कुहिरो डम्म हुन्छ, कहिले कसैसंग गफ गर्दा-गर्दै यादै हुँदैन। आज दिन पनि राम्रो थियो र उ एक्लै पनि थियो; तर आज पनि छुट्यो।

शहरको पुरानो भागको ‘बायोटेक बिल्डिङ’को आठौं तल्लाको एउटा हलमा थियो कार्यक्रम। सहभागीहरु आयाताकार भएर बसेका थिए। नभन्दै बूढै-बूढाहरु थिए अरु सबै। कार्यक्रम सञ्चालकलाई आफ्नो बारेमा बताएर र आफ्नो प्रस्तुतिसंग सम्बन्धित सामग्रीहरु बुझाएर चन्द्रकुमार एउटा कुर्सीमा गएर बस्यो।

कार्यक्रम सम्बन्धित ल्याबहरुको तीन महिने प्रगति बिबरण जस्तो मात्रै रहेछ। उस्को पालो चाँडैनै आयो, तर कार्यक्रम पूरै नसक्किई उठ्ने कुरो भएन। हाई काढी काढी बूढाहरुको गन्थन सुन्यो। कार्यक्रम सकिँदा साढे पाँच बजिसकेको थियो।

कार्यक्रम स्थलबाट चन्द्रकुमार सोझै सब-वे स्टेशनतिर लाग्यो। उस्लाई कतिखेर कोठामा पुगौं र त्यो पाइण्ट फुकालेर हुर्रयाऊँ जस्तो भैरहेको थियो।

शिन-कान-शेन चढेपछि चन्द्रकुमारले दुई क्यान बियर र बदाम मिसिएको स्न्याक्स मगायो। एउटा ठुलो बोझ हटेर टाउको हलुंगो भएझैं अथवा कुनै कठिन परीक्षा भर्खरै सकिएझैं भैरहेको थियो उस्लाई र उ दंग परेर बियर पिउन थाल्यो।

‘भोलि बिहानै यो पाइण्ट लगेर ड्राई-क्लीनर्सकहाँ छोड्छु। खाना खाए पछि बजार गएर अर्को एक जोर कालो सूट पनि किन्छु।‘ लगभग प्रतिज्ञाकै स्तरमा गमिरहेको थियो उ। ‘एक जोर मात्रैको भरमा बस्यो भने यस्तो अप्ठेरो पर्दो रहेछ कहिलेकाहिँ।‘

अहिले भने फुजी पर्वत हेर्न बिर्सेन उस्ले। हुनत साँझ परिसकेको थियो, तर फुजी पर्वतको आकृति भने एकदम स्पष्ट देखिएको थियो। छाती तन्काएर उभिएको महिमामण्डित फुजीलाई, हल्का अँध्यारैमा सहि, सर्वाङ्ग देखेपछि चन्द्र कुमार त्यसै त्यसै आल्हादित भयो र आधा क्यान बियर स्वाट्टै पा-यो। कुन्नि कुन खुशीले हो, चन्द्र कुमारको अनुहार उज्यालिँदै आएको थियो। खुम्चेको पाइण्ट अथवा बिहानकी त्यो केटी, दुबै उस्को मनबाट हटिसकेका थिए।

“हेलो, के छ राज यार?” कोठानिर पुग्नै लाग्दा फोन आयो।
“तँ काँ’ छस् अहिले?”
“योकोहामा गा’थें, फर्केर भर्खर आईपुग्दैछु।“
“त्यो अस्ति नयाँ वर्षको नाच याद छ नि तँलाई हैन?”
“छ, छ!” चन्द्रकुमार हौसिएर करायो। “क्या च्वाँक थी’ पातली यार!”
“सा----ला बोका! किन बिर्सिन्थिस् त?! हा हा हा!”
“भन् न कुरो के हो?”
“भोलि दिऊँसो मिए केनमा कार्यक्रम र’छ नेपाली समाजको, पातलीको डान्स पनि छ रे। तँ अहिले यतै आ। भोलि संगै जाऊँला।“

चन्द्र कुमारले हतारिँदै ढोका खोल्यो। कोट-पाईण्ट-टाइ-शर्ट फुकालेर ओछ्यानमाथि फाल्यो। हतार हतार हात-मुख धोयो र जिन्सको पाईण्ट र टि-शर्ट भिरेर बाहिर निक्ल्यो।

बाहिर हल्का चिसो भएपनि जूनेली रात थियो। कुनै पुरानो नेपाली गीतको धून सुसेल्दै चन्द्र कुमार शहरको पल्लो छेऊतिर जाने बस कुरिरहेको थियो।

************************************************

जापानी शब्दहरु:
बेन्तो:- लञ्च बक्स
शिन- कान-शेन:-बुलेट ट्रेन
केन:- प्रान्त



(यो कथामा वर्णित घटना एवं पात्रहरु सबै काल्पनिक हुन्, कसैको वास्तविक जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ। अलिअलि मेरै जीवनसंग मेल खाएमा पनि संयोग मात्रै हुनेछ।)

September 08, 2007

कथा- "एउटा सुन्दर यात्रा"

“ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले’र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।“
“पर्दैन, छोरीलाई थाहा नदी’कन जाउ। बेकाराँ रुन्छे एकछिन।“ तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे।
“ल छोरी, बाइ-बाइ गर मामुलाई!” म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै।
*******************************************
“इसुका सुपा भित्रको एउटा रेष्टुरेण्टमा आरुबाइतो बोउसिउ देखेर फोन नं ल्या’की छु। म अब शनिबार, आइतबार काम गर्छु।“
“ठिकै छ नि, झण्डै डेढ वर्ष भईसक्यो तिमी घरको घरै भएको। गरे हुन्छ।“
चार महिना पहिला हाम्रो यस्तै घर-सल्लाहबाट शुरु भएको थियो उनको दुइदिने काम। छोरी पेटमा आएको केहि महिनाबाटै उनी घरमा बस्न थालेकी, त्यतिखेरसम्म त छोरी पनि एक वर्ष कटिसकेकी थी।
********************************************
छोरी फुलिएपछि उसलाई लिएर म भित्र पस्छु र छरिएका खेलौनाहरुको माझमा उसलाई छोडेर हिजो बेलुका धोएर मेशीनमै छोडिएका लुगा सुकाउन बरण्डातिर निक्लन्छु।

‘कता गएर लडी कि क्या हो?!’ छोरी अचानक च्याँठ्ठिएर रोएको सुनेर म हतारिएर भित्र पस्छु। अचेल कुर्सी, सोफा, टेबुल जता पनि चढ्न खोज्ने भएकी छे, कतिखेर कता चढेर लड्ने हो डरमात्रै लागिरहन्छ। कोठाको एउटा कुनामा बसेर रुँदै छे छोरी। लडेकी होइन रहेछ, आफू बस्ने सानो कुर्सी घिसार्दै हिँड्दा त्यसैले खुट्टा थिचेजस्तो लाग्छ। कुर्सी उ आफैंले हटाइसकेकी थिइ म पुग्दा। म आफूले देख्ने ठाउँमा ल्याएर राख्छु ऊ, उस्को कुर्सी र ऊस्का मनपर्ने खेलौनाहरुलाई।

बिहान खाजा खाएका भाँडाहरु माझ्न थाल्छु बेला-बेला छोरीतिर पनि आँखा लगाउँदै।
अचानक छोरी रमाएर उसको बालसुलभ शैलीमा खित-खित-खित हाँसेको सुन्छु। कतिखेर-कतिखेर मेरो आँखा छलेर बाथरुमभित्र पसिसकिछे। मैले अघि ढोका लगाउन ध्याननै दिएनछु। बाटाको पानी जगले उबाउँदै आफ्नो टाउकोमा, जीउमा हाल्दै थिई ऊ। लुगा सब भिजाईसकेकी थिई।

“तँलाई बदमाश, के ग-या यस्तो?!” म उसलाई तानेर बाहिर निकाल्छु र भिजेका लुगा सबै फुकाल्दिन्छु। ऊ अब झन खुशी भएर बाथरुमतिर पस्छे। 'भएन, नुहाइदिनै प-यो।' हरेक दिन साँझमा नुहाईदिने गरेको छौं, बिहान त्यति नुहाइदिएको छैन।

नुहाइदिइसकेपछि उसलाई फेरि कोठामा खेल्न छोडेर म अघि माझ्दा-माझ्दै बाँकी रहेका भाँडाहरु माझ्न जान्छु।

‘भएन अब, पकाउने मेसो गर्नु प-यो। पकाइसकेर बस्यो भने ढुक्क।‘ भाँडा माझिसकेर म पकाउने सूरमा लाग्छु।

‘यो बदमाश--- फेरि---!’ उ कोठाको पल्लो छेउको कुर्सीमा चढेर भित्ताको पोष्टर छुने बल गरीरहेकी हुन्छे र लड्ली-लड्लीझैं भैसकेकी हुन्छे। म टिभी खोलेर कार्टून आईरहेको च्यानेल छ कि कतै भनेर खोज्छु, कुनैमा पनि हुँदैन। यत्तिकै एउटा च्यानेल लगाएर उसलाई कुर्सीमा राखेर छोड्छु। ‘एकछिन त अल्मलिन्छे होली यसमा।‘

म अझै खाना बनाउँदै छु (साह्रै सुस्त छु म यो काममा!), छोरी गनगन गर्न थालेकी छे, टिभीले बाँध्न सकेन उसलाई। उ भान्छामै आउँछे र मेरो पछिपछि लाग्छे, मलाई समातेर लुटुपुटु गर्दै। कुनै उपाय बाँकी छैन मसंग अब, यसैगरी काम गर्नु बाहेक।

खाना बनाईसक्दा साढे दश बज्छ। अरु दिन उस्को होइकुएनमा खुवाउने समय एघार बजे हो। आधा घण्टाको लागि कोठा अगाडि निक्लन्छु म छोरी र एउटा ठूलो तर हल्का बल लिएर। भर्खर-भर्खर खुट्टाले हान्न जानेकी छे उसले, तर अझै पनि बढी हातैले बोकेर फ्याँक्न रुचाउँछे। छोरीसंग बल खेलेर, अगाडि-पछाडि कुद्दै ‘भेट्टाएँ--!’ खेलेर र कहिले उसलाई चरी देखाएर आधा घण्टा कट्छ।

अहिले रमाइलो ‘मुड’मा छे, खाना सजिलै खान्छे होला भन्ने मेरो सोचाइ गलत निस्कन्छ। गनगन गर्दै ‘खान्न, खान्न’ भनेझैं टाउको हल्लाउँदै कम्प्युटरतिर देखाउँछे। खाना खाँदा ‘यू ट्यूब’मा नेपाली लोकगीत हेर्ने बानी लागेको छ उस्को (आफूलाई सजिलो गराउन हामीलेनै लगायौं भनौं न अब साँचो कुरा गर्नुपर्दा!)। म एउटा बीस मिनेटजति लामो दोहरी गीत छान्छु, तर ऊ रुन थाल्छे, अचेल यो धेरै सुन्दा-सुन्दा मन पर्न छोडेजस्तो छ। धेरै नयाँ गीत खोज्न मलाई बाध्य पार्छे आज ऊ।

उसलाई खुवाएर म आफैंले पनि खाईसक्दा बाह्र कटिसक्छ। ऊ मेरो हात समातेर मेरो ध्यान तान्छे र ढोकातिर देखाएर ‘हुँ---हुँ’ गर्छे। बाहिर जाउँ भनेकी हो उसले।
“काँ बाहिर जानु नि अहिले, गर्मी छ बाहिर---!” तर ऊ मान्दिन, खुट्टा बजार्दै रुन थाल्छे। कसरी यो खुट्टा बजार्ने बानी आयो, थाहा छैन। बच्चाहरु बढ्दै जाँदा स्वाभाविक रुपमा आफैं आउने हो कि?
म उसलाई लिएर बाहिर निक्लन्छु। तर उसको सूर यहाँभन्दा परको रहेछ, मलाई भ-याङ्गसम्मै लान्छे तानेर र ‘तल जाऊँ’ भनेर माग गर्छे।

“तल जानु हुन्न बाबा, गर्मी छ एकदम। हिँड भित्र जाऊँ।“ तर ऊ डेग चल्दिन त्यहाँबाट।
“जानेभए आफैं जाउ, म भित्र गएँ, बाइ-बाइ!” उसलाई धम्की दिन्छु म र कोठातिर फर्किन आँटेजस्तो गर्छु।

तर मेरो मतलब गर्दिन ऊ, तल ओर्लिन सिँढीमा एउटा खुट्टो राख्छे र मतिर हेर्छे, ‘मलाई समात्न आउने भए आइज, नत्र म आफैं ओर्लिन खोजेर लडिदिन्छु, अनि थाहा पाउलास्!‘ भनेजस्तो गरेर। मेरो धम्कीलाई निस्तेज पारिदिन्छ उसको धम्कीले!

“बदमाश! कति दु:ख दिन जान्या होला---!” उसको हात समातेर ओर्लिन थाल्छु म।
तल पुगेपछि ऊ मेरो हात फाल्दिन्छे र सडकतिर दौडिन खोज्छे। उसको गति नियन्त्रण गर्न हम्मे-हम्मे पर्छ मलाई। एकदम रिसाउँछे पनि ऊ आफूले चाहेको जसरी स्वच्छन्द दौडिन नपाएकोमा।

ऊ घरनजिकैको एउटा उद्यानतिरको बाटो समाउँछे। ठाऊँ र दिशा अलिअलि सम्झिन सक्ने भईछे अब। एकछिन पछि-पछि लाग्छु म, एकमन लाग्छ ‘उद्यानसम्म लैजाउँ छोरीलाई, पिङ्ग खेल्छे, कुद्छे, रमाउँछे।‘ तर प्रचण्ड गर्मी छ, ‘यो गर्मीमा धेरै बाहिर राख्यो भने यो बिरामी हुन्छे।‘ म उसलाई बोक्छु र घरतिर फर्कन्छु। कोठामा पसुञ्जेलसम्म पनि ऊ रुँदै, छटपटाउँदै र रिसले मेरो मुख कोतर्दै, मेरो कपाल भुत्लाउँदै हुन्छे।

म कोठामा छरिएका खेलौनाहरु र लुगाहरु मिलाउन थाल्छु। रुवाइ रोकिईसकेको छ उस्को र ऊ मेरो लुगा समातेर मेरो पछि-पछि लागेकी छे। खुब मनपर्छ उसलाई यसो गर्न। हिँडिरहँदा आफ्नो ‘जिबरीश’ बोलीमा के के भनीरहेकी पनि हुन्छे।

एकछिनपछि ऊ आँखा मिच्दै रुन थाल्छे। मलाई थाहा छ, यतिखेरको रुवाईको कारण। ऊस्को सुत्ने समय भयो। पहिला अलि-अलि पढिएको मात्रै थियो, अहिले अनुभवनै भयो, बिरामी भएको बेला बाहेक बच्चाहरु एकदम नियमित समयतालिका अनुसार सुत्ने-उठ्ने गर्छन्। म हतार-हतार उस्को विछ्यौना मिलाइदिन्छु र उसको मुखमा ‘‘स्याबुरी’ राखिदिन्छु। एकछिनमै निदाउँछे उ।

ऊ ननिदाउञ्जेल उसलाई थपथपाउँदै विछ्यौनामा पल्टिँदा म पनि उँघ्न थालिसकेको हुन्छु। आज बिहान चार बजेतिर छोरी एकछिन गनगन गरेकी थिई। ऊ त एकछिन पछि फेरि निदाईहाली, हामी भने फेरि निदाउन सकेनौं। त्यसैले एकदम निद्रा लागेको छ मलाई। तर सुत्ने समय छैन मसंग! छोरी सुत्ने दुई-साढे दुई घण्टाभित्र धेरै काम गर्नु छ मैले। ‘बाथरुम सफा नगरेको धेरै दिन भईसकेको छ, ‘चौतारी’ पढ्नु छ, ‘कान्तिपुर’ पढ्नु छ, ‘ब्लग’मा केहि नलेखेको हप्ता कट्न आँटिसक्यो (बेकारमा थपिएछ यो बोझ जिन्दगीलाई!), कोहि साथी ‘लाइन’मा आए ‘च्याट’ गर्नु छ---‘। एक कप चिया बोकेर म कम्प्युटरको अघिल्तिर टाँसिन्छु।

अहिले बल्ल थाहा पाउँछु म आफू कति थाकेको रहेछु भनेर। पहिला-पहिला पूरै समय उनले छोरी हेर्दा ‘एकदिनभरि छोरी एक्लैले स्याहार त, कति गाह्रो हुन्छ!’ भनेर उनले भन्दा त्यसै हाँसेर उडाइन्थ्यो, अहिले बल्ल बुझ्दैछु।

पत्रिकाका खबरमा खासै मन जाँदैन, टाउके खबर (हेडलाइन) हरु मात्रै पढ्छु। अनि ‘चौतारी’ पस्छु। कोहि पनि नहुने समय भएछ। सबैभन्दा पछिल्लो पोष्ट पनि एक घण्टा पुरानो भईसकेछ। एक राऊण्ड चौतारीको हावा खाँदै गाम्लेका कुरा पढेर एक्लै हाँसिसकेपछि म फेरि कुर्सीमै ऊँघ्न थाल्छु।

दुईटा साथी त देखिएका छन् लाइनमा तर ‘भाँडमा जाओस् आज च्याट-स्याट पनि!‘

छोरी उठेपछि उसलाई लिएर म उद्यानतिर लाग्छु। गर्मी छ अझै, तर ‘यत्तिको गर्मीले त खासै फरक नपर्ला।‘ केहि अरु बच्चाहरु खेल्दै थिए। छोरी सोझै पिङ्गतिर जान्छे। म उसलाई पिङ्गमा राखेर मच्चाइदिन्छु। ऊ खुशीमा के के ‘जिबरीश’ बोल्न थाल्छे फेरि। म अगाडि गएर उस्लाई जिस्काउँछु र बेला-बेला पिङ्ग मच्चाइदिइरहन्छु।

“छुटेको हो तिमी?” उनको फोन रहेछ।
“हो। तिमीहरुका बाउ-छोरी छोरी काँ’ नि’ अहिले?”
“पार्कमा।“
“छोरी के गर्न लागेकी छे नि’?”
“पिङ्ग खेली अघाउञ्जेल। अहिले त्यो काठको घोडाजस्तो के जातीमा बसेर हल्लिराखेकी छे।“
“म त्यतै आउँ?”
“भयो अब, धेरै बेर भईसक्यो। बरु हामी घरतिरै आउँछौं।“

“छोरी, हेर त को आयो?” घरनिर उनी देखिन्छिन्।
“माम्मा---!” छोरीको अनुहार उज्यालो हुन्छ।
उनी अलिक परै उभिएर आफ्नो अँगालो फैलाउँछिन्। छोरी दोडिँदै उनीतिर जान्छे। उनी छोरीलाई उचालेर एकचोटि माथिसम्म पु-याउँछिन्, अनि काखमा लिन्छिन् र चुप्प गर्छिन्।

म मन्त्रमुग्धझैं हेरिरहन्छु। जिन्दगी मलाई कुनै अनवरत सुन्दर यात्राजस्तै लाग्छ।

***********************************

प्रयोग गरिएका जापानी शब्दहरु:

इसुका: काल्पनिक ठाऊँको नाम
सुपा: ‘सुपरमार्केट’ को जापानी बोली
‘आरुबाइतो बोउसिउ’: ‘पार्ट टाइम काम गर्नेहरुको आवश्यकता’
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
स्याबुरी: (विशेष गरी) सुत्ने बेलामा बच्चालाई चुस्न दिइने चिज, अंग्रेजीमा Pacifier

September 07, 2007

कथा- "घाम ओर्लिएको छ सडकमा"

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।
“बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्।
हामी खाजा खान थाल्छौं। हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, बिदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे।
“उठाए हुन्छ नि अब, सात बजिसक्यो।“
“के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला।“ यो हाम्रो लगभग दैनिकजस्तो सल्लाह हो!
********************
“साढे सात भईसकेछ। मलाई ढिला हुन आँट्यो, केहि गर्नु छ मैले?” तयार हुँदैछिन् उनी। एउटा कम्पनीमा इण्टर्नशिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ। यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएन सम्म लाने जिम्मा मेरो छ। बेलुका उनी लिएर आउँछिन्।
“होइकुएनमा लानुपर्ने सामान मिलाईदेउ। अरु म गरौंला।“
“छोरीको बिछ्यौना यो ठूलो झोलामा छ। पाँचवटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ। टि-शर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ।“ बोल्दा-बोल्दै उनी ढोकासम्म पुगिसक्छिन्।

म ढोका लगाएर आउँछु। पहिला उसको ज्वरो नाप्छु, अनि बेबी केयरको नोटबुकमा तापक्रम चढाउँछु। ज्वरो त छैन। अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु। आफू एकदम निर्दयी भएजस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु। तर अरु केहि उपाय छैन मसंग अब। एकदम ढिला भईसक्यो मलाई।
“छोरी! बाबा! उठ त अब!” म विस्तारै बोलाउँछु, उ अझै मस्त निद्रामा छे।

एक छिनपछि उ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे।
“उठ छोरी अब! पापालाई ढिला हुन्छ नि फेरि!”
भर्खरै पिसाब गरेकी रहिछे। म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु। उ अझै गनगन गर्दैछे। आज अलि बढीनै झर्किरहेकी छे, सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी।

म उसको हात समातेर उसलाई वाश बेसीनतिर लैजान्छु। हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु। उसलाई उसको सानो रंगीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने –याले भिराइदिन्छु। अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु। हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटो भन्दा यहि चाँडो होला जस्तो लाग्छ। अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु। शुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे। कहिले हल्का हप्काएजस्तो गरेर, कहिले गीत गाएर फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु। त्यसपछि अघि बनाएर बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु। उ बोतलबाट दूध पिउन थाल्छे। अनि हतार-हतार बेबी केयरको नोट बुकमा हिजो बेलुका देखि अहिलेसम्मको उसको स्वास्थ्यस्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु।

आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेटमात्रै बाँकी हुन्छ। ‘समयमा त आज पनि नपुगिने भइयो।‘ मनमा यहि मात्रै हुन्छ। ‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ। आठमा हिँडे भने आठ बीससम्म त पुगिहाल्छु। अनि त्यहाँ तिन मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे आठको ट्रेन पक्कै भ्याउँछु।‘ बेबी केयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन। ‘भनेजस्तो कहाँ हुन्छ र, भ्याइन्न होला।‘

उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केहि गन्हाएजस्तो लाग्छ। दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म। नभन्दै हो रहेछ, दिसा गरिछे। फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु।
“बदमाश! अघि त्यतिञ्जेलसम्म नगर्नी, अहिले हिँड्ने बेलाँ गर्नी?!” म भुत्भुताउँदै ओमुचु ‘गोमी हाको’मा हाल्न बरण्डातिर निक्लन्छु।
म फर्केर आउँदा छोरी कोठामा हुन्न। हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे। ‘सुकेकै लुगा त हुन्, के होला र?’ भनेर छोड्दिन्छु।

तर भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमी हाको’ लडाएर फोहर सबै छरेर!
“छोड्---! के ग-या यो---?” साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म। म झर्केको देखेर ऊ रुन थाल्छे। यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ तर यो गर्मीमा भान्छाको फोहरलाई यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु। फोहर सबै उठाउँछु, भुईँमा लागेको दाग भने नपुछी छोड्दिन्छु।
‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ!‘ म ट्याक्सी बोलाउँछु।

अघि मेरो हप्काइले शुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ।
“खावाइ ने!” ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छन्। छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरल्ने पाराले रुन थाल्छे। सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई!’ म फुलाउने कोशिश गर्छु।

उसलाई फुलाउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन्। धेरै दिन भईसक्यो यसरी ढिला-ढिला जान थालेको। अफिसमा कसैले ठाडै त केहि पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके। हाकिमले पनि थाहा पाईसक्यो होला यसरी म लगातार जसो ढिला आउन थालेको। कुनदिन ‘निक्ली’ भनेर कागत दिने हो! आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ यसरी सबैको नजरमा कामचोर देखिन परेकोमा, एक किसिमले नेपालकै छवि बिगार्ने बनिएकोमा। ‘छोरीलाई संगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै प-यो, नसकिने भइयो!’ दिक्क मान्दै सडकतिर हेर्छु म। अघिनै उदाएको भएपनि घाम अझै सडकसम्म आईसकेको छैन, अग्ला घरहरुले अझै छेकेका छन्।

“ उ चरी हेर त छोरी, चरी आएछ नि!” केहि गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म। चरी देखिने न त कहाँ हो र कंक्रिटको जंगलमा!
“देतेत, देतेत----“ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे। यो ‘देतेत, देतेत----' केहि पहिले एकदिन सुत्ने बेलाँमा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले। वास्तवमा ‘ताराबाजी लै लै---‘ बाहेक मैले जानेको अर्को लोरी त्यत्ति एउटा मात्रै हो (उसकी आमाले दशौं लोरी जानेकि छिन्! )। त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन।

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

यो लोरी पनि मैले जानेको यत्तिमात्रै हो। यसमै म जेपनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ---‘ आदि। अनि उसले ‘देतेत’ भन्न जानेकी छे। ‘चरी’ भन्ने शब्द सुनेपछि उ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे।

छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दैछे, उसको अनुहार उज्यालिएको छ। बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ। मेरो मन पनि उज्यालिन थाल्छ। ‘किन नेपाल पठाउनु छोरीलाई?! बरु अलिक लचिलो कुनै काम खोज्छु र यो काम छोडिदिन्छु। केहि लागेन भने ‘घण्टे’* हुन तयार छु। छोरी त आफैंसंग राख्नुपर्छ----! यत्री त बनाईयो, अब झन सजिलो होला हुर्काउन---!’

अनि म पनि हल्का ताली बजाउँदै छोरीसंगै गाउन र हाँस्न थाल्छु,

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दंग परेर ऐनाबाट हेर्दैछन् हामीलाई।

घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ।
***************************************************
***************************************************

प्रयोग गरिएका जापानी शब्दहरु:
ओमुचु: डायपर
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
गोमी हाको: फोहर हाल्ने भाँडो
खावाइ ने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा
--च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि ‘च्यान’ जोडेर बोलाईन्छ। नेपालीको 'नानी'संग नजिक छ।

*र जापानी त हैन तर त्यो ‘घण्टे’ भन्ने शब्दको बारेमा। घण्टाको हिसाबले दाम पाईने ‘पार्ट टायम' कामलाई मैले मेरो पाराले न्वारान गर्देको!




(तस्बीर स्रोतः https://unsplash.com/photos/grEHYPIdqZs)















August 10, 2007

कथा- "मानबहादुर कतैपनि परेन!!"

सडक कार्यालयको जिल्ला प्रमुख भोजप्रसादको इज्जतदार,शान्त र सुरक्षित जीवनमा अचानक ठूलो आँधी आएजस्तो भयो। सर्सीहा जिल्लाको अलिक भित्रको देहातमा सडक पिच गर्ने बजेटसंग जोडिएर आएको आँधी थियो यो। बाक्लो बस्ती भएको र तिब्र गतिमा नयाँ बजारको रुपमा विकास भईरहेको हरिगञ्ज नाम गरेको यो क्षेत्र पहिलेदेखिनै जनश्रमदानले बनेको एउटा कच्चीनै सही, फराकिलो बाटोले सदरमुकामसंग जोडिएको थियो, । यो कच्ची बाटोमा पूरै ग्राभेल गर्ने र प्रमुख भागहरुमा पीच गर्ने भनेर सरकारले पैसा दिएको थियो, गत वर्षको बजेटमार्फत। यो भेगको लागि सरकारले पैसा छुट्याएको इतिहासमै यो शायद पहिलो पटक थियो।

बजेट ‘नेपाली’ पाराले खर्च भएको हुनाले पिचको त कुरै नगरौं, ग्राभेल पनि सबै ठाउँमा हुन सकेको थिएन। छरेको ग्राभेलको गुणस्तर पनि असारको पहिलो साता अचानक परेको एकदिने झरीले छर्लङ्गै पारिदियो! बाटो अब झन बिग्रियो र कुरुप पनि देखिन थाल्यो। ब्यापक भ्रष्टाचार भएका समाचारहरु आए र सबैमा जिल्ला प्रमुख भोजप्रसादको नाम जोडिएर आयो। सानोतिनो आँधीलाई त भोजप्रसाद आफ्नो पहुँच र प्रभावका भरमा थाम्न सक्थ्यो, तर यो कुराले भने साह्रै ठूलो रुप लियो। निकट भविष्यमै पदोन्नति हुने ‘लाइन’मा भएकोले उ यो कुरा सकेसम्म थामथुम भएर सेलाएको देख्न चाहन्थ्यो। उसले चाकडी बजाएका उ माथिका हाकिमहरुले पनि एकचोटि हरिगञ्जमै गएर आफैंले जनताको चित्त बुझाउन र साथसाथै काम नसकिनु र राम्रो हुन नसक्नुका कारणहरु खुलाएर पत्रिकामा लेख्न सल्लाह दिएपछि त्यता जानैपर्ने भयो उसलाई।

मधेशमा फैलिरहेको अशान्ति र हिँसाले गर्दा देहात त के सदरमुकाम बजारपुरमै पनि बस्ने आँट थिएन भोजप्रसादको। यस पटकपनि एक महिना लामो काठमाण्डौं बसाइ पछि अस्तिमात्रै उ आएको थियो जिल्लामा। हिजो दिनभरि जिल्ला कार्यालयका अरु कर्मचारीहरुलाई फकाउन ब्यस्त भयो उ, हरिगञ्ज पठाउन। छिटो बढुवा अथवा आवश्यक परे अलि धेरैनै पैसा कै लोभ देखाएर अर्को कुनै इञ्जिनीयरलाई पठाउने र आफू सदरमुकाममै बस्ने सूर थियो उसको। तर जान कोहि पनि तयार भएन। देहात पस्न सबै त्रसित थिए। आफू जानै परे पनि अर्को कोहि साथ लिइ जाने चाहना थियो उसको। कसै-कसैलाई त धम्कीकै भाषा पनि प्रयोग गरेको हो उसले ‘जागिर खादिन्छु!--- ‘ अथवा ‘स्थायी हुन दिन्न तँलाई!---‘ भनेर, तर ज्यानको माया जागिरको मायाभन्दा ठूलो निक्लियो। बल्ल-बल्ल एउटा भर्खरै आएको ठिटौले इञ्जिनीयर तयार भयो जान। उ पनि हाकिमसंगको डरले नभइ, ‘देहात अहिलेसम्म गा’ छैन, एकचोटि जाउँ र हेरौं।‘ भन्ने विचारले मात्रै जाँदै थियो।

कसैले भोजप्रसादलाई हरिगञ्जको गाविस सचिव रामध्यानको सदरमुकामस्थित डेराको ठेगाना दियो र त्यो गाउँको वस्तुस्थिति बुझ्न उ रामध्यानकहाँ पुग्यो। केहि महिनादेखि सदरमुकाममै बसिरहेको रहेछ रामध्यान। हरिगञ्जमा अहिले अन्तजस्तो अशान्ति नभएको खबर पाएकोले चाँडै उतै फर्किने सूरमा रहेछ रामध्यान पनि। भोलिपल्ट संगै जाने सल्लाह भयो उनीहरुको।

भोलिपल्ट बिहान सबेरै जिल्ला कार्यालयमा जम्मा भए उनीहरु। अलिक गन्यमान्यको घरअगाडि हाल्न हुन्छ भनेर १५-१६ वटा ठूल्ठूला बोरामा राम्रो गुणस्तरको रोडा भरेर राखिएको थियो। देखाउनकै लागि भएपनि सर्भे गर्ने इत्यादिका दुई-चार गह्रौं सामानहरु पनि लाने कुरा सुनायो भोजप्रसादले, रंगीचंगी, अनौठा र गह्रौं सामान देखेपछि साँच्चै काम गरेको मान्छन् जनताले भनेर। कार्यालयका श्रमिकहरुले गाडीको पछिल्तिर सामान त भरिदिए, तर देहात जान तयार भएनन्। बजारमा मान्छे खोज्न थाले उनीहरु। बजारका स्थानीय पनि कोहि पनि देहात पस्न तयार भएनन्।

“उ त्यो मान्छेलाई बोलाउनुस् त। ‘लोकल’ होइन जस्तो छ, जान्छ होला।“ अलिक पर बस कुरेर उभिईरहेको, पुरानो र मैलो कट्टू, टी शर्ट र हवाइ चप्पल लगाएको, हेर्दा तीस बर्षजतिको लाग्ने पहाडी अनुहारको एउटा मान्छे देखाएर भन्यो भोजप्रसादले। आफूचाहिँ किन हो कुन्नि, गाडीबाट बाहिर निक्लियो।

गाविस सचिवले गएर कुरा ग-यो त्यो मान्छेसंग। दुबैजना गाडीतिर आए।
"दिउँसो दुई बजेसम्म त पक्का आइपुगिन्छ है हजुर?!” त्यो नयाँ मान्छे गाडीमा बसुञ्जेलसम्म पनि रामध्यानसंग सोध्दै थियो।

एकछिनपछि भोजप्रसाद अर्को गाडी लिएर निक्लियो कार्यालयबाट, आफैंले हाँक्दै।
"तपाईँहरु त्यसमा जाँदै गर्नुस्, कृषिमा पस्नु छ मलाई एकछिन, साथी भेट्न।“
सचिवहरु बसेको गाडी अघि लाग्यो। भोजप्रसाद एकछिनपछि कृषि कार्यालयतिर मोडियो।

“नाम के हो तिम्रो दाइ?” काम गराउन ल्याईएको मान्छेसंग कुरा गर्न थाल्यो इञ्जिनियर।
“मानबादुर हजुर।“
“घर काँ’ नि?”
“घर त पहाड इलाम हो हजुर!”
“इलामको मान्छे कसरी याँ त?!”
“अस्ति झापा झ-या थें हजुर, ढुंगाको टरकमा। त्याँ बाट हिजो फेरि सिमेण्टको टरकमा यता आइयो। आज भरे त जसरी नि फर्किनुपर्छ।"

***************************************
फड्केसाँघुको मावलीबाट फर्केर टारीखर्कको आफ्नो डेरामा मखमली आईपुग्दा झमक्क साँझ परिसकेको थियो। ढोकामा अझै ताल्चा झुण्डिएको देखेर छक्क परी उ। अस्ति उसका बूढा झापा झर्न निक्लँदा उ पनि संगै निक्लेकी थिई र मामाघरतिर लागेकी थिई। अनौठो लाग्यो उसलाई। पहिला-पहिला त राम्रो काम पाउँदा दुई-चार दिन, एक-दुई हप्तै पनि हराउँथे उसका बूढा, तर पोहर छोरो जन्मेपछि भने सकेसम्म परिवार छोडेका थिएनन्। छोडिहालेपनि एक रातभन्दा बढी छोड्दैनथे। कता पुग्या होलान् कुन्नि?
भात पकाउन मन लागेन मखमलीलाई। छोरालाई लिटो खुवाएर सुताईदिई। आफू भने माइज्यूले हाल्दिएको चिउरा अलिकति र पानी खाएर सुती। ‘कतै राम्रै काम पाएर त बसे होलान् 'नि। भोलि बिहान काठमाण्डुबाट आ’को रात्रि बस समातेर आईपुग्लान्।' भन्ने तर्कना गर्दै निदाई।

*****************************************************
त्यो दिन दिउँसो चार बज्दा हरिगञ्ज पुग्नु अगाडिको एउटा सानो खोल्सामा सडक बिभागको जलेको गाडीमात्र बाँकी थियो। पहरा दिन बसेका दुईजना प्रहरीहरुपनि अलि टाढै थिए।

गाडीमा भएका चारैजनालाई भित्रै थुनेर कसैले आगो लगाईदिएको रहेछ। मुख डढेर कुनैपनि लाश चिनिने अबश्थासम्म पनि थिएन रे। कसैको घडी र कसैको हातको औँठीका भरमा गाडी चालक, सचिव र इञ्जिनियरका लाशको सनाखत भयो। एउटा लाशको भने कसैगरी सनाखत हुन सकेन। दुई दिनपछि त्यो लाशलाई बेवारिशेको दर्जा दिँदै अरुभन्दा पहिलेनै जलाईयो। लाशसंगै त्यो लाशको चर्चा पनि आगोमा बिलायो।

अँ, त्यो घटना हुँदासम्म भोजप्रसाद साथीको कार्यालयमा चिया खाँदै थियो रे।

उता तीन लाशले देशभरि आन्दोलनको नेतृत्व गरे। रामध्यान मारिएको विरोधमा गाविस सचिवहरुले आन्दोलन गरे, उता इञ्जिनियरहरु पनि कोहि सडकमा निस्किए, कोहि ‘माथि’नै पुगेर सरकारलाई थर्काउन थाले। गाडी चालकहरुले देशै ठप्प पार्दिए। सरकारले सबैको माग पूरा गर्दियो, मृतकका परिवारले दश-दश लाख पाउने भए। सचिवको परिवारलाई सचिवहरुको संगठनले, इञ्जिनियरको परिवारलाई इञ्जिनियरको संस्थाले अनि चालकको परिवारलाई चालकहरुको संस्थाले अरु थप सहयोग गरे।

अनि देशको शहीदको खातामा तीन नामहरु थपिदियो सरकारले।

मानबहादुर कतैको पनि थिएन, उसको परिवारले केहि पनि पाएन। सरकारको 'शहीद' कोटामा पनि उ परेन।

तर के उ यो देशको पनि थिएन?!

(माथिको कथामा वर्णित पात्रहरु र घटनाक्रमहरु सबै काल्पनिक हुन्, मेरो देशको वर्तमानसंग अलि-अलि मिल्न गएमा त्यो संयोग मात्र हुनेछ।)

July 24, 2007

कथा- "कुँडो"

(यो मेरो अलिक पहिलेको कथा हो। पढिसकेका साथीहरुसंग दोहोरिएकोमा क्षमाप्रार्थी छु। आशा छ नयाँ पाठकहरुले मन पराउनुहुनेछ।)

“कुँडो”


“ए----! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै उ पुस्तकालयमा पुग्दा अरु सबै भेला भईसकेका रहेछन् तर उ पनि खप्परेले ध्यानै दिने गरी ढिलो भने पुगेन, ठीकै भो।

हुनत आज शुक्रबार हो, सप्ताहन्तको साँझ रमाईलो गर्नुपर्ने हो तर यो सेमेष्टर ओमेको सप्ताहन्त छैन भने पनि हुन्छ। उसले डेढ वर्ष पहिलेनै निवेदन हालेको थियो पुस्तकालयमा काम गर्नको लागि, तर अहिले आएर मात्रै मिलेको थियो हप्ताको एक दिन, शुक्रबारको लागि, दिउँसो चारबाट बेलुका नौ बजेसम्मको। भेटेको काम छोड्ने कुरो भएन, ‘बरु शनिबार-आईतबारको बाइतो अलिक कम गर्नुपर्ला।‘ भन्ने सोचेर पुस्तकालयको काम शुरु गरेको थियो उसले।

पुस्तकालयको कर्मचारी खप्परे (खास नाम त माचीमुरा हो क्या रे!) पुस्तकालयमा पार्ट-टाइम काम गर्ने विद्यार्थीहरुको सुपरभाइजर थियो। खप्परेले सबैलाई काम बाँडफाँड गरिदियो। ओमे दोश्रो तल्लातिर लाग्यो, फिर्ता आएका किताबहरुले भरिएको ट्रली गुडाऊँदै। किताब आफ्नै सूरले बिस्तारै मिलाएर उ पहिलो तल्लामा फर्किँदा झण्डै छ बजिसकेको थियो। अब दुई घण्टा यहिँ थियो उस्को पालो। किताब इस्यू गर्ने काउण्टरमा बस्यो उ। किताब फिर्ता लिने पट्टि एउटा जापानी केटो थियो। अघिल्ला हप्ताहरुमा देखेको थिएन ओमेले उस्लाई। अरु कुनै दिनको होला, कसैसंग काम साटेको होला आजको लागि।

एक घण्टा जति पछि अलिक होलो भयो। जापानी केटाले उतिर हेरेर टाउको झुकायो, ओमेले पनि प्रत्युत्तरमा टाउको झुकायो। ओमे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आओकी रे। एकछिन आ-आफ्नो पढाईको कुरो भयो।

“कहाँ बस्छौ तिमी?” आओकीले सोध्यो।
“नजिकै छ, हिँडेर जाँदा पनि दश मिनेटमात्रै लाग्छ।“
“अनि खाना के गर्छौ नि? आफैं बनाउँछौ?” एक छिन पछि फेरि कुरो उप्कायो आओकीले।
“विहान त यतै कलेजतिरै खान्छु, तर बेलुका भने आफैं बनाउँछु।“ नियमित प्रश्नको नियमित उत्तर दियो ओमेले। एकछिन आफैँ पकाएर खाँदा सस्तो पर्ने कुरा, नजिकका सुपरमार्केटहरुमा सामानको भाउको कुरा, आदि अरु नियमित कुराहरु भए।
“तिम्ले बना’को नेपाली खाना खुब मिठो हुन्छ होला है!?” जापानीले फेरि कुरा शुरु ग-यो।
“अँ---, मिठ-मिठै हुन्छ।“ ओमेले जवाफ दियो अक्मकिएर। ओमेलाई खाना बनाउन खासै आऊँदैन, साँच्ची भन्ने हो भने उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ओमेहरुको भाषामा यो कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर उनीहरुले पकाउने झोल हालेको तरकारी हो। प्याज, डीप फ्रीजको कुखुराको मासु र आलु भुटेर त्यसमा मसला-नून-अदुवा-लसुन-गोलभेंडा र चाहिनेजति पानी राखेर छड्काएपछि साधारण कुँडो तयार हुन्छ। थप्न मन लागे पालुंगोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपेपनि भो। ओमेहरुको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ।

भोक लागेको बेलामा कुँडो सम्झिनाले ओमेको भोक दुईगुना भयो। कतिखेर काम सकिएला र कोठामा पुगेर कुँडो बनाएर खाउँला भनेर थुक निल्न थाल्यो उ। तर काम सकिन अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झेर रसाएको मुखलाई सहेर नौ बजेसम्म बस्नुको विकल्प थिएन उसंग।

आठ बजेपछि तेश्रो तल्लाको काउण्टरमा बस्ने पालो प-यो उस्को। तेश्रो तल्ला अँग्रेजी पुस्तक-पत्रिकाहरुको तल्ला भएकोले दिउँसो पनि खासै भिड हुँदैनथ्यो, अहिले साँझमा त कोहि पनि थिएन। विशाल हलको ओल्लो छेउ देखि पल्लो छेउसम्मको सूनसानले उस्को भोक र कुँडोको चाहना लाई अझ बढायो। इण्टरनेटमा बसेर समय बिताउन सकिन्छ कि भनेर पनि कोशिश ग-यो उसले, तर इण्टरनेटमा झन झर्को लाग्यो उस्लाई यतिखेर। कम्प्यूटरबाट उठेर पानी खायो र हललाई एक छेउ देखि अर्को छेउ सम्म नाप्न थाल्यो।

‘कुँडो अलि धेरैनै पकाउँछु आज।‘ उ टहल्दै, गम्दै थियो। ‘गोलभेंडा त छ, पालुंगो छैन कि, पालुंगो रैनछ भने मसिनो च्याउ छ, आज कुँडोमा च्याउ पनि हाल्दिन्छु। जाँदाखेरि दुई-तीन क्यान बियर पनि लानुपर्छ कि क्या हो! फिट्टू भ’र भोलि बिहान दश बजेसम्म सुत्छु अनि।------ तर बियर लिन त दश मिनेट नहिँडी हुन्न नजिकको कोन्बिनिसम्म पुग्न, के गर्नी होला---? ----‘

बल्ल-बल्ल नौ बज्यो। यताउता गरेर पुस्तकालयबाट उ निस्कँदा सवा नौ भईसकेको थियो। कोन्बिनी पुगेर बियरको एउटा सानो केसनै किन्यो उसले, पछिलाई पनि हुन्छ भनेर। कोठामा आईपुग्दा दश बजिसकेको थियो।

ढोकाबाट पस्नासाथ भान्छा थियो उसको। भान्छा भन्दा उता सुत्ने कोठा। यो सुत्ने कोठामा एउटा टेबुल थियो, त्यो टेबुलको कारणले गर्दा यो कोठा खाने कोठा पनि भएको थियो। उ भान्छाको बत्ती पनि नबाली फ्रीजमाथिको एउटा प्लाष्टिकको बट्टा टिपेर सोझै कोठातिर लाग्यो। टेबुलमाथि एउटा पत्रिकाको टुक्रो ओछ्यायो र बट्टाको दालमोठ-चिउरा स्वार्र्—पारेर खनायो, आधा माना जति। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर बियरको एउटा क्यान खोल्यो र लगभग एक तिहाई जति घुट्क्यायो। यति ईन्धन हालिसकेपछि उ कुँडो पकाउन कस्सिएर शर्टको बाहुला सार्दै भान्छातिर लाग्यो।

“थुक्क----! धत्तेरिका स्-----स्साला!” भान्छाको बत्ती बल्नु र उ कराउनु एकैचोटि जस्तो भयो। वाश-वेसीनमा टन्न जूठा भाँडाहरु थिए। बल्ल याद आयो उस्लाई, यी भाँडाहरु सोमबार रातिदेखिकै हुन्। मंगलवार एउटा काम परेर नागोया गएको थियो र फर्किँदा रेलमै बेन्तो किनेर खाएको थियो। अस्ति राती कप-रामेन खाएको थियो र ल्याबमै सुतेको थियो। हिजो चन्द्रेको कोठामा सुतेर आज त्यतैबाट कलेज गएको थियो।
-------------------

ओमेले यो सप्ताहान्त पनि चाउचाउ-अण्डाले मनायो।
(डिसेम्बर ८, २००६; खासुगाई, आईची, जापान)
*******************************************************

यो कथामा प्रयोग गरिएका जापानी शब्दहरु:

बाइतो: पार्ट-टाईम काम
बेन्तो: लञ्च बक्स
कोन्बिनि: convenience store जनाउने जापानी शब्द
कप-रामेन: डिष्पोजेवल कपमा हुने तयारी चाउचाउ (त्यहि कपमा तातो पानी हालेर चाउचाउ खाए हुने, पकाउन छुट्टै भाँडो नचाहिने)