-कविता-
परदेशी
एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,
खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,
भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?
किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!
एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
”तिम्लो घल काँ?”*
एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,
एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।
*"तिम्लो घल काँ?” - बच्चाहरुको तोते बोलीमा “तिम्रो घर कहाँ?”
(रचना मिति:अक्टोबर, २००५)
कविता साह्रै मर्मस्पर्शी लाग्यो मलाई चाँहि, अनि सटिक रुपमा पस्किएको, मानव बुझाइ अनि भोगाइ वास्तविक लाग्यो ।
ReplyDeleteसाँच्चै मन छोयो वसन्त जी , वर्षौं परदेशीएका हामी सबैको उदगार बोकेको छ तपाईंको कविताले ।
ReplyDeleteWonderful composition! It's one of the best poem that I have come across in recent times. Basantji, I wish you write more in coming days... Lines like
ReplyDeleteभोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?
...
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!
...
तीन वर्षे भतिजीले सोधी
”तिम्लो घल काँ?”
...
you are awesome in expressing sentiments of many Nepalese living/staying abroad.
intresting and good peom..
ReplyDeleteतीन वर्षे भतिजीले सोधी
ReplyDelete”तिम्लो घल काँ?”
यो हरफ पढ्दा भने आँफैसंग गटेको घटना याद आयो । प्राय:जसो बाहिरै रहने र कहिले काहि मात्रै घर जाने गर्दा २-३ बर्ष पहिले एकचोटि बाहिरबाट घर फर्कंदा मेरो ५ बर्षको भतिजीले "अंकल हजुरको घर कहाँ हो?" भनेर सोधेकि थीई ।
सपनामा होईन बिपना मै...
अनि यो लाईन पनि सटिक छ :
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
मिठो कविता !!!
सबैलाई धन्यबाद!
ReplyDeleteयो कविता २००५ को लक्ष्मी-जयन्तीको अवसरमा टोकियोमा आयोजित कविता गोष्ठीको लागि भनेर लेखिएको हो। आयोजक संस्थाका तत्कालीन अध्यक्षज्यूको अनूरोधमा हतार-हतार लेखेर पठाएको थिएँ। पछि यो नेपाल-जापान डट कममा राखियो आयोजकहरुबाट। मैले पनि साझा डट कममा टाँसे। सबैको मनोदशालाई समातेकोले होला, सधैं राम्रै माया पाउँछ यसले।
तर कविता लेखिसकेपछि प्राप्त हुने आत्मसन्तुष्टिको 'स्केल'मा राखेर हेर्दा भने म आफैंलाई त्यत्ति चित्त बुझेको कविता भने हैन। विशेष गरी भाषा-शैलीगत पक्षमा मिलाउनुपर्ने कुराहरु धेरै देखिन्छन्। त्यतिबेला लेख्नासाथ पेश गरिहालियो, एकचोटि कतै पेश गरिसकेपछि अथवा कतै टाँसिसकेपछि रचनालाई काँटछाँट गर्न मन लाग्दैन मलाई।
अहिले ब्लगमा टाँस्ने योजना पनि थिएन। सप्ताहान्तमा एउटा टाँसो त जसरी पनि राख्ने विचार गरेको थिएँ, शनिबार एउटा कार्यक्रममा लागियो। आइतबार पनि के के परेर लेख्ने मेसो मिलेन र सुत्नुअगाडि यहि कविता टाँसिदिएँ।
दिलिप दाइले उप्काउनुभएजस्तै प्रसंग मसंग पनि भएकोले यो कविता जन्मेको हो। मेरी तीन वर्षे भतिजीले सोधेकी थिई मलाई 'तिम्रो घर कहाँ' भनेर। अलिकति काव्यात्मक रुप दिन र सपना जोडिदिएको हुँ।
फेरि एकपटक पनि सबैलाई धन्यबाद!
मेरो मन छोयो! तरंगित भएछु।
ReplyDeleteदोहो-याउँछु ल!
एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु
एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
”तिम्लो घल काँ?”
धन्यबाद केशव मन पराइदिएकोमा!
ReplyDeleteवसन्तजी, तपाईँको कविताले त मलाई देशैभित्र पनि परदेशीको बोध गरायो । केही दिन नसक्नुको पीडाबोध । ३ वर्षअघिको कविता कति ताजगीको साथ राख्नुभएको रहेछ, यसको ओजिलो गमकले सारै घत पर्यो । देशबाट टाढिनुको पीर र छटपटी पनि सकारात्मक भावधाराले लपक्कै भिजेको छ । तपाईँको कविको यही चेतनाको झस्काइ नै देशको बाटो सुरक्षित राख्ने प्रमाण हो । 'तिम्लो घल काँ' भन्ने अबोधपनलाई तपाईँले देशप्रेमको अनुभूतिले एकै म्वाइँमा प्रस्ट्याइदिनुभएको छ ।
ReplyDeleteनेपालसँग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाइनँ…
कति साह्रो भक्कानो पोख्नुभएको । तपाईँका अरू कविता पनि पढ्न पाऊँ है ।
मेरो भक्कानोलाई साथ दिनुभएकोमा धन्यबाद धाइबाजी! मौका मिल्दा हुँदी अरु कविता पनि निश्चयनै राख्नेछु।
ReplyDeleteBasanta dai, haami sabaiko kaarunik yathaartha YAHI HO.. nikai sundar dangale mankaa aabhaaharu pokhnubhachha. bhitra samma ghuoliyo !!!
ReplyDeleteप्रतिकृयाका लागि हार्दिक धन्यबाद चन्द्र भाइ!
ReplyDeleteएकदमै राम्रो कविता छ... कारुणिक र यथार्थपरक...
ReplyDeleteहार्दिक धन्यबाद जयन्तजी!
ReplyDeleteकविता राम्रो लाग्यो, आफ्नै बेदना बोलेझै, पुरस्कृत हुनुभएकोमा बधाई
ReplyDeleteनिकै मर्मस्पर्सी कबिता आफ्नो जन्मभूमीलाई छोडेर प्रदेश्मा भाग्य खोज्ने सबैको यथर्थाको सुन्दर शब्द चित्र।निकै बेर टोलाउने बनाउनु भो दाजु। आत गलेर आयो तपाईंको कबिता पढेर। म जे भोग्दैछु त्यो ब्यथा तपाईंको पनि रहेछ हामि सबैको रहेछ। यही साझा ब्यथाको धुन आत्मा मै बाफिरहेको छ। अत्यन्तै सुन्दर कबिता
ReplyDelete