ब्लगलाई समय मिलाउन झन-झन गाह्रो भइरहेछ। लेख्न मन लागेका अनगिन्ती कुराहरु मनका कुना-काप्चीमा थुप्रिएर आफ्नो पालो पर्खिरहेका छन्, कति हराईसके। हप्तामा कम्तिमा दुईटा टाँसो त जसरी भएपनि राख्छु भन्ने आफैंसंगको वाचा पनि तोडिया-तोडियै छ। जिन्दगी "काम पनि छैन, फुर्सद पनि छैन"को स्थितिबाट कहिले मुक्त हुने हो थाहा छैन।
आज गाइजात्रा, तर यो टाँसोलाई 'गाइजात्रे' नठानिदिनुहोला:)
'बोन यासुमीको बारेमा मैले पोहरको एउटा टाँसोमा केहि कुरा गरेको थिएँ।
प्रचण्ड गर्मी छ, गएको एक महिना यता अधिकतम तापक्रम धेरैजसो ३७-३८ छ र न्यूनतम पनि २८ को आसपास। यो टाउको दुखाउने गर्मीमा कतै गएर रमाइलो गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको बेला साथीहरुले भनेजस्तो योजनाको बारेमा सुनाए। यो पालीको बोन यासुमीको रमाईलो त्यहि हो।
नागोयमा बस्ने लगभग २७-२८ जना नेपालीहरुको हाम्रो टोली गिफु प्रान्तको खानी भन्ने शहरको निकै भित्री भागमा रहेको एउटा रमणीय प्राकृतिक स्थलमा पुगेको थियो बोन यासुमी मनाउन। चारैतिर घना जंगलले भरिएका अग्ला पहाडहरु र फेदीमा कलकल गरिरहेको कञ्चन खोला अनि खोलाकै किनारमा बनाईएको कलात्मक घर-यहाँभन्दा रमणीय के हुनसक्छ?! अर्को खुशीको कुरो, त्यो ठाउँमा मोबाईल फोनले काम गर्दो रहेनछ। ईण्टरनेट त त्यो ठाउँमा हुने कुरो पनि भएन। यसरी २०-२२ घण्टानै मात्रै भएपनि समाचार, फोनको कुराकानी आदिबाट मुक्त हुनुले मन-मष्तिष्कमा अचममको ताजगी भरिदिँदोरहेछ।
सबै भेला भईसकेपछि नेपाली स्वादमा पकाइएको खसीको मासु र चिउरा खाईयो। नेपाली स्वादको खानाले नेपालै पुगेजस्तो गराउँछ जहिले पनि। त्यसपछि नजिकैको पहाड चढ्न भनेर हिँडियो। सर्प बेरिएजस्तै नागबेली बाटो बनाईएको रहेछ, माथिसम्म। त्यसकारण माथि पुग्न खास गाह्रो भएन। फेरि उचाइको हिसाबले हाम्रा पहाडहरुका दाँजोमा फुच्चेनै थिए त्यहाँका पहाडहरु, हामी चढेको पहाड (डाँडो भने बेश होला शायद!) पनि बढीमा पाँच सय मीटर अग्लो थियो होला। काठमाण्डौंको काँठ पनि डाँडाकाँडा भएकै क्षेत्र हो र त्यसबाहेक पनि विद्यालय पढुञ्जेल गुराँस टिप्न र काफल खान दहचोक, इन्द्रथान क्षेत्रका वनजंगल धेरै चहारिएकोले पहाड चढ्न गाह्रो लाग्दैन मलाई, रमाइलै लाग्छ।
उकालो चढ्न शुरु गरेको केहि समयमै छोरी निदाईदिई। उसलाई बोकेरै चढियो उकालो, ओर्लेर फेदीमै आईपुगेपछि मात्रै ब्यूँझिई उ।
त्यहाँ धेरै सुन्दर झरनाहरु थिए। धेरै साथीहरुले झरनामै नुहाए पनि। चरा-चुरुंगीको आवाज भने कमै सुनिन्थ्यो, देख्न त एउटा पनि देखिंन मैले।
फर्केर बासमा आएपछि बार्बक्यू शुरु भयो। पोलेको मासु, नेपाली लोकगीत, बियर र साथीहरुको नाचले साँझलाई झन मादक बनाईदिएका थिए।
नेपाली स्वादको र झोल हालेको कुखुराको मासुसंग भात खाएपछि बाहिरको कार्यक्रम सकियो। एउटा बिशाल हलमा लहर लागेर सुत्ने ब्यबश्था थियो। महिलाहरुलाई माथिल्लो तल्लामा त्यस्तै ब्यबश्था थियो। भित्र पसेपछि धेरैजसो साथीहरु तास खेल्न थाले। साथीहरुको कुरा सुन्नु र यदाकदा उनीहरुले खेलेको हेर्नुमै सीमित भएं म चाहिं। जति कोशिश गरेपनि तास खेल्नेमा रस बस्न सक्या' छैन मेरो। २ बज्ने बेलामा सुते पनि निद्रा पटक्कै लागेन। तास खेल्ने साथीहरु पाँच बजेतिरमात्रै सुते।
तास खेलेर बसिरहेका एकजना साथी र म बाहिर निक्लियौं र धेरै बेर सुन्दर, शान्त र स्वच्छ बिहानीको आनन्द लिँदै खोलाको किनारको बाटो हिँड्यौं र खोलामै नुहाएर फर्कियौं।
बिहानको खाजापछि पालैपालो गरेर फर्किईयो।
छोटो यात्रा भएपनि मन-मष्तिष्क-शरीरलाई राम्रैसंग 'रिचार्ज' गरेको अनुभूति भयो।
कार्यक्रमको ब्यबश्था मिलाउने साथीहरुलाई हृदयदेखिकै धन्यबाद! साथमा त्यो दिनको कार्यक्रममा सघाउने जापानी मित्रहरुलाई पनि उत्तिकै धन्यबाद!
पढदै पनि रमाईलो लाग्यो, त्यहि पुग्दा पक्कै पनि अझ रमाईलो भएको हुनुपर्छ ।
ReplyDeleteतपाईको लेखाइ एकदम मनपर्यो । साँच्चै कति रमाईको छ होला त्यो ठाउँ ।
ReplyDeletekasto ramailo program rahechha. Khabar garnu bhayeko bhaye ma pani sahabhagi hunthe. Nagoya ra Gifu ko sathi haru ko matrai BANDASATRA po ho ki?
ReplyDeleteUhi,
Machhi Kadaile
धन्यबाद सबैलाई!
ReplyDeleteदिलिप दाइ, वास्तवमै धेरैनै रमाइलो भयो।
उजेलीजी, स्वागत छ यो ब्लगमा। आउँदै गर्नुहोला।
anonymousजी, हा हा हा! यो 'माछी काँडैले' देखेपछि चिनिहालें। नागोया-गिफूको बन्द सत्रचाहिँ होइन क्या! अब पछि त्यस्तै कार्यक्रम हुँदा निम्तो पठाइनेछ तपाईँलाई पनि।