August 03, 2008

"एक धर्को घाम"

-लघुकथा-
एक धर्को घाम
“किन? के भयो? छोरीले झगडा गरी कि क्या हो?” छ बज्दा नबज्दै ब्यूँझन्छु म पनि। उनी छोरीलाई फुल्याइरहेकी छिन्।
“अघि भर्खर एउटा एम्बुलेन्स गयो अगाडिबाट, त्यसकै आवाजले ब्युँझेकी हो। अलिअलि झर्केकी छे निद्रा बिग्रेकोले, अरु केहि पनि भ’ छैन।”
छोरीले दूध खान पनि मानीरहेकी छैन र झर्कँदै-रुँदै गरीरहेकी छे।
“काखमा राखेर हल्लाए निदाऊँछे कि---” म काखमा लिन्छु, तर छोरी मेरो काखमा आएपछि झन झर्किन्छे। र यतिखेरसम्म ऊ पूरै ब्यूंझिसकेकी छे। म छोरीलाई उनको काखमा राख्दिन्छु, तर छोरीले काखमा बस्न अझै मन नगरेपछि उनी उसलाई कार्पेटमा छोडिदिन्छिन्।
छोरीको रुवाई बन्द हुन्छ अब। ऊ चार हात-खुट्टा टेकेर अडिन्छे, एकछिन हामीलाई हेर्छे, मुसुक्क हाँस्छे र बामे सर्न थाल्छे।
“ल हेर त! कल्ले पत्याऊँछ साढे पाँच महिनाकी मात्रै भई भन्दा---?! ” बामे सरेर कोठा नापीरहेकी छोरीलाई हेरेर उनी मुस्कुराऊँछिन्।
“हो त! हिजो फोनमा भन्दा आमाले त पत्याउनु भएन !”
“छोरी कता तिमी? यता आऊ!” हामीले आँखा झिम्क्याउन नपाऊँदै छोरी झ्यालनिर पुगिसकिछे। ऊ त्यहाँ केहि समात्न खोज्दै थिई। अचेल बामे सर्नुसंगै उसले भेटेका कुरालाई समात्न र सकेजतिलाई मुखमा लान सिकेकी छे। जतिखेर पनि एकजना पछि नलागी सुखै छैन।
झ्यालको पर्दा अलिक होड परेर भर्खर उदाएको घाम छिरेको रहेछ र त्यहाँ एउटा मसिनो उज्यालो धर्को बनेको रहेछ घामको। छोरी त्यै सुनौलो धर्कोलाई समात्न र तान्न खोज्दै थिई।
हामी बूढाबूढी मुखामुख गरेर असमञ्जस भरिएको हाँसो साट्छौँ। अरु त के नै गर्न सक्छौँ र ?!
धेरै बेर कोशिश गरेर पनि घामको धर्कोलाई तान्न नसकेपछि छोरी झर्किन्छे, अनि हामीतिर हेरेर च्याँठ्ठिएर रुन थाल्छे।
“ओहो बाबा, छानु---, नलोऊ---नलोऊ, मेलो बाबा------” उनी छोरीलाई उठाएर छातीमा लगाऊँछिन् र फुल्याउन थाल्छिन्।
छोरी एकैछिनमा फुलिन्छे र उनी फेरि उसलाई तलै राखिदिन्छिन्। छोरी खेल्दाखेल्दै फेरि घामको धर्कोमा पुग्छे तर यस पटक ऊ त्यो धर्कोलाई तान्न खोज्दिन, त्यसलाई नियाल्छे, आफ्ना कोमल हातहरु एकैछिन त्यसमाथि राख्छे अनि त्यसलाई छोडेर कोठाको अरु भागतिर दौडिन्छे। एकछिन खेलेपछि थाक्छे र कार्पेटमै निदाएर आफ्नो टुटेको निद्रा र टुक्रिएको सपनालाई पूरा गर्न थाल्छे।
“खै छोरीको विछ्यौना लेऊ त।” म छोरीको विछ्यौना त्यो धर्कोनिर लगेर मिलाऊँछु अनि त्यो सुनौलो घामको धर्कोको एक भाग उसको निधारमा पर्ने गरी छोरीलाई विछ्यौनामा राखिदिन्छु।
जीवनका सबै सौन्दर्य र सत्यहरुको प्रतीक बनेर घामको सुनौलो धर्को छोरीको निधारमा चम्किरहन्छ।
------------------------------********************------------------------------
(यो पनि पूरानै रचना हो मेरो। यो सप्ताहान्त पनि नयाँ केहि लेख्न नसकी बित्यो र त्यसैले फेरि 'इतिहासको ब्याज' खर्च गरेर काम चलाउँदैछु।)

8 comments:

  1. As ever.

    शब्द र भावनाको मीठो समिश्रण!

    -- Gaalab

    ReplyDelete
  2. कथामा कथा नभए पनि शिल्पले सुन्दर कथा निर्माण गर्दछ भन्ने प्रमाण । साह्रै मन पर्यो है मलाई त ।

    ReplyDelete
  3. वास्तबमै दैनिक घटनाको रोचक प्रस्तुति । यो कथा पक्कै पनि 'सत्य घटनामा आधारित' हुनुपर्छ भन्ने अनुमान लगाएको छु ।

    ReplyDelete
  4. धन्यबाद गालबजी, दीपकजी र दिलिप दाइ!

    ReplyDelete
  5. LovelyStory of Lovely life.
    thanks for this opportunity Dear Basantaji.

    ReplyDelete
  6. Interesting 'story' Basantji! I liked the 'script' based on normal (& probably, natural too) circumstances.

    ReplyDelete
  7. एकदम राम्रो लघु कथा ....
    सत्य लघु कथा नै हो कि ?

    ReplyDelete
  8. धन्यबाद धाइबाजी, दीपेन्द्रजी र बद्रीजी!

    साथीहरुको 'आशंका' सहीनै हो। यहाँ यथार्थलाई अलिक कल्पनाको लिपपोत गरेर पेश गरिएको हो।

    ReplyDelete