August 28, 2008

धेरै पछि एउटा किताब पढियो----


धेरै पछि एउटा किताब पढियो। पढ्न पनि तालले पढियो, १२९ पृष्ठको किताब पढ्न १२९ दिननै लगाईयो होला! अड्डा जाँदा र घर फर्कँदा बसमा कहिलेकाहीं पढेर सिध्याइयो । तर बुझ्न चाहिँ केहि पनि बुझिएन!

किताब पढ्न बसेपछि 'एक बसाई'मा सक्न पाए हुन्थ्यो जस्तो लाग्छ (राम्रोको हकमा!)। यो एक बसाई भनेको हलचलनै नगर्ने भन्न खोजेको हैन। दैनिक नित्यकर्म बाहेक अरु काम गर्नु नपरेर ढुक्कले पढ्ने मेसो मिल्ने स्थितिलाई भनेको हो (निद्राको भने माया मार्न सकिन्छ)। त्यस्तो मौका मिलेन र 'टुक्रे' पाराले पढ्नुपर्यो भने स्वादै नआएजस्तो लाग्छ। त्यस्तो मौका बाल्यकालमा धेरै थियो। विस्तारै घट्दै-घट्दै गएर अहिले शून्यमा पुगेको छ। पछिल्लो पटक चार वर्ष जति अगाडि होला, 'दा भिन्ची कोड' रातभरि बसेर पढेको थिएँ, त्यो पनि धेरै वर्षपछिको घटना थियो। त्यसपछि ठूलो आकारको कुनैपनि कृति पढेको छैन। यस बीचमा पनि थोरैनै भएपनि केहि किताब किनियो, कति उपहारका रुपमा हात लागे, कति उपहारका नाममा भिडाइए, पैसा तिराएर। तर ती सबै किताबले आफनो 'कौमार्य' कायमै राखेका छन् अझै (र मेरो आलस्यको प्रमाणको रुपमा धूलोको पत्र बाक्लिँदै गएको छ ती माथि)।

उपन्यासजस्ता ठूला दारका कृतिमात्र हैन, पत्रिकाहरुका अलिक लामा कथाहरुपनि पढ्न छोडिदिएँ। अचेल पत्रिकाहरुका गजल, कविता र छन् भने चूट्किला आदिहरुमा सीमित भएको छु।

तर अचेल के बोध भएको छ भने 'एक बसाई'मै पढ्न पाउने मौका यो जुनीमा फेरि मिल्लाजस्तो छैन, त्यसैले 'टुक्रे' तालले भएपनि पढ्ने बानी छुटाउनुहुन्न। यहि मेसोमा धेरै दिन लगाएर जगदीश शमशेर राणाको "नरसिंह अवतार" पढियो।

जगदीश शमशेरको फरक शैलीको लेखनको बारेमा पत्रिकाहरुमा केहि पढेपछि उनका कृतिहरु पढ्ने इच्छा जागेको थियो। पछिल्लो पटक डेढ वर्ष पहिला नेपाल जाँदा उनका दुई कृतिहरु किनेर ल्याएको थिएँ। अर्को "सेतो ख्याकको आख्यान" हो।

"नरसिंह अवतार" को मूल आशय अँध्यारो र उज्यालो अथवा खराब र असल बीचको द्वन्द्व र अन्त्यमा उज्यालोको जीत हो भन्ने बुझिन्छ किताब पढिसक्दा। तर लेखकले प्रयोग गरेको भाषा-शैली, बिम्बहरु र प्रतीकहरु बुझ्नुभने मेरा लागि फलामका चिउरा चपाउनुभन्दा गाह्रो भयो। सोझै भनौं न अब, 'केहि पनि बुझिएन!' कृतिको पछिल्तिर ३५ पृष्ठको ब्याख्या गरेका छन् लेखक स्वयंले कृतिका बारेमा। उनले पूर्व र पश्चिम दुबैतिरका, सुदूर विगतदेखी वर्तमानसम्मका सबै साहित्यिक र दार्शनिक विचारधाराहरुको समष्टि झल्किने गरी प्रतीक र बिम्बहरुको प्रयोग गरेर लेखिएको काब्य हो भनेका छन् आफ्नो कृतिलाई। केहि थोरै विषयमा र त्यो पनि अत्यन्त सीमित ज्ञान भएको म जस्तो पाठकका लागि यो कृति बोधगम्य हुन नसक्नुको कारण यहि पनि हुनसक्छ।

गाह्रो भएपनि, नबुझेपनि, धेरै ठाउँमा अनौठो 'रन्को' छोड्छ जगदीश शमशेरको लेखन शैलीले। केहि उदाहरणहरु यहाँ राख्दैछु। बाँकीका लागि तपाईँ पूरै किताब पढ्नुहोस् र आफ्नो बुझाईलाई हामीसंगपनि बाँडचुँड गर्नुहोस्।

"धाँजा फाट्छ धरतीको छातीमा लरखराउँदै टेक्ने करोडौं बाटो खोज्ने समूहले सल्बलाएको हातले समात्न खोजेको पीपल बोटका वटवृक्षजस्ता जगल्टे जरा लपलपाउँदै मरेका नागको चिसो लथपथ आकारहीन लहरमा बेरिएका यस धरतीका अधमरु वासिन्दा---"

"फौज आउँछ संगीन लिएर यस भुमरीमा परेकालाई बचाउन। गोरु डुक्रन्छ साथको खेतमा; उसले अघौञ्जी घाँस खाएको छ। मानिस घोक्रिन्छ नासलचोकमा, ऊ सङ्गीन देखेर भागेको छ- उसले गुहारमागेको छ। भुमरीबाट बचाउने कम्पुको तानामानामा उसले मुतेको छ। माकुरे मूत- एसिड----"

"त्यसैले हात टेकेर हिँड्नेहरु- नाक रगडेर हिँड्नेहरु-आँखा चिम्लेर बाटो खोज्नेहरु-आइमाई छिँडीमा गाडेर सन्तान हुर्काउनेहरु-पति मारी सतीजानेहरु-कान छोपेर पुराण सुन्नेहरु-उज्यालो देखी डराउन थालेकाछन्।---"

"यो घर होइन ---खोर
टक्---टक्---टक्
हिरण्यकशिपु आएर ढोका खोल्छ,
त्यो साँग्रो पलङ्गमा
बूढो राजाले खापेको तरुनी,
आज खालिछ;
कान्छा खत्रीले स्वास्नी थुनेको छ
छिँडीमा।"

"काटिन्छन् प्रेतका छौंडाहरु
जोगिन्छन् कैयौं मृत्युदण्ड सुनेकाहरु।
यौटै प्रश्न छ घैंटोमा छिप्पिएको यहाँ त
'तिम्रो मर्ने पालो कि बाँच्ने?'"

"---'हाम्रा आमाको ब्रेसियर र भित्रीकट्टु फेला परेथ्यो भिसीका ओछ्यानमुनि' हाम्रा बाबुहरु आएर घूस ख्वाएर गएको प्रमाण छ हामीसँग'- गर्मीको बिदामा हामीले भालूको शिकार गरेथ्यौं-यहाँ क्याम्पसमा गर्न हुन्न र शिकार?---"

"--एउटा विज्ञापन
चाहियो:यौटा सेक्रेटरी लोग्नेमान्छे या स्वास्नीमान्छे
तन्नेरी अनुभवी र इमानदार, तलब
पछि ठेगान हुन्छ मान्छे हेरेर
काम-फाइल राख्ने, टाइप गर्ने र मालिकको
सुङ्गुरको बच्चा घुमाउन लग्ने---- आदि
----"

"जीवन बल्दो क्रान्ति-शिखा
मानिस मानिस अमर ज्योतिझैं
आदर्श उठाइ जल्न तयार
निभ्न तयार।----"

"झरझर अविराम भलभल उर्लन छताछुल्ल उखाल पखाल नव-सिर्जन जीवन स्पन्दन चक्र चक्र कथन टङ्कित बज्रढाल अभेद्य अमर नर-सन्तति पुस्तनपुस्ता दलदल लथपथ उफ्री उत्री फुली सुगन्ध सुगन्ध जन-समूह वज्रनख तिक्ष्णदन्त प्रकट उदात्त उदार बलिदान जाग्रण माँड्न फाँड्न---------"


जगदीश शमशेर राणासंग 'नेपाल' साप्ताहिकले लिएको अन्तर्वार्ताको लागि सूत्र यहाँ छ। किताब बुझेपनि-नबुझेपनि उनले नेपाली संस्कृतिप्रति देखाएको प्रेम र उनको विनम्र विद्वताले हामीलाई उनको अगाडि श्रद्धाले नतमस्तक बनाउँछ।

"सेतो ख्याकको आख्यान" झन गाह्रो भएको चर्चा छ अन्तर्वार्तामै पनि। तर त्यो पनि पढ्न भने थाल्नैपर्ला।

9 comments:

  1. पढ्नु राम्रो नि बसन्तजी। तर तपाई धेरै व्यस्त हुनुभो क्यारे नि। हैन?

    ReplyDelete
  2. ख्वोई हाम्ले भने यता पढ्न चाहेर पनि पढौं लाग्ने किताब पाएको छैन , जतापनि पढ्ने भोक माथी भोक मात्रै थपिन्छ भन्या , लिष्टमा फेरी भोक थप्ने निर्णय गरें । कहिले नेपाल जाने र यो भोक मेट्ने हो थाहा छैन ।

    ReplyDelete
  3. किताब पढने बारेमा मेरो पनि आजकल करिव करिव त्यहि हाल भएको छ । जे जत्ति बोलिन्छ लेखिन्छ ति सबै भूतकालमा पढेका किताबि ज्ञानले धानेका छन्।

    यो "नरसिंह अवतार" भने पाए देखी पढ्छु भन्ने लागेको थियो तर धन्यावाद् है, यो किताबले छोडने 'रन्को' का उदाहरणहरु पढेपछि त्यो किताब पढ्ने 'मुड' पनि गयो ।

    ReplyDelete
  4. बुझ्न गाह्रो भएपनि राणाका रचनामा पूर्वीय दर्शनको राम्रो छाप हुन्छ भन्ने मेरो पनि आकलन हो्।

    ReplyDelete
  5. धन्यबाद सबैलाई!

    कैलाशजी, अलि-अलि ब्यस्त त भएकै हो। तर यो जमानामा सधैं फुर्सदमै त को पो छ र? मेरो समस्या खासमा 'फुर्सद ब्यबस्थापन'को होला। खाली निक्लेको छोटो-छोटो समयलाई मिलाएर पढ्ने बानी बसाल्ने कोशिश गर्दैछु अब।

    दीपकजी, तपाईँको भोक मेटिएपछि स्वाद हामीसंग पनि बाँड्नुहोला। अनि नेपाली साहित्यका किताबहरु कहिलेदेखि अनलाईन किन्न सकिने होला है?!

    दिलीप दाइ, त्यस्तरी तर्सिनैपर्ने कारणचाहिं छैन जस्तो लाग्छ। पूर्वीय दर्शनको बारेमा दिलीप दाइसंग धेरै जानकारी छ, यसैले मलाई भन्दा सजिलो होला जस्तो लाग्छ।

    केशवजी, यो 'नरसिंह अवतार' मा पनि पूर्वी (र पश्चिमी)दर्शनको गहन प्रभाव देख्न सकिन्छ। अलिक गहिरो अध्ययन नगरेका ब्यक्तिले उनका कृतिहरु बुझ्न गाह्रो हुने भयोनै।

    ReplyDelete
  6. समयअभाव र आलस्यको जम्ल्याहा अवतारले पढ्न नपाएको पिरलोलाई कटुसजस्तो किताब पढेर साम्य पार्नुभएछ । किताबको कहानी रोचक छ, (साथै दयालाग्दो पनि है !) । किताबको क्लिष्टतामा पनि अनौठो 'रन्को' भेट्नलाई खूबै पापड बेल्नुपरेको प्रमाण उद्धृत गरिएका अंशहरूले दिएका छन् । मैले पनि नपढेको यो किताब पढ्न हुटहुटी जगाउने गरी लेख्‍नुभएकोमा आभार जनाउँछु । ३५ पृष्ठको व्याख्या भएको किताब कत्तिको हाडे ओखर रहेछ, अनुभव त उठाउनै पर्‍यो !

    ReplyDelete
  7. सही उपमाहरु दिनुभयो धाइबाजी, साँच्चैनै कटुस र हाडे ओखरको झल्को दिन्छ यो किताबले।

    मलाई के लाग्छ भने गाह्रो हुनुमा मेरो सीमित ज्ञानले काम गरेको हो। दर्शनशास्त्र र साहित्यिक परम्पराका बारेमा अलिक राम्रो अध्ययन भएका ब्यक्तिलाई भने त्यति गाह्रो नहोला। पढिसकेपछि आफ्नो अनुभव बाँड्न नभुल्नुहोला।

    ReplyDelete
  8. hatterika yesto pani kura ho.

    ReplyDelete
  9. g]kfndf ;flxTosf/x? a9L ePsf sf/0f g]kfnL ;flxTosf lstfa sd 5fkLPsf] xf] . / k|];n] klg 5fKg gEofsf] xf] . v} Û s] esf] xf] of] k|]; klg Û g]tfs} j0f{g ug{ Eofsf] 5}g . d t 5Ss k5'{ xf] Û

    ReplyDelete