August 29, 2007

‘गाइजात्रा विशेष’: ‘विक्रम संवत २०७४ साल’

(आज गाइजात्रा, केहि न केहि 'गाइजात्रे' त लेख्नै प-यो भनेर हतार-हतार यो कोरेको छु।)

दश वर्षमा देश अचम्मसंग माथि पुग्यो नि गाँठे! विकास पनि अलि अलि भ'को हो र!

लोकतन्त्र के आ'को थ्यो, सडकजति त आफैं तन्किन थालिहाले नि! पहिरोले गर्दा त हो नि, नत्र बर्षैभरि हिँड्न हुनी बाटा थिए के रे। तैपनि छ महिना त मज्जाले गाडी कुद्छन् के रे सप्पै बाटाँ! गाडीपनि दश गुनै बढे नि दश वर्षाँ! थोत्रा गाडी भएर के भो त नि, देशमा जनसंख्या नियन्त्रण सजिलै भईराख्या छ, ति लडेर, तिनले हानेर र नतानुँ भन्दाभन्दैपनि जनताका नाकले तिनका धूवाँ तानेर! परिवार नियोजनका क्लिनिकै नचाहिने भएर सरकारको कति खर्च जोगिया छ तिनले गर्दा!

सरकारले गज्जब ग-यो नि! कुहिरेसंग मागेर फुच्चे कम्प्युटर गाउँ-गाउँमा, स्कूल-स्कूलाँ पु-यायो नि गाँठे! सबै ठाममा बिजुली पुग्या' भे, पुग्या ठाममा पनि दिनको दश बाह्र घण्टा नजानी भे कति चलाउँदा हुन् हाम्रा बच्चाहरुले। अब सरकार त के गरोस् बरा! उसले त गर्न खोजेकै हो नि, बिजुलीले धोका दिया-दियै छ। यो बिजुलीले हाम्रो सरकारलाई धोका नदिया भे हेर, हाम्रा देशाँ पनि कत्ति बिल गेट्स निस्किसक्थे। लोकतन्त्र हो यो बाबै! बिजुलीले गु' खाइदेर त हो नि, नत्र---!

स्वत: बढुवा हुन पाउनी भएपछि मान्छे वीसै वर्षाँ खरदारको जागिराँ छिरेर तीस वर्षाँ शाखा अधिकृत, चालीस वर्षाँ सचिव हुन थाले। अन्त काहिँ हुन्छ यस्तो राम्रो?! पढेर कोहि ठूलो हुन्छ?! बेलैमा जागिर खाए पो ठूलो हुन्छ!

अनि देशका कम्पाउण्डरजति सबै बढुवा भएर डाक्टर भए, ओभरसियर जति सबै इञ्जिनीयर भए। उता दश वर्ष एअर होस्टेसको काम गरेपछि अनुभवका आधाराँ स्वत: पाइलट हुन पाउनुपर्छ भनेर हडताल भएपछि, त्यो माग पनि पूरा गर्दियो सरकारले। तब न लोकतान्त्रिक सरकार!

देशको शैक्षिक स्तर पनि खुब अगाडि पुग्या हो यो दश वर्षमा ल जल्ले जे भनेपनि। एस .एल.सी र क्याम्पसमा तिनचोटिसम्म फेल भएकाले अनुभवका आधारमा स्वत: पास हुने गराइदियो नि सरकारले, फेल हुनेहरुको आन्दोलनको मागबमोजिम! अब क्या काइदा! गुरुबा, गुरुआमा पनि खुशी; नपढाए पनि भो, तलब आईहाल्छ। विद्यार्थी पास गराउन पो पढाउनु पर्छ, अब तीन वर्षमा यसै-उसै पास हुने भएपछि किन हतार? उता विद्यार्थी झन मख्ख, जूलूशमा जति हिँडे पनि भो!

अनि सांसद पनि के कम! दश वर्ष लगातार सांसद भएपछि स्वत: मन्त्री हुने कानून ल्याए २०७० सालतिर। मन्त्रीहरुले पनि त्यस्तै सुबिधा मागे, तर पन्ध्र वीसजना मन्त्री स्वत: बढुवा भएर एकैचोटि प्रधानमन्त्री बनेभने के गर्नु भनेर मन्त्रीका हकमा पन्ध्र वर्षे नियम बनाइयो। तर हाम्रा बाठा मन्त्रीहरु पनि के कम?! ४६ सालदेखिकै, अझ कसै-कसैले त पञ्चायतकालदेखिकै ‘अनुभव’ जोडेर १५ वर्ष सजिलै पु-याइहाले नि। एक-दुई जनाले त वीस वर्षै पु-याए रे भन्ने पनि सुनिएको छ!

प्रधानमन्त्री त दशजनै भए, तर को सबैभन्दा ठूलो प्रधानमन्त्री? प्रधानमन्त्रीभन्दा माथि ‘राजा’ पद राखौं भने देशै गणतन्त्र बनाउने भनेर लाग्या छन् (बनाइसक्याचाहिँ छैनन् नि है हेर्नुस्!), कुरै मिलेन। त्यै भएर ‘मुख्य प्रधानमन्त्री’ को पद सृजना भयो हाम्रो नेपालाँ। प्रधानमन्त्रीमध्येका सबैभन्दा बूढालाई यो पद दिने भनेर सबैले सहमति जनाए। सहमति त जनाए के रे, तर पहिलो ‘मुख्य प्रधानमन्त्री’ बनेका बूढा बडा चाम्रा रहेछन्, ‘उपर’ जाने त नामै लिन्नन्! अब तिनी ‘उपर’ नगई अरुको‘मुख्य प्रधानमन्त्री’ हुने पालो आउने कुरो भएन। अर्को चुनाव भए केहि फेरबदल भईहाल्थ्यो कि, तर नेपालाँ अब फेरि चुनाव हुनु र स्यालको सिङ् देखिनु उस्तै-उस्तै हो भन्छन् ज्योतिषीहरु। यसैले दुई-चारजना प्रधानमन्त्रीहरुलाई भने ‘मुख्य प्रधानमन्त्री’ नभै मरिएला भन्ने पिर प-या छ खुब! अस्तिहुँदी गोप्य बैठक पनि गरे रे तिनले। दुई वर्षसम्म ‘मुख्य प्रधानमन्त्री’ भएपछि पनि कोहि ‘उपर’ गएन भने त्यल्लाई सुटुक्क सुईँक्याइदिएर भएपनि पालो कुरेर बसेकोलाई ‘मुख्य प्रधानमन्त्री’ बनाउने प्रस्ताव पेश गर्दै छन् रे तिनले संसदमा।

2 comments:

  1. Gaijatra ko video ra photo herne ho? :)

    ReplyDelete
  2. हेरिसकें मैले, तपाईँको ब्लगमा! धन्यबाद!

    ReplyDelete