September 01, 2007

राजदूतावासको प्रशंशामा दुई शब्द

विदेशमा बस्ने बहुसंख्यक नेपालीहरुले बिभिन्न देशमा रहेका नेपाली राजदूतावासहरुको बारेमा राम्रो कुरा गरेको मैले आजसम्म सुनेको छैन। नेपालीहरुको वेवास्ता गर्ने, राहदानी आदिसंग सम्बन्धित कामहरुमा अनावश्यक ढिला गर्दिने, नातावाद-कृपावादमा चुर्लुम्म डुबेका आदि धेरै आरोपहरु लाग्ने गर्छन् हाम्रा राजदूतावासहरुलाई। निश्चय पनि धेरै समस्याहरु छन् होला हाम्रा राजदूतावासहरुको काम गर्ने तरिकामा। त्यसो त परराष्ट्र प्रशाशन पनि हाम्रो देशको ‘पत्रु’ कर्मचारीतन्त्रकै एउटा भाग भएकोले ‘माउ’ नसप्री ‘बच्चा’ सप्रिने त्यति ठूलो सम्भावना हुने कुरो पनि भएन। अनि राजदूत र अन्य पदहरुमा आउने मान्छेहरु ‘बिभिन्न शक्तिकेन्द्रहरुका ‘कोटा’मा परेर आउने भएकाले पनि तिनको काम गराइ पूरै निस्पक्ष र देश-जनताप्रति समर्पित हुन्छ भन्न सकिने अवश्था पनि कम छ।

राजदूतावाससंगको पहिलो अनुभव १९९१-१९९६ सम्म चीनमा बस्दा भएको हो। त्यो पनि पहिलो वर्ष बेइजिङ्गमा बसुञ्जेल, विशेष गरी। दशैं, तिहार, राजाको जन्मदिन र फागुन ७ मा भोज हुन्थे, राजदूतावासले गाडीको ब्यबश्था गरिदिएको हुन्थ्यो बेइजिङ्ग शहरभित्रका नेपालीहरुलाई ओसार्न। त्यतिखेर नेपालीको नाममा धेरै जसो विद्यार्थीहरु र काम गरेर बसिरहेका केहि ‘एक्सपर्ट’हरु हुन्थे। रक्सीको खोलो बग्थ्यो त्यस्ता भोजहरुमा।

पछि चार वर्ष बेइजिङ्गबाट अलि टाढाको उसी भन्ने शहरमा बस्दा राजदूतावाससंग खासै सम्बन्ध भएन। एकचोटि राहदानी नवीकरण गर्नु थियो, गर्मी बिदामा साथीहरुको निम्तोमा बेइजिङ्ग गएको मौका पारेर गरियो।

साढे चार वर्ष पहिला जापान आएपछि शुरुदेखिनै खासुगाइ बसेकोले राजदूतावाससंग धेरै सम्पर्क हुने कुनै मेसो परेन। आउनेबित्तिकै लहडै-लहडमा एउटा इ-मेल हानेको थिएँ दूतावासको नाममा "राजदूतावासले ‘मेन्टेन’ गरेको जापानमा रहेका नेपालीहरुको तथ्यांक (डेटाबेस) मा मेरो विवरण पनि राख्नुस्।" भनेर। त्यस्तो छ होला भन्ने लागेको थिएन, लहडमा जिस्काउने मनशायले पठाएको थिएँ। नभन्दै रहेनछ पनि, जवाफी मेलबाट थाहा भयो। तर जवाफ आउनुनै पनि ठूलो कुरो थियो मेरो लागि। नेपाली प्रशाशन यन्त्रका कुनैपनि अंगबाट कुनै जिज्ञासाको जवाफ आउने आशा कमै गर्ने बानी लागिसकेको छ मलाई पनि।

दोश्रो पटकको सम्पर्क २००५ को गर्मीमा हामी नजिकैको सेटो शहरमा भइरहेको एक्स्पो-२००५ को सन्दर्भमा थियो। हरेक दिन कुनै एक सहभागी देशको नाममा कार्यक्रम हुन्थ्यो। त्यसै क्रममा जुलाईको कुनै दिन ‘नेपाल डे’ थियो। राजदूतावाससंग पास माग्ने सल्लाह भयो र २० वटा जति पास दिने अनुरोध गर्दै सबैको तर्फबाट एउटा हस्तलिखित निवेदन फ्याक्स गरेको थिएँ मैले। एक्स्पो-२००५ को ५ हजार येन जतिको प्रवेश शुल्क हामी विद्यार्थिहरुको लागि महंगै थियो, यसैले हामीले दूतावासबाट पासको आशा गरेका थियौं। हामीले बढी आशा गर्नुको अर्को कारण हामी एक्स्पो आयोजनास्थलबाट नजिकै थियौं। टाढाका साथीहरुले पास पाएपनि महंगो यातायातका कारण आउने सम्भावना कमै थियो।

त्यसको जवाफ आएन र पास पनि पाइएन। जानेहरुबाट सुनेअनुसार ‘नेपाल डे’ को कार्यक्रम हुँदा हलका आधाभन्दा बढी कुर्सीहरु रित्तै थिए रे, उता जान तयार हामीहरुले पास भेटेनौं। पारस शाहजस्तो अत्यन्त अलोकप्रिय मान्छेको उपश्थितिमा कार्यक्रम गर्नुपर्नेहुँदा युवा विद्यार्थीहरुको भिड कम गर्न खोजिएको थियो कि कुन्नि, कालो झण्डा-सण्डा देखाइहाल्लान भनेर। नत्र हल खाली राखेर कार्यक्रम गर्नुको सट्टा पास सबै बाँडेको भए पनि हुन्थ्यो होला।

एक्स्पो त हेरियो अलि पछि। अरु नेपाली साथीहरु भएको ल्याबमा एउटा सुडानी साथी थियो, त्यतिखेरको का. वा. सुडानी राजदूतको छोरो। उसले ‘सुडान डे’ को पास दियो हामी १२-१५ जनालाई। उसलाई धन्यबाद दिँदै ‘सुडान डे’को कार्यक्रम हेरेर मात्र अन्यत्र घुमेका थियौं हामीले।

राजदूतावाससंगको तेश्रो सम्पर्क छोरी जन्मेपछिको पहिलोपल्ट नेपाल जाँदाखेरि आवश्यक प-यो, उनको पासपोर्टमा छोरीको नाम र फोटो थप्नको लागि। हामीले पठाएको पासपोर्ट पुग्ने बित्तिकै ‘ल हामीले पायौं।‘ भनेर फोन आएको थियो र केहि दिनभित्रै छोरीको नाम र फोटो थपिएको पासपोर्ट फिर्ता पनि आएको थियो।

चौथो पटक भने भर्खरै हो। आफ्नै पासपोर्ट नवीकरण गर्नु थियो। पठाएको पर्सिपल्ट बिहान फोन आयो, ‘तपाईँको पुरानो पासपोर्ट आइपुग्यो, तर नयाँ बनाउँदा पेशा परीवर्तन गर्नको लागि फलानो कागत चाहियो’ भनेर। त्यो कागत फ्याक्स गरेपछि ‘ल भयो।‘ भन्ने फोन पनि आयो तुरुन्तै। ५ दिनभित्र नयाँ पासपोर्ट पनि आइपुग्यो आज।

यी दुइ घटनाहरुले गर्दा मेरो मनमा राजदूतावासका कर्मचारीहरुको एकदम राम्रो छाप परेको छ। छिटो-छरितो सेवाका हकमा जापानी कार्यालयहरुकै जस्तो अनुभव हो यो मेरो लागि। आलोचनामात्रै किन गर्ने, राम्रो कामको लागि प्रशंशा पनि गर्नुपर्छ, राजदूतावास वा जो सुकै होस्। हामी नेपालीहरु आलोचना बढी र प्रशंशा कम गर्छौं। यो ब्लगको माध्यमबाट राजदूतावासका ती कर्मचारीहरुप्रति हार्दिक आभार र प्रशंशा ब्यक्त गर्न चाहन्छु।

राजदूतावासको आलोचना विगतमा राजनीतिक नियुक्तिमा जोडिएर आउने राजदूतका कारणले बढी हुन्थ्यो। अब पनि राजनीतिक नियुक्तिकै मान्छे आउँदैछन्, केहि मान्छेको सम्बन्ध सप्रिएला, केहिको बिग्रिएला राजनीतिक विचारका कारण। तर मैले देखेको के हो भने, दूतावासको कर्मचारीतन्त्र राजनीतिले बिटुलिएन भने जो-जस्तो-जुन दलको ‘घोडा’ राजदूत आएपनि हामीले पाउने सेवा-सुविधा यत्तिकै छिटो र गुणस्तरीय हुनेछ।

1 comment:

  1. राम्रो पक्ष नभएको होईन। राम्रा पक्षहरु पनि छन। तर, गलत पक्षलाई उजागर गर्दा पनि नराम्रो भन्न मिल्दैन। जे होस तपाँईका भनाईसँग सहमत छु।

    ReplyDelete