August 23, 2007

चुनाव आयो, भोट माग्नेहरु आउन थाले!

हिजो कि अस्ति एउटा मेल आएको थियो, ‘म फलानो समूहबाट सदस्यको उम्मेदवार बनेको छु, मलाई भोट दिनुहोला।‘ भनेर।

झुक्किनुभयो कि क्या हो, संविधान सभाकै चुनावको कुरा गर्न आँट्यो यसले भनेर! नझुक्किनुस्, प्रसंग अर्कै हो। प्रसंग इन्जिनियरहरुको चुनावको हो। नेपाली इन्जिनियरहरुको सबैभन्दा पुरानो (नहुन पनि सक्छ है, मलाई चाहिँ हो जस्तो लाग्छ।) र सबैभन्दा ठूलो (यो चाहिँ पक्का हो!) संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को नयाँ केन्द्रीय नेतृत्वको लागि चुनाव हुँदैछ सेप्टेम्बर १७ मा।

नेइएमा म बि. इ. सकेको केहि समयपछि मात्रै प्रवेश गरेको थिएँ। विद्यार्थी जीवनमा विद्यार्थी संगठनहरुमा हुने ब्यापक राजनीतिकरणलाई भोगेको (र नजिक भित्रैबाट देखेको पनि) भएर मलाई नेपालका कुनैपनि संघ-संस्थाप्रति वितृष्णा जागेर आएको थियो र अब फेरि कुनै पनि संगठनको सदस्य बन्दिन भन्ने लागेको थियो। फेरि त्यो ताका ‘ओशो’ बढी पढ्ने गरेकाले ‘जिन्दगीमा बन्धनहरु बढाएर के काम?!’ भन्ने धारणाले मनमा जरा गाडेको थियो, संघ-संस्थामा लाग्नु भनेको जिन्दगीमा बन्धनहरु थप्नुनै त हो जस्तो लाग्थ्यो। पछि फेरि यो धारणा फेरियो। आफूलाई पेशागत रुपमा अद्यावधिक (अपडेटेड) राख्न र सामजिक रुपमा अघि बढाउन पनि नेइएमा भने लाग्नैपर्ने ठानें। नेइए पेशागत ढंगले बिल्कुलै नचलेको हुँदा यसबाट केहि त्यस्तो नयाँ पेशागत जानकारी अथवा ज्ञान अभिवृध्दि केहि भएन। ब्यापक गुटबन्दी र राजनीतिकरणका भरमा चलेको संस्था रहेछ यो पनि र अरु नेपाली संस्थाजस्तै दलहरुको पूच्छर नसमाती स्वतन्त्र चिन्तन राख्नेहरुको कुनै भाउ र ठाउँ नहुने रहेछ यसभित्र।

पोखरा बस्दा पोखरा च्याप्टरको कार्यक्रममा गइन्थ्यो बेला-बेला। एउटा रमाइलो बनभोजमा पनि गइएको थियो, पर्वत जिल्लाको कुनै ठाउँ थियो शायद, अहिले याद भएन। पोखरा च्याप्टरको चुनाव ‘सहमतिमा निर्विरोध’ हुन्थ्यो सधैं। सडक, विद्युत प्राधिकरण, खानेपानी आदि मध्येको कुनै क्षेत्रिय कार्यालयको हाकिम अध्यक्ष बन्थे हरेक पटक र उपाध्यक्ष र धेरै सदस्यचाहिँ इञ्जिनियरिङ्ग अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसको भागमा पर्थ्यो, सदस्य संख्या बढी भएको हिसाबले। पोखरा बस्दानै दुइ पटक जति केन्द्रीय चुनावका लागि मत हाल्ने मौका मिलेको थियो। मत त हालियो, तर दुबै पक्षका ब्यक्तिगत रुपमा आफूले चिनेका र मन परेका मान्छेलाई मात्रै।

स्थापना भएदेखिकै चलन होला, नेइएको चुनावमा समूहगत उम्मेदवारी हुन्छ। ब्यक्तिगत रुपमा कोहि उम्मेदवार भएको मलाई याद छैन। एउटा समूह ‘प्रजातान्त्रिक’ नाम लिएर उठ्छ र यो नेपाली कांग्रेसनिकट हुनु स्वाभाविक भईसकेको छ। केहि समयअघिसम्म ‘प्रगतिशील’ नाम लिएर उठ्ने समूह वामपन्थी दलहरुसंग निकट हुन्थ्यो। विगत केहि चुनाव यता ‘प्रगतिशील’ नामको सट्टा ‘पेशागत’ नाम लिएर खडा हुन थालेको छ दोश्रो समूह। नामका हिसाबले ‘पेशागत’ नाम एकदम राम्रो हो, तर कामका हिसाबले भने यो खासै फरक लागेको छैन मलाई। नेइएका चुनावहरुमा ‘प्रगतिशील’ नामले खासै वर्चस्व राख्न नसकेकोले अलि फरक ‘इमेज’ दिनमात्रै खोजिएको जस्तो लाग्छ। कुनै पनि दलको हनुमान बन्न अस्विकार गर्ने र पेशागत र प्राज्ञिक मूल्यमान्यतामा विश्वाश राख्नेहरुलाई पनि कत्तिको समेटेको छ यसले, विचारको विषय छ।

विकसित समाजमा पेशागत संस्थाहरुले समाजकै वैचारिक नेतृत्व गरेका हुन्छन् र राजनीतिलाई आफुले चाहेको बाटोमा हिँडाउन सक्ने हैसियत राख्छन्। हुनुपर्ने पनि त्यहि हो, तर हामीकहाँ स्थिति ठीक उल्टो छ। दलहरुका प्रभावका हिसाबले विद्यार्थी संगठन र डाक्टर-इन्जिनियरका संगठन उस्तै देखिन्छन्। जतिसुकै वौध्दिक जमात भनेर कहलिएपनि दलहरुका भातृ-संगठनभन्दा कत्ति फरक छैनन् नेइएजस्ता संस्थाहरु। झन आजको प्रविधिमय परिवेशमा त नेइएले गर्नसक्ने कुराहरु कति हो कति धेरै छन्। नयाँ नेपालको निर्माणमा सबैभन्दा धेरै देन दिनसक्ने समूहहरु मध्ये एक भने हुन्छ यसलाई। तर त्यो आश गर्न सकेको छैन अझै मैले।

कांग्रेस टुक्रिनेबित्तिकैको चुनावमा दुईवटा ‘प्रजातान्त्रिक’ समूह थिए। अचेल देशका सबै संघ-संस्था र निकायमा जताततै माओवादी पसेकाले नेइएको यो चुनावमा पनि माओवादीको छुट्टै समूह हुन समेत बेर छैन। माओवादीको अधिनायकवादी नियत र शैली अनि खुल्लमखुल्ला ज्यादतीलाई विगत एक वर्षदेखि नाङ्गो आँखाले देखिसकेपछि पनि तिनको हनुमान बन्न स्विकार गर्ने इन्जिनियर के बाँकी होलान् र जस्तो पनि लाग्छ। तर क्षणिक व्यक्तिगत स्वार्थका लागि कोहि तयार पनि हुनसक्छन्।

विगत डेढ वर्ष यता नेइएको जापान च्याप्टरमा बसेर काम गरिरहेको आधारमा भन्दा पनि नेइएको केन्द्रीय नेतृत्वको खासै राम्रो ‘इमेज’ बनेको छैन मनमा। च्याप्टरहरुको सवालमा केन्द्र बिल्कुलै ‘प्रतिकृयाविहिन’ हुन्छ। इमेलबाट सोधेको कुराको जवाफ सामान्यतया पाईँदैन र पाईहालिए पनि ढिला पाईन्छ। ब्यक्तिगत सम्पर्क प्रयोग गर्नसकेमात्रै ‘रेस्पन्स’ राम्रो मिल्छ। चुनाव आउँदै गरेकाले अहिले भने अलिक ‘रेस्पोन्स’ बढेको छ, तर यो चुनावसम्मका लागि मात्रै हो भन्ने पक्का छ।

गएको मार्चमा काठमाडौं गएको बेला नयाँ-पुराना सदस्यताका केहि काम लिएर गएको थिएँ। संयोगवश म केन्द्रीय कार्यालय पुगेकै बेला केन्द्रको मासिक बैठक पनि चल्दै रहेछ। अन्तराष्ष्ट्रिय च्याप्टरका प्रतिनिधिका रुपमा म र कतार च्याप्टरका अध्यक्षले सहभागी हुने मौका पायौँ त्यस बैठकमा। केहि कुरा राखिएको थियो र आश्वाशन पनि पाईएको थियो, तर पछि मेलबाट ताकेता गर्दा एउटाको पनि जवाफ आएन।

सदस्यता सम्बन्धी काम भने छिटो भएको हो। सबैलाई र विशेष गरी केन्द्रीय कार्यालय चलाएर बसेका कर्मचारीहरुलाई फेरि एकपटक धन्यबाद दिन चाहन्छु।

नेइएमा भएको चरम राजनीतिकरण पनि देखियो फेरि राम्रैसंग। अहिलेको केन्द्रीय नेतृत्वमा दुबै पक्ष छन्। बैठककै दौरान देखियो, केन्द्रीय नेतृत्वमै एकापसमा पानी बाराबार गर्ने मानिसहरु पनि रहेछन्। फरक पक्षका भएपनि एउटा पेशागत संस्थाको केन्द्रीय नेतृत्वमा बसेकाहरुको सम्बन्ध त्यो हदसम्म चिसो र शत्रुतापूर्ण भएको बिल्कुलै अस्वाभाविक लाग्यो। वैचारिक प्रतिष्पर्धा अलिकति पनि थिएन, मिलेसम्म अर्कोलाई ‘माइनस’ गर्ने र ब्यक्तिगत रुपमा ‘पेल्ने’ नियत थियो।

काठमाडौं बसुञ्जेल चार चोटि गएँ होला म केन्द्रीय कार्यालयमा। हरेक पटक जाँदा कांग्रेसको कुनै भातृसंस्था अथवा कांग्रेसनिकट कुनै संस्थाको कार्यक्रम भईरहेको हुन्थ्यो। ‘प्रजातान्त्रिक’ बहुमत भएको ‘बाइप्रोडक्ट’ थियो होला शायद यो। एक पटक पुग्दा एकजना केन्द्रीय नेता अरु केहि बाहिरी मान्छेहरुले घेरिएर बसिरहेका थिए।

“उ उहाँ वसन्तजी, उहाँ हाम्रो जापान च्याप्टरको कोषाध्यक्ष।“ हामीबीच नमस्ते आदानप्रदान भईसकेपछि मलाई चिनाए केन्द्रीय सदस्यले। “अनि उहाँचाहिँ ------जी, काठमाडौं तरुण दलको अध्यक्ष।“ यसको अर्थ बाहिरको भिड तरुण दलको भर्खरै सकिएको कार्यक्रमको भिड रहेछ।

“ल वसन्तजी जापानमा पनि तरुण दल खोल्नुप-यो, तपाईँहरु सकृय हुनुप-यो!” परिचयमा हात मिलाउँदा मिलाउँदै तिनले भनिहाले। तिनले मलाई पनि हातै धोएर लागेको कांग्रेस भन्ठानेछन्!

“हामीले के खोल्नु र? अरु-अरु लाग्या छन्।“ भनेर म उम्किएको थिएँ।

खासमा म त्यो दिन कुनै काम नभएपनि केन्द्रीय कार्यालय पुगेको थिएँ, सम्पर्क टुटेका पुराना साथीहरुमध्ये कोहि न कोहि टुप्लुक्किइहाल्छ कि भन्ने आशामा। धेरै बेर नबसी निक्लिएँ।

घर फर्कँदा सोचिरहेको थिएँ, ‘अहिले केन्द्रीय कार्यालयभित्र पस्दा काँग्रेस ठानिइयो, भोलि अर्को समूहको बहुमत आएको बेला पस्दा एमाले ठानिइएला---!’

तर यस्तो कहिलेसम्म भइरहने हो?!

1 comment:

  1. I am BA honors student in political but really I hate this politic after know that what we study is not real politic whatever they did that’s call politic.

    ReplyDelete