August 18, 2007

हारालाई बधाई!!

“आचुई ने!” (कस्तो गर्मी!) भन्दै प्रोफेसर ल्याबमा पसे एकबजेतिर। प्रोफेसर ल्याब कमै आउँछन्। खाना खाएर फर्किँदा पसेका रहेछन्। (गर्मीचाहिँ सहिनसक्नु गरेर बढेको छ, अधिकतम ३६ भन्दा माथि छ लगातार केहि दिन यता ।)

“अघि हारा आएको थियो।“ उनी ल्याबका उनकै समवयी जापानी रिसर्चरसंग कुरा गर्न थाले। माष्टर्स दोश्रो वर्षको विद्यार्थी हारा आज बिहानको साप्ताहिक ‘ग्र्याजुयट मिटिङ्ग’ मा अनुपश्थित थियो। “बच्चा जन्मियो रे उसको!”

“हो र?!” सोच्दै नसोचेको कुरा सुनेर रिसर्चरले आश्चर्य जनाए। छक्क परें म पनि! हारा अविवहित छ, जापानमा त्यति सुनिने घटना होईन यो।

“विहेनै नगरी बच्चा जन्मिएछ। हारा अझै पढ्दै छ। फेरि जागिरको पनि टुंगो लागिसकेको छैन अझै।“ प्रोफेसरले कुरा अगाडि बढाए। यो वर्ष पढाइ सक्ने ल्याबका अरु विद्यार्थीहरु सबैको आउँदो अप्रिलबाटको जागिर पक्का भैसकेको छ, हारा मात्रै बाँकी छ। “तर पनि जापानमा बच्चा कम जन्मिराख्या बेलामा बच्चा जन्माएकोमा मैले हारालाई धन्यबाद पनि दिएँ बधाइको साथमा।“ प्रोफेसरको अनुहारमा ठूलो खुशी झल्किन्थ्यो।

ल्याबका जापानी केटाहरुलाई बेलाबखत राष्ट्रभक्तिका ‘पाठ’ सिकाइरहन्छन् प्रोफेसर। “तिमीहरुले भोलि पेशेवर (प्रोफेसनल) जिन्दगी शुरु गरेपछि ‘यस्तो’ गर्नुपर्छ, समाजको लागि ‘यसो’ गर्नुपर्छ, देशको लागि ‘त्यसो’ गर्नुपर्छ—“ , “हामी जापानीको स्वभाव ‘यस्तो’ हुनुपर्छ, ‘त्यस्तो’ हुनुहुन्न।” आदि-आदि। दोश्रो विश्वयुद्धको दौरान हुर्किएको र त्यसपछि कठोर श्रम गरी जापानलाई अहिलेको अवश्थामा ल्याउने पुस्ताको एक सदस्य भएको नाताले आजभोलिका जापानी युवाको अलमस्तीपना र रंगिन जिन्दगीलेले दिक्क बनाउँदो हो उनलाई।

विगत चार वर्ष यता लगातार जसो सम्मानित प्रोफेसरका यस्ता कुरा सुन्दै आएको आधारमा मैले अनुमान गरेको थिएँ कि, यो घटनामा ‘सदाचार र नैतिकता’ भन्दा बाहिर गएको आरोपमा हाराले केहि गाली पाउँछ होला। प्रोफेसरले उल्टो बधाई दिए। प्रोफेसरको चिन्ताको लहरमा जापानमा जन्मदर कम हुँदै जानु थपिएको भुलेको रहेछु मैले। बेलाबखत यो कुरा पनि गर्न थालेका छन् उनी केहि समय यता। सदाचार र नैतिकताको प्रोफेसरको मापदण्डलाई बच्चा जन्मिनुको खुशीले ओझेल पारिदियो शायद।

तर के यो प्रसंग, जन्मदर एकदम कम हुँदै गएकोमा हताश जापानी समाजको परिवर्तित मानसिकताको संकेत हो त? एउटै घटनालाई समग्र परिश्थितिको प्रतिनिधिको रुपमा सजिलै लिन नमिल्ला। तर पनि प्रोफेसरले सजिलै स्विकार गरेको घटनाले अलि आश्चर्यमा पारेको हो मलाई।

(ब्यक्तिगत रुपमा मेरो आफ्नो धारणा फरक हुनसक्छ।)

जापानमा बच्चा कम जन्मिएर जनसंख्या घट्दै गएको कुरा अब पुरानो समाचार भैसक्यो। कारण भने युवा-युवतीले बिहे गर्ने र घरजम गर्ने कुरामा चासो नदेखाउनुनै हो। बिहाबारी र पारिवारिक जीवनले यो जमानाको अत्यन्त ब्यस्त पेशागत जिन्दगीमा पु-याउने वाधानै प्रमुख कारण हुनुपर्छ। मेरो पुरानो पोष्टमा पनि केहि कुरा गरेको थिएँ मैले (http://gautambasanta.blogspot.com/2007/05/blog-post_27.html)।

त्यसो त पश्चिमकै कतिपय देशमा पनि स्थानीय जन्मदर कम हुँदै नगएको होईन। उनीहरु यति धेरै आत्तिएका छैनन्। आप्रवासीहरुलाई स्विकार्ने कुरामा जापानीहरुभन्दा उदार भएका कारण श्रमशक्तिकै अभावमा उनीहरुको समाज वा देशको उत्पादकत्व घट्ने सम्भावना निकट भविष्यकै लागि नहुन सक्छ। जापानीहरुले विदेशी श्रमिकहरुलाई त्यति सजिलै स्विकार गर्लान् जस्तो लाग्दैन मलाई। त्यसैले प्रौढ जापानी पुस्ता हताश मानसिकतामा छ, तन्नेरीहरु विहे गर्न र बच्चा जन्माउनबाट भाग्दैछन्, विदेशीहरु थपिए भने जापानको ‘मौलिकता’ हराउला भन्ने डर।

सरकार त लाग्नेनै भयो यो समस्या समाधान गर्न। अलिक समय पहिला सफ्टब्यांक भन्ने कम्पनीले पनि बढी बच्चा जन्माउने आफ्ना जागिरेहरुलाई आकर्षक नगद पुरस्कारहरुको घोषणा गरेको पढेको थिएँ। अरु कम्पनीहरुले पनि गरेका छन् होला शायद।

(प्रसंगवश, यहाँ यस्तो छ, हामीकहाँ भने उत्पादन हुन्छ त बच्चाकै उत्पादन हुन्छ, अरु केहि कुराको हुँदैन! )
***************************************************
अब कुरो गरौं हाराको। एक वर्ष एउटै समूहमा बसेर काम गरियो। मैले अहिलेसम्म संगै काम गरेका १५-१६ जना केटाहरुमध्यै सबैभन्दा अल्छी र कामचोर (पढाइको मामिलामा, अरु कुराको बारेमा त मलाई थाहा हुने भएन।) दुई जना मध्येको एक हो उ। ल्याबमा सकेसम्म कम आउँथ्यो उ।

मान्छे अग्लो-अग्लो, ‘चिल्लो’ र ‘ह्याण्डसम’ छ, बोलीचाली र लवाईको पारा अचेलका जापानी ठिटीहरुले मनपराउने खालको छ।

र अन्त्यमा फेरि एकपटक हारालाई बधाइ दिन चाहन्छु, बाउ भएकोमा।

(यहाँ प्रयोग गरिएको ‘हारा’ छद्मनाम हो।)

7 comments:

  1. मौलिकता पनि कायम गर्न खोज्नु र जन्मदर पनि घट्दै जानु निस्चय पनि जापानको लागि अफ्ठ्यारो स्तिथि हो........जापानमा त त्यहिं नजन्मी कुनै हालतमा नागरिक हुन्न रे हो? अब यसरी नै जापानको जन्मदर घट्दै गयो भने त एक दिन नेपालको फुटबल टिमले जापानको टिमलाई हराउंछ है :)

    ReplyDelete
  2. प्रज्वलजी, मैले बुझेसम्म यहिँ जन्मेकाले पनि नागरिकता पाउँदैनन्। तिनीहरुले पाउने भनेको PR सम्म मात्रै हो।
    नेपालको फुटबल टिमले जापानको लाई हराउने दिन आउन जापानको टिममा सबै ५० माथिका हुनुपर्ला। आशा गरौं त्यो दिन पनि आउनेछ! (अब नेपालको लागि अरु उपायनै बाँकी नरहेपछि के गर्नु!)

    ReplyDelete
  3. Hello basanta ji, got chance to see ur blog after a bit of gap. hope that u are doing good. read this entry. Nice one.

    These days, I started a photo blog after getting bored with regular stuffs in talking forum. Hope to see u again n again in blogs. Take care!

    ReplyDelete
  4. Nepal ma birth rate hi bhayeko chha japan ma chai low. rate transfer gare kaso hola? Hara Lai MEro PAni Badhai Chha.

    ReplyDelete
  5. Chamatkari babajee, thank you. I have visited your photo blog, it is really nice. I will continue visiting it.

    Deepeshjee, thank you for your comment. Welcome to this blog.

    ReplyDelete
  6. hamile yastai kura padhera sunera basnubahekaru k garne ra dai!! rastra neta haru ko dimag ma ysta kura kahile ghusne hoina,,

    ReplyDelete
  7. नैतिकता र आवश्यकताको सङ्गम !

    ReplyDelete