समसामयिक विषयवस्तुमा एउटा कथा शुरु गरेको थिएँ, दिउँसो कामको समय अलिकति चोरेर। सकेसम्म त्यहि कथालाई भ्याएर आज यहाँ टाँस्ने मन थियो, तर आधी पनि पूरा गर्न सकिएन। अनि अलिकति आफ्नै दैनिकीका कुरा गर्नुप-यो भनेर बसेको छु। उसो त 'ब्लग' भनेको पनि दैनिकीनै हो क्या र!
कहिलेकाहीँ खाना खाने बेलामा भेट हुन्छ हामी नेपालीहरुको र तीन जना भन्दा बढीको समूह बनेपछि हामी लाग्छौं कतै, जहाँ बसेर भैरब अर्यालले कतै भनेजस्तै 'कमिलाकुटी देखि सिंहदरबारसम्म'को कुरा काट्न पाइयोस्। हाम्रो कुराकानीको शुरुवात नेपाली राजनीतिको दुर्दशामाथिको आ-आफ्नो टिप्पणी र नेताहरुलाई स्वतस्फूर्त र निसंकोच गरिने एक राउण्ड चर्को गालीबाट बाट शुरु हुन्छ। र कुराकानीको ठूलो अंश पनि नेपाली राजनीति र नेताहरुको बारेमा केन्द्रित हुने हुनाले हामीले यस्ता जमघटलाई 'राजनीतिक सेसन' अथवा 'बन्दसत्र' भनेर नाम दिएका छौं। निश्चित रुपमा अरु-अरु विषयहरुमा पनि कुरा हुन्छन्। कुरै त हो, आज पनि कुराले बुश, ब्लेयर र क्लिण्टनसम्म पुग्न भ्याएका थिए।
नेताहरुलाई सत्तो-सराप नगरी खा'को पच्दैन हामी नेपालीहरुको (हुनत नेता भनाउँदा मु---हरु पनि त्यस्तै छन्!)। मेरो पनि बानी यस्तै छ। तर अलिकति चिन्तन भने गर्नुपर्ने भएको छ हामीले। देशमा बेथिति भयो, नीति-नियम मिलेन भनेर जति हामी कुर्लन्छौं, त्यत्तिको नैतिक अधिकार हामीसंग छ कि छैन भनेर सोचेका छौं र हामीले कहिल्यै? देशलाई ठग्ने मौका मिल्यो भने हामी के गरौंला?! हाम्रो नैतिकता र इमान्दारितको खोललाई साना-साना घटनाहरुले उदाँगो पारिरहेका हुन्छन्। हामी विदेश बसुञ्जेलमात्रै इमान्दार र नैतिक हुन्छौं, नेपालको आकाशमा पुग्नै नपाई हाम्रो मन 'नेपाली' बनिसक्छ। हामीमध्ये कति छौं, विमानस्थल अथवा भिड हुने अन्त कतैपनि चिनेजानेको मान्छे भएको भरमा अरुको पालो मिचेर अगाडि नगएका? अथवा चिनजानकै भरमा २० किलोमात्र पाईने ठाउँमा ४०-५० किलै सामान नेपाल वायुसेवाको 'ट्रयाक्टर'मा नकोचेका? कुरा साना होलान्, तर हाम्रो स्वभाब देखाउन यस्तै कुरा काफी छन्।
हिजोअस्ति राजनीतिक रुपमा सुतेर बसेका कतिपय मान्छेहरु अहिले 'ब्यस्त राजनीतिज्ञ' भएका छन्। भोलि नेपालमा अप्ठेरो परिश्थिति आउनसाथ यिनको ठूलो हिस्सा (बिदेशमै बसेर भौतिक रुपमा सुरक्षितै भएपनि) राजनीतिक रुपमा फेरि दूला पस्नेछ। यसरी 'ब्यस्त राजनीतिज्ञ'मा फेरिएका हामी मध्ये धेरैलाई भोलिको 'नयाँ' जमानामा गतिलै 'राजनीतिक नियुक्ति' पाउने 'दह्रो' लालसा छैन भनेर को भन्न सक्छ?!
एउटा स्थानीय र खुशीको कुरा पनि थियो। नागोयामा केहि उत्साही भाइहरुले Nepal Youth Council Japan भन्ने संस्थाको शुरुवात गरे अस्ति। पारिवारिक दायित्वमा ब्यस्त हुनाले जान पाईएन, नरमाईलो लागिरहेको छ। भाइहरुको उत्साह र आशावदितालाई प्रशंशा गर्न चाहन्छु म र संस्थाले स्पष्ट उद्देश्यका साथ काम गरेर सफलता पाओस् भन्ने शुभकामना छ मेरो। यो शुभकामनालाई हाम्रो आजको 'राजनीतिक सेसन'ले पनि पारित गरेको हो!
र अलि रमाईलो 'टोन'मा भने, जापानमा नेपालीहरुको संख्या र नेपालीहरुका संघ-संस्थाहरुको संख्या 'बराबरी' हुन गएको कुरा निक्लेको हो। जापानमा भेटिने कुनै पनि नेपाली कुनै न कुनै संस्थाको कि त 'संयोजक' कि त 'अध्यक्ष' हुनसक्ने सम्भावना प्रवल भएको निष्कर्ष पनि निक्लेको हो हाम्रो आजको 'राजनीतिक सेसन' अथवा 'बन्द सत्र'मा!
गोतामे जी,
ReplyDeleteबडा मनको कुरा लेखिदिनु भयो। औसत नेपालीको काम भन्दा गफ ज्यादा। नेतालाई गाली गर्ने कुरामा एक से एक। आफु सिन्को न भाच्ने, दोष जम्मै अरुको देख्ने हाम्रो बानी न सुध्रिकन केही हुनेवाला छैन।
अब यस्तै जनताले चुन्ने, गुन्ने, भन्ने त्यस्तै त हुन्छन् होइन र भने? असल नेताको के आश गर्नु हुन्छ?
अलि पढे लेखेका, बुझेका चाहि बिदेशमा। स्वदेशमा त झुत्रे झाम्रे जति मात्र। अनि त्यस्मा नि केही पढे लेखेका तर खुराफाट दिमागीहरु लाटा देशमा गाँडा तन्नेरी बनेका छन्।
नेपालको लिला अपरम्पार छ। पशुपतिनाथले नि कुन दिन कल्याण गर्न छोड्ने हुन्, थाह छैन।
धन्यबाद राहुल दाइ प्रतिकृयाको लागि!
ReplyDeleteThat is great for me thanks for that keep on writhing that.
ReplyDeleteधन्यबाद हरिजी! यो ब्लगमा स्वागत छ।
ReplyDelete