September 18, 2011

दुई 'नाङ्गा' मुक्तकहरु

"हामी नेपाली"
झूटो-साँचो हावा थोरै बहिदिए पुग्छ
रेलिङ्ग भाँच्ने शक्ति थोरै रहिदिए पुग्छ
जस्को पनि जन्ती, जस्को पनि मलामी
हामीलाई बस् केहि भईदिए पुग्छ।


"राष्ट्रिय पोशाक नीति"
पाईण्टमाथि कट्टु लगाए पनि हुन्छ
रातो साडीको फेटा सजाए पनि हुन्छ
अबदेखि सभासद र मन्त्रीहरु
कार्यालय नाङ्गै आएपनि हुन्छ।

September 12, 2011

दगाममा एक रात-२

त्यसको एकछिनपछि हामीलाई भान्छाघरतिर लगियो। स्थानीय रक्सी र केहि खानेकुराहरु थिए। त्यस्तो विशेष केहि थिएन, सामान्य थिए परिकारहरु। शाकाहारी भएकाले मलाई भने अलि-अलि अप्ठेरै भयो, म भुटेको (तारेको) कालो बोडी बढी खानेमा परें। उकालो लाग्नु अगाडि खैरेनीटारमै किनेको स्याऊ पनि थियो अलिकति। समूहका अर्का एक सदस्यचाहिँ अरु बेला मासु खाए पनि रक्सीसंग भने मासु नखाने हुनुहुँदोरहेछ। त्यसैले हाम्रो जोडी मिल्यो:)

लोड-शेडिङ्ग रहेछ त्यो दिन। हामीले खाना खान थाल्दा-नथाल्दै भयंकर हुरीसंगै पानी बर्सिन पनि शुरु भयो। आधा घण्टाजतिमा रोकियो र एकछिनमा बत्ती पनि आयो। खानासंगै अलिअलि नाचगान पनि शुरु भएको थियो। वर्षायाम भएकोले सबै खेतीपातीमा ब्यस्त हुँदा साँस्कृतिक तयारी त्यति हुन नसकेको कुराको जानकारी गराउँदै हुनुहुन्थ्यो नन्द सर। हाम्रो समूह पनि सानै थियो, फेरि समूहका सबै नेपालीमात्रै। यो कारण पनि हुनसक्छ त्यति उत्साहित माहौल नदेखिनुमा। जे होस् रमाईलै भयो भन्नुपर्छ समग्रमा। दोहरी निकै रन्कियो एक छिन्। हाम्रो समूहका शिव सर खप्पीस हुनुहुँदोरहेछ दोहरीमा। उहाँको गायकीको बारेमा थाहा थियो, तर दोहरीमा पनि पोख्त हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन। बाँकी हामी अरुको काम भनेको थप्पडी बजाउने र नाच्नेमात्रै भयो। खाना खाईसकेपछि एकछिन स्थानीय कौडा नृत्य पनि हेर्ने अवसर पाईयो। 



 दोहरीको स्थानीय टिम
 


नृत्यमग्न क्षणहरु

कौडा गाऊँदै स्थानीयहरु 

कार्यक्रमको बीचतिर फिट्टान भएर ढल्पलिँदै एकजना युवा आईपुगे र उफ्री-उफ्री नाच्न थाले। ती बेला-बेलामा "तिमी टाढा, मैपनि टाढा; माछी काँडे डाँडैमा घर सार" भाकाको फर्माईश पनि गरीरहेका थिए। चालढालले ती भाइ स्थानीय होईनन् भन्ने सहजै थाहा हुन्थ्यो। उनी जुम्लाका रहेछन्। नेपाली सेनाका जवान ती भाइ यतिखेर भने दगामको छेवैको अर्को डाँडाको टुप्पोमा रहेको दूरसञ्चारको टावरको रक्षार्थ खटिएका रहेछन्।

तिनको चुरीफुरी 'साह्रै' भएपछि हामीमध्येकै एकजना साथी पोखराको फूलबारी ब्यारेकको क्याप्टेन बन्नुभयो। अर्को एकजना साथी ती भाइका गणपतिका साथी बन्नुभयो र आफ्नो गणपति 'साथी'संग मोबाईलमा 'कुरा गर्न' थाल्नुभयो। क्याप्टेनलाई नजिकै देखेपछि र गणपतिका कुरा सुनेपछि जुम्ली भाइलाई रक्सीले छोडेजस्तो भयो, ती  त्यसपछि शान्त भएर एक छेऊमा बसे। भोलिपल्ट बिहानै हामी नउठ्दै आईपुगेका थिए रे ती र नन्द सरसंग 'हिजो बेलुका सरहरुसंग नराम्रो गरें कि क्या हो?' भनेर पीर मान्दै थिए रे।

क्याप्टेन (ज्याकेटमा) र जवान। जवानले क्याप्टेनलाई 'चिन्नु' भन्दा पहिले:)

हामी त्यसपछि सुत्नका लागि संगै बनाईएको पाहुनाघरतिर लाग्यौं। स्थानीयहरुको घरमा एक-एक जनाको दरले सुत्ने ब्यवश्था पनि थियो तर हाम्रो सल्लाह पाँचजना एकै ठाऊँमा सुत्ने भन्ने भएकोले पाहुनाघरतिर लगिएको थियो।

बिहान छ बजेतिर उठेर बाहिर निस्कँदा चिसो तर मिठो हावा सर्सराईरहेको थियो र वरिपरि हरियालीको महासागर छचल्किरहेको थियो। वर्षातको याम अझै नसकिएकोले दिन पूरै खुलेको भने थिएन। बस्तीहरु बादलमुनि लुकिरहेझैं लाग्थे। त्यहाँबाट हिमश्रृंखलाको लामो भाग देख्न सकिने रहेछ। बिहान एफएममा कायाकैरन सुन्दै गर्नुभएका नन्द सरले ऊ 'ऊ त्यता लमजुङ्ग हिमाल पनि देखिन्छ, आज अलि खुलेको छैन।' भनेर देखाऊँदै हुनुहुन्थ्यो। त्यो बाहेक अरु हिमाल भने देखिएका थिए।

रुपाताल लगभग पूरै देखिन्थ्यो त्यहाँबाट। "ऊ त्यो देखिएको चाहिँ रुपाताल, नदेखिएको चाहिँ वेगनास ताल!" भनेर ठट्टा गर्दै हुनुहुन्थ्यो एकजना साथी।


बादलमुनिका बस्तीहरु र बादलमाथिका हिमालहरु

दगामसंग आँखा जुधाएर उभिएको यो पहाड थाप्रेक गाविसको एक भाग रहेछ। एउटा लामो बादलको टुक्रा धेरै बेर बिस्तारै हिँडिरहेको देखेपछि यो तस्बीर लिएको थिएँ मैले।

नन्द सरसंग एकछिन अरु कुरा पनि भए। दगामको सबैभन्दा ठूलो समस्या पानीको रहेछ। अनि अर्को समस्या गाऊँबाट युवा पलायनको पनि रहेछ। यथार्थमै, अघिल्लो रातको भेलामा पनि कि १७-१८ सम्मका युवाहरु थिए, कि ५० कटेकाहरु थिए, बीचका छँदै-थिएनन्। नन्द सरका आफ्नै छोराछोरी पनि काठमाण्डौंतिर रहेछन्। गाऊँका धेरै युवा अरबमा रहेछन्। अरबको कमाई पनि गाऊँमा खासै आईपुग्दो रहेनछ, सबैले काठमाण्डौं र खैरेनीटार वा दुलेगौंडा जस्ता चल्तीका बजारमा घरघडेरी जोड्दा रहेछन्। नन्द सरजस्ता केहि स्थानीय दगामलाई एउटा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटक गन्तब्य बनाउन कस्सिएर जति लागे पनि युवापुस्ताको सकृय सहभागिताविना त्यो असाध्यै गाह्रो हुने निश्चित छ। उहाँहरुको योजना अरु-अरु पनि रहेछन्, जस्तै प्रशश्त मात्रामा रहेको चरन क्षेत्रको सदुपयोग गर्दै ठूलो आयतनमा बाख्रापालन गर्ने। यस्ता योजनालाई सघाउन एउटा सहकारी पनि शुरु भईसकेको रहेछ। तर यहाँपनि नयाँ ढंग, नयाँ ब्यवश्थापनका लागि शिक्षित युवा रगतको जरुरत छ। कम्तिमा दशजना पढेलेखेका युवाले गाऊँमै बसेर केहि गर्ने कम्मर कसे भने नन्द सरजस्ता पाकाको अभियान धेरै अगाडि बढ्न सक्ने निश्चित छ। अलिकति सुझबुझपूर्ण योजना र लगानी पाउने हो भने २-३ वर्षमै दगामले स्थानीय रुपमै आत्मनिर्भर मौलिक पर्यटन उद्योगको विकास गर्ने छ र यो एउटा चर्चित गन्तब्य बन्ने छ।

एकछिनमा एकजना साथी उठेर आउनुभयो। अरु तीनजनालाई पाहुना घरमै छोडेर म र उहाँ नजिकैको अर्को डाँडातिर लाग्यौं। फेदीमा एउटा प्राथमिक विद्यालय रहेछ, २०११ सालमै स्थापना भएको। २०११ सालमै विद्यालय स्थापना भईसकेको कुराका आधारमा यहाँको शैक्षिक चेतना धेरै माथिल्लो स्तरको भईसक्नुपर्ने जस्तो लाग्छ, तर त्यस्तो हुन नसकेको स्पष्ट देखिन्थ्यो दगाममा। अलिकति भौगोलिक दुर्गमता, अलिकति राज्यको वेवास्ता र अलिकति शिक्षित दगामेलीहरुको पलायन सबै मिलेर यो स्थितिको निर्माण भएको हुनुपर्छ। 

त्यहि विद्यालयनै नन्द सरको कार्यस्थल पनि रहेछ। 

विद्यालय कटेर उकालो उक्लिसकेपछि दुईटा समथर भूभाग देखिए; एउटा त्यहाँको पूजाआजा गर्ने-बलि दिने कोट थियो, अर्को समथर भूभाग बनभोजस्थलका रुपमा प्रयोग गर्न मिल्दो देखिन्थ्यो। त्यहाँबाट पनि पोखरासम्मको दृश्य र हिमालहरु देखिन्थ्यो। 

दक्षिणतिर फर्किएर हेर्दा। बादलको समुद्रले छोपिएका छन् बस्तीहरु।

कोटबाट पोखरातिर फर्किएर हेर्दा।

कोट दगामभन्दा केहि अग्लो ठाऊँमा छ। तलको तस्बीर कोटबाट दगाम हेर्दाको हो। छेऊतिर दूरसंचारको टावर देखिएको छ। बीचतिर देखिएको हामी बास बसेको गाऊँ हो, जसको खास नाम 'माझ दगाम' रहेछ, अर्को दगामलाई पल्लो दगाम कि त्यस्तै के भनिन्छ भनेर कुरा भएको थियो।


फर्केर गएर हामीले कोदोको रोटी र स्थानीय महको नास्ता ग-यौं। दुई घण्टाजति अल्मलिएर कोदोको ढिँडोसहितको खाना खायौं र फूलका गुच्छा समातेर दगामसंग बिदाबारी भयौं।

फर्कँदा हामीले अर्को बाटो समात्यौं, जुन दुलेगौंडातिर जान्थ्यो। यो फराकिलो तर कच्ची मोटरबाटो थियो, बर्खामा भने त्यति प्रयोगमा आएको/आउनसक्ने देखिँदैनथ्यो। हिँडेको एक छिन पछि भिरालो बाटोमा हिजोका जुम्ली भाइ भेट्टिए, मध्यान्हमै ती आफूलाई सम्हाल्नै नसक्ने गरी फिट्टान थिए र अर्का एकजना भाइ उनलाई सम्हालेर बाटो हिँडाऊँदै थिए।

हामीलाई देखेपछि ती भाइ अलि सतर्क भए र 'क्याप्टेन' को नजिकै उभिएर जीऊ तनक्क तन्काएर स्यालुट गरे। 'क्याप्टेन साप' ले उनलाई 'ल राम्रोसंग ड्युटी गर्नु!' भनेपछि हामी हाँस्दै बाटो लाग्यौं।

ती भाइले सुरक्षा गरेको टावर कत्तिको सुरक्षित होला! धन्न अहिले द्वन्द्व छैन यो क्षेत्रमा!

दगाममा एक रात-१
(समाप्त)


September 06, 2011

दगाममा एक रात-१

गत शुक्रवार तनहुँ जिल्लाको एउटा सुन्दर गाऊँ दगाम जाने अवसर मिल्यो। दगाम तुलनात्मक रुपमा नयाँ पर्यटकीय गन्तब्य हो। यसको प्राकृतिक अवश्थितिका कारण यहाँबाट धेरै हिमशृंखला नियाल्न सकिन्छ र चारैतिरका भेगहरु, पोखराको केहि भाग सम्मपनि राम्ररी देख्न सकिन्छ। आफ्नो यो विशेषतामा 'होम स्टे' र सांस्कृतिक गतिबिधिहरु पनि जोडेर आफूलाई चिनाउने चिनाउने प्रयासमा छ दगाम।

समुद्र सतहबाट १६-१७ सय मीटरको उचाईमा हुनुपर्छ दगाम। यो मेरो अनुमान मात्र हो, दगाम त्यति नचिनिईसकेकोले यसका बारेमा धेरै पढ्न पनि पाईन्न। दगाम मगर जातिको बाहुल्य भएको गाऊँ हो, अलिकति गुरुङ्गहरु पनि रहेछन्।

पृथ्वी राजमार्गमा पर्ने एउटा बजार खैरेनीटारमा आफ्ना साधन राखेर हामी गाऊँ पसेका थियौं, पौने दुई भईसकेको थियो। सहयात्री साथीहरु (ईश्वर, गोपाल, शिव र महादेव) पहिले पनि गईसक्नुभएको रहेछ दगाम। उहाँहरु त्यसबेला अर्कै बाटो मोटरसाईकलमा जानुभएको रहेछ। यसपालि भने हिँडेरै जाने योजना थियो। खैरेनीटार र लगत्तैको दरगाम गाऊँमा सोधखोज गर्दा साढे-दुई तीन घण्टा लाग्ने जानकारी पाईयो। यो हिसाब दैनिकजसो ओहरदोहर गरीरहने, बानी परेका मानिसहरुका लागि हो। यसैले हाम्रा लागि ४-५ घण्टा लाग्ने कुरामा हामी ढुक्क भयौं। फेरि हामीलाई हतारिएर हिँड्नु थिएन, बाटामा पर्ने ग्रामीण भेग र जंगलहरुको अवलोकन गर्दै, आधा घण्टाको फरकमा केहि क्षण आराम गर्दै हिँड्न चाहन्थ्यौं, साँझ सात बजेसम्ममा दगाम पुगे हुन्छ भन्ने मानसिकतामा थियौं हामी। 

मैले नेपाल धेरै घुमेको छैन। जापानबाट फर्केपछि त झन् कतै पनि गएकै छैन। यसैले बाटाका हरेक दृश्य मेरा लागि नयाँजस्तै र ताजगीदायक (refreshing) भए। मलाई मेरो देशको सौन्दर्यले जहिलेपनि खुशीनै खुशी भरिएको भावुकता दिन्छ। र त्यो दिनको यात्राभरि पनि हरियो सौन्दर्यको खात लागेको थियो हाम्रो वरिपरि जतिखेरपनि।

घण्टौं हिँड्दा लागेको थकाई र तरतरी बगेको पसीनाको भने भो न कुरो गरम्:) एक-दुई ठाऊँमा नाक ठोक्किने उकालाहरु पनि थिए। थकाई, पसीना र उकालाहरुसंग जुध्न हाम्रा रमाईला गफ र जोकहरुले खुब साथ दिएको मान्नैपर्छ।

 बाटामा एक ठाऊँमा भेटिएका स्थानीय केटाकेटीहरु

 सहयात्रीहरु

 
 उकालीमा।
 विश्राममा सहयात्रीहरु

 चार घण्टा पछि बल्ल नजिक आईपुग्यो दगाम। (देख्न त यो खैरेनीटारबाटै पनि देखिन्छ।)

दगाम यो भिरालो डाँडाको टुप्पैमा बसेको छ। दगामलाई पाल्ने खेतीपातीले ढाकिएको छ पूरै डाँडो। 

 दगामको मलिलो ज्यानको एउटा हिस्सा

गाऊँ पसेर गाऊँका मसिना गोरेटा बाटाहरु छिचोल्दै हामी अलिक माथि रहेको गाऊँको मूलबाटोमा पुग्यौं। मूलबाटो किन भनेको भने दगाम एउटा फराकिलो (तर कच्ची बाटो)ले वरिपरिका शहरी भेगसंग जोडिईसकेको रहेछ। कच्ची हुनाले बर्खायाममा भने बाटो त्यति भरपर्दो नहुने रहेछ। 

अलिकति अगाडि बढेपछि हामीलाई स्वागत गर्न त्यो गाऊँका 'मुखिया' नन्द थापा मगर उभिईरहनुभएको थियो। उहाँसंग भलाकुसारी र परिचय (नयाँ त मै मात्र थिएँ)पछि हामी त्यहाँको पर्यटकीय प्रयोजनका लागि बनाईएको सामुदायिक भवनतिर लगियौं। त्यहाँ केहि किशोरी बहिनीहरुले माला र टिकाले हामीलाई स्वागत गरे।
 स्वागतपछि। हामी खैरेनीटारबाट हिँडेको लगभग पाँचघण्टा भईसकेको थियो।

शीतल बतास चलिरहेको थियो, त्यसले लखतरान भएर थाकेको हाम्रो ज्यानमा नयाँ ज्यानको संचार गरायो। त्यहाँबाट दुलेगौंडा, लेखनाथ नगरपालिकाको केहि भाग, रुपाताल र पोखराकै पनि केहि भाग देखियो। साँझ परीसकेकोले बत्तीहरु टिल्पिलाउन थालीसकेका थिए सबैतिर। दगामबाट देखिने दृश्य एकदम रोमाञ्चक थियो। हवाईजहाजले अलिकति उचाई लिएपछि देखिनेजस्तै थियो दृश्य। धोका दिन थालेको मेरो तीन वर्ष चानचुन पूरानो क्यामेरा त्यो दृश्यलाई कैद गर्न सफल भने भएन।




दगाममा एक रात-२

August 28, 2011

मेरा बीपीमय दिनहरु-१



केहि समय यता बीपीप्रतिको आकर्षण तिब्र भएको छ ममा। बीपीका सृजनाहरु र स्वयं बीपीका बारेमा सकेसम्म धेरै पढ्ने चाहना बढीरहको छ। यहि ‘बीपी भोक’लाई केहि शान्त पार्न तीन पुस्तकहरु किनेको थिएँ केहि पहिला; ‘मोदीआईन’, जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’। बीपीका सबै किताबहरु किन्ने छु, क्रमैसंग।

यी तिनमध्ये सानो कदको सुन्दर ‘मोदिआईन’ मैले पहिलेपनि पढिसकेको हो। यसको कथाको सरसता र सरलता र “ठूलो मान्छे होईन, असल मान्छे बन्नु।“ भन्ने अपरम्परागत तर शाश्वत सन्देशका कारण म बारम्बार ‘मोदिआईन’ तिर तानिईरहन्छु। जति पढेपनि यो पूरानो लाग्दैन। यसपटक पनि ‘एकै सास’ मा पढिसिध्याएँ यसलाई।

बीपीको ‘आत्मवृत्तान्त’ पढेपनि ‘जेल जर्नल’ भने पढेको थिईन। बिभिन्न ब्यस्तताकाबीच दिनदिनै अलि-अलि समय मिलाएर पढें, झण्डै महिनादिन लाग्यो पढिभ्याऊन। हरेक दिन जसो बीपीको दैनिकी अलि-अलि पढ्दा बीपीको तत्कालीन मानसिकताको असर परीरह्यो मलाई, म दैनिकीका पानाहरुसंगै उदास, खुशी, आक्रोशित र निराश भईरहें। म अझै त्यो असरमा बाँचीरहेको छु, र ‘फेरि सुन्दरीजल’ त पढ्नै बाँकी छ।

बीपीको बारेमा मैले पहिलोचोटि सचेत रुपमा सुन्दा उहाँको निधन भईसकेको थियो। वास्तवमा उहाँको निधन र त्यसपछिको शवयात्राका बारेमा ठूलाले कुरा गरेको सुनेकोनै उहाँसंगको मेरो पहिलो सचेत परिचय हुनुपर्छ। बहुदल-निर्दलको चुनावताकाका हल्ला र कानेखुशीहरुमा पनि उहाँको नाम सुनिएको थियो होला, तर याद छैन। पञ्चायत आफ्नो उग्रतामा मात्तीरहेको त्यो समयमा बीपीको निधनपश्चात पनि बीपीमाथि ‘प्रतिबन्ध’ जारीनै थियो देशमा र बीपीका बारेमा कांग्रेसी अखबारहरुमा मात्रै केहि भेट्न सकिन्थ्यो।

स्कूले जीवनको माध्यमिक तहदेखि प्रमाणपत्र तह पढुञ्जेल केहि बामपन्थी हावा बग्यो मेरो वरिपरि। जानी-नजानी म बामपन्थीहरुकाका यावत् प्रचारबाजीहरुलाई सत्य ठान्न थालें। बामपन्थीहरुको प्रचारबाजीको एउटा पक्षमा बीपी पनि हुनुहुन्थ्यो र उनीहरु लगभग सधैंजसो बीपीलाई भारतपरस्त र राष्ट्रघातीका रुपमा चित्रण गर्थे। यस्तै चित्रण पञ्चेहरुले पनि गर्थे। बीपीको मानमर्दनलाई एउटा प्रणालीको रुपमा स्थापित गरिदिएका थिए राजा महेन्द्रले र त्यो प्रणाली पञ्चायत छऊञ्जेल भर्भराऊँदो रह्यो। पञ्चायत र साम्यबादीहरु मिलेर बीपीलाई अपमानित गर्ने सिलसिला यसरी पञ्चायत छऊञ्जेल चलिरह्यो।

अर्कोतिर, कांग्रेसले पनि बीपीको यो अपमानको डटेर मुकाबिला कहिल्यै गर्न सकेन, बहुसंख्यक कांग्रेसीहरुले त्यतातिर बिल्कुलै चासो देखाएनन्। उनीहरु बीपीलाई खोपीको देऊता बनाएर बसे, तर बीपीको अपमानको प्रतिरोध गरेनन्। न त उनीहरु बीपीका विचारहरुलाई जनतामा अझ प्रचारित गर्ननै लागीपरे। कांग्रेस र कांग्रेसीहरु अझै पनि त्यस्तै छन्, बीपीलाई खोपीको देऊता बनाउने वर्षमा एक-दुई पटक उनका नाममा रुख रोप्ने स्थितिबाट अझै अगाडि गएका छैनन्।

स्वअध्ययन बढ्दै गएपछि बीपीलाई चिनिँदै गईयो क्रमिक रुपमा। उहाँको साहित्यिक व्यक्तित्वले पहिला मोहनी लगायो र पछि बिस्तारै उहाँको राजनीतिक ब्यक्तित्व पनि उत्तिकै सुन्दर भएको बोध भयो। र उहाँजत्तिको राष्ट्रवादी राजनेता नेपालले अर्को पाएको छैन भन्ने कुरामा विश्वाश दृढ भयो।

जेल जर्नल उहाँले आफ्नी जीवन संगिनी सुशीलालाई लाई सम्बोधन गरेर शुरु गर्नुभएको छ, र उहाँकै लागि लेख्न थालेको भन्नुभएको छ। धेरै ठाऊँमा आफ्नी जीवनसंगिनीका प्रतिको प्रेम र अनुरागको खोलो बगाउनुभएको छ पुस्तक भित्र।

राजनीतिमात्र नभएर जीवन-जगतका यावत कुराहरुका बारेमा आफ्नो बीपीले आफ्ना विचारहरु पोख्नुभएको छ यसभित्र र थुप्रै चिन्तनमनन गर्नुभएको छ। ‘कहिल्यै नियमित हुन नसकेको’ आफैंप्रतिको गुनासो पनि छ यसमा र आफूललाई सुधार्ने संकल्प र संकल्प पूरा हुन नसक्ने संभावनाको दोधारमा बसेर पनि कुरा गर्नुभएको छ। जर्नल (दैनिकी) लेखिएको दिनको उहाँको मानसिकता पढ्न सकिन्छ हरेक पृष्ठमा। आफ्नो मनमा जे छ त्यसैलाई खुल्ला हृदयले पोखिदिनुभएको छ। कुनै दिन थोरै लेख्नुभएको छ, कुनै दिन एकदम लामा दार्शनिक ब्याख्यानहरु लेख्नुभएको छ।

जर्नलभित्र धेरै ठाऊँमा उहाँले योग र अध्यात्मका बारेमा लेख्नुभएको छ र आफूले आफूलाई भौतिकवादी मानेपनि भित्री स्वभाव शायद अध्यात्मवादी छ कि भनेर आफैसंग प्रश्न गर्नुभएको छ। भौतिकवाद र अध्यात्मवादको तुलना गरेर ५ पेज लेख्नुभएको छ किताबको मध्यतिर। र एक ठाऊँमा आफूमा अध्यात्मवादतिर झुकाव बढ्नु बूढो हुनुको लक्षण त होईन भनेर झस्किनुभएको पनि छ। यस्तै गरी नैतिकता र सामाजिक मूल्य-मान्यताका बारेमा पनि धेरै ठाऊँमा लेख्नुभएको छ। हिन्दू दर्शन, निष्काम कर्म र सन्यासजस्ता विषयहरुमा अन्तर्नीहित विरोधाभाषहरुलाई केलाउनुभएको छ एक ठाऊँमा। समग्रमा हेर्दा, निष्काम कर्म र सन्यासप्रति उहाँमा अलिकति पनि विश्वाश देखिँदैन।

जीवनप्रतिको उहाँको संवेदनशीलता र उहाँको मनको कोमलता पनि हामीलाई अँगाल्न आईपुग्छन् धेरै ठाऊँमा। कहिलेकाहीँ दैनिक जीवनका स-साना घटनालाई पनि बडो सुक्ष्मतापूर्वक केलाएर धेरै निष्कर्ष निकाल्नुभएको छ। मानव बाहेकका अरु जीवजन्तुहरुप्रतिको उहाँको संवेदना पनि पोखिएको छ धेरै ठाऊँमा। दुईवटा प्रसंग विशेष लागे मलाई; एउटा उहाँको कोठाको झ्यालमा रहेका बारुला र अरिंगालका गुँडहरु जलाएर नष्ट गरिएपछिको उहाँको मनोदशा र अर्को आफ्नो भालेलाई मूसाले खाएपछिको पोथी गौंथलीको विरह र त्यसले त्यो ठाऊँ छोडेको प्रसंग। जेलभित्रका आफ्ना साथीहरु; गणेशमान, कृष्णप्रसाद, दिवानसिंह राई आदिका बानीहरु र विचारहरुको पनि धेरै निरिक्षण गर्नुभएको देखिन्छ। साथै जेल जीवनका भनाभन, झगडा आदि पनि छन्।

स्वाभाविक रुपमा, देशलाई प्रजातन्त्रवीहिन बनाउने र आफूलाई बन्दी बनाउने राजा महेन्द्रप्रतिको उहाँका आक्रोश छन् धेरै ठाऊँमा। महेन्द्रको मानसिकताको विश्लेषण गर्नुभएको छ धेरै ठाऊँमा र त्यसलाई देशको राजनीतिक परिश्थितिसंग गाँस्नुभएको छ। आफ्नो भोगाईका आधारमा नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट जोगाउने उपायहरु के हुनसक्छन् भन्ने चिन्तन पनि छ एक ठाऊँमा। तत्कालीन परिश्थितिको प्रसंगमा बौद्धिक अवसरवादिताको शल्यकृया र आलोचना गर्नुभएको छ। लिखित इतिहासप्रतिको उहाँको शंका र अविश्वाश पनि ब्यक्त गर्नुभएको छ एक ठाऊँमा। फेरि तुरुन्तै उहाँ एशिया र अफ्रिकाका प्रजातान्त्रिक आन्दोलनहरुको भविष्यको चिन्ता पनि गर्न पुग्नुहुन्छ।

तत्कालीन भारतका नीतिहरुको, यसका शाशकहरुको मानसिकताको र उनीहरुको नेपालप्रतिको ब्यबहारको सटीक विश्लेषण छ धेरै ठाऊँमा, भारतीय मानसिकतालाई उहाँ “bully or slave” ले संक्षिप्तीकरण गर्नुहुन्छ। उहाँको विश्लेषण अहिलेपनि उत्तिकै सान्दर्भिक लाग्छ, किनभने भारतको नेपालप्रतिको ब्यबहार अहिलेपनि उस्तै छ। उहाँ जहिले पनि पूर्ण रुपमा भारतआश्रित हुने मानसिकताको विरोधमा देखिनहुन्छ, र राजा महेन्द्रको प्रतिगामी कदमपछिको प्राजातान्त्रिक आन्दोलन सशक्त र सफल हुन नसक्नुको प्रमुख कारणका रुपमा त्यतिखेर जेल बाहिर रहेका नेताहरु बढी भारतआश्रित हुनु र सबै कुरा “भारतको डालोमा” हाल्नुलाई मान्नुहुन्छ। हाम्रा यतिखेरका नेताहरु पनि झन्-झन् भारतआश्रित हुँदै गएका छन्। हाम्रा नेताहरुमध्ये धेरैजसोले त यो जेल जर्नल पढे होलान् भन्ने कुरामा पनि शंका लाग्छ मलाई। पढेमा तिनले धेरै कुरा जान्ने थिए।

त्यतिखेरको चीन-भारत युद्धको प्रसंगमा पनि उहाँले भारतीय नीति र मानसिकताको विश्लेषण गर्नुभएको छ र भारतीयहरुको हारको कारण खोज्नु भएको छ। चीन-भारत युद्धको प्रसंगमात्रै होईन अरु धेरै ठाऊँमा उहाँले नेहरुको ब्यक्तित्व र उनका कमजोर पक्ष-सशक्त पक्षको तुलना गर्नुभएको छ र राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा जति ठूलो ब्यक्तित्व प्राप्त गरे पनि नेहरुलाई “---- पूर्णांक दिन सकिन्न---“ भन्नुभएको छ। यहीँ उहाँले स्वाधीनतापछिका १५ वर्ष भारतमा एकछत्र राज गरेका नेहरुका मुख्य कमजोरीहरुलाई सूचिबद्ध पनि गर्नुभएको छ।

बीपीले अरुका कमजोरीको मात्र विश्लेषण गर्नुभएको वा अरुलाई मात्रै आलोचना गर्नुभएको होईन, यो किताबको मूल विशेषता र महानता त बीपीले आफ्नै कमीकमजोरीमाथि गर्नुभएको खुल्ला विवेचना हो। ब्यक्तिगत कमजोरीहरुदेखि लिएर एउटा दलका रुपमा कांग्रेसका कमजोरी र आफ्नो सरकारका कामजोरीसम्मलाई उहाँले केलाउनुभएको छ र कमजोरी र गल्तीहरुबाट सिक्ने प्रण गर्नुभएको छ। उहाँ दुनियाँले आफूलाई आफ्ना गुण र दोषका आधारमा सन्तुलित मूल्यांकन गरोस् भन्ने चाहनाबाट प्रेरित हुनुहुन्छ र केहि पनि लुकाउनुभएको छैन।

जेलभित्रै बसेर पनि उहाँले आफूलाई अन्तर्राष्ट्रिय घटनाक्रमहरुको बारेमा पनि सुसूचित पारीरहनुभएको देखिन्छ। तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको मृत्यु, भियतनाम युद्ध, क्युबाको संकट, युगाण्डाका घटनाहरु आदिका बारेमा चर्चा गर्नुभएको छ।

बीपीको पारिवारिक ब्यक्तित्वका बारेमा पनि धेरै बुझ्न सकिन्छ यहाँ। एउटा पुत्रको रुपमा बीपी, एउटा पतिको रुपमा बीपी र एउटा पिताको रुपमा बीपी; तिनै भूमिकाका बारेमा उहाँले धेरै लेख्नुभएको छ। लामो जेलजीवनका कारण आफूले तिनै भूमिका राम्रोसंग निभाउन नपाएको गहिरो पिडाबोधलाई ब्यक्त गर्नुभएको छ धेरै प्रसंगहरुमा। आफ्ना छोराछोरीहरु हुर्केको हेर्न नपाएको, तिनलाई यथोचित निर्देशन गर्न नपाएको पिडाले जो कोहि पितालाई भित्रैसम्म घोच्नु स्वाभाविक छ। साथै परिवारका धेरैजसो पुरुषहरु जेल परेपछि र बाहिर बाँकीलाई पनि राज्यले कडा निगरानीमा राखेपछि कोइराला परिवारमा आईपरेको आर्थिक संकटले पनि उहाँलाई धेरै चिन्तित बनाएको छ।

आफ्नी आमाको दृढता, धैर्य र साहसबाट उहाँ नतमस्तक हुनुहुन्छ। विशेष गरी, पृष्ठ १३२र १३५ मा उहाँ आफ्नी आमासंगको आफ्नो सम्बन्धलाई र समग्र रुपमा मातृत्वको महानता-कोमलतालाई सुन्दर शब्दचित्र दिनहुन्छ।

यस्तै सुन्दर शब्दचित्र बनेको छ, उहाँले आफ्नी धर्मपत्नी सुशीलालाई आफ्नो जेल जीवनको नीरसताका बारेमा लेखेको चिठ्ठी। यो चाहिँ जर्नलको अन्त्यतिर अंग्रेजीमा छ। चिठ्ठीजस्तो मात्रै लाग्दैन यो, अन्तर्मनको गहिराईबाट उब्जेको कुनै सुन्दर कविताजस्तो लाग्छ।

जेल जीवनमा उहाँले प्रशस्त पढ्नुभएको छ र आफूले पढेका धेरै किताबहरुको बारेमा लेख्नुभएको छ। साथै, आफ्नो लेखन वा लेखनका प्रति आफ्ना धारणा आदिलाई पनि हाम्रा सामु राख्नुहुन्छ। उहाँ साहित्यका बिभिन्न विधाहरुमध्ये कथामा धेरै खुल्न सक्ने पाउनुहुन्छ आफूलाई र लेख्नुहुन्छ “---कथा मेरो आफ्नो माध्यम हो क्यार      “। साथै जेल जीवनमा उहाँले किन राजनीतिक विषयमा कलम धेरै चलाउनुभएन/चलाउन सक्नुभएन भन्ने बारेमा पृष्ठ १९४-१९५ मा लेख्नुभएको छ। राजनीतिलाई उहाँ एउटा गतिशील र निरन्तर सम्झौताहरु गरीरहनुपर्ने पेशा/क्षेत्र मान्नुहुन्छ र कारावासको एकान्तमा यसका बारेमा लेख्न साहित्य वा दर्शनका बारेमा लेखेजस्तो सजिलो नहुने र लेखेपनि यथार्थको नजिक नहुने ठान्नुहुन्छ।

जेल जर्नलभरि तत्कालीन नेपालका, विशेषगरी राजनीतिमा संलग्न थुप्रै पात्रहरुको उल्लेख हुनु स्वाभाविक हो। बीपीले कतिलाई प्रशंशा गर्नुभएको छ र कतिको कटु आलोचना पनि गर्नुभएको छ। नोना कोइराला, रोशा कोइराला, शैलजाको धेरै प्रशंशा गर्नुभएको छ। बाहिरी संसारसंगको बीपीको प्रमुख सम्पर्क सूत्र रोशाजी हुनुहुँदोरहेछ र बीपीले उहाँको उच्च मूल्यांकन गर्नुभएको छ। जेल जर्नलभरि रमेशनाथ पाण्डे पनि छाएका छन्, जसलाई बीपीले रमेश भनेर सम्बोधन गर्नुभएको छ। उनी ज्वरोले थलिएर बर्बराऊँदा पनि बीपीकै नाम लिन्छन् भन्ने उल्लेख छ एक ठाऊँमा। उनी बीपी र राजा महेन्द्रका बीच संवाद गराउन र त्यसै माध्यमबाट बीपीलाई छुटाउन प्रयासरत देखिन्छन्। उनलाई निकै विश्वाश गर्नुभएको छ बीपीले। बाहिरबाट कसैले बीपीलाई पठाएको एउटा चिठ्ठीमा भने उनको ‘डबल रोल’ को बारेमा हल्ला चलेको कुरा उल्लेख छ। के आई सिंहलाई बीपीले मन पराऊनुहुँदो रहेनछ, उनलाई भारतीय एजेण्ट भन्नुभएको छ एक ठाऊँमा।

बीपी र जेल बाहिरका उहाँका सहयोगीहरुको सम्पर्कका क्रममा बनेको, तत्कालीन प्रशाशनलाई झुक्याएर बिभिन्न जानकारीहरु संग्रह गर्नका लागि प्रयोग गरिएको कोड प्रणालीको झलक पनि पाईन्छ संवादहरुमा   

दैनिक जीवनमा हामीले सहजतासाथ प्रयोग गर्न थालेका कतिपय शब्दहरुलाई शुद्ध नेपाली/संस्कृतमा लेख्ने कोशिश पनि छ उहाँको। जस्तो; breakfast लाई ‘प्रातराश: भोजन’, setback लाई ‘प्रगतिरोध’, evening talk लाई ‘सन्ध्यालाप’, manipulate लाई ‘हस्तचालन’ आदि। ‘नेपालमै हुर्कन र समाज बुझ्न, नेपाली भाषाको स्थानीय रंग र सुक्ष्मता बुझ्न नसकेको’ पिडा ब्यक्त गर्नुभएको छ एक ठाऊँमा र उहाँ आफ्नो नेपाली भाषा सुधार्न संस्कृत साहित्यको अध्ययन गर्ने, अझ संस्कृत श्लोकहरु घोक्ने विचार गर्नुहुन्छ।

अब उहाँका सटीक टिप्पणीका अरु केहि उदाहरणहरु।

लेखनका बारेमा- “भाषा र भावलाई लेखकले आफ्नो कलमको जूवामा जोख्न सक्नुपर्छ।“
जेलमा केहि नगरी बितेको एक दिनको आफ्नै स्थितिमाथिको ब्यङ्ग्य- It is a discovery to me that one can pass the day without work.”
स्वतन्त्रताको महत्वका बारेमा- "-----it is only in freedom that one acquires virtues of character. This applies to a nation also, a nation without liberty can't be a nation with character."
---------------------------------------------------------------
जेल जर्नलको समीक्षा होईन यो, म आफूलाई त्यो क्षमताको पनि मान्दिन। बीपीमय भएको मेरो मनका भावनालाई यहाँहरुसंग बाँड्न चाहेको मात्रै हुँ। जेल जर्नलको सुन्दर भूमिका गणेशराज शर्माज्यूले लेख्नुभएको छ । उहाँको भूमिकाबाट जेल जर्नल र बीपीसंग सम्बन्धित अरु धेरै कुरापनि तिनका पृष्ठभूमिसहित थाहा हुन्छन्, । यस्तै कमल दिक्षितज्यूले पनि अर्को समीक्षात्मक भूमिका लेख्नुभएको छ।  
--------------------------------------------------------------
तपाईँले पढ्नुभएको छैन भने पढिहाल्नुस्। यो एउटा छुटाउन नहुने, पढ्नैपर्ने र साथमा राख्नैपर्ने कृति हो।

August 19, 2011

यस्तै छ हालचाल!

आवास क्षेत्रको ईण्टरनेटमा केहि प्राविधिक समस्या थियो र बल्ल आज त्यो समाधान भयो। यसैले ब्लगमा धित मर्ने गरी लेख्ने त के कुरा, नियमित हुन पनि सकिएन।

ईण्टरनेट चलाउनकै लागि बजार जान पनि मन नलाग्ने, झन् पोखराको अविरल घोर वर्षामा त अलिकति पनि आँट आउँदैन। अरु कुनै वैकल्पिक ब्यबश्थाको पनि जोगाड गरेको छैन अझै। यहि बानी खराब छ मेरो, अघि भर्खरसम्म 'यस्तो तालले भएन, अर्को कुनै ब्यबश्था त गर्छु-गर्छु!' भनेर गमीरहेको थिएँ; अहिले त्यो बिर्सिसकें:)

देशमा जारी कुरुप नाटकमा पनि खासै ध्यान जाँदैन अचेल। सबै यस्तै र उस्तै हुन् र यो देश सधैं यस्तै हुनेछ भन्ने विचारले मनमा जरा गाड्न थालेको छ र सबैथोकप्रति उदासीनता जाग्दै आएको छ। आउने १४ गते यिनले आफ्नो कुरुप नाटकमा अर्को अध्याय पनि पक्कै थप्नेछन्। यस्तो हुनुहुँदैन म, संवेदनशील र यो स्थितिका बिरुद्ध कुनै न कुनै हिसाबले प्रतिरोधी हुनुपर्छ भन्ने थाहा छ तर म यो उदासीनता र आलस्यबाट आफूलाई उतार्न बिल्कुलै असफल छु अहिले।

यसैले  जागिरले खाने अलिकति समय बाहेक फुर्सदै-फुर्सद छ मलाई यतिखेर। यो समयको सदुपगयोग हेतु थुप्रै किताबहरु किनेर थुपारेको पनि छु। एउटा पढीरहेको छु यतिखेर। बिस्तारै तिनैका बारेमा आफ्ना विचारहरु लेख्दै जानुपर्ला, यो ब्लगको खेतीलाई निरन्तरता दिन।

यहाँहरु सबैका सबै दिनहरु शुभ रहुन्!

August 11, 2011

फ्यान 'बाल्ने' रे!

फ्यान 'बाल्ने' भए आगो चाहिँ के गर्ने? 

तीन दिन पहिला बेलुका खाना खाँदा फेरि दोहरिएको कुरो हो। 
"म एकछिन फ्यान बालेर बस्छु है।" हामीभन्दा पहिले खाईसकेर बैठक कोठातिर लाग्दै आर्याले भनेकी थिई।

जेठको गर्मी लागेतिरको कुनै दिन हो, मैले पहिलो पटक आर्याले "गर्मी भयो, फ्यान बाल्छु है।" भनेको सुनेको।
धत्! फ्यान पनि बाल्छन् कहीँ? पङ्खा त चलाउने पो हो, चलाऊँछु भन न!" मैले उसलाई भनेको थिएँ।
"ल हुन्छ, म फ्यान चलाऊँछु।" उसले भनेकी थिई। 'बाल्ने' लाई 'चलाउने' भनेर 'सच्याए पनि फ्यानको सट्टा पङ्खा भन्न शायद उसलाई सजिलो लागेन।

ठ्याक्कै यहि संवाद धेरैचोटि दोहरिईसकेको छ। जति सम्झाएपनि ऊ 'फ्यान बाल्ने' भन्न छोड्दिन। दिनभर स्कूलमा त्यस्तै सुन्दी हो, त्यसैले हामीले बेला-बेलामा सिकाएको उसको दिमागमा बस्न नसकेको होला। स्कूलको वातावरणले साथ नदिएपछि यस्ता 'लडाईँ' सजिलै हारिने छाँट आऊँदो रहेछ।

बिजुलीबाट चल्ने पङ्खा भएकोले, र बिजुली बत्ती स्वीच अन गरेपछि बल्ने र पङ्खा पनि अन गरपेछि चल्ने भएकोले यस्तो प्रयोग हुन पुगेको होला। तर यस्तो नमिल्दो प्रयोग गरेर एउटै शब्दले काम चलाउने बुद्धि सबैभन्दा पहिले कसलाई आयो होला? बत्तीको हकमा ठिक छ, त्यो बल्छ र उज्यालो दिन्छ तर पङ्खा? बिजुली दिएपछि पङ्खा झलमल्ल हुने भए पो 'बाल्ने' भन्ने कुरा मिल्यो, नत्र त 'चलाउने' नै ठिक होईन र?

फेरि यो 'बाल्ने' रोग अन्त पनि सरेको छ। अचेलका किशोर-किशोरीहरु धेरैका मुखबाट "म्युजिक 'बाल्ने'" कुरा  सुनेको छु मैले। एउटा ब्लग कि पत्रिका कता पनि पढेको थिएँ मैले यस्तो 'उत्तरआधुनिक फ्युजन'। नयाँ पुस्ताले शायद वाशिङ्ग मेशीन र भ्याकुम क्लिनर पनि 'बाल्ने' होला, पम्प पनि 'बाल्ने' होला--------।

यो 'बाल्ने' रोगले अझ अरु के-के लाई डढाउने हो!

July 29, 2011

‘कति ल्याईस् त???' को एक वर्ष

केहि समय पहिला एकजना टाढाका नातेदार पर्नेसंग संगै कतै जानेमा परियो।

“जापान बसेर खासै उपलब्धि भएन कि क्या हो?” एकछिनपछि तिनले सोधे।
“हजूर--? उपलब्धि भन्नाले----?” मैले तिनको कुरा खासै नबुझेको पनि हो, किनभने मलाई मेरो जापान बसाई उपलब्धिमूलकनै लागेको थियो र अझै लागेको छ। 
“पैसो त्यति कमाईएन कि क्या हो?” उनले कुरो ‘खुलस्त’ पारे। 
“खोई कमाईएन, सर्टिफिकेट बाहेक केहि पनि कमाईएन।“ मैले प्रष्टीकरण दिएँ। जापान जानु अगाडि पनि उनको संगत गरेको र उनको वैचारिक स्तर राम्ररी बुझेकोले कुरोलाई यतै टुङ्ग्याईदिएँ मैले बिस्तारै अरु विषयतिर मोडें।

‘नेपालै बस्छु’ भनेर नेपाल फर्केको पनि एक वर्ष भयो, अस्ति असार मसान्तबाट। माथिको प्रसंग र सम्वाद मेरो यो एक वर्षको औसत स्वरुप हो।

यो एक वर्षलाई अलिक उज्यालै भावले हेर्दा पनि बढीमा मिश्रित अनुभूतियुक्त भन्न सक्छु म। यो एक वर्षमा भोगिएका/देखिएका कुराहरुमध्ये केहिलाई बेला-बेला यहि ब्लगमा पनि लेखेकै छु। कति कुरा भने समायभावले लेख्न सकिएन, कति ईण्टरनेट भरपर्दो नहुँदा लेख्न सकिएन; ती कुरा मनैमा पाके र झरे।

शुरुवाती दिनहरु ‘तँ किन नेपाल फर्केको?’ प्रश्नको वर्षातमा रुझेका थिए, ती दिनहरुका कुरा मैले ‘तँ किन घर फर्किस्?’ मा लेखेको छु। अझ शुरुमा त नेपाल ‘सधैंका लागि’ फर्केको कुरामै विश्वाश गर्दैनथे मानिसहरु। विकसित देशमा केहि वर्ष बसेको मान्छे आफ्नै घर नेपाल फर्कने कुरा असम्भव जस्तो लाग्दो रहेछ कि मानिसहरुलाई? फर्केकै हो भन्ने विश्वाश परेपछि भने सबैको सोधाई ‘नेपालजस्तो झूर ठाऊँमा पनि फर्कने हो? किन उतै नबसेको?---‘ हुन थाल्यो। यस्ता प्रश्नलाई र सधैं विदेशको विदेशै भास्सिएको भए राम्रो हुन्थ्यो भन्ने सल्लाहलाई आफ्नो बुता र शब्दशक्तिले भ्याएसम्म जवाफ दिईयो र आफ्नो मनको कुरो नढाँटी भनियो। समग्रमा भन्नुपर्दा, हामी नेपाल फर्केकोमा खुशी हुनेहरु थोरै भेटियो, हामीलाई मूर्ख भन्नेहरु साह्रै धेरै भेटियो।

दुई-तीन महिना बितपेछि भने अर्को खाले प्रश्नको सामना गर्नुपर्ने भयो। जापानमा ‘कुस्त’ कमाएर फर्केको होला यो भन्ने परेछ र एकथरी मानिसहरु ‘कति ल्याईस् त????’ भनेर सोध्न थाले। बजारमा घर-घडेरी किन्ने सल्लाह दिने, कहिलेकाहिँ ‘घडेरी हेर्न जाऊँ’ नै भन्ने पनि हुन्थे। ‘अब कार चढेर हिँड्नुप-यो, अनि बल्ल पर्सनालिटी देखिन्छ।‘ भन्ने सल्लाह पनि पाईयो:) कुरै-कुरामा ‘करोड त ल्याईस् होला नि!’ भन्ने पनि धेरै थिए। धेरैजसो हाँसेर उडाईयो यस्ता चासालाई, केहि नजिकका मान्छेलाई भने यथार्थ पनि खोलियो।

एक वर्ष बितिसक्दा पनि बजारमा घर-घडेरी ‘नजोडेको' र कार पनि नचढेको देखेपछि भने चासो र प्रश्नहरु अलिक कम भएको छ। ‘जापानबाट यो केहि पनि नकमाई बुंगै फर्केछ!’ भन्ने परेको होला मान्छेलाई अब। राम्रै भयो, अब ताईँ न तुईँका प्रश्नको आक्रमणमा पर्नु परेन।  

एक हिसाबले त्यस्ता मान्छेहरुको सोचाई पनि ठिकै हो; यी केहि वर्षमा बटुलेका ज्ञान, शैक्षिक प्रमाणपत्रहरु, फरक समाज र फरक परिवेशका अनुभव आदिलाई नगन्ने हो भने म केहि पनि नकमाई बुंगै फर्केको हुँ। यतिखेरको नेपालले ती कुरालाई पैसाको तुलनामा तुच्छ र बिर्सनलायक ठान्दो रहेछ।

साँचो कुरो भने यहि हो, हामी प्रमाणपत्र र अनुभवहरुमात्रै बोकेर नेपाल फर्कियौं, पढ्न भनेर गइका थियौं र प्राथमिकतामा त्यहि प-यो। छोरी जन्मेपछि उसको स्याहार-सुसार हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पाटो बन्न गयो। छोरी एकवर्षकी हुँदा मेरो पढाई सकिईसकेको थियो, त्यसपछि उनले पढ्न थालिन्। छोरी नेपाल पठाईदिएको भए मैले दिनको १४-१६ घण्टा काम गर्न पाउने थिएँ होला, अनि विदाका दिन त दुबैजनाले ‘मरेर’ काम गर्न भ्याईन्थ्यो होला। यथार्थमा धेरैले यस्तै गर्छन्, बच्चा केहि महिनाको हुनासाथ नेपाल पठाईदिन्छन् र आफू ‘मरेर’ काम गर्न थाल्छन्।

तर हामीले पैसाभन्दा छोरी आफूसंगै राख्नुलाईनै ठूलो ठान्यौं र छोरी हुर्कँदै जाँदाका हरेक क्षणहरुको साक्षी हुन चाह्यौं। छोरीले हातखुट्टा फालेर खेलेको देख्दाको अनुभूति, ऊ पहिलो पल्ट पल्टिएको देख्दाको खुशी, ऊ बामे सर्दाको आनन्द, ऊ पहिलो पटक उभिएर हिँड्दाको उसको र हाम्रो खुशी, उसको पहिलो शब्द सुन्दाको हर्ष------- हामीलाई यिनै महत्वपूर्ण लागे। यस्ता क्षणहरु र तिनले दिने खुशीको कुनै मूल्य छैन, र ती दोहोरिएर पनि आऊँदैनन्।

यथार्थ कुरा गर्दा, मलाई साना बच्चाहरुलाई बाऊ-आमाबाट छुटाएर राख्नुनै ठूलो अपराध लाग्छ। बाऊ-आमासंगै रहन पाऊनु र उनीहरुसंग आत्मीय भएर हुर्कन पाऊनु हरेक बच्चाको अधिकार हो। बाऊ-आमा सग्लै र स्वस्थ हुँदाहुँदै पनि तिनबाट टाढिएर हुर्किएका बच्चाको मनोदशा राम्रो देखेको छैन मैले। जतिनै माया गर्ने बाजे-बज्यै, काका-काकी वा मामा-माईजू भएपनि तिनले बाऊ-आमाको ठाऊँ लिन सक्दैनन्। कहिलेकाहीँ विशेष परिश्थिति हुनसक्छ, त्यस्तोमा छोटो समयको लागि अलग्गिनु बेग्लै कुरा हो। अझ विशेष परिश्थिति पनि हुनसक्छ; बाऊ वा आमा वा दुबै बितेका हुनसक्छन्, कोहि सेनामा अथवा त्यस्तै खाले पेशामा हुनसक्छन्, कोहि जेलमा हुनसक्छन्। त्यो स्थितिमा परिवारले, समाजले, राज्यले ती बच्चालाई हेर्नुपर्छ र हुर्कने क्रममा तिनलाई सकेसम्म आत्मीय वातावरण दिनुपर्छ। आफ्ना बाऊ-आमा हुँदा-हुँदै भने बच्चाले तिनैका साथमा हुर्किन पाउनैपर्छ।

कहिलेकाहीं पछाडि फर्केर आफ्नो चालीस लागीसकेको जिन्दगीलाई एक पटक हेर्छु म। चरम गरिबी र अभावबाट शुरु भएको मेरो जिन्दगी यतिखेर जहाँ छ, त्यसमा म सन्तुष्ट छु, जुन गति र शैलीमा म यहाँ आईपुगें त्यसमा पनि सन्तुष्टनै छु। फेरि यत्तिमै अडिएर बस्ने पनि छैन म। मलाई के विश्वाश छ भने हाम्रो जिन्दगीमा सबै हिसाबले क्रमिक प्रगति जारी रहनेछ। आर्थिक प्रगति पनि जारी रहनेछ तर यसैका लागि जिन्दगीका अरु सबै खुशी र आत्मीयता त्याग्नु छैन, न नैतिकता र ईमान त्यागेर रातारात अकूत धनमालिक हुनुछ। आर्थिक प्रगति जिन्दगीको एउटा भाग हो, यहिनै पूरै जिन्दगी भने होईन।

यस्तै रह्यो यो एक वर्ष।

अहिलेलाई ‘कति ल्याईस् त???’ घट्दै गएको खुशी मनाऊँदैछु, तपाईँलाई पनि निम्तो छ सामेल हुन, खुशी मनाउन:)

July 23, 2011

'रिमिक्स'को झूर चलन

अलिक दिन पहिलाको कुरो हो, कुनै नेपाली च्यानेलमा 'हरियो डाँडामाथि---' को कथित रिमिक्स घन्कीरहेको थियो। धर्मराज थापाले गाएको सुन्दर कालजयी गीतलाई भाँचभुँच पारेर, बंग्याएर बलात्कार गरिएको थियो। नाच्नको लागि मिलाउने उद्देश्यले गीतको स्वरुपलाई परीवर्तन गरिएको थियो र मेरा लागि भिडियोको स्तर तल्लो कोटिको थियो र त्यसमा प्रयोग गरिएको नाच पनि एकदम भद्दा लाग्थ्यो।

अचेल यस्ता 'रिमिक्स' जताततै देखिन्छन्, नेपालमा मात्रै होईन विदेशमा पनि छ्यास्छ्यास्ती देखिन्छन्। पूराना कालजयी सांगीतिक रचनालाई बिगारेर 'हलो काटी मुंग्रो' बनाउने रोग विश्वब्यापी भएको छ। यो रोग गीत/सांगीतिक रचनामानै बढी देखिन्छ, कलाका अरु विधामा भने देखिँदैन।

तर यो बिलकूल गलत लाग्छ मलाई। हरेक रचना या कला त्यो सृजना गरिँदाको समयको दस्तावेज हो, त्यो बेलाको परिवेशको आकृति हो र सृजना गर्ने मान्छे त्यतिखेरको मनश्थितिको हस्ताक्षर हो। यसरी एउटा विशिष्टतामा परिभाषित भईसकेको कुनै सृजनामा फेरि अर्को खाले परिभाषा लादनुलाई सही ठान्न सक्दिन म। कसैलाई कुनै रचनामा केहि कमी भएजस्तो लाग्छ भने उसले त्यस्ता कमजोरी नभएका नयाँ रचना बनाउन सक्नुपर्छ। 'रिमिक्स'को नाममा गीत बिगार्नु भनेको मुनामदनलाई कोचलेर त्यसमा दुई-चार फुँदा गाँसेजस्तै हो।

रिमिक्सको चलन झूर चलन हो, यस्तो झूर काममा प्रतिबन्ध लगाउनुपर्छ!