August 09, 2010

तँ किन घर फर्किस्?

धेरै पहिलानै हो, कुनै पोष्टरमा यस्तो लेखिएको देखेको थिएँ; “Home is a place where when you go there, nobody asks why you came.” (घर भनेको त्यो ठाऊँ हो, जहाँ तिमी जाँदा कसैले पनि तँ किन आईस् भनेर सोध्दैन।)

मलाई यो भनाई असाध्यै मन परेको थियो त्यतिबेला, अहिलेपनि मनपर्छ र एउटा स्पष्ट सत्योक्ति मान्छु म यसलाई। सवा सात वर्ष लामो प्रवासबाट नेपाल फर्केपछि सामना गरेका प्रश्नहरुका कारण भने यसको सत्यतामाथि कता-कता शंका लाग्न थालेको छ।

नेपाल मेरो देश हो। मेरो देश भनेको मेरो घर हो। म घर फर्केको छु र यसैले मलाई मान्छेहरुले “तँ किन फर्किस्—“ भनेर सोध्नुनपर्ने हो। तर नेपाल फर्कपछिका साढे तीन हप्तामा मैले सामना गरेका तीन चौथाई प्रश्नहरुको एउटै सार यहि हो। धेरै परिचितहरु म बढीमा दशैं-तिहार सम्मलाईमात्रै फर्केको होला भन्ने ठान्छन्, उनीहरु म सधैंका लागि फर्केको भन्ने स्वीकार्न तयार छैनन्। जसले मेरा कुरा पत्याएका छन् उनीहरु मलाई ‘मूर्ख’, ‘महामूर्ख’ भन्छन्।

यस्ता प्रश्नहरुको सामना गर्न मानसिक रुपले आफूलाई एक हदसम्म तयार पारेको थिएँ मैले, किनभने म यो समयमा नेपाल फर्किन्छु भनेर मैले चार वर्ष पहिलानै तय गरीसकेको थिएँ। १४ वर्ष पहिला पहिलो प्रवासबाट यसैगरी फर्किँदानै यस्ता धेरै प्रश्नहरुको सामना गरीसकेको थिएँ। त्यतिखेरभन्दा यतिखेर स्थिति झन् बिग्रेको छ, देशबाट पलायन हुनेहरुको बाढी निरन्तर ठूलो हुँदै गईरहेको छ। यो स्थितिमा विदेशको सहज जिन्दगी छोडेर नेपालमा आउनेलाई धेरै मान्छेहरु “जानी-जानी आगोमा हाम्फाल्ने मूर्ख” भनिदिन्छन सहजै। नेपाली मानसिकता प्रवल रुपले त्यहि साँचोमा ढलीसकेको छ। चारवर्ष अगाडिबाटै केहि साथीहरु र आफन्तहरुलाई मैले आफू नेपाल फर्किने कुरामा दृढ भएको सुनाऊँदा उनीहरु सबैबाट म मूर्ख भनिन थालीसकेको थिएँ। सकेसम्म नफर्किने र फर्किहालेपनि अहिले होईन, १५-२० वर्ष “उतै” बसेर “प्रशस्त” कमाएपछि “रिटायर्ड लाईफ” मात्रै नेपालमा बिताउन आउने सल्लाह पाउन थालेको पनि त्यतिखेरबाटै, अझ विदेश पसेबाटै हो मैले।

केहि मान्छेहरु भने ‘यसले बेस्करी कमाएर, सात पुस्तालाई पुग्ने पैसा लिएर फर्कियो होला।‘ भन्ने सोच्छन्। ठिकै छ, आफ्नो यथार्थ-आफ्नो पिडा आफैसंग छ, यस्ता कुरामा विवाद गरेर समय खेर फाल्नुहुँदैन भन्ने सोचेर यस्ता कुरा सुनेका बेला मौन बसिदिन्छु। अरु केहि साथीहरु, ‘देशको स्थिति अझै सप्रेको छैन, दुई वर्ष जति ढिला गरेर फर्किएको भए हुन्थ्यो’ भनेर ‘चिन्ता’ ब्यक्त गर्नुहुन्छ। तर अबको दुई वर्षमा देशको स्थति सप्रिन्छनै भन्ने के निश्चित छ? स्थिति अहिलेभन्दा अझ भयावह पनि हुनसक्छ। देशको स्थिति सप्रेपछिमात्रै फर्किने ‘अवसरवादी’ बनेर कति वर्ष पर्खिने?

र ईमान्दारिताका साथ भन्नुपर्दा मेरो देश फर्किने निर्णयलाई एकदमै मनपराउने र मलाई देशभित्रै बसेर देशका लागि केहि गर्ने प्रेरणा दिनेहरु पनि भेटेको छु मैले तर उनीहरुको संख्या ज्यादै थोरै छ।

यसको दोष कसलाई दिने? आममानिसमा शान्त, सुरक्षित र सम्मानित नागरिकको रुपमा जीवन बाँच्ने चाहना प्रवल हुन्छ। मानिसहरुमा ‘राष्ट्रवाद’ र आफ्नो समाजको माया पनि नहुने होईन तर जीवनका दैनिक समस्याहरुलेनै उम्किन नसक्ने गरी अँठ्याएको बेला यस्ता भावहरु ‘एब्स्ट्रयाक्ट’ र अनावश्यक समेत मानिँदा रहेछन्। दशकौं-शदियौंदेखि गलत राजनीतिको शिकार बनेको हामी अभागी नेपालीको देश नेपाल हरतरहले खोक्रो बनीसकेको छ। विदेशीहरुले हामीलाई असफल राष्ट्रको सूचिमा राख्न थालीसके। हाम्रा आफ्नै आँखाले पनि हाम्रो देशको नाडीमा ‘सफल राष्ट्र’को कुनै लक्षण भेट्न सक्दैनन्। सुरक्षा, रोजगारी र सम्मान कुनै पनि नागरिकको नैसर्गिक अधिकार हो र आफ्नो देशमा त्यसको सम्भावना नदेखेपछि मान्छे, चरम मानसिक पिडा खपेरै भएपनि प्रवासिन, प्रवासमै आफ्नो पसीना पोख्न र उतै बिलाउन बाध्य र तयार हुन्छ।

नेपाल फर्किनुका मेरा आफ्नै कारणहरु छन्।

पहिलो, मलाई विदेशको जीवन मानसिक रुपले अत्यन्त कष्टकर लागीरह्यो सधैंभरी। नेपाललाई माया गर्ने मेरो संवेदनशील मननै मेरो ‘कमजोरी’ हो। ‘नेपाल’ भन्ने एउटा आदर्शको लागि बाँच्न र सकेसम्म ‘केहि’ गर्न मलाई बाध्य बनाउने यहि संवेदनशीलतालाई लिएर धेरैले मलाई गिज्याऊछन् र उडाऊँछन्। अर्कोतिर, म विदेशी समाजमा बस्न तयारै भएपनि मेरो हैसियत त्यो समाजको तेश्रो-चौथो तहको नागरिक भन्दा कहिल्यै हुनेथिएन। आफू खाने-बस्ने र ‘धानिने’ बाहेक मैले त्यो समाजको लागि केहि गर्न सक्ने पनि थिईँन। यसैले ‘जति बसेपनि म यो समाजको सबैभन्दा बाहीरी घेरोबाट कहिल्यै भित्र पस्न सक्ने होईन।‘ भन्ने भावनाले मेरो मनमा सधैं घर बनाईरह्यो। मलाई नेपाल फर्काउने पहिलो ‘मानसिक’ ईन्धन यहि थियो।

दोश्रो र उत्तिकै महत्वपूर्ण कारण हो, छोरीको पढाई। जापानको पढाई, कम्तिमा १२ कक्षासम्म निसन्देह एकदम उत्कृष्ट छ तर पढाईको माध्यम जापानी भाषा हो। जापानी शिक्षा प्रणालीमा अँग्रेजीको स्थिति अझै पनि सन्तोषजनक छैन। अहिलेको विश्वग्राममा जीवन बिताउनका लागि त्यो त्यति सहज तयारी होईन। झन् विशेष गरी हाम्रो जस्तो कमजोर र गरीब देशका मानिसका लागि त अँग्रेजी अत्यावश्यकनै छ। हुनत जापानमा अंग्रेजी माध्यममा पढाई हुने ‘ईण्टरनेशनल स्कूल’ हरुपनि नभएका होईनन्, तर तिनलाई मेरो पेशागत जीवनको कमाईले आँट्न सक्ने होईन। अंग्रेजीमै पढाउनका लागि हो भने अमेरिका, क्यानाडा, बेलायत वा अष्ट्रेलिया पसेर उतै भासिए भईहाल्यो भन्ने सल्लाह पनि नपाईने होईन। यस्तो सल्लाह अहिलेको समयमा सबैभन्दा ‘तार्किक’ मानिन्छ। तर मेरा लागि यो विकल्पलाई माथिको पहिलो कारणले काटिसकेको छ:)

अरु जति तर्क-वितर्क जति गरेपनि, म हाम्री छोरीले कम्तिमा १२ कक्षासम्म नेपालमै पढोस् भन्ने चाहन्छु। बाल्यकाल बाहिरै बिताएका, विद्यालय शिक्षा बाहिरै पढेका युवाहरुलाई हेरेर, उनीहरुको मनोदशा बुझेर म पुगेको निष्कर्ष के हो भने कुनै पनि मान्छेले आफ्नो मूल (root) निर्माण गर्ने समय भनेको बाल्यकाल, किशोरकाल र तीसंग जोडिएर आउने विद्यालय शिक्षा हो। बाहिरी समाजमा विद्यालय जीवन बिताऊँदा त्यो मूलको निर्माण त्यति राम्रोसंग नहुन सक्छ। त्यसरी हुर्केको मान्छेमा, न विदेश- न नेपाल, कुनैपनि समाजसंग आफ्नोपनको भावना निर्माण नहुन सक्छ। भोलि उसले ‘मेरो पनि आफ्नै देश छ’ भनेर फर्किने कुनै मानसिक आधार उसमा बिल्कुलै नबन्न सक्छ। मेरी छोरीले त्यो मनोदशा भोग्नु नपरोस् भन्ने प्रवल चाहना छ मेरो। मेरो लागि यो कारण, पहिलो कारणभन्दा पनि बलशाली भनेपनि हुन्छ।

छोरी घरका अरुसंग छोडेर आफू बूढाबूढीभने विदेशै बसेपनि भईहाल्छ नि भन्ने सल्लाह पनि पाईन्छ यदाकदा, तर छोरी हुर्कने क्रमका हरेक चरणलाई नजिकबाट हेर्न र त्यसमा सकेसम्म धेरै सकारात्मक योगदान दिन चाहन्छु म।

बाँकी जागिरे जीवनसंग जोडिएका केहि कुराहरु पनि छन्, तिनको आफ्नै महत्व छ, तर सबैभन्दा बलशाली भने पहिलो र दोश्रोनै हुन्।

तीन हप्ताले मलाई केहि सिकाईसकेको छ अब। म मान्छे हेरेर उत्तर दिन थालेको छु। ‘नेपाल कति बस्छस् अब?’ भनेर सोधिईएको बेला धेरैजसो मेरो उत्तर ‘बस्छु होला केहि समय।‘ जस्तो ‘अष्पष्ट’ हुन्छ। आफ्नो मनको साँचो कुरो केहि आत्मीयहरुसंगैमात्रै खोलेको राम्रो। कि कसो:)

38 comments:

  1. Your love for your country is clearly visible!Good to see you back on the blog with more regularity!

    ReplyDelete
  2. यहाँको आत्मकथा हेर्दा तपाईं एउटा चेतनशील नेपाली नागरिक मात्र नभएर एउटा कुशल अभिवाबक पनि हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ ।
    "बिदेश पस्दै नपस्नु, पसी सकेपछी चाँडो भन्दा चाँडो 'केही'(सीप र लगानी गर्न सकिने पैसा) कमाएर आफ्नै देशमा फर्किनु!!" मेरो धारणा पनि यही हो । बधाई तथा शुभकामना सुखद भबिस्यको लागि ।

    ReplyDelete
  3. बिदेश मा बस्ता स्वदेशमा भएका साथिभाइ, घरपरिवार, हरूले कहीले फर्कन्छस भन्छन, र जब घर पुगीयो बहिले फर्कन्छस काममा(बिदेश) भनेर हैरान, यो प्रश्नले मलाइ पनि घेरै पिरोलेको थियो पहीलो पटक घर फर्कदा,

    तर जे भने पनि घरमा बस्नु र बिदेशमा बस्नुमा घेरै अन्तर हुन्छ ।

    तँ किन घर फर्किस ? बिदेश अझै बसेको भए हुनथो भन्ने प्रश्न गर्नेहरू बिदेश नगएकाहरू बाट मात्र अाउने गर्छ ।
    बिदेश पुगे पछी मात्र स्वदेशको महत्व थाहा हुन्छ ।

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. Prashanta ShresthaAugust 9, 2010 at 6:49 PM

    What do I say? Thank you for sharing what you had to go through after being back to your OWN HOME.

    ReplyDelete
  6. कृपया यसैगरी तपाईँका वास्तविक विचार र दैनिक जीवनका भोगाई बाँड्दै गर्नुहोला। विदेशिएका धेरै नेपालीको लागी घर फर्कन मार्गदर्शन हुने छन् । आशा छ, वादको पछी दगुरेका र राजनितीक छाप परेका समाजका किराले तपाईँ हामी जस्ता "बबुरा"को विचारको कदर गर्नेछन् । साँच्ची कुन पार्टिमा लाग्नु भो ?

    ReplyDelete
  7. प्रश्ट भन्दा, पढ्दा र सुन्दा निकै राम्रो लाग्छ यस्ता कुरा। राम्रो लाग्यो मलाई पनि र पढ्दा आनन्द आयो..।.. बाकीँ समयलाई छोडु। यो समय न तपाईको अधिनमा छ न कसैको। अहिलेलाई सबै भन्दा देश भक्त र आदर्शबादी तपाईनै देखिनु भो, शुभकामना छ तपाईको नेपाल बसाईलाई..नेपाल बसाई यस्तो पनि नहोस कि कालन्तरमा हरेक नोभेम्बर तिर, न्युरोडकको ईस्टपोट तिर देख्न परोस..एक हैन बसन्त जी हजार उदाहरण छन् हाम्रो समाजमा तपाई जस्ता देश भक्त र देशलाई माया गर्नेहरु.....अहिलेलाई बिदेश बसेर आएको रक्को छ पोख्दै गर्नुस पछि बिदेशमै भेट होला नि...हा हा

    ReplyDelete
  8. तपाइले मात्र होइन विदेशबाट नेपाल फर्कने सबैले सुन्ने प्रश्न नै हो यो। देशको वर्तमान अवस्था हेर्यो भने सबैले भन्ने यहि नै त हो, सबै सत्ताको पछाडी लुछाचुडी गरिरहेको बेलामा!तपाइको निर्णयले तपाइको भबिष्यमा अगाडी बढ्नको लागि प्रेरणा दियोस,साथै शुभकामना पनि। यहि र यस्तै निर्णयले हामीलाई पनि नेपाल फर्कन उत्प्रेरणा दियोस।

    ReplyDelete
  9. Dear Basanta jee,
    Nice to read your article. Like you I am also decied to return back Nepal by Oct. 2010. The reasons are almost same like you and I am also prepare for these questions from our society. Pls. keep in touch and I will try to be touch in Nepal also. Baru hami dherai barsha bidesh basera aphno Nepal pharkeaka haru ko euta NGO banaune ho ki ?
    With love and regards,

    ReplyDelete
  10. खास कुरो के हो भने हामि बिदेशमा दोस्रो हुन्छौ । हामिले जसरि मधेसि भनेर हेप्छौ नि हाम्रो हालत पनि त्यहि हो । which things make to force come back nepal..
    misulashrestha.blogspot.com

    ReplyDelete
  11. आफ्नो वैयक्तिक अनुभव, नेपाली वर्तमानको मनोदशा अनि भोगाइलाई सबैको अन्तस्करणमा महशूस हुने गरी सुन्दर ढंगले पस्कनु भो अभिभावकीय दायित्वबोध र राष्ट्रवादी भावनाको हुटहुटी र स्पष्टोक्ति । साँच्चै पिडादायी छ हाम्रो अस्तित्वसंग जोडिएको अवस्था र वर्तमान । सजिलो छैन अरूलाई जवाफ दिन , स्वयं अनुत्तरित छौँ प्रतिपल यहाँ ।

    ReplyDelete
  12. खारीएको बैयत्तिक अनुभव बाड्नु भएकोमा बसन्तदाईलाई धन्यवाद । लेख पढेर साच्चै रमाइलो लाग्यो तर धेरै वास्तविक पिडा पनि बोकेको छ यसले । दाइ समाज न हो हरेक प्रकारका मानिसहरु बस्छन त्यहा हरेक ब्यक्तिको अलग अनुभव र बिचार हुन्छन भन्नेहरुले जे पनि भन्छन तर आफुलाइ जे ठिक लाग्छ त्यहि गर्दा उत्तम हुन्छ। जस्तै तपाइमा जुन बिचार त्यही बिचार अरुमा नहुन सक्छ कसै कसै सँग मिल्छ पनि बिचार मिल्ने हरुले तपाइको बिचारलाइ कदर गर्नेछन र सके सहयोग पनि। जे सुकै होस दाइको बिचार प्रति म पनि ज्यादै खुसि छु । एउटा पाइलो टेक्ने धरातल पाइयो भने पक्कै पनि हामीले आफ्नै देशमा केही गर्न सक्छौ तर समय र परिष्थितीका दास हामी कुनै कुनै बेला आफुले चाहेको कुरा पुरा गर्न सकेनौ भने कहिले काही पछुतो पनि लाग्छ । आशा छ दाइ त्यो बेला आत्तिनु हुने छैन । हामीले नेपाल बाट हेर्दा प्रवास राम्रो देख्छौ दुख हुन्छ भन्ने कुरा पनि सुनेका हुन्छौ तर दुखको पनि एक सिमा हुन्छ कति दुख भन्ने कुरा नेपाल बसेर थाहा हुन्न यो दुखको मापन हामी जव भोग्छौ तब मात्र थाहा पाउछौ । हो हामीले नेपालमा नपाएका भौतिक सुख सुबिधा सबै पाउछौ प्रवासमा तर सम्पुर्ण आफन्तहरुबाट टाढा रहेर हरेक दिन र रात मेसिन झै घोटीदा कसैले पनि खुसी प्राप्त गर्न सक्दैनौ । केही रकम हात पार्दा क्षणिक खुसी पाउछौ तर त्यो बाड चुड गर्दा अन्तमा अझै हजार तिर अपुग हुदा फेरी उही पिडा थपिन्छ नै त्यसैले कमसे कम आफु आफ्नो देशमा रहनु पाउदा त्यो खुसि प्राप्त हुन्छ जुन प्रवासमा पाइन्न । यहाको वसाइ सुखद रहोस शुभकामना ।

    ReplyDelete
  13. nice, lets do something in this critical situation. otherwise we are IN GHAR OR IN GHAT! lets change the political conflict, lets put something new and forward for the developemnt or betterment of country. We are not safe in home, do not feel away form home!! How big this group would be, lets explore and do politics.

    ReplyDelete
  14. ब्यक्तिगत अनुभव लेख्नु भए पनि यसले हाम्रो समाजको चित्रण गरेको छ। यो बहुत सम्बेदनशील र महत्वपुर्ण बिषय हो हाम्रो लागि। देशको बिग्रेको अवस्थाले यी प्रश्न हरु तेर्सिन्छन्। मेरो विचारमा स्वाभाबिक पानी छन्। तर पनि राष्ट्रबाद लाई एक छेउमा राख्दिने हो भने जहाँ बस्दा र जे पेशा अङाल्दा खुशी भैन्छ त्यही बस्ने र त्यही काम गर्ने हो।

    ReplyDelete
  15. बसन्त जी,

    म पनि तपाईं जस्तो सरकारी स्कुल मा पढेर सरकारी छात्रव्रित्तीमा बिदेश पढ्न गएको। मलाई ट्रेकिङ्को सौख छ र म नेपालका गाउँगाउँ घुमेको छु। एकपटक यस्तै एउटा विकट गाउँमा जादा माओवादीहरुले सताएका र सरकारी सैनिकले पनि दु:ख दिएका लोकल को कुरो सुनेँ (लुक्ला तल तर सोलुखुम्बु जिल्लामै )। त्यही बेला माओवादीले म सँग चन्दा मागे, मैले 'मान्छे मार्न खर्च चाँही नगर्नु होला' भनेर चन्दा दिए। बाटोमा पोस्ट बहादुर बोगटी लाई देखेको थिए जस्तो लाग्छ, तर उनी चार जना कार्यकर्ताको बिचमा थिए र तर्के। फर्केर अमेरिका आउँदा मैले मनमनै त्यो गाउँ को कुरो सोचे। त्यो गाउँमा मैले म्रिगौला दुखेको मान्छे भेटेको थिए (म संगै एक जना पाटन हस्पिटल्को डाक्टर पनि ट्रेकिङ मा थिए। ) मेरा बा पनि त्यस्तै विकट गाउँ बाट चितवन झरेका थिए, हामीलाई सरकार ले सडक, स्कुल , हस्पिटल बनाइदिएको थियो, हामीले अवसर पायौँ , त्यहाकाले पाएनन । नपढेकोले गर्दा तिनमा कन्फिडेन्स छैन, जुन गुण्डाले आएर थर्काए पनि थर्कन वाध्य छन। हाम्रो पढाई मा तिनको पनि लगानी छ, तिनको श्रोत हामीले उपभोग गर्न पाएका हौँ नत्र हाइस्कुल र अस्पतालमा उनको पनि उत्तिकै हक थियो।

    नपढेका मधेसी हरुलाई सर्वोच्च अदालत मा सहयोग गरिदिने मेरा एक मित्र ले नपढेको मान्छेहरुको आत्मविश्वास को वारेमा यसरी भन्थे: " ति कर्मचारीहरु भने पछी डराउँथे। सहि गर्दा हात कमाइ कमाइ गर्थे। तिनलाई कर्मचारीहरु आफ्नै लागि काम गर्ने मान्छे हुन भन्ने थाहा थिएन। केही गल्ती होला र घर खेत जाला, जेल जानुपर्ला भन्ने डरमा थिए। आफ्नो अधिकार केही थाहा थिएन।'

    भगवानका कृपाले हामी देश विदेश घुम्न पायौँ, पढ्न पायौँ, हामी संभवत: नेपालमा केही गर्न सक्छौ। हाम्रो दायित्व पनि छ र धेरै नेपालीहरु देश फर्केर गएका पनि छन। देश भन्ने कुरो एकजनाले बनाएर बन्ने कुरो पनि हैन। अरुले बनाइदेला र जाउँला भनेर देश बन्ने पनि हैन। हाम्रो आफ्नै दायित्व छ, र त्यो अनुसार गर्नुपर्छ।

    अर्को कुरो, दुई भोट आएपनी चुनाव लड्नु पर्छ। चुनावमा हार्ने भन्ने कुरो हुँदैन। यती भोट ल्याए भन्ने मात्र हुन्छ। जनतालाई हामीले अप्सन दिनुपर्छ। नेतालाई गाली गर्ने, तर चुनाव पनि नलड्ने हरु वेवकुफ हुन। जनताले जे अप्सन छ त्यो मध्य छान्ने त हुन।

    तेश्रो कुरो, हामी नेपाली घानका घान बेलायतको लागी लड्न गएर ज्यान गुमायौँ। हाम्रा चेलीबेटीहरु देशमा केही छैन भन्ने हौवाको पछाडि लागेर र विदेशमा वेश्या बन्न पुगे र केही अघी पनि लेबनान मा आत्महत्या गरेको खबर आयो। मलाई के लाग्छ भने जसरी पहिलेका गल्लावाल र नेपाली नेतालाई लाहुरे बढेको फाईदा हुन्थ्यो र तिनले यस्ता लाहुरे बन्न इन्करेज गर्थे अहिले पनि म्यानपावर र केही नेताहरुलाई नेपालीहरु विदेशमा बसेको फाईदा छ। ति नेपालीलाई देश छोड्न इन्करेज गर्छन्। त्यो 'साइकी' नै अरु मान्छेलाई पनि लाग्छ। हाम्रो आदर्श भनेको महाविर पुन र सन्दुक रुइत जस्ता मान्छे हुन जो फर्केर गएर देशमा ठुलो काम गरेका छन। तर त्यो भन्दा पनि बढी सबैले वहाँहरु जस्तो फेमस हुनपर्छ भन्ने छैन, तर इट्टा थप्दै जाने त हो। गीतामा भगवानले हामी सबैले आफ्नो ठाउँबाट कर्म गर्न पर्छ भन्नु भएको पनि त्यही कारण हो। हामी सबै मन्त्री प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन। जे पदमा छौ त्यही लगनशील भएर काम गरौँ । आफ्नो अधिकार भित्र भएको काम राम्रो संग गरौँ, बिस्तारै सबै ठीक हुन्छ।

    फर्केर मुख्य कुरो : मेरो बिचारमा सरकारी छात्रव्रित्तिमा विदेशमा पढेकाहरु नेपाल जानै पर्छ, नफर्कनु पाप हो। त्यसबाहेक कक्षामा प्रथम हुने , तथा केटाहरु नेपाल फर्कनु पर्छ। हाम्रो सरप्लस लेबर हरु विदेशमा भएको नराम्रो हैन। तर विद्वानहरुले देश छोड्नु राम्रो हैन। बाँकी को आआफ्नो कुरो हो। कसैलाई विदेशमा पिज्जा बेचेर वा सान्तिनो इन्जिनियर को जागिर खाएर बस्दा सन्तुस्टी हुन्छ भने तेतै बसेको राम्रो। देशको धेरै कुरो राम्रो पनि छ, नराम्रो पनि छ।

    your friend:
    BNP.

    ReplyDelete
  16. तपाई किन फर्कनु भयो म सोध्दिना. तर फर्कनु भए छ खुसि लग्यो. अरु बिदेस बस्नेले कत्ति दुख हुन्छ सकेसम्म देशमै बस्नु यहा आउने सपना नदेख्नु भन्छन तर गाएका हरु कोइ फर्कने होइनन. तर एउटा उदहारण तपाई हुनु भयो. अब केही काम गर्नुस जुन एउटा उदहारण बनोस. म भन्दिन ठुलै काम गर्नुपर्छ म भन्दिन, जे गर्नु हुन्छ इमान्दारीका साथ गर्नुस उदहारण आफै बने छ

    तपाई को निर्णयको लागि बधाई तथा सुभकामना. ..........

    ReplyDelete
  17. basanta dai u r very responsible n caring father!i like it!arya is very lucky!

    ReplyDelete
  18. exactly true matter

    ReplyDelete
  19. Ekdam khusi lagyo, welcome back to Nepal and lets do something.

    ReplyDelete
  20. Welcome back home, now please use your learnt values and knowledge to some productive endeavors here in Nepal.

    All the best,

    ReplyDelete
  21. हाम्रो सोच र वास्तविकताको एकदमै सहि चित्रण । धेरै कुरा माथि साथीहरूले लेखिसक्नु भएछ । कमेण्टमा लेख्ने थप कुरा खासै भेटिँन तर पोस्ट भने दामी छ ।

    ReplyDelete
  22. वसन्तजी
    मेरेा मनकेा वह लेखि दिनु भएकेा जस्तेा लाग्येा । म पनि यस विषयमा लेख्न खेसा् गर्दै छु । कतावाट शुरू गरेर कता अन्त गरू जस्तेा भै रहेकेा थियेा तपाइकेा लेख पढेर केही विचार फुरेकेा छ । अाफनेा देश ,मेरेा देश , मेरेा घर भनेर अमेरिकी डीभी परे पनि दुइर् वर्ष वसेर नेपाल फर्कदा धेरै धेरै केा हास्यपात्र अनि वेवकुफ पेा भएकेा छु । केाही के विगारेर अायेा भन्छन् केाही काहां वस्छ हामीलाइर् ढांटेकेा छ भन्छन्र । किन अाएकेा, कहिले जाने भन्ने प्रश्न मात्र सुन्न परेकेा छ । एक जना पनि मैले रामैा गरेकेा भन्दैनन् । तर पनि म अाफु भने मैले जे गरे राम्रेा गरे भन्नेमा पुगेकेा छु ।

    ReplyDelete
  23. Dear Basanta Jee

    Like Pradhumna Jee, I am also thinking to be back my mother land by 2011, March.

    Now, I am looking forward to see your next posting about possibilities in mother land for us.

    so, that most of people like me can priorities the available possibilities/ opportunities to make a bold decision to be back.

    This article is the one to motivate us to have right decision with logical answers to illogical query!

    ReplyDelete
  24. बिरलै मान्छेहरुमा भेटिन्छ यस्तो प्रष्टता। समाज हो, थरिथरिका मान्छे भेटिन्छन् नै। तर मुख्य कुरा आफैँ प्रष्ट हुनु हो जुन कुरा यो लेखले उजिल्याएको छ। सरको अगाडिको यात्रा शुभ अनि मातृभूमिप्रति अगाध माया राख्ने सबैका लागि प्रेरणादायी रहोस्।

    ReplyDelete
  25. सलाम बसन्त दाइ ...तपाइको यो आफ्नोपन प्रति ! यो राष्ट्र प्रेम प्रति ! यो एउटा भावना मात्र नभएर एउटा साहसिक कदम मान्नु पर्छ !

    ReplyDelete
  26. धेरै राम्रो कुरा समेट्नु भएको छ |यो केहि समय पछी मैले पनि सुन्नु पर्ने छ र याँहा लिपिबद्द भावनाहरु म भित्र पनि दौडी रहेका थिए, दौडिदै छन् .... तपाईको आत्म बिश्वाशको अगाडी कसैको केहि लाग्दैन ... अगाडिको समयको लागि शुभकामना |

    ReplyDelete
  27. धेरै राम्रो लाग्यो. स्पस्ठ रूपले आफ्नो कुरा राख्नु भयो.एस्मा तपाईंको आफ्नो कुराको संगै देशको नराम्रो परिस्थितीको पनि वर्णन भएकोछ.

    ReplyDelete
  28. सवै पढिसकेँ तर अव के लेख्ने भनेर आएन । दाजू फर्किनुभो...त्यतिलेनै औधी खुसी लाग्यो । बाँकि हाम्रो देशको कुरो.....जति गरे नि कुरै मात्र । जस्तै भए नि आफ्नो पहिचान,आफ्नो स्वाभिमान सवै भन्दा धेरै आफ्नै देशमै बनाउन सकिन्छ । धेरै राम्रो लेख.....

    ReplyDelete
  29. अति संवेदनशील, राष्ट्रवादी र यथार्थ निर्णय !
    जीवन बारे हरेकको आआफ्नो सोचाइ हुन्छ, त्यो उसको हकको कुरो हो । अरूको कुरो सुन्नु पर्छ, निर्णय त आफैँले गर्ने हो । आफूले गरेको निर्णयको जिम्मेवार आफँ हुने हुनाले अरूका अनपेक्षित प्रतिक्रियाबाट हरेस खान हुँदैन ।
    तपाईँको सोचाइ र निर्णय ठिक छ ।

    ReplyDelete
  30. निरज कर्ण (wrc)August 15, 2010 at 1:53 AM

    पहिले त तपाईंको यस्तो गम्भिर र बिश्लेश्नात्मक बिचार प्रती धन्यबाद दिन चाहन्छु ।
    दोस्रो त तपाईंको लेखले हामी जस्तो जो बिदेश तिर जान सोचिरहेको छ उस्लाई बिदेशमा हुने हिनबोध र जायज पिडा को अनुभुती गराउछ ।
    तपाईं को लेखमा बाश्तबिकता छ,बसन्त सर ।

    ReplyDelete
  31. मेरा भावनाहरुलाई मन पराएर आफ्ना भावपूर्ण प्रतिकृयाहरुका साथ मलाई हौस्याउनुहुने यहाँहरु सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु।
    नेपाल बसाईका अरु कुरा,आफ्ना अनुभूतिहरुलाई पनि यसैगरी बाँड्दै जानेनै छु।

    ReplyDelete
  32. वसन्त जी,

    तपाईँको यो लेख आफैँ गजब छ र यसमा आएका टिप्पणीहरू पनि राम्रा छन्। उसलाई आवश्यक लागे अरु कसैका विचार जवाफ समेत सामेल गरेर किन नछाप्ने? - केदार

    ReplyDelete
  33. sanjeevdevsजी र केदार सरलाई धेरै-धेरै धन्यबाद!

    ReplyDelete
  34. However fucked up Nepal is, Ima get my ass bk there as soon as im done w/my school...Khusi Huna America Chahidaina malai (k nai khusi po chha ra)......nd really glad there r ppl like u....LIkey...

    ReplyDelete
  35. Basanta ji,
    First, I want to commend you for going back to Nepal. Where the heart feels happy is where you should be. You sound happy, and that is great.

    Secondly, I want you to hear Yaw Nyarko and Bill Easterly, and what they say about Brain Drain and Brain Circulation (http://www.worldvisionreport.org/player.php?storyfile=1621), as they are completely on the mark, in my opinion. I hope it also gives you a sense of pleasure, as you are doing a great necessary service to Nepal, by bringing back your skills expertise and experience from abroad back to Nepal.


    I realize the conversation is a bit premature. It goes from "why are you even back" to "oh no we are losing everybody" but "well, not really everybody, isn't this a good thing anyways", and Nyarko and Easterly are trying to move conversation from step 2 to 3, while your amazingly heartfelt post is just battling step 1.

    Again, congratulations on the move, and hopefully I've given you some 12 minutes of food for thought.

    ReplyDelete
  36. पहिलो कुरा त बुवाको मृत्‍युको खबर सुनेर दु:ख लाग्यो । मृत्‍यु एक अनिबार्य सत्य हो भनेर हामीले बुझेका छौ । तर पनि आफ्नो मान्छेको मृत्‍युको पिडा भोग्नेलाई मात्रा थाहा हुन्छ । बुवाको आत्माले सान्ती पाओश । बसन्तजि दोस्रो कुरा दिपावलिको मंगलमय शुभकामना । तेस्रो कुरा नेपाल फर्केको बारे लेख्नु भएको कुरा पनि पढे । खुशी लाग्यो । हुन त म एक पटक बिदेश बसेर आएको मान्छे हुँ । हैसियत अर्काको देशमा कमाये पनि नकमाये पनि हाम्रो एउटै हो भन्ने लाग्छ मलाई । साउदी अरबको रियादमा २ बर्ष बस्दा उनिहरुले अजनबिहरुलाई गरेको व्यबहारले साह्रै चित्त दुखेको थियो मेरो । उनिहरु बिदेशीलाई अजनबी भन्छन । र ठान्छन अज्नबिहरु सबै भिखारी हुन या खान नपाएर उनिहरुको देशमा पुगेका हुन । हुन त उनिहरुको ठम्म्याइलाई कसरी गलत भनु म । हरेक बर्ष ओईरो लागेको छ रोज्गारिको लागि । त्यसैले उनिहरु हामीलाई मिस्किन भन्छन । उनिहरुको भाषामा शायद मिस्किनको अर्थ भिखारी वा गरीब भनेको होला । म पनि नानीहरुको पढाईकै लागि भनेर फर्किएको हुँ । काम राम्रै थियो । कम्पनी बदलेर जादा हुने थियो । कफि बनाउने बारीस्ता थिए म । तर पनि जहिले पनि मन दुखिरहने आफुलाई गरिएको व्यबहार थर्ड क्लास लाग्ने । कहिले काही त कुल्लु नेपाली अलिबाबा भनेको पनि सुने मैले र बाझे पनि एउटा अरबिसँग । अन्तिममा तिमीहरुनै अरु अजनबिहरुलाई ठग्ने अलिबाबा हौ भनिदिये मैले पनि । झन्डै कुटेन मलाई । जे होश म फर्किएर फेरी पढाउने काम्मा लागे । अरुले के भन्छन भन्ने कुरालाई प्राथमिकता दिने भन्दा आफुलाई जे ठीक लाग्छ त्यही गर्ने मान्छे हुँ म पनि । मलाई एक समयमा पढेको कथा याद आउछ बेला बेला । सिकन्दर महान विश्व कब्जा गर्ने धुनमा संसारै आफ्नो बनाउने धुनमा लागेका थिए । अन्त्यमा उन्ले केही लाने कुरा पनि भएन । जती धन दौलत जम्मा गरेपनी सबै यही धर्तिमा छोडेर जानु पर्ने सत्य थियो । उन्ले त्यसैले हरेक मान्छेलाई सन्देश होश भनेर आफ्नो मृत्‍यु पछी आफ्नो लासलाई कफिनमा हालेर नगर पारीक्रमा गराउदा दुबै हात कफिनबाट बाहिर निकलिदिनु भनेछन । ता कि दुनियाँलाई थाहा होश सिकन्दरले पनि केही लान सकेन भन्ने ज्ञान होश । तर बाटोमा लाम लागेर बस्नेले भनेछन हेर हेर यो सिकन्दर बाचुन्जेल त संसार आफ्नो बनाउन कुदी रह्यो मरेपछी पनि बाटामा भेटिएका सबै कुरा लान खोज्दैछ भनेछन । दुनियाँले केही गरे पनि चित्त बुझाउदैन भन्ने सन्देश राम्रो लाग्यो मलाई । अरुको चित्त बुझाउन थाल्ने हो भने हामी हाम्रो पनि चित्त बुझाउन सक्दैनौ । स्वदेस फर्किनु भो त्यो नै राम्रो कुरा भो । हामी सक्ष्यम जती सबै बिदेश बसे हाम्रो जन्म भुमी कस्ले स्याहार्ने ?

    ReplyDelete