केहि समय यता बीपीप्रतिको आकर्षण तिब्र भएको छ ममा। बीपीका सृजनाहरु र
स्वयं बीपीका बारेमा सकेसम्म धेरै पढ्ने चाहना बढीरहको छ। यहि ‘बीपी भोक’लाई केहि
शान्त पार्न तीन पुस्तकहरु किनेको थिएँ केहि पहिला; ‘मोदीआईन’, जेल जर्नल’ र ‘फेरि
सुन्दरीजल’। बीपीका सबै किताबहरु किन्ने छु, क्रमैसंग।
यी तिनमध्ये सानो कदको सुन्दर ‘मोदिआईन’ मैले पहिलेपनि पढिसकेको हो। यसको
कथाको सरसता र सरलता र “ठूलो मान्छे होईन, असल मान्छे बन्नु।“ भन्ने अपरम्परागत तर
शाश्वत सन्देशका कारण म बारम्बार ‘मोदिआईन’ तिर तानिईरहन्छु। जति पढेपनि यो पूरानो
लाग्दैन। यसपटक पनि ‘एकै सास’ मा पढिसिध्याएँ यसलाई।
बीपीको ‘आत्मवृत्तान्त’ पढेपनि ‘जेल जर्नल’ भने पढेको थिईन। बिभिन्न
ब्यस्तताकाबीच दिनदिनै अलि-अलि समय मिलाएर पढें, झण्डै महिनादिन लाग्यो पढिभ्याऊन।
हरेक दिन जसो बीपीको दैनिकी अलि-अलि पढ्दा बीपीको तत्कालीन मानसिकताको असर
परीरह्यो मलाई, म दैनिकीका पानाहरुसंगै उदास, खुशी, आक्रोशित र निराश भईरहें। म
अझै त्यो असरमा बाँचीरहेको छु, र ‘फेरि सुन्दरीजल’ त पढ्नै बाँकी छ।
बीपीको बारेमा मैले पहिलोचोटि सचेत रुपमा सुन्दा उहाँको निधन भईसकेको
थियो। वास्तवमा उहाँको निधन र त्यसपछिको शवयात्राका बारेमा ठूलाले कुरा गरेको
सुनेकोनै उहाँसंगको मेरो पहिलो सचेत परिचय हुनुपर्छ। बहुदल-निर्दलको चुनावताकाका
हल्ला र कानेखुशीहरुमा पनि उहाँको नाम सुनिएको थियो होला, तर याद छैन। पञ्चायत
आफ्नो उग्रतामा मात्तीरहेको त्यो समयमा बीपीको निधनपश्चात पनि बीपीमाथि
‘प्रतिबन्ध’ जारीनै थियो देशमा र बीपीका बारेमा कांग्रेसी अखबारहरुमा मात्रै केहि
भेट्न सकिन्थ्यो।
स्कूले जीवनको माध्यमिक तहदेखि प्रमाणपत्र तह पढुञ्जेल केहि बामपन्थी
हावा बग्यो मेरो वरिपरि। जानी-नजानी म बामपन्थीहरुकाका यावत् प्रचारबाजीहरुलाई सत्य
ठान्न थालें। बामपन्थीहरुको प्रचारबाजीको एउटा पक्षमा बीपी पनि हुनुहुन्थ्यो र
उनीहरु लगभग सधैंजसो बीपीलाई भारतपरस्त र राष्ट्रघातीका रुपमा चित्रण गर्थे। यस्तै
चित्रण पञ्चेहरुले पनि गर्थे। बीपीको मानमर्दनलाई एउटा प्रणालीको रुपमा स्थापित गरिदिएका
थिए राजा महेन्द्रले र त्यो प्रणाली पञ्चायत छऊञ्जेल भर्भराऊँदो रह्यो। पञ्चायत र
साम्यबादीहरु मिलेर बीपीलाई अपमानित गर्ने सिलसिला यसरी पञ्चायत छऊञ्जेल चलिरह्यो।
अर्कोतिर, कांग्रेसले पनि बीपीको यो अपमानको डटेर मुकाबिला कहिल्यै गर्न
सकेन, बहुसंख्यक कांग्रेसीहरुले त्यतातिर बिल्कुलै चासो देखाएनन्। उनीहरु बीपीलाई
खोपीको देऊता बनाएर बसे, तर बीपीको अपमानको प्रतिरोध गरेनन्। न त उनीहरु बीपीका
विचारहरुलाई जनतामा अझ प्रचारित गर्ननै लागीपरे। कांग्रेस र कांग्रेसीहरु अझै पनि
त्यस्तै छन्, बीपीलाई खोपीको देऊता बनाउने वर्षमा एक-दुई पटक उनका नाममा रुख
रोप्ने स्थितिबाट अझै अगाडि गएका छैनन्।
स्वअध्ययन बढ्दै गएपछि बीपीलाई चिनिँदै गईयो क्रमिक रुपमा। उहाँको
साहित्यिक व्यक्तित्वले पहिला मोहनी लगायो र पछि बिस्तारै उहाँको राजनीतिक
ब्यक्तित्व पनि उत्तिकै सुन्दर भएको बोध भयो। र उहाँजत्तिको राष्ट्रवादी राजनेता
नेपालले अर्को पाएको छैन भन्ने कुरामा विश्वाश दृढ भयो।
जेल जर्नल उहाँले आफ्नी जीवन संगिनी सुशीलालाई लाई सम्बोधन गरेर शुरु
गर्नुभएको छ, र उहाँकै लागि लेख्न थालेको भन्नुभएको छ। धेरै ठाऊँमा आफ्नी
जीवनसंगिनीका प्रतिको प्रेम र अनुरागको खोलो बगाउनुभएको छ पुस्तक भित्र।
राजनीतिमात्र नभएर जीवन-जगतका यावत कुराहरुका बारेमा आफ्नो बीपीले आफ्ना
विचारहरु पोख्नुभएको छ यसभित्र र थुप्रै चिन्तनमनन गर्नुभएको छ। ‘कहिल्यै नियमित
हुन नसकेको’ आफैंप्रतिको गुनासो पनि छ यसमा र आफूललाई सुधार्ने संकल्प र संकल्प
पूरा हुन नसक्ने संभावनाको दोधारमा बसेर पनि कुरा गर्नुभएको छ। जर्नल (दैनिकी)
लेखिएको दिनको उहाँको मानसिकता पढ्न सकिन्छ हरेक पृष्ठमा। आफ्नो मनमा जे छ
त्यसैलाई खुल्ला हृदयले पोखिदिनुभएको छ। कुनै दिन थोरै लेख्नुभएको छ, कुनै दिन
एकदम लामा दार्शनिक ब्याख्यानहरु लेख्नुभएको छ।
जर्नलभित्र धेरै ठाऊँमा उहाँले योग र अध्यात्मका बारेमा लेख्नुभएको छ र
आफूले आफूलाई भौतिकवादी मानेपनि भित्री स्वभाव शायद अध्यात्मवादी छ कि भनेर आफैसंग
प्रश्न गर्नुभएको छ। भौतिकवाद र अध्यात्मवादको तुलना गरेर ५ पेज लेख्नुभएको छ
किताबको मध्यतिर। र एक ठाऊँमा आफूमा अध्यात्मवादतिर झुकाव बढ्नु बूढो हुनुको लक्षण
त होईन भनेर झस्किनुभएको पनि छ। यस्तै गरी नैतिकता र सामाजिक मूल्य-मान्यताका
बारेमा पनि धेरै ठाऊँमा लेख्नुभएको छ। हिन्दू दर्शन, निष्काम कर्म र सन्यासजस्ता
विषयहरुमा अन्तर्नीहित विरोधाभाषहरुलाई केलाउनुभएको छ एक ठाऊँमा। समग्रमा हेर्दा,
निष्काम कर्म र सन्यासप्रति उहाँमा अलिकति पनि विश्वाश देखिँदैन।
जीवनप्रतिको उहाँको संवेदनशीलता र उहाँको मनको कोमलता पनि हामीलाई अँगाल्न आईपुग्छन् धेरै ठाऊँमा। कहिलेकाहीँ दैनिक जीवनका स-साना घटनालाई पनि बडो सुक्ष्मतापूर्वक केलाएर धेरै निष्कर्ष निकाल्नुभएको छ। मानव बाहेकका अरु जीवजन्तुहरुप्रतिको उहाँको संवेदना पनि पोखिएको छ धेरै ठाऊँमा। दुईवटा प्रसंग विशेष लागे मलाई; एउटा उहाँको कोठाको झ्यालमा रहेका बारुला र अरिंगालका गुँडहरु जलाएर नष्ट गरिएपछिको उहाँको मनोदशा र अर्को आफ्नो भालेलाई मूसाले खाएपछिको पोथी गौंथलीको विरह र त्यसले त्यो ठाऊँ छोडेको प्रसंग। जेलभित्रका आफ्ना साथीहरु; गणेशमान, कृष्णप्रसाद, दिवानसिंह राई आदिका बानीहरु र विचारहरुको पनि धेरै निरिक्षण गर्नुभएको देखिन्छ। साथै जेल जीवनका भनाभन, झगडा आदि पनि छन्।
जीवनप्रतिको उहाँको संवेदनशीलता र उहाँको मनको कोमलता पनि हामीलाई अँगाल्न आईपुग्छन् धेरै ठाऊँमा। कहिलेकाहीँ दैनिक जीवनका स-साना घटनालाई पनि बडो सुक्ष्मतापूर्वक केलाएर धेरै निष्कर्ष निकाल्नुभएको छ। मानव बाहेकका अरु जीवजन्तुहरुप्रतिको उहाँको संवेदना पनि पोखिएको छ धेरै ठाऊँमा। दुईवटा प्रसंग विशेष लागे मलाई; एउटा उहाँको कोठाको झ्यालमा रहेका बारुला र अरिंगालका गुँडहरु जलाएर नष्ट गरिएपछिको उहाँको मनोदशा र अर्को आफ्नो भालेलाई मूसाले खाएपछिको पोथी गौंथलीको विरह र त्यसले त्यो ठाऊँ छोडेको प्रसंग। जेलभित्रका आफ्ना साथीहरु; गणेशमान, कृष्णप्रसाद, दिवानसिंह राई आदिका बानीहरु र विचारहरुको पनि धेरै निरिक्षण गर्नुभएको देखिन्छ। साथै जेल जीवनका भनाभन, झगडा आदि पनि छन्।
स्वाभाविक रुपमा, देशलाई प्रजातन्त्रवीहिन बनाउने र आफूलाई बन्दी बनाउने
राजा महेन्द्रप्रतिको उहाँका आक्रोश छन् धेरै ठाऊँमा। महेन्द्रको मानसिकताको
विश्लेषण गर्नुभएको छ धेरै ठाऊँमा र त्यसलाई देशको राजनीतिक परिश्थितिसंग
गाँस्नुभएको छ। आफ्नो भोगाईका आधारमा नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट
जोगाउने उपायहरु के हुनसक्छन् भन्ने चिन्तन पनि छ एक ठाऊँमा। तत्कालीन परिश्थितिको
प्रसंगमा बौद्धिक अवसरवादिताको शल्यकृया र आलोचना गर्नुभएको छ। लिखित
इतिहासप्रतिको उहाँको शंका र अविश्वाश पनि ब्यक्त गर्नुभएको छ एक ठाऊँमा। फेरि तुरुन्तै
उहाँ एशिया र अफ्रिकाका प्रजातान्त्रिक आन्दोलनहरुको भविष्यको चिन्ता पनि गर्न
पुग्नुहुन्छ।
तत्कालीन भारतका नीतिहरुको, यसका शाशकहरुको मानसिकताको र उनीहरुको
नेपालप्रतिको ब्यबहारको सटीक विश्लेषण छ धेरै ठाऊँमा, भारतीय मानसिकतालाई उहाँ “bully or slave” ले संक्षिप्तीकरण गर्नुहुन्छ। उहाँको
विश्लेषण अहिलेपनि उत्तिकै सान्दर्भिक लाग्छ, किनभने भारतको नेपालप्रतिको ब्यबहार
अहिलेपनि उस्तै छ। उहाँ जहिले पनि पूर्ण रुपमा भारतआश्रित हुने मानसिकताको विरोधमा
देखिनहुन्छ, र राजा महेन्द्रको प्रतिगामी कदमपछिको प्राजातान्त्रिक आन्दोलन सशक्त
र सफल हुन नसक्नुको प्रमुख कारणका रुपमा त्यतिखेर जेल बाहिर रहेका नेताहरु बढी
भारतआश्रित हुनु र सबै कुरा “भारतको डालोमा” हाल्नुलाई मान्नुहुन्छ। हाम्रा
यतिखेरका नेताहरु पनि झन्-झन् भारतआश्रित हुँदै गएका छन्। हाम्रा नेताहरुमध्ये
धेरैजसोले त यो जेल जर्नल पढे होलान् भन्ने कुरामा पनि शंका लाग्छ मलाई। पढेमा
तिनले धेरै कुरा जान्ने थिए।
त्यतिखेरको चीन-भारत युद्धको प्रसंगमा पनि उहाँले भारतीय नीति र
मानसिकताको विश्लेषण गर्नुभएको छ र भारतीयहरुको हारको कारण खोज्नु भएको छ।
चीन-भारत युद्धको प्रसंगमात्रै होईन अरु धेरै ठाऊँमा उहाँले नेहरुको ब्यक्तित्व र
उनका कमजोर पक्ष-सशक्त पक्षको तुलना गर्नुभएको छ र राष्ट्रिय-अन्तर्राष्ट्रिय
रुपमा जति ठूलो ब्यक्तित्व प्राप्त गरे पनि नेहरुलाई “---- पूर्णांक दिन
सकिन्न---“ भन्नुभएको छ। यहीँ उहाँले स्वाधीनतापछिका १५ वर्ष भारतमा एकछत्र राज
गरेका नेहरुका मुख्य कमजोरीहरुलाई सूचिबद्ध पनि गर्नुभएको छ।
बीपीले अरुका कमजोरीको मात्र विश्लेषण गर्नुभएको वा अरुलाई मात्रै आलोचना
गर्नुभएको होईन, यो किताबको मूल विशेषता र महानता त बीपीले आफ्नै कमीकमजोरीमाथि
गर्नुभएको खुल्ला विवेचना हो। ब्यक्तिगत कमजोरीहरुदेखि लिएर एउटा दलका रुपमा
कांग्रेसका कमजोरी र आफ्नो सरकारका कामजोरीसम्मलाई उहाँले केलाउनुभएको छ र कमजोरी
र गल्तीहरुबाट सिक्ने प्रण गर्नुभएको छ। उहाँ दुनियाँले आफूलाई आफ्ना गुण र दोषका
आधारमा सन्तुलित मूल्यांकन गरोस् भन्ने चाहनाबाट प्रेरित हुनुहुन्छ र केहि पनि
लुकाउनुभएको छैन।
जेलभित्रै बसेर पनि उहाँले आफूलाई अन्तर्राष्ट्रिय घटनाक्रमहरुको बारेमा
पनि सुसूचित पारीरहनुभएको देखिन्छ। तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको मृत्यु,
भियतनाम युद्ध, क्युबाको संकट, युगाण्डाका घटनाहरु आदिका बारेमा चर्चा गर्नुभएको
छ।
बीपीको पारिवारिक ब्यक्तित्वका बारेमा पनि धेरै बुझ्न सकिन्छ यहाँ। एउटा
पुत्रको रुपमा बीपी, एउटा पतिको रुपमा बीपी र एउटा पिताको रुपमा बीपी; तिनै भूमिकाका
बारेमा उहाँले धेरै लेख्नुभएको छ। लामो जेलजीवनका कारण आफूले तिनै भूमिका
राम्रोसंग निभाउन नपाएको गहिरो पिडाबोधलाई ब्यक्त गर्नुभएको छ धेरै प्रसंगहरुमा। आफ्ना
छोराछोरीहरु हुर्केको हेर्न नपाएको, तिनलाई यथोचित निर्देशन गर्न नपाएको पिडाले जो
कोहि पितालाई भित्रैसम्म घोच्नु स्वाभाविक छ। साथै परिवारका धेरैजसो पुरुषहरु जेल
परेपछि र बाहिर बाँकीलाई पनि राज्यले कडा निगरानीमा राखेपछि कोइराला परिवारमा
आईपरेको आर्थिक संकटले पनि उहाँलाई धेरै चिन्तित बनाएको छ।
आफ्नी आमाको दृढता, धैर्य र साहसबाट उहाँ नतमस्तक हुनुहुन्छ। विशेष गरी, पृष्ठ
१३२र १३५ मा उहाँ आफ्नी आमासंगको आफ्नो सम्बन्धलाई र समग्र रुपमा मातृत्वको
महानता-कोमलतालाई सुन्दर शब्दचित्र दिनहुन्छ।
यस्तै सुन्दर शब्दचित्र बनेको छ, उहाँले आफ्नी धर्मपत्नी सुशीलालाई आफ्नो
जेल जीवनको नीरसताका बारेमा लेखेको चिठ्ठी। यो चाहिँ जर्नलको अन्त्यतिर अंग्रेजीमा
छ। चिठ्ठीजस्तो मात्रै लाग्दैन यो, अन्तर्मनको गहिराईबाट उब्जेको कुनै सुन्दर
कविताजस्तो लाग्छ।
जेल जीवनमा उहाँले प्रशस्त पढ्नुभएको छ र आफूले पढेका धेरै किताबहरुको
बारेमा लेख्नुभएको छ। साथै, आफ्नो लेखन वा लेखनका प्रति आफ्ना धारणा आदिलाई पनि
हाम्रा सामु राख्नुहुन्छ। उहाँ साहित्यका बिभिन्न विधाहरुमध्ये कथामा धेरै खुल्न
सक्ने पाउनुहुन्छ आफूलाई र लेख्नुहुन्छ “---कथा मेरो आफ्नो माध्यम हो क्यार “। साथै जेल जीवनमा उहाँले किन राजनीतिक
विषयमा कलम धेरै चलाउनुभएन/चलाउन सक्नुभएन
भन्ने बारेमा पृष्ठ १९४-१९५ मा लेख्नुभएको छ। राजनीतिलाई उहाँ एउटा गतिशील र
निरन्तर सम्झौताहरु गरीरहनुपर्ने पेशा/क्षेत्र
मान्नुहुन्छ र कारावासको एकान्तमा यसका बारेमा लेख्न साहित्य वा दर्शनका बारेमा
लेखेजस्तो सजिलो नहुने र लेखेपनि यथार्थको नजिक नहुने ठान्नुहुन्छ।
जेल जर्नलभरि तत्कालीन नेपालका, विशेषगरी राजनीतिमा संलग्न थुप्रै
पात्रहरुको उल्लेख हुनु स्वाभाविक हो। बीपीले कतिलाई प्रशंशा गर्नुभएको छ र कतिको
कटु आलोचना पनि गर्नुभएको छ। नोना कोइराला, रोशा कोइराला, शैलजाको धेरै प्रशंशा
गर्नुभएको छ। बाहिरी संसारसंगको बीपीको प्रमुख सम्पर्क सूत्र रोशाजी हुनुहुँदोरहेछ
र बीपीले उहाँको उच्च मूल्यांकन गर्नुभएको छ। जेल जर्नलभरि रमेशनाथ पाण्डे पनि
छाएका छन्, जसलाई बीपीले रमेश भनेर सम्बोधन गर्नुभएको छ। उनी ज्वरोले थलिएर
बर्बराऊँदा पनि बीपीकै नाम लिन्छन् भन्ने उल्लेख छ एक ठाऊँमा। उनी बीपी र राजा
महेन्द्रका बीच संवाद गराउन र त्यसै माध्यमबाट बीपीलाई छुटाउन प्रयासरत देखिन्छन्।
उनलाई निकै विश्वाश गर्नुभएको छ बीपीले। बाहिरबाट कसैले बीपीलाई पठाएको एउटा
चिठ्ठीमा भने उनको ‘डबल रोल’ को बारेमा हल्ला चलेको कुरा उल्लेख छ। के आई सिंहलाई
बीपीले मन पराऊनुहुँदो रहेनछ, उनलाई भारतीय एजेण्ट भन्नुभएको छ एक ठाऊँमा।
बीपी र जेल बाहिरका उहाँका सहयोगीहरुको सम्पर्कका क्रममा बनेको, तत्कालीन प्रशाशनलाई झुक्याएर बिभिन्न जानकारीहरु संग्रह गर्नका लागि प्रयोग गरिएको कोड प्रणालीको झलक पनि पाईन्छ संवादहरुमा
बीपी र जेल बाहिरका उहाँका सहयोगीहरुको सम्पर्कका क्रममा बनेको, तत्कालीन प्रशाशनलाई झुक्याएर बिभिन्न जानकारीहरु संग्रह गर्नका लागि प्रयोग गरिएको कोड प्रणालीको झलक पनि पाईन्छ संवादहरुमा
दैनिक जीवनमा हामीले सहजतासाथ प्रयोग गर्न थालेका कतिपय शब्दहरुलाई शुद्ध
नेपाली/संस्कृतमा लेख्ने कोशिश पनि छ उहाँको।
जस्तो; breakfast लाई ‘प्रातराश: भोजन’, setback लाई ‘प्रगतिरोध’, evening talk लाई ‘सन्ध्यालाप’, manipulate लाई ‘हस्तचालन’ आदि। ‘नेपालमै हुर्कन र समाज बुझ्न, नेपाली भाषाको
स्थानीय रंग र सुक्ष्मता बुझ्न नसकेको’ पिडा ब्यक्त गर्नुभएको छ एक ठाऊँमा र उहाँ आफ्नो
नेपाली भाषा सुधार्न संस्कृत साहित्यको अध्ययन गर्ने, अझ संस्कृत श्लोकहरु घोक्ने
विचार गर्नुहुन्छ।
अब उहाँका सटीक टिप्पणीका अरु केहि उदाहरणहरु।
लेखनका बारेमा- “भाषा र भावलाई लेखकले आफ्नो कलमको जूवामा जोख्न
सक्नुपर्छ।“
जेलमा केहि नगरी बितेको एक दिनको आफ्नै स्थितिमाथिको ब्यङ्ग्य- “It is a discovery to me that one can pass the day without work.”
स्वतन्त्रताको महत्वका बारेमा- "-----it is only in freedom that one acquires virtues of character. This applies to a nation also, a nation without liberty can't be a nation with character."
स्वतन्त्रताको महत्वका बारेमा- "-----it is only in freedom that one acquires virtues of character. This applies to a nation also, a nation without liberty can't be a nation with character."
---------------------------------------------------------------
जेल जर्नलको समीक्षा होईन यो, म आफूलाई त्यो क्षमताको पनि मान्दिन। बीपीमय
भएको मेरो मनका भावनालाई यहाँहरुसंग बाँड्न चाहेको मात्रै हुँ। जेल जर्नलको सुन्दर
भूमिका गणेशराज शर्माज्यूले लेख्नुभएको छ । उहाँको भूमिकाबाट जेल जर्नल र बीपीसंग
सम्बन्धित अरु धेरै कुरापनि तिनका पृष्ठभूमिसहित थाहा हुन्छन्, । यस्तै कमल
दिक्षितज्यूले पनि अर्को समीक्षात्मक भूमिका लेख्नुभएको छ।
--------------------------------------------------------------
तपाईँले पढ्नुभएको छैन भने पढिहाल्नुस्। यो एउटा छुटाउन नहुने, पढ्नैपर्ने र साथमा राख्नैपर्ने कृति हो।
तपाईं को र मेरो अनुभव लगभग उस्तै छ। म लाई पनि चितवन मा मित्रहरुले साम्यवादी सिद्दान्त मा दिक्षित गराए। अमेरिकाले २ सय र बेलायत ले ४ सय वर्षमा गर्न नसकेको बिकास चीन ले ४० वर्षमा गर्यो भने। म पनि तपाईं जस्तै चीन छात्रव्रित्तिमा गएको थिए। फर्केर घर आउँदा मेरा अखिल साथीहरुलाई 'कुरो त हामीले सोचे जस्तो रहेनछ' भन्दा 'तिमी त्यस्तो कुरो नगर भने'। अझै पनि चीनले वामपन्थी विचार धारा बाटै बिकास गर्यो भन्ने सोचाइ वामपन्थीहरुले पालेको देख्छु।
ReplyDeleteअमेरिकामा मैले धेरै वामपन्थी नेताहरुलाई भेटेको छु, अझ चितवन कै जिल्ला स्तरिय नेताहरु यता छोराछोरी भेट्न आउँदा भेटेको छु। उनीहरुलाई अमेरिका प्रती मोह छ, तर उनीहरुलाई घर गएर सत्य कुरा गर्ने कुनै जाँगर छैन। सत्य प्रतिको यती उपेक्षा मैले कमै समुदायमा देखेको छु। इमान्दार भनिने रोहित (बिजुक्छे) अझै उत्तर कोरियाको भजन गाउँछन। अमेरिकाको गरीबी देखेपछी के के न फेला परेको जस्तो गरी उफ्रन्छन, तर चीन मा भएको प्रजातान्त्रिक (इन्टलेक्चुअल हरुको )आन्दोलन र त्यसको दमन प्रती तिनीहरुको कुनै धारणा छैन, अथवा त्यसलाई डिसमिस गर्छन्।
मेरो हाइस्कुल मा हुँदाको वामपन्थी 'ट्रेनिङ' को मुख्य धारा नै बिपी विरोधी थियो, कसरी त्यसले देश बेच्यो , भान्जी सँग सम्बन्ध राख्यो आदी आदी। धेरै बामपन्थीहरु इमान्दार साथीहरु हुन, कतिमा मेहनती बानी पनि छ, त्यसो हुँदाहुँदै पनि यती आग्रह र घ्रिणामा आधारित ट्रेनिङ बाट उनीहरुको राजनैतिक सचेतना शुरु गरिएको हुन्छ कि ति आफ्नो दर्शन देखी पर हेर्न पनि नर्भस हुन्छन। त्यस्तो पुर्बाग्रहले उनीहरुको स्वतन्त्र सोच्न सक्ने शक्तिमा नै पर्दा लगाइदिन्छ, र यसले गर्दा धेरै बामपन्थीहरु सँग न बिपी जत्तिको लेख्ने क्षमता छ, न उनलाई बुझ्ने कुनै क्षमता। दु:खको कुरो त के भने अली अली पढेलेखेका नेताहरु भने 'बिपी ' महान हुन भनेर अहिले भन्छन (मदन भण्डारी, झल्लु र प्रचन्डइ तिनै जनाले उनिहरुका फेबरेट नेपाली नेता भनेर बिपिलाई भनेका छन )। तर घ्रिणा र अज्ञानता को पासा त वहाँहरुले फ्याकी सक्नुभएको छ।
काँग्रेस को सिद्धान्त जे सुकै भएपनी भ्रष्टाचार ले गाँजेको ले यि कहिल्यै माथी उठ्लान जस्तो लाग्दइनन। त्यसबाहेक त्यो पार्टी भित्र थालउ प्रथा छ, र काँग्रेसमा खासै आन्तरिक प्रजातन्त्र कहिले भएन। सबै महान नेताहरु पुजिन्छन, तर तिनको दर्शनको कसैले वास्ता गर्दैनन भनेझै भएको छ बिपी,(र केही हदसम्म कृष्ण प्रसाद भट्टराई र गणेशमान) को नियती।
BNP
"थालउ" भनेको ठालु , माथि गल्ती भएछ।
ReplyDeleteBNP
धेरै-धेरै धन्यवाद, वी पी साहित्यबार बहुमुल्य जानकारी दिनु भयेकोछ.धेरै राम्रो लाग्यो.
ReplyDeleteBP ka books haru aajbholi padhda pani hejo aaja ko prakshan ho ke jasto lagchha.. physiologically best treated books in nepali majh.
ReplyDeleteमलाई त पोस्ट भन्दा पनि कमेन्ट चै खतरा लाग्यो है.
ReplyDeleteबीपीका केही रचनाहरु मैले पनि पढेको छु | तिनको आधारमा भन्दाखेरि बिपी हरेक बिबादास्पद बिषयका पक्ष-बिपक्षमा धेरै तर्कसम्मत हिसाबले सोच्न सक्ने मान्छे थिए भन्ने बुझिन्छ | बिश्वब्यापी रुपमा कम्युनिस्मको चढ्दो समयमा उनले कम्युनिष्टहरुसंग संगत गर्न चाहेनन् र त्यसैले उनी भारतीय दलालको रुपमा चित्रित भए | अब उनी छैनन् , त्यसैले उनलाई आफ्नो मोडल भनिदिंदा पनि फरक परेन |
ReplyDeleteजननायक बि पीद्दारा लिखित र बजारमा प्राप्त भएका सबैजसो किताबहरु पढेको छु, मैले । परदेशको बसाइमा पनि कोठाको कुन्तुरोमा थन्काइएका उनका किताब देख्दा मणी प्रफुल्ल भएर आउंछ । एउटा लेखकको लेख वा पुस्तक अध्ययनको लागि उसैको भक्त हुनुपर्छ भन्ने छैन । संगित र कबिता सिर्जनका लागि लाग्ने समय त्यसै क्षेत्रसंग संबन्धित लाई नै थाहा हुन्छ । माथी "कमेन्ट" मा टिप्पणी गरिएजस्तो "भारतबादी" भएपनि त्यतिबेला 'अन्तराश्ट्रिय समाजबादी आन्दोलन' का विश्व उपाध्यक्ष महामानब बी पी को समाजप्रतीको निश्ठालाई बर्तमानमा कसैले सीको गर्न सके धेरै राम्रो । नत्र त्यसपछिका बी पी ले नै प्राप्त गरेका उपाध्यक्ष शेर बहादुर देउबा हुन्, अहिले पनि । तर बी पी र देउबाको जिबनी हेर्नुस् र घोत्लिनुस्, एउटै राजनितिक पात्रको मुल्याङ्कन कसरी गर्छ, इतिहासले ! सुन्दर बिचार-सारांश प्रबाहको लागि बसन्त दाजुलाई धन्यबाद् !
ReplyDelete