August 11, 2011

फ्यान 'बाल्ने' रे!

फ्यान 'बाल्ने' भए आगो चाहिँ के गर्ने? 

तीन दिन पहिला बेलुका खाना खाँदा फेरि दोहरिएको कुरो हो। 
"म एकछिन फ्यान बालेर बस्छु है।" हामीभन्दा पहिले खाईसकेर बैठक कोठातिर लाग्दै आर्याले भनेकी थिई।

जेठको गर्मी लागेतिरको कुनै दिन हो, मैले पहिलो पटक आर्याले "गर्मी भयो, फ्यान बाल्छु है।" भनेको सुनेको।
धत्! फ्यान पनि बाल्छन् कहीँ? पङ्खा त चलाउने पो हो, चलाऊँछु भन न!" मैले उसलाई भनेको थिएँ।
"ल हुन्छ, म फ्यान चलाऊँछु।" उसले भनेकी थिई। 'बाल्ने' लाई 'चलाउने' भनेर 'सच्याए पनि फ्यानको सट्टा पङ्खा भन्न शायद उसलाई सजिलो लागेन।

ठ्याक्कै यहि संवाद धेरैचोटि दोहरिईसकेको छ। जति सम्झाएपनि ऊ 'फ्यान बाल्ने' भन्न छोड्दिन। दिनभर स्कूलमा त्यस्तै सुन्दी हो, त्यसैले हामीले बेला-बेलामा सिकाएको उसको दिमागमा बस्न नसकेको होला। स्कूलको वातावरणले साथ नदिएपछि यस्ता 'लडाईँ' सजिलै हारिने छाँट आऊँदो रहेछ।

बिजुलीबाट चल्ने पङ्खा भएकोले, र बिजुली बत्ती स्वीच अन गरेपछि बल्ने र पङ्खा पनि अन गरपेछि चल्ने भएकोले यस्तो प्रयोग हुन पुगेको होला। तर यस्तो नमिल्दो प्रयोग गरेर एउटै शब्दले काम चलाउने बुद्धि सबैभन्दा पहिले कसलाई आयो होला? बत्तीको हकमा ठिक छ, त्यो बल्छ र उज्यालो दिन्छ तर पङ्खा? बिजुली दिएपछि पङ्खा झलमल्ल हुने भए पो 'बाल्ने' भन्ने कुरा मिल्यो, नत्र त 'चलाउने' नै ठिक होईन र?

फेरि यो 'बाल्ने' रोग अन्त पनि सरेको छ। अचेलका किशोर-किशोरीहरु धेरैका मुखबाट "म्युजिक 'बाल्ने'" कुरा  सुनेको छु मैले। एउटा ब्लग कि पत्रिका कता पनि पढेको थिएँ मैले यस्तो 'उत्तरआधुनिक फ्युजन'। नयाँ पुस्ताले शायद वाशिङ्ग मेशीन र भ्याकुम क्लिनर पनि 'बाल्ने' होला, पम्प पनि 'बाल्ने' होला--------।

यो 'बाल्ने' रोगले अझ अरु के-के लाई डढाउने हो!

2 comments:

  1. Teso vaye laltin lai baltin ani baltinlai haltin vannuparyo :-)Teso vaye laltin lai baltin ani baltinlai haltin vannuparyo :-)

    ReplyDelete
  2. अब फ्यान तापेर बस्दै छु भन्ने बेला पनि भएछ कि ?

    ReplyDelete