विश्वको तापमान बढेको खबर (global warming) अब नयाँ रहेन।
जताततै यसकै चर्चा सुनिन्छ। अन्त के भयो कुन्नि तर यसपाला नेपालमा भने मौसमले अलि
उल्टो बाटो हिँड्यो। तिहारपछि लगातार जसो दिनहरु अँध्यारा र चिसा रहे। एक महिनापछि
आउनुपर्ने जाडो पहिल्यै ढिम्कियो भनेर कुरा गर्न थाले सबैले। पोखरामा पनि यस्तै
भयो। बीचमा दुई दिन यस्सो खुल्नु बाहेक तिहार यता अस्तिसम्म जिन्दगी टम्म बादल र
डम्म कुहिरोको भारमुनि निसास्सिएर बित्यो। हरेक दिन जसो दिऊँसोतिरबाट पानी पनि
परिरह्यो, कहिलेकाहीँ त साउने झरीभन्दा ठूलो झरी पनि देख्न पाईयो। अरु एक हप्ता
यहि स्थिति रहेको भए म ‘डिप्रेसन’ को रोगी हुने निश्चित थियो जस्तो लाग्छ मलाई:)
धन्य खुल्दियो दिन:)
अस्तिबाट गज्जबले घाम लागेको छ र आकाश पूरा खुलेको छ। झलमल्ल हिमशृंखलालाई
हेर्दै यी हरफहरु लेखिरहँदा बडो आनन्दको अनुभूति भईरहेछ। चारैतिर हरियाली ज्युँदै
छ, यिनलाई हिऊँदले कठ्याङ्ग्र्याउन अझै पाएको रहेनछ। यस्तो लाग्छ, यी
रुखपातहरु, यी पहाडहरु र यी हिमालहरुमा फेरि रंग चढेको छ र आकाश अझै गाढा भएको छ,
अझै गहिरिएको छ।
देशको राजनीतिमा भने यस्तो छैन। यस्तो हुँदा पनि नहोला किनभने यो नेपालको
राजनीति हो र निरन्तर खुईलिँदै जानु यसको नियति हो। हिन्दीमा ‘उतरना’ (उत्रनु) को
प्रयोग हुन्छ यस्ता प्रसंगहरुमा, नेपालीमा त्यति नचलीसकेको जस्तो लाग्छ। मलाई यहि
प्रयोग गर्न मन लागेको छ यतिखेर, नेपाली राजनीतिको नियति रंग चढ्नु होइन, निरन्तर रंग
‘उत्रनु’ मात्रै हो। एक से एक हस्तीहरु मैदानमा आउँछन, थरी-थरीका बाजा बजाऊँदै र
ठूला-ठूला कुरा गर्दै, हुँकार भर्दै। उनीहरु सबै देशलाई स्विट्जर्ल्याण्ड
बनाउने, दश वर्षमा सिंगापुर बनाउने आदि जस्ता थोत्रिसकेका उनै-उनै कुरा गर्दै
आउँछन्, अनि हामी नेपालीहरु ‘हो, यल्ले त केहि गर्छ बा---‘ भन्दै ताली ठोकेर हात
दुखाऊँछौं। जति धोखा पाएपनि हामी आशा गर्न छाड्दैनौं र कहिले कुन माइकालाल त कहिले
कुन माइकालालमा आँखा टिकाईरहन्छौं।
तर माईकालालहरुको रंग उत्रिन खासै समय लाग्दैन। बाहिर बसुञ्जेल म आकाश र
पाताल जोड्दिन्छु भन्नेहरु भित्र पसेर सुन जोड्न र अपराधी छोड्न थालेपछि रंग
उत्रिहाल्दोरहेछ। जावेद अख्तरले लेखेको र जगजित सिंहले गाएको एउटा गजलको एक शेर सम्झिन्छु म; ‘नर्म आवाज, भली बातें, मुहज्जब लेहजें; पहली वारिशमें ही सब रंग
उतर जाते हैं---‘। हाम्रा नेताहरुका हकमा रंग उत्रिन ठूलो ‘बारिश’ पनि चाहिँदैन,
सिमसिम झरी भएपनि पुग्छ।
रंग उत्रने सिलसिलाको अर्को अध्यायको अन्त्यतिर आईपुगेका छौं हामी। सोझा
नेपालीले असाध्यै आशा गरेका बाबुराम रंग उत्रिएर फिका-फिका भईसकेका छन्।
ब्यक्तिगत रुपमा मलाई बाबुरामप्रति पनि कहिल्यै भरोसा लागेन। झन् मलाई त
यिनी माओवादीभित्र पनि अति कट्टर, अति असहिष्णु र अति छुद्र लाग्थे। कुराकानीमा आफ्नो यस्तो
विचार राख्दा आफूलाई देशको राजनीतिको आन्द्राभुँडी चिनेको ठान्नेहरु, ‘बाबुरामले
माओवादीभित्र टिक्नका लागि मात्रै आफूलाई त्यस्तो छुद्र देखाएका हुन् आफूलाई, उनको मन
चाहिँ असल छ।’ भन्थे। धेरैजसो मान्छे उनका शैक्षिक उपलब्धिका कारण पनि उनीबाट धेरै
आशा गर्थे। तर यसअघि पनि धेरै पटक देखिईसकेको हो, शैक्षिक उपलब्धिको महत्व आफ्नो
ठाऊँमा हुँदा-हुँदै पनि राजनीतिमा त्यो सबैथोक होईन। नेताबाट राजनेता बन्न नेतामा
संवेदना, राजनीतिक ईमान्दारिता, सुझबुझ र दृढ ईच्छाशक्ति चाहिन्छ, प्रमाणपत्रले
केहि गर्ने होईन। अरु नेताहरु जस्तै बाबुराममा पनि यी गुणहरुको टड्कारो अभाव देखे
जनताले यस पटक। नेताहरुको वर्तमान झुण्डमा पारिवारिक र दलीय स्वार्थभन्दा माथि
उठेर देशका लागि केहि आँटन सक्ने नेताको रुपमा उनलाई हेरिन्थ्यो, नेपाली जनता
यतिखेर विकल्पहीन बनेका छन्।
ज्यानमारालाई आममाफीको प्रयास, अपराधीहरुको ‘बहुमत’ हुने गरी बनेको
इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल र मितव्ययिताको ढोंगसंगै उनले उडाएको
राज्यकोष-उनको कार्यकालका मानक बनेका छन्। हालै शुरु भएको लडाकू वर्गीकरण र समायोजन
सफल हुँदा त्यसको श्रेय निश्चय पनि पाउनेछन् उनले तर यो नेपालको इतिहास यत्तिमै
सिध्दिने होईन। यसपछिका दिनमा दण्डहीनता हटाउन उनले पहल गर्छन् कि गर्दैनन्,
प्रशाशनमा निरन्तर हुने राजनीतिक हस्तक्षेप रोक्न पहल गर्छन् कि गर्दैनन् र आफ्ना
उत्ताउला मन्त्रीहरुलाई तह लगाउन सक्छन् कि सक्दैनन्, यो
मन्त्रीमण्डलको आकारलाई घटाएर सानो र चुस्त बनाउन सक्छन् कि सक्दैनन्, शान्ति-सुशाशन र महंगी नियन्त्रण जनतालाई दिन सक्छन् कि सक्दैनन्- त्यसैमा
उनको छविको पुनर्निर्माण आधारित हुनेछ।
हिजो जुन कुराका लागि बाबुराम र माओवादीहरुले कांग्रेस र एमालेको उछित्तो काढ्थे; ठ्याक्कै तिनै कुराहरु आज उनीहरु स्वयं दोहोराऊँदै छन्। यस्तै हो भने, उनीहरुले एउटा पुस्ताको जिन्दगीलाई लडाईँमा होमिदिनुको कुनै तुक थियो?
राजनीतिक हस्तक्षेप दुई थरिका छन्, एउटा मन्त्री वा प्रधानमन्त्रीले गर्ने ठाडो हस्तक्षेप र अर्को कथित यूनियनहरुले देखाउने दादागिरि। पहिलो आफैंमा आलोच्य हुँदै हो, यो नेपालको 'सदाबहार' रोग पनि हो। यतिखेर यसको नेतृत्व 'स्वनामधन्य' उप-प्रम विजय गच्छदारले गरीरहेका छन्, र प्रमपत्नीपनि उत्तिकै 'सकृय' भएको खबर आईरहेका छन्। प्रमको सहमति बिना गच्छदार वा अरु कुनै मन्त्री वा स्वयं प्रमपत्नीनै पनि यतिबिधि 'छाडा' साँढे बनेका हुन् भन्ने कुरा बच्चाले पनि पत्याऊँदैन। जसले जे गरुन् यतिखेर भएका राम्रा कुराको जस बाबुरामलाईनै दिनेछ दुनियाँले र नराम्रा कुराको अपजस पनि उनैलाई दिनेछ। अर्कोतिर यतिखेर दोश्रो थरी हस्तक्षेप पनि झन् ठूलो महारोगको रुपमा देशभरिका सरकारी-अर्धसरकारी र निजि निकायहरुमा फैलेको छ। यो महारोगले देशका उद्योगधन्दा बन्द गराउने देखि सरकारी अड्डाहरुलाई यूनियनका नाममा बसी-बसी तलब खाने अखाडा बनाईरहेको छ। हालैमात्र यो रोगको आक्रमणमा परी खुल्ला प्रतिस्पर्धाबाट छानिएका र विद्युत प्राधिकरणलाई उकालो लगाउने लक्षण देखाईसकेका महाप्रबन्धकले राजिनामा दिएका छन्। अनुचित दबाबका लागि यूनियनको आलोचना गर्नुको साटो सरकारले उनको राजीनामा स्विकृत गरेको छ। भन्न त फेरि खुल्ला प्रतिस्पर्धाबाट ल्याउने भनिएको छ तर यो नेपाल हो र यहाँ जे पनि हुन सक्ने भएकाले पूरा प्रकृयानै उल्टाएर फेरि राजनीतिक हनुमानलाई नियुक्त गर्ने प्रथा ल्याउन पनि सक्नेछन् सरकार र दलहरुले।
यो एउटा उदाहरण मात्रै हो, काम गर्न खोज्नेलाई ‘हाम्रो’ नगरी ‘राम्रो’
गर्न खोज्नलाई यसै गरी घोक्रेठ्याक लगाउने चलन छ यो देशमा र बाबुराम पनि त्यहि
चलनको साक्षी बसीरहेका छन्। बाबुरामले प्रणाली बदल्ने कसम खाएका थिए तर उनी पनि उहि थोत्रो कुहिएको प्रणालीमै घुलमिल भएर, त्यसैको एक अंग भएर बस्नुमै रमाउन थालेका छन्। यहि प्रणालीकै अंग बन्दै गएर होला, उनले फेरि झूटो बोलेका छन् मिडियासंग; मन्त्रीपरिषदकै निर्णयबाट सरुवा भएका एकजना भ्रष्ट सरकारी अधिकृतका बारेमा 'ए हो र? मलाई त थाहै भएन!' भनेर।
आफ्नो उत्रिरहेको रंगप्रति बाबुराम स्वयं भने कत्तिको सजग छन् र फेरि
आफूमा फेरि ‘रंग’ चढाउन सक्ने दृढ ईच्छाशक्ति र ईमान्दारिता कत्तिको छ उनमा, त्यो
भने उनकै कुरा भयो। हामीले त लक्षणहरु हेर्ने मात्रै न हो।
निश्चय पनि, परिणाम आउन भने बेर लाग्ने छैन।
निश्चय पनि, परिणाम आउन भने बेर लाग्ने छैन।
सतप्रतिशत सत्य तथ्य। मलाई मन पर्यो ।
ReplyDeleteyo baburam ko ke kuro garnu. kun jamanamaa SLC board first bhaeko ahile samma byaj khairakhyaa chha. euta gatilo research gareko, euta tathyaparak article lekheko bhanera famous hunasakyaachhaina. tesai gaukaa bhura batulera goli hanyo, prime minister bhayo.
ReplyDelete