विगत ४-५ दिन यता पोखराको मौसम बिग्रेर खत्तम भएको छ। घामको मुख राम्ररी देख्न पाईएको छैन, दिनभरिजसो तुवाँलो/हुस्सु डम्म हुन्छ, बेला-बेलामा सिमसिम झरी पनि पर्छ, र यसैले गर्दा जाडो बढेको छ। यो बहुलाएको मौसमले यहाँका किसानहरुलाई ठूलो मर्का पारेको छ; कतिले धान काट्नै पाएका छैनन्, कतिले काटेर राखिएको धान उठाउन पाएका छैनन्। केहि समय पहिला पोखरा आसपासका केहि क्षेत्रमा असिनाले पाकिसकेको धान सखाप पारिदियो।
पोखराको मौसम यतिखेर यस्तो भैदिएको पटक्कै सुहाएको छैन। पर्यटनका हिसाबले पनि यतिखेर त पोखरामा 'सुनौलो' मौसम हुनुपर्ने हो। यो अँध्यारो-चिसो मौसमले पर्यटकहरु सबैलाई निराश बनाईरहेको होला।
काठमाण्डौंबाट आएको भतिजलाई घुमाउने क्रममा तिहारअघि एक चरण पोखरा घुमिएको थियो। त्यतिखेर पनि मौसम 'सुनौलो' नै भन्न मिल्ने गरी खुलिसकेको थिएन, तर अहिले भन्दा त राम्रै थियो। त्यहि घुमघामबाट केहि तस्बीरहरु राखेर यो ब्लगलाई अगाडि घिसार्ने जमर्को गर्दैछु आज। केहि फोटाहरु अनुपले खिचेको हो।
आवासक्षेत्रबाट देखिएको माछापूच्छ्रे। बडो खुलेको दिन थियो त्यो।
त्यहि दिन पाताले छाँगो (डेभिस फल) मा देखिएको भिड। पानी घटीसकेकोले डेभिस फल खासै केहि लाग्दैन यतिखेर।
गुप्तेश्वर महादेवको गुफाबाट देखिएको डेभिस फल।
त्यहि दिन विश्वशान्ति स्तूपबाट देखिएको फेवाताल र डाँडाकाँडा। विश्वशान्ति स्तूपमा रंगरोगन भईरहेको थियो, त्यसैले माथिल्लो तल्लामा प्रवेश निषेध थियो। स्तूप अगाडिको चौरको छेऊमा भने फेवाताल सबैभन्दा राम्ररी देखिने ठाऊँ अगाडि दृश्यलाई ढाकेर एउटा होटल बनेछ।
लक्ष्मीपूजाको दिन बिहान कलिलो घाममा नुहाऊँदै माछापूच्छ्रे र अन्नपूर्ण-१(?)। यसअघि २०५६-५७ सालतिरै एकपटक सराङ्गकोट पुगेपनि कुहिरोले गर्दा सू्र्योदयको यस्तो दर्शन पाईएको थिएन। यहि दिन पनि खासै खुलेको भने थिएन। एकपटक फेरि उक्लनुपर्ला, कुनै सफा बिहान पारेर।
उदाईरहेको सूर्य र उडिरहेको जहाज।
सूर्योदय पूर्ण भएपछि। सफा दिनमा यो दृश्य अलि चाँडै देखिन्छ होला शायद।
सराङ्गकोटबाट फेवाताल।
एउटा सामान्य ज्ञान, समुद्र सतहबाट सराङ्गकोट भ्यु टावरको उचाई।
बाटुलेचौरको चमेरे गुफाको प्रवेशद्वारमा। अरु कुरामा ध्यान पु-याएपनि यात्रुहरुको अनियन्त्रित भिड, तिनले बोकेर लाने टर्च, ईमर्जेन्सी लाईटको उज्यालो र क्यामेराको फ्ल्याशले चमेराहरुको जीवनचक्रमा पारेको असरबारे भने अहिलेसम्म कसैले पनि सोचेको छैन जस्तो छ। यस्ता कृतिम उज्यालोले पक्का पनि चमेराहरुको जीवनचक्रमा केहि गम्भिर असर परीरहेको हुनुपर्छ र पछि तिनको संख्या घट्दै जाने समस्या आउन सक्छ। कृतिम उज्यालोलाई बन्दै गर्नुपर्छ त्यहाँ भित्र र ठूलो भिडलाई एकैचोटि पस्न पनि दिनुहुँदैन। चमेरा हेर्न मन लाग्नेका लागि कुनै विशेष आधुनिक प्रविधिको ब्यबश्था गरिनुपर्छ।
र यो चाहिँ बिन्ध्यवासिनी मन्दिरमा। बिन्ध्यवासिनी परिसरको विकास र सरसफाईले जो कोहि प्रभावित हुन्छ। अहिले मन्दिर अगाडिनै बलि दिन पनि पाईँदो रहेनछ, बधशालालाई मन्दिर परिसर बाहिर सारिईसकेको रहेछ। बिन्ध्यवासिनी मन्दिर क्षेत्रको यस्तो लोभलाग्दो विकासका लागि मन्दिरको विकास समिति र स्थानीय जनसमुदाय साधुवादका पात्र छन्।
एस्तो खराब मौसममा पनि यति राम्रो तश्वीर!
ReplyDeletephotoharu nikai ramra chhan, hererahu jasto .
ReplyDeleteसाह्रै राम्रो पिक्चर हरु खिच्नु भयछ
ReplyDeleteअत्यन्तै सुन्दर तस्वीरहरु ! हालखबर पढेर खुशी लाग्यो |
ReplyDeleteफेरी उस्तै मौसम भयोनि बसंतजी.भोली सम्म बादल लाग्ने,पानी पर्ने भन्छ फोरकास्ट ले.
ReplyDeleteमुग्लिंग पछी,आउने (लगभग १० मिनटमा बस बाट)विमलनगर माथि यौटा गुफाछ "सिद्ध गुफा",जहा पुग्न ३०-४० मिनटको चढाई चड्नु पर्छ.यो मलाई सारै मन परेको गुफा हो.येस्म्मा पस्ने स्यानो स्पेसछ ,तर भित्र यो निकै ठूलोछ. २-३ ठूला-ठूला चेम्बरहरू जस्तै छन्.भित्र एस्को छत धेरै माथीछ र टाउको पूरै उठाएर माथी हेर्नु पर्छ,जहा अनेक चमेराहरू झुन्डिएका देखिन्छन.भित्र यो अध्यारोछ र बत्ति लिएर जानु पर्छ.यौटा खोलोपनि भित्र बगेको देखिन्छ.
त्यहाँ न जानु भएको भए,कुनै अनुकूल समयमा जानु होला र त्यहाँ को फोटोहरू राखेर वर्णन गरिएको तपाइँको लेख पढ्न मन लाग्याछ.
पोखरा त निकै रमाइलो रहेछ तपाईं क तस्बिर हेर्द तर म त पोखरा जानैपायको छैन
ReplyDeleteThis post reminded me my WRC days and moments I have spent in Pokhara. Thanks for your post.
ReplyDelete