December 25, 2008

कविता- "इतिहासको यो कालो पाना"

(यो कविता अलिक पहिला जनआन्दोलन-२ को पृष्ठभूमिमा लेखिएको थियो र मेरो एउटा झिनो आशा के थियो भने इतिहासका 'काला' पानाहरु सकिनेछन्। मेरो आशा ब्यर्थको रहेछ भन्ने बोध हुन खासै समय लागेन। हाम्रो देशको इतिहासमा काला पानाहरुको एक खात अझै बाँकी रहेछ। मैले कविताको शिर्षक 'इतिहासको कालो अध्याय' वा अझ 'इतिहासको कालो पुस्तक' नै राखेको भए पनि हुने रहेछ।

खैर, छोडौं यी कुरालाई। आज, साझामा पहिल्यै टाँसिसकिएको यो कविता, मेरो 'इतिहासको ब्याज', पस्किँदैछु यहाँहरुका लागि।)


"इतिहासको यो कालो पाना"

एउटा ब्याधा-
मासु नखाने घोषणा गर्छ संसार सामु
र घरभित्र पसेर
त्यसै उपलक्षमा परेवा काट्छ,
एउटा जँड्याहा हाकिम-
कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
र घर फर्किँदा
त्यसै उपलक्षमा भट्टी पस्छ,
एउटा लम्पट लोग्ने-
धोका नदिने कसम खान्छ दशौँ पटकको
र सोझी स्वास्नी मन्दिर गएको बेला
लुसुक्क बेश्यागमन गर्छ;

इतिहासको यो कालो पानामा-
ब्याधाको राज छाएको छ
जँड्याहाले काज पाएको छ
र लम्पटले पाठ पढाएको छ;

इतिहासको यो कालो पानामा-
'कटवाल' को मुख थुनेर
यन्त्रमानवहरु भजन ओकल्छन्
समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;

इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ,
एकै ठाऊँ एकै ठहर
मुखले रामराज्य घोषणा गरीरहँदा
हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;

र म पनि सोधिरहेछु
इतिहासको यो कालो पानासंग-
ब्याधाको राज अब कति छ?
जँड्याहा संग इतिहास हाँक्ने के हुती छ?
र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ?!

12 comments:

  1. Basantjee, you have wonderfully expressed the rebellion and dissatifaction. I feel the fire in it.

    ReplyDelete
  2. Penned with inner pen! I can feel the pain embedded in those lines. Lets hope for a better tomorrow.

    ReplyDelete
  3. अब तँसंग
    पाप लेखिन बाँकी
    हरफनै कति पो छ?

    यहाँ त "हरफ" हैन, महाकाव्य नै लेखे पनि नसकिने भो!

    ReplyDelete
  4. यस्तै छ, वास्तविकता !
    यसबाहेक के भन्न सकिन्छ र, हैन ?

    ReplyDelete
  5. हामीले सबै चीजहरु आरम पुर्बक नै रुचाउदै आएको छौ के गर्नु सबै कुरा सहन हाम्रो बानी परेको छ।

    ReplyDelete
  6. वास्तबिकतामा कोरिएको यो कालोपानालाई ट्क्रयाउने शब्दपाउन असमर्थ भए। बि. जे. जि ले भनेझै हाम्रो पनि बानि नै हो कि?

    ReplyDelete
  7. धेरै नै गजब !
    अत्यधिक सामर्थले भरिएका शब्दहरु मार्फत -तितो तर यथार्थ चित्रण
    -असल कविको दक्ष कलम वोलेको पाए ।

    ReplyDelete
  8. basanta ji. nice poem. hope to see more.

    ReplyDelete
  9. हौसला दिनुभएकोमा सबैलाई धन्यबाद!

    ReplyDelete
  10. तीतो सत्य !!!! राम्रो पनि कसरी भन्नु हाम्रो देशको यथार्थ हो । नराम्रो पनि कसरी भन्नु यति मज्जाले प्रस्तुत गर्नुभएको छ कवितालाई !!!!

    ReplyDelete
  11. यो कविताको सन्देश धेरै राम्रो लाग्यो । अब यो कविता बुझिसकेपछि कमेन्ट त गरिहालियो तर Action नलिनेहरुलाई चै के भन्ने नि?

    ReplyDelete
  12. very nice poem....

    and

    HAPPY NEW YEAR 2009 !!!

    ReplyDelete