December 15, 2008

र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेडले गाईलाई गधा, बाघलाई जरायो,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो!

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!





आज बिहान शब्दकोष हेर्दा ‘क्रमभंग’ शब्द कतैपनि देखिएन। कतै ‘क्रमभंग’ले आत्महत्या त गरेन?!

(सूचना:यो 'क्रमभंग' महिमाको प्रतिलिपि अधिकार खुल्ला छ। जोसुकैले कमरेडहरुका 'क्रमभंग'का उदाहरणहरु थप्न, अरुलाई पठाउन वा जे सकिन्छ त्यहि गरेर 'क्रमभंग' गर्न सक्नेछ:)

12 comments:

  1. chhed chhad ta sarai ramro chha ni sir ko

    ReplyDelete
  2. क्रमभङ्गकै क्रममा कमरेडले
    पहिले उचित अथवा सहुलियत
    हुन्थ्यो यातायातको भाडादर
    त्यस्लाई वैज्ञानिक बनाइदिनुभयो
    र क्रमभङ्ग गरिदिनुभयो
    । पर्खिमात्रै बस्नुस्
    तपाईंको सिलिबरे भाँडोमा
    कामरेडले
    नहाल्नु अर्कै कुरा हो
    भन्नलाई वैज्ञानिक चामल
    हाल्दिन्छु भन्नुहुनेछ एकदिन
    आँखिर क्रमभङ्ग गरेर
    देखाउनु जो छ
    क्रमभङ्ग गरेको छु भनेर ।

    ReplyDelete
  3. कुरा फेरिइसकेछ, बदलि सकेछ, क्रम भंगता टुटिसकेछ,

    उहाँले आज भन्नुभयो, पत्रकार ले, मिडिया ले बंङ्ग्याएर लेखिदिन्छ ।
    “फेरि बन्दूक बोक्छु!” भनेकै छैन,
    उहाँले थप्नु'भो: यो हामीलाई असफल बनाउने उनीहरुको चाल मात्र हो ।

    ReplyDelete
  4. गराइहरुमा
    बोलिहरुमा
    ................'क्रमभंग' गर्न जान्ने मात्र असल नेता हो रे ! र त उनी माहान जन युद्र बाट स्थापित माहान जन नेता ! (खु इ ई .......)
    ... बसन्त जी तपाई हामी त्यसो गर्न जान्दैनउ र त - नेपालको असल समय को असल नेता हुन सकेनौ । की कसो?

    असल ............... बाण असल सब्द को ।

    ReplyDelete
  5. पहिला सत्ता नपाएको बेलामा बन्दूक उठाएका थिए,
    अहिले सत्तामा बस्दा पनि बन्दूक उटाएर क्रमभंग गर्नुभयो।

    संसारकै ईतिहासमा पहिलो पटक,
    सवालाखको बिस्तरामा पनि सुत्ने
    सर्बहाराको नेता पनि हुने नया,
    अतिगोप्य शुत्र पत्ता लगाएर क्रमभंग गर्नुभयो ।

    जनता पहिला जोक्करले बोल्दा मात्रै हास्थे, अहिले प्रधानमनन्त्रीले बोल्यो कि हास्ने बनाएर क्रमभंग गर्नुभयो।

    ReplyDelete
  6. Comrade le pahila Machha matrai khanuhunthyo
    Ahile kada pani khanuhunchha..
    tesaile comrade le kram bhanga garnu bhayo!!!

    ReplyDelete
  7. hahahaa
    Kasto ramailo satire...
    khai k k ho k k..ma ta kurai bujhdina..comradele k k garna lagnubha ho...
    sab Krambhanga..

    ReplyDelete
  8. पहेले नेतहरु चान्स पाएकि बिदेश जान्थे, अहिले कमरेडले आफै निम्तो माग्दै बिदेश जान थाल्नुभो. कमरेडले क्या माग्ने क्रमभंग थाल्नुभो.

    ReplyDelete
  9. पढेर र प्रतिकृया दिएर क्रमभंग गर्नुभएकोमा यहाँहरु सबैलाई धन्यबाद दिँदै क्रमभंग गर्न चाहन्छु:)

    ReplyDelete
  10. बसन्त जी,

    "क्रमभंग" शब्दकोश मा अहिले नभए पनि, यहाँको सिर्जना को कारण कुनै दिन अवश्य आउंछ होला । Sajha.com मा त ब्यापकता नै पाउन सुरु गरिसकेको पाएं मैले । आशा गरौं यसले शब्दबाट उठेर एउटा अभियानकै सुरुवात गरोस।

    ReplyDelete
  11. कमरेडले नेपाल स्विजर्ल्यान्ड बनाउछु भन्नु हुन्थ्यो तर स बाटै सुरु हुने सोमलिया बन्ने भएछ ।
    शान्तपूर्ण नयाँ नेपाल बनाउछु भन्नु हुन्थ्यो, क्रान्तिपूर्ण नया नेपाल बनाएर क्रमभङ्ग गर्नु भएछ ।
    हराभरा तथा बिकासित देश बनाउछु भन्नु हुन्थ्यो तर भएका उध्योग् पनि बन्द हुने गराएर क्रमभङ्ग गर्नु भएछ ।
    देश पुरै उज्यालो पार्छु भन्नु हुन्थ्यो तर दिन्मा २४ घण्टा नै लोडसेडिङ गराएर क्रमभङ्ग गर्नु भएछ ।

    ReplyDelete
  12. धन्यबाद केशबजी!

    ReplyDelete