January 27, 2013

'पूर्ण क्रान्ति' कस्तो हुने हो?

यहि शीर्षकमा मेरो एउटा पाठक प्रतिकृया छापिएको छ, कान्तिपुर दैनिकमा। 
 
 
मैले पठाएको  (असम्पादित) भने तल छ।


झलक सुबेदीको 'पूर्ण क्रान्ति' कस्तो हुने हो?

माघ ११ को 'अँध्यारो गल्लीको मुखनिर' शीर्षकको आफ्नो लेखमा झलक सुवेदीले एमाओवादी र विशेषगरी बाबुराम बाहेक सबैको उछितो काढेका छन्। उनका सधैंका लेखझैं यहाँ पनि एमाओवादी वा बाबुराम सरकारलाई 'दूधले नुहाउने' कोशिश गरिएको छ र त्यसलाई यो दुनियाँको सबैभन्दा 'उन्नत जात'को दल देखाउन खोजिएको छ। यस क्रममा लेखकले यस बीचमा यो सरकारले गरेका अनगिन्ती देशविरोधी-जनतामारा निर्णयहरुमाथि आँखा चिम्लिदिएका छन्। हरेक दिन यो सरकार केहि न केहि राष्ट्घाती निर्णय गर्छ, जसको एउटै उद्देश्य लूट र केवल लूट हुन्छ। सत्तामा टिकिरहन यो सरकार जे पनि गर्न सक्छ, जो संग र जहाँ पनि झुक्न सक्छ भन्ने कुरा बुझ्न बाँकी नेपाली कोहि बाँकी छैन होला अब। झलक सुवेदीज्यूजस्ता 'बुद्धिजीवि'ले यस्ता कुरा नदेख्नु बडो ताज्जुबको स्थिति हो।

राष्ट्रपतिको सदाशयतापूर्ण कदमहरुलाई पनि उनी सधैंझैं उछितो काढ्छन्। आफूमा भएको त्यहि सदाशयताका कारण राष्ट्रपति कमजोर देखिएका हुन् अहिले, नत्र यतिखेरको नेपालमा आफ्नो दायित्वप्रति गम्भिर एक मात्र नेता हुन् डा. रामवरण यादव। जुन आक्रमकता र छुद्रता बाबुरामले ओकलिरहेछन्, त्यहि तहमा राष्ट्रपतिपनि गिरेको भए हामी अझ गहिरो खाडलमा फँसिसकेका हुनेथियौं।

मैले झलक सुवेदीले कम्तिमा पनि डेकेन्द्र प्रकरणमा भने अलिकति इमान्दारी प्रकट गरे होलान् भन्ने आशा राखेको थिएँ तर म यहाँ पनि निराश भएँ। यो प्रकरणका बारेमा उनको बोली बाबुरामको बोलीको हू-बहू हो। डेकेन्द्र थापा दोहरो भिडन्तमा मारिएका थिएनन्, उनी माओवादीका विरुद्ध काम गर्ने कुने सरकारी अधिकारी वा गुप्तचर पनि थिएनन्। उनलाई झुक्याएर, अर्कै विषयमा छलफल गर्न बोलाएर पछि माओवादी 'कमाण्डर'हरुले आफ्नो 'बायोडाटा' लामो बनाउन उनलाई नभएका अभियोगमा यातना दिई-दिई जिऊँदै गाडेर मारेका थिए। अपराधीले कबूल पनि गरीसकेका छन्। त्यसकारण यो विषय कुनै राजनीति नभएर विशुद्ध कायरतापूर्ण अपराध हो। आफूलाई 'प्रगतिशील' ठान्ने झलक सुवेदीले यति साधारण सत्यलाई पनि बंग्याउन मिल्छ? के झलक सुवेदीपनि सरकारी दानापानीमा डुबीसकेका हुन्?

अझ चसक्क हुनेगरी उनी डेकेन्द्र प्रकरणलाई 'अधूरो क्रान्ति' को फल भनिदिन्छन्। उनको विचारमा, उनले र माओवादीले चाहेजस्तो 'पूर्ण क्रान्ति' सम्पन्न भईसकेको भए यो प्रकरण यसरी उठ्न सक्नेनै थिएन। झलक सुवेदीज्यू, यहाँको क्रान्ति 'पूर्ण' कति डेकेन्द्र थापाहरु यातना पाएर जिऊँदै गाडिनुपर्ने हो, ता कि पूरै देश चरम आतंकित भएर टाउको उठाएर चूँ गर्न पनि नसकोस्, देशबाट सञ्चार माध्यमहरु गायब हुन् र न्यायका सब ढोकाहरु बन्द हुन्। सुवेदीज्यू, के यहाँको 'पूर्ण क्रान्ति' सामन्ती र बर्बर मध्ययुगसंग ठ्याक्कै मिल्ने हो? 

January 20, 2013

छिमेकीहरु

घरसंगै एउटा सल्लाको रुख छ। यो सल्लाको रुख हाम्रो सबैभन्दा नजिकका 'छिमेकी' मध्ये एक भएपनि खासै वास्ता गरिएको थिएन पहिला। एक‍-डेढ महिना पहिलेबाट भने यसमा खुब ध्यान जान थालेको छ, यहाँ बिहान देखिने एक बथान लाटोकोसेराहरुका कारण।

हरेक बिहान एउटा हाँगामा लाटोकोसेराहरु जम्मा हुन्छन्। जम्मा हुने क्रम घाम उदाउनुभन्दा केहि पहिलेबाट शुरु हुन्छ र उनीहरु त्यहाँ साढे आठ-नौ बजेसम्म रहन्छन्। 'सुत्नु' अगाडि घाम तापेर ज्यान तताईरहेका होलान् उनीहरु। बढीमा सातवटासम्म देखिएका छन् अहिलेसम्म। यिनीहरु त्यसरी लहर लागेर घाम ताप्न बसेको देखेपछि रुखलाई नियाल्दा के देखियो भने सबैभन्दा खुल्ला हाँगा यहि रहेछ, अरु हाँगाहरु सबै खासै घाम नपर्ने गरी छेकिएका रहेछन्। 

अचेल, यी लाटोकोसेराहरुको दर्शन गर्नु हाम्रो परिवारको नित्यकर्म बनेको छ। हरेक बिहान उठेपछि 'आज बसेका छन् कि छैनन्?' र '---- कतिवटा छन् होला?' भन्ने कौतूहलले डोर्याएर हामीलाई घरको करेसामा पुर्याउँछ। यिनीहरुले लहर लागेर घाम तापीरहेको देखेपछि नजाने किन मन ढुक्क र प्रफुल्लित हुन्छ। यदाकदा कुनै एक वा दुई छुट्टिएर अरु हाँगामा बसेको देख्दा नरमाईलो लाग्छ र 'किन झगडा पर्यो होला यिनीहरुको आज?' भन्ने प्रश्न आऊँछ मनमा। 

यिनीहरुमध्ये धेरैचाहिँ हलचल नगरी घामतिर फर्किएर 'तपस्यारत' हुन्छन्, दुईटा भने अलिक चनाखा र सकृय देखिन्छन्। मान्छे वा अरु चराचुरुंगीहरिुको आवाज आउनासाथ सतर्क र सजग बन्छन् यी। माऊ होलान् शायद यी। तपाईँपनि चिनजान गर्नुस् हाम्रा यी 'छिमेकी'हरुसंगः) 


January 11, 2013

राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना!




सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना!

राष्ट्रनिर्मातामा हार्दिक श्रद्धासुमन!

नेपाल देश हुनुमा गर्व गरौं। नेपाली हुनुको अस्तित्ववोधमा गर्व गरौं!

January 06, 2013

चमेराका दुःख

पोखराको बाटुलेचौर गाविसमा रहेका महेन्द्र गुफा र चमेरे गुफा हाल पोखराभित्रका प्रमुख पर्यटकीय गन्तब्यहरुका रुपमा विकास भैसकेका छन्। यी स्थानहरुको प्रसिद्धि राष्ट्रिय र एक हदसम्म अन्तर्राष्ट्रिय रुपमा फैलीसकेको छ। यीनले स्थानीय स्तरमा केहि प्रत्यक्ष रोजगारी सृजना गर्नुका साथै ब्यापारका माध्यमबाट पनि स्थानीय अर्थतन्त्रलाई फाईदा पुर्याईरहेकै छन्। यी गुफाहरुको प्रवेश शुल्कबाट हुने आम्दानी एउटा स्थानीय विद्यालयको प्रमुख आयस्रोत पनि हो। साथै, पर्यटकीय गन्तब्य हुन पाउनुको नाताले यो भेगले गर्नसक्ने प्रत्यक्ष-अप्रत्यक्ष साँस्कृतिक आदानप्रदान आदिको अर्को उत्तिकै महत्वपूर्ण पाटो पनि छँदैछ।
 
आम अर्थको देशी-विदेशी पर्यटनबाहेक पोखरा देशभरिका स्कूल-कलेजहरुबाट दशैं-तिहारबाट शुरु भएर हिऊँदसम्म चल्ने शैक्षिक भ्रमणहरुको पनि एक प्रमुख गन्तब्य हो। प्रमुख पर्यटकीय बसोबासस्थल लेकसाइड-ड्यामसाइडबाट तुलनात्मक रुपमा नजिक भएकाले पोखरा दर्शनका एकदिने-आधादिने प्याकेजहरुमा महेन्द्र गुफा वा चमेरे गुफाको सट्टा केहि समय यता विकसित र व्यवश्थित हुँदै गएको छोरेपाटनको गुप्तेश्वर गुफामात्रै पर्न थालेको छ। यसरी नियमित पर्यटकहरुको संख्याको सानो भागमात्र महेन्द्र गुफा पुगेपनि शैक्षिक भ्रमणका भने हरेक गाडी महेन्द्र गुफा पुगेकै हुन्छन्। सोधपूछका क्रममा पत्ता लागे अनुसार महेन्द्र गुफामा पुग्ने पर्यटक-शैक्षिक भ्रमणार्थीहरुको संख्याको आधामात्रै चमेरे गुफा पुग्छन्। महेन्द्र गुफाको नजिकै रहेर पनि आधा मात्र पुग्नुमा प्रचारप्रसारको अभाव र यातायातको असुविधा प्रमुख कारण हुनसक्छन्।
 
कुनै पनि गुफाले मानिसहरुलाई आकर्षित गर्ने बिभिन्न कारणहरु हुनसक्छन्। जमीनमुनिको अँध्यारो र उबडखाबडयुक्त बनौटमा बनेका गुफाहरु यसै पनि मानिसहरुलाई रहस्यमय लाग्छन्, र साहसिक गतिविधिहरु मन पराउने मान्छेका लागि यी छुटाउनै नहुने गन्तब्य बन्छन्। गुफाहरु भौगर्भीक अध्ययन गर्न चाहनेका लागि पनि महत्वपूर्ण हुन्छन्। पोखराका गुफाहरुको अध्ययनले पोखरा र आसपासका क्षेत्रको निर्माण प्रकृया र भित्री बनौटका बारेमा धेरै कुराहरु पत्ता लाग्छन्। यस्ता अध्ययनका निष्कर्षहरु भविष्यमा हुने विकास-निर्माणका योजनाहरुका लागि पनि प्रमुख सन्दर्भ-स्रोत बन्न पुग्ने कुरामा कुनै विमति हुन सक्दैन। यस्तै, गुफाहरुको आफ्नै जीव-वैज्ञानिक महत्व पनि छ। गुफाहरु चमेराजस्ता भिन्दै स्तनधारी प्राणीहरुको प्रमुख वासस्थान हुन्। यसैले यस्ता प्राणीहरुको अध्ययन-अनुसन्धानका लागि गुफाहरुभन्दा उपयुक्त स्थान अरु शायद छैनन्। फेरि, गुफाभित्रको जैविक विशिष्टता र विविधताको प्रभाव गुफाभित्रमात्रै सीमित हुँदैन, गुफा वरिपरिको क्षेत्रको पर्यावरणचक्रसंग पनि यो गाँसिएको हुन्छ। चमेरा लगायतका जीवले स्थानीय पर्यावरणचक्रलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका हुन्छन्।
 
दुई मध्ये महेन्द्र गुफा तुलनात्मक रुपमा ठूलो र धेरै पहिले पत्ता लागेकोले बढी आऊजाऊयुक्त पनि छ। गुफाको प्रमुख अंशमा बिजुली लगेर झलमल्ल पारिएकोले गुफामा हिँडेर प्राप्त हुने ‘एडभेञ्चर’ (साहसिकता)को अनुभव अब कल्पनामात्र बनेको छ। अचेल पोखराभित्रका कतिपय सडकहरुमा हिँड्नुभन्दा महेन्द्र गुफाभित्र हिँड्नु सजिलो होला। गुफामा कार्यरत ब्यक्तिहरुको भनाई अनुसार विशेष गरी भारतीय पर्यटकहरुको अनूरोधमा यसरी बत्ती राखिएको हो। यो आंशिक वा पूरा सत्य कति हो, त्यता नलागौं तर बत्तीले चमेराहरुका लागि भने राम्रो गरेको छैन। विगतमा पूरै गुफाभरि आवादी फैलाएका चमेराहरु अहिले गुफाको बत्ती नपुगेको एउटा सानो खण्डमा मात्र सीमित छन्।
 
चमेरे गुफाको त नामैले पनि बुझाऊँछ, यसको महत्व भनेकै यसभित्रका चमेराहरु हुन्। तर गुफालाई ‘ब्यापारीकरण’ गर्ने क्रममा यो महत्वको उचित कदर हुन सकेको भने छैन। दशैंताका बाट शुरु हुने शैक्षिक भ्रमण र पर्यटकीय याममा दिनमा लगभग ६०० जति मान्छेहरु यो गुफाभित्र पस्दा रहेछन्। असार देखि भदौको वर्खाको समयमा मान्छेको चाप कम हुने भएपनि त्यसबाहेकको समयमा दैनिक १००-२०० जना प्रवेश गर्ने बुझियो सोधपूछबाट। गुफाभित्र प्रवेश गर्नेहरुले कि त टिकट काऊण्टरमै भाडामा उपलब्ध हुने ईमरजेन्सी लाईट लिएर गुफाभित्र पस्छन्, कि त आफ्नै मोबाईल फोनको टर्च प्रयोग गर्छन्। यसरी उज्यालो बनाऊँदा दिऊँसो सुत्ने र रातीमात्रै सकृय हुने चमेराहरुको दैनिक जीवनचक्रमा प्रत्यक्ष नकारात्मक असर पर्नु स्वाभाविक हो। उज्यालो मात्रै होईन, सैयौंको भिडले गर्ने होहल्लाले पनि उत्तिकै नकारात्मक असर परीरहेको हुन्छ। त्यति धेरै मान्छेहरु हल्लै नगरी गुफाभित्र पस्दापनि गुफाको तापक्रममा केहि वृद्धि हुन्छ नै। गतिलो अनुगमन नहुँदा केहि मान्छेले गुफाभित्रै धूम्रपान गर्दिन पनि सक्छन्। यी सबै गतिबिधिहरुले चमेराको प्रजनन क्षमतामा असर पारीरहेका हुन्छन् र साथै चमेराहरुले प्रतिरोध गर्न नसक्ने जीवाणु र विषाणुहरु पनि भित्र पसाईरहेका हुन्छन्। पंक्तिकार जीव-विज्ञान क्षेत्रको नभएकाले विस्तृतमा यस्ता कुरा बुझ्ने-बुझाउने क्षमता राख्दैन तर चमेरे गुफामा चमेराहरुको संख्या घटीरहेको कुरा भने यथार्थ हो। चमेराहरुको नियमित र प्रणालीबद्ध गणना अहिलेसम्म शुरु हुन सकेको छैन। स्थानीय अनुमान अनुसार, गुफालाई खुल्ला गरिएको ०५१-५२ सालको दाँजोमा अहिले चमेराको संख्या आधा मात्रै छ। यो एउटा भयावह तथ्यांक हो। यसले भविष्यमा चमेरे गुफाबाट चमेरा रित्तिने दिनको निकटताको संकेत गर्छ।
 
चमेरे गुफाको टिकट काउण्टरका भाइको सौजन्यमा वन विज्ञान अध्ययन संस्थान, पोखराका एक विद्यार्थीले तयार पारेको पोखरामा चमेराहरुको वासस्थान सम्बन्धी एक अनुसन्धान लेख पढ्न पाईयो। त्यस अनुसन्धान प्रतिवेदनको अन्त्यमा पनि चमेराहरुको संख्या घट्दै गईरहेकोमा चिन्ता ब्यक्त गरिएको छ। त्यसबाहेक, यो पंक्तिकारले महेन्द्र गुफा र चमेरे गुफाका वरीपरी गरेको सानो सोधपूछले देखाए अनुसार अहिलेसम्म यी गुफाहरुको अरु गम्भीर र विस्तृत जीव-वैज्ञानिक अध्ययन हुन सकेको छैन। त्यस्ता अध्ययन हुनसके चमेराहरुलाई जोगाउन सक्ने उपायहरु पनि छिटै पहिल्याउन सकिने थियो होला।
 
तत्काललाई, कम्तिमा पर्यटकहरुको गुफा प्रवेशलाई व्यवश्थित र शालीन पार्न सकिन्छ। मनपरी संख्यामा एकैपटक पचासौंलाई पस्न दिनुसट्टा दश-बाह्रजनाको समूहमा मात्रै प्रवेश गर्न दिने र हरेक समूहसंग एक जना गाईड अनिवार्य पठाउने गर्न सकिन्छ। प्रवेश गर्नु अगाडिनै गुफाभित्र गर्न हुने र नहुने कामका बारेमा गाईडले सबैलाई बताउन सक्छन्। अहिले गुफाको मुखमा केहि बोर्डहरुमा यस्ता कुरा अलि-अलि लेखिएका पनि छन्, तर तिनलाई पढ्ने कम र पालन गर्ने झन् कम छन्। गुफाहरुमा उज्यालो प्रयोग गर्ने कुरा रोक्न तुरुन्तै नसकिएला, तर क्रमैसंग कम गर्दै लानुपर्छ र वैकल्पिक उपायको खोजी गर्नुपर्छ। पश्चिमी मुलुकहरुमा गुफा अवलोकनका लागि प्रयोग हुन सक्ने खालका नाइटभिजन चश्माहरु र दूरबीनहरु प्रयोगमा आएका खबर सुनिन्छन्। यिनको प्रयोग गरेर मात्र गुफाभित्र जाने हो भने सबैभन्दा राम्रो हुने निश्चित छ, तर यी महंगा हुनसक्छन् र अझै केहि समयसम्म हाम्रो क्षमताले नभ्याउन सक्छ। चमेराविज्ञहरुले चमेरालाई असर नपार्ने प्रकाश स्रोतहरु पनि औंल्याईदिन सक्छन्।
 
माथि एक ठाऊँमा पनि उल्लेख गरिसकिएको छ, पंक्तिकार जीव-वैज्ञानिक ज्ञान भएको विशेषज्ञ होईन, एउटा सामान्य जिज्ञासुका हिसाबले यी पंक्तिहरु कोरिएको हो। यो जिज्ञासाले पोखराका गुफाहरुको जीव-वैज्ञानिक अध्ययन र जैविक विविधता-बिशिष्टताको संरक्षणका लागि थोरै मात्र भएपनि रुचि जगाउन सक्छ भन्ने आशा लिईएको छ।

 
 
(यो लेख पोखराबाट प्रकाशित हुने 'आदर्श समाज' राष्ट्रिय दैनिकमा २०६९, पौष २१ गते छापिएको छ।)



December 30, 2012

तीन चोइटा


प्रकृति संगको नाता अब फेरि जोडिनुपर्छ
जो जहाँको हो, उसलाई त्यहीँ छोडिनुपर्छ
हरेक जीवन मुक्त हुनुपर्छ, यसैले अब
चिडियाखाना तोडिनुपर्छ, पिँजडा फोडिनुपर्छ।

(असोज २९, २०६९; पोखरा)

प्रत्येक दिन देशको जीवनमा एउटा धराप थपिन्छ
र लेण्डुप दोर्जेहरुको काँधमा एउटा धाप थपिन्छ
खै कसरी सोचौं उज्यालो भोलि? जब प्रत्येक दिन-
एउटा भिम मल्ल काटिन्छ र एउटा सराप थपिन्छ।

(मंसिर २३, २०६९; पोखरा)


कामै चलाउन नसक्ने-काम चलाऊ सरकार
लखनौ लूट जारी छ-दाम चलाऊ सरकार
भाँचिनेछन् विदेशी वैशाखी-इतिहास साक्षी छ
कतिञ्जेल चल्ला तिम्रो-छलछाम चलाऊ सरकार!

 (पुस ११, २०६९; पोखरा)

December 23, 2012

चार सय डलर


सन् १९९१ को डिसेम्बर २०-२१ तिरबाट कुरा शुरु भएको थियो।

पेइचिङ्ग भाषा अध्ययन संस्थान (पेइचिङ्ग यूयान स्युए युआन)मा चिनियाँ भाषा पढ्न थालेको साढे तीन महिना भईसकेको थियो। त्यतिखेर उक्त अध्ययन संस्थानमा हामी नेपालीहरु २७ जना थियौं। पछि चीनका बिभिन्न विश्वविद्यालयहरुमा ईञ्जिनियरिङ्ग, चिकित्साशास्त्र आदिमा स्नातक तह पढ्न छरिनुअघि एक वर्ष चिनियाँ भाषा सिक्दै थियौं हामी। यसपछि त्यहि भाषामै (विषय हेरी) ४ या ५ वर्षे अध्ययन सक्नुथियो। चिनियाँ परम्परागत औषधीशास्त्र पढ्न चाहनेले चाहिँ चिनियाँ भाषा दुई वर्ष पढ्नुपर्ने रहेछ, दोश्रो वर्षमा चिनियाँ पढ्दै गरेका त्यस्ता सिनियर पनि दुईजना थिए। एकजना सिनियर चाहिँ चिनियाँ भाषा-संस्कृतिनै अध्ययन गरीरहेका थिए स्नातक तहमा।

चिनियाँ भाषा गाह्रो भएपनि पढाईको भार भने खासै थिएन। यसैपनि भाषा भन्ने कुरो पढेर भन्दा परेर जानिने हो, त्यो पनि विशेष गरी सिकाईका प्रारम्भिक क्षणहरुमा। त्यहि भएर होला, धेरै चिनियाँहरुलाई साथी बनाउन र सकेसम्म बढी बोल्न प्रोत्साहित गरिन्थ्यो हामीलाई। थोरै साथीहरुले त्यो ‘प्रोत्साहन’लाई गम्भिरतापूर्वक लिन थालीसकेका थिए, तर धेरैजसोलाई सल्लाहले अझै छोईसकेको थिएन। २७ जना नेपालीको समूह एकै ठाऊँमा भएकाले धेरैजसो भेटघाट, जमघटले नेपालीकै झुण्डको रुप लिन्थ्यो। अब नेपाली-नेपाली भेला भएपछि पनि चिनियाँ बोल्ने कुरो भएन। फेरि बेला-बेलामा, र विशेष गरी सप्ताहान्तहरुमा पेइचिङ्गका अरु विश्वविद्यालयहरुबाट सिनियरहरु पनि आईरहन्थे, कहिले हामी पनि झुण्ड बनाएर कतै पुगिदिन्थ्यौं। यसैले हामी कक्षामा मात्रै चिनियाँ पढीरहेका थियौं, कक्षा बाहिर भने आफ्नो नेपाली भाषालाई नै ‘माझीरहेका’ थियौं।

त्यहि डिसेम्बर २०-२१ तिर एउटा ‘सल्लाह’ पस्यो हाम्रो माझमा, ‘सुविधा’ बेचेर पैसा हात पार्ने।

१९७८ तिरबाट क्रमिक रुपमा खुलापन अँगालेको चीनमा त्यतिखेरसम्म पनि चिनियाँ जनताले विदेशी उत्पादनका सामानहरु सहजै किन्न पाऊँदैनथे। चीनमा विदेशीहरुको संख्या बढीरहेको थियो र चिनियाँ सरकारले विदेशीलाई भने थोरै छुट दिएको थियो, विदेशी उत्पादनका सामान किन्ने। चीनमा बसीरहेका विदेशीले आफ्नो पासपोर्टको प्रयोग गरेर हङकङ र मकाऊबाट विदेशी उत्पादनका टिभी, फ्रिज, वाशिङ्ग मेशीन लगायतका घरायसी उपकरणहरु र मोटरसाईकल आदि किनेर ल्याउन पाऊँथे। हङकङ र मकाओ त्यतिखेरसम्म चीनको अधीनमा फिर्ता आईसकेका थिएनन्। धेरैजसो विदेशीले आफूलाई दिईएको यस्तो ‘सुविधा’लाई केहि सय डलरमा बेचिदिन्थे।

हामीलाई पनि त्यहि गर्ने र चार सय डलर हात पार्ने सल्लाह आयो। त्यतिखेर हामीलाई चिनियाँ सरकारले दिने छात्रवृत्ति प्रति महिना त्यस्तै ६५-७० डलर बराबरको हुँदो हो, नेपाली राजदूतावासले त्यसमै थपिदिन्थ्यो मासिक २५ डलर। यसैले चारसय डलर हाम्रा लागि थोरै थिएन। केहि साथीहरु ‘यस्तो काम नगर्ने!’ भए। १५-१६ जना केटाहरु भने जाने भयौं। यसैपनि हङकङ वा मकाओ पुगी आफ्नो सुविधालाई उपयोग गरेर ‘ब्राण्डेड’ सामानहरु किन्न सक्ने हैसियतमा हामी छँदै थिएनौं, यसैले अलि-अलि दाम पनि हुने र यहि निहुँमा घुमिने पनि हुनाले मलाई पनि जाने रोजाईनै ठिक लागेको थियो। डिसेम्बरको अन्तिम साता पढाई पनि विदा थियो।

यसका लागि हामी मकाओसंग जोडिएको बन्दरगाह शहर चुहाई पुग्नुपर्ने थियो। यो चुहाई शन्चन् पछिको दोश्रो ‘विशेष आर्थिक क्षेत्र’ थियो। त्यतिखेरसम्म मकाओ पोर्चुगलकै अधीनमा थियो। चुहाई पुगेपछि हाम्रो काम पासपोर्ट बोकेर मकाओपट्टिबाट सामान आयात हुने भन्सार छिर्ने, पासपोर्ट कसैको जिम्मा लगाउने र भंसारमा कुरेर बस्ने अनि ‘आफ्नो नाम’का सामानले भरिएका ट्रलीहरुको पछाडि बसेर तिनलाई भंसार कटाएर चीन छिराउने थियो। 

फेरि १९९२को जनवरी १ बाट लागू हुनेगरी चिनियाँ सरकारले यो सुविधा खारेज गरीसकेको रहेछ, यसैले हामीले अर्को महिना वा अर्को वर्ष जाऊँला भनेर बस्ने संभावना पनि रहेन। ‘काम’ डिसेम्बरभित्रै गर्नु थियो।   

हामी पहिलेका नेपाली विद्यार्थीमध्ये पनि यस्तो गरीसकेका धेरै रहेछन्। क्वाङ्चौतिर बसेर यो काम दक्षतापूर्वक गराऊँदै आएका बंगालीहरुको समूहसंग एकजना सिनियरको राम्रो चिनजान रहेछ। हामीले पेईचिङ्ग छोड्नुअघि उनले ती बंगाली बन्धुहरुलाई फोन गर्दिने, बंगालीहरुले हामीलाई क्वाङ्चौको रेल स्टेशनमा पर्खिने कुराको निधो भयो। हामीमध्येका एक-दुई बाठा-पाकाले पनि ती बंगालीका नाम, हुलिया आदि कण्ठ पारे।

२८ गते अपरान्हतिर हामीले पेईचिङ्ग रेल स्टेशनबाट रेल समात्यौं, हार्ड स्लीपरको टिकट काटेर। त्यतिखेरसम्म पेइचिङ्ग्को मेट्रो धेरैपटक चढीसकेको भएनि पनि रेलका हकमा भने यो मेरो जिन्दगीकै पहिलो रेलयात्रा हुँदै थियो, अरु कति साथीहरुको पनि पहिलै थियो शायद। पहिलो रेल यात्राको रोमाञ्चकता थियो र नेपाली-नेपालीको ठूलो ‘ग्याङ्ग’ पनि। हामीले समूह-समूहमा बाँडिएर तास खेल्ने, बियर पिउने गरेर बितायौं २४ घण्टा भन्दा बढीको रेलयात्रा। केहि साथी आफ्नो चिनियाँ भाषाको अभ्यास पनि गर्न थाले। राती तीन घण्टा पनि सुतिएन होला।

भोलिपल्ट साँझ पर्दा क्वाङ्चौ पुगियो। स्टेशनबाट निक्लने मुखैमा दुई दक्षिण एशियाली अनुहार हामीलाई छोप्न आईपुगे। तिनै रहेछन् हामीलाई ‘डलर कमाईदिने’ बंगाली बन्धुहरु। तिनले हामीलाई एउटा गाडीमा राखेर हुईँकाए। एक ठाऊँमा खाना खान रोकिए बाहेक गाडी रातभरि कुदिरह्यो र ३० तारीखको बिहानै हामी चुहाई पुग्यौं।

रातभरि केहि देखिएको थिएन, बिहानीपख खेतीपातीसहितको उष्ण प्रदेशीय फाँट देखिएको थियो। चुहाई पुगेपछि भने अग्ला-अग्ला घर देखियो, त्यत्ति हो।

त्यहाँ पुगेपछि एउटा रेष्टूरेण्टमा नित्यकर्म गरेर खाजा खाईयो र लागियो भन्सार गेटतिर, आफ्नो राहदानीको ‘उपयोग’ गरेर विदेशी/ब्राण्डेड सामान चीन छिराउन। नौ बजेतिर पुगिएको थियो होला भन्सार गेटमा उभिन। हाम्रा राहदानीहरु पोको पारेर बागाली बन्धुहरु हिँडेपछि एक घण्टाजति त्यसै अलमल भयो। फर्केर आएर उनीहरुले हामीलाई दुई-दुई जना भएर बस्न भने। यसरी ७-८ पटक गरेर छिर्ने भयो हाम्रो सामान।

म अन्तिम कि त्यो भन्दा अघिल्लो ‘लट’मा परेको थिएँ। हाम्रा सामान एकै पटक आएका थिएनन्, एउटा ‘लट’को आएको धेरै पछि मात्र अर्को ‘लट’को आऊँथ्यो। दिऊँसो तीन बज्ने बेला बल्ल मेरो लटको पालो आऊँदा कुर्दा-कुर्दा हैरान भईसकिएको थियो, यात्राको अनिँदोले पनि आफ्नो असर देखाईरहेकै थियो। बंगाली बन्धुका ईशारा पाएपछि सामान लादिएर आएका दुई-तीनवटा ठूला-ठूला ट्रलीका पछि लागियो। ती ट्रलीमा के छन् भन्नेतिर पनि ध्यान गएन। कसैले हामीलाई नराम्ररी फसाईरहेको पनि हुनसक्थ्यो, त्यो कुराको पनि खासै मतलब भएन त्यतिबेला। भन्सार पास गर्ने बेलामा राहदानी बुझाईयो। छाप लागेको राहदानी फिर्ता लिईयो, बाहिर आईयो र पहिल्यै निस्किसकेका साथीहरुको हूलमा मिसियो। अनि को-को सजिलै पास भए र कसलाई चाहिँ चिनियाँले अलि ‘-याक’ गरे भनेर गफ गर्न थालियो। भन्सार गेट कटेपछि ती ट्रलीहरु कता लागे थाहा भएन।

सडकमै केहि खाएर एक-डेढ घण्टा अल्मलिएपछि बंगाली बन्धुहरुसंग गाडी चढियो क्वाङ्ग्चौ फर्किनका लागि। राती दश बजेतिर बाटोको एउटा रेष्टूरेण्टमा खाना खाईयो। बंगालीहरुले पैसा दिने सूर ननिकालेकाले एकछिन उनीहरुसंग गल्फती भयो। ‘नदिने कल्ले भनेको छ र? तिमीहरुलाई आफ्नै चिन्ता छ, हामीले कत्रो खतरा मोलेर यो काम ग-यौं, तिमीहरुलाई के थाहा---?’ भनेर उनीहरु पनि गन्गनाऊँदै थिए। पछि उनीहरुले हामीले छानेका दुईजना ‘पाका’लाई पैसा दिए र आफैं बाँड्न भने। उनीहरु टिभी हेरेर बियर पिउन थाले र हामी पैसो भाग लगाउन। सबैका हातमा चारसय डलर बराबरको ‘एफइसी’ परेपछि गन्गन-किच्किच सबै सकियो।

यो ‘एफइसी’ ‘फरेन एक्सचेञ्ज सर्टिफिकेट’ को छोटकरी रुप हो। त्यतिखेर चीनमा दुईथरी पैसा प्रचलनमा थिए; चीनको औपचारिक मुद्रा ‘रेन्मिन्पी’ विदेशीले प्रयोग गर्न पाऊँदैनथे। विदेशीले ‘एफइसी’ प्रयोग गर्नुपर्थ्यो। एक ‘एफइसी’लाई पैसा भन्दा पनि ‘पैसा बराबरको कागजात’ भन्दा अझ ठिक होला, ‘ट्राभलर्स चेक’ जस्तै। त्यसको केहि समयपछि चिनियाँ सरकारले ‘एफइसी हटायो र बिदेशीले पनि ‘रेन्मिन्पी’नै प्रयोग गर्न पाउने भए।

गाडी फेरि हुईँकियो र बिहान सबेरै हामीलाई क्वाङ्ग्चौ ल्याएर छोडिदियो। पेईचिङ्ग जाने रेल साँझमा मात्रै रहेछ। टिकट काटेर हामी समूह-समूहमा बाँडिएर छरियौं।

हामी छ जना आफ्नो चिनियाँ ‘तोते बोली’को कनीकुथी प्रयोग गर्दै सोध्दै-खोज्दै सन-यात्सेन मेडिकल यूनिभर्सिटी पुग्यौं आठ बजेतिर। त्यहाँ अध्ययनरत दुईजना साथीहरु अत्तो न पत्तोसंग हामी आईपुगेको देख्दा छक्क परे। उनीहरु कक्षातिर जान निस्कँदै रहेछन्। उनीहरुकै कोठामा लम्पसार प-यौं हामी। बाह्र बजे उनीहरु फर्केर आएपछि उठेर खाना खाईयो र दिनभरि त्यहि विश्वविद्यालयभित्र घुमियो।

साँझ रेल चढियो। यस पटक ‘सफ्ट स्लीपर’का थिए हाम्रा टिकट, दाम जो कमाईसकिएको थियो। म परेको क्याबिनमा एकजना खाईलाग्दा चिनियाँ वृद्धमात्रै थिए, दुईटा स्लीपर खाली थिए। मैले आफ्नो टुटेफुटेको चिनियाँमा अलि-अलि कुरा गरें उनीसंग। छाओ (ठाओ) थरका ती बूढाबाले आफूलाई कम्युनिष्ट पार्टीको कुनै तहको अधिकारी भनेको याद छ मलाई।

‘सिन नियान ख्वाए ल!’ (नयाँ वर्षको शुभकामना!)। बिहान उठेपछि ती बूढाबा र मैले १९९२ शुरु भएको शुभकामना आदानप्रदान ग-यौं। दिऊँसो पेइचिङ्ग पुगियो।

‘त्यो फ्रिज मेरो हो।‘ पछि कुनै रेष्टुरेण्टमा खाना खान जाँदा हामीमध्येको एउटाले फ्रिज देखाएर भन्थ्यो।
‘अनि त्यो टिभीचाहिँ मेरो।‘ अर्कोले भन्थ्यो।
‘ऊ! मेरो मोटरसाईकल!’ र मोटरसाईकलहरु त्यति धेरै नदेखिने त्यतिखेरका चिनियाँ सडकहरुमा कहिलेकाहिँ मोटरसाईकल देख्दा हामीमध्येको एउटा कराऊँथ्यो।
‘त्यो कालो मोटरसाईकल तेरो होईन यार, मेरो हो,। तेरो त अलिक निलो छ-----।‘ अर्कोले गफ थप्थ्यो।

चारसय डलरसंग जोडिएका गफ चीन नछोडुञ्जेलसम्म बेला-बेलामा निक्लिरहन्थे।

(यो संस्मरण 'नेपाल' साप्ताहिकको पछिल्लो अंकमा छापिएको छ, जसलाई तपाईँ यहाँ पढ्न सक्नुहुन्छ; http://www.ekantipur.com/nepal/article/?id=4650 )

December 16, 2012

आख्यान र मुक्तकका कुरा

यो चिसो यामका दुई शनिबारका केहि घण्टा साहित्यका 'न्याना' कार्यक्रममा बिते। 

मंसिर २३ को शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले 'अनुभव र अनुभूति' का लागि आख्यानकार नारायण ढकाललाई पोखरा उतारेको थियो। पत्रिकाहरुमा प्रकाशित नारायण ढकालका कथाहरु पढेको छु मैले, र सिंगो कृतिको कुरा गर्दा 'शोकमग्न यात्रीहरु' मात्रै हो पढेको। एमाले टुक्रिँदाका बखतका एक-दुई पूर्वाग्रही लेख र कविता बाहेक म उहाँको लेखनशैलीलाई मन पराऊँछु। 'प्रेतकल्प' किनेर राखेको पनि एक वर्ष हुन आँटिसक्यो, अझै पढ्ने समय निकाल्न सकेको छैन।

कार्यक्रम शालीन र छरितो थियो। नारायण ढकालज्यूले आफ्नो जीवनका बिभिन्न चरणलाई सबैका सामु राख्नुभयो र ती चरणका बिभिन्न घटनाक्रमहरुले आफ्नो लेखनीमा पारेको प्रभावहरुको चर्चा गर्नुभयो। सुरुचिपूर्ण थियो उहाँको 'आत्मकथा' र उहाँका धेरै ईमान्दारीपूर्ण स्पष्टोक्तिहरुले भरिएको थियो त्यो।

प्रश्नोत्तर कार्यक्रममा केहि साथीहरुले पाँच मिनेटभन्दा पनि लामा 'प्रवचन प्रश्न'हरु राखे, केहि 'कमरेड' मित्रहरुले नारायण ढकालमाथि वैचारिक विचलनको आरोप पनि लगाए र एकजनाले त 'मदन भण्डारीलाई कसले मार्यो होला?' भन्ने समेत सोध्न भ्याए। यस्ता कुरालाई निफन्दा कार्यक्रम निकैनै उपयोगी, फलदायी भयो मेरा लागि।

हिजो (मंसिर ३०) मा मुक्तक मञ्च पोखराले प्रकाशन गरेको मुक्तक संग्रह 'मुक्तक यात्रा'को लोकार्पण थियो। प्रमुख अतिथि हुनुहुन्थ्यो गीतकार-मुक्तककार राजेन्द्र थापाज्यू। कार्यक्रमको दोश्रो चरण भने हरेक महिनको अन्तिम शनिबार हुने 'नियमित मुक्तक वाचन' कार्यक्रम थियो। पहिलो चरणको लोकार्पण कार्यक्रम अलि ब्यवश्थित हुन सकेन। भेला भएका सवासय भन्दा बढी मान्छेमध्ये आधाजतिलाई आसन ग्रहण गराऊँदा धेरै समय नाश भयो। 'आसन ग्रहण' नेपालका कार्यक्रमहरुको महारोग बनेको छ अहिले।

कार्यक्रमका वक्ताहरुबाट मुक्तक विधाका बारेमा केहि नयाँ कुरा पनि जान्ने मौका मिल्यो। 

पश्चिमाञ्चलका सर्जकहरुका मुक्तकहरु धेरै भएपनि मुक्तक यात्राले देशका सबै भागलाई समेट्ने कोशिश गरेको चोटिला मुक्तकहरुका माध्यमबाट। मेरा पनि दुई मुक्तक परेका छन्।

December 07, 2012

यहि क्षण


यहि क्षण त्यस्तो होस्
पुनर्जन्म जस्तो होस्

घाम-जूनका त्यान्द्रा-त्यान्द्रा
उर्जापुञ्ज खस्तो होस्

आकाश हरदम नयाँ-नयाँ
ईन्द्रधनुष रच्तो होस्

अनन्त याम वसन्तको
हाम्रा मनमा बस्तो होस्।