January 06, 2013

चमेराका दुःख

पोखराको बाटुलेचौर गाविसमा रहेका महेन्द्र गुफा र चमेरे गुफा हाल पोखराभित्रका प्रमुख पर्यटकीय गन्तब्यहरुका रुपमा विकास भैसकेका छन्। यी स्थानहरुको प्रसिद्धि राष्ट्रिय र एक हदसम्म अन्तर्राष्ट्रिय रुपमा फैलीसकेको छ। यीनले स्थानीय स्तरमा केहि प्रत्यक्ष रोजगारी सृजना गर्नुका साथै ब्यापारका माध्यमबाट पनि स्थानीय अर्थतन्त्रलाई फाईदा पुर्याईरहेकै छन्। यी गुफाहरुको प्रवेश शुल्कबाट हुने आम्दानी एउटा स्थानीय विद्यालयको प्रमुख आयस्रोत पनि हो। साथै, पर्यटकीय गन्तब्य हुन पाउनुको नाताले यो भेगले गर्नसक्ने प्रत्यक्ष-अप्रत्यक्ष साँस्कृतिक आदानप्रदान आदिको अर्को उत्तिकै महत्वपूर्ण पाटो पनि छँदैछ।
 
आम अर्थको देशी-विदेशी पर्यटनबाहेक पोखरा देशभरिका स्कूल-कलेजहरुबाट दशैं-तिहारबाट शुरु भएर हिऊँदसम्म चल्ने शैक्षिक भ्रमणहरुको पनि एक प्रमुख गन्तब्य हो। प्रमुख पर्यटकीय बसोबासस्थल लेकसाइड-ड्यामसाइडबाट तुलनात्मक रुपमा नजिक भएकाले पोखरा दर्शनका एकदिने-आधादिने प्याकेजहरुमा महेन्द्र गुफा वा चमेरे गुफाको सट्टा केहि समय यता विकसित र व्यवश्थित हुँदै गएको छोरेपाटनको गुप्तेश्वर गुफामात्रै पर्न थालेको छ। यसरी नियमित पर्यटकहरुको संख्याको सानो भागमात्र महेन्द्र गुफा पुगेपनि शैक्षिक भ्रमणका भने हरेक गाडी महेन्द्र गुफा पुगेकै हुन्छन्। सोधपूछका क्रममा पत्ता लागे अनुसार महेन्द्र गुफामा पुग्ने पर्यटक-शैक्षिक भ्रमणार्थीहरुको संख्याको आधामात्रै चमेरे गुफा पुग्छन्। महेन्द्र गुफाको नजिकै रहेर पनि आधा मात्र पुग्नुमा प्रचारप्रसारको अभाव र यातायातको असुविधा प्रमुख कारण हुनसक्छन्।
 
कुनै पनि गुफाले मानिसहरुलाई आकर्षित गर्ने बिभिन्न कारणहरु हुनसक्छन्। जमीनमुनिको अँध्यारो र उबडखाबडयुक्त बनौटमा बनेका गुफाहरु यसै पनि मानिसहरुलाई रहस्यमय लाग्छन्, र साहसिक गतिविधिहरु मन पराउने मान्छेका लागि यी छुटाउनै नहुने गन्तब्य बन्छन्। गुफाहरु भौगर्भीक अध्ययन गर्न चाहनेका लागि पनि महत्वपूर्ण हुन्छन्। पोखराका गुफाहरुको अध्ययनले पोखरा र आसपासका क्षेत्रको निर्माण प्रकृया र भित्री बनौटका बारेमा धेरै कुराहरु पत्ता लाग्छन्। यस्ता अध्ययनका निष्कर्षहरु भविष्यमा हुने विकास-निर्माणका योजनाहरुका लागि पनि प्रमुख सन्दर्भ-स्रोत बन्न पुग्ने कुरामा कुनै विमति हुन सक्दैन। यस्तै, गुफाहरुको आफ्नै जीव-वैज्ञानिक महत्व पनि छ। गुफाहरु चमेराजस्ता भिन्दै स्तनधारी प्राणीहरुको प्रमुख वासस्थान हुन्। यसैले यस्ता प्राणीहरुको अध्ययन-अनुसन्धानका लागि गुफाहरुभन्दा उपयुक्त स्थान अरु शायद छैनन्। फेरि, गुफाभित्रको जैविक विशिष्टता र विविधताको प्रभाव गुफाभित्रमात्रै सीमित हुँदैन, गुफा वरिपरिको क्षेत्रको पर्यावरणचक्रसंग पनि यो गाँसिएको हुन्छ। चमेरा लगायतका जीवले स्थानीय पर्यावरणचक्रलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका हुन्छन्।
 
दुई मध्ये महेन्द्र गुफा तुलनात्मक रुपमा ठूलो र धेरै पहिले पत्ता लागेकोले बढी आऊजाऊयुक्त पनि छ। गुफाको प्रमुख अंशमा बिजुली लगेर झलमल्ल पारिएकोले गुफामा हिँडेर प्राप्त हुने ‘एडभेञ्चर’ (साहसिकता)को अनुभव अब कल्पनामात्र बनेको छ। अचेल पोखराभित्रका कतिपय सडकहरुमा हिँड्नुभन्दा महेन्द्र गुफाभित्र हिँड्नु सजिलो होला। गुफामा कार्यरत ब्यक्तिहरुको भनाई अनुसार विशेष गरी भारतीय पर्यटकहरुको अनूरोधमा यसरी बत्ती राखिएको हो। यो आंशिक वा पूरा सत्य कति हो, त्यता नलागौं तर बत्तीले चमेराहरुका लागि भने राम्रो गरेको छैन। विगतमा पूरै गुफाभरि आवादी फैलाएका चमेराहरु अहिले गुफाको बत्ती नपुगेको एउटा सानो खण्डमा मात्र सीमित छन्।
 
चमेरे गुफाको त नामैले पनि बुझाऊँछ, यसको महत्व भनेकै यसभित्रका चमेराहरु हुन्। तर गुफालाई ‘ब्यापारीकरण’ गर्ने क्रममा यो महत्वको उचित कदर हुन सकेको भने छैन। दशैंताका बाट शुरु हुने शैक्षिक भ्रमण र पर्यटकीय याममा दिनमा लगभग ६०० जति मान्छेहरु यो गुफाभित्र पस्दा रहेछन्। असार देखि भदौको वर्खाको समयमा मान्छेको चाप कम हुने भएपनि त्यसबाहेकको समयमा दैनिक १००-२०० जना प्रवेश गर्ने बुझियो सोधपूछबाट। गुफाभित्र प्रवेश गर्नेहरुले कि त टिकट काऊण्टरमै भाडामा उपलब्ध हुने ईमरजेन्सी लाईट लिएर गुफाभित्र पस्छन्, कि त आफ्नै मोबाईल फोनको टर्च प्रयोग गर्छन्। यसरी उज्यालो बनाऊँदा दिऊँसो सुत्ने र रातीमात्रै सकृय हुने चमेराहरुको दैनिक जीवनचक्रमा प्रत्यक्ष नकारात्मक असर पर्नु स्वाभाविक हो। उज्यालो मात्रै होईन, सैयौंको भिडले गर्ने होहल्लाले पनि उत्तिकै नकारात्मक असर परीरहेको हुन्छ। त्यति धेरै मान्छेहरु हल्लै नगरी गुफाभित्र पस्दापनि गुफाको तापक्रममा केहि वृद्धि हुन्छ नै। गतिलो अनुगमन नहुँदा केहि मान्छेले गुफाभित्रै धूम्रपान गर्दिन पनि सक्छन्। यी सबै गतिबिधिहरुले चमेराको प्रजनन क्षमतामा असर पारीरहेका हुन्छन् र साथै चमेराहरुले प्रतिरोध गर्न नसक्ने जीवाणु र विषाणुहरु पनि भित्र पसाईरहेका हुन्छन्। पंक्तिकार जीव-विज्ञान क्षेत्रको नभएकाले विस्तृतमा यस्ता कुरा बुझ्ने-बुझाउने क्षमता राख्दैन तर चमेरे गुफामा चमेराहरुको संख्या घटीरहेको कुरा भने यथार्थ हो। चमेराहरुको नियमित र प्रणालीबद्ध गणना अहिलेसम्म शुरु हुन सकेको छैन। स्थानीय अनुमान अनुसार, गुफालाई खुल्ला गरिएको ०५१-५२ सालको दाँजोमा अहिले चमेराको संख्या आधा मात्रै छ। यो एउटा भयावह तथ्यांक हो। यसले भविष्यमा चमेरे गुफाबाट चमेरा रित्तिने दिनको निकटताको संकेत गर्छ।
 
चमेरे गुफाको टिकट काउण्टरका भाइको सौजन्यमा वन विज्ञान अध्ययन संस्थान, पोखराका एक विद्यार्थीले तयार पारेको पोखरामा चमेराहरुको वासस्थान सम्बन्धी एक अनुसन्धान लेख पढ्न पाईयो। त्यस अनुसन्धान प्रतिवेदनको अन्त्यमा पनि चमेराहरुको संख्या घट्दै गईरहेकोमा चिन्ता ब्यक्त गरिएको छ। त्यसबाहेक, यो पंक्तिकारले महेन्द्र गुफा र चमेरे गुफाका वरीपरी गरेको सानो सोधपूछले देखाए अनुसार अहिलेसम्म यी गुफाहरुको अरु गम्भीर र विस्तृत जीव-वैज्ञानिक अध्ययन हुन सकेको छैन। त्यस्ता अध्ययन हुनसके चमेराहरुलाई जोगाउन सक्ने उपायहरु पनि छिटै पहिल्याउन सकिने थियो होला।
 
तत्काललाई, कम्तिमा पर्यटकहरुको गुफा प्रवेशलाई व्यवश्थित र शालीन पार्न सकिन्छ। मनपरी संख्यामा एकैपटक पचासौंलाई पस्न दिनुसट्टा दश-बाह्रजनाको समूहमा मात्रै प्रवेश गर्न दिने र हरेक समूहसंग एक जना गाईड अनिवार्य पठाउने गर्न सकिन्छ। प्रवेश गर्नु अगाडिनै गुफाभित्र गर्न हुने र नहुने कामका बारेमा गाईडले सबैलाई बताउन सक्छन्। अहिले गुफाको मुखमा केहि बोर्डहरुमा यस्ता कुरा अलि-अलि लेखिएका पनि छन्, तर तिनलाई पढ्ने कम र पालन गर्ने झन् कम छन्। गुफाहरुमा उज्यालो प्रयोग गर्ने कुरा रोक्न तुरुन्तै नसकिएला, तर क्रमैसंग कम गर्दै लानुपर्छ र वैकल्पिक उपायको खोजी गर्नुपर्छ। पश्चिमी मुलुकहरुमा गुफा अवलोकनका लागि प्रयोग हुन सक्ने खालका नाइटभिजन चश्माहरु र दूरबीनहरु प्रयोगमा आएका खबर सुनिन्छन्। यिनको प्रयोग गरेर मात्र गुफाभित्र जाने हो भने सबैभन्दा राम्रो हुने निश्चित छ, तर यी महंगा हुनसक्छन् र अझै केहि समयसम्म हाम्रो क्षमताले नभ्याउन सक्छ। चमेराविज्ञहरुले चमेरालाई असर नपार्ने प्रकाश स्रोतहरु पनि औंल्याईदिन सक्छन्।
 
माथि एक ठाऊँमा पनि उल्लेख गरिसकिएको छ, पंक्तिकार जीव-वैज्ञानिक ज्ञान भएको विशेषज्ञ होईन, एउटा सामान्य जिज्ञासुका हिसाबले यी पंक्तिहरु कोरिएको हो। यो जिज्ञासाले पोखराका गुफाहरुको जीव-वैज्ञानिक अध्ययन र जैविक विविधता-बिशिष्टताको संरक्षणका लागि थोरै मात्र भएपनि रुचि जगाउन सक्छ भन्ने आशा लिईएको छ।

 
 
(यो लेख पोखराबाट प्रकाशित हुने 'आदर्श समाज' राष्ट्रिय दैनिकमा २०६९, पौष २१ गते छापिएको छ।)



No comments:

Post a Comment