यो चिसो यामका दुई शनिबारका केहि घण्टा साहित्यका 'न्याना' कार्यक्रममा बिते।
मंसिर
२३ को शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले 'अनुभव र अनुभूति' का लागि
आख्यानकार नारायण ढकाललाई पोखरा उतारेको थियो। पत्रिकाहरुमा प्रकाशित
नारायण ढकालका कथाहरु पढेको छु मैले, र सिंगो कृतिको कुरा गर्दा 'शोकमग्न
यात्रीहरु' मात्रै हो पढेको। एमाले टुक्रिँदाका बखतका एक-दुई पूर्वाग्रही
लेख र कविता बाहेक म उहाँको लेखनशैलीलाई मन पराऊँछु। 'प्रेतकल्प' किनेर
राखेको पनि एक वर्ष हुन आँटिसक्यो, अझै पढ्ने समय निकाल्न सकेको छैन।
कार्यक्रम
शालीन र छरितो थियो। नारायण ढकालज्यूले आफ्नो जीवनका बिभिन्न चरणलाई सबैका
सामु राख्नुभयो र ती चरणका बिभिन्न घटनाक्रमहरुले आफ्नो लेखनीमा पारेको
प्रभावहरुको चर्चा गर्नुभयो। सुरुचिपूर्ण थियो उहाँको 'आत्मकथा' र उहाँका
धेरै ईमान्दारीपूर्ण स्पष्टोक्तिहरुले भरिएको थियो त्यो।
प्रश्नोत्तर
कार्यक्रममा केहि साथीहरुले पाँच मिनेटभन्दा पनि लामा 'प्रवचन प्रश्न'हरु
राखे, केहि 'कमरेड' मित्रहरुले नारायण ढकालमाथि वैचारिक विचलनको आरोप पनि
लगाए र एकजनाले त 'मदन भण्डारीलाई कसले मार्यो होला?' भन्ने समेत सोध्न
भ्याए। यस्ता कुरालाई निफन्दा कार्यक्रम निकैनै उपयोगी, फलदायी भयो मेरा
लागि।
हिजो
(मंसिर ३०) मा मुक्तक मञ्च पोखराले प्रकाशन गरेको मुक्तक संग्रह 'मुक्तक
यात्रा'को लोकार्पण थियो। प्रमुख अतिथि हुनुहुन्थ्यो गीतकार-मुक्तककार
राजेन्द्र थापाज्यू। कार्यक्रमको दोश्रो चरण भने हरेक महिनको अन्तिम शनिबार
हुने 'नियमित मुक्तक वाचन' कार्यक्रम थियो। पहिलो चरणको लोकार्पण
कार्यक्रम अलि ब्यवश्थित हुन सकेन। भेला भएका सवासय भन्दा बढी मान्छेमध्ये
आधाजतिलाई आसन ग्रहण गराऊँदा धेरै समय नाश भयो। 'आसन ग्रहण' नेपालका
कार्यक्रमहरुको महारोग बनेको छ अहिले।
कार्यक्रमका वक्ताहरुबाट मुक्तक विधाका बारेमा केहि नयाँ कुरा पनि जान्ने मौका मिल्यो।
No comments:
Post a Comment