May 09, 2010

हरियो बतास


साकुरा झरेको धेरै भईसक्यो, अब त नामनिशान पनि कतै देखिँदैन। साकुराको ठाऊँ हरियो पालुवाले लिएको छ। वसन्तमा फूल्ने फूलहरुपनि मगमगाईरहेछन् जताततै। 

वसन्तको शुरुवात केहि ढिला भयो यसपालि। अब केहि समयपछिनै फेरि प्रचण्ड गर्मी पाहुना बन्न आउनेछ। यो वर्षको छोटो वसन्तलाई छिटो-छिटो नपिई भएको छैन।

केहि दिन पहिले नागोयाको समुद्री तटमा रहेको Wild Flower Garden घुम्ने मौका मिलेको थियो। साह्रै सुन्दर र मनमोहक ठाऊँ रहेछ। जंगली फूल र अन्य वनस्पतिको माझमा आनन्दित भएर एक दिन बिताईयो। यतिका वर्षपछि बल्ल पुगियो यो ठाऊँ पनि।

तलका यी तस्बीरहरु त्यसै ठाऊँका हुन्।  





फूलहरुको सौन्दर्यको कुरा छँदैछ, मलाई पातहरुको नयाँ हरियाली, नयाँ पालुवा पनि उत्तिकै मन पर्छ, उत्तिकै सुन्दर लाग्छ। गहन हरियालीले मलाई जहिले पनि नेपाल सम्झाऊँछ। यसैले मैले नेपालको सम्झनामा लेखकेो "सपनीमा आज फेरि देश देखें" शीर्षकको गजलमा "फूलमा चढेको रंगको के कुरा? पातमा वसन्तको प्रवेश देखें" भनेर लेखेको छु। 

केहि दिन पहिला एउटा लहडले डोरिएर म हानामीमा हिँडेको यामाजाकी खोलाको किनारमा फेरि पुगें, एउटै ठाऊँ साकुरा हुँदाको बेला र हरियाली हुँदाको बेला कत्तिको फरक देखिँदो रहेछ भनेर हेर्न:)


दुई सुन्दरीहरु, साकुरा र हरियाली, उत्तिकै सौन्दर्य बोकेका तर फरक-फरक आयाममा बाँचिरहेकाझैं लाग्यो मलाई। झपक्क भरिएको साकुरामा बिस्तार हुन्छ, फैलावट हुन्छ र त्यो उडिरहेझैं लाग्छ। हरियालीमा भने गहनता हुन्छ, सघनता हुन्छ र त्यो कुनै रहस्यको खोजमा झन्-झन् गहिरिँदै गईरहेझैं लाग्छ। हरियालीको आनन्द पनि त्यसमै गहिरिएर, त्यसमै डुबेर र त्यसको माध्यमबाट आफैंमा गहिरिएर र डुबेर लिन सकिन्छ। यसैले हरियालीले समूहभन्दा पनि आनन्दित एक्लोपना र निजत्वलाई आमन्त्रण गर्छ।

यो चारैतिरको हरियालीले ११ वर्षभन्दा पहिलाको एउटा सानो टुक्रा सम्झायो मलाई। पोखरा बसाईको त्यो ताका म एकदम कम लेखिरहेको थिएँ, कहिलेकाहीँ कविता-निबन्ध जे लेख्थें ती पनि एकदमै छोटा लेख्थें। कुनै बिहानको हरियो बतासमा डुबेर लेखिएको यो छोटो टुक्रा कोसेलीस्वरुप यहाँहरुका माझमा राख्ने अनुमति चाहन्छु।

यो बिहान  
बादलहरुको जन्ती हिँडिरहेछ आकाशमा,
माछापूच्छ्रे मुस्काऊँदै रमिता हेरिरहेछ-
र म हरियो बतासमा डुबिरहेछु।
 


सबैको जय होस्!

13 comments:

  1. खूब रमाइलो लाग्यो बसंतजीको आफ्नैगाथा पढेर | यो हरियालीलाई मैले पनि शब्दले समेट्न खोजेको निकै भयो, सकेको छैन | तपाईंका सुन्दरतम रचनाहरुले मनाउने विचार गरें अब | प्रकृतिका गहन अनुभूतिहरुलाई यहाँले बडो मजासँग उतार्नुभएको पाएँ |

    ReplyDelete
  2. What lovely pics! All are worth converting into wall pieces!

    ReplyDelete
  3. वसन्तजी , साह्रै मनमेाहक दृश्यहरू खिच्नु भएछ । मानिसका लागि प्रकृतिले दिएकेा येा अनुपम क्षणले जीवनलार्इ सुन्दर र प्रेममय तुल्याउंछ। धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  4. घुमफिर , हरियाली अनि कलिलो पालुवा .... मेरा लागि मन चंगा हुने कुरा हुन् दाइ ! यस्ता कुरा गर्न/ सुन्न पनि मलाइ त निकै रमाइलो लाग्छ !

    ReplyDelete
  5. अति मनोरम फोटोहरू !!

    ReplyDelete
  6. prakriti sanga ekchin lukamari garna paiyo. saarai aananda aayo sir.

    ReplyDelete
  7. हरियालीले निजत्वलाई आमन्त्रण गर्छ .....धेरै राम्रो लग्यो.आफैमा डुबेर आउने आनन्द र समूहमा आउने आनन्दमा गुणात्मक अन्तर हुन्छ.

    ReplyDelete
  8. बसन्त दाइको बसन्ती कुरा । सुन्दर तस्विरहरुको साथमा पोखरेली बिहानिमा कोरिएको कबिता ! यो भन्दा सुगन्ध अरु के नै पो चाहियो र ?

    ReplyDelete
  9. म हरियो बतासमा डुबिरहेछु......पहिलो तस्विरले त झन हरियो बतासमा चुर्लुम्मै बनायो । धेरैचोटी आएँ, चुर्लुम्म डुबेरै फर्किएँ ।

    ReplyDelete
  10. हानामी र साकुरका रमाइला कुरा सहित मिठा परिभाषाहरू पोहोर साल हो क्यारे मैले पनि पढने मौका पाएको थिए, निकै रमाइलो भाको थियो त्यो बेला पनि आज जस्तै। हरियो बतास कमाल छ

    ReplyDelete