Image Source: Click Here
माओवादी सुप्रिमो प्रचण्डलाई प्रतीकात्मक रुपमा एउटा बेलुनको रुपमा लिन मन लाग्छ मलाई। एक दशकको सशस्त्र द्वन्द्वको रहस्यमा त्यो बेलुन फुलेर बिशाल भएको थियो। प्रतिपक्षी राजनीति-त्यो पनि भूमिगत र सशस्त्र-मा भौतिक खतरा धेरै हुनु स्वाभाविक हो, तर यस्तो राजनीतिमा राजनीतिक पूँजी बढाउन भने खुब सजिलो हुन्छ किनभने अरु केहि नगरी सत्ताको बिरोध मात्रै गरे हुन्छ। यस्तो राजनीतिमा आफ्नो कमजोरी र गल्तीका लागि पनि सत्ताधारीलाई दोष देखाउन सकिन्छ।
खुल्ला राजनीति बिल्कुल फरक हुन्छ, त्यहाँ कुनै पनि नेताको भनाई र गराईको खाडललाई जनताले सजिलै देख्छन्। पहिला अरुमा पनि देखिएको थियो, अहिले माओवादी र प्रचण्डमा देखियो-खुल्ला राजनीतिमा आएपछि बेलुनको हावा खुस्केको। माओवादी र प्रचण्डको हकमा त्यो हावा खुस्काई-त्यो ‘स्खलन’ झन् तिब्र देखियो।
बेलुनको हावा किन फुस्कियो-मुखमा पारेको गाँठो खुकुलो हुन गयो अथवा बेलुनमा प्वाल प-यो, त्यो समयले बताउला। यतिखेर भने प्रचण्ड फेरि बेलुनमा हावा भर्न थरी-थरीका ‘पम्प’ हरु प्रयोग गरिरहेछन्। कहिले नागरिक सर्वोच्चताको पम्प र कहिले सुकुम्बासी-राजनीतिको पम्प प्रयोग गर्दा पनि बेलुन नभरिएपछि अहिले उनी ‘मदन भण्डारी’ र ‘राजा बीरेन्द्र’ नामका पम्पलाई जोडतोडले थिचिरहेछन्। कुनै तथ्य-प्रमाण र संवेदना बिना सतही रुपले र क्षणिक राजनीतिक स्वार्थको लागि उनीहरुको चिताको खरानी खोस्रेर हावामा उडाउने यो नयाँ काईदा पनि सफल हुने छाँट भने छैन।
मैले यति लेखिसक्दा केहि मान्छेलाई म मदन-आश्रितको रहस्यमय निधन र दरबार हत्याकाण्डको अनुसन्धान गर्ने काम र बास्तविक दोषी खोज्ने कामको बिरोधी लाग्न सक्छु। यसैले म पहिलेनै यो लेख पूरा पढिसकेर मात्रै आफ्नो धारणा बनाउन उहाँहरुलाई विनम्र अनूरोध गर्न चाहन्छु।
हाम्रो इतिहासमा अनगिन्ती हत्याकाण्ड र रहस्यमय दुर्घटनाहरु घटेका छन्, लगभग सबै अझै रहस्यकै कुहिरोमा छन् वा रहेको भान पारिएका छन्। माथवरसिंहलाई कसले मा-यो देखि पिष्कर-छिन्ताङ्ग हुँदै, नमिता-सुनिता काण्ड हुँदै, मदन-आश्रित काण्ड र दरबार काण्ड हुँदै, बीरेन्द्र शाह, उमा सिंह हुँदै अस्ति भर्खर हत्या गरिएका सन्तोष कार्की भाइसम्मको हत्याकाण्डको श्रृंखला जारी छ। यसरी नसुल्झिएका काण्डमाथि काण्डको चाङ्ग लागेको छ हाम्रो इतिहासमा र त्यो चाङ्गले भूत बनेर हाम्रो राष्ट्रिय मानसिकतालाई निरन्तर झस्काईरहेछ, हामीलाई त्रसित र आतंकित बनाईरहेछ। ती सम्पूर्ण हत्याकाण्डहरुको बिस्तृत अनुसन्धान कहिल्यै भएन, बास्तविक अपराधीहरु कहिल्यै कानूनको पहुँचमा परेनन्। कतिपयका दोषीहरु रहस्यको कुहिरोमा सजिलै लुके भने कतिपयका दोषीहरुलाई समाजले-देशले चिनेको छ तर तिनलाई केहि गर्ने कसैको हिम्मत छैन किनभने ती कुनै बलियो राजनीतिक शक्तिको छातामुनि छन्। उल्टो ती अपराधीहरु दिनकै उज्यालोमा खुल्लमखुल्ला छाती तन्काएर सडकमा ढलीमली गरिरहेछन् र समाज उनीहरुका सामु टाउको झुकाएर बाँच्न बाध्य छ।
मदन-आश्रितको रहस्यमय निधन र दरबार हत्याकाण्डले देशको राजनीतिमा दूरगामी असर पारे, यसैले तिनको चर्चा बढी हुनु स्वाभाबिक हो। यी दुई घटना नहुँदा, अथवा दुई मध्ये एकमात्रै नहुँदा पनि हाम्रो वर्तमान यसरी अगाडि नबढ्न सक्थ्यो।
मदन भण्डारी र जीवराज आश्रित धेरै सम्भावना बोकेका प्रखर युवा नेताहरु थिए। समयले उनीहरुलाई पूरै प्रमाणित गर्न त बाँकीनै थियो तर लक्षण राम्रै देखिईसकेको थियो। मदन भण्डारीमा बिना हतियार जनतालाई, कार्यकर्तालाई नयाँ दिशातिर डो-याउने क्षमता थियो, एउटा स्पष्ट दृष्टिकोण थियो; आश्रितमा संगठन-निर्माण र संचालनको कुशलता थियो। दिमाग र मेरुदण्ड दुबै गुमाएको एमाले आज कस्तो हालतमा पुगेको छ, हामीले देखेकै छौं।
तत्कालीन सरकारको आयोगसंग चित्त नबुझेर एमाले आफैंले बनाएको आयोगले के अनुसन्धान ग-यो, के निचोड निकाल्यो, जनतालाई थाहा छैन। एमालेहरु कहिले त्यतिखेरकी अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लक र कहिले तत्कालीन रानी ऐश्वर्यलाई दोष लगाएर अल्मलिईरहे। दुबैको लाशमाथि राजनीति गरेर एमालेले सहानूभूति र सत्ता पनि प्राप्त ग-यो, अहिले पनि उनीहरुको चिताको खरानीको टिको लगाउन र ओठे-जप गर्न छोडेको छैन एमालेले। अरु धेरै कुरामा जस्तै एमालेले दासढुंगा काण्डको बारेमा पनि स्पष्ट दृष्टिकोण जनतालाई दिए हुन्थ्यो। दुर्घटनामात्रै हो भने दासढुंगामाथि गरिने राजनीति बन्द हुनुप-यो, यदि षड्यन्त्रनै हो भने त्यसका दोषीहरुलाई जनताको सामु नांगेझार पार्न र उचित कारबाही गर्न/गराउन सक्ने हैसियतमा एमाले धेरै समय थियो, अहिले पनि हुनसक्छ।
मदन-आश्रित एमालेका नेता होलान् तर उनीहरुलाई ‘राष्ट्रवादी भएकै कारण मारिए’ भन्दै मौसमी आँशु चुहाऊँदै राजनीतिक प्रयोग गर्ने सबैमा यहि कुरा लागु हुन्छ। माओवादी संग अहिले उसका प्रतिबद्ध कार्यकर्ता र समर्थकहरुको विशाल संयन्त्र छ, सरकारी संयन्त्रका धेरै अंगहरुमा पनि उसको पहुँच राम्रैसंग गडिसकेको छ। यो अबश्थामा ऊ आफैं एउटा गतिलो अनुसन्धान गर्न सक्षम छ। भारतलाई दोष लगाएर चर्को भाषण गर्नका लागि मसलाको रुपमा मात्रै यसलाई प्रयोग गरिएको भए कुरो बेग्लै हो। भारतको प्रत्यक्ष निर्देशन र सहभागितामा यो काण्ड घटाइएको हो र माओवादीसंग त्यसबारेमा यथेष्ट प्रमाण छ भने सबै कुरा जनताको अगाडि किन राखिँदैन? सत्तामा जाने गोटी मात्रै हो कि?
अर्कोतिर दासढुंगा काण्डका एक प्रमुख सूत्रधार ड्राइभर अमर लामालाई माओवादीहरुले हत्या गरे। कांग्रेस-एमाले दुबैले अमर लामालाई राजनीतिक गोटी नबनाएको भए यो दुर्घटनाको यथार्थ केहि समयपछिनै स्पष्ट हुन्थ्यो होला। उनी जिऊँदै छँदा त्यो सम्भावना अझै पनि बाँकी थियो। यो स्थितिमा माओवादीद्वारा भएको अमर लामाको हत्याले दुर्घटनालाई झन् रहस्यमय बनाएन र? र समाधानलाई झन् टाढा पु-याएन र? दासढुंगा काण्डको रहस्य बाहिर नआऊँदै अमर लामालाई मार्न माओवादी हतारिनु आफैं पनि झन् रहस्यमय छ।
दरबार काण्डका त प्रत्यक्षदर्शी र संभावित दोषीहरु अझै जिऊँदै छन्। सेना पूरै आफ्नो नियन्त्रणमा राखेर बसेको राजपरिवार एकैचिहान हुने कारण ‘भित्री सनक’ वा बाहिरी हस्तक्षेप के हो भन्ने कुरा बिस्तारै झन्-झन् रहस्यमय हुँदैछ। हत्याकाण्डको लगत्तै गठन भएको नौटंकी ‘भ-ट-ट---र ट ट’ आयोग बाहेक यसको कुनै गम्भिर अनुसन्धान भएकै छैन। यो पनि सबैका लागि राजनीति गर्ने नयाँ मसला मात्रै बन्दै गईरहेको छ।
मदन भण्डारी र बीरेन्द्रको खरानी उडाएर आफूलाई कट्टर राष्ट्रवादी र अरुलाई घोर राष्ट्रघाती देखाउने प्रचण्डको प्रयासमा कुनै शक्ति देखिँदैन किनभने नेपालका अरु राजनीतिक शक्तिजस्तै माओवादी र प्रचण्डपनि घोर अवसरवादी र ‘माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात' छन्। माओवादीको भारत नीति पेण्डुलम जस्तो छ, यो खाली एउटा अति र अर्को अतिको बीचमा झुलिरहेछ। भारत कहिले बिस्तारवादी-कहिले असल मित्र, कहिले रोटी-बेटीको सम्बन्ध भएको र नेपाली क्रान्तिकारीलाई काख दिने महान छिमेकी-कहिले सुरुङ्ग युद्ध लडिनुपर्ने दुश्मन बन्न पुग्छ। यी दुई अतिको चेपमा पारेर माओवादीले नेपालका लाखौं युवाहरुको सृजनात्मक उर्जाको दुरुपयोग गरिरहेको छ।
नेपाली राष्ट्रियतामा धेरै समस्याहरु छन्, भारतको हामीप्रतिको नीति मिचाहा छ। हो, भारतलाई दोष दिन सक्छौं हामी तर मूल दोष भने आफैंले लिन तयार हुनैपर्छ। हाम्रो राष्ट्रिय मानसिकतामा भारतलाई हाम्रा नेता र दलहरुले एउटा हाउगुजीको रुपमा स्थापित गरिदिएका छन्। तर भारतसंगको सम्बन्धबारे हाम्रो एउटा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउने र त्यसलाई लागु गर्नका लागि एउटा प्रभावशाली कूटनीतिक संयन्त्र बनाउनेतिर कसैले सोचेको-पहल गरेको छैन। केहि समय पहिला मैले कान्तिपुरमा भारतीय जनता पार्टीका एकजना बरिष्ठ नेताको अन्तर्वार्ता पढेको थिएँ, तपाईँले पनि पढ्नुभयो होला। हामीलाई भारतको कांग्रेस आई र भाजपाको आपसी सम्बन्ध कस्तो छ थाहै छ, तर त्यहाँ उनले भारत सरकारको नेपाल नीति जे छ, हाम्रो दलको नेपाल नीति पनि त्यहि हो भनेका छन्। नेपालसंगको सम्बन्धबारे भारतीयहरुको स्पष्ट र समग्र धारणाको प्रमाण हो त्यो। हामीकहाँ त्यस्तो कुरा असम्भव लाग्छ! भारतबारे हरेक दल र उस्तै परे हरेक नेताका आफ्नै धारणाहरु छन्। यस्तो स्थितमा हाम्रो राजनीति र राष्ट्रिय जीवनका कुनै पनि अंगमा खेल्नु भारतका लागि साह्रै सजिलो काम हो।
हाम्रो राष्ट्रियताका मूलभूत समस्याहरुको समाधान त्यहि स्पष्ट र एकीकृत राष्ट्रिय दृष्टिकोण हो। दासढुंगा र दरबारकाण्डको खरानी खोस्रेर र अरुलाई दोष लगाएर मात्रै केहि हुनेछैन।
बढो यथार्थपरक र सान्दर्भिक लेख दाजु । यो देशमा माधबको तेल, झलनाथको अत्तर, प्रचन्डको जेल र गिरिजाको नौनीले केही होला जस्तो छैन । रास्ट्रबादी भण्डारी, आश्रीत, शाह र सिन्हहरुका रहस्यमय हत्यालाई आधार बनाएर राजनिती गर्नेहरुबाट के आशा गर्नु र खै ? चाहे ती प्रचन्ड र अति प्रचन्डका नामधारिहरु नै किन नहुन ?
ReplyDeleteहाम्रा राष्ट्रियता लगायतका तमाम समस्याहरु हाम्रैले पार लगाउन भन्ने सोचेसम्म यि नै फटाहा, जाली, झेलीहरुबाटै कुनैदिन त केहि होला भन्ने आशा राख्नु अनिवार्य छ तर पनि यसरी खरानी खोस्रनेहरु देखि भने विरक्ति उत्पन्न हुन्छ मलाई पनि । दलिय दौराको फेर नसमात्नेहरुलाई यि सबै उस्तै नै हुन ।
ReplyDeletesundar bisleshnaatmak ra yatharthaparak lekha . Thanks bashanta jee!
ReplyDeletehi mama
ReplyDeletei did not know you were so intrested on politics.
ieally enjoyed it
pllease head over to my dad blog.
www.meromotherland.blogspot.com
लेख कठोर देखिन्छ । नेपालको राजनीति तरल र क्रूर रहेको बेला त्यसप्रतिको अभिव्यक्ति पनि कठोर हुनु स्वाभाविक छ । यो बेला सक्नेले यस्तो लेख लेख्नु आवश्यक छ । विषयवस्तु र प्रस्तुतिका लागि साधुवाद !
ReplyDeleteएकदमै सन्तुलित र सहि बिचार ।
ReplyDeleteयो विभिन्न काण्डको खरानी खोस्रने बारेमा मलाई के लाग्छ भने, नेपालमा जहिले पनि र जसले पनि आफैंले कुनै काण्ड मच्चाएपछि सो काण्डलाई धूमील पार्नका लागि मात्रै पुराना काण्डका खरानी खोस्रने गर्छन ।
अनि कुनै पनि काण्ड झन् झन् रहश्यममय हुँदै जानुमा पनि यही आफ्नो पाप पखाल्न मात्रै अर्काको पाप उदांग पार्ने पाखण्डीपन नै प्रमुख कारण हो जस्तो लाग्छ मलाई । हैन भने ईमान्दारीताका साथ लागिपरेमा कुनै पनि रहश्य 'रहश्य' रहने छैन ।
आशा गरौं नेपालका दिग्गजहरु यो खरानी खोस्रने राजनितीबाट छीट्टै मुक्त हुनेछन ।
प्रचण्डका पछिल्ला अभिव्यक्तिहरु खरानी खोस्रने राजनीति मात्र नभएर पूरै विक्षिप्तताका पर्याय बनिसकेका छन्। उनले उठाएका कुरा सही नै होलान् रे तर सही कुरा उठाउने शैली पनि त सही हुनुपर्यो। उनको शैली भद्दा र कुरुप त छँदैछ, नियतमा पनि शंका गर्न मिल्ने प्रशस्त ठाउँहरु छन्। यस्तो अवस्थामा उनका कुरा सुनेर केही केटौले र अन्धो मतिका कार्यकर्ता उफ्रिनेबाहेक केही फरक पर्छ जस्तो लाग्दैन मलाई त। खाँचो चाहिँ तपाईंले भनेजस्तो स्पष्ट र एकिकृत राष्ट्रिय दृष्टिकोणको नै हो।
ReplyDeleteकस्तो सुहाएको यो वेलुनको प्रतीक । लेख सामयिक यथार्थपरक, विश्लेश्णात्मक र गहकिलो त छदैछ, लेखले नेपाली राजनीतिकर्मी र तिनका राजनैतिक प्रवृत्तिको वास्तविक तस्वीर छर्लंग उजागर गरेको छ ।
ReplyDeleteनयाँ नेपाल भन्दै पुराना र अति पुराना (राणाकालीन र त्यसभन्दा पनि पहिलाका मध्ययुगीन ) विचार, बानी र व्यवहार प्रस्तुत भएका छन् हाम्रो नेपालमा | के गर्नु, छक्क पर्नु बाहेक ! यही नै सबैभन्दा क्रान्तिकारी र आमूल परिबर्तनकारी बाटो हो भनेर मक्ख पर्नेहरु प्रशस्तै छन् |
ReplyDeleteयथार्तबादी चिन्तन बसन्त जी ! राजनीतिक समिश्रण सहितको यो लेख अति नै मनासिव लाग्यो मलाई ।
ReplyDeleteपढिदिनुहुने, प्रतिकृया दिनुहुने सबैमा सादर धन्यबाद!
ReplyDeletethis is exiciting story, i would like to request to post on facebook... please if you can... atleast young youth can read it and understand the real polticies of Nepal
ReplyDeleteधन्यबाद दामोदरजी! ब्लगमा प्रकाशित हुनासाथ फेसबुकमा लिंक राखिएको पनि हो। तपाईँको फेसबुक खाता (एकाउण्ट) बाट पनि राख्न चाहनुहुन्छ भने खुशीसाथ सक्नुहुन्छ।
ReplyDelete