December 28, 2010

सुइना कर्णालीका : र मेरो पहिलो गुरुकुल अनुभव

हिजो 'आरोहण गुरुकुल' मा 'सुइना कर्णालीका' भन्ने नाटक हेरेँ|

र, मुटुभरि विषाद, आँखाभरि आँसु र मनमा एउटा संकल्प लिएर फर्किएँ|
----------------------------------------------------------------------------------------------
मैले नाटक साह्रै कम हेरेको छु| हामी सानो छँदा सम्म गाउँमा नाटक देखाउने चलन थियो यदाकदा| एउटा हातका औंला भाँच्न भ्याउने गरी हेरियो होला यस्ता नाटकहरु, आफ्नै गाउँ र वारीपारी गरेर| गाउँका युवाहरुको स्वत:स्फूर्त उत्साह र लगनका परिणाम हुन्थे ती र तिनले प्राय:जसो कि वर्गीय विभेद र सामाजिक द्वन्द्वका कथा बुनेका हुन्थे कि बैंशालु प्रेमका कुरा बोकेका हुन्थे| काठमान्डौको पश्चिमी भेगको काँठ हाम्रो गाउँमा वामपन्थी राजनीति खासै पसेको थिएन, यसैले नाटकमा राजनीति कमै हुन्थ्यो| कलाकारिताका हिसाबले यस्ता नाटकको स्तरलाई उँचो भन्न सकिने कुनै आधार भने भेटिन्नथ्यो; कथा, सम्वाद, प्रस्तुति, अभिनय सबै काँचो-अधकल्चो हुन्थे, तर तिनले गाउँको स्थानीय संस्कृतिक जीवनमा अलिकति भएपनि ज्यान थपेका थिए| २०४४-४५ तिर गाउँमा टिभी 'पसेपछि' नाटकका यस्ता स्थानीय उत्पादन पनि बन्द भए|

साहित्य पढ्ने रुचि भएपनि मलाई नाटक पढ्ने बानी भने लागेन| पढ्ने हिसाबले नाटक जहिलेपनि निरसनै लागे|

काठमाडौंमा प्रज्ञा भवन, संस्कृतिक संस्थान वा सभागृहमा नाटकहरु चलिरहेका हुन्थे, तर धेरै हेर्ने मेसो मिलेन| नाटक प्रदर्शन धेरैजसो साँझमा हुने र साँझ छिप्पिएपछि काँठको आफ्नो गूँडतिर फर्कन बस नभेटिने-दुई कुराको संयोगले गर्दा नाटक धेरै हेरिएन| एउटा हातका औंलालाई नपुग्ने रहेछन् मैले यी ठाउँमा हेरेका नाटकहरु| ६ कि ७ मा पढ्दा विद्यालयले प्रज्ञा भवन लगेको थियो 'मालती मंगले' देखाउन| त्यसको केहि समयपछि 'आऊ बसौं पियारी मिर्मिरे झ्यालैमा' भन्ने हास्य-नाटक हेरेको थिएँ| आई. एस्सी. पढ्दा ताका एउटा फ्रेन्च नाटकको नेपाली अनुवाद मंचन 'स्कापांको दाउपेच' हेरेको थिएँ| मैले हेरेका नाटकहरु कुल यत्तिनै होलान्| 

यो हिसाबले, 'सुइना कर्णालीका' (सपना कर्णालीका) मैले हेरेको चौथो नाटक हुनपुग्यो| र मेरो पहिलो गुरुकुल अनुभव पनि यहि बन्यो|

यो कथा (यो यथार्थ) कर्णालीको हो| नाटकका दुई पक्ष छन्- विपना (यथार्थ) पक्ष र सपना पक्ष| विपना पक्षले  कर्णालीको आजलाई देखाएको छ, कहालीलाग्दो गरिबी, चरम जातीय विभेद र कठोर श्रमले भरिएको दु:खी जिन्दगीलाई देखाएको छ| यो त्यहि कर्णालीको कथा हो, जो मेरा लागि अहिलेसम्म यदाकदा कुनै पत्रिकाको पानाभन्दा बढी बन्न सकेको थिएन, मेरो चियापसले बुद्धिविलासभन्दा बढी बन्न सकेको थिएन| गुरुकुलको रिमाल नाट्यघरमा 'सुइना कर्णालीका' हेरेपछि मलाई अब कर्णाली आफ्नै लाग्न थालेको छ, मुटुको नजिक लाग्न थालेको छ| हिजो कर्णालीको पीडा मेरो मुटुमा पस्यो र अब यसले मलाई जीवनभरी चिमोटिरहनेछ| पूरै नाटक टिलपिल आँखाहरु लिएर हेरेँ मैले|

नाटकको  सपनाखण्डमा आफ्ना अपार प्राकृतिक र मानवीय सम्पदाको प्रयोग गरेर समृद्ध र विकसित बनेको कर्णाली राज्यको कथा छ| यस्तो कर्णाली राज्य जो संघीय नेपालका अरु राज्यहरुभंदा धेरै विकास भैसकेको छ, र यस्तो कर्णाली राज्य जससँग आर्थिक सहायता माग्न केन्द्रिय राज्य (केन्द्रिय सरकार) आईरहन्छ| यहि कर्णाली राज्यको समृद्धिबाट लोभिएर संसारका अनेक देशबाट मान्छेहरु यहाँ काम गर्न आउँछन्| कलाकारहरुको अभिनय अत्यन्त जीवन्त र स्वाभाविक लाग्छ| सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ, त्यसमा पनि विशेष, कर्णाली राज्यको मुख्य मन्त्रीको भूमिकामा भएका साथीको अभिनय अझ अब्बल  छ| नाटकको यहि भागमा अहिलेको नेपाली राजनीतिमा मौलाएका भ्रस्टाचार, अपराधीतंत्र र नातावादमाथि गम्भिर प्रहार गरिएको छ र भाषण बढी गर्ने, कामको नाममा माखोपनि  नमार्ने नेपाली नेतागिरीको खेदो खनिएको छ|

नाटक, दलित भएकै कारण कतै बास नपाएर खुल्ला आकाशमुनी चिसो रात बिताउन बाध्य भोका र थकित पुन्नबहादुर विश्वकर्मा र उनकी अबोध सानी नातीनीको दुखद् यथार्थबाट शुरु हुन्छ र उनीहरुको सपनामा प्रवेश गर्छ| उनीहरु निद्राबाट ब्युँझेपछि, गरिबी, विभेद र दु:खका पहाडले थिचिएको कर्णालीमा ब्युँझिएपछि नाटकको अन्त्य हुन्छ| नाटकको शुरुवाती भागको सशक्तताले मनलाई यस्तरी बाँध्छ कि कुनै राजनीतिक कमेडीजस्तो लाग्ने 'सपना' खण्डमा पनि दर्शकले कर्णालीको व्यथालाई भुल्न सक्दैन, उल्टो सबै हाँसो र व्यंग्यले कर्णालीको दयनीय वर्तमान र कर्णालीवासीका पिडालाई अझ गहन रुपले दर्शकको मनमा गाडीदिन्छन् र दर्शक बाहिर हाँसेपनि भित्रभने रोईरहेकै हुन्छ| |             

यो नाटकको कथा त्यति मौलिक र नयाँ नलागेपनि प्रस्तुतिको सशक्तताले नाटकलाई बलियो बनाएको छ| कर्णालीका पिडामाथि थुप्रै कथा लेखिईसकेका छन्, यसका सम्भावनाहरुका कुरा पनि धेरैले गरिसकेका छन्, तर यो नाटकले कर्णालीको विपना (यथार्थ) र यसको सपना (सम्भावना) को खाडललाई त्यसको सम्पूर्ण भयावहताका साथ प्रस्तुत गरेको छ| यो नै यस नाटकको शक्ति, यो नाटकको मौलिकता र यो नाटकको सफलता हो|

नाटकमा  कर्णाली प्रदेशको वर्तमान दुर्गतिका लागि, त्यहाँका श्रमजीवी जनताको घोर दु:खी जीवनका लागि केन्द्र (काठमान्डौ) लाई दोषी देखाईएको छ| निसन्देह यो सत्यको एउटा पाटो हो; तर सत्यको अर्को पाटो भनेको, कर्णाली (वा यस्तै अरु भूभाग) को पीडाको अर्को पाटो भनेको त्यहींका ठूलाठालू लाउकेहरु पनि हुन्| कर्णालीमा पुन्नबहादुर विश्वकर्माहरुमात्र छैनन्, तिनलाई चुस्ने स्थानीय जूकाहरू पनि छन्| एक ठाउँमा जातिभेदको प्रसंग ल्याएर यसलाई थोरै सम्बोधन गरिएको छ, तर त्यतिमै त्यो पाटोको सम्बोधन पुगेजस्तो लाग्दैन| देशमा यतिखेर जारी, क्षेत्रीय समस्याका लागि काठमान्डौलाईमात्रै धारे हात लगाउने र जातीय समस्याका लागि बाहुनलाईमात्रै सत्तोसराप गर्ने  'फेशन'ले बढी प्रभावित गरेको छ नाटकलाई| 

श्रमको  सम्मान गर्ने र सादा जीवन-उच्च विचार राख्ने संस्कृतिले हाँकेको समृद्ध कर्णालीमा तल्लो तहको शारीरिक बलको काम गर्न कुनै पश्चिमी मुलुकको मान्छे आएको देखाईएको छ, कर्णालीको समृद्धिमा झुत्तिएर त्यहाँ काम गर्न आएका 'लाखौं' विदेशीहरुको प्रतिनिधिपात्र हो ऊ| प्रतिनिधिपात्रको यस्तो चयनले शारीरिक श्रम चाहिने काम भनेको तल्लो तहको काम हो र यस्तोमा आफूबाहेककालाई 'दलाउन' सक्नुनै 'समृद्धि'को परिचय हो भनेजस्तो लाग्छ| नाटकले दिन खोजेको मूल सन्देशसंग यो मेल खाँदैन|
----------------------------------------------------------------------------------------------
माथि पनि लेखें, यो मेरो पहिलो गुरुकुल अनुभव थियो| गुरुकुलका बारेमा मैले धेरै पढेको थिएँ, सुनेको  थिएँ तर अहिलेसम्म पुगेको थिइन| 'सुइना कर्णाली'का रुपमा मेरो यो पहिलो गुरुकुल अनुभव अत्यन्त फलदायी रह्यो| अबका हरेक पटकका काठमान्डौ बसाईमा, गुरुकुलमा नाटक मन्चन भैरहेको छ भने, नछुटाई हेर्न जाने विचारमा छु|
-----------------------------------------------------------------------------------------------
(फ्ल्याश नराखी) तस्बीर खिच्ने अनुमति दिईएको थियो| म पनि केहि फोटो र बेला-बेलाका केहि टुक्रा भिडियो खिच्ने विचारमा थिएँ तर नाटकले यस्तरी तन्मय बनायो कि हातहरु क्यामेरातिर बढ्नै मानेनन्| दोश्रो पटक हेर्न गईयो भने खिच्नुपर्ला तस्बीरहरु:)
------------------------------------------------------------------------------------------------
देशका अरु भागमा यो मन्चन पुग्ला-नपुग्ला, तर तपाईं काठमाण्डौमै हुनहुन्छ भने यो नाटक हेर्न नछुटाउनुहोला, पुस २५ सम्म मन्चन हुँदैछ|

4 comments:

  1. यसबारे केहि दिन पहिले पत्रकार किशोर नेपालको लेखमा पढेको थिएँ , आज तपाईंको लेख पढेर धेरै नै कुरा थाहा भयो, हेर्नैपर्ने नाटक रहेछ

    ReplyDelete
  2. first day first show हेर्ने मौका मिल्या'थ्यो.... गज्ज़ब अनुभूतिको पुनरावृत्ति भयो !!

    ReplyDelete
  3. Purushottam GautamJanuary 1, 2011 at 1:08 AM

    बसन्तजी तपाईंले हेरेको नाटक म काठमाडौंमै छु र पनि हेर्न भ्याउँछु कि भ्याउँदिन थाहा छैन ? तर पनि हेर्न जाने रहर भने छ । अली बढी ब्यस्त बनायो काठमाडौंको जीवन भोगाइले । जे होश गुरुकुलमा दुई चार नाटक हेरी सकेको छु मैले । यो भन्दा अघी पनि मैले कर्णाली कै सेरोफेरोमा बनेको नाटक रहर गरेर पनि हेर्न जान पाइन । तर यस्पाली म जसरी पनि जाने प्रयत्न गर्नेछु । तपाईंलाई धेरै धेरै धन्यवाद किनकी तपाईंले सम्झाइदिनु भयो मलाई पनि ।

    ReplyDelete
  4. अनुभव बाँड्नुभएकोमा धन्यवाद ! धेरै चर्चा सुनेको छु, सुइना कर्णालीको बारेमा !

    ReplyDelete