November 14, 2010

ACED 2010, Xian - १

ब्लगमा अनुपश्थित भएको दश दिन भईसकेछ। यसपटकको अनुपश्थिति ब्लग लेख्नै नभ्याउने गरी एकदमै ब्यस्त भएर भने होईन। 

नोभेम्बर ६ देखि १२ सम्म म चीनको सियान (Xian) शहरमा थिएँ। चीनमा यतिखेर ब्लगर, फेसबुक र युट्युब सबै प्रतिबन्धित रहेछन्। प्रोक्सीको सहायताले गरिएको खोल्ने कोशिश पनि काम लागेन। अलिक धेरै समय दिन पनि सकिएन चिनियाँ सरकारको आँखा अझै नपरीसकेको प्रोक्सी खोज्न। 

ब्लग, फेसबुक र युट्युब तिन्टै चलाउन नपाएपछि त ईण्टरनेट भन्ने चिजै किन चाहियो र जस्तो पो लाग्दो रहेछ:) चीनमा यी साईटहरु प्रतिबन्धित भईरहन्छन् भनेर थाहा नभएको पनि होईन पहिला, तर हिँड्ने बेलामा दिमागमा त्यो कुरा आऊँदै-आएन। उल्टो म त "चीन छऊञ्जेल दिनदिनै ब्लग लेख्छु!" भन्ने 'जोगी-कल्पनामा पो मस्त थिएँ:)

म सियानमा Asian Conference on Electrical Discharge (ACED) नाम गरेको एउटा कन्फरेन्समा भाग लिन पुगेको थिएँ। ACED 2010, हरेक दुई वर्षमा आयोजना गरिने ACED को पन्ध्रौं संस्करण हो।  High Voltage Engineering, Dielectric Science, Insulation Diagnosis जस्ता विषयहरुमा केन्द्रित हुने ACED मा  मूलत: यी विषयमा काम गरीरहेका एशिया क्षेत्रका विश्वविद्यालयहरु, अनुसन्धान-संस्थाहरु र औद्योगिक संस्थाहरुको प्रतिनिधित्व हुन्छ। ACED, High Voltage Engineering विषयका प्रमुख एशियाली कन्फरेन्सहरुमध्ये एक मानिन्छ। जापान छँदा गरेका कामहरु समेटिएका दुई पेपरहरु प्रस्तुत गर्नु थियो मलाई।

ACED अहिलेसम्म जापान, चीन, सिंगापुर, कोरीया, ईण्डोनेशिया, थाईल्याण्डमा आयोजन भईसकेको छ, आगामी संस्करण २०१२ मा मलेशियामा हुँदैछ। कार्यक्रममा सहभागिता पनि तिनै देशहरुबाट धेरै थियो। ती देशहरु यतिखेर सम्पन्नता र विकासतिरका सहयात्री हुन्। यतिखेर शायद सबैभन्दा धेरै engineering  र निर्माण कार्यहरु तिनै देशहरुमा भईरहेका छन्। तिब्र गतिको विकासलाई साथ दिन इलेक्ट्रिकल प्रणाली र उद्योगहरुको विकास पनि तिब्र गतिमै भईरहेको छ यि देशमा। तिब्र विकाससंग जहिलेपनि गतिशील अनुसन्धान-संस्कृति जोडिएर  आउँछ। आफ्नो भिमकाय आकार र सामरिक शक्तिका कारण भिन्दै खाले राजनीतिले गर्दा बढी चर्चा चीनको हुन्छ तर यतिखेर समृद्धिकी देवी चीनमा मात्रै होईन समग्र पूर्वी र दक्षिणपूर्वी एशियालाईनै उजिल्याउने क्रममा छिन्। ACED को सहभागिताले पनि यस्तै संकेत गर्छ शायद।

माथि उल्लेख गरिएका सबैजसो देशहरुको आधुनिकता र सम्पन्नतातिरको यात्रा हामीसंगै शुरु भएको हो। यतिखेर उनीहरु कहाँ पुगिसके र हामी कहाँ छौं; तुलना गर्न पनि नसकिने भईसक्यो। दशकौंदेखिको गलत र अकर्मण्य राजनीति र सांस्कृतिक/सामाजिक चिन्तनका कारण हामी झन् पछाडि र झन् पछाडि हुँदै गईरहेका छौं। एशियातिर प्रवेश गरेको सम्पन्नताको यति ठलो लहरले पनि हामीलाई छोएन भने, यतिखेर पनि हामीले आफूलाई विकसित र सम्पन्न बनाउन सकेनौं भने हाम्रोलागि कहिल्यै अवसर आउने छैन शायद।

'तेरो देशमा कतिवटा high voltage lab, कुन-कुन क्षमतासम्मका छन्?' भन्ने प्रश्नको धेरै पटक जवाफ दिईरहनुप-यो। मैले बुझेसम्म हाम्रो देशमा high voltage क्षेत्रमा अनुसन्धान हुन अझै थालेको छैन। हाम्रो राष्ट्रिय प्रसारण लाईन (ग्रीड) को क्षमतालाई १३२ के भी बाट बढाउने कुरा भईरहेको सुनिन्छ अचेल, त्यो हुने भयो भने केहि काम शुरु हुनसक्छ यो क्षेत्रमा। तर हामी नेपाली आफ्नलागि आफ्नै खाले प्राविधिक संरचना बनाउन र त्यसका लागि अनुसन्धान गर्न त्यति चासो राख्दैनौं, अहिलेसम्मका कुनै पनि सत्ताले प्राविधिक-वैज्ञानिक अनुसन्धानलाई अलिकति पनि महत्व दिएको थाहा छैन। हामी अर्काले 'दान'मा जे दियो त्यहि र जस्तो दियो त्यस्तै प्रयोग गर्दिन्छौं। यो स्थितिमा अनुसन्धानले खासै महत्व पाऊँदैन। ग्रिड अपग्रेडको कुरामा पनि यस्तै हुनेछ शायद, सबै काम विदेशीले गर्दिनेछन् र केहि थोरै नेपालीहरुले 'कमिसन' खानेछन्। परिणाम, यो क्षेत्रको हाम्रो क्षमतामा कुनै अभिबृद्धि हुनेछैन, जहाँको तहीँ रहिरहनेछ।

चिनियाँहरुले हामी कन्फरेन्स सहभागीहरुलाई देखाएको Xian High Voltage Apparatus Research Institute जस्तो भब्य high voltage lab बनाउन हामीले अहिल्यै नसकौंला तर विश्वविद्यालयस्तरको अनुसन्धानलाई धान्न सक्ने ठिकैको lab बनाउन भने नसकिने होईन। अझ अलिक लागी पर्ने हो भने त्यस्ता lab मा हाम्रा लागि सहर्ष लगानी गर्दिनेहरु पनि भेटिन्छन्। पहल राज्यले पनि गर्नुपर्दैन, विश्वविद्यालय वा ईञ्जिनियरिङ्ग अध्ययन संस्थानलेनै गरेपनि काफी हुन्छ। तर माथिको उप-कूलपतिदेखि तलको विभागीय प्रमुखसम्म दलीय भागबण्डामा परेर छानिने देशमा यस्तो पहल गर्ने संस्कारको शुरुवात होला भन्ने कल्पना गर्न गाह्रै हुन्छ यतिखेर। सहि ढंगले ब्यबश्थापन भएका अबश्थामा विश्वविद्यालयहरुले देशको अनुसन्धान संस्कृतिलाई नेतृत्व र गति दिन सक्छन्, तर हाम्रा विश्वविद्यालयहरु यतिखेर देशको कुरुप राजनीतिलाई स्खलन गरिने रछ्यान भन्दा बढी बन्न सकेका छैनन्।

अर्को मनले भन्छ, कसैले त्यस्तो ल्याब बनाईदिईहाल्यो भनेपनि १६-१७ घण्टासम्म बत्ती नहुने अबश्थामा त्यसबाट कतिनै उपयोगिता पाउन सक्ला र देशले? आधारभूत भौतिक संरचनाहरु (यातायात, बिद्युत र पानी) को प्रणालीबद्ध र भरपर्दो ब्यबश्था नहुञ्जेल अगाडिका कुराहरु नसोचेपनि हुनेरहेछ। यथार्थमा यातायात, बिजुली र पानीको भरपर्दो ब्यबश्था हुने हो भने बाँकी विकास आफैं आऊँदो रहेछ। १९८० को दशकपछि चीनमा विदेशी लगानीको ओईरो लाग्नुको एउटा मूल कारण उनीहरुका भरपर्दा र प्रणालीबद्ध आधारभूत भौतिक संरचनाहरु हुन्। हामीले पनि भौतिक संरचनालाई त्यसैगरी पक्का बनाउन सकेको भए लगानीले हामीलाई पनि छल्ने थिएन।

ACED को प्रसंगमा अलिक बहकिएछु, क्षमाप्रार्थी छु। सियान शहरमा गरिएको थोरै घुमघामका तस्बीरहरु र तिनका कुरा आगामी भेटमा पस्किने छु। अहिलेलाई यत्तिनै।

तपाईँका दिनहरु शुभ रहुन्।

(क्रमश:)

4 comments:

  1. त्यहि त बसन्त दाइ कता हराउनु भए'छ भनेको त ...कतै चालचुल नि छैन भन्ठान्दै थिए ! चिन जस्तो गणतान्त्रिक देशमा पुग्नु भएको रहेछ र पो !
    माओको देश भन्न नि अहिले मलाइ त सरमै लाग्छ ??? स्वतन्त्रताको उपहास .......ब्लग, फेस बुक र युट्युब लाइ सांग्लो लगाउनु भनेको त !
    अनि सियानको भेलामा भएका कुराहरु शेएर गर्नु भएकोमा धन्यबाद ! हाइ भल्टेज ल्याब जस्तो प्रविधिको विकासको लागि तपाइहरु जस्तो विदत बर्गको पहल नितान्त जरुरि रहेको छ ! किनकी अरु लाइ त कुर्सीको झगडाबाट नै फुर्सद नै हुदैन !

    ReplyDelete
  2. सरको 'बहकाइ' भित्र तितो यथार्थको तस्वीर छ। विदेशीहरुले औपचारिकतावश सोध्ने सामान्य प्रश्नहरु पनि कहिलेकाहीँ साह्रै बिझाउने विषय बन्छन् हाम्रा लागि, तर हाम्रा अधिकांश नेता र निर्णायक हैसियतमा पुगेकाहरुलाई भने त्यस्तो कहिल्यै भएन शायद। अरुको के कुरा, हामीले निम्नदर्जाको ठान्ने गरेको भारतको विहार राज्यको आर्थिक प्रगतिमा त जिब्रो टोक्नुपर्ने बेला आइसक्यो, हामी भने झन्-झन् उँधोमुखी बन्दै छौँ।

    ReplyDelete
  3. वसन्तजी
    सियानमा भएकेा हाइ भेाल्टेज ल्याव गेास्ठीका वारेमा केही कुरा जान्न पाइयेा ।अव सियान सहरकेा वारेमा अलि धेरै कुरा र राम्रा राम्रा फेाटेाहरू केा प्रतिक्षामा छु ।

    ReplyDelete
  4. हार्दिक धन्यबाद यहाँहरु सबैलाई! कार्कीजी, भाग २, ३ (र पछि आउने भाग ४) मा केहि लेखेको छु, हेर्नुहोला।

    ReplyDelete