December 04, 2009

एउटा अजम्बरी त्रिवेणी

यो गीत मलाई पहिलो पटक सुनेबाटै साह्रै मनपर्ने हो। त्यसो त एकचोटि सुनेपछि यो गीत मन नपराउने नेपाली को नै होला र!

भट्टजी जापानमै हुँदासम्म नागोयाका दशैं र नयाँ वर्षका कार्यक्रमहरु र अन्य केहि अवसरमा उहाँले गाउनुहुन्थ्यो यो गीत; हरेक पटकका भेलाहरुमा "अल्झेछ क्यारे पछ्यौरी----" हाम्रो फर्माईश र "वन्स मोर!" मा पर्थ्यो।

तर नेपाल छोडेपछिको यति लामो समयसम्म स्वर-सम्राटकै स्वरमा सुन्न भने मेसो परेन। हात परेका कुनै पनि संग्रहहरुमा यो गीत छैन, आफू पुगेका नेपाली गीतहरुको अनलाईन संग्रहमा पनि यो भेटिएन।

विगत डेढ महिना यता झन् यो गीत बिहान उठेदेखिनै मेरो मनमा गुञ्जिन थालेको छ, अनि दिनभरि गुञ्जिरहन्छ। यो गीतका पछिल्ला शब्दहरु बिर्सिसकेको थिए र मेरो मनको गुनगुनाहट 'सल्लाझैं आमा----' मा पुगेर रोकिन्थ्यो।

थाहा छैन किन हो, यो गीत सम्झेपछि मलाई एउटा अत्यासलाग्दो उदासी र बेचैनीले घेर्न थाल्यो र मेरा आँखाहरु डिलसम्मै भरिन थाले। मेरा जनम-जनमका पिडाबोध र उदासी खप्टिएर अचानक एकमुष्ठ ममा पसेजस्तो!

र मैले यो गीत खोज्न थालें गुगलमा, तर एम रानाजीको Imeem मा बाहेक अन्त भेट्न सकिन। धन्यबाद एम रानाजीलाई!






पूरा गीत यहाँ सुन्न सक्नुहुन्छ; aljhechha kyare pachhe.mp3 - narayen gopal

इण्टरनेटमा यो गीत खोज्ने क्रममानै थाहा पाएँ यो गीतका रचनाकार मेरा प्रिय कवि भूपि शेरचनज्यू हुनुहुँदोरहेछ, पहिला रचनाकारमा ध्याननै दिएको रहेनछु मैले।

कति भाग्यमानी यो गीत, जसले भूपिको कलमबाट जन्मिने, गोपाल योञ्जनको शिल्पमा सजिने र नारायण गोपालको स्वरमा आकाशमा उडने सौभाग्य पायो! तीन अमर नदीहरु! र तीनको संगम-एउटा अजम्मरी त्रिवेणी!

अचेल घरमा यो गीत धेरै-धेरै बज्न थालेको छ र मेरा आँखाहरु झन्-झन् भरिन थालेका छन्।

लाग्छ, एक दिन यो गीत सुन्दै म डाँको छोडेर रुनेछु धेरै बेरसम्म। धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्दाको नीरिहतामाथि, कति कुरा गर्न सक्ने हुँदा-हुँदै पनि नगर्दाको पश्चात्तापमाथि र धेरै-धेरै आफ्ना विवशताहरुमाथि!
*********************************************************
आज स्वरसम्राटको पुण्यतिथि! उन्नाईस वर्ष अघि पूरै नेपाल रोएको दिन!

स्वरसम्राटमा हार्दिक श्रद्धाञ्जली!





*********************************************************
र यस्तै अजम्बरी कृतिहरु दिएर, हामीलाई नेपाली हुनुको अस्तित्वबोध-नेपाली हुनुको गर्वबोध दिनुहुने हिजो, आज र भोलिका समस्त श्रष्टाहरुमा सादर धन्यबाद!

15 comments:

  1. this song is very nice.
    स्वरसम्राट स्व. नारायण गोपालमा हार्दिक श्रद्धान्जली!

    ReplyDelete
  2. एउटा अजम्मरी त्रिवेणी नै हुन् उनीहरु ! स्वरसम्राट मा हार्दिक श्रद्धान्जली !

    ReplyDelete
  3. मलाई पनि निकै रुचेको भाका हो यो । म त वैरागी पारामै खाना बनाउँदा तथा कतै टहलिँदै गर्दा अन्जानमै गाइरहेको हुँदो रहेछु । गीत नै यस्तो छ ।
    'मलाई नसोध, पोखिएर घामको झुल्का, तिम्रो जस्तो मुटु .. ले पनि कब्जा गरेका छन् धेरैका मन र ओठहरू ।
    भक्कानोमा पगाल्न सक्ने यस्तो गीत र आफ्नो भावदशा बाँड्नुभयो, निकै आत्मीय लाग्यो । रुनुहोला, तर हल्का हुनलाई मात्र ।
    स्वर सम्राट लगायत प्रिय भूपी र गोपाललाई पनि यहीँनेर श्रद्धासुमन अर्पण गर्छु ।

    ReplyDelete
  4. यो गीत र स्वरसम्राटको स्वर मननपराउने नेपाली शायदै होलान्.....हार्दिक श्रद्धाञ्जलि स्वरसम्राटमा...

    ReplyDelete
  5. मलाई पनि हुरुक्कै पार्ने मध्येको गीत हो यो । 'सल्लाझैं आमा....' भनिएको ठाउँले भन्दा धेरै मलाई 'दिनभरी काग कराईरहयो बेलको ठुटामा..' भनिएकोले बिरक्त्याउंने गर्छ । त्यसो भएको सायद कागको बोलीलाई सगून र अपसगून भनिने भएर पनि हुन सक्छ ।

    हार्दिक श्रद्धाञ्जली छ मेरो पनि स्वर सम्राटलाई !

    ReplyDelete
  6. स्वर सम्राट प्रति मेरो हार्दिक श्रदान्जली ।

    नेपाल छंदा खासै नसुने पनि, बिदेशमा म अत्याधिक मात्रा मा नेपाली आधुनिक गीत सुन्ने गरेको छु । नारायण गोपाल त्यो आधुनिक युगको एक अमुल्य रत्न हुन । गीताकारमा खासै धेरै ध्यान नभए पनि, पहिले कस्तो थियो र आहिले के छ भन्ने कुरो आजकालको गीत सुने प्रष्ट हुन्छ । गीतलाइ तुरुन्तै हिट बनाउने काम स्वर र संगितले गर्ला, तर अजम्बरी बनाउने काम गीतको लेख-रचनाले गर्छ जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  7. कालजयी स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जली!

    पढ्दै जाँदा भावना छचल्किए भित्र कतै मेरा पनि।

    ReplyDelete
  8. स्वरसम्राट नारायण गोपालप्रति हार्दिक श्रद्धाञ्जली छ मेरो । गीत सार्है मुटु छुने छ है ।

    ReplyDelete
  9. स्वरसम्राटमा हार्दिक श्रद्धाञ्जली!

    ReplyDelete
  10. स्वर सम्राट प्रति मेरो पनि हार्दिक श्रद्धाञ्जली। साह्रै राम्रो छ है गीत।

    ReplyDelete
  11. नेपाली सांगीतिक जगतमा स्वर्णिम युग भित्र्याएर जाने, स्वरसम्राट नारायण गोपाल अजम्बरी गीत बनेर आज सबै नेपालीको मन मस्तिष्कमा गुन्जिरहेका छन, यसरि नै गुन्जिरहनेछ्न युग युग सम्म -- हार्दिक श्रद्दा सुमन !

    ReplyDelete
  12. निकै राम्रो पोस्ट

    ReplyDelete
  13. बसन्त जी नमस्कार
    तपाइको न्यानो बाटोमा मेरो फेरी आगमन भएको छ ! नारायण गोपाल को उन्नाइसौ पुण्य तिथिको अवसरमा हार्दिक श्रदान्जली !!

    ReplyDelete
  14. निकै समय को अन्तरालमा यसो फुर्सद मिलाएर तपाईको ब्लगमा बसिवियालो गर्न छिरेको त निकै सुमधुर गीत पो
    सुन्न पाए - धन्यबाद - बसन्त जी !

    ReplyDelete
  15. सबैलाई हार्दिक धन्यबाद!

    यहि प्रसंगमा फेसबुकमा दीपक खड्का दाइसंग पनि कुरा भएको थियो। यहि गीतको चर्चा गर्नुभएको रहेछ उहाँले केहि समय पहिला। त्यहाँ अलिक राम्रो ध्वनि गुणस्तरमा राखिएको छ यो गीत। त्यता लाग्ने सूत्र यो हो: http://www.facebook.com/posted.php?id=539880861

    स्वरसम्राटमा फेरि एकपटक हार्दिक श्रद्धाञ्जली!

    ReplyDelete