March 22, 2009

यसपाली त अचम्मै भयो गाँठे!

यसपाली त अचम्मै भयो गाँठे!

भन्न त हरेक साल सबैले ‘यसपाली त अचम्मै भयो गाँठे!’ भन्छन् तर यसपाली त अचम्मै भयो गाँठे! डिसेम्बर, जनबरी र फेब्रुअरीमा खासै जाडो भएन। हिऊँ पनि ठ्याम्मै परेन यसपाली। उत्तरी जापानजस्तो धेरै हिऊँ नपर्ने भएपनि बर्षमा दुईचोटि, कम्तिमा एकचोटि त राम्रैसंग पर्थ्यो। मार्चको संक्रान्तिबाट भने बेस्करी जाडो भयो दुई हप्ता जति। गएको हप्ताभरि फेरि साह्रै काइदाले घाम लाग्यो, तापक्रम अप्रिलको अन्त्य वा मे को शुरुवातमा हुनेजति भयो भन्थे रेडियो-टेलिभिजनका ठाँडाहरु। ‘लौ अब गर्मी आएछ’ भनेर बाक्ला लुगा थन्काईयो। अब आफू त अलि बढी जाडो हुनेमा परियो, लुगामाथि लुगाका पत्र हुनाले ‘प्याज’ को नाम पाईएको छ घरमा:) प्याज छोडाउन थालियो भनौं न अब:)

प्याजका पत्र अलिक के घटेका थिए हिजोबाट बेस्सरी पानी पर्न थाल्यो र फेरि जाडो बढेको छ। प्याज फेरि चाँडैनै बाक्लै डल्लो हुने छाँट देखिया’ छ:)

विश्व तापमान वृद्धिलाई प्रमाणित गर्न पातलिने-बाक्लिने मेरो प्याज स्वरुपनै काफी छ शायद:)


यसपालीको बहुलाहा मौसमले गर्दा साकुरा भने चाँडै फूल्ने भएछन्। सामन्यभन्दा एक हप्ता पहिला हुने देखिएको छ रे। साकुरा फक्रिएको बेला पूरै जापान फक्रिएजस्तो लाग्छ। सेताम्मे साकुराको बोटमुनि बसेर खानपीन/हाँसो-रमाइलो गर्ने कामलाई ‘हानामी’ भनिन्छ। ‘हानामी’ जत्तिकै छोटो र सटिक तर ब्यापक अर्थ बोकेको शब्द अरु भाषामा शायदै होलजस्तो लाग्छ मलाई। ‘हानामी’ को सोझो अर्थ ‘फूल हेर्नु’ हो, संस्कृतबाट शब्द-संयोजन गर्दा ‘पुष्प-दर्शन’ धेरै नजिक पुग्छ ‘हानामी’को, तर ‘हानामी’को जस्तो दार्शनिक तौल अझै बोक्न नसकेको लाग्छ, हामीसंग यस्तै परम्परा नभएर होला।

जापानीहरुको बाँच्ने शैली अत्यन्त दार्शनिक लाग्छ मलाई। अत्यन्त तन्मयता र महत्वका साथ साकुरा फूलेको कुरालाई नियाल्छन् उनीहरु। जेन परम्पराको प्रादुर्भाव भएको मुलुक भएकाले होला, उनीहरुका सबै चाडपर्व र परम्पराहरुमा कतै न कतै जेन-दर्शनको झझल्को आऊँछ। साकुरा ढकमक्क फूल्नु शायद मान्छेले चेतनाको शिखर चुम्नु या बुद्धत्व प्राप्त गर्नुको प्रतीक हो शायद। केहि दिनमै यी फूलहरु झर्छन्, जीवनको क्षणभंगुरता हामीलाई अर्थ्याऊँदै। ढकमक्क साकुराले सेताम्मे भएको रुखमुनि बसेर आनन्द मनाउनु क्षणभंगुर जीबनमा साकुराजस्तै पूर्ण रुपमा फूलेर-फक्रेर बाँच्न र मर्न चाहने मानिसको चाहनाकै निकास हो।

जापान उत्तर-दक्षिण लमतन्न सुतेको लामो देश हो। जति दक्षिण गयो उति गर्मी, जति उत्तर गयो उति जाडो। साकुरा फूल्ने समय पनि दक्षिणबाट शुरु भएर बिस्तारै उत्तरतिर लाग्छ। त्यसकारण ‘हानामी’को समयपनि बिस्तारै उत्तर लाग्दै आऊँछ। साकुरा फक्रिँदै आउने यहि क्रम हेर्दा पनि असाध्यै रमाइलो लाग्छ मलाई।

अब दश-बाह्र दिनमै नागोयामा पनि ‘हानामी’ आइपुग्छ।

'हानामी’ मनाएपछि “यसपाली त गज्जबले मनाइयो गाँठे!” भनेर लेखुम्ला क्यारे। मेसो मिले:)

9 comments:

  1. मौसम त गडबढ नै छ सबैतिर, तर अचम्म सँग ले यहाँ (नेपाल) र त्यहाँ (जापान) मा एकैचोटि पानी परेछ । यहाँ २-३ भयो, सार्रसिर्र पानी पर्न थालेको ।

    "रेडियो टेलिभिजनका ठाँडाहरु" - निकै रिस उठेजस्तो छ, बोलीचालीमा राम्रै लागेपनि "ठाँडाहरु" भनेर पढ्दा अलि कता कता, दाँत मा ढुंगा लागेजस्तो हुनेरहेछ ।

    "हानामी" मनाउनुहोस्, राम्रोसँग ले ! अचम्मै भा' हो र ?
    हाहाहा

    ReplyDelete
  2. छोटो टाँसो भए पनि धेरै कुराको जानकारी पाईयो यो टाँसोबाट । जापानीहरुको जिवन शैलीमा अझै पनि जेन परम्पराको दार्शनिक छाप बाँकी रहेको थाहा पाउँदा भने रमाईलो पनि लाग्यो ।

    अनी शुभ हानामी!! पनि

    ReplyDelete
  3. ए गाठे ! सब -ऋतू (नियम ) बिपरीत चल्न थालेकै हुन्त । मान्छे त मान्छे ! ! !अब त ... प्राकृतिक अबस्था पनी ..ले पनी जात्रा ल्याउन थाले जस्तो छ .. तर यता कतार तीर त त्यस्तो पानी खोई पर्ला की नपर्ला अली अली त धुम्मिएको त छ
    ... तर परी हाले पनी बर्षमा एक पल्ट मात्र हो ... |त्यो भन्दा बढी त रेकड़ नै थाहा छैन ।

    ReplyDelete
  4. हानामी को शुभकामना...

    क्लाईमेट चेन्जले गर्दा नै होला हाम्रो तीर पनि मौसमको ठेगान छैन... कहिले तापक्रम माईनसमा हुन्छ कहिले एकैचोटि बढेर २५/३० डिग्री सेल्सियस सम्म पुग्छ |

    ReplyDelete
  5. हानामीको धेरै शुभकामना !! हाम्रामा पनि मज्जाले पानी परो हिजो अनि अलिअलि आज पनि !! जाडो छ !!

    ReplyDelete
  6. जापानी हावापानी र पर्यावरणसँगै प्रचलनबारे थाहा पाइयो, यो भन्दा हामी पढ्नेको लागि अरू हानामी के हुनुपर्‍यो र ? साकुराको त कुरै मात्र सुनियो सधैँ, केही छनक पाइएन । हाम्रो यता त 'हानामी'भन्दा पनि समग्र सुनामी पो छ ! राम्रोसँग सँगाल्नुहोला हानामी-मज्जा । पढ्न पनि पाइयोस् ।

    ReplyDelete
  7. साच्चिकै मजाको लेख जस्तो लागे पनि यथार्थमा मलाई भने गम्भिर लाग्यो विश्वमा बढ्दै गएको तपमान ब्रिदीले बातावरणिय असर नराम्ररी पुराएको छ। अब त विश्वमा २ वटा ऋतु मात्र बाँकी छ जस्तो लाग्छ मलाई त आजभोलि जाडो र गर्मी। अक्टोबरको शुरुदेखी शुरु भएको जाडो अझै सकिएको छैन। भर्खर बसन्त ऋतु लागेको भन्छन तर केही दिन पछी घामले सेक्न थाल्छ गर्मी शुरु भइहाल्छ। यदी यस्तै हो भने फशाद परेन त ?
    लौ बशन्त जि हानमी राम्रोसँग मनाउनु। आशा छ तपाईंका हानामी सम्बधी अनुभबहरु चाडै नै पढ्न पाइने छ।

    ReplyDelete
  8. ढिलै भएपनि मेरो पनि हानामिको शुभकामना ।

    ReplyDelete
  9. सबैलाई हार्दिक धन्यबाद!

    मौसम बहुलाउने क्रम जारी छ; झन-झन जाडो हुँदैछ! हानमीलाईनै गोल्खाडी बनाउने हो कि जस्तो पो देखिँदैछ:) अचम्म हुँदै गए फेरि लेखुम्ला।

    आकार भाइ, कुरोकन्थोलाई यस्सो झर्रो स्वाद दिऊँ भनेर मात्रै 'ठाँडाहरु' शब्द प्रयोग गरेको हो, रेडियो-टेलिभिजनसंग रिस उठेर हैन। अब मौसम बहुलायो भनेर रेडियो-टेलिभिजनसंग रिस पोख्ने कुरो पनि होइन, के दोष र ती ठाँडाहरुको:)

    ReplyDelete