August 15, 2010

पहिलो नजरमा

अर्को एउटा बढी सोधिईने प्रश्न हो, "यति लामो समय जापान बसेर आएपछि नेपालको धेरै कुरा एकदम फरक लाग्छ होला, सबैभन्दा बढीचाहिँ के फरक लाग्छ?" जापानजस्तो अति विकसित र नेपालजस्तो अति कम विकसित देशलाई दाँज्दा हजारौं भिन्नताहरु भेटिन्छन् भन्ने कुरामा प्रश्न सोध्ने महानुभावहरु सचेत हुनुहुन्छ, उहाँहरुको चासो तुरुन्तै देखिने, एक नजरमै अनुभव हुने कुराहरुको बारेमा हो।

त्यस्ता प्रश्नहरुको जवाफमा एउटा लामो सूचिनै बन्नसक्छ। मलाई चिमोट्नेमध्येका एक-दुई कुराहरु राख्ने जमर्को गर्दैछु।

छक्क पार्ने, निराश बनाउने अनुभवको शुरुवात हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेबाटै शुरु हुन्छ। विमानस्थल सानो-ठूलोको कुरो त्यति महत्वको कुरो होईन तर हाम्रो विमानस्थल फोहर, अब्यबश्थित र अँध्यारो छ। देशको एकमात्र आकाशे ढोकाका इमिग्रेशन लगायतका सबै भागहरुलाई राम्ररी उजिल्याए पहिलो पटक नेपाल पस्ने विदेशीले पनि नेपालको उज्यालै छवि मनमा राख्ने थिए। अहिले हाम्रो विमानस्थल र इमिग्रेशनले नेपाल पहिलो पटक पस्ने विदेशीलाई मलिन र चिसो छवि दिँदो हो नेपालको।
इमिग्रेशनमा देश पस्नेहरुको पासपोर्ट-भिसा आदि जाँच गरीरहेका मान्छेहरु बाहेक अर्को एउटा समूह पनि देखिन्छ जहिले पनि। त्यो समूहको काम लाम लागेर उभिएका आगन्तुकहरुको अनुहार अर्थ न बर्थसंग क्वार्क्वार्ती हेरेर उभिईरहनु हो। तिनको अरु कुनै काम देखिँदैन, फेरि तिनमा न कुनै फुर्ति देखिन्छ, न कुनै उत्साह। हाम्रो देशको जासूसी संयन्त्रमा काम गर्ने मान्छेहरु हुन् भनौं भने जासूसी त्यसरी गरिन्न। उसैपनि हात्ती पनि भित्र-बाहिर गर्न सक्ने विमानस्थलको रुपमा कुख्याति कमाएको विमानस्थल छ हाम्रो। विमानस्थलको 'ओभरस्टाफिङ' को नमूना पात्रहरु हुन् ती। हाम्रो देशका सबै निकायहरुमा गाँजिएको छ यो 'ओभरस्टाफिङ' को रोग। वास्तवमा, हाम्रो देशको अहिलेको कर्मचारी संख्याको आधालाई हटाएपनि अझै चाहिनेभन्दा धेरै बाँकी रहन्छन्।

थोरैमात्र पनि गतिलो सामान लिएर पसेका, विशेष गरी विदेशमा श्रम गरेर फर्किएका नेपाली दाजुभाई-दिदीबहिनीहरुले भोग्ने झञ्झट र मानसिक यातनाको कुरो छँदैछ। इमिग्रेशनबाट बाहिर निस्कनेबित्तिकै देखिने ट्याक्सीहरुको 'जुलुश' र तिनको तानतानले जो कोहि आगन्तुकलाई हैरान बनाऊँछ। दुनियाँको कुनै पनि विमान्स्थलको ट्याक्सी प्रणाली यति भद्रगोल छैन होला। यसलाई प्रणालीबद्ध देख्न पाउने कहिले होला हामीले?

विमानस्थलबाट बाहिरिनेबित्तिकै देख्न थालिने फोहरको थुप्रो र दुर्गन्ध हाम्रो देशको, विशेष गरी हाम्रो राजधानी शहरको पहिचान बनिसकेको छ। हाम्रा शहरहरुको ध्वनि-प्रदूषण पनि सीमाहीन छ। सात वर्ष जापान बस्दा मैले गाडीको हर्नको आवाज सात पटक भन्दा बढी सुनिन होला। ब्यबश्थित ट्राफिक बत्ती प्रणाली र त्यसलाई रिठ्टो नबिराई अनुशाशनपूर्वक पछ्याउने जापानी बानीका कारण हर्नको आवश्यकतानै नदेखिएको होला। बाबा नाम गरेका एकजना जापानीले हामीलाई ट्राफिक बत्तीमा बानी लगाउने कोशिश गरेका थिए केहि समय पहिला। ट्राफिक बत्तीको निर्देशनलाई नटेर्ने नेपालका केहि 'ठूलाबडा' लाई समेत समातेर तह लगाउने कोशिश गरेका थिए तिनले। के के भएर ती बाबा पनि फर्किए, अनि हाम्रा सडकहरुमा राखिएका ट्राफिक बत्तीलाई पनि हामी नेपालीले बिर्सियौं। तिनले सडक ओगटनुबाहेक अरु केहि योगदान दिन सकेका छैनन्। हाम्रो समाजको अनुशाशनहीनता झन्-झन् बढ्दैछ र अनुशाशनहीनता बढ्दै जाँदा ध्वनि-प्रदूषण र अरु प्रदूषणहरु बढ्नु स्वाभाविक हो।
यी एक-दुई कुराहरु त उदाहरणमात्रै हुन्। वास्तवमा हाम्रा सबैजसो समस्याका जगमा हाम्रो अनुशाशनहीनता उभिएको छ।

स्वभावकै कुरा गर्दा, काम गर्ने कुरामा हामी नेपाली अल्छी छौं। कसैलाई चित्त नबुझ्न सक्छ यसो भन्दा तर सत्य यहि हो कि हामी नेपालीहरु-सबै तहका, सबै पेशाका- तुलनात्मक रुपमा कम काम गर्छौं। मेहेनत गरेर कमाउनेलाई मूर्ख भन्ने र भ्रष्टा्चार गरेर, ठगेर कमाउनेलाई बहादुर ठान्ने सामाजिक मान्यता छ हाम्रो। हाम्रो समाजमा श्रमको सम्मान हुने दिन अझै शुरु भईसकेका छैनन्।

एक नजरमै झ्वाट्ट देखिने केहि कुराहरु भए यी। कति कुराहरुका बारेमा यति थोरै लेखेर नपुग्न सक्छ। केहि कुरामा मनमा पाकिसकेका छन्, ती ब्लगमा अर्लिने छन् बिस्तारै। आजलाई यत्तिनै।

सबैको जय होस्!

6 comments:

  1. कुरो सहि हो. यस्ता कुरा त धेरै छन्. आशा गरौ नराम्रा कुराहरु परिवर्तन होला कि.

    ReplyDelete
  2. दाई तपाई को लेख र खगेन्द्र संगरौला को लेख माँ उस्तै झलक पौछु येसरी संधै नकारात्मक कुरा मात्रै खोताल्नु भयेननी कांडा हरुको बिचमा हुन्छ नि गुलाबको फूल हैनर ? ,गुलाब लाई नियाल्ने कोसिस गर्नु पर्यो
    सुदीप पन्त

    ReplyDelete
  3. Something is better than nothing. Until there is something there is a hope. So rather than being bothered about it lets step a step forward to change it......

    ReplyDelete
  4. बसन्त दाइको लेखाइलाइ सलाम गरे । यो ट्याक्सीको जुलुस र झोला खोस्नेको तातीले बिदेशबाट आउने मात्र हैन आन्तरीक उडान भरेर आउने यात्रुहरुलाइ पनि हैरान पारेका हुन्छन । कहिले होला हामी नेपालीको बुद्दिमा बिर्को उघ्रने ?

    ReplyDelete
  5. प्रतिकृया र सुझावहरुका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete