May 16, 2020

के यो एउटा मास हिस्टेरिया हो??

नेपाल सरकारले घरबन्दी (लकडाउन) लाई फेरि थप गर्ने लक्षण देखाएको छ । तर लकडाउनमा जनताको आधारभूत आवश्यकताको सम्बोधन गर्न भने सरकार चरम असफल भएको छ । यो सरकारसंग लकडाउनका नाममा लकडाउन बाहेक अरु कुनै दृष्टिकोण देखिन्न ।

नेपालको जुन 'अधमरो' शैलीको परीक्षण प्रकृया छ, त्यसका कारण अब दुई-तीन वर्षसम्म संक्रमितहरु बढीरहेको देखिनेछ । जनता घरमा थुनिएको दुई महिनाको अवधि सरकारले घृणित राजनीतिक चलखेल र भ्रष्टाचारी गतिविधिमा खेर पाल्यो। त्यतिखेर परीक्षण धेरै गरिएको भए अहिलेसम्न धेरै कुरा स्पष्ट भइसक्ने थियो ।

कोभिड-१९ नाम दिइएको संक्रामक रोगको कारक भाइरसको संक्रमण गति रोक्नका लागि भन्दै गत २-३ महिना संसारका धेरै देशहरु लकडाउनमा गए । अहिले आएर हेर्दा मलाई कहिलेकाहिँ यो कतै एउटा विश्वव्यापी मास हिस्टेरिया त होइन जस्तो पनि लाग्छ । भविष्यमा यो कालखण्डका हामीलाई हेरेर मान्छेहरु हाँस्नेछन् जस्तो पनि लाग्छ । वा भाइरस नयाँ भएकाले त्यसको 'चरित्र बुझ्न' लिइएको समयका रुपमा पनि लेलान् ।

चीनको उहानमा पहिलो पटक संक्रमण देखिएको र त्यहाँ कडा लकडाउन गरिएकाले दुनियाँले त्यसकै सिको गर्यो । तर उहान विशाल चीनको एउटा शहरमात्र भएकाले उनीहरुले त्यसलाई सही व्यवश्थापन गर्न सके होलान् । नेपालजस्ता देश भने देशव्यापी लकडाउनमा छन् र यसले हामीलाई नराम्ररी थला पारेको छ ।   

यतिखेर आइपुग्दा, भ्याक्सिननै नबनेपनि, भाइरसका बारेमा चाहिँ दुनियाँलाई धेरै थाहा भइसकेको छ । संक्रमण हुनासाथ मान्छे मरिहाल्ने जस्तो त्रासको वातावरण बनाइएएको छ नेपालमा । संक्रमित मध्ये धेरै उपचारपछि निको भइसकेका छन्, नेपालमा मात्र होइन, संसारभरिनै । संक्रमणको दर उमेर अनुसार र शारीरिक स्वास्थ्यको अवश्था अनुसार पनि फरक छ । ज्येष्ठ नागरिकहरु र पहिलेबाटै कुनै रोग भएकाहरुमा संक्रमणको असर बढी घातक हुने देखिएको छ । 

फेरि, यतिखेर संसारभरि जो कोरोनाका लारण मरे, ति मध्ये कतिमा पहिल्यै अरु स्वास्थ्य समस्या थिए भन्ने तथ्याङ्क राम्रोसंग आइसकेको छैन, त्यो आएपछि शायद त्रासको मात्रा केहि कम होला ।

त्यसैले, अब यो समस्यासंग लड्न लकडाउनका नाममा लकडाउन थपेर जनजीवनलाई थप त्रसित बनाउनुभन्दा पनि एउटा व्यवश्थित उपचार प्रणालीमा जानु जरुरी छ । बृद्ध-बृद्धा र स्वास्थ्य समस्या भएको जनसंख्यालाई भिडभाडबाट जोगाउने, अरु स्वस्थ जनसंख्याले पनि आवश्यक भौतिक दूरीको पालना गर्ने र आफ्नो जीवनशैलीमा आवश्यक परीवर्तन गर्ने र राज्यले परीक्षण, आइसलेसन, उपचार र कन्ट्याक्ट ट्रेसिङलाई जारी राखीरहने बाटोमा जानु पर्छ । यो संगै जनताको दैनिकीलाई क्रमश: सहज बनाउँदै जानु अति जरूरी छ । यो भाइरस लकडाउन गर्दैमा बिलाएर जाँदैन, भ्याक्सिननै बने पनि बिलाएर जाँदैन । अरु थुप्रै भाइरसहरुजस्तै यो  भाइरस पनि लामो समयसम्म, शायद सधैंभरि मानिसको वरिपरि रहिरहने निश्चित छ । त्यसैले यससंग जुध्ने रणनीति पनि दिर्घकालीन हुनुपर्छ ।

विश्वका धेरै विकसित देशहरु लकडाउनलाई खुकुलो पार्दै दैनिकीलाई सामान्य बनाउँदै जाने तर नेपालजस्ता तन्नम देशहरु भने सधैं यसैलाई साध्य मानेर थुनिइरहने हो भने हाम्रो आर्थिक हैसियत कता पुग्ला । अहिलेको लकडाउनले अविकसित देशहरुको अर्थन्तन्त्रको विगत २५ वर्षको उपलब्धिलाई सिध्याउने प्रक्षेपण आइसकेको छ, अझै यहि शैलीमा लम्बिरहने हो भने कति वर्षसम्मका लागि हाम्रो ढाड भाँचिने हो भन्न सकिन्न ।   

No comments:

Post a Comment