[आफू कार्यरत क्याम्पसमा जारी अराजकताका बारेमा एउटा सानो लेख लेखेर पोखराको स्थानीय दैनिक "आदर्श समाज"लाई मेल गरेको थिएँ, फागुन १३ गते। समसामयिक विषयवस्तु भएकाले छिट्टै छापिएला भन्ने लागेको थियो। ६ दिनसम्म नछापिएपछि लेखलाई अझ मिलाएर र प्रिण्ट गरेर कार्यालयमै गएँ। 'यूनिकोडमा लेखिएकोले होला, प्रीतिमा पठाएको भए छापिन्थ्यो होला' भन्ने जवाफ मिल्यो कर्मचारीहरुबाट। मैले प्रिण्टनै छोडिदिएँ त्यसपछि। '१-२ दिनमै नछापिए यसको कुनै अर्थ नहुने हुँदा सकेसम्म चाँडै छापिदिने' अनूरोध गर्दा कार्यालयका कर्मचारीले सम्पादकको मोबाईल नम्बर दिए र उनैसंग कुरा गर्न भने। साँझमा सम्पादकसंग कुरा गर्दा 'हामीकहाँ त्यस्ता लेख सैयौं आउँछन्, त्यसैले चाँडो छापिँदैन' भने। त्यति जवाफ पाईसकेपछि अरु कुरा गर्न मन लागेन। अहिलेसम्म छापिएको छैन होला। त्यता छापियोस्, नछापियोस; यता भने तपाईँको लागि पस्कदैछु त्यो लेख।]
बन्द क्याम्पस, दंग हामी
१० गते मंगलवार दिऊँसो। पढाउनु थियो, पढाउन भनेर गईयो, तर कक्षामा विद्यार्थीहरु थिएनन्। सबै नआए पनि केहि त आएकै होलान् भनेर पुगेको थिएँ म। हुनत अघिल्लै दिन केहि विद्यार्थीहरुले ‘सर, आधीभन्दा कम विद्यार्थी हुँदा-हुँदै पनि पढाउने होईन नि!” भनेर ‘खबरदार’ भनिसकेका थिए, तैपनि पुगेको थिएँ; तर कक्षाकोठामा मूसो पनि थिएन। कक्षाकोठामात्रै होईन, पूरै क्याम्पस परिसर सूनसान थियो। बिभिन्न विभाग र कार्यालयहरुका ढोका खुलेका थिए तर भित्र कोहि पनि थिएनन्। क्याम्पस सूनसान खण्डहर जस्तो लाग्थ्यो। स्ववियुले आयोजना गरेको खेलकूद कार्यक्रमका कारण पठनपाठनमा अलिअलि असर पर्ने अनुमान त सबैको थियो, तर यस्तरी ‘ठप्प’ नै होला जस्तो भने लागेको थिएन। फेरि स्ववियू र प्रशाशनका बीचमा ‘पढ्न चाहनेलाई पढ्न दिने’ सहमति भएको हल्ला सुनिएको पनि थियो। पठनपाठन नहुने भनेर प्रशाशनले कुनै सूचना टाँसेको पनि थिएन।
सूचना त्यहि दिन साँझ बल्ल टाँसियो, शुक्रवारसम्म पठनपाठन बन्द गरिएको छ भनेर।
उसो त पश्चिमाञ्चल क्याम्पस ठप्प हुनु कुनै नौलो कुरो होईन; अझ देशकै सबै क्याम्पसहरु, विश्वविद्यालयहरु बेला-बेला ठप्प हुनुपनि कुनै अनौठो कुरो होईन, हाम्रो राष्ट्रिय संस्कृति बनीसकेका छन् यस्ता कुराहरु। राजनीतिले बिगारेको नेपाल नाम गरेको यो देशको नियमित नियति हो यो। पश्चिमाञ्चल क्याम्पस अरुभन्दा अझ एक कदम अगाडि छ; अरु क्याम्पसमा धेरैजसो पढाई हुन्छ र ती यदाकदा ठप्प हुन्छन्, पश्चिमाञ्चल क्याम्पस भने धेरैजसो ठप्प हुन्छ र यहाँ यदाकदा पढाई हुन्छ। यस्तै छ देशको एउटा प्रमुख प्राविधिक शैक्षिक संस्थाको हाल!
विगत केहि महिनालाई हेरे पुग्छ, एकहप्ता भन्दा बढी नियमित कक्षा भएको विरलै होला। एकहप्ता कक्षा भएपछि केहि विद्यार्थीलाई सकसक हुनथाल्छ र तिनका हात चिलाउन थाल्छन्। कुनै अर्को समूहका सदस्यको ‘रामधूलाई’ नगरी तिनको सकसक मर्दैन। (त्यो ‘रामधूलाई’मा कहिलेकाहीँ आफ्नो धूनमा हिँडिरहेको कुनै सोझो नेपाली विद्यार्थीले पनि खुकुरी खान्छ, तर त्यस्ताको कल्ले किन हेक्का राखोस्?!) यस्ता घटनामा कथित ‘राजनीति’ पहिल्यै पसिसकेको पनि हुनसक्छ, नत्र घटनापछि भने घुस्छ-घुस्छ। रामधूलाई’ खानेले क्याम्पस बन्द गराऊँछ, प्रशाशनले ‘आयोग’ बनाऊँछ र वार्ता चलाऊँछ र गोदिने र गोद्ने सबैलाई ‘क्षतिपूर्ति’ दिन्छ। यो ‘गराउने’, ‘बनाउने’, ‘चलाउने’ र ‘दिने’ले क्याम्पसको एक साता खाईदिन्छ। त्यसपछि एकसाता पढाई सुचारु हुन्छ। त्यो एकसाता सकिँदा-नसकिँदै अघिल्लो साता ‘रामधूलाई’ खानेले आफूले पाएको ‘क्रिया’को ‘प्रतिकृया’ दिन्छ। अनि अर्को पक्षले क्याम्पस बन्द गर्छ र ‘गराउने’, ‘बनाउने’, ‘चलाउने’ र ‘दिने’ को नयाँ संस्करण शुरु हुन्छ।
क्याम्पस शान्त हुने समय शायद नियमित जाँच चलेको बेला मात्रै हो। तर ब्याक (पुन: परीक्षा) अवधिभर भने ‘पढाउन नपाईने’ उर्दी जारी हुन्छ ब्याक भएका विद्यार्थीहरुबाट। ब्याकवालाका धेरै समूहले ठाऊँ-कुठाऊँ सूचनै टाँसेर ब्याक-अवधिभरी ‘नपढ्ने-नपढाउने’ आदेश दिएका हुन्छन्। ब्याक नभएका पढ्न चाहने विद्यार्थीहरु डराएर आऊँदैनन्। यहि हो असफलहरुको जमातको दादागिरि!
ब्याक जाँचको बेलामा नियमित कक्षा नलिनु भनेको अर्को वर्षको यहि ताकाको ब्याकको तयारी गर्नु पनि हो भन्ने चेत विद्यार्थीहरुलाई कहिले आउला? अथवा ब्याक परीक्षालाई शनिबार र बिदाको दिनमात्रै लिनेगरी ईञ्जिनियरिङ्ग अध्ययन संस्थानले कहिले ब्यवश्था मिलाउला? पश्चिमाञ्चल क्याम्पसमा पढ्न चाहने विद्यार्थीहरुले ‘पढ्न पाउने’ दिन कहिले आउला?
यस्तै गरी आधी सेमेष्टर सकिएपछि शुरु भएको सेमेष्टरमा अहिले स्ववियूले खेलकूद कार्यक्रम आयोजना गरीरहेको छ। नियमित पढाई भईरहेको अवश्थामा खेलकूदलाई ३-४ दिन वा बढीमा एक हप्तानै पनि छुट्याउनुलाई स्वाभाविक मान्न सकिएला। त्यस्तोमा पनि सकेसम्म थोरै कक्षाहरुलाई बाधा पर्ने गरी, दिऊँसो २ बजेपछिबाट खेल हुने गरी सञ्चालन गर्न सकिन्छ। कहिले के र कहिले के ले पढाईलाई निरन्तर बाधा पारीरहेको यतिखेर भने अझ विवेकशील ढंगले सोचिनुपर्थ्यो। एक महिनाको अवधि लिएर सबै खेलका सेमिफाईनल सम्मका र केहिका फाईनललाईनै शनिवार र सार्वजनिक विदाका दिनहरुमा सञ्चालन गर्न सकिन्थ्यो। फूटबल र भलिबलजस्ता एक दुई खेलहरुका फाईनललाई खेलाएर एक दिन कार्यक्रमको भब्य समापन गर्न सकिन्थ्यो। यसो गर्दा एकदिनको पठनपाठनमात्रै बन्द गरे पुग्थ्यो, अहिलेजस्तो क्याम्पसलाई झण्डै आधा महिना ठप्प पारीरहनुपर्ने थिएन।
अहिलेकै हकमा पनि, दिऊँसोको पढाईलाई बाधा पुगेपनि दश बजे अगाडिका स्नातक तहका सैद्धान्तिक कक्षाहरुमाथि भने ‘दया’ गर्न सकिन्थ्यो, तर त्यति न्यूनतम दया पनि प्रकट भएको देखिएन!
आज १९ गते बिहिवारको मध्यान्ह यो लेख्दासम्म कक्षा भएको छैन। भोलिबाट कक्षा हुनपनि सक्छ अथवा अझै केहि दिन लाग्न सक्छ ‘ओलम्पिक’ सकिन। प्रशाशनले सूचना टाँसेको बिदा उहिल्यै सिध्दिसक्यो। आधा भन्दा बढी विद्यार्थीहरु घरतिर फर्किसकेका छन्। ‘पढ्ने-पढाउनेको टाउको फोर्ने’ भन्दै हिँडेकाहरु भने अझै क्याम्पसमै देखिन्छन्। क्याम्पस कसले र कसरी चलाईरहेको छ? यो ‘अघोषित’ अनिश्चित विदा कहिलेसम्म हो र त्यो सकिएको घोषणा कसले गर्ने? यो चरम अराजकताको अन्त्य कहिले हुन्छ? कहिलेदेखि पश्चिमाञ्चल क्याम्पस मुक्त हुन्छ यस्ता अराजकताबाट?
तर चिन्ता कसैमा देखिदैंन। यस्तो लाग्छ, क्याम्पस ठप्प छ र हामी सबै दंग छौं। प्राध्यापकहरु दंग छन्, किनभने पढाउनु परेको छैन, नपढाएपनि अतिरिक्त कक्षाहरु भरेर खान पाईएकै छ। कर्मचारीहरु दंग छन् किनभने काम गर्न परेको छैन काम नगरेपनि ओभरटाईम भरेर खान पाईएको छ। सबै दंग छन् किनभने कौडीको मोलमा, घाम तापेको भरमा आवास, पानी र बिजुली सुबिधा पाईएको छ, आवासमै होटल र धर्मशाला चलाउन पाईएको छ।
विद्यार्थीहरु दंग छन् किनभने पढ्नुपरेको छैन, आन्तरिक मूल्यांकनमा त्यसै ‘टन्न’ नम्बर पाईएको छ र जाँचमा मज्जाले चोर्न पाईहालिन्छ।
केहि ‘मूर्ख’ प्राध्यापकहरु चैत लागेपछि ‘कोर्स’ सक्न भनेर बिहान-बिहान कक्षातिर कुद्न थाल्नेछन्। तिनलाई के को माया लागेको हो कुन्नि, कोर्सको कि विद्यार्थीको? जसको भएपनि, अब भने तिनले पनि आफूलाई ‘मूर्खता’ बाट सकेसम्म चाँडो मुक्ति मिलाएको राम्रो। तिनले पनि पढाउनु सट्टा पूराना लेक्चर नोटहरु फोटोकपी पसलमा छोडिदिने, आन्तरिक मूल्यांकनमा सबैलाई ‘टन्न’ अंक दिने आदि गरेर आफूलाई ‘लोकप्रिय शिक्षक’ बनाउने कोशिश गरेको राम्रो।
सबै दंग छन्। म पनि दंग छु। म झन् दोब्बर दंग छु, अध्ययन-अध्यापन-अनुसन्धान जस्ता ‘झूर’ काममा समय दिनु परेको छैन र यी यसरी माछापूच्छ्रे हेरेर यो लेख लेख्ने ‘फुर्सद’ मिलेको छ। अब कथा, कविता, गीत, नाटक आदि पनि लेखिएला यो फूर्सदको ‘सदुपयोग’ गर्न। यो पो जागिर! यस्तो पो जागिर!
---------------------------------------------------------------