March 21, 2011

हाम्रो चुतिया मानसिकता

आज कुरो शुरु गरौं यहि ब्लगको पछिल्लो लेखमा प्राप्त एक प्रतिकृयाबाट। जापानमा भूकम्प र चुनामीले सृजना गरेको महाविपत्तिबारेको मेरो त्यो सानो लेखमा साथी वेद काफ्लेजीले यस्तो प्रतिकृया दिनुभएको छ;

मित्र बसन्तजी,
तपाईले लेख्नु भएजस्तै जापानीमा धर्यता अपार छ । उनीहरु अरूको दु:खमा त्यति नै सम्बेदन छन, जति आफ्नो दु:खमा हुन्छन् । मलाई यहा हाम्रो नेपाली मानसिकताका बारेमा अलिकति लेख्न मनलाग्यो ।
मैले केही जापानमा बस्दै आएका नेपाली साथीहरु सँग टोकियोको वरपर लोडशेडिङ्ग हुने र धेरैले दुखपाउने भए भनेर दु:ख व्यक्त गर्दा ती नेपाली मित्रले 'नेपालमा सधै लोडशेडिङ्ग हुदा केहि भएन अब यी जापानीले पनि दुख पाउन् अलिअलि' भन्दै हर्ष प्रकट गरे । अर्को सन्दर्भमा अर्का मित्रसँग 'जापानका ठूला कम्पनी जस्तै हिताची, पानासोनिकले अरबौ ऐन सुनामी ग्रस्तक्षेत्रको पनर्स्थापनामा लागि चन्दा दिने भएछन' भन्दा ति मित्रको प्रतिकृया 'उनीहरूले आफ्नो खल्तीबाट दिने होइन होला, नाफा कमका छन् दिन्छन नि' थियो । यी दुई प्रतिकृयाबाट के प्रस्ट हुन्छ भने, हामीबाट बिस्तारै मानवताको मान्यता हराउदै गएको हो कि जस्तो लाग्छ । अरूको दुखमा हामी नेपाली मनमनै खुशी पो हुन थालेका त छैनौन जस्तो लाग्छ । हाम्रोमा हुने लोडसेडिङ्गको कारण जापान सम्मृद्ध भएर हो भन्ने जस्तो प्रतिकृया हाम्रो मुखमा रेडिमेड उत्तर छन् । हामी आफू केहि नगर्ने तर अरूको प्रगतिप्रति ईष्यागर्ने प्रवृत्तिको विकास हुदै गएजस्तो छ । हामी आफ्नो कामको भन्दा अरूको काम प्रति बढि चासो दिन्छौ, अरुको कमजोरी पत्ता लगाउन र त्यसमा रमाउछौ ।
अनि कसरी होला हामीमा परिवर्तन !

जापानको महाविपत्तिको खबरले जति दु:खी बनाएको छ मलाई, केहि नेपालीहरुको मुखमा यस्ता चुतिया कुरा झुण्डिएका देख्दा उतिनै दु:ख लागेको छ। अर्काको दु:खमा काखी बजाउने स्वभाव छ हाम्रो। हामी संवेदनाहीन यन्त्र हौं। भन्न त हामी विदेशीहरुलाई संवेदनाहीन र यान्त्रिक भन्छौं तर हामी जति निर्दयी, यान्त्रिक र परपीडक अरु शायदै होलान्। 

माथि वेदजीले राख्नुभएको केहि मित्रहरुको दरिद्र चिन्तनमा झुण्डिएको रेडिमेड उत्तरले हाम्रो चुतिया मानसिकताको अर्को पाटो पनि छर्लङ्ग पारेको छ। त्यो के भने, हामी कहिल्यै नसोझिने, कुकुरको लिँडे पूच्छर हौं। जतिसुकै सभ्य र सुसंस्कृत समाजमा जति वर्ष बसे पनि हाम्रो मानसकिता कहिल्यै बदलिँदैन। हाम्रो स्वभाव 'चिप्ले ढुंगो, उहि टुंगो' जहिले पनि उनै तुच्छ चिन्तनले भरिएको हुन्छ। हामी आफूलाई र अरुलाई तौलेर आफ्ना कमी-कमजोरीहरुमाथि कहिल्यै आत्मचिन्तन गर्दैनौं, कथंकदाचित गरिहालेछौं भनेपनि हामी आफूलाई अरुभन्दा कता हो कता माथि राखेर अरुका नकारात्मताहरुमात्रै कोट्याएर बस्छौं।

ती मित्रहरु पक्का पनि जापानमा केहि वर्ष बसीसकेका होलान् तर तिनले जापानीबाट केहि पनि सिकेनछन्। तिनले न सद्भाव सिकेछन्, न जापानीको विनम्रता सिकेछन्, न समवेदना सिकेछन् र न मानवता सिकेछन्। नेपाललाई सबैभन्दा धेरै सहयोग गर्ने एउटा असल मित्र राष्ट्रमा महाविपत्ति आउँदा पनि तिनलाई शायद दुई-चार दिन धेरै बिदा पाईने खुशीले घे-यो होला। नेपाल र नेपाली भनेपछि ज्यान फाल्ने, आफ्नो पेन्सनबाट कटाएर जम्मा पारेको पैसाले नेपालका गाऊँ-गाऊँमा विद्यालय बनाईदिने जापानी र तिनका घरलाई चुनामीले बगाऊँदा तिनका मनमा 'ठिक्क भयो जाँठाहरुलाई--!' बाहेक अरु केहि पनि आएन होला। 

वेदजीले भन्नुभएजस्तै जापान विकसित भएकाले नेपाल अविकसित भएको होईन र जापानीहरु धनी भएकाले हामी तन्नम गरीब भएका होईनौं। हामी हाम्रै चुतिया स्वभावले अविकसित र गरीब भएका हौं। त्यसकारण, नेपालमा सधैं लोडशेडिङ्ग हुनेहुँदा जापानमा पनि भएर कुन ठूलो कुरा भयो भनेर ठाडो बोल्नेहरु परपीडामा रमाउनेहरु हुन्। यहि र अरु यस्तै प्रसंगमा ठ्याक्कै यस्तै डकार्नेहरु मैले यहिँ नेपालमा पनि थुप्रै भेटेको छु। हामी न आफूलाई सुधार्छौं, न अरु सप्रेको देख्न सक्छौं। अरुलाई दु:ख परेको नदेखी हामीलाई खाएको पच्दैन, अरुकामा विध्वंश नदेखी हामीलाई राम्रो निद्रा पर्दैन।

'नाफा कमाका छन्, दिन्छन्' भन्ने मानसिकता पनि हाम्रो चिन्तनको अर्को दरिद्र पाटो हो। देशभित्र पनि भएजति उद्योगधन्दा र ब्यापार-ब्यवशायलाई धम्काई-धम्काई चन्दा माग्न र तिनलाई बन्द हुने स्थितिमा पु-याउन निरन्तर यहि कुतर्कको आड लिईएको छ। हामी नेपालीलाई आफूले केहि नगरी, माखो नमारी बसी-बसी कमाई चाहिन्छ र यसैले हामी अर्काले दु:ख गरेर आर्जेको कमाईलाई आफ्नै ठान्छौं। ति मित्रहरुको मनमा अझ 'हिताची, पानसोनिकले त्यत्रो नाफा कमा'का छन्, तिनले त हाम्लाई पनि दिनुपर्छ!' भन्ने होला।

मलाई पहिला पनि लाग्थ्यो र साढे सात वर्ष जापान बसेर फर्केपछि यो भावना अझ सघन भएको छ कि हामी नेपाली मूलत: संवेदनाहीन र परपीडक कोटिका मान्छे हौं। म मेरो वरिपरि परपीडक प्रवृत्तिका बाऊ-आमाले आफ्ना सन्तानलाई पनि चरम संवेदनाहीन र परपीडामा रमाउने बनाएर हुर्काईरहेको देखिरहेछु।

त्यसैले हाम्रो समाजमा वेदजीले औंल्याउनुभए जस्ता चुतिया जवाफ दिने प्रशश्त भेटिन्छन्।

लाग्छ, कुनै दिन हामी नेपालीको आर्थिक उद्धार भएपनि हाम्रो मानसिक उद्धार भने धेरै गाह्रो र धेरै टाढा छ।

9 comments:

  1. त्यस्ता जवाफ त धेरै सुनियो । हाम्रो मानसिकता कति सम्म दरिद्र छ भने चुनामी पछिका केहि दिन आफन्तहरुलाई सम्पर्क गर्न सजिलो होस भन्ने उद्देश्यले पब्लिक फोनबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय कल निशुल्क गरिएको थियो ,२४ घन्टा फोनमा झुण्डेर , फोन सकिएपछि पनि लाइन कट नगरी झुण्ड्याएर हिडें नेपालीले , केहि ठाउँमा पुलिसको चेतावनी पनि पाए र २-४ जना नेपालीलाई समातियो भन्ने चर्चा पनि आजभोलि यहाँ प्रशिध्द छन् जय होस् हाम्रो दरिद्रता । थोरै ब्यक्तिहरुले गरेको ब्यबहारले एउटा पुरै देश र समुदाय बदनाम हुन्छ । एउटा फेमस जोक थियो नि नेपालीले जापानलाई नेपाल बनाउन २ दिन लाग्ने भन्ने त्यो सत्य हो ।
    अर्को एउटा मलाई साह्रै चित्त नबुझेको कुरा हुन त सबै समाजमा ब्याप्त छ । कुनै पनि देशमा प्राकृतिक बिपत्तीमा बिदेशीहरु आफ्नो देश फर्काइने चलन यो साह्रै घटीया सिष्टम हो भन्ने निर्क्यौलमा म पुगेको छु । हिजो सम्म राम्रो अबस्था हुँदा आफ्नो देश छोडेर बस्न सक्नेले मानबीय बिपत्तीमा भाग्नु कहाँ सम्म उचित हो ? के अहिलेको अबस्थामा जापानीहरु सँग नै मिलेर सानो भएपनि सहयोग गर्नु आबश्यक हैन ? कुनै पनि देशलाई आफ्नो कर्मभूमि बनाइन्छ भने त्यो देशको सुख र दुख दुबैमा साथ दिन सक्नु पर्छ ।

    ReplyDelete
  2. एकदम ठिक कुरा । यो प्रवृती संसारका सबै कुनामा बस्ने सबै खालप्रकारमा मान्छेमा हुने भएपनि हामी(नेपाली)मा अलि बढ्तै छ ।

    वसन्तजी, शिर्षकमा गरिएको शब्द चयन चैं उचित लागेन मलाई । बोलचालमा भित्रिएको हिन्दी भाषाको गालीमा प्रयोग गरिने यस्ता पाहुना शब्दहरुलाई लेखिने नेपाली भाषामा प्रश्रय दिंदा भोली हाम्रो नेपाली भाषालाई ठुलै असर पर्न सक्छ ।

    ReplyDelete
  3. यो लेख पढेर सार्है दुख लाग्यो त्यस्तो बिपत्ति परेको बेलामा त्यो हद सम्मको
    निम्न स्तरीय सोचाइ ! अनि त्यसरी हाम्रा केहि नेपालीहरुले फोनको दुरुपयोग
    गरेको पढ्नु पर्दा त झन् लाज लागेर आयो आफैलाई !
    हरे ! कसरि अमानविय हुन सक्छन यस्तो परिस्थिति देखेर पनि मान्छेको जात !
    तर यो सब चेतनशील - अनुशासित - मानबिय नैतिक शिछ्या को कमीले हो !
    यसलाई " हामि नेपाली " भन्नु भन्दा पनि " चेतनशील - अनुशासित - मानबिय नैतिक शिछ्या को कमि भएको मान्छेको जात " भन्दा हुन्छ .
    यो घटनाबाट मन रुने नेपालीको कमी छैन .
    यस्तै हो यो संसार ! यहा थरि थरिका मान्छेहरु छन् !! धिक्कार छ अर्काको दुखमा खुशी हुने र मौका परे फाइदा लिने मान्छेको जातलाई !

    ReplyDelete
  4. लेखमा मेरो पुर्ण समर्थन । यस्ता केही 'दरिद्र विचारका धनिहरू' सँग मेरो पनि १-२ पटक भेट भा'छ । तर माथि दिनेश जीको कुरा पढेपछि त लाजै लाग्यो । आर्थीक दरिद्रता भन्दा यो वैचारिक दरिद्रता अझै घातक हुन्छ भन्नेमा मेरो दोस्रो मत छैन । हामीमा सहिष्णुता, क्षमा, दया र आत्मियता अनि सामन्य सदभाव समेत हराउँदै जानु निकै दु:ख लाग्ने कुरा हो ।

    जापानसँग भौतिक विकास, आर्थीक सुधार बाहेकका हामीले सिक्नु पर्ने कुराहरु अरुपनि धेरै छन् र हामी सबैमा यो सिक्ने दसबुद्धि आओस !

    ReplyDelete
  5. अरुको विपत्तिमा अलिकति भएपनि सहानुभूति राख्नैपर्ने हो । आशा र सहारा भनेका जीवन जगाउने सेतु हुन् । जापानीहरुको नेपालप्रति सहयोग र सद्भाव देखेर श्रद्धाले शिर निहुरिन्छ । यो महादुःखबाट जापानीहरुले चाँडै उन्मुक्ति पाऊन् ।

    ReplyDelete
  6. साह्रै नै दु:ख लाग्दो कुरा हो। "जसको मानो खानु उसैको जुँगा ऊखेल्नु" जसले आफुलाई गाँस र बास दिएको छ,उसै प्रती यस्तो तुच्छ विचार राख्ने मानिस धर्ती का बोझ हुन्। यस्ता विचार भएका मानिस समाज का लागी घातक हुन्छन्। आफ्नो ब्यक्तीगत स्वार्थ मा बाँच्ने मानिस। जसमा मानविय गुण छैन,त्यस लाई पशु भनिन्छ।
    यस बिपत्ती को समय मा ईश्वर ले जापानीहरु लाई धैर्य र सहनशिलता प्रदान गरुन्।

    ReplyDelete
  7. दु:ख र लाजको चरम रूप हो । वैचारिक दरिद्रता र यति घटिया चिन्तन नेपालीहरूमा झ्याङ्गिँदै गएको देख्‍दा नेपाली जातिप्रति नै दयाभाव आउँछ । साँच्चै यस्तै कुरुप सोचले हो हामी माथि उठ्न नसकेको, देश बर्बाद भएको । सबैभन्दा ठूलो अदालत भनिने नागरिक त यस्ता अमानवीय, संवेदनाशून्य छन्, यिनले चुनेर पठाएका टाउकेहरू कस्ता होलान् र के गर्लान् ? कम्तीमा अरूको पीडा, दु:खमा कुनै योगदान गर्न सकिँदैन भने, काखी बजाउने 'कष्ट' तिनले किन गर्नुपर्‍यो ?

    ReplyDelete
  8. हामीमा अर्काको एकाउन्ट आफुले राख्न खोज्ने चलन चाँही अती नराम्रो छ (बैंकले फाईदा कमाएको बिरोध गर्ने, बोर्डिङले फाईदा गरेको विरोध गर्ने, उद्योगिले , होटेल चलाऊनेले फाईदा गरेको विरोध गर्ने आदी)। अर्काले कती कमायो भन्दा पनि आफुले कसरी कमाउने भन्ने तिर सोच जानु पर्ने हो। (अवैध रुपमा कमाउनेको कुरो गरेको हैन)।

    अर्को कुरो चुतिया भन्ने शब्द चाँही भएन। यसको मुल हिन्दिको 'चुत' भन्ने शब्द हो, जसको अर्थ मैले जानेसम्म नारी प्रजानन अंग हो।

    BNP

    ReplyDelete