नेपाली पत्रपत्रिकाहरुमा केहि प्रचलित शब्दहरुको प्रयोगमा निरन्तर दोहोरिईरहेको गल्तीलाई लिएर एउटा यहि शीर्षकमा सानो लेख लेखेको थिएँ। 'कान्तिपुर' दैनिकको 'चौतारी' खण्डमा प्रकाशन हुने आशाले पठाएको थिएँ, अलिअलि छोट्टिएर 'पाठक मञ्च' खण्डमा आएको रहेछ आज।
मैले पठाएको यस्तो थियो;
केहि समय पहिला एनसेलले प्रायोजन गरेको
साहित्यिक महोत्सवमा मेडियासम्बन्धी एउटा छलफल सत्र पनि थियो। उक्त सत्रमा वरिष्ठ
पत्रकार किशोर नेपालले सम्पादकीय कमजोरीहरुको चर्चा गर्ने क्रममा एउटा उदाहरणको
रुपमा ‘कान्तिपुर’ दैनिक र यसका नेपाली भातृ प्रकाशनहरुमा महोत्सवकी अतिथि एक
भारतीय लेखिकाको नामलाई ‘अद्भैता कला’ लेखिएकोलाई औंल्याएका थिए। त्यसपछि पनि
कान्तिपुर र अरु प्रकाशनहरुमा ‘अद्भैता कला’ लेखिन छोडेन। कुनै प्रकाशनहरुले
‘अद्वैता कला’ लेखे, जुन सही उच्चारणको नजिक लाग्छ। किशोर नेपालकै सम्पादनको
‘नागरिक’ दैनिकको शनिबारे ‘अक्षर’मा पनि ‘अद्भैता’ नै लेख्दिए साथीहरुले। ती लेखिकाको
नामको सही उच्चारण के हो भनेर आयोजकहरुलेनै पहिले भन्दिएको भए राम्रो हुन्थ्यो
होला। विदेशतिर यस्तो चलन देखिन्छ पनि, किनभने सबै भाषामा रोमन वर्णहरुको
‘स्थानीय’ प्रयोग ठ्याक्कै उस्तै हुँदैन। हामीले पढेको “के ए-क, के एच ए-ख, जी
ए-ग-----“ रोमन वर्णको हाम्रो स्थानीय प्रयोग हो। यो प्रयोगको कतिपय अंश भारतकै
प्रयोगसंग पनि मिल्दैन। यस प्रसंगमा पनि लेखिकाको नाम रोमनमा लेख्दा देखिएको
अंग्रेजी ‘भी’ अक्षर ‘भ’का लागि भन्दा ‘व’का लागि प्रयोग गरिएको बुझ्न गाह्रो छैन।
भाषिक दूरीका कारण चिनियाँ र जापानी जस्ता
भाषाका शब्दका देवनागरी लेखाईमामा हुने अनगिन्ती गल्तीलाई क्षम्य मान्न सकिएला तर
यो प्रसंगकी ती लेखिकाको नामको स्रोत संस्कृत भएको स्पष्ट छ र संस्कृत वा हिन्दीमा
‘अद्भैता’ भन्ने शब्द छैन। हाम्रा सञ्चारकर्मीहरुले यत्ति पनि ध्यान नदिएको देख्दा
आश्चर्य लाग्छ।
विदेशी स्थान र ब्यक्तिका नाममा मात्र
यस्तरी हेल्चेक्राईँ भईरहेको छैन। हाम्रा सञ्चारकर्मीहरु लामो समयदेखि कतिपय प्रचलित
अंग्रेजी शब्दलाई देवनागरीमा लेख्ने क्रममा अर्कै शब्द लेखेर ‘अर्थको अनर्थ’
गरीरहेछन्। आधुनिक जीवनपद्धति र प्रविधिसंग जोडिएका यी अंग्रेजी शब्दहरु अचेल
समाचार र लेखहरुमा प्रशश्त देखिन्छन् र पनि यिनको प्रयोगमा भईरहेको गल्तीमा ध्यान
गएको देखिँदैन। सञ्चारकर्मी, सम्पादनकर्मी र हामी पाठकहरु सबै उत्तिकै जिम्मेवार
छौं यसका लागि।
एउटा अंग्रेजी शब्द छ ‘होस्टेस’ भन्ने। यो
शब्द विमानसंग जोडिएपछि बन्छ ‘एअर होस्टेस’, जसको अर्थ ‘विमान परिचारिका’ हो। तर
हाम्रा सुन्दरीहरु आफ्नो लक्ष्य ‘एअर होस्टेज’ बन्नु हो भनिदिन्छन् र पत्रिकाले
पनि त्यस्तै छापिदिन्छन्। ‘होस्टेस’ र ‘होस्टेज’ (अपहरणमा परेको मानिस) बीचको फरक
छुट्टयाउन कुनै भाषाविद्नै हुनुपर्दैन। त्यस्तै अर्को प्रयोग छ ‘वेभ साइट’, ‘वेभ
पेज’ आदि लेख्ने। इण्टरनेटसंग सम्बन्धित यी शब्दहरुका शुद्ध रुप ‘वेब साइट’ र ‘वेब
पेज’ आदि हुनुपर्ने हो। ‘वेब’ले जालोको
अर्थ दिन्छ भने ‘वेभ’ले तरंग बुझाऊँछ।
दशैंभन्दा केहि अगाडि कान्तिपुरको ‘हेल्लो
शुक्रबार’मा छापिएको अर्को ‘अनर्थ’मा पनि आँखा पर्यो। त्यहाँ कुनै युवा
वैज्ञानिकको कार्यको चर्चा गर्ने क्रममा उनका ‘रोबर्ट’ सम्बन्धी योजना र शोधको
कुरा गरिएको थियो। त्यो लेखमा प्रयुक्त ‘रोबर्ट’ यन्त्रमानवलाई जनाउन प्रयोग
गरिएको थियो। यन्त्रमानवलाई त ‘रोबोट’ लेखिनु पर्ने होईन र? उच्चारणका भेदले
‘रोबट’ सम्मलाई ठिकै मान्न सकिएपनि यन्त्रमानवका लागि ‘रोबर्ट’ भने अंग्रेजीमा कतै
पनि प्रयोग हुँदैन, यो त पश्चिममा प्रचलित एउटा ब्यक्तिवाचक नाम हो।
शुक्रवारमा पहिलो चोटि मेरो आँखा लागेपनि
‘रोबर्ट’को प्रयोग अरु पत्रिकाहरुमा पनि भईरहेको देखियो, एउटा छोटो खोजमा। ‘नेपाल’
साप्ताहिकले आफ्नो केहि पहिलाको एउटा अंकमा ‘रोग पत्ता लगाउन सूक्ष्म रोबर्ट’
छापेको रहेछ, एउटा राष्ट्रिय दैनिकमा ‘टोकियोको रेडलाइट एरियामा रोबर्ट नर्तकी‘ छापिएको
छ। अनलाइन सञ्चारमाध्यमहरुमा यो गल्ती अझ धेरै देखिन्छ। केहि साहित्यकारहरुले पनि आफ्ना
कथा, निबन्ध आदिमा यन्त्रमानवलाई संकेत गर्दै ‘रोबर्ट’ प्रयोग गरेका छन्।
यही क्रममा अस्ति शनिबार (कार्तिक ११) मा
कान्तिपुरमै प्रकाशित एउटा समाचारभित्रको अर्को यस्तै गलत शब्द प्रयोगमा आँखा
पुग्यो। समाचारका अरु भाषिक गल्ती नहेरी अहिलेको प्रसंगमै केन्द्रित हुन्छु। उक्त
लेखमा ‘चालक र कन्ट्रक्टर‘ भनेर दुई ठाऊँमा लेखिएको छ भने एक ठाऊँमा ‘चालक एवं
कन्ट्रक्टर’ लेखिएको छ। यात्रु बटुल्ने, उनीहरुसंग भाडा उठाउने लगायत अरु बिभिन्न
कार्यमा गाडी चालकलाई सघाउने ब्यक्तिलाई ‘कण्डक्टर’ भनिन्छ र यो शब्द नेपालीमा सबैभन्दा
धेरै प्रयोग हुने शब्दहरुमध्येको एक भईसकेको छ। समाचारले संकेत गरेको पनि यहि अर्थलाई
हो, तर ‘कन्ट्रक्टर’ भन्ने शब्द कतैबाट पनि
मिल्न आउने देखिँदैन। यसले समाचार लेख्नेको अज्ञानता र लापरवाहीमात्रै झल्काऊँछ। तीन ठाऊँमा उही लेखाई
देखिएपछि यसलाई हतारको गल्तीमात्रै मान्न सकिँदैन।
यसरी गलत शब्दहरुले ‘अनर्थ’ गरीरहँदा पत्रकारहरुको भाषिक क्षमता र समान्य ज्ञानको
स्तरमाथि त प्रश्न उठ्छ नै, पत्रिकाहरुमा जे आयो त्यहि छापिन्छ र सम्पादन भन्ने
कर्म हुँदैहुँदैन कि जस्तो पनि देखिन्छ।
--------------------------------------------------------------------------------------------------
छापिएकोचाहिँ तलको तस्बीरमा पढ्न सक्नुहुन्छ;
काम लाग्ने कुरा लेख्नुभयो ! कहिले काही थाहा नै नपाई हामी सबै चिप्ली रहेका हुन्छौं तर पनि मिडिया ले अलि बढी नै सोच्नुपर्ने अवस्था आएको छ !
ReplyDeleteपत्रिकाको अहम यती धेरै छ की जसले जति गल्ती देखाए पनि उनीहरु सच्चिदैनन
ReplyDelete