July 10, 2012

My पसिना is come---- र They बाँधे Their पूच्छर---

"आज क्लासमा कस्तो रमाईलो भयो भने! -----" एक साँझ खाना खाँदै गर्दा आर्याले खितखिताऊँदै भनी।
"के भयो?"
"शुभम भन्ने साथी एकदम चलिराखेको थियो। टिचरले 'किन चलेको?' भनेर अंग्रेजीमा सोध्नुभयो। शुभमले 'My पसिना is come.' भन्यो। अनि सप्पैजना हाँसे। कस्तो रमाईलो भयो----।"
"हा हा हा! विचरालाई पूरै अंग्रेजीमा भन्न आएन होला नि त।" आर्यालाई पनि आऊँदैन। एक कक्षामा पढ्ने बच्चाबाट ब्याकरण मिलेको अंग्रेजीको आशा गरिहाल्नुपनि हुन्न। तर शुभम भन्ने बच्चो बाठो र हकी भने रहेछ, उसले आफ्नो समस्यालाई नडराईकन राख्ने कोशिश त ग-यो।

विगत केहि समय यता छोरीको पढाईलाई नियालिरहँदा मैले के पाएको छु भने नेपालका 'राम्रा' भनिने विद्यालयहरुमा पूर्वप्राथमिक तहका कक्षाहरुबाटै नेपाली एकदम कम र अंग्रेजी एकदम धेरै पढाईन्छ। फेरि नर्सरीबाटै 'स्कूलमा अंग्रेजीमात्रै बोल्नुपर्छ, नेपाली बोल्नु हुन्न।' भन्ने मानसिक दबाब दिईन्छ। जीवनजगतका कतिपय चिजबिज-गतिबिधिसंग सम्बन्धित शब्द-वाक्यहरु बच्चाहरुले नेपालीभन्दा पहिले अंग्रेजीमा सिक्छन्। पछि तिनै कुरा नेपालीमा सुन्दा '---भनेको के हो?' भनेर सोध्छन् र उनीहरुलाई 'अंग्रेजी प्रयोग गरेर नेपाली बुझाउनु' पर्छ। अंक र संख्याको हकमा त शतप्रतिशत यहि स्थिति देखिन्छ। जति सचेत हुन खोजेपनि यस्तो स्थिति आफैंले पनि भोगिराखिएको छः) 'भोलि छब्बीस गते हो।' भनेर सुनाऊँदा आर्याले 'छब्बीस भनेको कति हो?' भनेर सोध्छे अझै पनि, र उसलाई 'छब्बीस भनेको ट्वेण्टी सिक्स हो।' भनेर बुझाउनुपर्छ। यो स्थितिलाई कम गर्ने कोशिश जारी छ घरमा अहिले, घरमा सकेसम्म नेपाली बढी सिकाएर; तर पूरा सफलता हात पर्नचाहिँ समय निकै लाग्ला जस्तो छः)

नेपालको शिक्षा प्रणालीका बारेमा धेरै कुरा लेख्नुपर्ने हुन आऊँछ, अहिलेलाई त्यता नलागौं। आर्याको कक्षाको यो घटनाले मलाई आफ्नो विद्यार्थी जीवनको यस्तै एउटा घटना सम्झायो, त्यहि कुरा गर्न लागेको आज।

म आठमा पढ्दाको कुरो हो, अंग्रेजीमा एउटा पाठ थियो The Clever Goat भन्ने। त्यसमा बाठो बाख्रोले बाघबाट जोगिन गरेको चलाखीको कथा छ। कथाको अन्त्यतिर स्याल र बाघ आफ्ना पूच्छर बाँधेर चलाख बाख्रो भएको ठाऊँमा आउने प्रसंग छ। हाम्रै कक्षाको अर्को सेक्सनमा अंग्रेजी पढाउने सरले एकदिन यहि पाठबाट प्रश्नहरु सोधीरहनुभएको रहेछ। पढाई त्यति राम्रो नभएको एउटा ‘हावा’ केटालाई उठाएर स्याल र बाघ कसरी बाख्रो भएको ठाऊँमा गए भनेर सोध्दा उसले एकछिन अकमकाएर ‘---They बाँधे their पूच्छर---‘ भनेर जवाफ दिएछ। अंग्रेजी सरले पछि हाम्रो कक्षामा र स्कूलभरिनै त्यहि कुरा सुनाऊँदै हिँड्नुभएको थियो। विद्यार्थीको आत्मसम्मानलाई चोट पु-याउने त्यो बेईजत्ती सरले नगर्दिनुभएको भए राम्रो हुन्थ्यो, तर छब्बीस वर्षअघि यस्तो सोच राख्ने शिक्षक पाउन मुश्किलै थियो। कमजोर विद्यार्थीको विवशतालाई बुझ्ने र उसलाई विशेष तरिकाले सिकाउने शिक्षक भेट्न अझै त मुश्किल छ।  

4 comments:

  1. वास्तविकतालाई निकै आकर्षक रुपमा प्रस्तुत गर्नु भयो ...के गर्नु हाम्रो देशको शिक्षाको स्थिति त खोइ कैले हो सुध्रिने ...?

    ReplyDelete
  2. khai kaile sudrincha ho basanta dada hamro desh ko siksha :(

    ReplyDelete
  3. गंभीर बनायो ।

    वास्तवमै सिकाउन सट्टा उल्टै खिल्ली उडाउने शिक्षकहरु मैले पनि स्कूलकालभरी देखेको छु । एकपल्ट विजगणित नबुझेर 'सर त्यो कसरी भयो, कहाँबाट आयो?' भनेर सोधेको थिएँ ७ कक्षामा । 'झ्यालबाट आयो । मुर्ख! अझै बुझ्दैनस्? मैले गोजीबाट झिकेर राखेको ।' भन्ने जवाफ पाएको थिएँ । त्यसपछि मैले कहिल्यै सोधिंन, कुनै सरलाई पनि विजगणितको समस्या सोधिंन । सबै परिक्षाहरुमा विजगणितलाई वाद गरेर काम चलाएँ । नेपालमा स्कूलहरुमा यो ठुलो समस्या छ । अझ सरकारी स्कूलहरुमा त विकराल ।

    ReplyDelete
  4. कम्जोर विधार्थीलाई कसरी सिकाउनु पर्छ भनेर संवेदनशील हुने असल क्षिशक पाउन पक्कै पनि मुस्किलै पर्छ ... तर आफ्नै एउटा छोटो प्रसंग जोडेर यो प्रसंग कोट्याउनु भएकोमा राम्रो लाग्यो ! खासमा ब्लगमा लेख्ने खुराक नै यस्तै रहेछ ....खोज्ने भन्दा पनि भएको कुरा लेख्ने रहेछ ब्लगीङ् !

    ReplyDelete