May 30, 2010

'प्याकेज' माने पोका

सधैंजस्तो यसपटक पनि भूत-प्रेत-निशाचरको शैलीमा काम ग-यो नेपालको राजनीतिले। संविधान-सभाको आयु मिलोमतोमा थपियो मध्यरात कटेपछि। दुई वर्ष गलत प्राथमिकतामा देशलाई अल्झाएर जुँघाको लडाईँ लडेपछि अब एक वर्षपनि त्यसै गर्ने मौका पाएका छन् दल र नेताहरुले। आशावादी हुनु बाहेक अरु विकल्प छैन यतिखेर, तर मलाई आउने एक वर्षमा पनि संविधान बन्ला जस्तो लाग्दैन। "जब प-यो राती, अनि----" कै शैलीमा बित्ने संभावना प्रवल छ। एक वर्ष पछि लोकलाजका लागि एउटा 'कामचलाऊ' संविधान जारी गर्न पनि सक्छन्। अर्कोतिर, एक वर्षपछि फेरि समय बढाउन पनि सक्छन्, तीन ठूला दल मिलेपछि जे पनि भईहाल्छ नि भन्ने मान्यतालाई जोडतोडले स्थापित गर्न थालिसकिएको छ। 'लोकलाज' को ख्यालनै हुने भए त अहिल्यै संविधान जारी गरिसक्थे। 

अरु 'चमत्कार' नहुँदा आउने एक वर्षपनि देश छिमेकी र अरु केहि शक्तिराष्ट्रहरुको कूटनीतिक चलखेलको मैदान भईरहने सम्भावना धेरै छ। सोझै भन्दा यो 'भगवान भरोसा' को स्थिति हो। पानी धमिलो हुँदै जाँदा सशस्त्र समूहहरु वर्षातका च्याउसरी बढ्दै जाने, बलिया हुँदै जाने निश्चित छ। माओवादी जनविद्रोह र सत्ताकब्जाको माछा मार्न निहुँ खोजेर ढुकिरहनेछ। दक्षिणपन्थीहरु पनि कुनै न कुनै 'वाहन'मा चढेर सल्बलाईरहनेछन्।

निशाचरलेझैं आधा रातमा जुन सहमति गरियो, त्यसमा नयाँ केहि छैन। यत्तिकै लागि देशलाई यति लामो समयसम्म बन्दी बनाईएको हो भने "थुक्क!" बाहेक अरु मनमा आऊँदैन। त्यतिमै कुरो मिल्ने थियो भने, पहिल्यै यो सम्झौता गरेको भए भईहाल्थ्यो। बेकारमा देशको मानसिकतामा के हुने हो र कसो हुने हो भन्ने आतंक मात्रै भरियो।

यो सहमतिबाट माओवादीले त झन् केहि पनि पाएको छैन। विगतका सम्झौताहरु पालन हुने हो र कथित 'प्याकेज'मा सम्झौता हुने हो भने "छोड्न तयार छु!" भनेर माकुनेले उहिल्यैदेखि दोहोराइरहेका छन्।  यो सहमतिको आशय पनि त्यहि देखिन्छ। माओवादीले नयाँ संविधान बनाउनुभन्दा पनि (गैर-संवैधानिक बाटोबाट) अहिलेको सरकार ढाल्नुलाईनै आफ्नो एकसुत्रीय उद्देश्य बनायो र देशको राजनीतिलाई माकुने र पुकदाको जुँघाको लडाईँको रुप दियो यति लामो समयसम्म। सबैलाई थाहा थियो, संविधानसभाको म्याद थप्न अन्तिम समयमा माओवादी बाध्य हुन्छ भनेर किनभने माओवादीसंग न टेक्न अन्त भुईँ छ यतिखेर न समाउने अर्को हाँगो। 

सहमति पढिहेरौं एकचोटि;

ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिम संविधान २०६३, लोकतन्त्र, दिगो शान्ति तथा विस्तृत शान्ति सम्झौताअनुरूप हामीहरू निम्नलिखित प्रतिबद्धता व्यक्त गर्दछौं :-

१.    शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन यस सम्बन्धमा बाँकी कामहरू अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामीहरू दृढ प्रतिज्ञ छौं ।

२.     नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनीय काम भए तापनि सबै कार्य पूरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौं ।

३.    उपर्युक्त जिम्मेवारी एवं कार्यहरू यथाशीघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको कुरा स्पष्ट गर्दछौं ।


तेश्रो बुँदा, बढीमा, जसले जसरी ब्याख्या गरेपनि हुने खाल्को छ। शब्दहरुको खेलमा दुई वर्ष बितेपछि, फेरि एक वर्ष पनि शब्दहरुकै खेलमा बिताउने स्रोत हो यो ३ नम्बरी बुँदा। 

जबसम्म राजनीतिमा ईमान्दार र संवेदनशील मान्छेहरुको बहुमत हुँदैन, तबसम्म हाम्रा सुखका दिन नआउने निश्चित छ।
--------------------------------------------------------------------
देशमा केहि समय यता 'प्याकेज' शब्द बहुत 'हिट' भयो। 'प्याकेज' को शुद्ध नेपाली अनुवाद 'पोका' नै हुनुपर्छ। हाम्रा नेताहरुले किन 'पोका' प्रयोग नगरेर 'प्याकेज' प्रयोग गरे त्यो म जस्तो अदनाले जान्ने कुरा भएन, तर अचेल मलाई 'पोका' शब्दको 'माया' लाग्न थालेको छ। यसैले म 'पोका'लाई पनि 'हिट' गराउने काममा जुट्ने निर्णयमा पुगेको छु:)

'प्याकेज' माने पोका

कुरै-कुरामा 'हावा' पोका पारे
पानीमा पाधेर फोका पारे
'प्याकेज' मा सहमति गर्नेभन्दै
हाम्रो भागमा धोकै-धोका पारे!

'पोका' महात्म्य तपाईँसंग पनि छन् कि:)

13 comments:

  1. ईमानदार र संवेदनशील मान्छे ले राजनीतिमा सफल हुनु धेरै गाहरो छ.

    ReplyDelete
  2. मलाई त राजनीतिमा साह्रै विरक्ति पैदा भएको छ । फोहोरीहरुले जुलुम गरेर छाडे ।

    ReplyDelete
  3. प्याकेज माने पोका
    जनतालाई दिने धोका
    नेता सबै बोका

    ReplyDelete
  4. हुन त हिजो आज देश को राजनिति सोच्दा पनि विरक्त लागेर आउँछ तर पनि देश को समय अनुसार राजनिति को बारेमा पनि सोच्नैपर्छ । २ वर्ष बित्यो 'पोका' भन्दैमा, अब बाँकि १ वर्ष पनि, यही 'पोका', 'प्याकेज' को भजन गाउँदैमा बित्नेछ ।

    ReplyDelete
  5. १० बर्षे जनयुद्द भन्दै
    देशै बन्दुकको खोका पारे
    आज स‌ंविधानको झुठो खिर देखाएर
    सारा नेपालीलाई भोका पारे ।

    कुरै कुरामा 'हावा' पोका पारे.....

    ReplyDelete
  6. पोका होस् या जे होस् ,खुलोस
    प्रजातन्त्रको ढोका .....
    न छरीयुन फेरी ,नेपालमा
    गोलीका खोकै-खोका.

    हामीहरूको मनको कुरा तपाईंले लेख्ने गर्नु भएकोछ ,धन्यवाद.

    ReplyDelete
  7. मिठो लेख । काम भन्दा धेरै नाटक रच्ने राजनीतिकर्मीहरुले अबको एक बर्षमा पनि संबिधान बनाउलान भनेर ढुक्क नभए हुन्छ। झारा टार्ने काम बाहेक केहि हुदैन ।

    जति लम्ब्याए पनि यिनीहरुको खिचातानीमा संबिधान अल्झीरहने देख्छु म । जय देश !!

    ReplyDelete
  8. This comment has been removed by the author.

    ReplyDelete
  9. के भन्नु खै, माथि दीपक जडितजीले भनेजस्तै जुलुम नै गरे गतिछाडाहरुले।

    अनि 'पोका' शब्दको बारेमा कुरा गर्दा चाहिँ 'प्याकेज' को सोझो अर्थ 'पोका' हुने भए पनि उल्लेखित सन्दर्भमा 'एकमुष्ट' भन्दा राम्रो सुनिएला, हैन र ! व्यङ्ग्यको अर्थमा भने 'पोका' महात्म्य घतलाग्दो छ।

    ReplyDelete
  10. नभन्दै तपाईँले भने झैँ तेस्रो बुँदालाई तीन नम्बरी व्यापार जस्तै पारेर चुइँचुइँ पार्दैछन् दलहरू । दल-दल भए सम्म नेपाल दलदलमै फस्ला जस्तो छ ।

    प्याकेज भने'नि पोका भने'नि केही छुसुक्क उपाय चल्ने होइन ! क्यार्ने होला !??? घैला भए हाँडीफोर प्रतियोगिता कतै गरेर झिरिप्प फुटाउन हुन्थ्यो, नेताहरूको टाउको पर्यो र मात्रै ।

    ReplyDelete
  11. राजिनामा भनी माओवादी रोकै हो
    अरु दलले पनि नेपालीलाई देको धोकै हो
    हार्नेले चलाको देशमा पनि शोकै भो
    ठोकेरै भन्छु प्याकेज भनेको पोकै हो ...लुजा त ।

    ReplyDelete
  12. अबेर गरी अंध्यारोमा बाँधेका पोका
    फुस्कन मान्दैनन, कस्तो धोका !
    न झ्याल छन् यिनमा, न ढोका
    राखेका चिजै नदेखिने भो क्या !

    (अब देखि बरु, प्रयोग गरौं डोका)

    ReplyDelete
  13. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    यहाँ जम्मा भएका 'पोका' हरुलाई पोका पारेर फसबुकमा राख्नुपर्ला कि जस्तो पनि लाग्दैछ:)

    ReplyDelete