May 19, 2010

तीन घुम्ती काटेपछि

तस्बीर साभार: bigfoto
समय आफ्नै गतिमा लगातार सोझै अगाडि बढिरहन्छ, हामी मान्छेहरु आफ्नो सुविधाको लागि यसलाई खण्डखण्ड पारेर यसका बारेमा कुरा गर्छौं। र समयको बारेमा सोच्दा; वर्तमानको हामीलाई पत्तै हुँदैन, भविष्य सम्झेर हामी आत्तिन्छौं तर बितेको समय फर्केर हेर्दा "ए! कतिचाँडै बितेछ है!" जस्तो लाग्छ। आज यस्तै-यस्तै अनुभूति भईरहेछ, मैले यो ब्लग शुरु गरेको तीन वर्ष पुग्यो आज। कुनै लामो यात्रामा तेश्रो घुम्ती कटेपछिको भावले भरिएको छु म। 

मेर यो ब्लग यात्रामा मलाई हौस्याउनुहुने समस्त आदरणीय पाठकहरु र सहयात्री ब्लगर साथीहरुलाई हार्दिक धन्यबाद दिनचाहन्छु। तपाईँहरुका कारण तीन वर्षको यो यात्रा हरेक क्षणमा एकदम स्मरणीय र उल्लासपूर्ण रह्यो मेरा लागि, मलाई कहिल्यै एक्लोपना र निराशाको बोध भएन यो यात्रामा। ब्लग मेरा लागि एउटा आत्मीय संसार बन्यो र म बिश्वस्त छु यो यस्तै आत्मीय रहिरहनेछ।
   
निरन्तर जीवन्त र बिस्तारित बनिरहेको नेपाली ब्लग जगतको एउटा सदस्य बन्न पाऊँदाको हर्ष र गौरवले भरिन्छु म जतिखेर पनि। नेपाली ब्लग-जगत (नेपाली वा अरु कुनै पनि भाषामा नेपालीले चलाएका ब्लगहरु) अझ बिस्तारित, अझ ब्यापक र अझ विविधतापूर्ण हुनसक्छ, यसका लागि तपाईँहरुको चासो, माया, आलोचना र सुझावको आवश्यकता रहिरहनेछ सधैं।
-----------------------------------------------------------------
गएको वर्षलाई सर्सर्ती फर्केर हेरौं आज। (यो समेत गरेर) ६९ वटा पोष्ट लेखिएछ। दोश्रो वर्षमा ९२ वटा लेखिएको थियो। संख्या घटेपनि लेखाईबाट आउने आत्मसन्तुष्टिमा भने कुनै कमी आएको छैन। निश्चित रुपमा भ्याएसम्म संख्या पनि बढाउन मन छ, लेख्ने विषय जति पनि छन् मनमा; तर समय मिलाउन झन्-झन् कठिन हुँदै छ। कम्तिमा हप्तामा दुई पोष्ट लेख्ने रहर हो मेरो तर त्यो असम्भवजस्तै देखेर पाँच दिनमा एउटाको नियममा बाँधिने कोशिशमा छु। त्यसमै पनि राम्रोसंग टिक्न सकेको छैन, कहिलेकाहीँ ६ दिन पुग्छ। 

कुन-कुन टाँसो बढी पढिएछ भनेर हेर्न मन लाग्यो। गत वर्षबाट फेसबुकलाई पनि ब्लगका लागि ब्यापक 'सदुपयोग' गरिएकाले फेसबुकमा कुन पोष्टको लिंक कति पटक राखियो वा फेसबुकको Networked Blogs को Publish कति पटक प्रयोग गरियो भन्ने कुराले पनि धेरै प्रभाव पारेको पक्का छ यो गणनामा:) तैपनि, गुगलले देखाए अनुसार, कथाजस्तै सत्यकथा सबैभन्दा पढिएछ गत वर्ष। त्यसपछि क्रमैसंग 'अगुल्टाहरु बस्ती पसेका छन्', 'एउटा प्रेमकथा', 'भुँडीले गति छोड्यो!!!',  'संभावित ब्लगरहरुसंग', 'गौतम सर, फर्मुला छोरी र भाउजू', 'राग/बैराग-चार नयाँ मुक्तकहरु', 'संगठन कि ई-मेल समूह?', 'एमालेको सातपुस्ते श्राद्ध' र 'नेपाली ब्लगरहरु:सन्तान थरी-थरीका' बढी पढिएछन्।

पाठकहरु आउने पाँच प्रमुख स्रोत क्रमश: direct, google search, facebook/referral, blogger referral र networked blogs.com/referral रहेछन्। सर्च ईञ्जिनको हकमा गुगलको दाँजोमा अन्य सर्च ईञ्जिन हुँदै आउनेको संख्या नगण्यनै रहेछ। गुगलमा 'सत्यकथा' खोजेर यो ब्लगमा आईपुग्ने सबैभन्दा बढी रहेछन्। त्यसपछिका शब्द/शब्द-समूह हरु क्रमश: 'basanta gautam', 'प्रेम कथा', 'कथा', 'सत्य कथा', 'ओशोको' रहेछन्। खोजीको पाँचौं स्थानमा पनि 'सत्य कथा' परेपछि कथाजस्तै सत्यकथा सबैभन्दा बढी पढिनु स्वाभाविकै भयो अब।

र pageviews, visitors, unique visitors सबै २०१०, मार्च २ मा सबैभन्दा बढी देखिए।
------------------------------------------------------------------
र तीन घुम्ती काटेपछि अब "आँगन"

माथि देखिहाल्नुभयो होला, मैले यो ब्लगको नेपाली नाम खोज्ने कार्यलाई "आँगन"मा लगेर टुंग्याएको छु अहिलेलाई। अघिल्लो नाम "The Road to Nowhere Goes Everywhere---" पनि मलाई एकदम मन परेको हो; तर पूरै नेपाली भाषामा लेखिने ब्लगको नाम (शीर्षक) नेपालीनै राख्ने विचार पनि पूरानै हो मेरो, नामको खोजी मेरो एउटा अर्को 'लत' नै बनिसकेको थियो:)

तलको यो स्क्रीन शट पूरानो नामको अभिलेखका लागि।


यो "आँगन" जुर्नुको श्रेय निद्रा नपरेको एउटा रातलाई जान्छ। निद्रा नपरेपछि मनमा अरु कुराको साथमा ब्लगको नाम फेर्नुपर्ने तर्कना पनि चलिरहेको थियो। त्यतिबेलै मनमा आफ्नो एउटा पूरानो रचना पनि आईपुग्यो। रचना ५ वर्ष पहिलाको हो, जापानका प्राचीन राजधानी शहरहरु क्योटो र नाराको भ्रमण गरेपछि जन्मिएको हो त्यो रचना। क्योटो र नारामा सबै समयका पदचापहरु, अति प्राचीनदेखि अत्याधुनिकसम्म संगसंगै, चालमा चाल मिलाएर गुञ्जिएको अनुभव गरेपछि हाईकूको कद दिएर (तर हाईकूका नियमभन्दा बाहिर गएर) मैले लेखेको थिएँ;

 "क्योटो"

आदिम आँगन,
शताब्दीहरु-
नाच्दै बग्छन्।

दिमागमा यो टुक्रा आएपछि बिना केहि आनाकानी तुरुन्त मेरो निर्णय जन्मियो, ब्लगलाई अब "आँगन" को रुपमा न्वारान गर्ने। 
--------------------------------------------------------------------------------- 
तपाईँहरुसंगको कुराकानी निरन्तर चलिरहनेनैछ, यसपछिको अर्को वर्ष र अरु धेरै-धेरै वर्षहरु। तपाईँहरुलाई फेरि एकचोटि हार्दिक धन्यबाद दिँदै, यो "आँगन"मा मेरा विचार र सपनाका बिस्कुन सुकाएर तपाईँको स्वागतको लागि हरदम प्रतीक्षारत रहँदै आजलाई बिदा चाहन्छु।
  
सबैको जय होस्!

24 comments:

  1. बसन्त दादा सर्वप्रथमत ३ बर्सको यात्रा सफ़लताका साथ पुरा गर्नु भयेकोमा म बधाइ दिन चाहन्छु । अनि अब आगनमा आउन पायेकोमा र अझ धेरै सामाग्रिहरु पड्न पाउनेकुरामा खुशि लाग्यो...
    Happy Blogging

    ReplyDelete
  2. it is good to know that u have completed 3 successful years of blogging.Though i am new in this blog journey,i am equally enjoying and learning from ur articles. hope to read more articles in coming years!! best wishes and good luck for ur creative and thoughtful mind!

    ReplyDelete
  3. Prashanta ShresthaMay 19, 2010 at 1:30 PM

    Hip Hip Hurray! Keep blogging

    ReplyDelete
  4. ब्लगको पून: न्वारन गर्ने कुरो सायद पोहर साल पनि एकचोटी भा'थ्यो क्यार । मैले त्यतिबेला पनि "यत्ति राम्रो नाम किन फेर्ने?" भनेजस्तो लाग्छ :)

    तर यो नेपाली ब्लगको नाम किन अंग्रेजीमा राख्ने भन्ने कुराले चाही यो नामलाई 'जस्टिफाई' गर्‍यो ल ! । अहिले भने मलाई पनि चित्त बुझ्यो । कुरा ठीकै हो प्राय: (९०%) भन्दा बढी नेपालीमा पोस्ट लेखेपछि नाम मात्रै अंग्रेजीमा किन त ? ।

    हुन त, शेक्सपिएर बुढाले ऊ,बेलामै Romeo and Juliet मा

    "What's in a name? That which we call a rose
    by any other name would smell as sweet."

    भनेका हुन तर मलाई पनि मेरो ब्लगको नाम साह्रै लामो भएकोले फेरुँ-फेरूँ लाग्दैछ आजकल :)

    Blogging Basanta >> The road to nowhere >> हुँदै आँगनसम्म पुग्दा नामसंगै ब्लगको गुणस्तर पनि बढ्दै गएको छ । उत्तोरत्तर सफलताको कामना सहित ।

    दिलीप आचार्य

    ReplyDelete
  5. सयौँ घुम्तीहरुमा जम्काभेट होस् वसन्त सर, हार्दिक शुभकामना !

    ReplyDelete
  6. तीन वर्षे ब्लग यात्रा पार गर्नुहुने तपाईंलाई बधाई! साथै तीन घुम्ती काटेर 'आँगन'मा आईपुगेको यो ब्लगलाई पनि उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना !

    नाम जे थियो पहिले, बाटो जुनै हिंडिएको होस् पहिले गन्तब्य आँगनसम्मै हो यात्राको भन्ने दार्शनिक विचार पो भरिदियो तपाईंले गर्नुभएको ब्लगको यो नयाँ नामाकरणले ।

    ब्लग यात्रामा अटुट साईनो रहिरहोस्......

    ReplyDelete
  7. daju li blogging ka 3 barsa pura gareko ma dherai dherai badhai ani aagami din haru ko lagi subhakamana. ani aahile ko "aangan" ko aabhadharana pani maan paryo malai. mathi deepak ji ko kuro pani ghhat lagyo.
    happy blogging!!!

    ReplyDelete
  8. वसन्तजी सर्वप्रथमत व्लग यात्रामा तीन वर्ष निरन्तर यात्रा गर्नु भएकेामा हार्दिक वधार्इ ।
    अव अागनमा नाच्न पाइने भैयेा ।
    रत्यैाली खेल्न पार्इने भैयेा ।
    भत्तेर खान पार्इने भैयेा ।
    अागनमै वसेर संसार चियाउन पाइने भैयेा ।
    विरक्त लागेकेा वेलामा
    मन वहलाउन पाइने भैयेा ।
    मुटुकेा धडकन जस्तै
    नेपालीकेा अागन
    फूलै फूलले संधै
    ढकमक्क भैरहेास् ।

    ReplyDelete
  9. सफलतापुर्बक तेस्रो बर्ष पुरा गर्नुभएकोमा बधाई बसन्त जी, साथै तिन घुम्ती पछिको नयाँ आँगनमा सफलताका बिजहरुले झकिझकाउ हुने अवसर पाउन । शुभकामना !!!

    ReplyDelete
  10. ब्लगको तीन बर्षको यात्रा पूरा गर्नुभएकोमा बसन्त दाजुलाई बधाई । सधैं सयपत्री र गुरांस फुलाउने तपाईंको "आंगन" अझ फराकिलो बनोस्, आगामी यात्राको लागि शुभकामना ।

    ReplyDelete
  11. The road to nowhere goes everywhere ........

    निकै राम्रो थियो , अंग्रेजी नै भएपनि एक किसिमको आत्मियपन थियो , र वजनदार थियो । फेरि अंग्रेजी भयो भन्दैमा फेरि नै हाल्नुपर्ने त हो जस्तो त मलाई लागेन ।

    ब्लगिगं यात्रामा पृथक पृष्ठभुमि बनाइसकेको road nowhere ले आँगन शब्द - मात्र एक शब्दको - अलिक राम्रो त लागेन बसन्त दा मलाई त .....

    आँगन - कुनै अर्को नव ब्लगरको पनि नाम छ क्यार ।।।

    ReplyDelete
  12. बसन्त दाइ लाइ हार्दिक बधाई छ ब्लगमा तेस्रो बर्ष पुरा गर्नु भएको र ...आफ्नो ब्लगको सुहाउदो दाम जुराउन सफल हुनु भएकोमा !

    हैन बसन्त दाइ त ! ट्राफिक पनि मज्जाले हेर्नु हुदो रहेछ ! पुरै विस्तृत विबरण ( बार्षिक गतिविधिको -)प्रस्तुत गर्नु भा छ !

    ReplyDelete
  13. सर्वप्रथम त हरेक पाइलामा केही विशेष, सामाजिक,राजनीतिक चेतनामुलक/सन्देशमुलक टासोहरु टास्दै आज सफलता पुर्वक तेस्रो घुम्ती पार गर्नु भएकोमा हार्दिक बधाई ! "कतै नजाने तर सबैतिर पुग्ने बाटो" हुदै आँगन" सम्म आइपुगेको यो यात्रा र नेपाली ब्लागिंगमा तपाइको उपस्थिति हिजोको जस्तै प्रेरणादायी र अझ त्यो भन्दा आत्मीय हुदै जाओस भन्ने कामना गर्छु ।

    ReplyDelete
  14. तेस्रो घुम्तीसम्मको सफल यात्राका लागि सरलाई हार्दिक बधाई ! अगाडिको यात्रा अझ सफल, अझ प्रेरणादायी बनोस् ! नामको त के कुरा भयो र, तपाईंका गहन विचार र अनुभूतिहरु पढ्न पाए पुगिहाल्यो नि:)

    ReplyDelete
  15. पहिले पहिले हामी तपाईंलाई चौबाटोमा भेट्न आउँथ्यौं, अब आँगनमैं आउँला | तपाइंको ब्लगको मोहनी कति प्रिय छ भने, हामी पिंढी मै पनि आउँला|घुम्ती घुम्तीमा आँखा जुधाउन आउँला |यहाँलाई हार्दिक बधाई र शुभकामना !

    ReplyDelete
  16. बसन्त सर सर्बप्रथम ब्लगको तेस्रो बर्ष पुरा गर्नु भएकोमा हार्दिक बधाइ,

    ब्गको नाम एकदम सुहाएको छ,

    ReplyDelete
  17. तेस्रो वर्ष पूरा गर्नुभएकोमा बधाइ र नयाँ नाम "आँगन" को लोकप्रियताको लागी शुभकामना !!

    ReplyDelete
  18. Congratulations and best wishes to 'Aangan'. You continue to amaze us with your insightful write-up. keep it up Basant ji!

    ReplyDelete
  19. Dherai Dherai Badhai chha!

    All the best to "angan"...

    Happy Blogging!

    ReplyDelete
  20. बसन्त जी ,
    बधाई छ ब्लगको तीन बर्ष यात्रा पुरा गर्नु भएको मा । र ब्लगको नयाँ नाम राख्नु भएकोमा पनि बधाई र शुभकामना छ ।

    ReplyDelete
  21. निकै मीठो भो !

    ब्लगिङको तीन वर्षे फड्कोसँगै नयाँ नाम पनि पाएछ ब्लगले । पूरा नेपाली भाषामा लेखिने ब्लगको नाम नेपालीपनमा भिज्नु सानदर्भिक नै हो । आँगन - एउटा आत्मीय संसार, खुला परिवेश । तर त्यो पहिलेको नामसँग दाँज्दा भने अलि फिका जस्तो लाग्यो खोइ किन हो ।
    (मैले पनि भर्खरै 'शब्द' मा रुपान्तरण गरेँ क्याफेलाई, तपाईँको यो कोल्टे फेराइले मलाई समेत भर मिल्यो है ! :) )

    बधाई यो यात्रालाई र शुभ कामना छ आगामी घुम्तीको लागि । दुई वर्षे चर्चामा पनि गत वर्ष नामको कुरा आएको थियो मज्जाले । अर्को एक वर्ष पनि पो आइसकेछ, कति छिटै बितेछन् । तर जे-जस्तो भए पनि तपाईँको माझिएको लेखनले आफ्नै स्वाद दिनेछ र अझै मिठास लिएर आउनेमा विश्‍वस्त छौँ हामी ।

    समय मिलाउन सक्नुहोला ब्लगिङ अन्तराल र नियमितताको लागि ।

    ReplyDelete
  22. समय व्यस्तता का कारण, यो घुम्ति कटेको मैले ढिलो मात्र थाहा पाएछु ।
    तीन बर्ष को यात्रा पछि, नाम परिवर्तन भएर "आँगन" भएछ, हुन त पहिले को नाम पनि राम्रो छ, तर यो "आँगन" झनै सशक्त लाग्दैछ, सायद म पनि "आ" प्रेमी भएर होला ! :)

    ३ वर्ष हुँदै गर्दा, आफ्नो ब्लग को स्ट्याट पनि सार्वजनिक गर्नु भएछ, यो नितान्त नयाँ सुरुवात गर्नुभयो । लाग्दैछ, यसो गर्दा पाठक को रुची धेरै हदसम्म जान्ने मौका मिल्छ, अनि सायद अरुहरु ले पनि समय समय मा यस्तै स्ट्याट निकाले धेरै राम्रो, सकेसम्म आफू पनि अब निकाल्ने छु, चाँडै नै !

    अनि नियमितता को कुरा छ, हप्ता मा एउटा वा दुईटा हुनुलाई नियमित मान्नु नै पर्छ, एकसप्ताह पछि पढ्दा धेरै कुरा फरक भइसकेको हुन्छ, पढ्नलाई पनि रमाइलो हुन्छ । तर पनि भन्न मन लाग्छ, सकेसम्म छिटो छिटो अपडेट गर्नुहोस् !

    अन्त्य मा ब्लगलाई जन्मदिन को शुभकामना सहित, ब्लग र यहाँलाई उत्तरोउत्तर प्रगति को कामना !

    Happy Blogging :)

    ReplyDelete
  23. यहाँहरु सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु।

    ReplyDelete