May 15, 2010

सौन्दर्यको पुस्ता




"सौन्दर्यको पुस्ता"
अचानक मेरा आँखा उसमाथि पर्छन्। म झस्कन्छु, उसको सौन्दर्य देखेर। ऊ अर्थात एउटा सानो बच्चा, जो मेरो आँखा अगाडि छ।

खचाखच भरिएको मिनिबसमा म छु, पोखराबाट काठमाण्डौंतिर लाग्दैछु। गुन्द्रुकझैं मान्छे खाँदिरहेछन् बसवालाहरु। सीटहरुको बीचमा रहेको खाली ठाऊँमा समेत मूढा राखेर यात्रीहरु राखिएका छन्। र चिसो, मौन दुर्ब्यबहारको प्रतिति हुन्छ बसवालाहरुको भावभङ्गिमाबाट।

उखर्माउलो गर्मीमा मेरा आँखा लोलाएका थिए, केहिबेर। आँखा खुल्दा म त्यो सुन्दर बालक देख्छु। ऊ आफ्नी आमाको काखमा नाचीरहेछ, जो मूढामा बसेकी छिन्। ऊ चारैतिर आफ्ना उत्सुक नजरहरुलाई दौडाइरहेछ। बसका सब यात्रीहरुलाई हेरिरहेछ। बेलाबेला ऊ आफ्नी आमातिर हेरेर हाँस्छ, उनको अनुहारमा आफ्ना कोमल हातहरु दौडाऊँछ, फेरि हाँस्छ र उनलाई म्वाईँ खान्छ। उसकी आमा हाँस्छिन् र उसलाई अझ सजिलोसंग आफ्नो काखमा उभ्याऊँछिन्। म आफ्नो बाल्यकालमा पनि यस्ता सुखद् दृश्यहरु थिए भन्ने अनुभूतिले रमाउँछु। 


म मन्त्रमुग्ध उसलाई हेरिरहन्छु। म उसलाई मुस्कानले साथी बनाउन चाहन्छु, ऊसंग हाँसो साट्न चाहन्छु। ऊ चारैतिर आफ्नो नजर दौडाइरहन्छ, म अलि छेलिएको भएर होला, ममाथि उसका आँखा पर्दैनन्।

गरीबि र दु:खमा पनि कति सुन्दर फूल फूलेको छ!

उनीहरु आँबु खैरेनीमा झर्छन्। 

म आजसम्म उसको यादमा भित्रभित्रै गुनगुनाईरहेछु। चारैतिरको कुरुपता र यो बढ्दै गएको अन्धकारमा जीवनले उसको लागि कस्तो भविष्य साँचेको होला? गरीबका सन्ततिबाट झन्-झन् टाढा हुँदै गएका अवसरहरुले उसलाई कत्तिको साथ देलान्?

हुर्कँदै गरेको पुस्ताले आफ्नो सौन्दर्य नगुमाओस्, हर क्षेत्रमा सुन्दर होस् भनेर भनेर धेरै काम गर्नु छ। समय अझै बाँकी छ।
(२०५७/३/२१, दिऊँसो ४:३०)

----------------------------------------------------------------------------------
पोखरा बसाईका क्रममा गरिएका अनगिन्ती पोखरा-काठमाण्डौं/काठमाण्डौं-पोखरा यात्राहरुमध्येको एउटा यात्रा यसरी स्मरणीय बनेछ। यात्राको केहि हप्तापछि लेखिएको हुनुपर्छ यो। म घोर आलस्यको बन्दी भएको थिएँ त्यो ताका। लेख्न मन लागेका कुरा मनमनै छड्किएर, छचल्किएर, पोखिएर रित्तिन्थे। धन्य त्यो बच्चा, जसले मलाई यति भएपनि लेख्न बाध्य बनायो।

यो भन्दा अघिल्लो कुराकानीमा पनि भनेको थिएँ, त्यतिबेला यसैगरी 'बाध्य' भएर केहि लेखे पनि एकदम छोटो लेख्थें। 'निबन्ध' नाम दिएर लेखेको यो 'संस्मरण' पनि, देखिहाल्नुभयो, छोटो छ।

तर त्यो दिनको यात्रा, बच्चालाई हेरिरहेको त्यो अवधि अझै ताजा र गाढा छ मेरो मनमा। उनीहरु दमौलीतिरबाट चढेका थिए होलान्, म निदाईरहेको बेला। बच्चाकी आमाको अनुहार राम्रोसंग देखिन मैले,  उनी एकपटक पनि पछाडि फर्किनन्। उनको लवाईमा गरीबि झल्किन्थ्यो। बच्चा तेजिलो थियो र प्रेम र मायालु स्पर्श पाएर हुर्किरहेको लाग्थ्यो। कुपोषित भन्न मिल्दैनथ्यो उसलाई तर पूर्ण पोषित भने निश्चय पनि थिएन। त्यत्तिको हुर्काउन पनि उसका बाबुआमालाई कति गाह्रो भईरहेको थियो होला, कति छाक आफ्नो गाँस काटेर उसलाई खुवाएका होलान्।

दश वर्ष बितिसकेछ त्यो 'विशेष' यात्रा पछि। सबै यात्रा यस्तै विशेष हुँदैनन्। सम्झिल्याऊँदा भेट्छु, मेरा स्मृतिका विशेष यात्राहरु धेरैजसो बच्चाहरुकै कारण 'विशेष' बनेका रहेछन्। बच्चाहरुकै कारण मलाई यो पृथ्वी पनि विशिष्ट लाग्छ र मानव जीवनको यात्रा पूरै पनि सुन्दर लाग्छ। 

अहिले ऊ ११-१२ को भयो होला। के गर्दै होला ऊ यतिखेर? उसले पढ्ने मौका पायो कि पाएन होला? आफ्नो जन्मदेखिनै ऊ देश र समाजमा फैलिरहेको घृणा र हिंसाको कुरुप डढेलोको रापमा छटपटाएर हुर्किरहेछ। कस्तो वयष्क बन्ला ऊ?

अवसरहरु ऊ र ऊजस्ता गरीबका सन्ततिबाट झन्-झन् टाढा गईरहेछन्। एकथरीलाई उसको मतलब छैन, मतलब भएनै पनि बढीमा सस्तोमा किन्न सकिने एकजोर पाखुरीभन्दा बढी ठान्दैनन् उनीहरु उसलाई। अर्काथरि छन् जो उसको नाम जप्छन् र उसको ध्यान दिएको ढोंग गर्छन् तर उनीहरुका लागि पनि ऊ सस्तोमा किन्न सकिने एकजोर पाखुरीबाहेक केहि पनि होईन। शिक्षा र नवीन चिन्तनले भरिनुपर्ने उसको दिमागमा उनीहरु घृणा र अपरिपक्वता भरिरहेछन् र उसलाई एउटा स्वाधीन र सक्षम वयष्क होईन, आफैंसंग र अरुसंग त्रसित एउटा यन्त्रमानव बनाउने दुष्प्रयास गरिरहेछन्। यसरी उसका लागि कि खाडीको प्रचण्ड गर्मीमा आफूलाई बेच्ने वा कसैको अहंको लागि दिमागशून्य, विचारशून्य बनेर लडिदिने बाहेकका अरु विकल्प कमै देखिन्छन्। 

हाम्रो देश र समाजको दुर्भाग्य यहि हो र राजनीतिक दलहरु र नेताहरुले गरेको सबैभन्दा ठूलो अपराध पनि यहि हो कि जहिले पनि देशको युवाशक्तिको घोर दुरुपयोग गरियो, युवाहरुको सृजनात्मक शक्तिलाई जहिले पनि घाँटी अँठ्याएर मारियो। युवाहरु दलका लागि सडक तताईदिनेभन्दा अरु उपयोगका मानिएनन्। यसरी  कुनै पनि पुस्तालाई सबल र सक्षम हुन दिईएन। अझ डरलाग्दो कुरा त, यो दुरुपयोगको शृंखलालाई अब बच्चाहरुसम्मै पु-याईसकिएको छ र घिनलाग्दो फोहरी राजनीतिले गरीबका सन्ततिको बाल्यकाल पनि खोस्दैछ।

मेरो यात्रालाई विशेष बनाईदिने त्यो बच्चाको पुस्ता आफ्नो शारीरिक-मानसिक विकासको अति महत्वपूर्ण उमेरमा छ यतिखेर। त्यो पुस्तालाई सक्षम, चिन्तनशील, निडर र परिपक्व बनाउने एउटै बाटो देश र समाजमा ब्यापक शैक्षिक क्रान्ति ल्याउनु हो। शिक्षाको अवसर सबैभन्दा महत्वपूर्ण अवसर हो र यसबाट त्यो मेरो प्रिय फुच्चे र उसको पुस्ताको कोहि पनि वञ्चित हुनुहुँदैन। अर्कोतिर, आजका वा भोलिका, युवाहरुमा रहेको अपार उर्जा र सृजनात्मक शक्तिको उचित निकासका लागि यथेष्ट रोजगारीको सृजना गरिनुपर्छ र राजनीतिक दलहरुले तिनलाई दुरुपयोग गर्न पाउने अवश्थाको अन्त्य गरिनुपर्छ।

शैक्षिक जागरण र रोजगारी सृजनामानै मेरो त्यो प्रिय फुच्चे, उसको पुस्ता र हाम्रो देश पूरैको भविष्य निर्भर छ।

 Image Source: Click Here

11 comments:

  1. Though it takes time,but I have started relating to what you put across!

    ReplyDelete
  2. तपाईं भित्रको कामना जस्तो छ त्यस्तै हुर्किएको होस् तपाईंको प्रिय फुच्चे र सौंदर्यका आउँदा पुस्ताहरुले उसको जस्तो भयावह समयमा हुर्किन नपरोस् ।

    ReplyDelete
  3. पोस्ट एकदमै मन पर्‍यो तर यस्तो पोस्टमा केही कमेण्ट भने लेख्न आएन :

    NO COMMENT!

    ReplyDelete
  4. दृष्टान्तसहितको राम्रो लेख ! भविष्यका राष्ट्रनिर्माताहरूलाई विध्वंशको धुवाँ होइन, शिक्षाको उज्यालो घाम दिनुपर्छ र दिनुपर्छ सुशान्त, स्वच्छ, रमणीय तथा मनोवैज्ञानिक वातावरण !

    ReplyDelete
  5. जुन रंगीन सपनाको लोभमा उनीहरुलाई सडकमा ओरालिएको छ, तिनै सपनाहरुको ओइलिदै गएको, खुइलिदै गएको र विकृत हुदै गएको अवस्था र अन्योलताको भिषण त्रासदीमा छन आजका धेरै किशोर र तन्नेरीहरु । तर हामीसंग अझै सपना छ, ती सपनाहरु नधमिलिएको हेर्ने,पुरा भएको हेर्ने र यो सपना सुन्दर छ ।

    ReplyDelete
  6. mali padhda ramilo laagyo sathsathai chinta pani lagyo!!!yes! i agree with u!! education is the most! jabasamma sabitaira education hudaian taba sama des lai garo nai huncha!!!!actually ahile ta sabi isms lai chhodera shikshya ko kranti tira chai hami sabi lagnu parcha!!! then we can exercise so called democracy ,loktantra, ganatantra bla bla bla!! the example of the little boy in this article is very apt!! actually i ma fan of ur writing

    ReplyDelete
  7. शैक्षिक जागरण ! खै अहिलेका बडेमान स्कुल ,कलेज र यो समाज ले हामीलाई सुचित (कुनै पनि कुराको ) गराउने मात्र काम गर्या छ जस्तो लाग्छ तर चेतना खुलाउन अझै सक्या छैन ! हो त्यसकै दोष हो - जसमा हाम्रो बढी दोष सहेको छ जस बाट एउटा समाज / राष्ट्र तयार (बनोट ) भएको छ !

    ReplyDelete
  8. 'सौन्दर्यको पुस्ता' - शिर्षक निकै कलात्मक लाग्यो।

    तपाईंले औँल्याउनुभएजस्तै शिक्षा र रोजगारीका अवसरले नै उक्त फुच्चे र उसपछिका पुस्तालाई साँच्चिकै 'सौन्दर्यको पुस्ता' बनाउनेछन् भन्ने यथार्थको बोध सबैमा हुनु जरुरी छ।

    ReplyDelete
  9. हिजै पढ्नासाथ प्रतिक्रिया लेख्‍न जमर्को गरेथेँ, के लेखूँ के लेखूँ भो, दिमाग भुनुन्न मात्र भो । ाज फेरि दोहोर्‍याएँ ।

    माथिको बसयात्रा पढ्दै जाँदा भिक्षुको 'मेरो सानु साथी'कै भाँतीमा संवेदनामयी रमरम मिल्दै थियो, तर कुरा अझ गहिरो रहेछ ।

    खासमा त्यो फुच्चेको पुस्ता मात्र किन, मेरो पुस्तासम्मन् बडो कस्टकर जीवनमा रन्थनिएको छ । केहीको निश्‍चितता छैन । पाखुरी भजाउनेले राजनीतिलाई दायाँ पार्लान् । त्यो पनि नगर्ने, मन नहुनेको झन् बिजोग ! राजनीतिको फोहोरले छोपेपछि सखाप हुनेहरू त भइहाले, आफ्नो बाटोमा हिँडेकाहरूको 'दिन'मा पनि दशा सवार नहुने ग्यारेन्टी छैन ।
    अझ केही पुस्ता राष्‍ट्रिय अव्यवस्थाको घानमा पीडित मकै बनिरहनेछन् ।
    कामना गरौँ, यो अवस्था चाँडै टरोस् ।
    त्यो फुच्चेले पनि सही तवरमा शैक्षिक अवसर पाएको होस् ।

    ReplyDelete
  10. हिजै पढ्नासाथ प्रतिक्रिया लेख्‍न जमर्को गरेथेँ, के लेखूँ के लेखूँ भो, दिमाग भुनुन्न मात्र भो । आज फेरि दोहोर्‍याएँ ।

    माथिको बसयात्रा पढ्दै जाँदा भिक्षुको 'मेरो सानु साथी'कै भाँतीमा संवेदनामयी रमरम मिल्दै थियो, तर कुरा अझ गहिरो रहेछ ।

    खासमा त्यो फुच्चेको पुस्ता मात्र किन, मेरो पुस्तासम्मन् बडो कस्टकर जीवनमा रन्थनिएको छ । केहीको निश्‍चितता छैन । पाखुरी भजाउने (पर्ने)ले राजनीतिलाई दायाँ पार्लान् । त्यो पनि नगर्ने, मन नहुनेको झन् बिजोग ! राजनीतिको फोहोरले छोपेपछि सखाप हुनेहरू त भइहाले, आफ्नो बाटोमा हिँडेकाहरूको 'दिन'मा पनि दशा सवार नहुने ग्यारेन्टी छैन ।
    अझ केही पुस्ता राष्‍ट्रिय अव्यवस्थाको घानमा पीडित मकै बनिरहनेछन् ।
    कामना गरौँ, यो अवस्था चाँडै टरोस् ।
    त्यो फुच्चेले पनि सही तवरमा शैक्षिक अवसर पाएको होस् ।

    ReplyDelete
  11. यहाँहरु सबैलाई हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु।

    ReplyDelete