May 30, 2010

'प्याकेज' माने पोका

सधैंजस्तो यसपटक पनि भूत-प्रेत-निशाचरको शैलीमा काम ग-यो नेपालको राजनीतिले। संविधान-सभाको आयु मिलोमतोमा थपियो मध्यरात कटेपछि। दुई वर्ष गलत प्राथमिकतामा देशलाई अल्झाएर जुँघाको लडाईँ लडेपछि अब एक वर्षपनि त्यसै गर्ने मौका पाएका छन् दल र नेताहरुले। आशावादी हुनु बाहेक अरु विकल्प छैन यतिखेर, तर मलाई आउने एक वर्षमा पनि संविधान बन्ला जस्तो लाग्दैन। "जब प-यो राती, अनि----" कै शैलीमा बित्ने संभावना प्रवल छ। एक वर्ष पछि लोकलाजका लागि एउटा 'कामचलाऊ' संविधान जारी गर्न पनि सक्छन्। अर्कोतिर, एक वर्षपछि फेरि समय बढाउन पनि सक्छन्, तीन ठूला दल मिलेपछि जे पनि भईहाल्छ नि भन्ने मान्यतालाई जोडतोडले स्थापित गर्न थालिसकिएको छ। 'लोकलाज' को ख्यालनै हुने भए त अहिल्यै संविधान जारी गरिसक्थे। 

अरु 'चमत्कार' नहुँदा आउने एक वर्षपनि देश छिमेकी र अरु केहि शक्तिराष्ट्रहरुको कूटनीतिक चलखेलको मैदान भईरहने सम्भावना धेरै छ। सोझै भन्दा यो 'भगवान भरोसा' को स्थिति हो। पानी धमिलो हुँदै जाँदा सशस्त्र समूहहरु वर्षातका च्याउसरी बढ्दै जाने, बलिया हुँदै जाने निश्चित छ। माओवादी जनविद्रोह र सत्ताकब्जाको माछा मार्न निहुँ खोजेर ढुकिरहनेछ। दक्षिणपन्थीहरु पनि कुनै न कुनै 'वाहन'मा चढेर सल्बलाईरहनेछन्।

निशाचरलेझैं आधा रातमा जुन सहमति गरियो, त्यसमा नयाँ केहि छैन। यत्तिकै लागि देशलाई यति लामो समयसम्म बन्दी बनाईएको हो भने "थुक्क!" बाहेक अरु मनमा आऊँदैन। त्यतिमै कुरो मिल्ने थियो भने, पहिल्यै यो सम्झौता गरेको भए भईहाल्थ्यो। बेकारमा देशको मानसिकतामा के हुने हो र कसो हुने हो भन्ने आतंक मात्रै भरियो।

यो सहमतिबाट माओवादीले त झन् केहि पनि पाएको छैन। विगतका सम्झौताहरु पालन हुने हो र कथित 'प्याकेज'मा सम्झौता हुने हो भने "छोड्न तयार छु!" भनेर माकुनेले उहिल्यैदेखि दोहोराइरहेका छन्।  यो सहमतिको आशय पनि त्यहि देखिन्छ। माओवादीले नयाँ संविधान बनाउनुभन्दा पनि (गैर-संवैधानिक बाटोबाट) अहिलेको सरकार ढाल्नुलाईनै आफ्नो एकसुत्रीय उद्देश्य बनायो र देशको राजनीतिलाई माकुने र पुकदाको जुँघाको लडाईँको रुप दियो यति लामो समयसम्म। सबैलाई थाहा थियो, संविधानसभाको म्याद थप्न अन्तिम समयमा माओवादी बाध्य हुन्छ भनेर किनभने माओवादीसंग न टेक्न अन्त भुईँ छ यतिखेर न समाउने अर्को हाँगो। 

सहमति पढिहेरौं एकचोटि;

ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिम संविधान २०६३, लोकतन्त्र, दिगो शान्ति तथा विस्तृत शान्ति सम्झौताअनुरूप हामीहरू निम्नलिखित प्रतिबद्धता व्यक्त गर्दछौं :-

१.    शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन यस सम्बन्धमा बाँकी कामहरू अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामीहरू दृढ प्रतिज्ञ छौं ।

२.     नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनीय काम भए तापनि सबै कार्य पूरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौं ।

३.    उपर्युक्त जिम्मेवारी एवं कार्यहरू यथाशीघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको कुरा स्पष्ट गर्दछौं ।


तेश्रो बुँदा, बढीमा, जसले जसरी ब्याख्या गरेपनि हुने खाल्को छ। शब्दहरुको खेलमा दुई वर्ष बितेपछि, फेरि एक वर्ष पनि शब्दहरुकै खेलमा बिताउने स्रोत हो यो ३ नम्बरी बुँदा। 

जबसम्म राजनीतिमा ईमान्दार र संवेदनशील मान्छेहरुको बहुमत हुँदैन, तबसम्म हाम्रा सुखका दिन नआउने निश्चित छ।
--------------------------------------------------------------------
देशमा केहि समय यता 'प्याकेज' शब्द बहुत 'हिट' भयो। 'प्याकेज' को शुद्ध नेपाली अनुवाद 'पोका' नै हुनुपर्छ। हाम्रा नेताहरुले किन 'पोका' प्रयोग नगरेर 'प्याकेज' प्रयोग गरे त्यो म जस्तो अदनाले जान्ने कुरा भएन, तर अचेल मलाई 'पोका' शब्दको 'माया' लाग्न थालेको छ। यसैले म 'पोका'लाई पनि 'हिट' गराउने काममा जुट्ने निर्णयमा पुगेको छु:)

'प्याकेज' माने पोका

कुरै-कुरामा 'हावा' पोका पारे
पानीमा पाधेर फोका पारे
'प्याकेज' मा सहमति गर्नेभन्दै
हाम्रो भागमा धोकै-धोका पारे!

'पोका' महात्म्य तपाईँसंग पनि छन् कि:)

May 25, 2010

दुई पुराना मुक्तकहरु - "होशियार"

यसपटक "ईतिहासको ब्याज" ले काम चलाउनुपर्ने भयो:)

"होशियार -१"

बहुदलमाराले संविधानसभाको भाषण पस्किए
नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए
बजारमा खरानीको अभाव हुँदैछ चाँडै-
हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए !


"होशियार -२"

छेपाराहरु रंग बदल्न सक्छन्
स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन्
नदेखिने दाराहरु पनि छन् ब्वाँसाका-
होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!
(मे २२, २००६)

May 19, 2010

तीन घुम्ती काटेपछि

तस्बीर साभार: bigfoto
समय आफ्नै गतिमा लगातार सोझै अगाडि बढिरहन्छ, हामी मान्छेहरु आफ्नो सुविधाको लागि यसलाई खण्डखण्ड पारेर यसका बारेमा कुरा गर्छौं। र समयको बारेमा सोच्दा; वर्तमानको हामीलाई पत्तै हुँदैन, भविष्य सम्झेर हामी आत्तिन्छौं तर बितेको समय फर्केर हेर्दा "ए! कतिचाँडै बितेछ है!" जस्तो लाग्छ। आज यस्तै-यस्तै अनुभूति भईरहेछ, मैले यो ब्लग शुरु गरेको तीन वर्ष पुग्यो आज। कुनै लामो यात्रामा तेश्रो घुम्ती कटेपछिको भावले भरिएको छु म। 

मेर यो ब्लग यात्रामा मलाई हौस्याउनुहुने समस्त आदरणीय पाठकहरु र सहयात्री ब्लगर साथीहरुलाई हार्दिक धन्यबाद दिनचाहन्छु। तपाईँहरुका कारण तीन वर्षको यो यात्रा हरेक क्षणमा एकदम स्मरणीय र उल्लासपूर्ण रह्यो मेरा लागि, मलाई कहिल्यै एक्लोपना र निराशाको बोध भएन यो यात्रामा। ब्लग मेरा लागि एउटा आत्मीय संसार बन्यो र म बिश्वस्त छु यो यस्तै आत्मीय रहिरहनेछ।
   
निरन्तर जीवन्त र बिस्तारित बनिरहेको नेपाली ब्लग जगतको एउटा सदस्य बन्न पाऊँदाको हर्ष र गौरवले भरिन्छु म जतिखेर पनि। नेपाली ब्लग-जगत (नेपाली वा अरु कुनै पनि भाषामा नेपालीले चलाएका ब्लगहरु) अझ बिस्तारित, अझ ब्यापक र अझ विविधतापूर्ण हुनसक्छ, यसका लागि तपाईँहरुको चासो, माया, आलोचना र सुझावको आवश्यकता रहिरहनेछ सधैं।
-----------------------------------------------------------------
गएको वर्षलाई सर्सर्ती फर्केर हेरौं आज। (यो समेत गरेर) ६९ वटा पोष्ट लेखिएछ। दोश्रो वर्षमा ९२ वटा लेखिएको थियो। संख्या घटेपनि लेखाईबाट आउने आत्मसन्तुष्टिमा भने कुनै कमी आएको छैन। निश्चित रुपमा भ्याएसम्म संख्या पनि बढाउन मन छ, लेख्ने विषय जति पनि छन् मनमा; तर समय मिलाउन झन्-झन् कठिन हुँदै छ। कम्तिमा हप्तामा दुई पोष्ट लेख्ने रहर हो मेरो तर त्यो असम्भवजस्तै देखेर पाँच दिनमा एउटाको नियममा बाँधिने कोशिशमा छु। त्यसमै पनि राम्रोसंग टिक्न सकेको छैन, कहिलेकाहीँ ६ दिन पुग्छ। 

कुन-कुन टाँसो बढी पढिएछ भनेर हेर्न मन लाग्यो। गत वर्षबाट फेसबुकलाई पनि ब्लगका लागि ब्यापक 'सदुपयोग' गरिएकाले फेसबुकमा कुन पोष्टको लिंक कति पटक राखियो वा फेसबुकको Networked Blogs को Publish कति पटक प्रयोग गरियो भन्ने कुराले पनि धेरै प्रभाव पारेको पक्का छ यो गणनामा:) तैपनि, गुगलले देखाए अनुसार, कथाजस्तै सत्यकथा सबैभन्दा पढिएछ गत वर्ष। त्यसपछि क्रमैसंग 'अगुल्टाहरु बस्ती पसेका छन्', 'एउटा प्रेमकथा', 'भुँडीले गति छोड्यो!!!',  'संभावित ब्लगरहरुसंग', 'गौतम सर, फर्मुला छोरी र भाउजू', 'राग/बैराग-चार नयाँ मुक्तकहरु', 'संगठन कि ई-मेल समूह?', 'एमालेको सातपुस्ते श्राद्ध' र 'नेपाली ब्लगरहरु:सन्तान थरी-थरीका' बढी पढिएछन्।

पाठकहरु आउने पाँच प्रमुख स्रोत क्रमश: direct, google search, facebook/referral, blogger referral र networked blogs.com/referral रहेछन्। सर्च ईञ्जिनको हकमा गुगलको दाँजोमा अन्य सर्च ईञ्जिन हुँदै आउनेको संख्या नगण्यनै रहेछ। गुगलमा 'सत्यकथा' खोजेर यो ब्लगमा आईपुग्ने सबैभन्दा बढी रहेछन्। त्यसपछिका शब्द/शब्द-समूह हरु क्रमश: 'basanta gautam', 'प्रेम कथा', 'कथा', 'सत्य कथा', 'ओशोको' रहेछन्। खोजीको पाँचौं स्थानमा पनि 'सत्य कथा' परेपछि कथाजस्तै सत्यकथा सबैभन्दा बढी पढिनु स्वाभाविकै भयो अब।

र pageviews, visitors, unique visitors सबै २०१०, मार्च २ मा सबैभन्दा बढी देखिए।
------------------------------------------------------------------
र तीन घुम्ती काटेपछि अब "आँगन"

माथि देखिहाल्नुभयो होला, मैले यो ब्लगको नेपाली नाम खोज्ने कार्यलाई "आँगन"मा लगेर टुंग्याएको छु अहिलेलाई। अघिल्लो नाम "The Road to Nowhere Goes Everywhere---" पनि मलाई एकदम मन परेको हो; तर पूरै नेपाली भाषामा लेखिने ब्लगको नाम (शीर्षक) नेपालीनै राख्ने विचार पनि पूरानै हो मेरो, नामको खोजी मेरो एउटा अर्को 'लत' नै बनिसकेको थियो:)

तलको यो स्क्रीन शट पूरानो नामको अभिलेखका लागि।


यो "आँगन" जुर्नुको श्रेय निद्रा नपरेको एउटा रातलाई जान्छ। निद्रा नपरेपछि मनमा अरु कुराको साथमा ब्लगको नाम फेर्नुपर्ने तर्कना पनि चलिरहेको थियो। त्यतिबेलै मनमा आफ्नो एउटा पूरानो रचना पनि आईपुग्यो। रचना ५ वर्ष पहिलाको हो, जापानका प्राचीन राजधानी शहरहरु क्योटो र नाराको भ्रमण गरेपछि जन्मिएको हो त्यो रचना। क्योटो र नारामा सबै समयका पदचापहरु, अति प्राचीनदेखि अत्याधुनिकसम्म संगसंगै, चालमा चाल मिलाएर गुञ्जिएको अनुभव गरेपछि हाईकूको कद दिएर (तर हाईकूका नियमभन्दा बाहिर गएर) मैले लेखेको थिएँ;

 "क्योटो"

आदिम आँगन,
शताब्दीहरु-
नाच्दै बग्छन्।

दिमागमा यो टुक्रा आएपछि बिना केहि आनाकानी तुरुन्त मेरो निर्णय जन्मियो, ब्लगलाई अब "आँगन" को रुपमा न्वारान गर्ने। 
--------------------------------------------------------------------------------- 
तपाईँहरुसंगको कुराकानी निरन्तर चलिरहनेनैछ, यसपछिको अर्को वर्ष र अरु धेरै-धेरै वर्षहरु। तपाईँहरुलाई फेरि एकचोटि हार्दिक धन्यबाद दिँदै, यो "आँगन"मा मेरा विचार र सपनाका बिस्कुन सुकाएर तपाईँको स्वागतको लागि हरदम प्रतीक्षारत रहँदै आजलाई बिदा चाहन्छु।
  
सबैको जय होस्!

May 15, 2010

सौन्दर्यको पुस्ता




"सौन्दर्यको पुस्ता"
अचानक मेरा आँखा उसमाथि पर्छन्। म झस्कन्छु, उसको सौन्दर्य देखेर। ऊ अर्थात एउटा सानो बच्चा, जो मेरो आँखा अगाडि छ।

खचाखच भरिएको मिनिबसमा म छु, पोखराबाट काठमाण्डौंतिर लाग्दैछु। गुन्द्रुकझैं मान्छे खाँदिरहेछन् बसवालाहरु। सीटहरुको बीचमा रहेको खाली ठाऊँमा समेत मूढा राखेर यात्रीहरु राखिएका छन्। र चिसो, मौन दुर्ब्यबहारको प्रतिति हुन्छ बसवालाहरुको भावभङ्गिमाबाट।

उखर्माउलो गर्मीमा मेरा आँखा लोलाएका थिए, केहिबेर। आँखा खुल्दा म त्यो सुन्दर बालक देख्छु। ऊ आफ्नी आमाको काखमा नाचीरहेछ, जो मूढामा बसेकी छिन्। ऊ चारैतिर आफ्ना उत्सुक नजरहरुलाई दौडाइरहेछ। बसका सब यात्रीहरुलाई हेरिरहेछ। बेलाबेला ऊ आफ्नी आमातिर हेरेर हाँस्छ, उनको अनुहारमा आफ्ना कोमल हातहरु दौडाऊँछ, फेरि हाँस्छ र उनलाई म्वाईँ खान्छ। उसकी आमा हाँस्छिन् र उसलाई अझ सजिलोसंग आफ्नो काखमा उभ्याऊँछिन्। म आफ्नो बाल्यकालमा पनि यस्ता सुखद् दृश्यहरु थिए भन्ने अनुभूतिले रमाउँछु। 


म मन्त्रमुग्ध उसलाई हेरिरहन्छु। म उसलाई मुस्कानले साथी बनाउन चाहन्छु, ऊसंग हाँसो साट्न चाहन्छु। ऊ चारैतिर आफ्नो नजर दौडाइरहन्छ, म अलि छेलिएको भएर होला, ममाथि उसका आँखा पर्दैनन्।

गरीबि र दु:खमा पनि कति सुन्दर फूल फूलेको छ!

उनीहरु आँबु खैरेनीमा झर्छन्। 

म आजसम्म उसको यादमा भित्रभित्रै गुनगुनाईरहेछु। चारैतिरको कुरुपता र यो बढ्दै गएको अन्धकारमा जीवनले उसको लागि कस्तो भविष्य साँचेको होला? गरीबका सन्ततिबाट झन्-झन् टाढा हुँदै गएका अवसरहरुले उसलाई कत्तिको साथ देलान्?

हुर्कँदै गरेको पुस्ताले आफ्नो सौन्दर्य नगुमाओस्, हर क्षेत्रमा सुन्दर होस् भनेर भनेर धेरै काम गर्नु छ। समय अझै बाँकी छ।
(२०५७/३/२१, दिऊँसो ४:३०)

----------------------------------------------------------------------------------
पोखरा बसाईका क्रममा गरिएका अनगिन्ती पोखरा-काठमाण्डौं/काठमाण्डौं-पोखरा यात्राहरुमध्येको एउटा यात्रा यसरी स्मरणीय बनेछ। यात्राको केहि हप्तापछि लेखिएको हुनुपर्छ यो। म घोर आलस्यको बन्दी भएको थिएँ त्यो ताका। लेख्न मन लागेका कुरा मनमनै छड्किएर, छचल्किएर, पोखिएर रित्तिन्थे। धन्य त्यो बच्चा, जसले मलाई यति भएपनि लेख्न बाध्य बनायो।

यो भन्दा अघिल्लो कुराकानीमा पनि भनेको थिएँ, त्यतिबेला यसैगरी 'बाध्य' भएर केहि लेखे पनि एकदम छोटो लेख्थें। 'निबन्ध' नाम दिएर लेखेको यो 'संस्मरण' पनि, देखिहाल्नुभयो, छोटो छ।

तर त्यो दिनको यात्रा, बच्चालाई हेरिरहेको त्यो अवधि अझै ताजा र गाढा छ मेरो मनमा। उनीहरु दमौलीतिरबाट चढेका थिए होलान्, म निदाईरहेको बेला। बच्चाकी आमाको अनुहार राम्रोसंग देखिन मैले,  उनी एकपटक पनि पछाडि फर्किनन्। उनको लवाईमा गरीबि झल्किन्थ्यो। बच्चा तेजिलो थियो र प्रेम र मायालु स्पर्श पाएर हुर्किरहेको लाग्थ्यो। कुपोषित भन्न मिल्दैनथ्यो उसलाई तर पूर्ण पोषित भने निश्चय पनि थिएन। त्यत्तिको हुर्काउन पनि उसका बाबुआमालाई कति गाह्रो भईरहेको थियो होला, कति छाक आफ्नो गाँस काटेर उसलाई खुवाएका होलान्।

दश वर्ष बितिसकेछ त्यो 'विशेष' यात्रा पछि। सबै यात्रा यस्तै विशेष हुँदैनन्। सम्झिल्याऊँदा भेट्छु, मेरा स्मृतिका विशेष यात्राहरु धेरैजसो बच्चाहरुकै कारण 'विशेष' बनेका रहेछन्। बच्चाहरुकै कारण मलाई यो पृथ्वी पनि विशिष्ट लाग्छ र मानव जीवनको यात्रा पूरै पनि सुन्दर लाग्छ। 

अहिले ऊ ११-१२ को भयो होला। के गर्दै होला ऊ यतिखेर? उसले पढ्ने मौका पायो कि पाएन होला? आफ्नो जन्मदेखिनै ऊ देश र समाजमा फैलिरहेको घृणा र हिंसाको कुरुप डढेलोको रापमा छटपटाएर हुर्किरहेछ। कस्तो वयष्क बन्ला ऊ?

अवसरहरु ऊ र ऊजस्ता गरीबका सन्ततिबाट झन्-झन् टाढा गईरहेछन्। एकथरीलाई उसको मतलब छैन, मतलब भएनै पनि बढीमा सस्तोमा किन्न सकिने एकजोर पाखुरीभन्दा बढी ठान्दैनन् उनीहरु उसलाई। अर्काथरि छन् जो उसको नाम जप्छन् र उसको ध्यान दिएको ढोंग गर्छन् तर उनीहरुका लागि पनि ऊ सस्तोमा किन्न सकिने एकजोर पाखुरीबाहेक केहि पनि होईन। शिक्षा र नवीन चिन्तनले भरिनुपर्ने उसको दिमागमा उनीहरु घृणा र अपरिपक्वता भरिरहेछन् र उसलाई एउटा स्वाधीन र सक्षम वयष्क होईन, आफैंसंग र अरुसंग त्रसित एउटा यन्त्रमानव बनाउने दुष्प्रयास गरिरहेछन्। यसरी उसका लागि कि खाडीको प्रचण्ड गर्मीमा आफूलाई बेच्ने वा कसैको अहंको लागि दिमागशून्य, विचारशून्य बनेर लडिदिने बाहेकका अरु विकल्प कमै देखिन्छन्। 

हाम्रो देश र समाजको दुर्भाग्य यहि हो र राजनीतिक दलहरु र नेताहरुले गरेको सबैभन्दा ठूलो अपराध पनि यहि हो कि जहिले पनि देशको युवाशक्तिको घोर दुरुपयोग गरियो, युवाहरुको सृजनात्मक शक्तिलाई जहिले पनि घाँटी अँठ्याएर मारियो। युवाहरु दलका लागि सडक तताईदिनेभन्दा अरु उपयोगका मानिएनन्। यसरी  कुनै पनि पुस्तालाई सबल र सक्षम हुन दिईएन। अझ डरलाग्दो कुरा त, यो दुरुपयोगको शृंखलालाई अब बच्चाहरुसम्मै पु-याईसकिएको छ र घिनलाग्दो फोहरी राजनीतिले गरीबका सन्ततिको बाल्यकाल पनि खोस्दैछ।

मेरो यात्रालाई विशेष बनाईदिने त्यो बच्चाको पुस्ता आफ्नो शारीरिक-मानसिक विकासको अति महत्वपूर्ण उमेरमा छ यतिखेर। त्यो पुस्तालाई सक्षम, चिन्तनशील, निडर र परिपक्व बनाउने एउटै बाटो देश र समाजमा ब्यापक शैक्षिक क्रान्ति ल्याउनु हो। शिक्षाको अवसर सबैभन्दा महत्वपूर्ण अवसर हो र यसबाट त्यो मेरो प्रिय फुच्चे र उसको पुस्ताको कोहि पनि वञ्चित हुनुहुँदैन। अर्कोतिर, आजका वा भोलिका, युवाहरुमा रहेको अपार उर्जा र सृजनात्मक शक्तिको उचित निकासका लागि यथेष्ट रोजगारीको सृजना गरिनुपर्छ र राजनीतिक दलहरुले तिनलाई दुरुपयोग गर्न पाउने अवश्थाको अन्त्य गरिनुपर्छ।

शैक्षिक जागरण र रोजगारी सृजनामानै मेरो त्यो प्रिय फुच्चे, उसको पुस्ता र हाम्रो देश पूरैको भविष्य निर्भर छ।

 Image Source: Click Here

May 09, 2010

हरियो बतास


साकुरा झरेको धेरै भईसक्यो, अब त नामनिशान पनि कतै देखिँदैन। साकुराको ठाऊँ हरियो पालुवाले लिएको छ। वसन्तमा फूल्ने फूलहरुपनि मगमगाईरहेछन् जताततै। 

वसन्तको शुरुवात केहि ढिला भयो यसपालि। अब केहि समयपछिनै फेरि प्रचण्ड गर्मी पाहुना बन्न आउनेछ। यो वर्षको छोटो वसन्तलाई छिटो-छिटो नपिई भएको छैन।

केहि दिन पहिले नागोयाको समुद्री तटमा रहेको Wild Flower Garden घुम्ने मौका मिलेको थियो। साह्रै सुन्दर र मनमोहक ठाऊँ रहेछ। जंगली फूल र अन्य वनस्पतिको माझमा आनन्दित भएर एक दिन बिताईयो। यतिका वर्षपछि बल्ल पुगियो यो ठाऊँ पनि।

तलका यी तस्बीरहरु त्यसै ठाऊँका हुन्।  





फूलहरुको सौन्दर्यको कुरा छँदैछ, मलाई पातहरुको नयाँ हरियाली, नयाँ पालुवा पनि उत्तिकै मन पर्छ, उत्तिकै सुन्दर लाग्छ। गहन हरियालीले मलाई जहिले पनि नेपाल सम्झाऊँछ। यसैले मैले नेपालको सम्झनामा लेखकेो "सपनीमा आज फेरि देश देखें" शीर्षकको गजलमा "फूलमा चढेको रंगको के कुरा? पातमा वसन्तको प्रवेश देखें" भनेर लेखेको छु। 

केहि दिन पहिला एउटा लहडले डोरिएर म हानामीमा हिँडेको यामाजाकी खोलाको किनारमा फेरि पुगें, एउटै ठाऊँ साकुरा हुँदाको बेला र हरियाली हुँदाको बेला कत्तिको फरक देखिँदो रहेछ भनेर हेर्न:)


दुई सुन्दरीहरु, साकुरा र हरियाली, उत्तिकै सौन्दर्य बोकेका तर फरक-फरक आयाममा बाँचिरहेकाझैं लाग्यो मलाई। झपक्क भरिएको साकुरामा बिस्तार हुन्छ, फैलावट हुन्छ र त्यो उडिरहेझैं लाग्छ। हरियालीमा भने गहनता हुन्छ, सघनता हुन्छ र त्यो कुनै रहस्यको खोजमा झन्-झन् गहिरिँदै गईरहेझैं लाग्छ। हरियालीको आनन्द पनि त्यसमै गहिरिएर, त्यसमै डुबेर र त्यसको माध्यमबाट आफैंमा गहिरिएर र डुबेर लिन सकिन्छ। यसैले हरियालीले समूहभन्दा पनि आनन्दित एक्लोपना र निजत्वलाई आमन्त्रण गर्छ।

यो चारैतिरको हरियालीले ११ वर्षभन्दा पहिलाको एउटा सानो टुक्रा सम्झायो मलाई। पोखरा बसाईको त्यो ताका म एकदम कम लेखिरहेको थिएँ, कहिलेकाहीँ कविता-निबन्ध जे लेख्थें ती पनि एकदमै छोटा लेख्थें। कुनै बिहानको हरियो बतासमा डुबेर लेखिएको यो छोटो टुक्रा कोसेलीस्वरुप यहाँहरुका माझमा राख्ने अनुमति चाहन्छु।

यो बिहान  
बादलहरुको जन्ती हिँडिरहेछ आकाशमा,
माछापूच्छ्रे मुस्काऊँदै रमिता हेरिरहेछ-
र म हरियो बतासमा डुबिरहेछु।
 


सबैको जय होस्!

May 04, 2010

म नेपाली जनता

'निर्णायक' भनिएको बहस हेरेको थिईन मैले; समय पनि मिलेको थिएन, अर्कोतिर नेताहरुले के नै नयाँ कुरा भन्लान् र जस्तो पनि लागेको थियो। हिजो यूटयुबमा हेर्न खोज्दा शुरुमै 'जनता भनेको के हो?' रहेको भागमा पुगिएछ, जहाँ प्रचण्ड सधैंजस्तै साम्यवादी शब्दजालमा 'जनता' शब्दको ब्याख्या गर्दै थिए। माओवादीले आफ्ना दस्तावेजहरुमा, उनीहरुका भाषणहरुमा जुन शब्दजाल आफ्ना विरोधीहरुका लागि प्रयोग गर्छन्, त्यहि शब्दजाल जनताको परिभाषामा प्रयोग गरिएको थियो। यसको अर्थ, जो माओवादी होईन, ऊ जनता होईन। माओवादीसंग वैचारिक असहमति जनाउने जो कोहि पनि प्रतिकृयावादी, बहुलवादी समाजको पक्ष लिने जो कोहि पनि विदेशी दलाल, उसको आर्थिक नीतिको विरोध गर्ने जो कोहि सामन्त,---।

कम्युनिष्टहरु सामन्तवाद र पुँजीवादलाई वर्गीय रुपमा बिभाजित समाज मान्छन् र सबै समस्याहरुको जड त्यहि वर्गीय बिभाजन हो भन्छन्। यसैले उनीहरु आफ्नो उद्देश्य सर्वहारावर्गको नेतृत्वमा वर्गवीहिन समाज सृजना गर्नु हो भनेर प्रचार गर्छन्। तर उत्तर कोरीया, चीन, क्युबा वा विगतका सोभियत संघ र पूर्वी यूरोपका समाजलाई हामीले थोरैमात्र ध्यान दिएर हे-यौं भने के देख्छौं भने 'वर्गवीहिनता' कम्युनिष्टहरुको गँजडी  गफ बाहेक केहि पनि होईन। सबैभन्दा गहिरो वर्ग बिभाजन साम्यवादमै हुन्छ; साम्यवादी दलका मान्छे र आम जनताका रुपमा। साम्यवादी समाजमा आम जनताका सबै मानवीय अधिकारहरु कटौती गरिएको हुन्छ भने सत्ताधारी कम्युनिष्ट दलका नेताहरु र तिनका परिवार-आसेपासेहरुको चुरीफुरी निरंकुश राजतन्त्रात्मक समाजमा दरबारीयाहरुको जस्तै हुन्छ। यसैगरी सबै उत्कृष्ट सुविधाहरु कम्युनिष्ट पार्टीका नेताहरु र तिनका परिवारका लागि केन्द्रित गरिएको हुन्छ। 

प्रचण्ड (र माओवादी) को जनताको परिभाषामा त्यस्तै चिन्तनको छाप देखिएको हो। (माओवादीको जनताको परिभाषामा माओवादीका विरोधी त पर्दै-पर्दैनन्, आफैंले गाऊँ-गाऊँबाट सोहोरेर ल्याएका 'कार्यकर्ता' पनि पर्दैनन् जस्तो छ। अहिले देशका सडकमा झाडा-पखालाको महामारी फैलिन थालेको छ, त्यसले तिनै अभागी 'कार्यकर्ता' लाई मात्रै सताएको छ, नेताहरुलाई 'छुने' छैन त्यसले।) 

केहि लाल-बुझक्कड कम्युनिष्टहरु त्यसलाई सर्वहारावर्गलाई दिईएको हक भन्न सक्छन्, अर्थात शासन सर्वहारा-मजदूरले गरेपछि सुविधा उनीहरुले पाउनु स्वाभाविक हो पनि भन्दिन सक्छन्। तर दुनियाँको कुनै पनि कम्युनिष्ट शाशनमा मजदूर-किसान सत्तामा कहिल्यै पनि थिएनन् र अहिले पनि छैनन्। ट्रेड यूनियनहरुको 'बार्गेनिङ' शक्ति र आवधिक चुनावहरुलाई आफ्नो हितमा प्रयोग गर्न सकिने सम्भावनाका कारण बरु आधुनिक पुँजीवादी समाजमा मजदूर र किसानहरुको स्थिति कथित साम्यवादी समाजमा भन्दा धेरै राम्रो हुन्छ। यो संयोग मात्र होईन कि विकसित समाजमा साम्यवादका सबैभन्दा ठूला विरोधीहरु  मजदूर-किसाननै हुन्छन। 

साम्यवादी क्रान्तिमा मजदूर-किसानको नाम र सैन्यशक्तिको बलमा बौद्धिकहरुको एक समूहले सत्ता हत्याऊँछ र आफ्नो पकड कस्दै लान्छ। त्यसको निकासको रुपमा धेरैजसो ब्यक्तिगत तानाशाही र परिवारवादको विकास हुन्छ। सोभियत संघ र पूर्वी यूरोपमा एउटा नेता नमरी अर्कोको पालो आउँदैनथियो। उत्तर कोरीया र क्युबामा त 'लाल-राजतन्त्र'नै शुरु गरिएको छ। चीनमा माओपछिका वर्षहरुमा सीमित रुपमा नेतृत्व परीवर्तनको प्रकृया शुरु भयो र अहिले कम्युनिष्ट पार्टीको महासचिवपनि दुई-तीन पूर्ण कार्यकालपछि फेरिन्छ। तर त्यहि प्रकृया पनि अत्यन्त नियन्त्रित र प्रतिस्पर्धावीहिन हुन्छ र सामान्यतया पदासीन महासचिवको ब्यक्तिगत अनुकम्पाद्वारा निर्धारित हुन्छ। 
 
बहुलवादी पुँजीवादी समाजमा समस्याहरु नरहेका होईनन्, अझै धेरै छन् तर यसमा ब्यक्तिगत स्वतन्त्रता हुन्छ र त्यसैले ब्यक्तिले आफ्नो रचनात्मक क्षमताको सदुपयोग गर्दै आफूलाई उठाउने सम्भावना प्रशस्त हुन्छ। थोमस एडिसन र बिल गेट्स जन्मिने सम्भावना पुँजीवादी समाजमा मात्रै हुन्छ, आईन्स्टाईनको क्षमतालाई पुँजीवादी समाजलेमात्रै बुझ्न र सम्मान गर्न सक्छ र पुँजीवादी समाजमा मात्रै स्वयं मार्क्सजस्ता दार्शनिकहरु फेरि-फेरि पैदा हुने सम्भावना हुन्छ।

मार्क्सवाद एउटा निश्चित समयको उत्पादन थियो। तत्कालीन पश्चिमी समाजका समस्याहरुले जन्माएको एउटा दस्तावेज थियो त्यो। अरु दर्शनजस्तै त्यसका पनि कतिपय ब्याख्याहरु हरेक समयका लागि सन्दर्भसामाग्रीसम्म हुनसक्ने कुरामा कुनै शंका छैन तर त्यसका निष्कर्षहरुलाई सधैंभरीका लागि अकाट्य 'ध्रुवसत्य' मान्न सकिँदैन। अर्कोतिर, लेनिन, स्टालीन, माओदेखि पोलपोट र किम जोङ इल आदि सम्मले आफ्ना तानाशाही महत्वाकांक्षाको आवरणका रुपमा मार्क्सवादको 'सफल' दुरुपयोग गरेका छन्। आफनो दर्शनको गलत ब्याख्यादेखि आजित भएर मार्क्स स्वयंले "म मार्क्सवादी होईन!" भनिसकेका थिए भनेर मैले कतै पढेको थिएँ। उनी अहिलेसम्म बाँचिरहेका भए झन्  के सोच्थे होलान्? माओवादीजस्ता कम्युनिष्टहरु जहिलेपनि आफूले स्थापना गर्ने सत्ता इतिहासको सर्वश्रेष्ठ हुने दावी गर्छन्। तर इतिहासको अन्त्य हुँदैन, इतिहास मानवसमाजको निरन्तरता हो। मार्क्सले देखेको पुँजीवाद र अहिलेको पुँजीवादमा आकाश-जमीनको फरक छ। पुँजीवाद निरन्तर सिक्ने र आफूलाई सुधार्ने क्रममा छ, स्वयं मार्क्सवाद र साम्यवादीहरुबाट पनि यसले धेरै कुरा सिकेको छ। त्यो तत्परतानै यसको सबैभन्दा ठूलो पुँजी हो र आफूलाई अहिलेसम्मका संकटहरुबाट उठाउने शक्ति हो। 
 
समाज निरन्तर बदलिईरहेको छ, यसभित्रका उत्पादन सम्बन्धहरु र सामजिक सम्बन्धहरु निरन्तर बद्लिईरहेका छन्। साधारण तरिकाले हेर्दा पनि, मार्क्सको जमानामा बिजुली थिएन, लेनिनले कल्पनामा पनि कम्प्युटरजस्तो जिनिस देखेका थिएनन्, माओलाई सूचना क्रान्तिको भेऊ सम्म थिएन। आजभन्दा दश वर्ष पछि हुने कतिपय विकासहरुको हामीलाई पनि भेऊ छैन। प्रतिस्पर्धाले नयाँ प्रविधि र नयाँ चिन्तन शैलीको विकास गर्छ, नयाँ प्रविधि र चिन्तनले समाजलाई नयाँ रुपले परिभाषित गर्छ। यो प्रकृया निरन्तर चलिरहेको हुन्छ। त्यसकारण थोत्रा सिद्धान्तहरुको आधारमा समाजलाई अगाडि बढाऊँछु भनेर बल गर्नु भनेको समाजलाई पछाडि लानु मात्र हो।

हाम्रो नेपाल र नेपाली समाज आफ्नै बिशिष्टताहरुले भरिएको छ र यसको विकास र समृद्धिको बाटो पनि आफ्नै खाले हुने कुरामा कुनै शंका छैन। तर आधारभूत रुपमा खुल्ला बहुलवादी राजनीति र प्रतिस्पर्धात्मक पुँजीवादी अर्थ-ब्यबश्थाभन्दा अरु बाटोको विकल्प छैन हामीसंग। अर्थतन्त्रको हकमा, निश्चित रुपमा केहि समयसम्म जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको बढी भूमिका हुने गरेी 'मिश्रित 'बाटो लिन सकिन्छ तर गन्तब्य भने प्रतिष्पर्धात्मक पुँजीवादनै हो।

शाशन प्रणालीसम्बन्धी कुनै पनि 'परिभाषा' ले यो चिन्तनलाई समेट्नै पर्छ।  

मलाई के लाग्छ भने हिमाल देखि तराईसम्मको कुनैपनि वर्ग र पेशाको एउटा आम नेपालीले नेपाललाई माया गर्छ, बरु राजनीतिक दल र नेताहरुकै देशप्रतिको निष्ठामा शंका गर्न सकिने ठाऊँहरु धेरै छन्। जनताको परिभाषाले नेपाललाई माया गर्ने हरेक नेपालीलाई समेट्नु पर्छ। हाम्रा समस्याहरु प्रणालीबद्ध शाशन र कानूनी राज्यको अभावले जन्मिएका हुन् र त्यसको विकल्प कुनै पनि अधिनायकवाद वा तानाशाही हुन सक्दैन। र नेपालमा जुन दलको शाशन आएपनि त्यसले कुनै पनि नेपालीको (मानव अधिकारको विश्वब्यापी घोषणापत्रमा उल्लेखित) मानव अधिकार खोस्न पाऊँदैन। नेपाली राष्ट्रियता र मानव अधिकारको सम्मान गर्ने जो कोहि पनि नेपाली  जनता हो।

'कमरेड', म माओवादी होईन तर म गर्वका साथ के भन्न चाहन्छु भने म एउटा नेपाली जनता हुँ।

म एउटा नेपाली जनता हुँ।