April 28, 2010

बन्दूक, खुकरी, लाठी - र गायब राज्य

माओवादी फेरि एकपटक "अन्तिम आन्दोलन" गर्न तम्सिएको छ र देशलाई अनिश्चित कालसम्म बन्द गर्ने घोषणा गरिसकेको छ। उसको यो कतियौं पटकको "अन्तिम आन्दोलन" हो हातका दश औंलाले गन्न नभ्याउने भईसकेको छ। अर्कोतिर, आफू सरकारमा भएको बेला "अब देशमा कसैले पनि बन्द-हडताल नगरे हुन्थ्यो" भनेर माओवादी नेतृत्वले खोकेको मान्छेहरुले बिर्सिसकेका छैनन्। "अन्तिम आन्दोलन" का लागि मा घाँटी निमोठ्दै र धम्की दिँदै "स्वेच्छिक" चन्दा माग्ने र स्कूल-कलेजलाई ब्यारेक बनाउने 'क्रान्तिकारी' कदम जारी छ देशमा।

माओवादीको "स्वेच्छिक" चन्दा उठाउने तरिका कस्तो हुन्छ, त्यो नबुझ्ने नेपाली अब बाँकी छैन। पोहर कि परार, "हिमाल" खबरपत्रिकामा होला- एउटा कार्टून छापिएको थियो। त्यो कार्टूनमा हाम्रा 'क्रान्तिकारी' मित्रहरु दश ठाऊँमा फाटेको लुगा लगाएको दुब्लो र मलिन अनुहारका एकजना गरीब नेपालीको पाखुरा बटारेर रगत निचोर्दै थिए र त्रसित भएर हेरीरहेकी उनकी पत्नीलाई भन्दै थिए, "स्वेच्छिक हो, डराउनु पर्दैन!"। माओवादीहरुले "स्वेच्छिक" को परिभाषा यसरी बदलिदिएपछि शब्दकोषमा "जबर्जस्ती" भन्ने शब्दको नयाँ अर्थ राख्नुपर्ने भएको छ। 

यो आन्दोलन माओवादीलाई कुर्सी दिलाउनको लागि हो, जुन कुर्सी माओवादी आफैंले सनकमा छोडेर हिँडेको थियो। दलहरुका, नेताहरुका आपसी सम्बन्धका तिक्तताका कुरा बेग्लै होलान्, तर सधैंझैं माओवादीको यसपालिको नीति पनि देशलाई सकेसम्म अस्तब्यस्त बनाएर, जनताको जीवनलाई सकेसम्म कष्टकर बनाएर सरकारलाई "घुँडा टेकाउने" हो। यसका लागि उसले आफ्ना कार्यकर्ता त परिचालन गर्नेनै भयो, बन्दूकले धम्काएर वा पैसाले फकाएर ट्रकका ट्रक, बसका बस 'भेडाबाख्रा' पनि ओसार्नेछ। पूर्णतया अधिनायकबादी सोचले प्रेरितहरुका लागि आफू बाहेक अरुको अस्तित्व बढीमा भेडाबाख्रानै हो। हरेक दिन उनीहरु कलेजदेखी स्कूलसम्मका बिद्यार्थीहरुलाई पनि ओसार्नेछन्। दूधमुखे बच्चाहरु पनि "स्वेच्छिक" रुपले जुलुसमा भोकै-प्यासै हिँड्नेछन् र ओठ-तालु सुकाउनेछन्। एक हातमा कापी-किताब र अर्को हातमा माओवादीले जबर्जस्ती थमाएको लाठी बोकेका स्कूले छात्राहरुको तस्बीर देख्न थालिसकिएको छ। ती अबोध चेहराहरुको भाव पढ्नुहोस् एकचोटि, कति प्रतिशत "स्वेच्छिक" हो सजिलै थाहा हुन्छ।
साभार:  नागरिक दैनिक (बिस्तृतमा यहाँ पढ्नुहोस्।)

हिजो पञ्चायत र राजतन्त्रले पनि त्यसै गर्थ्यो।
यो मात्रै होईन, अरु सबै कुरामा पनि माओवादीसंग अरुभन्दा फरक 'भिजन' नभएको कुरा प्रमाणित भईसकेको छ। ठूल्ठूला कुरा र गुलिया नाराले बेरेर माओवादी त्यहि काम गर्दैछ जुन काम अरुले पनि गरिरहेका थिए। ऊ नेपाली समाजका विकृतिलाई झन् धेरै मलजल गर्दैछ। हिजो कांग्रेस-एमालेलाई चन्दा ख्वाएर ब्रम्हलूट गरिरहेका सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टहरु आज माओवादीलाई अलि बढी चन्दा ख्वाएर माओवादीबाट अभयदान लिईरहेछन्। अदालत, मालपोत र अरु कार्यालयहरुमा सबैभन्दा ठूलो भाग लिएर माओवादीले त्यहाँभित्रको भ्रष्टाचारलाई अझ झांगिन दिईरहेको छ। उद्योगधन्दा माओवादीको जानी दुश्मन हो र देश अब ढुंगे युगमा फर्किँदैछ। शुल्क बढी असुलेको निहुँमा जारी अहिलेको नीजि स्कूलहरुको बिरोध-नाटक पनि माओवादीका लागि यथेष्ट शुभलाभको 'बार्गेनिङ्ग' सहित यथास्थितिमै सकिने पक्का छ। पहिला पनि यस्तो भएकै हो। 

हाम्रो समाज मूढे उन्माद र चरम सैनिकीकरणको बाटोमा गईसकेको छ र यसमा सबैभन्दा ठूलो दोष माओवादीकै हो। माओवादीको 'निगाह'मा परेर 'राज्य' पाएकाहरुको मूढे सैन्य-उन्माद देखिनसक्नुको छँदैछ, माओवादीको 'निगाह'मा पर्न नसकेकाहरु पनि त्रसित भएर आफूलाई सैनिकीकरण गर्दैछन्। हरेक समाज, हरेक समुदायले आफूलाई सैनिकीकरण गर्नुबाहेक अरु बिकल्प देखिन्न। यसरी देश अब सोमालिया हुने बाटोमा तिब्र गतिमा ओरालो लागेको छ।

यी सब सैन्य-उन्मादको होहल्लामा राज्य कतै गायब भएको छ। आफूलाई माओवादीभन्दा फरक र लोकतान्त्रिक भनाउने कांग्रेस र एमालेपनि समाजको सैनिकीकरणलाई, समाजमा बढीरहेको घृणा र द्वेषलाई कम गर्न होईन, त्यसमा तेल थप्न उद्यत छन्। यूथफोर्सको गठन गरेर एमालेले माओवादीको वाइसीएललाई नैतिक बैधता दिएकै हो, अस्ति त्यहि यूथफोर्सका टाउके अब सेनानै बनाउने कुरा गर्दै थिए। अर्कोतिर कांग्रेसभित्रका खुमबहादुर मार्काहरु कांग्रेसको सेना बनाउनुपर्छ भनेर उफ्रिरहेका छन्। नेपाल भनिने राज्यलाई पंगु बनाउन सबैभन्दा ठूलो भूमिका खेल्ने उनीहरुनै हुन्। खुमबहादुर जस्ता मान्छेलाई रगतको स्वाद थाहा छ किनभने उनीहरु पहिलेदेखिनै आफ्नै 'मिनि सेना' राखेर दादागिरि देखाईरहेका थिए। अहिले माओवादीले उनीहरुभन्दा पनि ठूलो दादागिरि देखाएकोले उनीहरुको रातको निद्रा र दिनको चैन हराएको हो।

तर के माओवादी सैन्य-उन्मादको जवाफ कांग्रेस-एमालेको पनि सैनिकीकरण हो? या राज्यलाई बलियो बनाउनु हो? प्रशाशन, प्रहरी, अदालत, सेना आदिलाई सशक्त, साधनसम्पन्न, प्रभावकारी र निष्पक्ष जबसम्म बनाईँदैन, जबसम्म गायब राज्य जनताको माझमा फर्किँदैन, तबसम्म यो चरम सैन्य-उन्मादी मानसिकताबाट देश र जनतालाई बाहिर निकाल्न सकिने कुनै बाटो भेटिने छैन।

15 comments:

  1. खै अब कहिले सम्म एस्तो हुने हो ? यी नेताहरुको चाल देखेर त दिक्क लागिसक्यो/ किताब समाउने हातमा लाठी र खुकुरी राख्दा तिनले के सिक्लान र देशमा सान्ति आउला त ?

    ReplyDelete
  2. ज़रुरी लेख।
    निडर भयेर आफ्नू विचार राख्नको लागी धेरै बधाई।
    जबरजस्ती सही हो या जबरदस्ती?

    ReplyDelete
  3. दाई तपाईंलाई धेरै धेरै धन्देबाद हुन त म मावोबादी को पच्छ मा छु तर खै मलाई पनि कुनै राजनैतिक दल का पार्टी ले गरेको काम ठिक नै लाग्दैन आखिर मा जनता लाई सहिद मात्र बना-उने यस्त अन्न्दोलनको हामी बिरोध गर्नै पर्छ अब पनि हामी डरएर बस्ने हो भने हाम्रो देस पनि इराक नहोला वन्न सकिन्न है

    ReplyDelete
  4. यो भोकमरिमा तिनका कर्यकर्ताहरुलाई बलजफ्ति पालेर राख्नुपर्ने, चन्दा दिनुपर्ने, निर्दोश मुनाहरु पढिरहेका कलिला बालखाका स्कुलहरु बन्द गर्नुपर्ने, सार्वजनिक सम्पत्तिहरु तिनैका कब्जामा हुने । डर त्रासले 'कर्यकर्ता-रोजगारि'का लागि गरिएका माओबादिका यी क्रियाकलापहरुले 'नयां नेपाल' निर्माणमा तिनीहरु कत्तिका जिम्मेवार रहेछन्, आज सबै छर्लङ्ग भएको छ ।

    ReplyDelete
  5. बसन्तजी लेख एक्दम राम्रो लेख्नु भएको छ । अब त नेपाली जनताहरु सबै एक भएर यि नेताहरुलाई ठीक पर्नुपर्छ अनी मात्र देशमा शान्ती आउछ ।

    ReplyDelete
  6. एकदमै राम्रो लेख छ... तपाईंले उठाउनु भएको कुरा एकदम जायज छ, भलै कोही रिसाउन्... तिनीहरूलाई खुसी पार्ने ठेक्का हाम्ले थोडै लिएका छौ र? हामी भनेको आमजन्ता, उसले भाडामा किनेर पालेको गुन्डा होइनौं जसलाई राम्रो बोल्न कर लाग्छ... हामी त जे देख्छौ त्यै बोल्छौं, पहिलाकाहरूले गल्ती गर्दा त्यतिखेर पनि हामी यसरी नै कराएका थियौं तर त्यो भन्दा ठूलो गल्ती गर्ने यी माओवादीहरूलाई कसैले गएर बताइदिओस् न, उसले पैसा र बलको भरमा पालेका केही बेरोजगारी नेपालीहरू मात्र नेपाली जन्ता होइनन् भनेर? डेड करोड नेपाली जन्तामा उसले आफ्नो दुई-तीन लाख कार्यकर्ता देख्यो । थुइक्क गु खाने बुद्धी! साला यो माओवादीहरू आफूलाई के सम्झन्छन्? जे गरेनि हुन्छ, यो देश त्यसको बाउको बिर्ता हो र? मेरा माओवादीका साथीहरूले यदि यो पढ्नु भयो भने यती बुझ्नुस कि यो कुनै शक्ति बोलेको हैन, यो एउटा आम नेपाली बोल्दैछ... जनतामा कति आक्रोस छ त्यो कुरा बुझ्नुस र आफ्नो रवैया बदल्नुस नत्र मै बलियो र मै जान्ने भन्ने घमण्ड र भ्रमले रावणको के हालत भाको थियो, त्यै होला फेरि अनि नेपाली जनताले वर्षमा दुईटा विजया दशमी मनाउने दिन नआउँला भन्न सकिन्न है?

    ReplyDelete
  7. dai hamile ta jati pir gre ni yo maobadi le kehi sune haina recha !!!! uniharu aafno kura bata ek thopa ni pachhi pardainan!!aba hami le chinta garera bekakrma aafnai tauko dukcha !! sakincha bahne aafiale kehi garen hola nabahye yesto kura socdai nasochnu ma nai faida huncha hola hai!!!!

    ReplyDelete
  8. सहि बिस्लेसण अनि दु:खलाग्दो यथार्थ

    ReplyDelete
  9. भर्खरै टेलिभिजनमा समाचार हेरेथेँ, "शान्तिपूर्ण" आन्दोलन गर्न भनेर माओवादीले गुलेली, पेट्रोल बम बनाउने सामान, गुलेलीका गोली अर्थात गुच्चा आदि प्रसस्त लेराएका रहेछन ।

    सैन्य-उन्मादि मानसिकता भन्दा पनि म त अझै चेतनाकै अभाव देख्छु।

    ReplyDelete
  10. Basanta jee pachhilla kriyakalaap le rajnaitik partyharu kaa taauke haruko sahi anuhar dekhayeko chha . Maobadiharu gair jimmewar chhan bhanne yathartha hamile hijo pani dekhekai hau . Jati belaa pani janataa le matra dukh paaune .
    Ramro lekh . Ma 100%sahamat tapaaiko bichar sanga .

    ReplyDelete
  11. १००% सत्यता बोकेको लेख। हुन त कैले नै सुख शान्ति मिलेको छ र नेपाली जनताहरुलाई तैपनि फेरी के हुने हो भन्ने त्रास। मुठभेडको स्थिति सिर्जना गरेर फेरी खाल्डो खन्दै छन् जनताहरुलाई कुर्सीका भोगिहरुले ।

    ReplyDelete
  12. मेरो बिचारमा माओवादीको नीति न हिजो ठीक थियो, न आज ठीक छ। न भबिष्य मा नै ठीक हुनेछ। तथापी माओवादी लाई नेपाली जनताको साथ देखेर चाहि अचम्म लागेको छ।

    ReplyDelete
  13. सैन्यवादी उन्माद त माओवादीको रगतकै परिचय-पत्र हो भन्दा हुन्छ । अझ कस्तो भइदियो भने निषेधको राजनीतिलाई संस्थागत गर्ने दिशामा पनि यिनको सुरिलो कीर्तिमान कायम हुँदैछ ।
    केही दिनअघि निजी क्षेत्र र सञ्चार जगत्‌को पहलमा राजधानीमा आयोजित 'निर्णायक बहस' मा उनै 'गौरवशाली पार्टी' का अध्यक्षलाई सोधिएको थियो- माओवादीको 'जनता' को हो भनेर । तिनले मुठीभरका मान्छेलाई नै आफनो जनता भन्ने आशय जनाउँदै अरूलाई सामन्त, पुरातनवादीको पगरी गुताइदिए ।
    यहाँले चर्चा गर्नुभएको भयानक स्थितिको छनक मिलिरहेको छ मुलुकमा । आफूबाहेककालाई नगन्ने । आफूले गरेको त्यही काम सही र अरूले गर्दा अपवित्र एव‌ विषालुका साथै प्रतिक्रियावादी कित्ताको हुने नयाँ नजिर स्थापना गरेको छ उसले राष्‍ट्रिय राजनीतिमा । एउटा दरबार ढालेर अर्को दरबार बनाउन त नेपाली जनताले खोजेका होइनन् नि ! मुठभेडको पसल थापेको माओवादीका साथै अरू दलले पनि आफूलाई नुहाउनु भने आवश्यक छ ।

    ReplyDelete
  14. बडो सान्दर्भिक लेख ! सर्वसत्तावादी चिन्तनले देशलाई रसातलमै पुर्याउने हो । यी नेताहरूले देश बर्बाद गर्ने नै भए !
    हो,पञ्चायती शैलीको नयाँ संस्करण नै हो यो; देश र जनताभन्दा आफूलाई जहिल्यै माथि राख्ने र 'सबै नेपाली पञ्च र सबै पञ्च नेपाली 'ठान्ने संस्कार !

    ReplyDelete
  15. विविध कारणवश ढिला भएँ यसपालि पनि।
    पढिदिनुहुने, प्रतिकृया दिनहुने सबैलाई सादर धन्यबाद!

    ReplyDelete